Date
शनि, मंसिर ५, २०८३
Sat, November 21, 2026
Home Blog Page 948

नेपाली कांग्रेस बिन्दवासिनीका संयाेजक चाैरसियाकाे निधन

0

वीरगञ्ज । नेपाली कांग्रेस बिन्दबासिनी गाउँपालिकाका संयोजक चन्द्रकिशाेर चाैरसियाकाे निधन भएकाे छ । बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा भाठा निवासी पूर्व गाविस अध्यक्ष समेत रहेका चौरसियाकाे शनिबार निधन भएकाे हाे ।

चाैरसियालाई नेपाली कांग्रेसका नेताहरुले श्रद्धान्जली दिएका छन् । नेताहरुले चौरसियाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण गर्दै नेताहरु चौरसियाको निधनले नेपाली कांंग्रेस बिन्दवासिनिमा ठूलो क्षति पुगेको वताए ।

चौरसियालाई अन्तिम बिदाई तथा श्रद्धाञ्जली दिन नेपाली कांग्रेस पर्सा सभापति अजयकुमार द्विबेदी, पुर्बमन्त्री सुरेन्द्र चाैधरी, नेता जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य राजेश्वर साह, नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, पर्सागढी नगरपालिकाका नगर प्रमुख लाेकनरायण यादव, बहुदरामाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र साह, तरुण दल पर्साका सचिव बिवेक चाैरसियालगायतका नेता तथा कार्यकर्ता पुगेका थिए ।

काेराेनाबाट वयाेधा अस्पतालमा उपचाररत दाेस्राे महिलाकाे मृत्यु

0

वीरगंज । नारायणी वयोधा अस्पतालको आइसियु कक्षमा उपचाररत थप एक महिलाकाे पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ। वीरगंज १६ नगवाकी ६८  बर्षिय महिलाकाे शनिबार सांझ मृत्यु भएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

शुक्रबार राति काेराेना संक्रमण पुष्टि भएका ति महिलालाई वयाेधा अस्पतालबाट शनिबार सांझ ६ बजे गण्डक काेभिड अस्पतालमा लग्ने क्रममा मृत्यु भएकाे वताइएकाे छ ।

दमका राेगी महिलालाई बुधबार वयाेधा अस्पतालमा भर्ना गरिएकाे थियाे । काेराेनाकाे लक्षण देखिएकाे महिलाकाे अस्पतालले भर्ना गर्न नमानेपछि स्थानिय प्रशासनकाे दबावमा भर्ना गरिएकाे थियाे । श्वास प्रश्वासमा समस्या देखिएकाे महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्नेमा भेन्टिलेटरकाे अभावमा प्रशासनकाे दबावमा आइसियुमा राखेर उपचार गरिएकाे थियाे ।

बिहिबार स्वाब संकलन गरेर काेराेना परिक्षणकाे लागि नारायणी अस्पतालकाे प्रयाेगशालामा पठाउदा शुक्रबार राति काेराेना पुष्टि भएकाे थियाे । त्यसपछि शनिबार विहानदेखी काेभिड अस्पतालमा सार्न वयाेधा अस्पतालले प्रयास गरे पनि सांस ५:४५ मा मात्र पठाउन सकेकाे थियाे ।

एम्बुलेन्स मार्फत गण्डक काेभिड अस्पतालमा लग्नै क्रममा ६ बजे उनकाे मृत्यु भएकाे थियाे । हाल मृतक महिलाकाे शव गण्डक काेभिड अस्पताल मै राखिएकाे छ ।

यस अघिपनि वयाेधा अस्पता मै उपचारकाे क्रममा मृत्यु भएकाे एक महिलामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे । वीरगंज १६ नगवाकी ५० बर्षिय महिलाकाे शुक्रबार सांझ मृत्यु भएकाे थियाे । शुक्रकार राति नै ति महिलामा काेराेना रिपाेर्ट पाेजिटिभ आएपनि शनिबार दिउसाे मात्र सार्वनिक भएकाे थियाे । ति महिलाकाे शव अहिले वयाेधा अस्पताल मै रहेकाे छ ।

यससँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृत्यु हुनेकाे संख्या ११ पुगेको छ ।

पर्सा जिल्लाभरी साेमबारदेखी निषेधाज्ञा, सेेना परिचालन गरिने

0

वीरगंज । पर्सा जिल्लाभरी साउन १९ गते साेमबार विहान ५ बजेदेखी निषेधाज्ञा जारी हुन भएकाे छ । प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीकाे अध्यक्षतामा शनिबार बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।

बैठकले कोभिड १९ को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन साउन १० गते विहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि पर्सा जिल्लाको सदरमुकाम वीरगंज महानगरपालिका क्षेत्रमा मात्र लागू हुने गरी जारी गरिएको निषेधाज्ञा साउन १९ गते बिहान ५ बजेदेखि सदरमुकाम बाहिर पनि विस्तार गरी पर्सा जिल्ला भरी लागू गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर ननिस्कने, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार , भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक (भन्सार, आइसिपि, ड्राइपोर्टमा रहेकामात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा संचालन बन्द गर्ने बैठकाे निर्णय छ ।

निषेधाज्ञा अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानी गर्ने ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाउने, छिमेकी मित्रराष्ट्रसँग सीमाना जोडिएका सीमा नाकाहरु तथा खुल्ला सीमानाको जुनसुकै स्थानबाट मानिसहरुको आवागमन निषेध गर्ने पनि बैठकले निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालय पर्साका सुचना अधिकारी समेत रहेका बस्नेतले जानकारी गराए ।

निषेधाज्ञा अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गरिने उनले जनाए ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेना समेत परिचालन गरिने छ ।

प्रदेश २ सरकारकाे गफै ठूलो, ३ महिनामापनि किन्न सकेन भेन्टिलेटर

0

वीरगञ्ज । कोरोनाभाइरस महामारीले सम्पूर्ण संसार आक्रान्त बनेको बेला नेपाल अछुतो रहने कुरै भएन । पछिल्लो समय नेपालमा घट्दो कोरोना सङ्क्रमितहरुस सङ्ख्या एक पटक पुन: उभो लागेको छ । विगतका दिनहरुमा विशेषगरी प्रदेश नं. २ का विभिन्न जिल्लामा कोरोना सङ्क्रमितहरुको संख्या ह्वातै बढेको छ ।

प्रदेश नं. २ को पर्सा, रौतहट, बारा, धनुषा र सप्तरीमा पछिल्लो समयमा कोरोना सङ्क्रमितहरुको सङ्ख्यामा उल्लेखनीय वृद्ध भएको छ । कोरोना सङ्क्रमितहरु थपिनाका साथ् मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । तर, यो सबै भइरहँदा प्रदेश नं. २ मा लालबाबु राउत गद्दीको नेतृत्वमा रहेको सरकार भने मूकदर्शक मात्र बनेर बसेको छ ।

प्रदेश नं. २ का विभिन्न जिल्लामा रहेका सरकार अस्पतालका बेथती, क्वारेन्टिनहरुको अवस्था र सिमा नाकामा देखिएको लापरवाही यसको प्रमाण हुन् । प्रदेश सरकारको लापरवाहीका कारण गत आइतबार एउटा जनकपुरमा भएको एउटा घट्नाले सबैलाई स्तब्ध वनाएको छ । प्रदेशको राजधानी जनकपुरमा भेन्टिलेटरको आभावमा एक ३८ वर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत धनुषा सहिदनगरस्थित डुमरियाका ३८ वर्षीय युवकको गत आइतबार भेन्टिलेटरको आभावमा मृत्यु भएको छ । फोक्सो र मुटुमा समस्या देखिएका युवकलाई ज्वरो र रुघाखोकी लागेपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । आकस्मिक कक्षमा उपचार चलिरहेका युवकको स्वास्थ्य अवस्था अचानक बिग्रिन थाल्यो र उनको स्वाब पनि संकलन गरियो । स्थिति गम्भीर बनिरहेका उनलाई चिकित्सकले भेन्टिलेटरमा सिफ्ट गर्न खोजे । प्रादेशिक अस्पतालमा रहेका तीन वटै भेन्टिलेटर प्रयोगमा रहेको भन्दै अस्पताल प्रशासनले उनलाई आईसीयूमा मात्रै सिफ्ट गरिदिए । युवकलाई भेन्टिलेटर तुरुन्तै आवश्यक थियो ।

