Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026
Home Blog Page 61

मधेशको तनावबीच पर्सामा सर्वदलीय बैठक बस्दै, ३ सांसद सहित विभिन्न दलका प्रतिनिधि सहभागि

0

वीरगंज । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार सर्वदलीय बैठक सुरु भएको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको आह्वानमा बसेको बैठकमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) हरि पन्त, क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु, क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया, वीरगंज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

बैठकमा पछिल्ला घटनाक्रमका कारण पर्सामा उत्पन्न हुन सक्ने सुरक्षा चुनौती, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा सम्भावित अप्रिय घटनाबाट जोगिन अपनाउनुपर्ने रणनीतिबारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुनसरीपछि सिराहामा पनि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने धनुषाको जनकपुरधाममा तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । यसैबीच पर्साको सदरमुकाम वीरगंजमा पनि बिहीबार साँझ ५ बजेदेखि लागू गरिएको निषेधाज्ञा शुक्रबार बिहान ६ बजे हटाइएको भए पनि सुरक्षा सतर्कता भने कायमै राखिएको छ ।

प्रशासनले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न तथा शान्ति र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

0

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् ।

नारायणी अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि अस्पतालको आकस्मिक कक्षमा तोडफोड तथा एक चिकित्सकमाथि कुटपिट भएको घटनासम्बन्धी आरोपमा प्रहरीले चतुर्वेदीलाई गत मंगलबार पक्राउ गरेको थियो ।

चतुर्वेदीको पक्राउको विरोधमा स्थानीयवासीले विभिन्न चरणमा प्रदर्शन गरेका थिए । साथै, वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरूले विरोधस्वरूप वडा कार्यालयहरूको सेवा तथा कामकाजसमेत ठप्प पारेका थिए ।

डाक्टरमाथी कुटपिट गर्नेमाथी कारवाहीको माग गर्दै चिकित्सक संघको आव्हानमा देशभरी  चिकित्सकहरु पनि आन्दोलित भएका थिए । सरकार र चिकित्सक संंघबिच बुधबार पाँच बुन्दे सहमति भएपछि उनिहरु बिहिबारदेखी काममा फर्किएका थिए ।

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

0

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेका छन् ।

सार्वजनिक सन्देश जारी गर्दै नेता चौरसियाले मधेश विभिन्न भाषा, संस्कृति, धर्म र समुदायको अनुपम संगमस्थल भएको उल्लेख गरेका छन् । यही विविधताले नेपालको वास्तविक शक्ति र पहिचान झल्काउने भएकाले त्यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन् ।

पछिल्ला घटनाक्रमले समाजमा असहज अवस्था सिर्जना गरेको उल्लेख गर्दै उनले कुनै पनि प्रकारका अफवाह, घृणा वा उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन सबैसँग अपिल गरेका छन् । सामाजिक सञ्जाल वा अन्य माध्यमबाट द्वेष फैलाउने कार्यले सामाजिक सद्भावमा असर पुर्‍याउने भएकाले यस्ता गतिविधिमा संलग्न नहुन उनले आग्रह गरेका छन् ।

चौरसियाले कठिन परिस्थितिमा संयम, पारस्परिक सम्मान र सामाजिक सद्भाव नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै विचारमा मतभेद हुन सक्ने भए पनि त्यसको समाधान संवाद, सहकार्य र कानुनी प्रक्रियाबाट मात्रै सम्भव हुने बताएका छन्। उनले सबै पक्षलाई जिम्मेवार र संयमित भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

उनले शान्त, सुरक्षित र समृद्ध मधेश तथा समुन्नत नेपालको निर्माण सबैको साझा दायित्व भएको उल्लेख गर्दै विभाजन र द्वन्द्वभन्दा एकता, सहकार्य र आपसी विश्वासको मार्ग रोज्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

0

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ।

राष्ट्रका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले कुनै एक स्थानमा भएको दुःखद् घटनाको आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्दै प्रतिशोधका गतिविधि फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित नहुने स्पष्ट पार्नुभयो। नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालन गर्ने मौलिक अधिकार दिएको उल्लेख गर्दै सरकारले त्यसको संरक्षण गर्न पूर्ण प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

