Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026
Home Blog Page 48

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

0

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका १७१ जना हराइरहेकामा आजसम्म टेलिफोनमार्फत २२ जना सम्पर्कमा आएका छन् ।

हालसम्म सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पर्साको पोखरिया नगरपालिका-५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका-२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका- १२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका-३ का रुपेश गुप्ता सम्पर्कमा आएका प्रवक्ता ढकालले बताउनुभयो ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका-४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताउनुभयो ।

सर्लाहीको लालबन्दी नगरपालिका-१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, बागमती नगरपालिका-६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका-१ का राकेशकुमार यादव, इञ्जिनियर विपीनकुमार मण्डल र धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार सम्पर्कमा आएका छन् । उहाँका अनुसार सिरहाको गोलबजार नगरपालिका-१० का टार्जन बलम्पाकी पनि टेलिफोनमार्फत सम्पर्कमा आएका छन् ।

मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण सङ्कलन गर्न थालेको छ । बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उहाँले बताउनुभयो ।

मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन् । सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराउन वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

0

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले नदी किनार, होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका शवहरू दुर्गन्धित हुन थालेपछि समाधिस्थ गर्ने निर्णय गरेको हो।

चितवनमा नारायणी र त्रिशूली नदी किनारबाट संकलन गरिएका २३३ शवमध्ये चार जनाको मात्रै पहिचान भएको र बाँकी २२९ शवको पहिचान हुन नसकेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार केही शव तथा शवका अवशेष सड्न थालेका छन् भने केही शव पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले लामो समयसम्म शव व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएपछि जिल्ला सुरक्षा समितिले तत्काल शव व्यवस्थापन गर्ने निर्णय गरेको प्रजिअ अर्यालले बताउनुभयो।

प्रशासनका अनुसार पहिचान नभएका तथा बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित र कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिनेछ। सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने जनाइएको छ।

निर्णयअनुसार आजदेखि भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन सुरु गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले असाधारण परिस्थितिबाट सिर्जित अवस्थाका कारण शव व्यवस्थापन गर्नुपरेको भन्दै शोकमा रहेका पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेको छ। प्रशासनले निर्णयलाई सकारात्मक रूपमा लिँदै आवश्यक सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ।

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

0

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

क्याम्पसले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

क्याम्पस प्रमुख किशोरी रायले विपद्को समयमा शैक्षिक संस्थाहरूले पनि सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउँदै पीडित नागरिकको दुःखमा साथ दिन क्याम्पसले सहयोग गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

क्याम्पस व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानका अनुसार शिक्षा क्षेत्रमा रहेका सामुदायिक कलेजमध्ये बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलोपटक यति ठूलो रकम सहयोग गर्ने कलेजका रूपमा हरिखेतान बहुमुखी क्याम्पस रहेको दाबी गरिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, सल्लाहकार जयप्रकाश खेतान, कोषाध्यक्ष सुरेश प्रसाद रुङटा, क्याम्पस प्रमुख किशोरी रायलगायत व्यवस्थापन समिति पदाधिकारी, शिक्षक–शिक्षिका तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

क्याम्पसले गरेको सहयोगबाट बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते आएको बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी त्यसमा रहेको यकिन नभएको नगद रकम आफूखुसी निकालेर लगेको भन्ने सूचना भदौ १२ गते प्राप्त भएपछि प्रहरीले तत्काल टोली परिचालन गरी अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ । बरामद रकम र नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी गाउँपालिका–४ मासटार तथा आदमघाट क्षेत्रका रहेका छन् । चितवन र पर्सा घर भएका केही व्यक्ति पनि घटनामा नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा पर्साका बहुदरीमाई नगरपालिका ९ घर भई हाल जिल्ला धादिङ गजुरी गाउँपालिका ६ आदमघाट बस्ने बर्ष २८ को सकुर अन्सारी र चितवनकाे राप्ती नगरपालिका ६ घर भई हाल धादिङकाे गजुरी गाउँपालिका ८ आदमघाट बस्ने बर्ष २९ को विचारी आले मगर रहेका छन् ।

