Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 68

तीन दिनपछि छपकैया ३३ केभी केबलको खराबी पत्ता, वीरगंजकाे विद्युत सेवा सहज बन्दै

0

वीरगंज । वीरगंजकाे विद्युत आपूर्तिको प्रमुख विकल्पका रूपमा रहेको छपकैया ३३ केभी अन्डरग्राउन्ड केबलमा आएको प्राविधिक खराबी (फल्ट) तीन दिन र तीन रातको निरन्तर प्रयासपछि पत्ता लागेको छ । नेपाल विद्युत प्राधिकरण, वीरगंज वितरण केन्द्रले केबलको समस्या समाधानतर्फ काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्राधिकरणका अनुसार केबलमा समस्या देखिनेबित्तिकै उच्च व्यवस्थापनको समन्वयमा Fault Locator Megger Testing Van रातारात वीरगंज ल्याएर परीक्षण सुरु गरिएको थियो । तर रातभरको प्रयासपछि पनि प्रारम्भिक रूपमा फल्टको स्थान पहिचान हुन नसक्दा छपकैया सबस्टेसनअन्तर्गत सञ्चालित अस्पताल, विर्तामाई, नगवा, छपकैया र बलिरामपुर फिडरमध्ये बलिरामपुर, छपकैया र नगवा फिडरको विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।

विद्युत सेवा लामो समय अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्राधिकरणले अर्को दिनदेखि नै प्रभावित सबै फिडरमा वैकल्पिक विद्युत आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ ।

लगातार तीन दिन र तीन रातको प्राविधिक खोजीपछि नगवा पोखरी नजिक अन्डरग्राउन्ड केबलमा आएको खराबीको स्थान पहिचान गरिएको हो । उक्त क्षेत्रमा निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन सम्पन्न भइसकेकाले पुरानो लाइन नकटाई नै मर्मत कार्य अघि बढाउन सहज भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रतिकूल वर्षायाम, केही स्थानीयको अवरोध तथा चुनौतीपूर्ण अवस्थाका बीच पनि वीरगंज वितरण केन्द्रका कर्मचारी, प्राविधिक टोली र निर्माण व्यवसायीले दिनरात खटेर निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन दुई दिनमै सम्पन्न गरी सफलतापूर्वक चार्ज गरेका छन् ।

वीरगंज वितरण केन्द्रले कठिन परिस्थितिमा धैर्यपूर्वक सहयोग गर्ने स्थानीय उपभोक्ता, स्थानीय प्रशासन, सञ्चारकर्मी, निर्माण व्यवसायी तथा प्राधिकरणको उच्च व्यवस्थापनप्रति आभार व्यक्त गरेको छ ।

प्राधिकरणले नयाँ ३३ केभी ओभरहेड लाइन सञ्चालनमा आएसँगै भविष्यमा वीरगंजवासीले अझ भरपर्दो, गुणस्तरीय र नियमित विद्युत सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यसलाई वीरगंजकाे विद्युत आपूर्ति प्रणालीका लागि महत्त्वपूर्ण उपलब्धि तथा नयाँ कोसेढुंगा भएको जनाएको छ ।

जनप्रतिनिधिको नेतृत्वमा कर्मचारीमाथि कुटपिट निन्दनीय, कारबाहीको माग

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कर्मचारीमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीय राजेश प्रसाद कुर्मीले माग गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कुर्मीले मिति २०८३ असार २३ गते कालिकामाई गाउँपालिका कार्यालयमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय कुमार पटेलको नेतृत्वमा कर्मचारीमाथि भएको भनिएको कुटपिट तथा दुर्व्यवहारको घटना दुःखद, निन्दनीय तथा कानुनी राज्यको मर्मविपरीत रहेको बताएका छन् ।

विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्थामा जनप्रतिनिधिसमेत सबैले कानुनको दायराभित्र रहेर आफ्नो असन्तुष्टि र अधिकारको प्रयोग गर्नुपर्ने उल्लेख गर्दै हिंसात्मक व्यवहार कुनै पनि दृष्टिकोणले स्वीकार्य हुन नसक्ने धारणा व्यक्त गरिएको छ । दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिबाट यस्तो गतिविधि हुनु जनप्रतिनिधिको मर्यादा र जिम्मेवारीसँग मेल नखाने पनि विज्ञप्तिमा उल्लेख छ ।

कुर्मीले घटनाको वास्तविक कारण, पृष्ठभूमि र उद्देश्यबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । प्राप्त जानकारीअनुसार कार्यादेशबिना सम्पन्न गरिएको भनिएको कामको भुक्तानीसँग सम्बन्धित विवादका कारण उक्त घटना भएको चर्चा रहेको उल्लेख गर्दै त्यस विषयमा पनि सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा वडाध्यक्ष पटेलले आफ्नो लामो कार्यकालमा वडा नं. ३ मा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य आधारभूत सेवाको अवस्थाबारे वडा तथा गाउँपालिकावासीलाई स्पष्ट जानकारी गराउनुपर्ने धारणा पनि राखिएको छ । गाउँपालिका कार्यालय रहेको वडामै अपेक्षाअनुसार शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास हुन नसकेको विषयमा समीक्षा आवश्यक रहेको उनले बताएका छन् ।

त्यसैगरी, हालै सार्वजनिक भएको एक भिडियोमा करार नियुक्ति तथा तथाकथित “बाउन्सर” भर्नासम्बन्धी उठाइएका विषयमा पनि आफ्नो कार्यकालमा भएका नियुक्ति प्रक्रियाबारे तथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षलाई उनले आग्रह गरेका छन् ।

नेपालमा विधिको शासन, सुशासन र पारदर्शितालाई संस्थागत गर्ने प्रयास भइरहेका बेला कुनै पनि व्यक्तिले कर्मचारीलाई दबाब, धम्की वा बल प्रयोग गरेर गैरकानुनी काम गराउने वा गराउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गर्दै उनले सबै पक्षलाई कानुनको सर्वोच्चता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा कुर्मीले कर्मचारीमाथि भएको भनिएको कुटपिट तथा दुर्व्यवहारको घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

मनसुनजन्य विपद्को पूर्वतयारीमा वीरगंज महानगर, अनुगमन टोली परिचालन गर्ने निर्णय

0

वीरगंज । मनसुन सक्रिय भएसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् तथा त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ । यसैक्रममा कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा शनिबार नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

कार्यवाहक नगरप्रमुखको सचिवालयमा बसेको बैठकले मनसुन पूर्वतयारी, स्थलगत अनुगमन, स्वास्थ्य सेवा व्यवस्थापन तथा वडा कार्यालयहरूलाई उच्च सतर्कतामा राख्ने विषयमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको हो ।

बैठकले मनसुन सुरु भइसकेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत–साधन, जनशक्ति र पूर्वतयारीलाई चुस्त बनाउने निर्णय गरेको छ । साथै, मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्दै आवश्यक तयारीलाई प्रभावकारी बनाइने निर्णय गरिएको छ ।

महानगर क्षेत्रका केही स्थानमा मनसुनका कारण समस्या देखिन थालेपछि तत्काल अनुगमन टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने, सम्भावित जोखिमको मूल्याङ्कन गर्ने तथा राहत वितरणको पूर्वतयारीसमेत गर्नेछ ।

विपद्को समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीलाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य सेवाको भरपर्दो व्यवस्था गर्ने निर्णय गरिएको छ । सम्भावित महामारी वा अन्य स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने तथा आवश्यक समन्वयका लागि सम्बन्धित निकायमा पत्राचार गरिने भएको छ ।

यसैगरी, महानगरका सबै वडा कार्यालयलाई सम्भावित विपद्को जोखिमको पूर्वविश्लेषण गर्दै आवश्यक उद्धार तथा राहत तयारीसहित उच्च सतर्कतामा रहन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मियाँ, हरिप्रसाद भुसाल तथा वीरगंज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजु प्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।

