Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 69

वर्तमान सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन : आजपा

0

वीरगंज । प्रभु साह नेतृत्वकाे आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष निकालेको छ । राजनीतिक अस्थिरतालाई चिर्दै नेपाली जनताले रास्वपालाई झण्डै दुई तिहाईको जनमत दिँदापनि सरकारले दुई तिहाईको चमत्कार देखाउन सकेन र उल्टै जनतामा चरम निराशा थुपार्ने काम गरेको आजपाको ठहर छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनको समीक्षा गर्दै आजपाले नयाँ आर्थिक वर्षको पहिलो दिन यस्तो निश्कर्ष साझा गरेको हो । आजपाको तर्फबाट प्रवक्ता सुभाषप्रसाद साहले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले देशलाई विकास र निकास दिन असफल भएको निश्कर्ष सुनाएका हुन् ।

बिकास बजेट जम्मा ४६% खर्च र राजस्व संकलन जम्मा ८४%, भएको, वैदेशिक अनुदान सहायता ५८% मात्र प्राप्त भएको तथा ऋण करिब ३ खर्ब रुपैयाँभन्दा बढी थपिएको अर्थात् वित्तीय कार्यसम्पादनको हिसाबले यो वर्ष इतिहासकै अहिलेसम्मको सबैभन्दा खराब (Worst) वर्ष साबित भएको आजपाको दाबी छ ।

शक्तिशाली सरकार बन्दापनि बजार अनियन्त्रित बनेको र राज्यको लुटकारी चरित्र अझै उदांगो बनेको, उपभोक्ता चरम मूल्यवृद्धिको मारमा परेको र भान्सा महँगो बन्दा जनजीवन नै कठिन बनेको आजपाको निश्कर्ष छ ।

विधि मासेर बलपूर्वक शासन गर्ने शैलीको कारण वर्तमान सरकार बदनाम बनेको पनि उसको ठहर छ । २०८१ सालको फागुनदेखि नै नेपाल ग्रे–लिष्टमा रहेकोमा अहिले उक्त लिष्टबाट हट्नुको साटो उल्टै ब्ल्याक लिष्टमा पर्ने जोखिम बढेको छ ।

नेपालको अन्तर्राष्ट्रिय साख उकास्न सुशासन, वित्तीय अनुशासन र अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनमा वर्तमान सरकार पूर्ण रुपमा असफल हुँदा नेपाल एफएटिएफको ब्ल्याकलिष्टमा पर्न लागेको आजपाको ठम्याई छ ।

सरकारले अर्थतन्त्रमा ठोस नीतिगत सुधार गर्नुको साटो उल्टै समस्या थुपार्ने काम गरेको आजपाको आरोप छ । सुशासनमार्फत उच्च व्यावसायिक आत्मविश्वास जगाउनुको साटो उच्चपदस्थ कर्मचारीलाई बिनाकारण नियन्त्रणमा लिने, संवैधानिक पदाधिकारीलाई डर र त्रासमा राखने तथा निजी क्षेत्रमाथि धरपकड गरिनुले मुलुकको अर्थतन्त्र धर्मराएको आजपाले जनाएको छ ।

वर्तमान सरकार बनेपछि लगानीको वातावरण बन्छ भनेर गरिएको आशा निराशामा परिणत भएको आजपाको ठहर छ । सरकारले विकास कुटनीतिको दुहाई दिएपनि वैदेशिक सम्बन्धमा गतिशिलता दिनुको सट्टा गतिरोधको अवस्था सिर्जना गरेको निश्कर्ष आजपाले निकालेको छ ।

वीरगंजकाे विद्युत समस्या तत्काल समाधान गर्न सांसद हरि पन्तको निर्देशन

0

वीरगंज । वीरगञ्जमा विगत तीन दिनदेखि जारी विद्युत आपूर्तिको अनियमितताले सर्वसाधारणको जनजीवन प्रभावित बनेपछि पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा सभापति हरि पन्तले तत्काल समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