स्वास्थ्यकर्मीले भेन्टिलेटर उपलब्ध गराउन असमर्थता देखाइरहे । यता, ति युवक सिकिस्त भइरहेका थिए । भेन्टिलेटरको आभावमा प्रादेशिक अस्पतालका मेसु नागेन्द्र यादवका अनुसार परिवारकै आग्रहमा अस्पतालले युवालाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिदियो । धरान जाने क्रममा ती युवकको सिरहाको मिर्चैयामा पुग्दानपुग्दै मृत्यु भयो । ‘ती युवकको मृत्यु हुनु र उसको स्वाबको रिपोर्ट आउनु सँगसँगैजस्तो भयो,’ मेसु यादवले भने, ‘रिपोर्टले हामी आश्चर्यचकित भयौं । रिपोर्टमा कोरोना पोजिटिभ त छँदै थियो, त्यसमा पनि कोरोना भाइरसको हाइडोज थियो ।’ ती युवक केही दिनअघि मात्रै भारतबाट मल लिएर फर्किएका थिए । ‘भेन्टिलेटर तुरुन्तै उपलब्ध भएको भए बाँच्थ्यो कि?’ मृतकका परिवारको भनाइ छ ।

प्रदेश २ का सरकारी अस्पतालमा ७ वटा भेन्टिलेटर मात्रै चालु अवस्थामा छन् । भेन्टिलेटर अभावमै संक्रमितको मृत्यु हुन थालेपछि ५० वटा भेन्टिलेटर खरिद गर्ने प्रदेश सरकारको निर्णय तीन महिनाभन्दा बढी समयदेखि आलटाल गर्दैछ ।

प्रदेश सरकारको गत वैशाख ७ को मन्त्रिपरिषद् बैठकले भेन्टिलेटर खरिद गर्न ६८ करोड रुपैयाँ स्वीकृत गरेको थियो । भेन्टिलेटरसहितको स्वास्थ्य उपकरण छिटो खरिद गरेर ल्याउनका लागि मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद ऐनलाई पनि संशोधन गरिएको थियो । प्रदेश सरकारले कोरोना संक्रमणविरुद्ध लड्न बजेट छुट्याएर स्वास्थ्य उपकरण खरिद गर्न निर्णय मात्रै गरेन, सामाजिक विकास मन्त्रालयलाई सामान खरिद गर्न तीन दिनको छोटो प्रक्रिया मिलाउँदा सामान खरिद गर्ने कानुनी बाटो पनि फुकाइदिएको थियो ।

वैशाख बित्यो, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपकरण किन्ने प्रक्रिया थालेन । जेठ पनि अलमलमै बित्यो । असारको अन्तिमतिर मन्त्रालयले स्वास्थ्य उपकरण खरिद गर्न निर्णय भइसकेको रकम माग नगरेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यसको ब्रिफिङ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गर्‍यो । ‘संघीय सरकारले पठाएको रकमबाटै उपकरण किन्ने जवाफ सामाजिक विकास मन्त्रालयले पठायो,’ मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो, ‘न प्रदेश सरकारको बजेटबाट उपकरण खरिद भयो न त संघीयकै बजेटबाट ।’