वीरगंज महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्दै नगरवासीको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

पर्सा जिल्ला अदालतको वार्षिक प्रगति ५७.६८ प्रतिशत, ७ हजारभन्दा बढी मुद्दा फर्छ्योट

0

वीरगंज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल १२ हजार ३५० मुद्दामध्ये ७ हजार १२४ मुद्दा फर्छ्योट गर्दै ५७.६८ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । यो उपलब्धि अघिल्लो आर्थिक वर्षको ५७.३ प्रतिशतभन्दा केही बढी रहेको अदालतले जनाएको छ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको अध्यक्षतामा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा अदालतका श्रेस्तादार प्रभाकर कुमार मल्लिकले प्रस्तुत गरेको विवरणअनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ५ हजार ३९१ र चालु आर्थिक वर्षमा दर्ता भएका ६ हजार ९५९ गरी कुल १२ हजार ३५० मुद्दामध्ये ७ हजार १२४ मुद्दा टुंग्याइएको छ । हाल ५ हजार २२६ मुद्दा विचाराधीन रहेका छन् । तीमध्ये २ वर्ष नाघेका २४० तथा १८ महिना नाघेका ३३१ मुद्दा अझै बाँकी रहेका छन् ।

बालबालिका सम्बन्धी मुद्दातर्फ गत आर्थिक वर्षबाट सरेका १६ र चालु वर्षमा दर्ता भएका ६६ गरी कुल ८२ मुद्दामध्ये ५४ मुद्दाको फैसला भएको छ भने २८ मुद्दा विचाराधीन छन् ।

अभिलेख व्यवस्थापनतर्फ अदालतमा १ लाख ५७ हजार ४२० मिसिल रहेकोमा यस वर्ष ४ हजार ६४३ मिसिल सडाउने कार्य सम्पन्न भएसँगै कुल ८० हजार ९१४ मिसिल व्यवस्थापन गरिएको छ । हाल ७४ हजार २३५ मिसिल सडाउन बाँकी रहेको अदालतले जनाएको छ । त्यसमध्ये ८२ हजार १६५ मिसिल कम्प्युटर प्रणालीमा प्रविष्ट गरिएको छ भने १ हजार २७२ मिसिल अझै इन्ट्री हुन बाँकी छन् । २०८१ सालसम्मका सबै छिनुवा मिसिल अभिलेखमा पठाइसकिएको र २०८२ सालका मिसिलसमेत क्रमशः अभिलेखमा पठाउने कार्य जारी रहेको जानकारी दिइएको छ ।

फैसला लेखनतर्फ २०८३ जेठअघिका केही मुद्दाबाहेक सबै फैसला तयार भइसकेको अदालतले जनाएको छ । साथै फैसला भएको एक महिनाभित्र फैसला लेखन सम्पन्न गर्न सम्बन्धित इजलास अधिकृत तथा कर्मचारीलाई निर्देशन दिइएको छ ।

म्याद तामेली व्यवस्थापनलाई प्रभावकारी बनाउन पुराना म्याद पूर्ण रूपमा तामेल भएपछि मात्रै नयाँ म्याद जारी गर्ने व्यवस्था लागू गरिएको छ । जवाफ नपठाएका कार्यालय तथा निकायमा अदालतबाटै कर्मचारी खटाई आवश्यक कागजात र मिसिल ल्याउने प्रयास गरिएको तथा वाट्सएप र मेसेन्जरमार्फत समेत निरन्तर ताकेता गरिएको अदालतले जनाएको छ ।

त्यसैगरी, दुई वर्षे तथा १८ महिने मुद्दाको नियमित अनुगमनका लागि सम्बन्धित शाखा अधिकृतलाई जिम्मेवारी तोकिएको, यस्ता मुद्दामा अनावश्यक रूपमा लगाउ मुद्दा थप्ने प्रवृत्ति निरुत्साहित गरिएको, अभिलेख शाखाको मर्मत कार्य अघि बढाइएको तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको जानकारी पनि कार्यक्रममा दिइयो । अदालतका लागि आवश्यक जग्गा प्राप्तिको पहलसमेत जारी रहेको बताइएको छ ।

