Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 67

मुक्त हरवा–चरवा समुदायका लागि कानुनी साक्षरता क्लिनिक सुरु

0

वीरगंज । मुक्त हरवा–चरवा समुदायको कानुनी साक्षरता अभिवृद्धि गर्दै नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, निःशुल्क कानुनी सहायता, लैङ्गिक न्याय तथा जातीय विभेदविरुद्ध उपलब्ध कानुनी संरक्षणबारे व्यावहारिक ज्ञान र पहुँच विस्तार गर्ने उद्देश्यले राष्ट्रिय दलित नेटवर्क, नेपालको न्याय केन्द्र कार्यक्रमअन्तर्गत धनुषा जिल्लाको शहीदनगर नगरपालिका–५, सिमरापट्टी टोलमा कानुनी साक्षरता क्लिनिक सञ्चालन सुरु गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै शहीदनगर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक सुनीता सिंहले कानुनी साक्षरता क्लिनिक मुक्त हरवा–चरवा समुदायका लागि समयसापेक्ष र अधिकारमुखी पहल भएको बताइन् । संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी उपयोगका लागि कानुनबारे जानकारी अपरिहार्य रहेको उल्लेख गर्दै उनले अन्याय, विभेद, श्रम शोषण तथा लैङ्गिक हिंसाका पीडितलाई निष्पक्ष, सहज र पहुँचयोग्य न्याय उपलब्ध गराउन न्यायिक समिति प्रतिबद्ध रहेको बताइन् ।

राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय उपाध्यक्ष श्याम सुनारले मुक्त हरवा–चरवा समुदायको अधिकार, स्वतन्त्रता, पुनःस्थापना तथा न्यायमा पहुँच सुनिश्चित गर्न स्थानीय सरकारले कानुनी साक्षरता, सामुदायिक सशक्तीकरण, पैरवी तथा निःशुल्क कानुनी सहायता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । उनले समुदायलाई आफ्ना अधिकार प्रयोग गर्न सक्षम बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क, नेपालका हरवा–चरवा एक्टिभिस्ट राम दयाल माझीले शहीदनगर नगरपालिकाका सबै नौ वडामा प्रशिक्षित पैरालिगल र कानुनी अधिकृतमार्फत स्थायी तथा मोबाइल कानुनी सहायता क्लिनिक सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार नागरिकता, भूमि अधिकार, सामाजिक सुरक्षा, श्रम अधिकार, लैङ्गिक न्याय तथा जातीय विभेदसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिनुका साथै आवश्यकताअनुसार व्यक्तिगत कानुनी परामर्श, उजुरी दर्ता, न्यायिक सेवामा पहुँचका लागि सहजीकरण तथा सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।

कार्यक्रममा शहीदनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिल कुमार झा, राष्ट्रिय दलित नेटवर्क, नेपालका केन्द्रीय कोषाध्यक्ष जंगबहादुर सुनार तथा कार्यकारी निर्देशक हुकुम सार्कीले कानुनी साक्षरताको आवश्यकता र समुदायमा यसको प्रभावबारे धारणा राखेका थिए ।

शहीदनगर नगरपालिका–५ का वडा अध्यक्ष सुरेश कापरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका कानुनी अधिकृत सञ्जु पाण्डेले गरेकी थिइन् भने शहीदनगर नगरपालिका स्तरीय हरवा–चरवा पैरालिगल मञ्चकी अध्यक्ष मञ्जु महराले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

६४औँ इन्जिनियर्स दिवस वीरगंजमा विविध कार्यक्रम गरी मनाइयो

0

वीरगंज । नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) वीरगंज केन्द्रले ६४औँ इन्जिनियर्स दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

केन्द्रले दुई दिनसम्म सञ्चालन गरेको कार्यक्रमअन्तर्गत आफ्नै भवन निर्माणको शुभारम्भ, वृक्षारोपण, प्राविधिक सेमिनार, मानसिक स्वास्थ्य सचेतना तथा इन्जिनियरहरूको भेटघाट कार्यक्रम सम्पन्न गरेको नेपाल इन्जिनियर्स एसोसिएसन वीरगंज केन्द्रका सभापति इन्जिनियर प्रियांसु रौनियारले जानकारी दिए ।

