Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 63

कञ्चन झा भन्छन्– ‘पर्सा प्रशासनको नाकामीले देशव्यापी संकट निम्त्यायो’

0

वीरगञ्ज । नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले नारायणी अस्पतालमा उत्पन्न विवाद र त्यसपछि देशभर फैलिएको चिकित्सक आन्दोलनलाई पर्सा प्रहरी–प्रशासनको असफलताको परिणाम भएको बताएका छन् । उनले अस्पतालमा देखिएको तनावका कारण चार दिनदेखि बिरामीहरू उपचार सेवाबाट वञ्चित हुनु अत्यन्तै दुःखद रहेको उल्लेख गर्दै स्थानीय प्रशासनको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

झाले नारायणी अस्पतालमा कार्यरत अधिकांश चिकित्सकले असुरक्षाको महसुस गर्दै राजीनामा दिएको उल्लेख गर्दै अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथि भएको कुटपिट तथा आन्दोलनरत चिकित्सकहरूमाथि प्रशासनले वार्ताका नाममा दबाब र धम्की दिएको आरोप लगाए। उनले यस्तो व्यवहारले समस्या समाधान हुनुको सट्टा आन्दोलन झन् चर्किएको दाबी गरे।

उनले संवेदनशील परिस्थितिमा प्रहरी–प्रशासनले संयमता अपनाई चिकित्सकलाई सुरक्षाको प्रत्याभूति दिलाएर सेवा सञ्चालनको वातावरण बनाउनुपर्नेमा “शासकीय दम्भ” प्रदर्शन गरेको आरोप लगाए। प्रशासनले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने र बल प्रयोग तथा दबाबको मानसिकता त्याग्नुपर्ने उनको भनाइ छ।

झाले उपचारका क्रममा बिरामीको मृत्यु चिकित्सकीय लापरवाहीका कारण भएको हो वा होइन भन्ने विषय निष्पक्ष छानबिनबाट मात्र टुंगो लगाउनुपर्ने बताए। साथै अस्पतालमा तोडफोड गर्ने, चिकित्सकमाथि आक्रमण गर्ने तथा सुरक्षाको माग गर्ने चिकित्सकमाथि दुर्व्यवहार गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने उनको माग छ।

पर्साका जिम्मेवार प्रशासकहरूले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लगाउँदै झाले उनीहरूमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्। चिकित्सक आन्दोलनको आवरणमा कसैले राजनीतिक स्वार्थ पूरा गर्न खोजेको पाइए त्यस्तामाथि पनि कानुनबमोजिम कारबाही हुनुपर्ने उनको भनाइ छ।

अन्त्यमा उनले सरकारले नारायणी अस्पतालको विवाद यथाशीघ्र समाधान गरी देशभरका अस्पतालमा नियमित स्वास्थ्य सेवा सञ्चालनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्। साथै आन्दोलनरत चिकित्सकलाई बिरामीको संवेदनशीलतालाई मध्यनजर गर्दै सेवामा फर्किन, घाइते चिकित्सकको उचित उपचार गर्न तथा मृतकका परिवारलाई निष्पक्ष न्यायको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेका छन्।

ओपन डिबेट एन्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६’ को अडिसन सम्पन्न, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

0

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान, वीरगञ्ज र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘Open Debate & Impromptu Speech Championship 2026’ को पहिलो चरण (अडिसन राउण्ड) सफलतापूर्वक सम्पन्न भएको छ ।

विद्यार्थीहरूमा प्रभावकारी सञ्चारकला, सार्वजनिक वक्तृत्व, तार्किक सोच, नेतृत्व क्षमता, आत्मविश्वास, आलोचनात्मक विश्लेषण, टोलीगत कार्यसम्पादन तथा स्वस्थ बहस संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा वीरगञ्ज तथा आसपासका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