विद्युत आपूर्तिमा आएको अवरोधका कारण वीरगञ्जका विभिन्न क्षेत्रमा दैनिक जनजीवन कष्टकर बनेको थियो । समस्या सुरु भएलगत्तै काठमाडौंमा रहेका सांसद पन्तले नेपाल विद्युत प्राधिकरण र वीरगञ्ज महानगरपालिकासँग निरन्तर टेलिफोन सम्पर्क गरी विद्युत तथा खानेपानी आपूर्तिलाई सहज बनाउन आवश्यक समन्वय गर्दै आएका थिए ।

यसैबीच, बिहीबार राति वीरगञ्ज आइपुगेका सांसद पन्तले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा नेपाल विद्युत प्राधिकरण पर्सा वितरण केन्द्रका प्रमुख विजय महतोलाई बोलाई विद्युत आपूर्तिमा आएको अवरोधबारे गम्भीर चासो व्यक्त गरेका हुन् ।

उनले समस्या तत्काल समाधान गर्न, उपभोक्ताले थप सास्ती भोग्न नपर्ने व्यवस्था मिलाउन तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएका थिए। साथै, समस्या उत्पन्न हुनुको वास्तविक कारणबारे पनि उनले जानकारी मागेका थिए।

सांसद पन्तको जिज्ञासाको जवाफ दिँदै प्राधिकरणका प्रमुख विजय महतोले पर्सौनी ग्रिडबाट छपकैया सबस्टेसनसम्म ३३ केभी प्रसारण लाइन भूमिगत संरचनासँग जोड्ने क्रममा गत माघ महिनामै अमर (बोखार) चोक आसपासका केही स्थानीयको अवरोधका कारण काम रोकिएको बताए ।

उनका अनुसार बिहीबार उक्त अवरोध हटाइएपछि तार तान्ने काम सुरु गरिएको छ । अब केही प्राविधिक काम मात्र बाँकी रहेकाले शुक्रबार राति करिब ९ बजेसम्म विद्युत आपूर्ति पूर्ण रूपमा सुचारु हुने विश्वास व्यक्त गरे । साथै, उक्त लाइन सञ्चालनमा आएपछि आगामी दिनमा वीरगञ्जमा विद्युत आपूर्तिको समस्या उल्लेखनीय रूपमा कम हुने प्राधिकरणको दाबी छ ।

वर्षाले रोक्न सकेन गहवामाई रथयात्राको उत्साह, एक लाखभन्दा बढी श्रद्धालुको सहभागिता

1

वीरगंज । वीरगंजस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ भव्य तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रामा यस वर्ष प्रतिकूल मौसमका बाबजुद करिब एक लाखभन्दा बढी श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

रथयात्रा बिहान ७ः३० बजे सुरु गर्ने तालिका रहे पनि बिहान ३ बजेदेखि परेको अविरल वर्षाका कारण केही समय ढिलाइ भएको थियो । वर्षा रोकिएपछि बिहान ८ः४५ बजे विशेष पूजा–आराधनापछि मन्दिर परिसरबाट रथयात्रा सुरु गरिएको थियो ।

रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, नारायणी अस्पताल रोड, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन गरिएको थियो । सम्पूर्ण मार्गभर भक्तजनहरूले जयकारा, भजन–कीर्तन तथा धार्मिक उत्साहका साथ सहभागिता जनाएका थिए ।

रथयात्रामा प्रतिनिधिसभा सदस्य सुशील साह कानु, वीरगंज महानगरपालिकाका निलम्वित मेयर राजेशमान सिंह, कार्यवाहक मेयर इमतियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहाल, युवा नेता सुधिर पटेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा हजारौं श्रद्धालुको सहभागिता रहेको थियो ।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म बिहानैदेखि मन्दिर परिसरमा भेला भएका थिए । मुख्य सडक विस्तारका क्रममा केही स्थानमा सामान्य असहजता भए पनि त्यसले भक्तजनको आस्था र उत्साहमा कुनै असर पारेन ।

रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए । रथमार्गभर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिनुका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको थियो ।

ट्राफिक व्यवस्थापन सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्गको व्यवस्था गरिएको थियो । रथयात्रा अवधिभर कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

