Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

नारायणीमा डायलासिस ठप्प, दिर्घरोगी भन्छन् “मर्छु तर एनएमसि जाँदिन”

spot_img
spot_img

बीरगन्ज । “यहाँ संक्रमण धेरै बढ्यो, स्वास्थ्यकर्मीहरु पनि पोजेटिभ देखिए, डायलासिस सेवा लिदैं आएका तीन दिर्घरोगी पनि संक्रमित भए, अब यहाँबाट डायलासिस सेवा दिन सकिदैंन” भन्ने जवाफ पाएपछि जगरनाथपुर गाउँपालिका वडा नं. ५ का रामविश्वास साह तनावमा छन् । बीरगन्जस्थित नारायणी अस्पतालमा डायलासिसका लागि उनकी आमाको पालो आइतबार (साउन १८) गते परेको छ । त्यसैबारे सोधपुछका फोन गर्दा यस्तो जवाफ पाएपछि अब के गर्ने भन्ने तनाव उनलाई छ ।

उनलाई तनाव यो कुराको छ कि अब फेरि नेशनल मेडिकल कलेजमा आमाको डायलासिसका लागि जानुपर्नेछ । साह, आमा कृष्णावती देवीलाई लिएर डायलासिसका लागि हरेक हप्ता नारायणी पुग्ने गर्छन् । तर अब आमालाई कहाँ लगेर डायलासिस गराउने ठूलो चिन्ता छ । किनभने यसअघि नारायणीबाट नेशनलमा डायलासिस सेवा सारिएको बेला, नारायणीका बिरामीलाई होल्ड गराएर नेशनलका बिरामीलाई प्राथमिकता दिएको, डायलासिसलाई राति १२ बजेसम्म कुराएको, डायलासिसको क्रममा लापरवाही गरेको र यस्तै कारणले गर्दा त्यसबेला डायलासिस सेवा लिदैं आएका ४० मध्ये ७ जनाको ज्यानै गएको तितो अनुभव उनीसँग छ ।

गत वैशाखमा पनि नारायणीबाट दिन निशुल्क डायलासिस सेवा नेशनलमा सारिएपछि सो क्रममा अस्पतालको लापरवाही गर्दा ७ जना दिर्घरोगको ज्यान नै गएको आरोप आफन्तको छ । यहीं कुराको चिन्ताले अहिले साहलाई सताईरहेको छ । उनी भन्छन, “पहिला डायलासिस सेवा नेशनलमा सार्दा नारायणीको भन्दा पनि गुणस्तरीय सेवा पाइएला भनेर कुनै चिन्ता बिना गएकै थियौं तर अब त्यहाँको सेवाको स्तर र त्यसले दिएको परिणामबारे थाहा हुदाँ हुदैं कसरी जानु ?”

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले नारायणीलाई पुनः कोभिडको लेभल २ अस्पताल बनाउन शुक्रबार मन्त्रालयबाट पत्र आएको पुष्टि गरिसकेका छन् । साथै, उनले अस्पतालले दिएको डायलासिस सेवा बन्द गर्न ५ दिन अघि नै पत्र आएको पनि बताए । डायलासिस सेवा त्यहींबाट नै सुचारु गर्ने भनेर बिरामीलाई दिएको आश्वासनबारे मेसु उपाध्यायसँग सोध्दा उनले भने, “आश्वासन त दिएको हो, अब म त कर्मचारी न हो, माथिबाट जे जे निर्देशन आउँछ, त्यहीं न गर्ने हो ।”

हाल नारायणी अस्पतालबाट निशुल्क रुपमा ३४ जना दिर्घरोगीले डायलासिस सेवा लिदैं आएका छन् । जसमध्ये तीन जना दिर्घरोगीमा कोरोना पोजेटिभ देखिएको छ । तर अब डायलासिस सेवा लिनका लागि नेशनल जानुपर्ने भएपछि साह जस्तै अन्य बिरामीका आफन्तको चिन्ता बढेको छ ।