अडिसन चरणमा सहभागीहरूको वक्तृत्व, प्रस्तुतीकरण शैली, तर्क क्षमता, आत्मविश्वास तथा समग्र प्रदर्शनका आधारमा Emerging Category र Advance Category अन्तर्गत उत्कृष्ट १०–१० जना गरी २० जना विद्यार्थी दोस्रो चरण (Preparation Round) का लागि छनोट भएका छन्। साथै प्रत्येक समूहमा २–२ जना विद्यार्थीलाई प्रतीक्षा सूचीमा राखिएको छ ।

आयोजकका अनुसार दोस्रो चरण (Preparation Round) जुलाई २८, २०२६ मा वीरगञ्जको आदर्शनगरस्थित Magnus Pharma Office मा आयोजना हुनेछ। उक्त चरणमा सहभागीहरूलाई बहसको संरचना, विषय विश्लेषण, टोली समन्वय, प्रभावकारी तर्क प्रस्तुति तथा इम्प्रोम्प्टु भाषणका विविध पक्षबारे प्रशिक्षण प्रदान गरिनेछ ।

प्रतियोगिताको भव्य फाइनल अगस्ट १, २०२६ (शनिबार) बिहान ११ बजे आदर्शनगरस्थित त्रिशला रेस्टुरेन्ट मा हुने आयोजकले जनाएको छ। दोस्रो चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूबीच अन्तिम प्रतिस्पर्धा हुनेछ भने विजेतालाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रमका संयोजक अनुप अग्रवालले यो प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व निर्माण तथा प्रभावकारी अभिव्यक्तिको दीर्घकालीन अभियान भएको बताए ।

राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठानका अध्यक्ष ज्योति केयालले युवापुस्तामा सकारात्मक सोच, नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले प्रतिष्ठानले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, वीरगञ्ज टोस्टमास्टर्स क्लबकी अध्यक्ष खुशी अग्रवालले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सार्वजनिक वक्तृत्व र नेतृत्व विकासको अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगितामा सहकार्य गरिएको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् ।

प्रतियोगिताको मूल्याङ्कन प्रक्रिया मुख्य निर्णायक गणेश लाठको नेतृत्वमा अनुभवी निर्णायक मण्डलले निष्पक्ष, पारदर्शी र निर्धारित मापदण्डअनुसार सम्पन्न गरेको आयोजकले जनाएको छ ।

संयुक्त आयोजक राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगञ्ज टोस्टमास्टर्स क्लबले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विद्यालय, अभिभावक, विद्यार्थी, निर्णायक, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै दोस्रो चरणका लागि छनोट भएका सबै विद्यार्थीलाई बधाई तथा आगामी प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरेका छन् ।

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

0

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् ।

गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भएको विरोध जुलुस आदर्शनगर चोक, अलखिया मठ चोक, घडीअर्वा हुँदै घण्टाघर चोक पुगेको थियो । प्रदर्शनकारीहरूले घण्टाघरमा टायर बालेर नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए।

प्रदर्शनका क्रममा सहभागीहरूले “हिन्दुलाई मार्न पाइँदैन”, “सुनसरीमा हिन्दुमाथि गोली चलाउनेलाई कारबाही गर”, “सुनसरीका सीडीओ राजीनामा दे”, “गृहमन्त्री सुधन गुरुङ मुर्दावाद”, “हिन्दु राष्ट्र कायम गर” लगायतका नाराहरू लगाएका थिए ।

प्रदर्शनमा सहभागी हिन्दुवादी नेतृ रमितामाया गुप्ताले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएयता देशका विभिन्न स्थानमा हिन्दु समुदायमाथि दमन र हिंसाका घटना बढ्दै गएको दाबी गरिन् । सुनसरीको कप्तानगञ्जमा भएको पछिल्लो घटना त्यसैको निरन्तरता भएको उनको भनाइ थियो ।

यस्तै, हिन्दुवादी अगुवा ओमप्रकाश गुप्ताले सुनसरी घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही नभए वीरगंजमा आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए ।