रथयात्रा सम्पन्न भएपछि आयोजक समितिका सचिव पप्पु गुप्ताले साँझ आयोजित भव्य भजन सन्ध्यामा सहभागी भई माता गहवामाईको दर्शन गरी पुण्य लाभ लिन सम्पूर्ण श्रद्धालुलाई आग्रह गरे ।

त्यसैगरी, विश्व ज्योतिष महासङ्घका एसिया उपसभापति डा. पुरुषोत्तम दुबेले श्रावण १ गते बिहान ६ः०० बजे हुने ५६ भोग महापूजा तथा दिउँसो ४ः०० बजे सुरु हुने विशाल महाप्रसाद भण्डाराको विशेष धार्मिक महत्त्व रहेको बताए । उनले महाप्रसाद ग्रहण गर्नु माता गहवामाईको असीम कृपा प्राप्त गर्नु सरह भएको धार्मिक विश्वास व्यक्त गर्दै उक्त कार्यक्रमलाई सभ्य, मर्यादित, शान्तिपूर्ण र सुव्यवस्थित बनाउन सम्पूर्ण नगरवासी, भक्तजन तथा स्वयंसेवकलाई सहयोग गर्न आग्रह गरे ।

बिहानको रथयात्रापछि दिउँसो विशेष पूजा सञ्चालन गरिएको थियो भने बेलुका मुख्य हवन, महाआरती र प्रसाद वितरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले यस वर्षको रथयात्रा सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण स्वयंसेवक, सुरक्षा निकाय, सहयोगी संस्था, दाताहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण श्रद्धालुप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

आयोजकका अनुसार यस वर्षको गहवामाई रथयात्रा धार्मिक आस्था, सामाजिक सद्भाव, अनुशासन, उत्कृष्ट सुरक्षा व्यवस्थापन तथा व्यापक जनसहभागिताका कारण अहिलेसम्मकै सबैभन्दा भव्य र ऐतिहासिक रथयात्राका रूपमा सम्पन्न भएको छ ।

अविरल वर्षाको कहर : पर्सामा चट्याङ, बाढी र डुबानले जनजीवन प्रभावित, १० जना घाइते

0

सेढवा । पर्सा जिल्लामा गएरातिदेखि परेको मेघगर्जनसहितको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । चट्याङ, बाढी र डुबानका कारण सर्वसाधारणसँगै किसानहरू पनि समस्यामा परेका छन् । जिल्लाका दुई स्थानमा चट्याङ लाग्दा १० जना घाइते भएका छन् भने बाढी–डुबानले बस्ती र खेतीबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

पर्साको पकहामैनपुर गाउँपालिका–१ धोरेबाट सिधौलिया (भारत) जाने सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला बिहान चट्याङ पर्दा सात जना महिला घाइते भएका छन् । घाइते हुनेहरूमा शान्तिदेवी सहनी, राधिका देवी सहनी, रिता देवी सहनी, कुश्मी देवी सहनी, सन्ध्या देवी, प्रमिला सहनी र संगीता देवी रहेका छन् ।

घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् । अन्य छ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररतमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको जनाइएको छ ।

यस्तै, पर्सा राष्ट्रिय वनसँग जोडिएको पटेर्वासुगौली गाउँपालिका–२ थरघटीमा बिहान करिब ७:१५ बजे चट्याङ लाग्दा दुःखी महतो धाङड, लालबाबु महतो उराँव र सूर्य महतो उराँव घाइते भएका छन् । उनीहरू जंगलमा पशु चौपाया चराउन गएका बेला चट्याङको चपेटामा परेका थिए । नारायणी अस्पतालका अनुसार सूर्य महतो उराँवको पेट र छातीमा गम्भीर चोट लागेको छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।

अविरल वर्षाले जिल्लाको कृषि क्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी जिराभवानी र जगरनाथपुर गाउँपालिकामा किसानहरूले लगाएको चैते धान (हर्दिनाथ–१) बाली डुबानमा परेको छ । पाकेर भित्र्याउने तयारीमा रहेको धान खेतमै डुबेका कारण किसानहरू चिन्तित बनेका छन् । कतिपय किसानले काटेर घरमा ल्याएको धानसमेत लगातारको वर्षाले सुकाउन नपाउँदा पालमै उम्रिन थालेको गुनासो गरेका छन् ।