उनका अनुसार इन्जिनियर्स दिवसकै अवसरमा वीरगंज महानगरपालिका–२४ रामगढवामा निर्माण हुन लागेको एसोसिएसनको भवनको भूमिपूजन गरिएको थियो । साथै रामगढवा छठघाट परिसरमा वृक्षारोपण कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

भवनको भूमिपूजन कार्यक्रम सभापति इन्जिनियर प्रियांसु रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

दिवसको अवसरमा इन्जिनियरहरूबीच भेटघाट तथा अनुभव आदानप्रदान कार्यक्रमका साथै प्राविधिक सेमिनार र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको एसोसिएसनले जनाएको छ ।

कार्यक्रममा इन्जिनियर अभि झा, इन्जिनियर कृष्णा कुशवाहा, इन्जिनियर दयानन्द साह, मणि झालगायत इन्जिनियर तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

इन्जिनियर्स डेमा वीरगंजमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

0

वीरगंज । ६४औँ इन्जिनियर्स डेका अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) वीरगंज केन्द्रले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

वीरगंज–१४ स्थित बीआईटी इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रममा नेशनल मेडिकल कलेज, वीरगंजले क्लिनिकल सहयोग गरेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगंज केन्द्रका अध्यक्ष इन्जिनियर प्रियांशु कुमार गुप्ताले गरेका थिए ।

एशोसिएसनका कोषाध्यक्ष इन्जिनियर इकबाल हुसेनको समन्वयमा सम्पन्न कार्यक्रममा इन्जिनियरिङ अध्ययनरत विद्यार्थी, प्राध्यापक, पेशाकर्मी तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका क्लिनिकल साइकोलोजिस्ट सन्देश सावन्तले मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यकता पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा प्रस्तुति दिएका थिए । उनले मानसिक स्वास्थ्यप्रति सचेत रहनु व्यक्तिगत तथा व्यावसायिक दुवै जीवनका लागि अत्यन्त आवश्यक रहेको बताए ।

सहजीकरणपछि सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो । सहभागीहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै आफ्नो दैनिक जीवन र पेशागत क्षेत्रमा मानसिक स्वास्थ्य व्यवस्थापनका उपायबारे जानकारी लिएका थिए ।

नेशनल मेडिकल कलेजले यस्ता स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

कालिकामाईमा सेवा प्रवाह सञ्चालन, कुटपिट घटनाका दोषीमाथि कारबाहीको माग यथावत्

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाले कार्यालयका कम्प्युटर अपरेटरमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि पनि गाउँपालिकाको दैनिक सेवा प्रवाह नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा कम्प्युटर अपरेटर (चौथो तह) चन्दन कुमार चौरसियामाथि असार २३ गते कार्यालय परिसरमै भएको दुर्व्यवहार, कुटपिट तथा अङ्गभङ्गको घटनाप्रति सम्पूर्ण कर्मचारी स्तब्ध रहेको उल्लेख गरिएको छ ।

सूचनामा कार्यालय समयमै आफ्नै कार्यसम्पादन गरिरहेका एक कर्मचारीमाथि योजनाबद्ध रूपमा भएको आक्रमणलाई केवल व्यक्तिगत घटना नभई सम्पूर्ण कर्मचारी समुदायमाथिको अपमान, कर्मचारी सुरक्षामाथिको चुनौती तथा सुशासनमाथिको प्रहारका रूपमा व्याख्या गरिएको छ ।

गाउँपालिकाले घटनामा संलग्न दोषीमाथि हालसम्म कानुनी कारबाही नभएको भन्दै कर्मचारीहरूमा असुरक्षाको भावना बढेको जनाएको छ । स्थानीय शान्ति सुरक्षाको जिम्मेवारी बोकेको जिल्ला प्रहरी कार्यालयबाट प्रभावकारी कानुनी प्रक्रिया अघि नबढेको उल्लेख गर्दै दोषीलाई कानुनबमोजिम शीघ्र कारबाही गर्न माग गरिएको छ ।

