Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 62

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

0

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले सरकार जनताका आधारभूत समस्याप्रति संवेदनशील बन्न नसकेको भन्दै समयमै सचेत हुनुपर्ने बताएका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिकाद्वारा ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत आयोजित वृक्षारोपण कार्यक्रमकाे उद्घाटन गर्दै पूर्वमन्त्री रिजालले सीमावर्ती क्षेत्रका स्थानीयले दैनिक विभिन्न समस्या झेलिरहेको र किसानहरू रासायनिक मलको अभावबाट पीडित भइरहेका बेला सरकार भने बहुमतको दम्भमा रमाइरहेको टिप्पणी गरे ।

उनले सरकारको वर्तमान कार्यशैलीले देशलाई गलत दिशातर्फ धकेलिरहेको दाबी गर्दै अराजकता र अहंकार नत्यागे मुलुक दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए ।

रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै स्पष्ट एजेन्डा र कार्यक्रमबिनै सरकारमा सहभागी भएकाले वर्तमान सरकारबाट देशले अपेक्षित परिणाम पाउन नसक्ने दाबी गरे । “घण्टीको सरकारका कारण अबका दिन अझ चुनौतीपूर्ण हुन सक्छन् । त्यसैले सम्पूर्ण नेपाली नागरिक सचेत भएर अगाडि बढ्न आवश्यक छ,” उनले भने ।

पूर्वमन्त्री रिजालले विगतमा नेपाली कांग्रेसबाट पनि केही कमजोरी भएको स्वीकार गर्दै ती त्रुटिहरूलाई सच्याउँदै जनताको विश्वास जित्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

“विगतमा हामीबाट पनि केही कमी–कमजोरी भएका हुन सक्छन् । अब ती कमजोरी सच्याएर जनताको पक्षमा काम गर्दै अगाडि बढ्नुपर्छ,” उनले भने ।

जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेकपा (एमाले)का नेता वीरेन्द्र यादव, गाउँपालिकाकी उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी तथा वडाध्यक्षहरू नेपाली कुशवाहा, सुभाष यादव, अयोध्या पटेललगायतको उपस्थिति रहेको थियो ।

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

0

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले आजैदेखि आन्दोलन स्थगित गरी स्वास्थ्य सेवा नियमित सञ्चालन गर्ने छ ।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच बसेको बैठकले पाँचबुँदे निर्णय गरेको हो ।

सहमतिअनुसार नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न व्यक्तिहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम थप कानुनी कारबाही अघि बढाइने भएको छ ।

यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उक्त ऐनका दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ संशोधनका लागि आगामी प्रतिनिधिसभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ । यस कार्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ ।

बैठकले उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत स्वास्थ्यसम्बन्धी विषयमा आवश्यक संशोधनका लागि नेपाल चिकित्सक संघको सहभागितामा सात दिनभित्र कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ । कार्यदलको प्रतिवेदनका आधारमा आवश्यक कानुनी संशोधन अघि बढाइने जनाइएको छ ।

यसअघि सरकार र नेपाल चिकित्सक संघबीच भएका विभिन्न सम्झौताहरू कार्यान्वयन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, कानुन मन्त्रालय तथा चिकित्सक संघको सहभागितामा तीन दिनभित्र अर्को कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली तथा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल, महासचिव डा. विश्वराज दवाडी र सह–कोषाध्यक्ष डा. तेजसु सिंह मल्ल सहभागी थिए ।

सहमतिसँगै नेपाल चिकित्सक संघले जारी आन्दोलन बुधबारदेखि नै स्थगित गर्दै देशभरका स्वास्थ्य संस्थामा सेवा सुचारु गर्ने छ ।

जिराभवानीमा मल वितरणमा अनियमितताको आरोप, रास्वपाद्वारा गाउँपालिकाको ध्यानाकर्षण

0

सेढवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिराभवानी गाउँपालिका समिति, पर्साले जिराभवानी गाउँपालिकामा रासायनिक मल वितरण प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