उहाँले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको जानकारी दिँदै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने विश्वास दिलाउनुभयो। सरकारले शान्ति–सुरक्षा कायम राख्न तथा थप अप्रिय घटना हुन नदिन सुरक्षा निकाय परिचालन गरिसकेको पनि उहाँले बताउनुभयो।

प्रधानमन्त्रीका अनुसार केन्द्रमा सर्वदलीय बैठक आयोजना गरी परिस्थितिबारे छलफल गरिएको छ भने स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको छ। साथै, गृहमन्त्री सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेको र राष्ट्रिय सुरक्षा परिषद्ले पनि आवश्यक निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो।

सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, घृणा र समुदायबीच वैमनस्य फैलाउने सामग्री प्रचार–प्रसार नगर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले सरकारी निकायबाट जारी हुने आधिकारिक सूचनामात्र विश्वास गर्न सबैसँग अनुरोध गर्नुभयो।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले धर्मले समाजलाई जोड्ने, प्रेम र सहिष्णुता फैलाउने सन्देश दिने उल्लेख गर्दै हिंसा र विभाजन कुनै पनि धर्मको शिक्षा नभएको बताउनुभयो। उहाँले सबै नागरिकलाई संयम, सद्भाव र राष्ट्रिय एकता कायम राख्न आग्रह गर्दै मैथिली भाषामा पनि शान्ति, भाइचारा र सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल गर्नुभयो।

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

0

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह र उत्तेजक गतिविधिबाट टाढा रहन सार्वजनिक अपिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा सुनसरीमा हालै विकसित घटनाक्रमपछि देशका विभिन्न जिल्लामा भइरहेको प्रदर्शन र त्यसबाट सिर्जिएको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पर्सामा पनि उच्च सतर्कता अपनाइएको उल्लेख गरिएको छ ।

प्रशासनले पर्सा ऐतिहासिक रूपमा बहुसांस्कृतिक, बहुधार्मिक तथा सामाजिक सद्भावको केन्द्रका रूपमा परिचित रहेको उल्लेख गर्दै वर्तमान परिस्थितिमा सामाजिक सद्भावमा खलल पुग्न सक्ने तथा सार्वजनिक शान्ति सुरक्षा भंग हुने जोखिमलाई दृष्टिगत गरी स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम सुरक्षा संवेदनशील क्षेत्रहरूमा साउन १५ गते बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको स्मरण गराएको छ ।

प्रशासनले जारी अपिलमार्फत निषेधाज्ञाको पूर्ण पालना गर्न, तोकिएको क्षेत्रमा अनावश्यक रूपमा बाहिर ननिस्कन, भेला, जुलुस तथा प्रदर्शन नगर्न आग्रह गरेको छ। साथै फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा धार्मिक वा सामाजिक द्वेष फैलाउने, भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, सेयर वा प्रचार–प्रसार नगर्न पनि अनुरोध गरिएको छ ।

यस्ता गतिविधिमा संलग्न पाइएमा विद्युतीय कारोबार ऐन तथा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

त्यसैगरी कुनै पनि विवाद वा असहमतिलाई कानुनी प्रक्रिया र शान्तिपूर्ण संवादबाट समाधान गर्न आग्रह गर्दै कानुन हातमा लिने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने वा हिंसात्मक गतिविधिमा संलग्न नहुन प्रशासनले सबैसँग अपिल गरेको छ ।

जिल्लामा शान्ति सुरक्षाका लागि सुरक्षा निकाय चौबीसै घण्टा उच्च सतर्कताका साथ परिचालन गरिएको जनाउँदै कुनै पनि शंकास्पद गतिविधि, अफवाह वा सामाजिक सद्भाव बिगार्ने प्रयास देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले “विविधतामा एकता नै हाम्रो असली शक्ति र पहिचान हो” भन्दै सबै नागरिकलाई संयमता अपनाई प्रशासनलाई सहयोग गर्न तथा जिल्लाको शान्ति, अमनचयन र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

