Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

जिराभवानी गाउँपालिकाले ल्यायो महत्वाकांक्षी नीति तथा कार्यक्रम

शिक्षा, सुशासन र समृद्धिलाई प्राथमिकता

spot_img
spot_img

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण संरक्षण, सुशासन तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाको वडा नं. ३ स्थित जीतपुर कृषि तथा पशुपन्छी भवनमा आयोजित १७औँ गाउँसभामा उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभामा समग्र विकासलाई लक्षित गर्दै विभिन्न क्षेत्रका योजनाहरू सार्वजनिक गरिएको हो ।

नीति तथा कार्यक्रमअनुसार शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । राष्ट्रिय साक्षरता अभियानलाई प्रभावकारी बनाउँदै निरक्षरता उन्मूलन गर्ने, सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार तथा शौचालय निर्माणमा अनुदान उपलब्ध गराउने, नियमित अनुगमनमार्फत गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

सामुदायिक विद्यालयहरूमा कक्षा ३ सम्म अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट पठनपाठन गराइने, शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने तथा विद्यालयहरूमा कम्प्युटर, प्रिन्टर र विद्युतीय हाजिरी प्रणालीको व्यवस्था गरिने नीति लिइएको छ । साथै “एक वडा, एक माध्यमिक विद्यालय” अवधारणालाई कार्यान्वयन गर्दै उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान र पुरस्कृत गरिने जनाइएको छ ।

सामाजिक विकासतर्फ बाल सञ्जाल तथा बालबालिकाको क्षमता विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । बालिकाहरूको शिक्षाको हक सुनिश्चित गर्न विशेष व्यवस्था गरिने, अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरी अपाङ्ग गाउँ सञ्जाल गठन गरिने तथा ज्येष्ठ नागरिक, दलित, आदिवासी, अल्पसंख्यक, मुस्लिम र पिछडा वर्गको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

वातावरण संरक्षण तथा सरसफाइतर्फ “पवित्र, सुन्दर, समृद्ध र समुन्नत जिराभवानी” नारालाई सार्थक बनाउन गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने लक्ष्य लिइएको छ । वृक्षारोपण अभियान, सरसफाइ कार्ड वितरण तथा शौचालयविहीन घरधुरीलाई आवश्यक सहयोग उपलब्ध गराइने नीति समेटिएको छ । जग्गाविहीन नागरिकका लागि समुदायमा आधारित शौचालय निर्माण गरी सञ्चालन व्यवस्थापन सम्बन्धित निकायलाई हस्तान्तरण गरिने जनाइएको छ ।

राजस्व तथा आर्थिक प्रशासनतर्फ नक्सापास तथा स्वीकृतिविना निर्माण गरिएका संरचनाहरूलाई कानुनी दायरामा ल्याइने, मापदण्डभित्र निर्माण भए पनि स्वीकृति नलिएका संरचनाहरूलाई २०८३ असार मसान्तभित्र नियमितीकरण गरी करको दायरामा ल्याइने व्यवस्था गरिएको छ । घर तथा जग्गा बहालमा लगाउनेहरूको अभिलेख तयार गरी बहाल कर संकलन गर्ने, फोहोरमैला व्यवस्थापन शुल्क उठाउने तथा नयाँ राजस्व स्रोतहरूको पहिचान गरी करको दायरा विस्तार गरिने नीति लिइएको छ ।

त्यसैगरी हाटबजार, पटके पसल तथा सार्वजनिक सम्पत्तिबाट हुने आम्दानीलाई एकद्वार प्रणालीमार्फत गाउँपालिकाको राजस्व प्रणालीमा आबद्ध गरिने, पोखरीहरूको मर्मत–सम्भार तथा व्यवस्थित ठेक्का व्यवस्थापन गरिने र वर्षौंदेखिका बक्यौता तथा पेश्की रकम कडाइका साथ असुलउपर गरिने उल्लेख गरिएको छ ।

प्रशासन, सुशासन तथा पारदर्शितालाई सुदृढ बनाउन कार्यालयको अभिलेख तथा फाइलिङ प्रणाली व्यवस्थित गरिने, शाखा तथा कर्मचारीहरूको विवरण अद्यावधिक गरिने र विकास निर्माणका कार्यमा ‘पेश्की बेरुजु शून्य नीति’ अवलम्बन गरिने जनाइएको छ । कर्मचारीहरूलाई पोशाक भत्ता उपलब्ध गराई परिचयपत्रसहित निर्धारित पोशाक अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने व्यवस्था पनि गरिनेछ ।

गाउँसभामा वडा अध्यक्षहरू रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय थारु, राजेश्वर दास थारु तथा दारा सिंह राउतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गाउँ कार्यपालिकाका सदस्य सरोज चौरसियाले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, विभिन्न शाखाका प्रमुखहरू, कर्मचारी, जनप्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले शिक्षा, सामाजिक न्याय, वातावरण संरक्षण, सुशासन र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै समुन्नत जिराभवानी निर्माणको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको सहभागीहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज । एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ। इलाका प्रहरी कार्यालय प्रसौनी, बाराले उद्धार...

धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा

महोत्तरी । देशकै मुख्यबाली धानखेतीका लागि समयमै सिँचाइ र मलखाद्यको उपलब्धता भरपर्दो नहुँदा महोत्तरीका किसानलाई अब के गर्ने भन्ने अन्योल पर्ने गरेको पाइएको छ...

शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले शनिबार र आइतबार अनिवार्य सार्वजनिक बिदा दिन विद्यालयलाई निर्देशन दिएको छ । वीरगञ्जका केही संस्थागत विद्यालयले आइतबारसमेत पठनपाठन सञ्चालन गरिरहेको गुनासो...