बुधबार गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी र प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीमार्फत बुझाइएको ध्यानाकर्षण पत्रमा लामो समयदेखि किसानहरूले रासायनिक मलको अभाव झेल्दै आएको तथा वितरण प्रक्रियामा पारदर्शिताको कमीका कारण वास्तविक कृषकहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गरिएको छ ।

रास्वपाले सार्वजनिक सूचना समयमै जारी नगरिएको, सीमित व्यक्तिलाई मात्र जानकारी गराएर मल वितरण गरिएको तथा वितरण प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएको छ । केही स्थानमा जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूको प्रभावमा आफ्ना निकटका व्यक्तिहरूलाई आवश्यकताभन्दा बढी मल उपलब्ध गराइएको र वास्तविक किसान भने मलबाट वञ्चित भएको गुनासो आएको पार्टीले जनाएको छ ।

यस्ता गतिविधिले कृषि क्षेत्रको विकास, सुशासन र सार्वजनिक विश्वासमाथि नै प्रश्न उठाएको रास्वपाको भनाइ छ ।

रास्वपा जिराभवानी गाउँपालिका समितिका सभापति रामाकान्त प्रसाद चौधरीद्वारा बुझाइएकाे ध्यानाकर्षण पत्रमार्फत आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण तथा रातो किताब सार्वजनिक गर्न, चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा विनियोजित कार्यक्रम गाउँपालिकाको वेबसाइटमार्फत सार्वजनिक गर्न पनि माग गरिएकाे छ ।

यस्तै, मल वितरण प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउन, वितरणको मिति, स्थान र परिमाण समयमै सार्वजनिक गर्न तथा वितरणमा देखिएको भनिएको अनियमिततामाथि निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।

रास्वपाले किसानलाई सहज रूपमा रासायनिक मल, सिँचाइ तथा आवश्यक कृषि सेवा उपलब्ध गराउन आग्रह गर्दै कृषि उत्पादनको मुख्य समयमा मलको अभावले कृषि उत्पादन, खाद्य सुरक्षा र स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्ने भएकाले यस विषयलाई उच्च प्राथमिकताका साथ समाधान गर्न गाउँपालिकासँग अनुरोध गरेको छ ।

साथै, ध्यानाकर्षण पत्र प्राप्त भएको मितिले १५ दिनभित्र आवश्यक कदम तथा भएको प्रगतिबारे लिखित जानकारी उपलब्ध गराउन पनि रास्वपाले माग गरेको छ ।

जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान जारी, थप ७ बिघा ऐलानी पर्तीमा बिरुवा रोपियो

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गामा वृक्षारोपण अभियानलाई निरन्तरता दिएको छ । वन तथा वातावरण संरक्षणमा उत्कृष्ट काम गर्दै मधेश प्रदेशबाट संघीय सरकारको सम्मानसमेत प्राप्त गरिसकेको गाउँपालिकाले ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत थप क्षेत्रमा वृक्षारोपण गरेको हो ।

यसैक्रममा बुधबार गाउँपालिका वडा नम्बर ६ औराहास्थित ७ बिघा सार्वजनिक ऐलानी पर्ती जग्गामा एक हजार ५ सय बिरुवा रोपिएको छ । गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवका अनुसार ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत उक्त क्षेत्रमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहबनी, अम्बा, टीक र सिसौलगायतका विभिन्न प्रजातिका बिरुवा रोपिएको हो । वृक्षारोपण गरिएको क्षेत्रलाई तारबार गरी संरक्षणको व्यवस्था समेत गरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आयोजित बृक्षाराेपण कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेकपा (एमाले)का नेता वीरेन्द्र यादव, गाउँपालिकाकी उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी तथा वडाध्यक्षहरू नेपाली कुशवाहा, सुभाष यादव, अयोध्या पटेललगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिका अध्यक्ष यादवका अनुसार यसअघि पनि ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत वडा नम्बर ४ को सोहपुर–सोहरीस्थित ६ बिघा, वडा नम्बर १ को पिडारी गुठ्ठीस्थित ७ बिघा तथा वडा नम्बर २ को दसौतास्थित १२ र १५ बिघा ऐलानी जग्गामा वृक्षारोपण सम्पन्न भइसकेको छ ।

