Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 86

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

0

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन तथा नीतिगत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मधेश प्रदेश सरकारद्वारा हालै सार्वजनिक गरिएको नीति तथा कार्यक्रमको बुँदा नं. ४.२.१ मा हरवाचरवा समुदायलाई पूर्ण रूपमा मुक्त गर्दै उनीहरूको भूमिमाथिको अधिकार, सामाजिक सुरक्षा तथा आर्थिक पुनर्स्थापना सुनिश्चित गरी कृषि व्यवसायमा सम्मानजनक पहुँच स्थापित गर्ने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ। मञ्चले उक्त व्यवस्थालाई सकारात्मक कदमको रूपमा स्वागत गर्दै कार्यान्वयनका लागि स्पष्ट योजना, पर्याप्त बजेट र प्रभावकारी संयन्त्र आवश्यक रहेको जनाएको छ ।

यसै सन्दर्भमा जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा मुक्त हरवाचरवाको लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरणमार्फत न्यायिक पुनर्स्थापनाको प्रक्रिया अघि बढाउन प्रदेश सरकारसँग माग गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले आगामी बजेटमार्फत प्रदेशका आठवटै जिल्लामा रहेका हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि आवश्यक स्रोत सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले हरवाचरवा समुदायको भूमिमाथिको अधिकार, सामाजिक सुरक्षा तथा आर्थिक पुनर्स्थापनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँदै नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गर्नुभयो ।

मुक्त हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले प्रदेश सरकारले हरवाचरवा समुदायको मुद्दा नीति तथा कार्यक्रममा समेटेकोमा धन्यवाद व्यक्त गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले न्यायिक पुनर्स्थापना, भूमि अधिकार तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रम तत्काल सुरु गर्न माग गर्दै त्यसो नभए अधिकार प्राप्तिका लागि निर्णायक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।

द फ्रिडम फण्डका जनवकालत सल्लाहकार वालाराम भट्टराईले मुक्त हरवाचरवा समुदायको दीर्घकालीन पुनर्स्थापना र अधिकार सुनिश्चितताका लागि प्रदेश सरकारले थप प्रभावकारी पहल गर्नुपर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारको कार्यविभाजन नियमावलीमा हरवाचरवा समुदायको सवाल स्पष्ट रूपमा समावेश गर्न, लगत संकलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण सम्बन्धी निर्देशिकालाई राजपत्रमा प्रकाशित गरी कानुनी मान्यता दिन तथा यसका लागि पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सम्पन्न कार्यक्रममा हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदा, कोषाध्यक्ष राजवती मण्डल, केन्द्रीय सदस्य रामदयाल माझीलगायत साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण राष्ट्रिय दलित नेटवर्क नेपालका बृजलाल पाशवानले गर्नुभएको थियो ।

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको शतप्रतिशत खोप सुनिश्चितता तथा खोप सम्बन्धी मापदण्ड पूरा भएपछि गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिकाको वडा नं. ५ मसिहानीस्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रमा आयोजित एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप सुदृढीकरण, सरसफाइ प्रवर्द्धन तथा स्वास्थ्य सेवाको अवस्था सम्बन्धी समीक्षा गरिएको थियो । साथै आगामी दिनमा खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सूक्ष्म योजना अध्यावधिक गोष्ठी समेत सम्पन्न गरिएको गाउँपालिकाका स्वास्थ्यकर्मी अशोक पटेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न खोपको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै खोप अभियानलाई निरन्तरता दिन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए । उनले प्राप्त उपलब्धिलाई दिगो बनाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।

गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्रीले पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन स्वास्थ्य क्षेत्रका सबै कर्मचारी, स्वयंसेविका तथा स्थानीयवासीको योगदान प्रशंसनीय रहेको बताइन् । उनले आगामी दिनमा पनि स्वास्थ्य तथा सरसफाइका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, गाउँपालिका स्वास्थ्य संयाेजक प्रभेन्द्र साह, विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका अनुसार खोपबाट बचाउन सकिने रोगहरूको नियन्त्रण तथा बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत आवश्यक सूचकहरू पूरा भएपछि जगरनाथपुरलाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो । यस घोषणासँगै गाउँपालिकाले नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

सरकारी निर्देशनविपरीत नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा कर्मचारी भर्ना

0

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कर्मचारी नियुक्ति रोक्न सम्बन्धी निर्देशनविपरीत नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको पाइएको छ । अस्पतालले २०८३ वैशाख १५ गते विभिन्न पदमा नौ जना कर्मचारी नियुक्त गरेको अभिलेखबाट खुलेको हो ।

