जनकपुरधाम । धनुषा जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा आवास भवनको उद्घाटन गरिएको छ ।
शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–४ स्थित जिल्ला प्रहरी कार्यालय धनुषा परिसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नव–निर्मित भवनको उद्घाटन गरेका हुन्।
बेलायत सरकारको FCDO-UK को आर्थिक सहयोग तथा UNOPS द्वारा सञ्चालित Security Justice Program (SJP) अन्तर्गत निर्माण गरिएको उक्त भवनको उद्घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारी, मधेश प्रदेश पृतना हेडक्वार्टर बर्दिबासका उपरथी भुवन खत्री, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी महोत्तरीका सशस्त्र प्रहरी नायव महानिरीक्षक विष्णुप्रसाद भट्ट, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालय धनुषाका अनुसन्धान निर्देशक माधवप्रसाद तिमल्सिना, UNOPS का पूर्व प्रहरी वरिष्ठ उपरीक्षक इन्द्र न्यौपाने तथा इन्फ्रास्ट्रक्चर सिनियर इन्जिनियर शिशिर उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी धनुषा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा अन्य गरी करिब १०० देखि १२० जनाको सहभागिता रहेको कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनको प्रभावकारी उपयोग गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई थप गुणस्तरीय र सहज सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
कार्यक्रमको समापनमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।