यद्यपि कर्मचारीहरूको नैतिक तथा कानुनी दायित्वलाई प्राथमिकतामा राख्दै गाउँपालिका अध्यक्ष बशिष्ट कुमारले भिडियो सन्देशमार्फत गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज, विद्यालयको पठनपाठन तथा स्वास्थ्य चौकीबाट प्रदान हुने नियमित सेवा अवरुद्ध नभएको जानकारी गराएको सूचनामा उल्लेख छ ।

गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक, गाउँपालिका तथा वडा कार्यालयअन्तर्गतका सम्पूर्ण कर्मचारीलाई आ–आफ्नो जिम्मेवारीमा रही नियमित रूपमा सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।

Screenshot

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

0

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य रूपमा ल्याउनुपर्ने बजेट नयाँ आर्थिक वर्ष सुरु भइसकेपछि पनि पारित हुन नसक्दा ती पालिकामा विकास निर्माणका योजना प्रभावित हुने देखिएको छ ।

हालसम्म बजेट ल्याउन नसक्ने स्थानीय तहमा छिपहरमाई गाउँपालिका, कालिकामाई गाउँपालिका, पकाहाँ मैनपुर गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवा प्रसाैनी गाउँपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका लगायत रहेका छन् । बजेट नआएका कारण नयाँ आर्थिक वर्षका विकास योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुने निश्चित भएको छ ।

सम्बन्धित पालिकाका अनुसार जनप्रतिनिधिबीचको आपसी मतभेदका कारण गाउँसभा सम्पन्न हुन नसक्दा बजेट पारित हुन सकेको छैन । सखुवा प्रसाैनी र कालिकामाई गाउँपालिका सहितका केही पालिकाले असार मसान्तभित्र नीति तथा कार्यक्रम भने स्वीकृत गरे पनि बजेट भने अझै पारित गर्न सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक स्थानीय तहले असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट गाउँसभा वा नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था छ । तर राजनीतिक विवाद र आन्तरिक असमझदारीका कारण पर्साका केही पालिकाले कानुनी समयसीमा पालना गर्न सकेका छैनन् ।

यता, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै साउन ७ गतेभित्र आफ्नो पालिकाको बजेट प्रणालीमा प्रविष्ट (इन्ट्री) गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र बजेट प्रविष्ट नगर्ने स्थानीय तहको बजेट रोक्का गर्न सकिने चेतावनी समेत मन्त्रालयले दिएको छ ।

समयमै बजेट पारित हुन नसक्दा विकास निर्माणका आयोजना, सेवा प्रवाह, खरिद प्रक्रिया तथा अन्य प्रशासनिक कार्यसमेत प्रभावित हुने भएकाले सम्बन्धित पालिकाले यथाशीघ्र गाउँसभा सम्पन्न गरी बजेट पारित गर्नुपर्ने आवश्यकता देखिएको छ ।

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक पहल थाल्ने आश्वासन दिएका छन् ।

सांसद कानुले वीरगंज महानगरपालिका–१७, २४, २५ र २६ अन्तर्गत पर्ने बहुअरी, अलौ, सिर्सिया तथा सुगौली क्षेत्रमा पुगेर वर्षाका कारण जलमग्न बनेका खेतीयोग्य जमिन तथा प्रभावित बस्तीको अवलोकन गर्नुभएको हो । स्थलगत अवलाेकनकाे क्रममा उनले धानबालीमा पुगेको क्षति, पानी निकासको समस्या तथा स्थानीयले भोगिरहेका कठिनाइबारे जानकारी लिएका हुन् ।

उनले स्थानीय बासिन्दा, किसान तथा जनप्रतिनिधिसँग छलफल गर्दै वर्षेनी दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाइने बताए ।