उनले अब वडा नम्बर २ कै लक्ष्मीपुरस्थित २० बिघा ऐलानी जग्गामा पनि एक साताभित्र वृक्षारोपण गरिने तयारी भइरहेको जानकारी दिए ।

अध्यक्ष यादवले ऐलानी तथा सार्वजनिक जग्गामा वृक्षारोपण गर्दा ती जग्गाको संरक्षण हुनुका साथै हरियाली प्रवर्द्धन, वातावरण संरक्षण र दीर्घकालीन रूपमा स्थानीय समृद्धिमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष चतुर्वेदीको पक्राउको विरोधमा वीरगंजका ३२ वटै वडा कार्यालय बन्द

0

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीको पक्राउको विरोधमा महानगरपालिकाका ३२ वटै वडा कार्यालयका नियमित सेवा अनिश्चितकालका लागि बन्द गरिएका छन् । महानगरका सबै वडाध्यक्षहरूले सामूहिक निर्णय गर्दै साउन १३ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू स्थगित गर्ने घोषणा गरेका हुन् ।

गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगंज–२५ निवासी राजकुमार कुर्मीको निधन भएपछि चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवार र आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए । सोही घटनाको न्यायोचित समाधानका लागि पीडित परिवार र प्रशासनबीच समन्वय गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले व्यक्त गरेको धारणा र भूमिकालाई आधार बनाएर स्थानीय प्रहरीले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरेको जनाइएको छ ।

नगरवासीको हकहितका लागि आवाज उठाउने जनप्रतिनिधिमाथि प्रहरीले धरपकड गरेको भन्दै महानगरका सम्पूर्ण वडाध्यक्षहरूले उक्त कदमको कडा विरोध गरेका छन् । यसअघि साउन १२ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनसँग माग गरेका थिए ।

तर, जनप्रतिनिधिहरूको सामूहिक आग्रहलाई बेवास्ता गर्दै वडाध्यक्ष चतुर्वेदीलाई हालसम्म रिहा नगरिएकाले बाध्य भएर वडा कार्यालयका सेवा बन्द गर्नुपरेको वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल ससम्मान रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी पनि दिइएको छ । साथै, आन्दोलनका कारण उत्पन्न हुने कुनै पनि असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै लिनुपर्ने वडाध्यक्षहरूको भनाइ छ ।

वडा कार्यालयहरू बन्द भएपछि वीरगंज महानगरका ३२ वटै वडाबाट प्रवाह हुने सिफारिस, दर्ता, प्रमाणपत्रलगायतका दैनिक प्रशासनिक सेवाहरू प्रभावित भएका छन् । यद्यपि, अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालन हुने जनाइएको छ ।

पर्साका एसपी सुदीपराज पाठक हेडक्वार्टर तानिए, पवन भट्टराईलाई पठाइयो

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकको सरुवा गरिएको छ । वीरगंजस्थित नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न विवादका बीच प्रहरी प्रधान कार्यालयले उनलाई प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) मा सरुवा गरेको हो।

उनको स्थानमा हाल काठमाडौं प्रहरी परिसरका प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईलाई पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयले अस्पतालमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका चिकित्सकमाथि कुटपिट गरेका थिए । उक्त घटनाको विरोधमा वीरगंजका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरू गत आइतबारदेखि उपचार सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् ।

यही विषयमा गत सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा एसपी पाठकले आन्दोलनरत चिकित्सकहरूसँग दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो व्यापक रूपमा भाइरल बनेको थियो । उक्त घटनापछि उनको भूमिकामाथि प्रश्न उठ्दै आएको थियो ।

करिब १० महिनादेखि जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हालिरहेका एसपी पाठक गत असोजको पहिलो साता पर्सामा सरुवा भएर आएका थिए । अहिले उनको काज सरुवासँगै एसपी पवन भट्टराईले पर्सा प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन् ।