प्रदेश सरकारले निर्णय गरिसकेको ६८ करोड बजेटबाट २ वटा पीसीआर मेसिन, ५० भेन्टिलेटर, पीपीई, सेनिटाइजर, मास्क, ग्लोब र अन्य स्वास्थ्य उपकरण खरिद गर्न सामाजिक विकास मन्त्रालयलाई अधिकार सुम्पिएको थियो । ती भेन्टिलेटरबाट ६ जिल्लालाई ५–५ वटा र जनकपुर तथा वीरगञ्जमा १०–१० दिइने योजना थियो ।

गत आइतबार राति भेन्टिलेटर नपाएपछि रिफर गरिएका संक्रमितको मृत्यु भएको घटना सार्वजनिक हुँदा मुख्यमन्त्री राउतले जनकपुरस्थित निवासमा आकस्मिक बैठक बोलाए । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिनेश ठाकुरसँग ‘पैसा निकासा गर्ने निर्णय हुँदा पनि भेन्टिलेटर किन किनिएन?’ मुख्यमन्त्री राउत कड्किए । प्रस्ट जवाफ नदिएपछि राउतले बैठकमै उनलाई हप्काए । ‘भेन्टिलेटर अभावमा मान्छेको मृत्यु हुन थाल्यो । बजेट दिँदा पनि किन किनिएन ? तपाईंहरूलाई लाज लाग्नुपर्ने,’ मुख्यमन्त्री राउतले निमित्त सचिव ठाकुरलाई हप्काएको प्रसंग सुनाउँदै बैठकमा सहभागी एक सचिवले भने, ‘मुख्यमन्त्रीजी निकै आक्रोशित हुनुभयो ।

बैठकमा सहभागी नेपाली सेनाका अधिकारीले त सरकारको निर्णय कार्यान्वयन नगर्नेलाई कारबाही गर्नुपर्ने माग नै गरे ।’ स्थिति बिग्रन थालेपछि प्रदेश सरकारका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेलले स्वास्थ्य उपकरण खरिदसम्बन्धी सबै प्रक्रिया पेस गर्न निमित्त सचिव ठाकुरलाई निर्देशन दिए । ‘ठाकुरले प्रदेश स्वास्थ्य आपूर्ति महाशाखाले खरिद प्रक्रिया अगाडि नबढाएको आरोप लगाए भने महाशाखाका कर्मचारीले मन्त्रालयले प्रक्रिया रोकेको प्रत्युत्तर दिए,’ बैठकमा सहभागी ती सचिवले भने ।

स्वास्थ्य आपूर्ति महाशाखाका प्रमुख डा. प्रमोद यादवका अनुसार भेन्टिलेटर खरिदका लागि असार ३ मा स्रोत सुनिश्चितताको पत्र आएको थियो । असार ५ मा टेन्डर गरिएको र १५ गते टेन्डर खोलेर प्रक्रिया अगाडि बढाउँदा त्यही बीचमा सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेको सरुवा हुँदा खरिद प्रक्रिया असारमा पूरा हुन नसकेको बताए । ‘खरिद प्रक्रिया नै असारको मध्यतिर थाल्दा ढिलाइ भयो । सचिवज्यूको सरुवाले पनि प्रक्रिया रोकियो,’ यादवले भने, ‘अब पनि प्रक्रिया अगाडि बढे १५ दिनमा भेन्टिलेटर खरिद गरिसकिन्छ ।’ आजको कान्तिपुरमा खबर छ ।

नारायणीमा डायलासिस ठप्प, दिर्घरोगी भन्छन् “मर्छु तर एनएमसि जाँदिन”

0

बीरगन्ज । “यहाँ संक्रमण धेरै बढ्यो, स्वास्थ्यकर्मीहरु पनि पोजेटिभ देखिए, डायलासिस सेवा लिदैं आएका तीन दिर्घरोगी पनि संक्रमित भए, अब यहाँबाट डायलासिस सेवा दिन सकिदैंन” भन्ने जवाफ पाएपछि जगरनाथपुर गाउँपालिका वडा नं. ५ का रामविश्वास साह तनावमा छन् । बीरगन्जस्थित नारायणी अस्पतालमा डायलासिसका लागि उनकी आमाको पालो आइतबार (साउन १८) गते परेको छ । त्यसैबारे सोधपुछका फोन गर्दा यस्तो जवाफ पाएपछि अब के गर्ने भन्ने तनाव उनलाई छ ।