लगातारको वर्षासँगै खोला, नाला र पैनीहरूमा पानीको सतह बढ्दा विभिन्न बस्ती पनि डुबानमा परेका छन् । जिराभवानी गाउँपालिका–३ का अमृत चौधरी, रामऔतार दास र सुदेशी चौधरीको घरमा बाढी पसेको छ ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिका–१ मलाहीटोलका रामाधार सहनी, उमेश सहनी, वृजलाल सहनी, हरिन्दर सहनी, सुरज सहनी, राजु सहनी, जोगिन्दर सहनी र नन्दु सहनीका घरमा पनि बाढीको पानी पसेको स्थानीयले बताएका छन् ।

वर्षापछि खेतबारीमा पानीको बहाव बढ्दा धान रोपाइँ सम्पन्न गरेका किसानहरू थप समस्यामा परेका छन् । जिराभवानी गाउँपालिका–२ सेढवाका किसान पुजन चौधरीका अनुसार खेतमा बनाइएका करिब ८० प्रतिशत आली बगाएको छ । रोपाइँ सकिसकेकाले पुनः आली बनाउन आवश्यक माटोसमेत नपाइने अवस्था रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

यता, अत्यधिक वर्षाका कारण वीरगंजलाई जोड्ने हुलाकी सडकखण्डका विभिन्न स्थानमा सडकभन्दा करिब डेढदेखि दुई फिटमाथिसम्म बाढी बगेपछि केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

प्रशासनले वर्षा जारी रहने सम्भावना रहेकाले नदी–नाला, खुला खेत तथा वन क्षेत्रमा अनावश्यक रूपमा नजान, चट्याङबाट बच्न आवश्यक सावधानी अपनाउन तथा जोखिमयुक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

0

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ ।

परिषद्का अनुसार वीरगंज न्युरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टरमा ब्रेन हेमरेजको उपचार गराइरहेका सत्यनारायण प्रसादका लागि तत्काल चार युनिट A+ रगत आवश्यक परेको जानकारी प्राप्त भएको थियो ।

सूचना प्राप्त हुनासाथ परिषद्को ‘ब्लड अन कल’ अभियानका संयोजक आशीष चौरडियाले रक्तदाताहरूसँग समन्वय गरी आवश्यक रगतको व्यवस्था गरेका थिए ।

यस अभियानअन्तर्गत घनश्याम शर्मा, सतीश कुमार सहनी, अखिलेश कुमार शाह तथा तेरापन्थ युवक परिषद्का निवर्तमान अध्यक्ष लोकेश जम्मडले तत्काल ब्लड बैंक पुगेर रक्तदान गरेका थिए । उनीहरूको रक्तदानबाट बिरामीलाई आवश्यक चार युनिट रगत उपलब्ध गराइएको परिषद्ले जनाएको छ ।

तेरापन्थ युवक परिषद्ले रक्तदाताहरूको सेवाभावप्रति आभार व्यक्त गर्दै समयमै गरिएको रक्तदानले बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ । साथै, आपत्कालीन अवस्थामा रक्तदान गर्न इच्छुक सबैलाई ‘ब्लड अन कल’ अभियानमा सहभागी भई मानव सेवामा योगदान दिन परिषद्ले आग्रह गरेको छ ।

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

0

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र घरपालुवा कुकुरसमेत चोरी हुन थालेपछि गाउँमा सुरक्षा व्यवस्थाप्रति चिन्ता बढेको हो ।

स्थानीय प्रमोद महतो थारुको घरबाट कृष्णमोहन चौधरी थारुको नाममा दर्ता रहेको ना २ प ५५०४ नम्बरको रातो रङ्गको हिरो होन्डा स्प्लेन्डर मोटरसाइकल असार ३० गते राति अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ । सोही राति घरमा पालिएको सेतो रङ्गको कुकुर पनि हराएको र चोरी भएको आशंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी निरीक्षक अरुणकुमार साहका अनुसार मोटरसाइकल र कुकुर चोरी भएको सम्बन्धमा उजुरी प्राप्त भएको छ । घटनाको अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको उनले बताए ।