सांसद कानुले विगतदेखि करिब दुई सय बिगहा खेतीयोग्य जमिन वर्षेनी डुबानमा पर्दै आएको उल्लेख गर्दै अब उक्त समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यका साथ आफू सक्रिय रहेको बताए । स्थानीयको जनधनको सुरक्षा, खेतीयोग्य जमिनको संरक्षण तथा प्रभावकारी पानी निकास व्यवस्थापनका लागि आवश्यक योजना कार्यान्वयनमा जोड दिइने उनको भनाइ थियो ।

स्थलगत अवलाेकनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुधीर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, रास्वपा क्षेत्र नं. २ का उपसभापति किशोर यादव, स्थानीय जनप्रतिनिधि, किसान तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा खुलाइएको छ । लामो समयदेखि पानी निकास अवरुद्ध हुँदा वर्षायाममा बस्ती जलमग्न हुने र स्थानीयले सास्ती भोग्दै आएका थिए ।

स्थानीय बासिन्दाले पानी निकासका लागि प्रयोग गरिएको होम पाइप जाम भई विवाद सिर्जना भएको भन्दै कार्यवाहक नगरप्रमुख आलमसमक्ष नाला खुलाइदिन निवेदन दिएका थिए । जनगुनासो प्राप्त हुनासाथ नगरप्रमुख आलमले महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सरफोदिन मियाँलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

निर्देशन प्राप्त भएपछि सरसफाइ शाखाका प्रमुख मियाँ नगर प्रहरीको टोलीसहित घटनास्थल पुगेका थिए । जेसिबी (JCB) र स्विपरको प्रयोग गरी बन्द रहेको होम पाइप तत्काल खुलाइएको महानगरपालिकाले जनाएको छ ।

चार वर्षदेखि समाधान हुन नसकेको समस्या कार्यवाहक नगरप्रमुख आलमको पहलमा दुई दिनभित्रै समाधान भएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । नाला खुलेसँगै वर्षाको पानी सहज रूपमा निकास हुन थालेको र अब सामान्य वर्षामा समेत बस्ती डुबानमा पर्ने समस्या हट्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले कार्यवाहक नगरप्रमुख आलमको पहलको प्रशंसा गर्दै नेतृत्वमा इच्छाशक्ति भए जटिल देखिने समस्या पनि छोटो समयमै समाधान गर्न सकिने उदाहरण प्रस्तुत भएको बताएका छन् ।

एक स्थानीयले भने, “यदि नेतृत्वले साँच्चिकै चाहेको भए चार वर्षअघि नै यो विवाद समाधान हुन सक्थ्यो । इच्छाशक्ति भए काम गर्न समय लाग्दैन भन्ने कुरा कार्यवाहक नगरप्रमुखले दुई दिनमै प्रमाणित गर्नुभएको छ ।”

स्थानीयका अनुसार यसअघि पानी निकास बन्द हुँदा सामान्य वर्षामै सडक र बस्ती जलमग्न हुने तथा आवतजावतमा कठिनाइ हुने गरेको थियो । अहिले नाला सफा भई पानीको निकास सहज बनेपछि वर्षायाममा हुने समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।

प्रेमिकासँग विवाहको माग गर्दै ८० मिटर अग्लो टेलिकमकाे टावर चढेका युवककाे उद्धार

0

वीरगंज । प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरको टुप्पोमा चढेका एक युवक सुरक्षाकर्मी र परिवारको सम्झाइबुझाइपछि सकुशल तल ओर्लिएका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकमको टावरमा गएराति गोडैता नगरपालिका–९, बकैनियाका २४ वर्षीय अफसर आलम चढेका थिए । उनी सर्लाही क्याम्पसमा बीबीएस अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार आलमले आफूसँगै क्याम्पसमा अध्ययनरत ठाकुर थरकी एक युवतीसँग प्रेम सम्बन्ध रहेको र उनीसँग विवाह हुनुपर्ने माग राख्दै टावरको टुप्पोमा चढेका थिए । उनले टावरबाट आफ्ना साथीलाई फोन गरी माग पूरा नभए हाम फाल्ने चेतावनी दिएका थिए । त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी पुगेको थियो ।

घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि परिचालित भएको थियो । सुरक्षाकर्मी तथा परिवारका सदस्यहरूले निरन्तर सम्झाइबुझाइ गरेपछि आलम अन्ततः आफैं टावरबाट सुरक्षित रूपमा तल ओर्लिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार आलमले प्रेमिकालाई घटनास्थलमा बोलाएर विवाहका लागि प्रतिबद्धता गराउन माग गरेका थिए । तर परिवार र प्रहरीको पहलपछि उनले आफ्नो अडान त्याग्दै सुरक्षित रूपमा तल झरेका हुन् ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा प्रेम सम्बन्धलाई सफल बनाउन परिवारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले उनले यस्तो कदम चालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीय तहमा विकास योजना : तर्जुमा, कार्यान्वयन, अनुगमन र चुनौतीहरू

0

कुनै पनि सामाज, क्षेत्र, राज्य, देश वा मुलुकमा रहेको साधन, स्रोत र क्षमताको आधारमा सर्वसाधारनको जिवनस्तर वृद्धि गर्नको लागि तयार पारिएको निश्चित समयावधि भएको दस्तावेज हो । नेपालमा योजनाको सुरुवात संघीय सरकारबाट आर्थिक वर्ष सूरु हुनु भन्दा १ डेढ महिना अगाडि अर्थात जेष्ठ १५ मा बजेट भाषणबाट हुने गरेको छ । प्रदेश सरकारले असार महिनाको १ गते भित्र बजेट प्रदेश सभामा पेश गर्नुपर्ने विद्यमान व्यवस्था छ । त्यस्तै गाउँपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने कानूनी प्रावधान छ ।

विश्वमा सर्वप्रथम विकास योजना रुस राष्ट्रबाट स.न. १९२८ को “पापतिलेका” स्किमबाट सूरुवात भएको भान्निछ।नेपालमा योजनावद्ध विकास प्रक्रियाको प्रारम्भसँगै वि.सं.२०१३ मा प्रथमपटक योजना आयोगको नामबाट प्रधानमन्त्रीको अध्यक्षतामा योजना निर्माण गर्ने निकाय गठन भएको थियो ।

वि.सं. २०२९ मा तयार गरिएको एउटा वृह्त अध्ययनले प्रतिवेदनबाट प्रस्ताव गरे अनुसार केन्द्रीय योजना निर्माण सम्बन्धी निकायले गर्ने कार्य तथा जिम्मेवारीहरू राष्ट्रिय योजना आयोगलाई दिने गरी नेपालमा राष्ट्रिय योजना आयोगको गठन भएको थियो ।

स्थानिय तहमा विकास योजना तर्जुमा गर्दा सर्वप्रथम नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न बजेट शिर्षक – (जस्तै सशर्त बजेट, वित्तिय समानिकरण, राजश्व बाँडफाँड, विशेष अनुदान, सम्पूरक अनुदान, मन्त्रालयहरुबाट सञ्चालित कार्यक्रम- तराई मधेश समृद्धि कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, सडक बोर्डबाट सडक स्तरउन्नति कार्यक्रम आदि) बाट प्राप्त भएको रकमलाई अनुमान गरि गाउँ तथा नगर सभाबाट गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानियस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत विषय क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन विकास योजना बनाई लागू गर्ने गरेका छन् ।

गाउँपालिका तथा नगरपालिकाले योजना बनाउँदा नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समयसीमा र प्रतिक्रियासँग अनुकूल हुने गरी सुशासन, वातावरण, बालमैत्री, जलवायू परिवर्तन अनुकूलन, विपद व्यवस्थापन, लैङ्गिक तथा सामाजिक समावेशीकरण जस्ता अन्तरसम्बन्धित विषयलाई ध्यानमा राखि योजना तर्जु, कार्यन्वयन, अनुगमन तथा मूल्याङ्कन गर्नु पर्नेमा हालसम्म नेपालमा असारे विकास विद्यमान नै रहेको अवस्था देखिन्छ।

स्थानीय तहमा योजना तर्जु, कार्यन्वयन, अनुगमन तथा मूल्याङ्कनमा देखिएका समस्या तथा चुनौतीहरु के छन् त ?