मधेशमा शान्ति, सद्भाव र संवादको पक्षमा रुपेश पाण्डेको अपिल

0

वीरगंज । नेकपा (एमाले) का नेता रुपेश पाण्डेले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सबैलाई शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले मधेश विविध भाषा, संस्कृति, धर्म र समुदायको साझा फूलबारी भएको उल्लेख गरेका छन् । पछिल्ला घटनाले सबैलाई दुःखी बनाएको भन्दै उनले यस्तो संवेदनशील समयमा कुनै पनि प्रकारको उत्तेजना, अफवाह वा द्वेष फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् ।

उनले आपसी विश्वास, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन सबै पक्षले संयमता अपनाउनुपर्ने बताएका छन् । असहमति स्वाभाविक भए पनि त्यसको समाधान शान्तिपूर्ण संवाद र कानुनी प्रक्रियामार्फत मात्र सम्भव हुने उनको भनाइ छ ।

पर्सा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी समेत रहेका पाण्डेले मधेशलाई शान्त, सुरक्षित र समृद्ध बनाउने साझा अभियानमा सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्दै आफ्नो सन्देशको अन्त्य “जय मधेश” भन्ने नारासहित गरेका छन् ।

मधेश फेरि रगतले रङ्गियो : अब मौनता होइन, नेतृत्व र न्याय चाहिन्छ – कञ्चन झा

0

सुनसरीपछि अब सिरहामा पनि फेरि गोली चलेको छ । एक जनाको मृत्यु भइसकेको खबर छ भने अन्य जिल्लाबाट पनि अप्रिय सूचनाहरू आइरहेका छन् । राज्यको गोलीबाट एउटा नागरिकले पनि ज्यान गुमाउनु लोकतन्त्रको असफलता हो । पटक–पटक नागरिकमाथि गोली चल्नु सरकारको राजनीतिक असफलताको स्पष्ट संकेत हो ।

प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू, सत्तामा आउँदा तपाईंहरूले नै एउटा मापदण्ड स्थापित गर्नुभएको थियो—राज्यको गोलीबाट नागरिकको ज्यान जान्छ भने त्यसको राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्छ। आज त्यही मापदण्ड तपाईंहरूकै अगाडि उभिएको छ ।

मधेश वर्षौंदेखि राज्यको अत्यधिक बल प्रयोग र प्रहरी बर्बरताको केन्द्र बन्दै आएको छ । किन हरेक संकटमा संवादभन्दा गोली छिटो पुग्छ ? मधेशका नागरिकलाई सुरक्षा दिनुपर्ने निकायले किन उनीहरूलाई नै शंका र हेयको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य गर्न सकेको छैन ? यस्तो व्यवहारले राज्यका लागि मधेशका जनताको जीवनको कुनै मूल्य छैन भन्ने गहिरो अनुभूति जन्माएको छ । लोकतान्त्रिक राज्यका लागि योभन्दा ठूलो विफलता अरू हुन सक्दैन ।

मधेश अहिले अशान्त छ । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । धार्मिक सद्भाव कमजोर बन्दै गएको छ । यस्तो संवेदनशील अवस्थामा राष्ट्रले फेसबुक पोस्ट होइन, संसद्बाट स्पष्ट धारणा राख्ने प्रधानमन्त्री खोजिरहेको हुन्छ । यही बेला सरकारले तत्काल परिस्थिति सामान्य बनाउन, निष्पक्ष न्यायिक छानबिनको सुनिश्चितता गर्न र सबै राजनीतिक दलसँग सहकार्य गरेर संवेदनशीलता देखाउनुपर्ने थियो ।

गैरजिम्मेवारीको सीमा नाघिसकेको छ । गोली चलाउने र आदेश दिने दुवै तहका जिम्मेवारमाथि अविलम्ब कारबाही हुनुपर्छ । गृह प्रशासनको प्रभावकारी उपस्थिति अनुभूत गराउन नसकेका गृहमन्त्रीले आफ्नो कमजोरी स्वीकार्दै नैतिक जिम्मेवारी लिनुपर्छ । प्रहरी संगठन पनि यस्ता घटना किन बारम्बार दोहोरिन्छन् भन्ने विषयमा जवाफदेही बन्नुपर्छ ।