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

0

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People in Need, Accountability Lab Nepal, National Campaign for Education Nepal (NCE Nepal) र दिव्य विकास स्रोत केन्द्र, पर्साको संयुक्त साझेदारीमा सञ्चालित ‘पहुँच परियोजना’ अन्तर्गत बैठक सम्पन्न भएकाे हाे ।

बैठकका प्रमुख अतिथि पटेर्वा सुगाैली गाउँपालिकाका अध्यक्ष दिनेश कुमार चौधरीले समावेशी तथा गुणस्तरीय शिक्षा स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै शिक्षा क्षेत्रको दिगो सुधारका लागि विकास साझेदार, नागरिक समाज र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन गाउँपालिका प्रतिबद्ध रहेको वताए ।

पटेर्वा सुगाैली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले प्रत्येक बालबालिकाले समान अवसरसहित गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण निर्माणका लागि स्थानीय तह, विद्यालय र समुदायबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

बैठकमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरू, Accountability Lab Nepal, नेपाल अपाङ्ग महिला संघका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन, विद्यालय शासन सुधार, समुदायको सहभागिता अभिवृद्धि, बालबालिकाको सिकाइ उपलब्धि वृद्धि, उत्तरदायी शिक्षा प्रणाली निर्माण तथा स्थानीय सरकारको नेतृत्वमा शिक्षा क्षेत्रमा प्रभावकारी सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल भएको थियो ।

सहभागीहरूले स्थानीय तहमा शिक्षा क्षेत्रको योजना, कार्यान्वयन तथा अनुगमनलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा महत्वपूर्ण सुझावसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीले गरेका थिए । उनले ‘पहुँच परियोजना’ले स्थानीय सरकार, विद्यालय, अभिभावक तथा नागरिक समाजबीचको साझेदारी सुदृढ गर्दै सबै बालबालिकाका लागि समावेशी, समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

कार्यक्रम सञ्चालन दिव्य विकास स्रोत केन्द्र, पर्साका सहायक कार्यक्रम अधिकृत नवलकिशोर साह रौनियारले गरेका थिए ।

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

0

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

यसैबिच वडाध्यक्ष चतुर्वेदीलाई पक्राउ गरेको विरोधमा महानगरका सम्पूर्ण वडा अध्यक्षहरू एकताबद्ध भएका छन् । उनीहरूले पक्राउ परेका वडा अध्यक्षलाई तत्काल थुनामुक्त गर्न माग गर्दै रिहा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

मंगलबार वडाध्यक्षहरुद्वारा जारि संयुक्त वक्तव्यमा वडा अध्यक्षहरूले जननिर्वाचित प्रतिनिधिमाथि गरिएको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै नगरबासीको हकहित संरक्षणका लागि आफ्नो दायित्व निर्वाह गर्ने क्रममा व्यक्त गरिएको धारणालाई आधार बनाएर गरिएको धरपकडको कडा भर्त्सना गरेका छन् ।

वक्तव्यअनुसार साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगंज महानगरपालिका–२४ का राजकुमार कुर्मीको निधन भएपछि उत्पन्न परिस्थितिमा पीडित परिवारको गुनासो र चिकित्सकमाथि भएको भनिएको दुर्व्यवहारको न्यायोचित समाधानका लागि वडा अध्यक्षहरू स्थानीय प्रशासनसँग समन्वय गरिरहेका थिए । सोही क्रममा वडा अध्यक्ष चतुर्वेदीलाई महानगरपालिका कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

वडा अध्यक्षहरूले उक्त पक्राउलाई जनप्रतिनिधिको भूमिकामाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् । साथै, माग सम्बोधन नभए साउन १३ गतेदेखि क्रमबद्ध आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

वक्तव्यमा स्थानीय प्रशासनलाई परिस्थिति थप जटिल बन्न नदिन पक्राउ परेका वडा अध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गरी संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिएको छ ।

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

0

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप देशभरका सरकारी अस्पतालमा अत्यावश्यकबाहेकका स्वास्थ्य सेवा प्रभावित भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