श्रेस्तादार मल्लिकका अनुसार आर्थिक वर्षभर Zen-Z आन्दोलनका कारण करिब दुई महिना नेटवर्क सेवा अवरुद्ध हुँदा मुद्दा दर्ता, सफ्टवेयरमा अभिलेखीकरण, म्याद तामेली तथा अन्य न्यायिक कार्य प्रभावित भएका थिए । त्यसपछि लागेको कर्फ्यु, संसदीय निर्वाचन तथा २०८२ चैत २२ गतेदेखि थप गरिएको आइतबारको सार्वजनिक बिदाका कारण अदालतका कार्यदिन घट्दा लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न चुनौती भए पनि अघिल्लो वर्षको तुलनामा प्रगति सुधार गर्न सफल भएको उनले बताए ।

वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी मुद्दा फैसला गर्ने जिल्ला न्यायाधीश माधव घिमिरेलाई सम्मानसमेत गरिएको थियो ।

छपकैया तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न, १५ खेलाडी स्तरोन्नत

0

वीरगंज । छपकैया तेक्वान्दो डोजाङमा शनिबार विभिन्न तहका खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ जना खेलाडीले विभिन्न तहका बेल्ट प्राप्त गर्दै सफलतापूर्वक स्तरोन्नति गरेका छन् ।

डोजाङका अध्यक्ष मन्सुर मोहम्मद मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

ग्रेडिङअन्तर्गत ९ जना खेलाडीले ह्वाइट (सेतो) बेल्ट, ३ जनाले हाफ ग्रीन (हरियो) बेल्ट, १ जनाले ग्रीन बेल्ट तथा २ जनाले ब्लु बेल्ट प्राप्त गरेका छन् ।

ह्वाइट बेल्ट प्राप्त गर्नेमा सानभी क्षेत्री, दिवस सापकोटा, नित्यम चौरसिया, एम. आहिल हुसेन, कृतिक कुमार जाटिया, आयुष्मा कुमारीसहित ९ जना रहेका छन् । त्यस्तै हाफ ग्रीन बेल्टतर्फ एरिका दास, एरोन दास र विकास प्रजापति, ग्रीन बेल्टतर्फ आहिल इब्राहिम तथा ब्लु बेल्टतर्फ सबना खातुन र अमन सर्राफ ग्रेडिङमा सफल भएका छन् ।

ग्रेडिङ परीक्षा नवल किशोर शर्मा, राजेन्द्रकुमार शाही, मन्जिल मियाँ हवारी र विक्रान्त डंगोल सम्मिलित ग्रेडिङ समितिले सञ्चालन गर्दै खेलाडीहरूको सीप, अनुशासन र दक्षताको मूल्याङ्कन गरेको थियो ।

ग्रेडिङ समितिका सदस्य राजेन्द्रकुमार शाहीले नियमित प्रशिक्षण, अनुशासन र निरन्तर अभ्यास नै खेलाडीको सफलताको मुख्य आधार भएको बताए । बेल्ट ग्रेडिङ केवल पदोन्नति नभई खेलाडीको क्षमता, आत्मविश्वास र जिम्मेवारी अभिवृद्धि गर्ने प्रक्रिया भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ बढी मेहनतका साथ अभ्यासलाई निरन्तरता दिन खेलाडीहरूलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष मन्सुर मोहम्मद मियाँले छपकैया क्षेत्रमा तेक्वान्दोप्रति बालबालिका र युवाको आकर्षण निरन्तर बढिरहेको बताउँदै खेलमार्फत अनुशासन, आत्मरक्षा तथा सकारात्मक सोचको विकास हुने विश्वास व्यक्त गरे । उनले डोजाङले भविष्यमा पनि दक्ष खेलाडी उत्पादन र तेक्वान्दो खेलको विकासका लागि निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाए ।

