Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 65

नारायणी अस्पतालमा बिरामीको मृत्युपछि आकस्मिक कक्षमा तोडफोड, तनावग्रस्त अवस्था

0

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका छन् ।

वीरगंज महानगरपालिका–२५ का ४५ वर्षीय राजकुमार पटेलको शनिबार उपचारकै क्रममा मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयले बिहान करिब ११ बजे आकस्मिक कक्षमा प्रवेश गरी होहल्ला गर्दै तोडफोड गरेका हुन् ।

मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण राजकुमार पटेलको मृत्यु भएको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा आकस्मिक कक्षमा तोडफोड हुनुका साथै एक जना घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटनापछि अस्पताल परिसर केहीबेर तनावग्रस्त बनेको थियो । शान्ति सुरक्षाका लागि अस्पताल परिसरमा बाक्लाे संख्यामा प्रहरी परिचालन गरिएको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख विक्रम सुवेदीका अनुसार उपचारका लागि अस्पताल ल्याइएका पटेलको मृत्यु के कारणले भयो भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बोरिङ–मोटर जडान कार्यको भुक्तानीमा ७ लाख ५० हजार घुस लिने डिभिजन प्रमुखसहित दुई पक्राउ

0

वीरगंज । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् ।

अख्तियारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बोरिङ र मोटर जडानको कार्य सम्पन्न भएपछि भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले दुवै कर्मचारीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

उनीहरूलाई जिल्ला सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको सरकारी क्वार्टरबाट नियन्त्रणमा लिइएको हो । पक्राउका क्रममा घुस रकमसँगै स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइलसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

 घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

पर्सागढीमा रास्वपाद्वारा रक्तदान, सांसद कानुसहित ६० जनाले गरे रक्तदान

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर समिति, पर्साको आयोजनामा शनिबार पर्सागढी नगरपालिका–३ बढनियारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानुले रक्तदान गरेर गरेका थिए । रक्तसञ्चार केन्द्र वीरगंजका अनुसार कार्यक्रममा ३ महिलासहित ६० जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरूमा सांसद सुशील साह कानुसहित रास्वपा नेता सुधिर पटेल, मुस्कान दाहाल, होमप्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्कबहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर, करण आचार्यलगायत सहभागी रहेका थिए ।

कार्यक्रममा रास्वपा नेता सुधिर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगंज नगर सभापति दीपराज पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमको उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता, स्थानीय बुद्धिजीवी तथा रास्वपा पर्सागढी नगर समितिका पदाधिकारी र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ पाण्डेको नेतृत्वमा रहेको प्राविधिक टोलीको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।

कावासोतीमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतना प्रशिक्षण, प्रहरी–जनता साझेदारीमा जोड

2

कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा कावासोती नगरपालिका–३ स्थित वडा कार्यालयको सभाहलमा चोरी नियन्त्रण तथा सुरक्षा सचेतनासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको कार्यक्रममा प्रहरी निरीक्षक मुरारी प्रसाद गुप्ताले चोरी नियन्त्रणका लागि अपनाउनुपर्ने प्रभावकारी उपाय, आवश्यक सुरक्षा सतर्कता तथा समुदायको भूमिकाबारे जानकारी दिएका थिए ।

प्रशिक्षणका क्रममा प्रहरी निरीक्षक गुप्ताले चोरीका घटना न्यूनीकरण गर्न प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै प्रहरी–जनता साझेदारी (Police–Public Partnership) लाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । समुदायको सक्रिय सहभागिता, समयमै सूचना आदान–प्रदान तथा पारस्परिक सहकार्यबाट चोरी नियन्त्रणलाई थप प्रभावकारी बनाउन सकिने उनले बताए ।

उनले शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन, घर तथा व्यवसायिक प्रतिष्ठानको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन र स्थानीय स्तरमा सुरक्षा सचेतना बढाउन सहभागीहरूलाई आग्रह गरेका थिए ।

समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्दै प्रहरी र नागरिकबीचको विश्वास तथा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ उक्त प्रशिक्षण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कादम्बरी स्कुलकाे लापरवाहीले छाेरा घाइते भएकाे भन्दै अभिभावकको उजुरी

0

वीरगंज । कादम्बरी एकेडेमी, वीरगंजमा अध्ययनरत एक विद्यार्थी विद्यालय समयमै घाइते भएको घटनालाई लिएर उनका अभिभावकले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।

वीरगंज १० निवासी सोनालाल प्रसाद मलाह (साहनी) ले आफ्ना छोरा आलोक कुमार साहनीको सुरक्षामा विद्यालय व्यवस्थापनले लापरवाही गरेको आरोप लगाउँदै इमेलमार्फत प्रहरीको अपराध अनुसन्धान शाखामा निवेदन दर्ता गराएका हुन् ।

उजुरीअनुसार कक्षा ५ मा अध्ययनरत आलोक कुमार साहनी शुक्रबार विद्यालयको जिम्मेवारीमा रहेको समयमा आँखामा गम्भीर चोट लागेर घाइते भएका थिए । घटनाका कारण उनको दृष्टिसमेत जोखिममा पर्ने अवस्था सिर्जना भएको अभिभावकले दाबी गरेका छन् ।

निवेदनमा विद्यालयले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न आवश्यक सावधानी अपनाउन नसकेको उल्लेख गरिएको छ । साथै, घटनापछि विद्यालयका निर्देशक दीपक तुल्स्यानसँग गम्भीर चासो व्यक्त गर्दा विद्यालयले कुनै पनि घटनाको जिम्मेवारी नलिने र बच्चाको सुरक्षाप्रति चिन्ता भए अर्को विद्यालयमा सार्न सकिने प्रतिक्रिया दिएको आरोप पनि लगाइएको छ ।

घटनाका कारण बालकले गम्भीर शारीरिक चोट व्यहोरेको र त्यसको पुष्टि हुने तस्बिरसमेत उजुरीसँग संलग्न गरिएको अभिभावकले उल्लेख गरेका छन् ।

अभिभावक सहनीले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न प्रहरीसँग माग गरेका छन् ।

उक्त निवेदनको बोधार्थ वीरगंज महानगरपालिकाको शिक्षा महाशाखा तथा कादम्बरी एकेडेमीका प्रधानाध्यापकलाई समेत पठाइएको छ ।

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, स्थानीयले घेरा हाली आरोपितलाई नियन्त्रणमा लिए

0

वीरगंज । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार धारिलो हतियार (खुकुरी) प्रहारबाट एक महिलाको हत्या भएको छ ।

मृतक स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४५ वर्षीया रेनु देवी जयसवाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बारा जिल्लाको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल घर भई हाल सोही टोलमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवारले रेनु देवीमाथि खुकुरी प्रहार गरेका थिए । धारिलो हतियारको गम्भीर चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले आरोपित उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उनको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा कडा सुरक्षा व्यवस्थाका बीच उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी टोली परिचालन गरी मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

घटनाको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी अधिकारीहरूले बताएका छन् ।

किसानको जिवनसंग खेलवाड गर्ने कृषि मन्त्रीले राजिनामा दिनुपर्छ : प्रभु साह

0

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य उपलब्ध गराउन नसक्ने कृषि मन्त्री गिता चौधरीको राजीनामा माग गरेका छन् ।

आम किसान मोर्चाद्वारा आज (शुक्रबार) बाराको कलैयामा आयोजित `मलखाद्यको हाहाकार : आपूर्तिमा असफल सरका´ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि मन्त्री चौधरीको राजिनामा माग गरेका हुन ।

`यो सरकार किसान मारा सरकार जस्तो भयो । कृषिप्रधान देशको मुख्यवाली धान रोपाईको समयमा अहिले किसानले मलखाद्य पाउन सकिरहेका छैनन् । किसानलाई मलखाद्य दिन नसक्ने मन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन । किसानलाई मलखाद्य दिन नसकने असफल कृषि मन्त्रीले तुरुन्त राजिनामा दिनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।