उनलाई तनाव यो कुराको छ कि अब फेरि नेशनल मेडिकल कलेजमा आमाको डायलासिसका लागि जानुपर्नेछ । साह, आमा कृष्णावती देवीलाई लिएर डायलासिसका लागि हरेक हप्ता नारायणी पुग्ने गर्छन् । तर अब आमालाई कहाँ लगेर डायलासिस गराउने ठूलो चिन्ता छ । किनभने यसअघि नारायणीबाट नेशनलमा डायलासिस सेवा सारिएको बेला, नारायणीका बिरामीलाई होल्ड गराएर नेशनलका बिरामीलाई प्राथमिकता दिएको, डायलासिसलाई राति १२ बजेसम्म कुराएको, डायलासिसको क्रममा लापरवाही गरेको र यस्तै कारणले गर्दा त्यसबेला डायलासिस सेवा लिदैं आएका ४० मध्ये ७ जनाको ज्यानै गएको तितो अनुभव उनीसँग छ ।

गत वैशाखमा पनि नारायणीबाट दिन निशुल्क डायलासिस सेवा नेशनलमा सारिएपछि सो क्रममा अस्पतालको लापरवाही गर्दा ७ जना दिर्घरोगको ज्यान नै गएको आरोप आफन्तको छ । यहीं कुराको चिन्ताले अहिले साहलाई सताईरहेको छ । उनी भन्छन, “पहिला डायलासिस सेवा नेशनलमा सार्दा नारायणीको भन्दा पनि गुणस्तरीय सेवा पाइएला भनेर कुनै चिन्ता बिना गएकै थियौं तर अब त्यहाँको सेवाको स्तर र त्यसले दिएको परिणामबारे थाहा हुदाँ हुदैं कसरी जानु ?”

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले नारायणीलाई पुनः कोभिडको लेभल २ अस्पताल बनाउन शुक्रबार मन्त्रालयबाट पत्र आएको पुष्टि गरिसकेका छन् । साथै, उनले अस्पतालले दिएको डायलासिस सेवा बन्द गर्न ५ दिन अघि नै पत्र आएको पनि बताए । डायलासिस सेवा त्यहींबाट नै सुचारु गर्ने भनेर बिरामीलाई दिएको आश्वासनबारे मेसु उपाध्यायसँग सोध्दा उनले भने, “आश्वासन त दिएको हो, अब म त कर्मचारी न हो, माथिबाट जे जे निर्देशन आउँछ, त्यहीं न गर्ने हो ।”

हाल नारायणी अस्पतालबाट निशुल्क रुपमा ३४ जना दिर्घरोगीले डायलासिस सेवा लिदैं आएका छन् । जसमध्ये तीन जना दिर्घरोगीमा कोरोना पोजेटिभ देखिएको छ । तर अब डायलासिस सेवा लिनका लागि नेशनल जानुपर्ने भएपछि साह जस्तै अन्य बिरामीका आफन्तको चिन्ता बढेको छ ।

विपन्न नागरिक कार्यक्रम अन्तर्गत नेपाल सरकारले एकपटक डाइलासिस गरेबापत दुई हजार पाँच सय रुपैयाँ दिने गरेको छ । यसबापत त्यसबेला नेशनल मेडिकल अस्पतालले भने सन्तोषजनक सेवा नदिएको बिरामीका आफन्तको भनाई छ । नेशनलमा डायलोजर (रगत प्रशोधन उपकरण) बाट १० पटकसम्म डाइलासिस गर्ने गरेको जबकि नारायणी अस्पतालमा भने एउटा डायलोजरबाट दुई पटक मात्र डाइलासिस हुने गरेको बिरामीका आफन्त बताउँछन् । मृत्युको मुख्य कारण यही हो जस्तो लागेको बिरामीका आफन्तको ठम्याई छ । यसले गर्दा त्यतिबेला पनि नेशनलमा डायलासिस सेवा लिएका बाँचेका बिरामीहरूको मनमा भय पसिसकेको छ, नेसनल मेडिकल कलेजले के गर्ने हो भनेर ।

