Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 64

रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसद्वारा दलित प्राविलाई ७ थान पंखा सहयोग

0

वीरगंज । रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले सामाजिक उत्तरदायित्वअन्तर्गत पर्साको श्री दलित प्राथमिक विद्यालय, महुवनलाई ७ थान पंखा सहयोग गरेको छ ।

विद्यालयमा गर्मीको समस्या तथा आधारभूत पूर्वाधारको अभावलाई ध्यानमा राख्दै विद्यार्थीहरूको अध्ययन वातावरण सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको क्लबले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका रामबिनय यादव, आलोक यादव, आर्यन गुप्ता तथा मनीष सर्राफको सक्रिय सहभागिता रहेको थियो । उनीहरूले विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराउँदै शैक्षिक वातावरण सुधारमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

यस सहयोग कार्यक्रम सफल बनाउन आवश्यक पंखाहरू व्यवस्थापनमा विशेष सहयोग पुर्‍याउने प्रकाश कर्ण तथा अन्य सहयोगी दाताप्रति रोट्र्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले हार्दिक आभार व्यक्त गरेको छ ।

क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासँग सम्बन्धित यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

लिटिल बडी प्रि स्कुलमा मेहन्दी प्रतियोगिता सम्पन्न, आकांक्षा बान्या प्रथम

0

वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

विद्यालयका अनुसार प्रतियोगिताको उद्देश्य अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै साउन पर्वसँग जोडिएको सांस्कृतिक परम्पराको संरक्षण र सिर्जनात्मक प्रतिभाको प्रवर्द्धन गर्नु रहेको थियो। सहभागी अभिभावकहरूले आकर्षक तथा कलात्मक मेहन्दी डिजाइन प्रस्तुत गरेका थिए।

निर्णायक मण्डलले सिर्जनशीलता, कलात्मकता, सफाइ तथा प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गर्दै आकांक्षा बान्यालाई प्रथम, कोमल गुप्तालाई द्वितीय तथा अञ्जली शाहलाई तृतीय घोषित गरेको थियो। विजेताहरूलाई विद्यालयका तर्फबाट सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै अभिभावक र विद्यालयबीचको सहकार्यलाई मजबुत बनाउन यस्ता सिर्जनात्मक कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको बताइन्। विद्यालय केवल पठनपाठनमा सीमित नभई सामाजिक, सांस्कृतिक तथा अतिरिक्त गतिविधिमार्फत विद्यार्थी र अभिभावकबीच सकारात्मक सम्बन्ध विकास गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

प्रतियोगितामा सहभागी अभिभावकहरूले विद्यालयले शिक्षासँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधिलाई पनि प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले अभिभावक–विद्यालय सम्बन्ध अझ प्रगाढ बनाउनुका साथै बालबालिकामा सिर्जनशीलता, आत्मविश्वास र सांस्कृतिक मूल्यप्रतिको सम्मान विकास गर्न सहयोग पुग्ने धारणा राखेका थिए।

कार्यक्रममा अञ्जु महतो, रोशनी सर्राफ र प्रिया कुमारी गुप्ताले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका प्रिती गुप्ताले गरेकी थिइन् ।

नारायणी अस्पताल विवाद चर्कियो : चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

0

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले नयाँ मोड लिएको छ । एकातर्फ चिकित्सकहरूले सुरक्षाको माग गर्दै आन्दोलन चर्काएका छन् भने अर्कोतर्फ मृतकका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाएका छन् ।

शनिबार वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले नारायणी अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गर्नुका साथै ड्युटीमा रहेका मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका डा. रामको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घटनापछि अस्पताल प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकबाट छानबिन समिति गठन गर्दै आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई प्रतिवेदन नआएसम्म जिम्मेवारीबाट अलग राख्ने निर्णय गरेको छ । जिम्मेवारीबाट अलग गरिएकामा डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव रहेका छन् ।

छानबिन समितिमा नारायणी अस्पतालका डा. निरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल तथा अस्पतालका प्रतिनिधि सुनिलकुमार रौनियार सदस्य रहेका छन् ।

यस निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघ, नारायणी शाखाले चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न, जिम्मेवारीबाट अलग गरिएका स्वास्थ्यकर्मीलाई बिना शर्त काममा फर्काउन तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न माग गरेको छ । संघका अध्यक्ष डा. मनोजकुमार गुप्ताले चिकित्सकमाथि भएको हिंसाले स्वास्थ्यकर्मी त्रसित बनेको र निलम्बनको निर्णयले मनोबल झन् कमजोर बनाएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