यसअघि चार दिनअघि पनि सोही गाउँका शेखर चौधरीको खेतमा सिँचाइका लागि जडान गरिएको कृषि विद्युतीय मिटर चोरी भएको थियो । चौधरीले धानबाली सिँचाइका लागि प्रयोग भइरहेको मिटर अज्ञात व्यक्तिले चोरी गरेको भन्दै इलाका प्रहरी कार्यालय सेढवामा उजुरी दर्ता गराएका छन् ।

लगातार चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासीले गाउँमा रातिको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन, नियमित गस्ती बढाउन तथा चोरीमा संलग्न व्यक्तिहरूलाई शीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।

प्रहरीले पछिल्ला चोरीका घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ ।

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

0

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

बुधबार पार्टीका प्रवक्ता तिलक थापा मगरद्वारा जारी प्रेस वक्तव्यमा चौकीदार, ड्राइभर, भान्से, कार्यालय सहयोगी, स्वीपर लगायतका श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने निर्णय अन्यायपूर्ण, अमानवीय र श्रमको अवमूल्यन गर्ने कदम भएको उल्लेख गरिएको छ ।

वक्तव्यमा दशकौँदेखि इमान्दारीपूर्वक राज्यको सेवा गर्दै आएका राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै ठोस आधारबिना सेवाबाट हटाउने कार्य कानूनी शासनको उपहास भएको जनाइएको छ । गरिब तथा श्रमिक वर्गका नागरिकले काम गर्ने यस्ता पदबाट राज्यले सेवा त लिने तर अधिकार र सुरक्षा नदिने प्रवृत्ति विभेदपूर्ण रहेको आजपाको आरोप छ ।

आजपाले गणतन्त्र स्थापनापछि राजनीतिक नेतृत्वले स्थायी दरबन्दीलाई करारमा रूपान्तरण गरेर कर्मचारीमाथि अन्यायको सुरुवात गरेको दाबी गर्दै अहिले ती कर्मचारीलाई हटाएर निजी कम्पनीमार्फत ‘आउटसोर्सिङ’ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी गोपनीयता, सुरक्षा र सुशासनका दृष्टिले समेत जोखिमपूर्ण रहेको जनाएको छ ।

वक्तव्यमा लामो समयदेखि कुशलतापूर्वक सेवा दिँदै आएका श्रेणीविहीन तथा तल्लो तहका कर्मचारीहरूलाई हटाउने प्रक्रिया तत्काल रोक्न र उनीहरूलाई स्थायी दरबन्दीमा समायोजन गरी अन्य राष्ट्रसेवक कर्मचारीसरह सेवा–सुविधा उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

साथै, आजपाले राज्यको तल्लो तहमा रहेर सेवा गर्ने कर्मचारीहरूको रोजीरोटी र मानवीय संवेदनामाथि प्रहार नगर्न सरकारलाई आग्रह गर्दै उनीहरूको भविष्य सुरक्षित गर्न आवश्यक कदम चाल्न चेतावनी दिएको छ  ।

धान रोपाइँको मुख्य समयमा रासायनिक मल अभाव, पर्साका किसान चिन्तित

0

सेढवा । वर्षेबाली धानको रोपाइँ तीव्र गतिमा भइरहेका बेला पर्साका ग्रामीण क्षेत्रमा रासायनिक मलको अभाव कायमै रहेपछि किसानहरू समस्यामा परेका छन् । धान रोपेको समयमा तथा दुई साताभित्र डिएपी, युरिया र पोटास मल आवश्यक पर्ने भए पनि सरकारी अनुदानको मल सहज रूपमा उपलब्ध नभएपछि किसानहरू चिन्तित बनेका छन् ।

जगरनाथपुर गाउँपालिका–३ बिजबनियाका किसान पूर्णधर्म साहले डेढ बिघा खेतमा धान रोपेको दुई साता बितिसक्दा पनि आवश्यक मल हाल्न नपाएको गुनासो गरे । उनका अनुसार स्थानीय कृषि सहकारी संस्थाबाट यसपटक नेपाल सरकारको अनुदानमा जम्मा २५ किलोग्राम डिएपी मल मात्र प्राप्त भएको थियो, जबकि आफ्नो खेतका लागि कम्तीमा ७५ किलोग्राम डिएपी आवश्यक पर्छ ।