कालिकामाई गाउँपालिकाको विवादबारे नेपाली कांग्रेसको ध्यानाकर्षण, सेवा सुचारु गर्न माग

0

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका कार्यसमितिले कालिकामाई गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच उत्पन्न विवादका कारण पालिकाको सेवा प्रवाह प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।

गाउँपालिका समितिका सचिव रामानन्द ठाकुर लोहारद्वारा जारी विज्ञप्तिमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको एकलौटी तथा मनोमानी कार्यशैलीका कारण पछिल्ला वर्षहरूमा पालिकाभित्र पटक–पटक विवाद, प्रतिवाद र तनावको अवस्था सिर्जना हुँदै आएको दाबी गरिएको छ ।

विज्ञप्तिमा मिति २०८३ असार १२ गते कार्यपालिका बैठक नै नबसी शिक्षा, स्वास्थ्य तथा भूमि व्यवस्था कार्यालय स्थापनासम्बन्धी छ वटा प्रस्ताव गोप्य रूपमा निर्णय पुस्तिकामा हस्ताक्षर गराउने प्रयास भएको आरोप लगाइएको छ । उक्त विषयमा जानकारी लिन वडा नं. २, ३ र ४ का अध्यक्षसहित कार्यपालिका सदस्य तथा स्थानीय नागरिक गाउँपालिकामा पुगेका बेला केही व्यक्तिले विवाद सिर्जना गरेको कांग्रेसको दाबी छ ।

यस्तै, करिब दुई महिनाअघि सूचना माग्न पुगेका नागरिक अगुवामाथि कुटपिट भएको घटनाको पनि स्मरण गराउँदै त्यस्ता घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ ।

कांग्रेसले संविधानले नागरिक र जनप्रतिनिधिलाई सूचना माग्ने, प्रश्न गर्ने तथा शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै जनप्रतिनिधि तथा नागरिकलाई षड्यन्त्रपूर्वक विभिन्न झमेलामा फसाउने कार्य स्वीकार्य नहुने जनाएको छ ।

विज्ञप्तिमार्फत पार्टीले पालिकाभित्र देखिएका विवादलाई संवाद र छलफलबाट समाधान गर्दै आम नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

गाउँपालिका कर्मचारीहरु सुरक्षा अनुभुति नभएकाे भन्दै चरणबद्ध आन्दाेलनमा छन् । कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरू साेही दिनदेखि गाउँपालिकाकाे कामकाम ठप्प पारी दाेषीमाथि कारवाहीकाे माग गर्दै आन्दाेलित भएका छन् ।

रोयल किड्स मन्टेश्वरीमा मेहन्दी प्रतियोगिता सम्पन्न, प्रेमा देवी प्रथम

0

वीरगंज । साउन महिनाको पहिलो दिनको अवसर पारेर वीरगंज महानगरपालिका–१० अशोकबाटिकास्थित रोयल किड्स मन्टेश्वरी स्कुलले विद्यार्थीहरूबीच मेहन्दी प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले आयोजना गरेको प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतिस्पर्धामा प्रेमा देवी प्रथम, नेहा चौधरी द्वितीय तथा ममता कुमारी तृतीय हुन सफल भएका थिए ।

विजेता विद्यार्थीहरूलाई विद्यालयकी प्रिन्सिपल रुचिका कुमारी तथा निर्णायक मण्डलकी सदस्य रेखा जैसीले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई पनि प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएकोमा प्रशंसा गरेका थिए । यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकासमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा खेलकुद तथा अन्य सिर्जनात्मक कार्यक्रमहरू पनि निरन्तर आयोजना गर्न सुझाव दिएका थिए ।

कार्यक्रम विद्यालयकी प्रिन्सिपल रुचिका कुमारीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रतियोगिताको निर्णायकको भूमिका माउन्ट मकालु बोर्डिङ स्कुलकी सहायक प्रिन्सिपल रेखा जैसीले निर्वाह गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सोही विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले गरेका थिए ।

विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ आगामी दिनमा पनि विभिन्न सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

गृहमन्त्रीको उपस्थितिमा ठोरीका दुई होटलमा छापा, सात युवतीसहित नौ जना नियन्त्रणमा

0

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा गृहमन्त्री सुधन गुरुङ को उपस्थितिमा दुई होटलमा छापा मारिएको घटनाले राजनीतिक तथा सुरक्षा वृत्तमा चर्चा र विवाद दुवै सिर्जना गरेको छ । छापामार कारबाहीमा सात युवती र दुई होटल सञ्चालकसहित नौ जनालाई नियन्त्रणमा लिइएको भए पनि पक्राउको कानुनी आधारबारे प्रश्न उठ्न थालेको छ ।

स्रोतका अनुसार, मिटरब्याज पीडितसँग बाराको सिमरामा लगातार छलफल गरेपछि चितवनतर्फ जाने क्रममा गृहमन्त्री गुरुङ पर्साको ठोरी बजार पुगेका थिए । स्थानीयबाट ठोरी बजारका केही होटलमा अनैतिक गतिविधि हुने गरेको सूचना पाएपछि उनले सुरक्षाकर्मीसहित ठोरी गाउँपालिका–२ स्थित ‘ठोरी दोहोरी साँझ’ र ‘रिसोर्ट ठोरी क्याम्प फायर होटल’ मा शुक्रबार साँझ छापा मार्न निर्देशन दिएका थिए ।

छापाका क्रममा होटल सञ्चालक, कर्मचारी र पाहुनासहित नौ जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ठोरी लगिएको बताइएको छ । पक्राउ परेकामध्ये सात जना युवती रहेका छन् ।

उक्त कारबाहीमा सशस्त्र प्रहरी बल नं. १३ गण, बोर्डर आउट पोस्ट (बीओपी) ठोरी तथा नेपाल प्रहरीको टोली सहभागी रहेको जनाइएको छ । उच्च स्रोतले गृहमन्त्रीकै उपस्थितिमा छापा मारिएको पुष्टि गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा स्थानीय महिलाले ती होटलमा अनैतिक गतिविधि हुने गरेको गुनासो गरेपछि गृहमन्त्रीले तत्कालै कारबाही अघि बढाएको देखिन्छ ।

तर, छापा मार्ने क्रममा जिल्ला प्रहरी प्रमुख (एसपी) सुदिप राज पाठक र प्रमुख जिल्ला अधिकारी (सीडीओ) भाेला दाहाललाई पूर्वजानकारी नदिइएको र छापा सम्पन्न भएपछि मात्रै घटनास्थलमा बोलाइएको स्रोतको दाबी छ ।

यस घटनापछि गृहमन्त्रीको कार्यशैलीमाथि सुरक्षा मामिलाका जानकारहरूले प्रश्न उठाएका छन् । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले विभागीय मन्त्री आफैं फिल्डमा गएर छापा मार्नु उपयुक्त नभएको टिप्पणी गरेका छन् । उनका अनुसार प्रहरी परिचालन र अपरेशन सञ्चालन गर्ने जिम्मेवारी प्रहरी संगठनकै हो, मन्त्रीको होइन ।

सुरक्षा क्षेत्रका अन्य पूर्वअधिकारीहरूले पनि मन्त्रीले नीतिगत तथा प्रशासनिक नेतृत्वमा केन्द्रित हुनुपर्नेमा प्रत्यक्ष प्रहरी अपरेशनमा संलग्न हुँदा सुरक्षा निकायको मनोबलमा असर पर्न सक्ने बताएका छन् ।

यस्तै, पक्राउ परेका व्यक्तिहरूलाई कुनै आपराधिक वा अनैतिक गतिविधिमा रंगेहात पक्राउ नगरिएको दाबी गर्दै उनीहरूमाथिको नियन्त्रणको कानुनी आधारबारे समेत प्रश्न उठाइएको छ ।