संघको आह्वानपछि आइतबारदेखि नारायणी अस्पतालसहित वीरगंजका सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजका चिकित्सकहरूले आकस्मिक सेवासमेत बहिष्कार गर्दै अधिकांश स्वास्थ्य सेवा स्थगित गरेका छन् । यसका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

यता मृतकका परिवारजनले भने अस्पतालको लापरबाहीका कारण राजकुमार पटेलको मृत्यु भएको दाबी गरेका छन् । उनीहरूका अनुसार अक्सिजनमा रहेका बिरामीलाई उपचारका लागि सार्ने क्रममा अक्सिजन आपूर्ति विच्छेद गरिएकाले उनको मृत्यु भएको हो । घटनापछि उपचारमा लापरबाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले आकस्मिक कक्षमा विरोध प्रदर्शन गर्दै तोडफोड गरेका थिए ।

यसैबीच, नेपाल चिकित्सक संघको केन्द्रीय समितिले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमणमा संलग्न व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ तथा प्रचलित कानुनबमोजिम कारबाही गर्न र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट अलग गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

चिकित्सकहरूको आन्दोलन, मृतक पक्षको आरोप र अस्पताल प्रशासनको छानबिन प्रक्रिया सँगसँगै अघि बढिरहेका बेला नारायणी अस्पतालको विवाद थप पेचिलो बनेको छ । यस बिषयमा बुझ्न नारायणी अस्पतालका निमित्त मेसु डा. चितरन्जन साहसंग फानमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

गौतम माध्यमिक विद्यालयमा विद्यार्थी परिषद्ले पायो नयाँ नेतृत्व

0

वीरगंज । गौतम माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि गठन गरिएको विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) लाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै इन्भेस्टिचर समारोह–२०८३ भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित समारोहमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न नेतृत्वदायी जिम्मेवारी प्रदान गर्दै सम्बन्धित पदअनुसार ब्याज (Badge) लगाएर सम्मान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंजस्थित नेपाली सेनाको श्री जंग गणका गणपति (कर्णेल) लोकेन्द्र कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौराज प्रधान, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहमा स्वरा झा हेड गर्ल, अभिनव ठाकुर हेड ब्वाय, प्रियम कुमारी सिन्हा र सिद्धार्थ कुमार मिश्रा शैक्षिक प्रमुख (हेड प्रिफेक्ट), अदिति पिठाकोटे मगर र बासु चौरसिया अतिरिक्त क्रियाकलाप (ECA) प्रमुख, आर्या चौरसिया र अंकित कुमार अनुशासन प्रमुख, रिजन चापागाईं र स्वस्तिका रौनियार सामाजिक पहुँच प्रमुख, दिप्शिखा गुप्ता र अनिश चौधरी खेलकुद प्रमुख, जबेरिया खातुन र आलोक शाह भाषा प्रमुख, रुशाली माली श्रेष्ठ र अर्नव केजरीवाल डिजिटल वेलनेस प्रमुख तथा मेहविश प्रवीन र ऋषभ गुप्ता सह–पाठ्यक्रम (CCA) प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो।

विद्यालयका अनुसार यस अवसरमा अन्य विभिन्न विद्यार्थीहरूलाई पनि उनीहरूको जिम्मेवारीअनुसार विभिन्न पदका ब्याज वितरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कर्णेल लोकेन्द्र कार्कीले विद्यालय जीवनमै नेतृत्व क्षमता, अनुशासन, जिम्मेवारीबोध र सेवाभावको विकास गर्न सके भविष्यमा सक्षम र जिम्मेवार नागरिक बन्न सहज हुने बताए। उनले विद्यार्थी परिषद्मा चयन भएका सबै विद्यार्थीलाई इमानदारी, समर्पण र उत्तरदायित्वका साथ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।

अध्यक्षीय मन्तव्य व्यक्त गर्दै प्रधानाध्यापक गणेश क्षेत्रीले विद्यार्थी परिषद् विद्यालयमा नेतृत्व विकास गर्ने महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीहरूले विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा अतिरिक्त क्रियाकलापलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रहरी निरीक्षक जटाशंकर यादव ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले २०८३ साल असार महिनाका लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक यादवले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ रूपमा जिम्मेवारी निर्वाह गरेका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

अपराध अनुसन्धान शाखाका प्रमुखका रूपमा कार्यरत यादवले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, विपद् व्यवस्थापनका क्रममा तत्काल परिचालन भई क्षति न्यूनीकरण गर्न तथा विभिन्न आपराधिक घटनाको सूक्ष्म अनुसन्धान गरी संलग्न अभियुक्तलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन उल्लेखनीय भूमिका खेलेका छन् ।