युरिया र पोटास मलसमेत उपलब्ध नभएकाले धानबालीको उचित स्याहार गर्न नसकिएको उनले बताए । कृषि प्राविधिकका अनुसार धान रोप्ने क्रममा प्रतिकट्ठा करिब साढे दुई केजी डिएपी, डेढ–डेढ केजी युरिया र पोटास प्रयोग गरिन्छ । त्यसपछि बालीको वृद्धि अनुसार दुई चरणमा थप पाँच–पाँच केजी युरिया हाल्नुपर्ने हुन्छ । समयमा मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने किसानहरूको भनाइ छ ।

यस वर्ष पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सिँचाइ, खेत जोत्न, बीउबिजन तथा विषादी खरिदमै ठूलो खर्च भइसकेको अवस्थामा आवश्यक रासायनिक मल नपाउँदा खेतीमा गरेको लगानी नै जोखिममा परेको किसानहरूले बताएका छन् ।

मारुतीनन्दन कृषि सहकारी संस्था, सेढवाका सञ्चालक सत्यनारायण साहका अनुसार यस सिजनमा कृषि सामग्री कम्पनी लिमिटेडबाट दुई पटक डिएपी र युरिया प्राप्त भएको र उपलब्ध परिमाण किसानलाई वितरण गरिसकिएको छ । अब थप मल कहिले आउँछ भन्नेबारे कुनै निश्चित जानकारी नभएको उनले बताए ।

सरकारी अनुदानको मल अभाव भएपछि धेरै किसान भारतीय बजारबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएका छन् । किसानहरूका अनुसार भारतीय बजारमा डिएपी प्रतिकिलो ८० रुपैयाँ र युरिया प्रतिकिलो ५० रुपैयाँमा खरिद गर्नुपरेको छ । नेपाली सुरक्षाकर्मीले सीमाबाट मल ल्याउन सहजीकरण गरे पनि भारतीय मलको गुणस्तरप्रति किसानहरू सन्तुष्ट छैनन् ।

नेपाल सरकारको अनुदानित डिएपी मल प्रतिकिलो ५० रुपैयाँ र युरिया प्रतिकिलो २० रुपैयाँमा उपलब्ध हुने व्यवस्था भए पनि पर्याप्त आपूर्ति हुन नसक्दा किसानहरू महँगो भारतीय मल किन्न बाध्य भएका छन् । समयमा पर्याप्त रासायनिक मल उपलब्ध गराउन नसके धान उत्पादनमा नकारात्मक असर पर्ने र खाद्य सुरक्षामै चुनौती थपिने किसानहरूको चिन्ता छ ।

सिर्सिया नदीलाई पुनर्जीवन दिन सांसद हरि पन्तको सरकारको ध्यानाकर्षण

0

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका उद्योगहरूबाट निस्कने रासायनिकयुक्त फोहोर पानीका कारण सिर्सिया नदी दुर्गन्धित नालामा परिणत भएको भन्दै तत्काल नदी संरक्षणका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले उद्योगहरूले प्रशोधन नगरी सिधै सिर्सिया नदीमा रासायनिकयुक्त फोहोर पानी मिसाउँदै आएको आरोप लगाए। यसले सदियौँदेखि बग्दै आएको ऐतिहासिक सिर्सिया नदीको अस्तित्व नै संकटमा परेको उनको भनाइ थियो।

उनले एक समय लोकआस्थाको महान् पर्व छठमा सिर्सिया नदीमै उभिएर अर्घ्य दिने परम्परा रहेको स्मरण गराउँदै अहिले नदीको अवस्था यति दयनीय बनेको बताए कि दुर्गन्धका कारण छठ पर्वका बेला समेत नदीमा खुट्टा टेक्न नसकिने अवस्था सिर्जना भएको छ।

सांसद पन्तले सिर्सिया नदी अहिले लामखुट्टेको प्रमुख प्रजननस्थल बनेको उल्लेख गर्दै नदी आसपासका बासिन्दा दुर्गन्ध र लामखुट्टेको समस्याले राति चैनसँग सुत्नसमेत नसक्ने अवस्था रहेको बताए।