घण्टाघर चोकमा प्रदर्शनकारीहरूले टायर बालेर सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहीबेर प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल तथा सामान्य घम्साघम्सी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

0

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै सोमबार वीरगंजमा प्रदर्शन गरिएको छ ।

पर्साकै ठोरी गाउँपालिका–३ रामनगर माइती भएकी दुई सन्तानकी आमा लक्ष्मी आफ्नै घरछेउको गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । तर उनको मृत्यु आत्महत्या नभई हत्या गरेर शव झुण्ड्याइएको माइती पक्षको आरोप छ ।

मृतकको शव नारायणी अस्पतालमा पोस्टमार्टम गरिएपछि चार दिनदेखि अस्पतालकै शवगृहमा राखिएको छ । पोस्टमार्टम प्रतिवेदन नआएसम्म शव नबुझ्ने अडान माइती पक्षले लिएपछि शव अझै अस्पतालमै रहेको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्दै मृतकका माइती पक्षका महिला, आफन्त तथा स्थानीयहरू सोमबार ठोरीबाट वीरगंज आएका थिए । उनीहरूले नयाँ बसपार्क चोकबाट नाराबाजीसहित घण्टाघरसम्म प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीले लक्ष्मीले आत्महत्या नगरेको दाबी गर्दै उनका पति, सासु र ससुराले कुटपिट गरी हत्या गरेपछि शव गोठमा झुण्ड्याएको आरोप लगाइन् । घटनामा संलग्न सबैलाई कानुनबमोजिम कडा कारबाही गर्न उनले माग गरिन् ।

माइती पक्षले मृतकका पति सुधिर सिलवाल, सासु–ससुरा तथा सुधिरका दिदी र भिनाजुको समेत घटनामा संलग्नता रहेको आरोप लगाएको छ ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा अस्पतालले तयार पारेको पोस्टमार्टम प्रतिवेदनप्रति शंका व्यक्त गर्दै पुनः पोस्टमार्टम गर्न, घटनाको निष्पक्ष अनुसन्धानका लागि छानबिन समिति गठन गर्न, मृतकको मोबाइल र ब्याग सार्वजनिक गर्न तथा घटनामा संलग्न भनिएका सबै व्यक्तिलाई तत्काल पक्राउ गर्न माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाको दिन नै मृतकका पति सुधिर सिलवाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । सासु र ससुरालाई पनि प्रारम्भिक रूपमा नियन्त्रणमा लिइए पनि वृद्ध अवस्थाका कारण आफन्तहरूको सहमतिमा तारिखमा छाडिएको उनले बताए ।

डीएसपी मल्लले अस्पतालबाट पोस्टमार्टम प्रतिवेदन हालसम्म प्रहरीलाई प्राप्त नभएको र प्रतिवेदन आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने बताए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

0

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह हुन नसकेको भन्दै नगरपालिकालाई ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन् ।

यही श्रावण ६ गते चैनपुरमा सम्पन्न सर्वपक्षीय, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको वडा भेलाबाट सर्वसम्मत रूपमा पारित निर्णयअनुसार साेमबार नगर प्रमुख गाेकर्ण पाठकलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, स्वास्थ्य तथा आधारभूत सेवामा पहुँचको अधिकार तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार वडा कार्यालयबाट नागरिकलाई नियमित, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु स्थानीय तहको दायित्व रहेको उल्लेख गरिएको छ ।

तर वडा नं. ६ कार्यालयबाट विगत तीन महिनाभन्दा बढी समयदेखि सामाजिक सुरक्षा भत्ता, जन्म–मृत्यु, विवाह तथा बसाइँसराइ दर्ता, नागरिकता तथा व्यवसाय सिफारिस, विभिन्न प्रमाणपत्रलगायतका अत्यावश्यक प्रशासनिक सेवा नियमित रूपमा सञ्चालन हुन नसक्दा स्थानीयवासी ठूलो सास्ती खेप्न बाध्य भएको ज्ञापनपत्रमा उल्लेख छ । सेवा लिन पटक–पटक कार्यालय धाउनुपरेको, आर्थिक, सामाजिक तथा मानसिक भार बढेको भन्दै नागरिकहरूले गुनासो गरेका छन् ।