आजपा पर्साका जिल्ला इन्चार्ज रञ्जु कुमारी साहले सोमबार जारी गरेको विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सकमाथि भएको कुटपिट र त्यसको विरोधमा उत्रिएका चिकित्सकमाथि प्रहरी प्रशासनले गरेको दुव्र्यवहारको निन्दा गर्दै घटनापछि नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएको उल्लेख गरेकी छन्। यसका कारण काठमाडौंका वीर अस्पताल, कान्ति बाल अस्पताललगायत देशभरका सरकारी अस्पतालमा ओपिडीलगायत अत्यावश्यकबाहेकका स्वास्थ्य सेवा प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको विवादपछि सुरक्षा निकायले गरेको गोली प्रहारको घटनाबाट सुनसरी र मोरङ क्षेत्रमा तनाव कायम रहेकै बेला पर्सामा चिकित्सकमाथि भएको आक्रमणले अवस्था थप गम्भीर बनेको उल्लेख गरिएको छ।

इन्चार्ज साहले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको वार्ताकै क्रममा पर्साका प्रहरी उपरीक्षकबाट आन्दोलनरत चिकित्सकमाथि धक्कामुक्का तथा दुव्र्यवहार भएको आरोप लगाउँदै यस घटनापछि चिकित्सकहरू सामूहिक राजीनामा दिन बाध्य भएको दाबी गरेकी छन्। उनले सरकार र सुरक्षा निकायका पदाधिकारीलाई आम नागरिक तथा पेशाकर्मीप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेकी छन्।

विज्ञप्तिमा पछिल्ला श्रृंखलाबद्ध घटनाले सरकार र सुरक्षा निकाय आम नागरिक तथा पेशाकर्मीप्रति असहिष्णु र आक्रामक बन्दै गएको टिप्पणी गर्दै सुनसरी र पर्सामा भएका घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिएको छ।

आजपाले घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कडा कारबाही गर्न, आम नागरिकको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षाको सुनिश्चितता गर्न तथा प्रभावित स्वास्थ्य सेवा तत्काल सुचारु गर्न सरकारसँग जोडदार माग गरेको छ।

एसपीसँगको विवादपछि नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

0

वीरगंज । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका बीच आन्दोलनरत वीरगंजस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । चिकित्सकहरूले अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा वार्ताका क्रममा भएको भनिएको दुर्व्यवहारप्रति असन्तुष्टि जनाउँदै राजीनामा बुझाएका हुन् ।

अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ७० भन्दा बढी चिकित्सकमध्ये ६५ जनाले सामूहिक रूपमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चित्तरञ्जन साहलाई राजीनामा बुझाएका छन् । सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म चिकित्सकहरूले क्रमिक रूपमा राजीनामा दर्ता गराएका हुन् ।

चिकित्सकहरूको आरोपअनुसार सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भाेला दाहालको उपस्थितिमा भएको वार्ताका क्रममा पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकहरूमाथि धक्कामुक्का गर्दै दुर्व्यवहार गरेका थिए । उक्त घटनापछि चिकित्सकहरू थप आक्रोशित बनेर सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन् ।

गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । सोही क्रममा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट भएको थियो । उक्त घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

सोमबार साँझ जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । त्यसपछि वार्ता तनावग्रस्त बनेको थियो ।

चिकित्सकहरूको भनाइअनुसार वार्ता छाडेर बाहिरिने क्रममा प्रहरी र चिकित्सकबीच धकेलाधकेल भएको थियो । चिकित्सकहरूले एसपीले जबर्जस्ती प्रजिअको कार्यकक्षतर्फ लैजान खोजेको आरोप लगाएका छन् । त्यसपछि वार्ता निष्कर्षविहीन बनेर चिकित्सकहरू जिल्ला प्रशासन कार्यालयबाट बाहिरिएका थिए ।

चिकित्सकहरूको सामूहिक राजीनामासँगै नारायणी अस्पतालको सेवा सञ्चालन थप प्रभावित हुने देखिएको छ भने आन्दोलनको निकासका लागि सरोकारवालाबीच पुनः संवादको आवश्यकता देखिएको छ ।