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ६१६ पुग्यो

0

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६१६ पुगेको छ ।

नेपाल प्रहरीले शनिबार बिहान ६ बजेसम्म देशका विभिन्न जिल्लाबाट ६१६ जनाको शव फेला परेको जनाएको छ । प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले पछिल्लो तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाढी प्रभावित तथा जोखिममा रहेका क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, सरोकारवाला निकाय तथा स्थानीयवासीसँग समन्वय गरी उद्धार तथा खोजी कार्य गर्ने र बाढीका कारण अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कामसमेत गरिरहेको जनाएको छ ।

बाढीबाट प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ ।

रसुवा–भोटेकोशी बाढी : १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

0

काठमाडौं । रसुवा, भोटेकोशी तथा त्रिशूली करिडोरमा बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले रक्षाबन्धनका अवसरमा शुभकामना दिँदै बाढी तथा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन् । उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता जनाउँदै उनले सरकारले खोज तथा उद्धारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् ।

सरकारका अनुसार हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये जलविद्युत् आयोजनाका सुरुङबाट १९१ जना तथा आज गरिएको हवाई उद्धारबाट ५१७ जना रहेका छन् ।

उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरिएको छ । धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको र हालसम्म ९९ वटा हवाई उडान गरिएको सरकारले जनाएको छ ।

राहत सामग्रीतर्फ हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । हेलिकप्टरमार्फत थप ६ उडान गरी राहत सामग्री पठाइएको तथा प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पुर्‍याइएको छ ।

सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ । अपर त्रिशूली हाइड्रोपावर आयोजना, रसुवागढी जलविद्युत् केन्द्रलगायत जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी रहेको सरकारले जनाएको छ ।

बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवाबाट नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको छ ।

यसैगरी, हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार र पहिचान गरिएको सरकारले जनाएको छ । विदेशी नागरिकको खोज, उद्धार तथा परिवार र दूतावाससँग समन्वयका लागि परराष्ट्र मन्त्रालयले आपतकालीन नियन्त्रण कक्ष सञ्चालन गरेको छ ।

सरकारले विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको स्पष्ट पारेको छ । भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको जनाएको छ ।

भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई समेत निरन्तर निगरानीमा राखिएको छ । जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको र २ लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना दिइएको सरकारले जनाएको छ ।

सडक सम्पर्क पुनःस्थापनाका लागि वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याइएको छ । काठमाडौं–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ भने रसुवालाई पनि वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालसँग जोडिएको सरकारले जनाएको छ ।

सरकारका अनुसार रसुवाको धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सुचारु भएको छ । क्षतिग्रस्त पुलमा बाइपास निर्माणको काम सुरु गरिएको छ भने नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेलिब्रिज उपलब्ध गराउन पहल गरिएको छ ।

प्रभावित क्षेत्रमा खानेपानी, इन्धन, विद्युत्, दूरसञ्चार तथा स्वास्थ्य सेवा पुनःस्थापनाको काम पनि तीव्र पारिएको छ । प्रभावित १९८ दूरसञ्चार टावरमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको सरकारले जनाएको छ ।

स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ भने ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ । विभिन्न अस्पतालबाट मेडिकल टोली तथा आवश्यक औषधि र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।

बाढीबाट प्रभावित १५ स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको सरकारले जनाएको छ ।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ । प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्ने कामसमेत अघि बढाइएको सरकारले जनाएको छ ।

प्रधानमन्त्री साहले विपद्को यस कठिन घडीमा सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका छन् । मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका नेता सुजित पाण्डेको निधन

0

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४, लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटना हुँदा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१४ बघवन निवासी ३३ वर्षीय पाण्डे रहेका छन् ।

प्रहरीका अनुसार बिहीबार राति करिब १० बजे बघवनबाट कलैयातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–०२८ प ७१९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते पाण्डेलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगंजस्थित बयोधा मेडिसिटी अस्पताल ल्याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा चिकित्सकले राति १०ः५० बजे पाण्डेलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढीपीडितका लागि लायन्स इन्टरनेशनलद्वारा एक करोड सहयोग गर्ने निर्णय

0

वीरगंज । रसुवाको भोटेकोशी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५, नेपालले १ करोड रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ ।

लायन्स क्लब अफ पोखरिया लगायत डिष्ट्रिक्ट ३२५ ‘S’ अन्तर्गतका सम्पूर्ण लायन्स क्लबहरू बाढी प्रभावितको सहयोग, समन्वय तथा मानवीय सेवामा जुटिरहेका छन् ।