अस्पतालको प्रशासन शाखाको अभिलेखअनुसार स्टाफ नर्स पाँचौँ तहमा अर्चना शर्मा, रिन्कु चौरसिया, नेहा सर्राफ र पुष्पाकुमारी साहलाई नियुक्त गरिएको छ । त्यसैगरी एनेस्थेसिया सहायकमा उमेशकुमार कुशवाहा, अजय साह र अर्जुन बैठा, अपरेसन सहायकमा अनिलकुमार पटेल तथा कार्यालय सहयोगीमा अनिताकुमारी तेलीलाई दैनिक ज्यालादारीमा भर्ना गरिएको छ ।

सरकारले हाल कुनै पनि प्रकारको नयाँ कर्मचारी नियुक्ति नगर्न निर्देशन दिएको अवस्थामा समेत अस्पतालले कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको पाइएको हो । यस विषयलाई लिएर अस्पतालभित्रै प्रश्न उठ्न थालेका छन् ।

अस्पतालका केही कर्मचारीहरूले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले आवश्यकताभन्दा बढी आफ्ना निकट व्यक्तिहरूलाई दैनिक ज्यालादारीमा नियुक्त गरेको आरोप लगाएका छन् । प्रशासन शाखाका एक कर्मचारीका अनुसार अपरेसन सहायक पदमा नियुक्त भएका अनिलकुमार पटेल डा. साहसँग सम्बन्धित निजी स्वास्थ्य संस्था सर्वोत्तम अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

स्रोतका अनुसार पटेल नारायणी अस्पतालमा नियमित रूपमा नभई प्रत्येक शुक्रबार मात्र उपस्थित हुने गरेका छन् भने अन्य समयमा मेडिकल सुपरिटेन्डेन्टसँग सम्बन्धित निजी अस्पतालमा सहायकको भूमिकामा काम गर्ने गरेको आरोप छ ।

यता निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले भने नियुक्ति गरिएको कर्मचारीहरूको तलब ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्राप्त बजेटबाट व्यवस्थापन गरिने बताएका छन् । उनका अनुसार ती कर्मचारीहरूलाई अस्पताल विकास समितिको स्रोतबाट नभई कार्यक्रमगत बजेटमार्फत पारिश्रमिक उपलब्ध गराइनेछ ।

सरकारी निर्देशन जारी रहेकै अवस्थामा गरिएको नियुक्ति प्रक्रिया, कर्मचारी छनोटको आधार तथा कार्यक्रमगत बजेटको प्रयोगबारे भने थप प्रश्न उठ्न थालेका छन् । यस विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग समेत उठ्न थालेको छ ।

विश्व वातावरण दिवसमा गौतम माविद्वारा विद्यार्थीलाई निःशुल्क विरुवा वितरण

0

वीरगंज । विश्व वातावरण दिवसको अवसरमा गौतम माद्यमिक विद्यालयले विद्यार्थीहरूलाई विभिन्न प्रजातिका विरुवा वितरण गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।

हरियाली संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीलाई मध्यनजर गर्दै विद्यालयले एलकेजी, युकेजी तथा कक्षा १ मा अध्ययनरत करिब ५ सय विद्यार्थीहरूलाई अशोका, गुलमाेहर, अम्बा लगायतका विभिन्न प्रजातिका विरुवा निःशुल्क वितरण गरेको विद्यालयका कोडिनेटर सौराज प्रधानले जानकारी दिए ।

उनका अनुसार बालबालिकाहरूमा सानै उमेरदेखि वातावरण र वृक्षारोपणको महत्वबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले विरुवा वितरण गरिएको हो । विद्यालयले छुटी भएकाे समयमा प्रत्येक विद्यार्थीलाई एक–एक वटा विरुवा प्रदान गर्दै घरमा रोप्न प्रोत्साहित गरेको पठाएकाे थियो ।

कक्षा १ मा अध्ययनरत विद्यार्थी प्रभास साहले विद्यालयबाट प्राप्त विरुवा घरमा रोप्ने र नियमित पानी हालेर हुर्काउने बताए । “घरमा रुख रोप्नका लागि म्यामले विरुवा दिनुभएको छ, म यसलाई राम्रोसँग हुर्काउँछु,” उनले उत्साहित हुँदै भने ।

यसै अवसरमा विद्यालयले वातावरणीय विषयवस्तुमा आधारित कक्षा सजावट प्रतियोगिता पनि आयोजना गरेको थियो । विद्यार्थीहरूमा वातावरण संरक्षणप्रति सचेतना बढाउने, सिर्जनशीलता विकास गर्ने तथा सामाजिक जिम्मेवारीबोध जगाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

प्रतियोगितामा कक्षा ९ ‘क’ प्रथम, कक्षा ९ ‘घ’ द्वितीय, कक्षा ७ ‘घ’ तृतीय तथा कक्षा ९ ‘ख’ चौथो स्थान हासिल गर्न सफल भएका छन् । विद्यार्थीहरूले पेन्टिङ, चित्रकला, सन्देशमूलक पोस्टर तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गरी कक्षालाई वातावरणमैत्री ढंगले सजाएका थिए ।