नागरिकको जीवन रक्षा गर्न र बल प्रयोगलाई कानुनी तथा व्यावसायिक सीमाभित्र राख्न प्रहरी नेतृत्व असफल भएको हो भने प्रहरी महानिरीक्षकले पनि नैतिक जिम्मेवारी लिनुपर्छ। अन्यथा सरकारले उनको जिम्मेवारीबारे तत्काल आवश्यक निर्णय गर्नुपर्छ ।

प्रधानमन्त्रीज्यू, यदि तपाईं संसद्मा उभिएर राष्ट्रलाई सम्बोधन गर्न, मधेश पुगेर पीडित परिवारसँग भेट्न र नागरिकको विश्वास पुनःस्थापित गर्न सक्नुहुन्न भने आफ्नो राजनीतिक जिम्मेवारीबारे पनि निर्णय लिनु उपयुक्त हुनेछ ।

मधेशलाई समवेदना होइन, न्याय चाहिएको छ । नेपाललाई मौनता होइन, नेतृत्व चाहिएको छ । लोकतन्त्रमा नागरिकको जीवनको मूल्य भूगोल हेरेर फरक हुन सक्दैन । कञ्चन झा – नेपाली कांग्रेस

वीरगंजमा निषेधाज्ञा जारी, साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाको मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सुनसरी र सिरहामा भएका घटनाको विरोधमा वीरगंजमा पनि प्रदर्शन हुन सक्ने सुरक्षा निकायको आकलनपछि सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम साउन १४ गते साँझ ५ः०० बजेदेखि साउन १५ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

प्रशासनका अनुसार निषेधाज्ञा वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको चार किल्लाभित्र लागू हुनेछ । उक्त अवधिभर तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न नपाइने आदेशमा उल्लेख छ ।

प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सम्भावित अप्रिय घटना रोक्न तथा सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

उच्च अदालत वीरगंजकाे ७१ प्रतिशत मुद्दा फर्छ्योट, पुराना मुद्दा पनि उल्लेख्य रूपमा घटे

0

वीरगंज । कर्मचारी अभाव, सीमित भौतिक पूर्वाधार र बढ्दो मुद्दाको चापबीच पनि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले आर्थिक वर्ष २०८२/८३ मा न्याय सम्पादनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । अदालतले कुल मुद्दामध्ये ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट गर्दै अघिल्ला वर्षको तुलनामा न्यायिक कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको हो ।

बिहीबार अदालत परिसरमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा मुख्य न्यायाधीश गोकर्ण डाँगीले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूको समन्वित प्रयासका कारण अदालतले प्रभावकारी रूपमा न्याय सम्पादन गर्न सफल भएको बताए । उनले भवन र जनशक्तिकाे कमि हुँदा हुँदै पनि ७२ प्रतिशत मुद्दा फैसला ठुलाे उपलब्धि भएकाे वताए ।

अदालतले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ३ हजार ५९४ र नयाँ दर्ता भएका ४ हजार ६३० गरी कुल ८ हजार २२४ मुद्दा विचाराधीन रहेका थिए । तीमध्ये ५ हजार ८४६ मुद्दा टुंग्याइएको छ भने २ हजार ३७८ मुद्दा अझै फैसला हुन बाँकी छन् ।

फर्छ्योट दरमा पनि अदालतले निरन्तर सुधार गरेको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ५६.६० प्रतिशत र २०८१/८२ मा ५६.८५ प्रतिशत रहेको मुद्दा फर्छ्योट दर यस वर्ष बढेर ७१.०८ प्रतिशत पुगेको हो ।

अदालतले लामो समयदेखि विचाराधीन रहेका पुराना मुद्दा टुंग्याउन विशेष प्राथमिकता दिएको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ बाट जिम्मेवारी सरेका १८ महिनाभन्दा बढी पुराना १५७ मुद्दामध्ये अधिकांशको फैसला गर्दै हाल त्यस्ता २१ वटा मात्रै मुद्दा बाँकी रहेको अदालतका रजिस्ट्रार तारादत्त बडुले जानकारी दिए ।