गाउँपालिका तथा नगरपालिकाले योजना बनाउँदा मध्यम तथा दीर्घकालीन प्रकृतिका आयोजनाहरको सूची तयार गरी आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने योजना नबनाई अनुदानमूल्क जनतालाई सोझै रकम वितरण मुखि योजनाहरु पालिकाबाट योजना तर्जुमा तथा कार्यन्वयन हुदाँ जनतालाई स्थानिय सरकार माथि निर्रभरता सृजना भएको अवस्था छ।उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त हुने र जनताको जीवनस्तर, आम्दनी र रोजगार प्रवर्दन हुने योजना तर्जु नगरी राजनितिक दृश्टीकोष र चुनावी लाभलाई ध्यानमा राखी गाउँ तथा नगर सभाका अध्यक्ष र सदस्यहरुले वितरणमूखि योजनाहरु विद्यमान रहेको अवस्था छ।लैङ्गिक समानता, सामाजिक समावेशीकरण अभिवृद्धि तथा स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने गरी स्थानीय तहले विकास योजनाहरु समावेश गर्नु पर्नेमा राजनीतिक कार्यकर्ता केन्द्र तथा संघीय र प्रदेश सरकारको स्रोत, साधन र सीपमा निर्भरता हुने गरी स्थानीय तहले योजना तर्जु विकास योजनाबाट अनुमानित फल हालसम्म पनि स्थानीय तहलाई प्राप्त हुन सकेको छैन् ।

नेपालको संविधान २०७२ मा स्थानीय तहलाई नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन,  स्थानीय कर, सेवा शुल्क तथा दस्तुर निर्धारण, सङ्कलन र व्यवस्थापन, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थान, खानेपानी व्यवस्थापन सम्बन्धी अधिकार हुदाँ हुदै पनि संघीय निजामती सेवाको गठन तथा सञ्चालन सम्बन्धि ऐन, संघीय स्वास्थ्य सेवाको गठन तथा सञ्चालन सम्बन्धि ऐन, संघीय शिक्षा ऐन तथा अन्य स्थानीय तहको अधिकार सूचीमा रहेको तर संघीय सरकारबाट ऐन हालसम्म पनि जारी नहुदाँ स्थानीय तहले स्थानीय जनताको आवश्यकता हुदाँ हुदै पनि कतिपय योजन तर्जु तथा कार्यन्वनय गर्न सकेका छैन्न।

गाउँपालिका तथा नगरपालिकाले योजना तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय बृद्धिजीवि, विषय विज्ञ, अनुभवी, पेशाविद्, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा, अल्पसङ्खयक, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका सरोकारवालाहरुको अधिकतम सहभागिता नगराई पालिकाहरुले कार्यपालिका सदस्यहरु नेपाल सरकार तथा प्रदेश सरकार बाट प्राप्त बजेट रकमभार तथा राजनीतिक सम्मिकरण अनुसार एकआपसमा वाँडफाँड गरी एकैपटक सभामा वडा अध्यक्ष, नगर उप प्रमुख तथा नगर प्रमुखले एक अर्कासँग छलफलै नगरी कुल बजेटको रकम वडा अध्यक्षले कति पाउने, नगर उप प्रमुखले कति पाउने र नगर प्रमुखले कति पाउने मौखिक सम्झदारी गरी योजना तर्जुमा गर्ने गरेको अवस्था छ।

नेपाल सरकार तथा प्रदेश सरकारले गाँउपालिका तथा नगरपालिकाको लागि सर्शत, निसर्शत अनुदान र विशेष अनुदानको रकम तोक्नु पर्नेमा त्यसतो बजेटको छुटै कार्यविधि तथा मापदण्ड अपनाइ कार्यान्वयन गर्नु पर्ने हुनेछ तर नेपाल सरकार र प्रदेश सरकारले आफ्नो छुटै कानून बनाई सो योजना स्थानीय तहलाई कार्यन्वयन गर्न दिदाँ धेरै जसो त्यस्ता बजेट तथा विकास योजना सरकारी कागजातमै सिमित हुने गरेको छ।