विपन्न नागरिक कार्यक्रम अन्तर्गत नेपाल सरकारले एकपटक डाइलासिस गरेबापत दुई हजार पाँच सय रुपैयाँ दिने गरेको छ । यसबापत त्यसबेला नेशनल मेडिकल अस्पतालले भने सन्तोषजनक सेवा नदिएको बिरामीका आफन्तको भनाई छ । नेशनलमा डायलोजर (रगत प्रशोधन उपकरण) बाट १० पटकसम्म डाइलासिस गर्ने गरेको जबकि नारायणी अस्पतालमा भने एउटा डायलोजरबाट दुई पटक मात्र डाइलासिस हुने गरेको बिरामीका आफन्त बताउँछन् । मृत्युको मुख्य कारण यही हो जस्तो लागेको बिरामीका आफन्तको ठम्याई छ । यसले गर्दा त्यतिबेला पनि नेशनलमा डायलासिस सेवा लिएका बाँचेका बिरामीहरूको मनमा भय पसिसकेको छ, नेसनल मेडिकल कलेजले के गर्ने हो भनेर ।

केही दिन पहिला स्थानीय एक टिभीको कार्यक्रममा नेकपाका पर्सा अध्यक्ष प्रभु हजराले नारायणीलाई पुनः कोभिड अस्पताल बनाउने पर्ने विचार व्यक्त गरेका थिए । तत्पश्चात उनको यो विचारलाई लिएर सामाजिक सन्जालमा चर्को विरोध भएको थियो । कारण हो, यसअघि त्यसबेला नारायणी अस्पताललाई कोभिड अस्पताल बनाएपछि डायलासिस सेवा लिदैं आएका बिरामी र जनरल सेवा ठप्प भएपछि अन्य रोगका बिरामीले समेत भोग्नु परेको दुख, पिडा र कष्ट । त्यसबेला, नारायणीलाई पुनः जनरल अस्पताल बनाउनु पर्ने सर्वपक्षीय चर्को दबाब दिएपछि निर्णय परिवर्तन गरिएको थियो । अहिले आएर नेकपाका पर्सा अध्यक्ष हजाराले भनेको केही दिन नबित्दै संघीय सरकारले फेरि नारायणी कोभिड अस्पतालमा परिणत गर्न पत्राचार गरेपछि यहाँका नागरिकमा चिन्ता तथा आक्रोश बढेको छ ।

राजनितिक प्रभावमा जनताको एक मात्र सहाराको रुपमा रहेको नारायणी अस्पताललाई पुनः कोभिड अस्पताल बनाए केही निजी अस्पताललाई लाभ पुर्याउने काम भएको यहाँका सर्वसाधारणको भनाई छ । साथै, सरकारको यो निर्णय जनता मार्ने निर्णय भएको स्थानीय बताउँछन् । त्यसबेला नारायणीलाई पुनः जनरल अस्पताल बनाउन दबाब दिने मध्येका एक जसपाका नेता ओमप्रकाश सर्राफ भन्छन्ज, “नताको शोषण गर्ने चलखेल हुदैंछ, यो कदापि स्विकार्य हुदैंन ।” सभार : नेपाल पाेष्ट डेली

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा प्रथम अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

वीरगंज । विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले वीरगंज यूथ एकेडेमीको आयोजनामा ‘प्रथम वीरगंज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको...

वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलद्वारा एक हजार बिरुवा रोपण

वीरगंज । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वीरगंजस्थित वीरगंज न्यूरो एण्ड जेनरल हस्पिटलले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। हस्पिटलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न...

प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइको परराष्ट्रद्वारा बचाउ

काठमाडौं । नेपाल–भारत सीमाका विषयमा सम्माननीय प्रधानमन्त्रीले संसदमा व्यक्त गर्नुभएको भनाइबारे उठेका जिज्ञासाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ । मन्त्रालयका प्रवक्ताले आइतबार जारी...