त्यसैगरी, समुदाय तथा सरोकारवाला निकायसँग समन्वय गरी अपराध नियन्त्रण तथा समुदाय–केन्द्रित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको, जिल्ला प्रहरी कार्यालयको पूर्वाधार विकासमा योगदान पुर्‍याएको तथा मातहतका प्रहरी कर्मचारीहरूको प्रभावकारी सुपरिवेक्षणमार्फत प्रहरी संगठनको छवि सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक यादवले आफूलाई दिइएको जिम्मेवारी अनुशासित, इमान्दार र पूर्ण निष्ठाका साथ सम्पादन गरेको मूल्याङ्कन गर्दै कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक उमेश जोशीले उनलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेका हुन् ।

आँपको बगैचामा लुकाएर राखिएको अवस्थामा छिपहरमाईबाट १४० किलो गाँजा बरामद

0

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित एक आँपको बगैचाबाट प्रहरीले १४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति करिब ९:३० बजे इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको बीओपी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा आँपको बगैचाभित्र घाँसमा लुकाइछिपाइ राखिएको अवस्थामा १३ वटा पोकामा रहेको गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजाको तौल १४० किलोग्राम रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

0

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ।

क्लबका निवर्तमान अध्यक्ष रामबिनय यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर इलेक्ट रो. अमित गिरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष यादवले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वले सामाजिक सेवा, युवा नेतृत्व विकास तथा सामुदायिक हितका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे । उनले रोट्रयाक्ट क्लबले युवामा नेतृत्व क्षमता विकास गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई थप सशक्त बनाउने बताए ।

प्रमुख अतिथि रो. अमित गिरीले रोट्रयाक्ट क्लब युवाहरूको नेतृत्व विकास गर्ने उत्कृष्ट मञ्च भएको उल्लेख गर्दै सेवा, मित्रता र नेतृत्वलाई जीवनको मूल मन्त्र बनाएर अघि बढ्न आग्रह गरे । उनले समाज परिवर्तनमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताउँदै रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले सञ्चालन गर्दै आएका सामाजिक गतिविधिको प्रशंसा गरे। आगामी कार्यकाल अझ उपलब्धिमूलक हुने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा रामकिशोर प्रसाद, राकेश मिश्रा, संजय जोशी, अनिल जैस्वाल, एनवाईईएफ वीरगञ्जका अध्यक्ष चन्दन सिंह, हरिओम साह, एडीआरआर अमित शर्मा, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, एन–प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ता, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन, प्याब्सन नगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, प्याब्सन सदस्य विजय कुमार बल, राजन श्रीवास्तव, देवेश गुप्ता, कमल चौगाई तथा युथ सर्भ फाउन्डेसनकी उपाध्यक्ष संजना रौनियारलगायत सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजसेवा, युवा सशक्तीकरण, नेतृत्व विकास तथा सामुदायिक हितका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन आउने

0

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारका क्रममा मृत्यु भएपछि चिकित्सक र अस्पताल प्रशासनको लापरबाही भएको आरोप लगाउँदै आफन्त तथा स्थानीयले विरोध प्रदर्शन गरेका थिए । त्यसपछि स्थानीय प्रशासनको समन्वयमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह, पीडित परिवार, आफन्त तथा जनप्रतिनिधिबीच भएको वार्तापछि छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृतको नेतृत्वमा गठित समितिमा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साह र जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि सदस्य रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी चक्रबहादुर मल्लका अनुसार समितिले सात दिनभित्र प्रतिवेदन पेश गर्नेछ । प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमति भएको उनले जानकारी दिए ।

त्यस्तै, घटनाको समयमा आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्कालका लागि कामबाट रोक लगाउने तथा अस्पतालको सेवा–सुविधा सुधारका लागि आवश्यक कदम चाल्ने विषयमा पनि सहमति भएको डीएसपी मल्लले बताए ।

मृतकका आफन्तले अक्सिजनमा रहेका बिरामीलाई उपचारका लागि लैजाँदा अक्सिजन हटाएर लापरबाही गरिएको र त्यसकै कारण मृत्यु भएको आरोप लगाएका छन् ।

घटनापछि उपचारमा लापरबाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले नारायणी अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला तथा तोडफोड गरेका थिए ।

सुरक्षाकर्मीले उनीहरूलाई बाहिर निकालेपछि पनि अस्पताल परिसरमा प्रदर्शन जारी रहेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो । अस्पताल परिसर शनिबार दिनभरि तनावग्रस्त बनेको थियो ।