गाउँपालिका तथा नगरपालिकाले नेपाल सरकार वा प्रदेश सरकारसँगको संयुक्त लगानी वा सार्वजनिक निजी साझेदारीमा कुनै योजना सञ्चालन तथा व्यवस्थापन गर्नु पर्नेमा हालसम्म पनि कतिपय गाँउपालिका तथा नगरपालिकाको स्थानीय राजश्व सङ्कलनको अवस्था कमजोर रहेको हुनाले नेपाल सरकार वा प्रदेश सरकारबाट साझेदारीबाट प्राप्त रकम आर्थिक वर्षको असार मसान्तमा फ्रिज भएको पनि अवस्था देख्न सकिन्छ।

गाउँपालिका तथा नगरपालिकाले स्थानीयस्तरका विकास आयोजनाको आवश्यक अध्ययन तथा प्रभाव मूल्याङ्कनको कार्य गर्नु पर्नेमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण र बजेट तथा कार्यक्रम तर्जुमा समितिले नेपाल र प्रदेश सरकारबाट प्राप्त बजेट एक आपसमा निजी आवश्यकताको आधार हुने गरेको पाइन्छ।योजना तर्जुमाको अवस्थामा कार्यान्वयन गर्ने सरोकारवाला निकायको न्यून सहभागिताकव फलस्वरुप अपनत्वको कमी, कार्यान्वयन गर्ने निकायको क्षमता कमजोर हुनु जस्ता कारण योजना (लक्ष्य) र कार्यान्वयन (उपलब्धि) बीच अनपेक्षित अन्तर देखिन्छ।योजना बढी महत्वाकाक्षी भएको र कार्यान्वयन पक्षमा कमजोर र पर्याप्त ध्यान नपुगेको एवं अन्तर क्षेत्रगत सामञ्जस्यता कायम नभएकव जस्त कमजोरी रहेका छन्।

संघीय प्रणाली अनुरुप खण्डीकृत स्थानीय तथ्याङ्कको उपलब्धता छैन भने योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा, प्राविधिक उच्च क्षमता भएका, उत्प्रेरित र दक्ष जनशक्तिको स्थानीय तहमा कमी रहेको छ।सो कमी पूरा गर्न करारमा कर्मचारी गाउँपालिका तथा नगरपालिकाले गर्दा स्थानीय तहमा उपलब्ध भएको जनशक्तिलाई प्राथमिकता दिएको हुनाले संघीय लक्ष्य र सोच अनुरुप प्रतिफल र कार्यदक्षता समेत कर्मचारीहरुमा नभएको पाइन्छ।

नेपालको संविधान २०७२ ले गाउँपालिका अध्यक्ष तथा नगरपालिकाको नगर प्रमुखलाई गाउँ/नगर सभाको अध्यक्ष र कार्यपालिकाको समेत अध्यक्षता ग्रहन गर्ने अधिकार दिएको हुनाले धेरै जसो गाउँ/नगरपालिकामा अध्यक्षले भने जस्तै बाँकी निर्वाचित सदस्यहरुलाई गर्नु पर्ने बाँध्यात्मक परिस्थितिले गर्दा योजना तर्जु, छनौट, कार्यान्वयन तथा अनुगमनमा राजनितिक पार्टी अनुसारको हुने गरेको पाइन्छ।