दुई तिहाईको शक्तिशाली सरकार भएपनी किसानले सरकार भएको अनुभुती गर्न नसकेको गुनासो सभागिहरुले गरेपछि आजपा अध्यक्ष साहले यो सरकारलाई असफल हुने छुट नभएको बताउदै किसानका समस्या समाधान गर्नुपर्ने बताए ।

नेपालमा सरकारले किसानलाई मलखाद्य उपलब्ध गराउन नसकेको, किसानका समस्या समाधान गर्न नसकेको बताउदै भारतबाट मलखाद्य ल्याउदा किसानलाई दु:ख दिने काम आफूलाई स्वीकार्य नभएको बताए ।

तराई-मधेसका साथै देशैभरीका किसान अहिले पीडामा रहेपनी प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले किसानलाई केहिपनी नदिने तर छिमेकबाट किसानले मल ल्याउदा खोस्ने अधिकार कसले दियो भन्दै उनले प्रश्न गरे ।

चुनावका बेला ठुलो कुरा गर्ने तर कुर्सीमा पुगेपछि युवा, बिद्यार्थी, किसान लगायतका समस्या समाधान गर्नुको साटो सरकार रमिते बनेको टिप्पणी आजपा अध्यक्ष साहले गरे ।

आम किसान मोर्चा बाराका अध्यक्ष मदन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपा नेता अशोक लामा, संविधान सभाका सदस्य एंव आजपा नेता आत्माराम साह, सुभाष साह, उमेश कुशवाहा, बिजय यादव, विश्वराज पटेल, राजकिशोर साह लगायतका नेताहरूको बिशेष सहभागिता थियो ।

तीन महिनादेखि बन्द पर्सागढी–६ को वडा सेवा सञ्चालन गराउन आन्दोलनको तयारी

0

वीरगंज । पर्सागढी नगरपालिका–६ को वडा कार्यालयबाट प्रवाह हुने सेवा तथा सिफारिसका काम विगत करिब तीन महिनादेखि बन्द भएपछि स्थानीयवासीले समस्या समाधानका लागि सक्रिय पहल थालेका छन् ।

बिहीबार वडा सम्बन्धी समस्या समाधानका लागि पूर्व वडा सदस्य तथा समाजसेवी अर्जुन प्रसाद गिरीको अध्यक्षतामा स्थानीय राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी तथा नागरिक समाजका प्रतिनिधिहरूको बैठक बसेर विभिन्न निर्णय गरेका हुन् ।

बैठकले वडा कार्यालयबाट उपलब्ध हुने सेवा–सुविधा र सिफारिसलगायतका सम्पूर्ण कार्य बन्द हुँदा स्थानीय जनताले सास्ती खेप्नुपरेको तथा वडा तहबाट प्रदान गरिने आधारभूत सेवा प्रभावित भएको निष्कर्ष निकालेको छ ।

बैठकमा भएको छलफलअनुसार वडा कार्यालयको सेवा अवरुद्ध हुनुको मुख्य कारण वडा अध्यक्ष नवलकिशोर प्रसाद कलवार र पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकबीचको आन्तरिक विवाद रहेको उल्लेख गरिएको छ । उक्त विवादका कारण वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द हुँदा सर्वसाधारण प्रत्यक्ष रूपमा मर्कामा परेको बैठकको निष्कर्ष छ ।