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

0

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि चुलिएको बताएका छन् । राष्ट्रियताको रक्षा, सुशासनको सवाल र विकासको मामिलामा वर्तमान सरकार असफलताको दिशातर्फउन्मुख रहेको साहको आरोप छ ।

आज (शनिबार) रौतहटको कटहरियामा आयोजित आईटी आर्मीको विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेपाली जनताले देशको वर्तमान राजनीतिक व्यवस्थामा नै सुधारको लागि रास्वपालाई अभुतपूर्व मत दिँदापनि सोहीअनुसार अहिलेको सरकारले पहलकदमी नलिएको बताए । उनले देशमा सरकार बदलिएपनि सिच्यूएशन नबदलिएको गम्भीर टिप्पणी गरे ।

वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको छोटो समयमा नै जनतामा चरम निराशा चुलिएको र स्वयम सरकारको नेतृत्व गरेको दल रास्वपा आन्तरिक विवादमा फसेको पूर्वमन्त्री साहको दाबी छ । गरिव, निमुखा र विपन्न जनता अहिलेको सरकारबाट त्रसित अवस्थामा रहेको भन्दै अझैसम्म विस्थापित सुकुम्वासीहरु रोएर बस्नुपरेको अवस्था पनि उनले चित्रण गराए ।

मूल्यवृद्धि नियन्त्रणको साटो दिनदिनै चुलिएको, विकास खर्च गर्न नसकेको र आन्तरिक तथा वैदेशिक ऋण बढाउने काममा वर्तमान सरकार लागिपरेको भन्दै उनले अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न नसक्ने ठोकुवा गरे ।

उनले वर्तमान सरकारले विकास कुटनीतिको हल्ला पिटेपनि वैदेशिक सम्बन्ध सुधारको लागि कुनै ठोस पहल नलिएको आरोप लगाए । भारत, चीनलगायतका महत्वपूर्ण छिमेकीहरुसँगको सम्बन्ध अहिले अवरुद्धको अवस्थामा रहेको र ती देशहरुमा राजदूतविहीन बनाउने काम गरिएको भन्दै साहले सरकारको आलोचना गरे । उनले प्रधानमन्त्री शाहले विदेशी राजदूतहरुसँग एक्लाएक्लै नभेट्ने भनेर चर्चा बटुलेपनि आफ्ना सल्लाहकारलाई सुटुक्क दिल्ली दौडमा पठाएको र सम्बन्ध सुधारकोलागि पहल लिएको खबर बाहिरिनुले पनि प्रधानमन्त्रीको राष्ट्रवादी छवि उदांगिएको टिप्पणी गरे । उनले विदेश सम्बन्धमा हचुवा र आलोकाँचो व्यवहार प्रस्तुत नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिए ।

उनले सरकारको हरेक गलत क्रियाकलापहरुको सशक्त प्रतिवाद गर्न पनि युवा पँक्तिलाई निर्देशन दिए । देश बदलावको लागि युवाहरुले नै विशेष भूमिका खेल्नुपर्ने बेला आएको भन्दै सत्तामा बसेकाहरुका अन्धभक्तहरुले साइबर बुलिङ गर्दैमा सत्य कुरा बोल्न नडराउन पनि साहले आग्रह गरेका छन् । यस्तै, उनले परिवर्तन तथा अग्रगामी शक्तिहरुबीच तत्काल सहकार्यको आवश्यकत्ता पनि औंल्याए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रसहित आवास भवन उद्घाटन

0

जनकपुरधाम । धनुषा जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा आवास भवनको उद्घाटन गरिएको छ ।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालय धनुषा परिसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नव–निर्मित भवनको उद्घाटन गरेका हुन्।

बेलायत सरकारको FCDO-UK को आर्थिक सहयोग तथा UNOPS द्वारा सञ्चालित Security Justice Program (SJP) अन्तर्गत निर्माण गरिएको उक्त भवनको उद्घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारी, मधेश प्रदेश पृतना हेडक्वार्टर बर्दिबासका उपरथी भुवन खत्री, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालय धनुषाका अनुसन्धान निर्देशक माधवप्रसाद तिमल्सिना, UNOPS का पूर्व प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपाने तथा इन्फ्रास्ट्रक्चर सिनियर इन्जिनियर शिशिर उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।

यसैगरी धनुषा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा अन्य गरी करिब १०० देखि १२० जनाको सहभागिता रहेको कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनको प्रभावकारी उपयोग गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई थप गुणस्तरीय र सहज सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।

कार्यक्रमको समापनमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।