अनुगमनका चरणहरुको अनुपालना हुन नसक्नु, विकास नीति, योजना तथा कार्यक्रमले पारेको समग्र प्रभाव, असर र दिगोपनको मूल्याङ्कनलाई सघन बनाउन नसक्नु, योजना तर्जुमाको क्रममा अनुगमन तथा मूल्याङ्कनका लागि आवश्यक कार्ययोजनाले प्राथमिकता नपाउनु प्रमुख समस्या हुन्। अनुगमन तथा मूल्याङ्कनबाट औँल्याइएका सकारात्मक पृष्ठपोषणलाई कार्यान्वयन गर्ने व्यवस्था अनिवार्य नहुनु, कार्यक्रम तथा आयोजनाको नतिजालाई सम्बन्धिम निकायका पदाधिकारीहरुको कार्यसम्पादसँग आबद्ध गरी पुरस्कार र दण्डको व्यवस्था गराउन नसक्नु, अनुगमन तथा मूल्याङ्कन प्रणालीसँग आबद्ध जनशक्तिको पर्याप्त क्षमता विकास गर्न नसक्नु र यसका लागि साधन- स्रोतको अपर्याप्तता रहनु प्रमुख समस्या हुन् ।

संघीय संरचना अनुरुप संघ,  प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई संस्थागत गर्नु,  योजनाले परिलक्षित गरेका प्रगतिको एकीकृत प्रतिवेदन गर्नु, राष्ट्रिय लक्ष्यका सही तथा मापनयोग्य सूचकहरु निर्धारण गर्नु, दिगो विकास लक्ष्य लगायतका विषयमा असर र प्रभाव तहका सूचकहरुको खण्डीकृत एवम् सर्वेक्षणमा आधारित तथ्याङ्क तथा सूचना सिर्जना गरी प्रगति समीक्षा गर्नु,  अनुगमन तथा मूल्याङ्कन क्षेत्रमा दक्ष जनशक्ति तयार गरी टिकाइ राख्नु, नीति, योजना तथा कार्यक्रमकव प्रभाव र असर मूल्याङ्कन गर्नु, मूल्याङ्कनबाट आएका पृष्ठपोषणलाई अनिवार्य कार्यान्वयन गराउनु र अनुगमन तथा मूल्याङ्कन कार्यमा प्रविधिको प्रयोगलाई व्यहारमा लागू गर्नु प्रमुख चुनौती रहेका छन् ।

अनुगमन तथा मूल्याङ्कनलाई अन्तरनिकाय र अन्तरसरकारी तहको समन्वय र सहकार्यमा थप प्रभावकारी बनाउनु आवश्यक छ। आन्तरिक र तेस्रो पक्षको मूल्याङ्कन मार्फत विकास नीति, योजना तथा कार्यक्रमको असर र प्रभाव अध्ययन गरी पृष्ठपोषण प्रदान गर्ने प्रयासलाई सुदृढ बनाउने एवम् विकास आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कन कार्य छिटो, छरितो र व्यवस्थित बनाउन नवीन प्रविधिको प्रयोग र सञ्जालीकरण गर्नुपर्ने देखिएको छ। योजनामा अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त अनुपोषणलाई तीन तहको सरकारमा अनिवार्य रुपमा लागू गर्ने प्रणालीको विकास गर्दै समस्याको शीघ्र समाधान गर्नु पर्ने देखिन्छ ।

लेखक : केशव कुमार अधिकारी पर्साकाे कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

0

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रमलाई विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेको छ ।

समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता)का अनुसार आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन पिठो, तेल, नुन, तरकारीलगायत आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोग ग्रहण गर्दै मानवसेवा आश्रमले समितिप्रति आभार व्यक्त गरेको छ । आश्रमले उक्त सहयोगले आश्रित ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको सेवा, संरक्षण र दैनिक व्यवस्थापनमा महत्वपूर्ण टेवा पुगेको जनाएको छ ।

आश्रमका प्रतिनिधिहरूले समाजसेवाप्रतिको यस्तो संवेदनशीलता, उदारता र मानवीय भावनाले अन्य व्यक्ति तथा संघसंस्थालाई समेत सामाजिक सेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

धार्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै आएको श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

मानवसेवा आश्रमले समितिको उत्तरोत्तर प्रगति, सफलता तथा श्री गहवामाईको असीम कृपा सधैं रहिरहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेको छ ।