उनले पछिल्ला केही वर्षदेखि सिर्सिया नदीको प्रदूषण गम्भीर समस्या बन्दै आए पनि संघीय, प्रदेश र स्थानीय सरकारले चुनावी घोषणापत्रमा मात्रै विषय समेट्ने बाहेक समस्या समाधानका लागि प्रभावकारी काम नगरेको आरोप लगाए।

सांसद पन्तले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास व्यक्त गरेका वीरगञ्जवासीले सिर्सिया नदीको सफाइ र पुनर्जीवनको ठूलो अपेक्षा राखेको उल्लेख गर्दै सम्माननीय सभामुखमार्फत सरकारसँग यथाशीघ्र ठोस योजना ल्याई सिर्सिया नदीलाई पुनर्जीवन दिन आग्रह गरे।

उनले सिर्सिया नदीको संरक्षण केवल वातावरणीय मुद्दा नभई जनस्वास्थ्य, धार्मिक आस्था र वीरगञ्जको समग्र जीवनसँग जोडिएको विषय भएकाले सरकारले उच्च प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए।

२४सै घण्टा अलर्ट रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन

0

वीरगंज । वीरगंज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले नगरबासीको सेवा, सुरक्षा तथा आपत्कालीन व्यवस्थापनका लागि नगरप्रहरीलाई २४सै घण्टा तयारी अवस्थामा (अलर्ट) रहन निर्देशन दिएका छन् ।

मंगलबार महानगरपालिकामा आयोजित नगरप्रहरीको रोलकल (हाजिरी तथा निरीक्षण) कार्यक्रममा कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले संयुक्त रूपमा नगरप्रहरीलाई आवश्यक निर्देशन दिएका हुन् । सहरमा जारी सडक विस्तार अभियान र वर्षायामका कारण नगरप्रहरीको भूमिका थप महत्वपूर्ण बनेको भन्दै उनीहरूलाई चौबिसै घण्टा नागरिकको सेवामा तत्पर रहन आग्रह गरिएको हो ।

रोलकललाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख आलमले अहिले वीरगंजबासीले विभिन्न समस्याको सामना गरिरहेको उल्लेख गर्दै नगरप्रहरीले नागरिकको भरोसाको रूपमा काम गर्नुपर्ने बताए ।

उनले भने, “सडक विस्तारका कारण सहर केही अस्तव्यस्त बनेको छ । नाला व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापनसम्म नागरिकले दैनिक सास्ती भोगिरहेका छन् । त्यसमाथि वर्षायामले थप चुनौती सिर्जना गरेको छ । यस्तो अवस्थामा नगरप्रहरी चौबिसै घण्टा नागरिकको सेवामा तयार रहनुपर्छ ।”

प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले सीमित स्रोत–साधनका बाबजुद नगरबासीको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षण नगरप्रहरीको पहिलो जिम्मेवारी भएको बताए । उनले नगरप्रहरीलाई आवश्यक उपकरण तथा सामग्री चाँडै उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरे ।

बोहराले कर्मचारी संयन्त्रमा अनुशासन र ‘चेन अफ कमान्ड’को पालना अनिवार्य रहेको उल्लेख गर्दै सबै कर्मचारीले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “नगरप्रहरीका सबै रेकर्ड अध्ययन गरेको छु। करार, अस्थायी वा स्थायी जे भए पनि सबै कर्मचारीको जिम्मेवारी एउटै हो। अनुशासनमा रहेर इमान्दारीपूर्वक काम गर्नुपर्छ। आगामी दिनमा अनुशासनहीनता देखाउने जोकोहीमाथि कानुनबमोजिम कारबाही हुनेछ ।”

कार्यक्रममा हाल नगरप्रहरीसम्बन्धी आएका गुनासोहरूलाई सुधार गर्दै सेवा प्रवाह प्रभावकारी बनाउन, सडक विस्तारका क्रममा आवश्यक सहजीकरण गर्न तथा आगामी गहवामाई रथयात्राको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन पनि नगरप्रहरीलाई निर्देशन दिइएको महानगरपालिकाले जनाएको छ ।