समस्या समाधानका लागि बैठकले आगामी साउन ११ गते सोमबार पर्सागढी नगरपालिकामा डेलिगेसन जाने निर्णय गरेको छ । त्यस दिन बिहान ११ बजे वडा नं. ६ का समाजसेवी, बुद्धिजीवी तथा नागरिकहरू नगरपालिकाको कार्यालयमा भेला भएर नगर प्रमुखसँग छलफल गर्ने तथा वडा कार्यालयको सेवा तत्काल सुचारु गराउन माग गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, वडा कार्यालयको सेवा सञ्चालन गराउन आवश्यक पहल, प्रयास र दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले अर्को निर्णय गर्दै वडा सम्बन्धी समस्या समाधानका लागि स्थानीय तह, जिल्ला प्रशासन कार्यालय पर्सा तथा सम्बन्धित मन्त्रालयमा निवेदन दिने, आवश्यक समन्वय र सहकार्य गर्ने तथा यथाशीघ्र सेवा प्रवाह सुचारु गराउन पहल गर्ने सर्वसम्मत निर्णय गरेको जनाएको छ ।

नेकपाको केन्द्रीय सदस्यमा पर्साका नेता साह, कुशवाहा र भट्टराई मनोनित

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा पर्साबाट थप तीन जना मनोनित भएका छन् ।

पार्टीले पर्साका बलिराम साह, रामदरश कुशवाहा र हिरा भट्टराईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनीहरू तीनै जना तत्कालीन नेकपा (माओवादी केन्द्र) का पुराना नेता हुन् ।

नवनियुक्त केन्द्रीय सदस्यहरूले बुधबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेश स्तरिय पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यक्रममा पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

पार्टीले केन्द्रीय समितिलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न जिल्लाबाट नयाँ सदस्यहरू मनोनित गर्ने क्रममा पर्साबाट पनि तीन जनालाई केन्द्रीय जिम्मेवारी दिएको जनाएको छ ।

‘माई टिभी’ लाई प्रहरीको पत्रप्रति पत्रकार महासंघकाे आपत्ति, प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगर्न चेतावनी

0

वीरगंज । नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्साले वीरगंजबाट प्रसारण हुने ‘माई टिभी’ लाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका सचिव विजय चौहानद्वारा जारी प्रेस विज्ञप्तिमा वीरगंज महानगरपालिका वडा नं. ३१ को सिफारिसका आधारमा एक महिलाको नागरिकताबाट पतिको नाम हटाइएको विषयमा प्रसारित समाचारलाई लिएर वडा अध्यक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएपछि प्रहरीले ‘माई टिभी’ लाई प्रसारित सामग्रीबारे तथ्य पेश गर्न पत्र पठाएको उल्लेख गरिएको छ ।

महासंघले कुनै समाचारप्रति असहमति वा गुनासो भएमा सम्बन्धित सञ्चारमाध्यममा खण्डन, स्पष्टीकरण वा प्रतिक्रिया पठाउने तथा त्यसबाट पनि चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिएर कानुनी उपचार खोज्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ ।

विज्ञप्तिमा सञ्चारसम्बन्धी विवादमा कानुनले तोकेको प्रक्रिया र अधिकारप्राप्त निकायलाई बेवास्ता गर्दै स्थानीय प्रशासनमार्फत उजुरी गरिनु र सोही आधारमा प्रहरीले सञ्चारमाध्यमलाई पत्र काट्नु विधिसम्मत अभ्याससँग मेल नखाने उल्लेख गरिएको छ । यस्तो कार्यले सञ्चारमाध्यममाथि अनावश्यक दबाब सिर्जना गर्ने, स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने तथा प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गर्ने मनसाय देखिएको महासंघको ठहर छ ।

महासंघले समाचारप्रति असहमति राख्ने सबै पक्षलाई कानुनले निर्दिष्ट गरेको प्रक्रिया र अधिकारप्राप्त निकायमार्फत मात्रै कानुनी उपचार खोज्न आग्रह गर्दै संविधान, प्रचलित कानुन तथा लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

साथै, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने यस्ता गतिविधि निरन्तर दोहोरिए नेपाल पत्रकार महासंघ पर्सा स्वतन्त्र प्रेसको रक्षा, पत्रकारको पेशागत अधिकारको संरक्षण तथा संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि संघर्षमा उत्रिन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिएको छ ।