उनका अनुसार हाल विचाराधीन मुद्दामध्ये ६ महिनाभित्रका ९८७, एक वर्षभित्रका ६६९, १२ देखि १८ महिनासम्मका २८२ र १८ महिनाभन्दा बढी पुराना २१ मुद्दा रहेका छन् । त्यस्तै रिटतर्फ विभिन्न अवधिका गरी ४१९ वटा मुद्दा अझै फैसला हुन बाँकी छन् ।

मुख्य न्यायाधीश डाँगीले आवश्यक जनशक्ति, पर्याप्त भौतिक संरचना र स्रोतसाधन उपलब्ध गराइए अदालतको सेवा प्रवाह अझ प्रभावकारी, छिटो र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे । उनले न्यायिक सुशासन, पारदर्शिता र सर्वसाधारणलाई सहज रूपमा न्याय उपलब्ध गराउने प्रतिबद्धता अदालतले निरन्तर कायम राख्ने पनि बताए ।

कार्यक्रममा  मुद्दाको अवस्था, फर्छ्योट दर तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी रजिस्ट्रार बडुले प्रस्तुत गरेका थिए ।

मुख्य न्यायाधीश डाँगीकाे अध्यक्षतामा भएकाे अन्तरक्रियामा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजका न्यायाधीश जगतबहादुर थापा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, अदालतका रजिस्ट्रारहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

वि.सं. २०७३ साल असोज ३ गतेदेखि सञ्चालनमा आएको उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंज हाल उच्च अदालत पाटनपछिकाे दोस्रो ठूलो उच्च अदालतकाे रूपमा परिचित छ ।

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि आह्वान गरिए पनि जनप्रतिनिधिहरू उपस्थित नभएपछि आक्रोशित स्थानीयले अध्यक्षको कार्यकक्षमा ताल्चा लगाएका हुन् ।

स्थानीय युवाहरूले गाउँपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी तथा वडाध्यक्षहरूलाई जनतासँग खुला संवाद गर्न पूर्वनिर्धारित समयमै उपस्थित हुन आग्रह गरेका थिए । तर तोकिएको समयमा अध्यक्ष तथा वडाध्यक्षहरू उपस्थित नभएपछि विरोधस्वरूप कार्यकक्षमा ताल्चा लगाइएको स्थानीयले बताएका छन् ।

स्थानीय युवा कृष्ण चौधरीका अनुसार जनतासँग संवाद कार्यक्रम आयोजना गर्न साउन ४ गते गाउँपालिकामा औपचारिक प्रस्ताव दर्ता गरिएको थियो । सोही प्रस्तावअनुसार साउन १३ गते कार्यक्रम तय गरिएको भए पनि जनप्रतिनिधिहरू अनुपस्थित रहेपछि बाध्य भएर ताल्चा लगाउनुपरेको उनले बताए ।

उनका अनुसार जनप्रतिनिधिहरू जनतासँग प्रत्यक्ष संवादमा नआएसम्म अध्यक्षको कार्यकक्षमा लगाइएको ताल्चा नखोलिने स्थानीयको अडान छ ।

स्थानीयवासीहरूले गाउँपालिकाभित्र विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक तथा सामाजिक सुरक्षालगायतका विषयमा थुप्रै गुनासा र जिज्ञासा रहेको जनाउँदै ती विषयमा जनप्रतिनिधिसँग खुला प्रश्नोत्तर तथा छलफल गर्ने उद्देश्यले संवाद कार्यक्रम आयोजना गर्न खोजिएको बताएका छन् ।

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले गाउँपालिकामा दर्ता भएको पत्रअनुसार सबै जनप्रतिनिधिलाई जानकारी गराइएको बताए । उनका अनुसार प्रशासनिक कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित रहे पनि जनप्रतिनिधिलाई कर्मचारीले निर्देशन दिन मिल्ने कानुनी व्यवस्था छैन ।

प्रमुख प्रशासकीय अधिकृत गिरीले गाउँपालिका अध्यक्षको टेलिफोनमार्फत प्राप्त निर्देशनअनुसार आगामी साउन १८ गते सोमबार जनतासँग खुला संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन् ।