केही दिन पहिला स्थानीय एक टिभीको कार्यक्रममा नेकपाका पर्सा अध्यक्ष प्रभु हजराले नारायणीलाई पुनः कोभिड अस्पताल बनाउने पर्ने विचार व्यक्त गरेका थिए । तत्पश्चात उनको यो विचारलाई लिएर सामाजिक सन्जालमा चर्को विरोध भएको थियो । कारण हो, यसअघि त्यसबेला नारायणी अस्पताललाई कोभिड अस्पताल बनाएपछि डायलासिस सेवा लिदैं आएका बिरामी र जनरल सेवा ठप्प भएपछि अन्य रोगका बिरामीले समेत भोग्नु परेको दुख, पिडा र कष्ट । त्यसबेला, नारायणीलाई पुनः जनरल अस्पताल बनाउनु पर्ने सर्वपक्षीय चर्को दबाब दिएपछि निर्णय परिवर्तन गरिएको थियो । अहिले आएर नेकपाका पर्सा अध्यक्ष हजाराले भनेको केही दिन नबित्दै संघीय सरकारले फेरि नारायणी कोभिड अस्पतालमा परिणत गर्न पत्राचार गरेपछि यहाँका नागरिकमा चिन्ता तथा आक्रोश बढेको छ ।

राजनितिक प्रभावमा जनताको एक मात्र सहाराको रुपमा रहेको नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाए केही निजी अस्पताललाई लाभ पुर्याउने काम भएको यहाँका सर्वसाधारणको भनाई छ । साथै, सरकारको यो निर्णय जनता मार्ने निर्णय भएको स्थानीय बताउँछन् । त्यसबेला नारायणीलाई पुनः जनरल अस्पताल बनाउन दबाब दिने मध्येका एक जसपाका नेता ओमप्रकाश सर्राफ भन्छन्ज, “नताको शोषण गर्ने चलखेल हुदैंछ, यो कदापि स्विकार्य हुदैंन ।” सभार : नेपाल पाेष्ट डेली

वयाेधामा मृत्यु भएकी महिलामा काेराेना पुष्टि, आइसियुमा उपचाररत अर्की महिलापनि संक्रमित

0

वीरगंज । नारायणी वयोधा अस्पतालमा मृत्यु भएकी महिलामा काेराेना संक्रमण पुष्टि भएको छ। वयाेधा अस्पतालमा उपचाररत वीरगंज १६ नागवाकी ५० वर्षीया उनको शुक्रवार अपरान्ह ५ बजे मृत्यु भएकाे अस्पतालकाे प्रशासन शाखाका बिष्णु पटेलले वताए ।

साउन १५ गते अस्पतालमा भर्ना भएकी महिलामा काेराेनाकाे लक्षण देखिएपछि बिहिबार उनकाे स्वाब संकलन गरी नारायणी अस्पतालकाे प्रयाेगशालामा परिक्षणकाे लागि पठाइएकाे थियाे । शुक्रबार राति ति महिलाकाे रिपाेर्ट पाेजेटिभ आएकाे नारायणी अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

दम फुल्ने, निमाेनिया जस्ता समस्या देखिएका महिलाकाे उपचार कै क्रममा मृत्यु भएकाे अस्पतालले जानकारी गराएकाे गण्डक काेभिड अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले वताए ।

अस्पतालले दिएकाे जानकारी अनुसार शुक्रबार विहानदेखि उनको स्वास प्रस्वासमा समस्या देखिएको थियाे ।