यसै क्रममा एरिया नं. ३ को बैठकले एरिया नं. ३ को तर्फबाट नगद सहयोग संकलन गरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘S’ मार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

यसअघि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘S’, नेपालले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रयोजनका लागि ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको चेक मल्टिपल काउन्सिल चियरपर्सनलाई हस्तान्तरण गरिसकेको जनाइएको छ ।

बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले लायन्स क्लबहरू आ–आफ्नो ठाउँबाट सहयोग तथा समन्वयमा सक्रिय रहेको लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानीले बताए ।

उनले विपद्को कठिन घडीमा पीडित परिवारको साथमा उभिनु, सहयोगको हात बढाउनु र आशाको भावना जगाउनु नै लायन्स सेवाको मूल भावना भएको बताए ।

शमानीले बाढी प्रभावित नागरिकको राहत तथा उद्धार अभियानमा सहयोग, समन्वय र सेवामा जुटिरहेका सम्पूर्ण लायन्स क्लब, सदस्य, पदाधिकारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।

“विपद्मा साथ–सेवामा हातेमालो” भन्ने भावनाका साथ लायन्स क्लबहरूले मानवीय सेवाको अभियानलाई निरन्तरता दिने जनाइएको छ ।

बाढीपीडितको राहत–उद्धारका लागि वीरगंज हेल्थ केयरको १० लाख सहयोग

0
Screenshot

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि वीरगंज हेल्थ केयर अस्पतालले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी १० लाख रुपैयाँको चेक पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) हरि पन्तलाई हस्तान्तरण गरेका हुन् ।

चेक ग्रहण गर्दै सांसद पन्तले सानो सहयोगले पनि बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा ठूलो योगदान पुग्ने बताए । उनले संकटका बेला वीरगंजले मुलुकप्रतिको आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै सहयोगको हात अघि बढाएको बताए ।

मुलुक विपद्मा परेका बेला सबै क्षेत्रबाट आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जनाउँदै डा. अन्सारीले बाढीबाट विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै सयौँ परिवार प्रभावित भएकाले राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए ।

उनले विपद्को कठिन परिस्थितिमा एकअर्कालाई साथ दिनु नै सच्चा नेपालीपन र मानवताको परिचय भएको बताए । “एक नेपालीको रूपमा आफ्नो देश र आफ्ना नागरिकप्रति सहयोग गर्नु हाम्रो कर्तव्य हो,” उनले भने, “विपद्को यस घडीमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावित नागरिकलाई सहयोग गर्न आवश्यक छ ।”

डा. अन्सारीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारसँगै निजी क्षेत्र, व्यवसायी, सामाजिक संघसंस्था तथा आम नागरिकले समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।

वीरगंज हेल्थ केयर अस्पतालले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सहयोग गर्दै आएको जनाएको छ ।

रसुवाको बाढीपछि पर्सागढीका नरेश राई सम्पर्कविहीन, खोजीका लागि परिवारको अपिल

0

वीरगंज । रसुवा जिल्लामा आएको बाढीपछि पर्सागढी नगरपालिका–४, बर्वाटाँडी निवासी ४२ वर्षीय नरेश राई सम्पर्कविहीन भएका छन् ।

राई बुधबार बिहान रसुवा जिल्लाको उत्तरगया गाउँपालिकास्थित शान्ति बजारबाट करिब ७ किलोमिटर पछाडि रहेको नयाँ पुलमा ट्रकबाट सामान अनलोड गर्ने क्रममा बाढीको प्रकोपपछि सम्पर्कविहीन भएको बताइएको छ । उनी बिहान करिब ८:४७ बजेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको जनाइएको छ ।

राई ट्रक चालक हुन्। उनीसँग सम्बन्धित सवारीसाधनको नम्बर ना. ७ ख ७२२७ रहेको परिवारले जनाएको छ ।

बाढीका कारण सडक तथा आसपासका क्षेत्रमा जोखिमपूर्ण अवस्था रहेकाले राईको खोजी तथा उद्धारमा सहयोग गरिदिन परिवार तथा आफन्तले सबैसँग हार्दिक अपिल गरेका छन् ।

राईको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा डॉ. चन्द्र भुषण सिंह (९८१४२५२३५३) मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । परिवारले नरेश राईको खोजीमा सहयोग पुग्ने गरी सूचना धेरैभन्दा धेरै शेयर गरिदिनसमेत सबैमा अनुरोध गरेको छ ।