ज्ञापनपत्रमार्फत नागरिकहरूले वडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा तत्काल नियमित सञ्चालन गर्न, आवश्यक कर्मचारी तथा प्रशासनिक व्यवस्थापनको व्यवस्था गर्न, सेवा अवरुद्ध हुनुको कारण छानबिन गरी जिम्मेवार पक्षमाथि कानुनबमोजिम कारबाही गर्न, जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय कायम गर्न तथा नागरिक बडापत्रअनुसार समयमै सेवा प्रवाह सुनिश्चित गर्न माग गरेका छन् ।

उनीहरूले ज्ञापनपत्र प्राप्त भएको सात दिनभित्र सेवा नियमित गर्ने निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाउन नगरपालिकासँग माग गरेका छन् । अन्यथा नागरिकको संवैधानिक अधिकारको संरक्षणका लागि सम्बन्धित निकाय तथा अदालतसमक्ष कानुनी प्रक्रिया अपनाउनुका साथै योजनाबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव, प्रमुख प्रशासकीय अधिकृत राजु साह लगायत सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

0

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उपचारका क्रममा बिरामीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।

विज्ञप्तिमा बिरामीको निधनपछि अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयले गम्भीर चासो व्यक्त गर्दै यस्ता हिंसात्मक घटनाप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको पुनः दोहोर्‍याइएको छ ।

मन्त्रालयले उपचारका क्रममा स्वास्थ्यकर्मीबाट कुनै त्रुटि भएको आशंका भए त्यसको छानबिन र न्यायका लागि प्रचलित कानुनबमोजिम व्यवस्था रहेको उल्लेख गर्दै हिंसात्मक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले सेवाग्राही र सेवा प्रदायक दुवैले यसको संवेदनशीलतालाई बुझ्न आवश्यक रहेको मन्त्रालयको भनाइ छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले निर्भय, सुरक्षित र उच्च मनोबलका साथ निरन्तर सेवा दिन सक्ने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सेवा सुचारु गर्न आग्रह गर्दै स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषीको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ । साथै सर्वसाधारणलाई पनि अस्पतालको संवेदनशीलतालाई बुझ्दै स्वास्थ्य सेवा अवरुद्ध नहुने वातावरण बनाउन सहयोग गर्न अपिल गरेको छ ।

मन्त्रालयले सबै पक्षलाई संयमित भई अस्पतालको सेवा नियमित सञ्चालनमा सहयोग गर्न समेत हार्दिक अनुरोध गरेको छ ।

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

0

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा. निरज कुमार सिंहले आफू कुनै पनि छानबिन समितिमा सहभागी नहुने घोषणा गरेका छन् ।

डा. सिंहले आइतबार आफ्नो आधिकारिक फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै शनिबार बसेको कुनै पनि बैठकमा आफू सहभागी नभएको र आफूलाई कुनै जानकारी तथा सहमति नलिई आफ्नो नाम समावेश गरेर छानबिन समिति गठन गरिएको बताएका छन् ।

उनले उक्त विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भाेला दाहाल तथा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन साहलाई समेत जानकारी गराइसकेकाे वताएका छन् । आफ्नो सहमति र सहभागिताविना गठन गरिएको समितिमा आफू नबस्ने निर्णय गरेको उनले स्पष्ट पारेका छन् ।

