Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

नारायणी अस्पताल विवाद चर्कियो : चिकित्सकको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि भएको तोडफोड र चिकित्सकमाथिको आक्रमणको घटनाले नयाँ मोड लिएको छ । एकातर्फ चिकित्सकहरूले सुरक्षाको माग गर्दै आन्दोलन चर्काएका छन् भने अर्कोतर्फ मृतकका आफन्तले अस्पताल र चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाएका छन् ।

शनिबार वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले नारायणी अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गर्नुका साथै ड्युटीमा रहेका मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट गरेका थिए । गम्भीर घाइते भएका डा. रामको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

घटनापछि अस्पताल प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकबाट छानबिन समिति गठन गर्दै आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई प्रतिवेदन नआएसम्म जिम्मेवारीबाट अलग राख्ने निर्णय गरेको छ । जिम्मेवारीबाट अलग गरिएकामा डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव रहेका छन् ।

छानबिन समितिमा नारायणी अस्पतालका डा. निरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल तथा अस्पतालका प्रतिनिधि सुनिलकुमार रौनियार सदस्य रहेका छन् ।

यस निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघ, नारायणी शाखाले चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न, जिम्मेवारीबाट अलग गरिएका स्वास्थ्यकर्मीलाई बिना शर्त काममा फर्काउन तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न माग गरेको छ । संघका अध्यक्ष डा. मनोजकुमार गुप्ताले चिकित्सकमाथि भएको हिंसाले स्वास्थ्यकर्मी त्रसित बनेको र निलम्बनको निर्णयले मनोबल झन् कमजोर बनाएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

संघको आह्वानपछि आइतबारदेखि नारायणी अस्पतालसहित वीरगंजका सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजका चिकित्सकहरूले आकस्मिक सेवासमेत बहिष्कार गर्दै अधिकांश स्वास्थ्य सेवा स्थगित गरेका छन् । यसका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी र सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

यता मृतकका परिवारजनले भने अस्पतालको लापरबाहीका कारण राजकुमार पटेलको मृत्यु भएको दाबी गरेका छन् । उनीहरूका अनुसार अक्सिजनमा रहेका बिरामीलाई उपचारका लागि सार्ने क्रममा अक्सिजन आपूर्ति विच्छेद गरिएकाले उनको मृत्यु भएको हो । घटनापछि उपचारमा लापरबाही भएको भन्दै आक्रोशित आफन्त र स्थानीयले आकस्मिक कक्षमा विरोध प्रदर्शन गर्दै तोडफोड गरेका थिए ।

यसैबीच, नेपाल चिकित्सक संघको केन्द्रीय समितिले पनि घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले अस्पतालमा तोडफोड तथा चिकित्सकमाथि आक्रमणमा संलग्न व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०७९ तथा प्रचलित कानुनबमोजिम कारबाही गर्न र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट अलग गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

चिकित्सकहरूको आन्दोलन, मृतक पक्षको आरोप र अस्पताल प्रशासनको छानबिन प्रक्रिया सँगसँगै अघि बढिरहेका बेला नारायणी अस्पतालको विवाद थप पेचिलो बनेको छ । यस बिषयमा बुझ्न नारायणी अस्पतालका निमित्त मेसु डा. चितरन्जन साहसंग फानमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...