उनीहरूले हरियाली संरक्षण, वृक्षारोपण, प्रदूषण नियन्त्रण, जलवायु परिवर्तन र स्वच्छ वातावरणको महत्व झल्काउने विभिन्न सिर्जनात्मक प्रस्तुति दिएका थिए ।

विद्यालयका प्रिन्सिपल गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोडिनेटरहरू रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतियोगिताको मूल्यांकन सञ्चारकर्मी निरज पिठाकोटे मगर, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता तथा एलाईड युथ सोसाइटीका संस्थापक ओमकुमार झाले गरेका थिए ।

इप्रका पाेखरियाद्वारा लागुऔषध मुद्दाका फरार प्रतिवादी कालिकामाईका केवट पक्राउ

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाले अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी कारागार चलान गरेको हो ।

पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका–५, बिरञ्चीबर्वा निवासी जितेन्द्र महतो केवट रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पाैडलले जानकारी दिए ।

प्रहरी निरीक्षक पौडेलका अनुसार केवटविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनबाट बच्न उनी फरार रहँदै आएका थिए ।

फरार प्रतिवादीको खोजतलासका क्रममा प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि कैद भुक्तानका लागि वीरगंज कारागार पठाएको जनाएको छ ।

प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिएको समेत जनाएको छ ।

देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै पत्रकार महासंघले धर्ना दिने

0

वीरगंज । नेपाल पत्रकार महासंघले सूचना तथा सरकारी विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न माग गर्दै थप दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघले प्रेसको संवैधानिक हकको संरक्षण, संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल तथा नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्न आन्दोलनलाई थप सशक्त बनाउने जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार जेठ २५ देखि असार ५ गतेसम्म विभिन्न चरणका आन्दोलनका कार्यक्रम तय गरिएको छ । जेठ २५ गते देशभरका महासंघका संरचनाबाट संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइनेछ । यस्तै, जेठ २७ र २९ गते बिहान ११ बजेदेखि १२ बजेसम्म सबै जिल्ला प्रशासन कार्यालयमा जिल्ला शाखाको नेतृत्वमा धर्ना कार्यक्रम आयोजना गरिनेछ ।

त्यसैगरी असार १ र ३ गते प्रदेश समितिहरूको अगुवाइमा सबै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धर्ना दिइनेछ। आन्दोलनको अन्तिम चरणअन्तर्गत असार ५ गते काठमाडौंमा पेशागत संगठन तथा विभिन्न सरोकारवालाको सहभागितामा वृहत् ऐक्यबद्धता र्‍याली आयोजना गरिने महासंघले जनाएको छ ।

महासंघले २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्रमार्फत सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको छ । दुई महिनादेखि निरन्तर दबाब र पहल गर्दा पनि सरकारले मागप्रति कुनै सुनुवाइ नगरेकाले आन्दोलनलाई निरन्तरता दिन बाध्य भएको महासंघको भनाइ छ ।

महासंघले आन्दोलनमा सक्रिय सहभागिताका लागि पत्रकार, सञ्चारमाध्यम तथा सबै सरोकारवालासमक्ष आह्वान गर्दै यसअघिका आन्दोलनमा प्राप्त सहयोग, सहकार्य र ऐक्यबद्धताका लागि आभारसमेत व्यक्त गरेको छ ।

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

0

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३६६ जना बिरामीले निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन् ।

शिविरमा जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नशा रोग र छाला रोगसम्बन्धी विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो। स्वास्थ्य सेवा लिन स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा कोल्हवी नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रजकिशोर चौधरी, डा. बनारसीलाल कसारी, डा. सन्तोष झा, डा. ओमप्रकाश तथा डा. नीलमणि प्रियदर्शीलगायतको सक्रिय सहभागिता रहेको थियो ।

शिविरकै अवसरमा कोल्हवी नगरपालिका र नेशनल मेडिकल कलेज, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ । सम्झौतामा नेशनल मेडिकल कलेजका तर्फबाट अस्पताल निर्देशक डा. इशरत जहान र कोल्हवी नगरपालिकाका तर्फबाट नगर प्रमुख रामप्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार कोल्हवी नगरपालिकाका नागरिकहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट सुविधा प्राप्त गर्नेछन् । साथै नियमित निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम तथा अन्य सामुदायिक स्वास्थ्य गतिविधिहरू सञ्चालन गर्न दुवै पक्षबीच सहकार्य गरिने जनाइएको छ ।

“सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकसम्म” भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रमले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै स्थानीय तह र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