आइसियुमा उपचारत महिलामा पनि काेराेना पुष्टि 

यस्तै वयाेधा अस्पताकाे आइसियु कक्षमा उपचाररत एक महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । वीरगंज १६ नागरवा कै ५५ बर्षिय महिलामा काेराेना संक्रमण पुष्टि भएकाे अस्पताल स्राेतले जनाएकाे छ । ति महिलालाई गण्डक काेभिड अस्पतालमा सार्ने तयारी भइरहेकाे अस्पतालले जनाएकाे छ ।

मृतक महिलासंगै बिहिबार नै ति महिलाकाे पनि स्वाब संकलन गरि परिक्षणकाे लागि नारायणी अस्पतालमा पठाउदा शुक्रबार राती नै रिपाेर्ट पाेजेटिभ आएकाे हाे । उनमा पनि दम फुल्ने, स्वास प्रस्वासमा समस्या देखिएकाे चिकित्सकले जनाएका छन् ।

वीरगंज हेल्थ केयरलाई काेभिड अस्पताल बनाउन सम्झाैता

0

बीरगन्ज । बीरगन्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गर्न शनिबार सम्झौता भएकाे छ ।

वीरगंज हेल्थ केयर अस्पताललाई काेभिड अस्पताल बनाउन सम्झाैता सम्पन्न भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले वताए । उनले जिल्लामा लक्षणसहितका कोभिड बिरामीहरूको बढ्दो संख्यालाइ दृष्टिगत गरी सो अस्पताललाई कोभिड अस्पतालको रूपमा संचालन गर्न सम्झौता गरिएको बताए ।

सप्रजिअ बस्नेतले भने, “अब आजदेखि नै लक्षणसहितका बिरामीहरूलाई उक्त अस्पतालमा भर्ना गरिने छ ।”

यसअघि, पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले बीरगन्ज हेल्थ केयर अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गर्न केन्द्रिय संकट व्यवस्थापन केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अनुमतिका लागि सिफारिस गरेर पठाएको थियो ।

सिफारिस कै आधारमा शुक्रबार संघिय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पतालाई पत्र सहमि जनाए पछि अस्पतालसंग सम्झाैता गरिएकाे बुझिएकाे छ ।

त्यस्तै, बीरगन्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा. अबुल हैस अन्सारीले पनि जिल्ला संकट व्यवस्थापन समिति, पर्सालाई पत्र लेख्दै अस्पताललाई कोभिड १९ अस्पतालमा रुपमा प्रयोग गर्न दिन तयार रहेको बताएका थिए । तर सम्झौता लागि उनले तीन शर्त संकट व्यवस्थापन समिति समक्ष राखेका थिए ।

अस्पतालमा एक शैयाको आइसोलेसन, ८ भेन्टिलेटर र ३२ वटा आइसीयू बेड रहेको वताइएकाे छ ।

नारायणीलाई पुन: काेभिड अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयकाे पत्र

0

वीरगंज । वीरगंजकाे एक सरकारी नारायणी अस्पताललाई पुन: काेभिड अस्पताल बनाउन संघ सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएकाे छ ।

नारायणी अस्पताललाई काेभिड २ लेबलकाे काेराेना अस्पताल बनाउन पत्र प्राप्त भएकाे अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए ।

उनले भने “नारायणीलाई काेभिड अस्पताल बनाउन शुक्रबार पत्र प्राप्त भएकाे हाे, पत्रमा उल्लेख भए अनुसार अस्पताललाई काेभिडल २ लेभलकाे निर्देशिका बमाेजिक काेभिड अस्पताल संचालन गरिन्छ । अस्पतालकाे डायलिसिस लगायतकाे सेवा बन्द गर्न ५ दिन पहिला नै पत्र प्राप्त भएकाे हाे । नारायणीमा हुदै आएकाे डायलिसिस लगायतकाे सेवा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लिनकाे पहिला जस्तै नै व्यवस्था गरिएकाे छ ।”