डा. सिंहले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिनका लागि नेपाल मेडिकल काउन्सिलमार्फत अनुसन्धान गरिनुपर्ने धारणा राखेका छन् । चिकित्सकीय विषय भएकाले सम्बन्धित आधिकारिक निकायबाट अनुसन्धान हुँदा सत्यतथ्य बाहिर आउने विश्वास उनले व्यक्त गरेका छन् ।

उनले छानबिन समितिसँग सम्बन्धित कुनै पनि निर्णयमा आफ्नो हस्ताक्षर नरहेको र आफूले कुनै पनि निर्णयमा हस्ताक्षर नगरेको स्पष्ट पार्दै त्यससम्बन्धी भ्रमपूर्ण सूचना नफैलाउन सबैसँग आग्रह गरेका छन् ।

 शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै एक चिकित्सकमाथि आक्रमण गरेका थिए । उक्त घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दोषीमाथि कानुनी कारबाही, अस्पतालमा सुरक्षा व्यवस्था सुदृढ गर्न तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न माग गर्दै आन्दोलन जारी राखेका छन् ।

डा. सिंहले पनि घटनाको सत्यतथ्य स्थापित हुने गरी निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाअनुसार अनुसन्धान हुनुपर्नेमा जोड दिँदै जुनसुकै आधिकारिक अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

0

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेकी छन् ।

मन्त्री मेहताले घटनापछि अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको कडा निन्दा गर्दै अस्पतालजस्तो संवेदनशील स्थानमा कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने स्पष्ट पारेकी छन् ।

उनले घटना लगत्तै गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीसँग निरन्तर समन्वय गर्दै आवश्यक पहल अघि बढाएको जानकारी दिएकी छन् ।

मन्त्रीका अनुसार घटनामा संलग्न एक जना पक्राउ परिसकेका छन् भने अन्य संलग्न व्यक्तिको खोजी तथा निष्पक्ष अनुसन्धान जारी रहेको छ । दोषी सबैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताइन् ।

घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको स्वास्थ्य अवस्थाबारे आफूले जानकारी लिएको र उहाँको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्री मेहताले उल्लेख गरेकी छन् । डा. रामको उपचारको सम्पूर्ण व्यवस्था नेपाल सरकारले मिलाएको पनि उनले बताइन् ।

घटनाको सत्यतथ्य बुझ्न, अवस्थाको अनुगमन गर्न तथा अस्पतालको सेवा सञ्चालन सहज बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगंज पठाइएको जानकारी पनि उनले दिएकी छन् ।

मन्त्री मेहताले स्वास्थ्यकर्मीहरू बिरामीको जीवन बचाउन दिनरात समर्पित रहने उल्लेख गर्दै उपचार गर्ने हातमाथि हुने आक्रमण स्वास्थ्यकर्मीमाथिको मात्र होइन, सम्पूर्ण स्वास्थ्य प्रणाली र नागरिकको उपचार पाउने अधिकारमाथिको आघात भएको बताइन् ।

उनले स्वास्थ्यकर्मी सुरक्षित भए मात्र नागरिकले सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएकाले सरकारले स्वास्थ्य संस्थामा हुने हिंसाप्रति ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गरेको स्पष्ट पारिन् ।

नारायणी अस्पतालमा स्वास्थ्य सेवा निर्बाध रूपमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको तथा चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राहीले भयमुक्त वातावरणमा सेवा दिन र लिन सक्ने अवस्था सुनिश्चित गर्न मन्त्रालय नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग निरन्तर समन्वयमा रहेको उनले जानकारी दिइन् ।

साथै, स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन, चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यस्थल सुरक्षा सुदृढ गर्न र आवश्यक कानुनी सुधारका लागि मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको मन्त्री मेहताले बताइन् ।

उनले स्वास्थ्य संस्था नागरिकको जीवन बचाउने आशाको केन्द्र भएकाले पीडा, असन्तुष्टि वा आक्रोश व्यक्त गर्ने माध्यम हिंसा हुन नसक्ने उल्लेख गर्दै स्वास्थ्य सेवा सुरक्षित, मर्यादित र भयमुक्त बनाउने अभियानमा मन्त्रालयको प्रतिबद्धता अटल रहेको र सबैलाई संयम, सहयोग तथा सहकार्यका लागि अपिल गरेकी छन् ।