0

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका छन् ।

क्षेत्रभित्रका विभिन्न पालिकाबाट उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–२ गौतमनगरस्थित श्री सरस्वती माध्यमिक विद्यालयकी अन्सु खनालले ३.६६ जीपीए प्राप्त गर्दै क्षेत्रमै प्रथम स्थान हासिल गरेकी छन् । उनले रु. ५१ हजार नगद पुरस्कारसहित सम्मानपत्र प्राप्त गरिन् ।

त्यसैगरी विभिन्न पालिकाबाट प्रथम स्थान हासिल गर्ने पाँच जना विद्यार्थीलाई जनही रु. २१ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार प्राप्त गर्नेहरूमा श्री नेरा माध्यमिक विद्यालय, सेढवाकी राधा कुमारी (GPA ३.२५), श्री नेरा माध्यमिक विद्यालय, जगरनाथपुरका अजय साह रौनियार (GPA ३.४८), श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय, लगडीका सञ्जीव पटेल (GPA ३.५१), श्री सुकई साह माध्यमिक विद्यालय, भेडीहारीकी रैणु कुमारी (GPA ३.५५) तथा श्री मङ्गल माध्यमिक विद्यालय, छिपहरमाई गाउँपालिका भिस्वाका रञ्जित कुमार साह (GPA ३.२२) रहेका छन् ।

कार्यक्रममा बोल्दै सांसद शाक्यले शिक्षा नै विकास र समृद्धिको प्रमुख आधार भएको उल्लेख गर्दै उत्कृष्ट विद्यार्थीहरूको सम्मान तथा प्रोत्साहन कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीहरूलाई अझ मेहनतका साथ अध्ययन गरी राष्ट्र निर्माणमा योगदान दिन आग्रह समेत गरे ।

उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिनुले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र उत्साह थपिने अपेक्षा गरिएको कार्यक्रम सहभागी शिक्षक सुदिल पटेलले वताए ।

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

0

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी ४५ वर्षीय गिरधारी प्रसाद कुर्मीलाई पक्राउ गरिएको हो । उमेश प्रसाद कुर्मीको जाहेरीका आधारमा दर्ता भएको ठगी सम्बन्धी कसूर मुद्दामा पर्सा जिल्ला अदालतले २०८३ जेठ ११ गते पक्राउ अनुमति जारी गरेको थियो ।

उक्त अनुमति पश्चात् प्रदेश प्रहरी कार्यालय वीरगंजबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई जेठ २१ गते बिहान करिब ७ बजे वीरगंज महानगरपालिका–२४ रामगढवा टोलबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका कुर्मीलाई अदालतबाट जारी भएको पक्राउ पुर्जी बुझाई आवश्यक प्रतिवेदनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजले जानकारी दिएको छ ।

वीरगंजमा ई-स्कुटरको ब्याट्री पड्किँदा गढीमाई लजमा आगलागी

0

वीरगंज । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको ई–स्कुटरको ब्याट्री पड्किँदा आगलागी भएको छ । बिहीबार बिहान करिब ७ बजे भएको आगलागीबाट स्कुटर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै लजका विभिन्न सामग्रीमा समेत क्षति पुगेको छ ।

मधेश प्रदेश ०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर लज अगाडि पार्किङ गरिएको अवस्थामा अचानक ब्याट्री पड्किएर आगो लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आगो तीव्र रूपमा फैलिँदा स्कुटरसँगै लजभित्र रहेका चौकी, लत्ताकपडा, इन्टरनेट उपकरण, एसी, पंखा, होर्डिङ बोर्ड लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

लज तथा स्कुटरका धनी किशन साह कानुका अनुसार कुनै पूर्व संकेतबिना पार्किङ गरिएको स्कुटरबाट एक्कासि धुवाँ निस्किएपछि विस्फोटजस्तै आवाज आएको थियो । त्यसलगत्तै आगो सल्किएर आसपासका संरचनामा फैलिएको उनले बताए ।

आगलागीको सूचना पाएपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना तथा वीरगंज महानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो । सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि स्कुटर र लजका सामग्रीमा उल्लेखनीय क्षति पुगेको छ ।

घटनापछि ई–स्कुटरको ब्याट्री सुरक्षाबारे पुनः प्रश्न उठेको छ । पीडित पक्षले स्कुटरमा भएको आगलागीको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले प्राविधिक अनुसन्धान गर्नुपर्ने माग गरेका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा विद्युतीय सवारीसाधनका ब्याट्रीमा समस्या देखिएका घटनाहरू सार्वजनिक भइरहेका बेला वीरगंजको यो घटनाले पनि ई–स्कुटरको गुणस्तर तथा सुरक्षा मापदण्डबारे गम्भीर अध्ययन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।