वीरगंज । साउन महिनाको अवसरमा वीरगंज महानगरपालिका–८, पानीटंकीस्थित लिटिल बडी प्रि स्कुलले अभिभावकहरूबीच मेहन्दी प्रतियोगिता आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न प्रतियोगितामा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यालयका अनुसार प्रतियोगिताको उद्देश्य अभिभावक र विद्यालयबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै साउन पर्वसँग जोडिएको सांस्कृतिक परम्पराको संरक्षण र सिर्जनात्मक प्रतिभाको प्रवर्द्धन गर्नु रहेको थियो। सहभागी अभिभावकहरूले आकर्षक तथा कलात्मक मेहन्दी डिजाइन प्रस्तुत गरेका थिए।
निर्णायक मण्डलले सिर्जनशीलता, कलात्मकता, सफाइ तथा प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गर्दै आकांक्षा बान्यालाई प्रथम, कोमल गुप्तालाई द्वितीय तथा अञ्जली शाहलाई तृतीय घोषित गरेको थियो। विजेताहरूलाई विद्यालयका तर्फबाट सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति सदस्य सुप्रिया पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै अभिभावक र विद्यालयबीचको सहकार्यलाई मजबुत बनाउन यस्ता सिर्जनात्मक कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको बताइन्। विद्यालय केवल पठनपाठनमा सीमित नभई सामाजिक, सांस्कृतिक तथा अतिरिक्त गतिविधिमार्फत विद्यार्थी र अभिभावकबीच सकारात्मक सम्बन्ध विकास गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।
प्रतियोगितामा सहभागी अभिभावकहरूले विद्यालयले शिक्षासँगै अतिरिक्त तथा सिर्जनात्मक गतिविधिलाई पनि प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले अभिभावक–विद्यालय सम्बन्ध अझ प्रगाढ बनाउनुका साथै बालबालिकामा सिर्जनशीलता, आत्मविश्वास र सांस्कृतिक मूल्यप्रतिको सम्मान विकास गर्न सहयोग पुग्ने धारणा राखेका थिए।
कार्यक्रममा अञ्जु महतो, रोशनी सर्राफ र प्रिया कुमारी गुप्ताले निर्णायकको भूमिका निर्वाह गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयकी शिक्षिका प्रिती गुप्ताले गरेकी थिइन् ।