दुई होटलमा छापा मारिसकेपछि गृहमन्त्री गुरुङ राति चितवनतर्फ प्रस्थान गरेका थिए । त्यसक्रममा उनले सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसार र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रको अनुगमन गर्दै सीसीटीभी जडानको योजना रहेको जानकारी सामाजिक सञ्जालमार्फत पनि दिएका छन् ।

सोलखपुर जंगलबाट अवैध सालको २१ क्यूबिक फिट गोलिया काठ बरामद

0

वीरगंज । वीरगंज महानगरपालिका–३१ सोलखपुरस्थित जंगल क्षेत्रबाट अवैध रूपमा कटान गरी लुकाइछिपाइ राखिएको सालको गोलिया काठ सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार शुक्रबार अपराह्न प्राप्त विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण प्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोली तथा सब–डिभिजन वन कार्यालय सबैयाका रेञ्जर भुपाल रोकायको नेतृत्वमा रहेको संयुक्त टोलीले जंगल क्षेत्रमा खोजतलास गरेको थियो ।

खोजतलासका क्रममा जंगलको छेउमा लुकाइछिपाइ राखिएको अवस्थामा अन्दाजी २१ क्यूबिक फिट सालको गोलिया काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको काठ आवश्यक कानुनी कारबाहीका लागि शुक्रबार साँझ सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया वन कार्यालयले अघि बढाएको जनाएको छ ।

करारका कर्मचारी व्यवस्थापनमा सरकारको नयाँ निर्णय

0

काठमाडौं । नेपाल सरकारले विभिन्न मन्त्रालय तथा मातहतका कार्यालयमा स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धमा नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार ३२ गते बसेको बैठकले सङ्गठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणबाट कटौती हुने सरकारी निकायमा कार्यरत करार कर्मचारीको व्यवस्थापनका लागि सात बुँदे निर्णय गरेको हो । उक्त निर्णय भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी निकायलाई परिपत्रमार्फत जानकारी गराएको छ ।

निर्णयअनुसार यसअघि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण पाइरहेका करार कर्मचारीलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिई सधन्यवाद बिदाइ गरिने भएको छ ।

त्यसपछि हाल कार्यरत अन्य करार कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पूल’ मा राखिनेछ । यस्ता कर्मचारीको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अद्यावधिक गर्नेछ ।

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले आवश्यकता अनुसार पूलमा रहेका करार कर्मचारीलाई काममा लगाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, नयाँ स्थापना हुने निकायमा सिर्जना हुने दरबन्दी वा कुनै निकायमा रिक्त हुने दरबन्दीमा करार कर्मचारी आवश्यक परेमा नयाँ व्यक्ति नियुक्त नगरी पूलमा रहेका करार कर्मचारीलाई मन्त्रालयमार्फत माग गरी काममा लगाइने निर्णय गरिएको छ ।

एकीकरण वा खारेजीको प्रक्रियामा रहेका सरकारी निकायमा भने सम्पत्ति संरक्षण, सुरक्षा तथा सम्पत्ति–दायित्व हस्तान्तरणको काम सम्पन्न नभएसम्म आवश्यक न्यूनतम जनशक्ति सोही निकायमा कार्यरत करार कर्मचारीबाटै व्यवस्थापन गरिने उल्लेख छ । यस्ता कर्मचारीको तलब–भत्ताको व्यवस्था सम्बन्धित सम्पर्क मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले गर्नेछ ।

यस्तै, पूलमा बाँकी रहने करार कर्मचारीको दीर्घकालीन व्यवस्थापन, भविष्यमा हुने करार सम्झौताका न्यूनतम सेवा–सुविधा तथा करार अन्त्य हुँदा उपलब्ध गराइने सुविधाका सम्बन्धमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिनाभित्र अध्ययन गरी उपयुक्त विकल्पसहित सिफारिस पेश गर्ने निर्णय पनि गरिएको मन्त्रालयका शाखा अधिकृत सञ्जीव नेपालले जानकारी दिए ।