चिकित्सक कुटिएको विरोधमा वीरगंजमा प्रदर्शन, स्वास्थ्यमन्त्रीको राजीनामा माग

0

वीरगंज । नारायणी अस्पताल वीरगंजमा चिकित्सकमाथि भएको आक्रमण र आकस्मिक कक्षमा भएको तोडफोडको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगंजमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले दोषीमाथि कडा कारबाही गर्न तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको राजीनामा माग गरेका हुन् ।

वीरगंजको घण्टाघरमा आयोजित प्रदर्शनमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी भएका थिए । उनीहरूले “डाक्टर पिट्न पाइँदैन”, “दोषीमाथि कारबाही गर”, “स्वास्थ्य मन्त्री राजीनामा दे” लगायतका नारा लगाएका थिए ।

शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगंज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासी अस्पतालको आकस्मिक कक्षमा प्रवेश गरी तोडफोड गरेका थिए । सोही क्रममा ड्युटीमा रहेका मेडिकल अफिसर डा. प्रमोद राममाथि कुटपिट भएको थियो ।

अस्पतालका अनुसार गम्भीर घाइते भएका डा. रामको आईसीयूमा उपचार भइरहेको छ ।

घटनापछि चिकित्सकहरूको छाता संगठनको आह्वानमा आइतबारदेखि नारायणी अस्पतालसहित वीरगंजका सरकारी, सामुदायिक, निजी अस्पताल तथा मेडिकल कलेजका चिकित्सकहरूले आकस्मिक सेवासमेत बहिष्कार गर्दै अधिकांश स्वास्थ्य सेवा स्थगित गरेका छन् । यसका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी तथा सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

यता मृतक राजकुमार पटेलका परिवारजनले भने अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । परिवारका अनुसार अक्सिजनमा रहेका बिरामीलाई उपचारका लागि सार्ने क्रममा अक्सिजन आपूर्ति विच्छेद गरिएकाले उनको मृत्यु भएको हो ।

घटनापछि अस्पताल प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकबाट छानबिन समिति गठन गर्दै आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मीलाई प्रतिवेदन नआएसम्म जिम्मेवारीबाट अलग राख्ने निर्णय गरेको छ । जिम्मेवारीबाट अलग गरिएकामा डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव रहेका छन् ।

छानबिन समितिमा नारायणी अस्पतालका डा. निरजकुमार सिंह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगंज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्त विकास पटेल तथा अस्पतालका प्रतिनिधि सुनिलकुमार रौनियार सदस्य रहेका छन् ।

यसैबीच डा. निरज सिंहले आफू छानबिन समितिमा नरहेको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेख्दै आफुलाई जानकारी नदिईकन छानबिन समितिमा राखिएको वताउदै आफ्नो कहिँ पनि हस्ताक्षर नरहेको वताएका हुन् ।

वीरगंजको होटलबाट लागूऔषधसहित दुई जना पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ स्थित एक होटलबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा आइतबार बिहान करिब ७ः३० बजे प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकस्थित जय नेपाल होटलको कोठा नम्बर ११८ मा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा NITCOR-10 लेखिएको २० पत्तामा रहेका २०० वटा ट्याब्लेट तथा ONEREX लेखिएको १०० मिलिलिटरका दुई बोतल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा चितवनको रत्ननगर नगरपालिका–६ निवासी ५२ वर्षीय उत्तमकुमार पाठक र पर्साको वीरगंज महानगरपालिका–२ निवासी ३५ वर्षीय ओसिम ठकुराईलाई नियन्त्रणमा लिइएको छ ।

बरामद लागूऔषधसहित दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।