संकट व्यवस्थापन केन्द्रले वीरगंज हेल्थ केयरलाई काेराेना अस्पताल बनाउन सिफारिस गरेेकाे सम्बन्धमा पनि कुनै पत्र आए छ कि ? काे जवाफमा डा. उपाध्यायले पत्र आएकाे तर हामीले सम्झाैता गर्नु पर्ने हुन्छ, अस्पताल संचालकले केही शर्त राख्नु भएकाेले साे अनुसार कहाँ सम्झाैता गर्न सकिने जनाए ।

वीरगंज हेल्थ केयर अस्पतालका संचालकले आफुहरु जनशक्ति व्यवस्था गर्न नसक्ने शर्त राख्नु भएकाे छ । उनले भने “हिजाे शुक्रबार राति पनि नारायणी अस्पतालकाे एक डाक्टरमा काेराेना संक्रमण फेला परेकाे छ । नारायणी अस्पतालले अहिलेकाे अवस्थामा एकलै सबै ठाउँमा जनशक्ति व्यवस्था गर्न कहाँ सक्छ ।”

यस अघि पनि सुरुमा नारायणी अस्पतालालाई काेराेना अस्पताल बनाइएकाे थियाे । नारायणी अस्पताललाई काेराेना अस्पताल बनाएपछि त्यहाँकाे सम्पूर्ण जेनरल सेवा बन्द गरिएकाे थियाे । त्यसपछि व्यापक बिराेध भएपछि पुन: केही दिन पहिला मात्र नारायणीकाे आइसाेलेसनमा रहेका काेराेना बिरामीहरु डिस्चार्ज भएपछि जेनरल सेवा सुचारु गरिएकाे थियाे ।

अब फेरी नारायणी अस्पताललाई काेराेना अस्पताल बनाउनु नहुने जनताकाे चाहना विपरित संघ सरकारले नारायणीलाई नै काेराेना अस्पताल बनाउन निर्णय गरेकाे छ । यसले समस्या समाधान नभएर थप समस्या निम्त्याउने देखिएकाे छ ।

सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संंक्रमण पुष्टि

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव पनि कोरोना संक्रमित भएका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण फेला परेको हो । पर्सामा ३ महिलासहित थप ६४ जनामा कोरोना संक्रमण फेला परेको नारायणि अस्पतालका मेसु डा मदन कुमार उपाध्यायले वताए ।

उनले संक्रमण पुष्टि हुनेमा एक डाक्टर, एक प्यारामेडिक्स र एक भिआईपी पनि रहेको जानकारी गराए ।

उनका अनुसार संक्रमित ब्यक्तिहरु १५ देखि ६८ बर्ष उमेर समुहका रहेका छन् ।

यता सांसद यादवले पनि आफू कोरोना संक्रमित भएको आफ्नो फेसबुकमा लेख्दै जानकारि गराएका छन् ।

यश अघि हिजो बिहिबार राती मात्र वीरगंज महननगरका मेयरमा पनि कोरोना संक्रमित भएका थिए ।

वीरगन्जकाे कोरोना अस्पतालबाट २० जना डिस्चार्ज

0

वीरगन्ज । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकबाट काेराेना संक्रमण निको भएर २० जना डिस्चार्ज भएका छन् ।

अस्पतालका संयाेजक डा. उदयनारायण सिंहका अनुसार बिहीबार दुई जना र शुक्रबार १८ जना गरी २० जना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

सबै जनाकाे दाेस्राे पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डा. सिंहका अनुसार निको भएर डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका– ५ जेल रोड निवासी ४७ वर्षीय जोगिन्द्र महतो पनि छन्, जो निमोनियाका बिरामी पनि थिए । ‘१० दिनसम्म चलेको उपचारपछि महतो निको भएका छन्,’ डा. सिंहले भने, ‘कोरोना नेगेटिभ भएपछि शुक्रबार डिस्चार्ज भएका छन् ।’

यस्तै मारुती फार्मास्यूटिकल प्रालिका प्रबन्धकसहित ८ जना पनि काेराेना निकाे भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने २० जनामध्ये ३ जना महिला रहेको अस्पतालले जनाएको छ ।