Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026
Home Blog Page 47

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

0

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी रहने बताउनुभएको हो ।

विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्‍याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै उहाँले बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको बताउनुभयो ।

“सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ । राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्‍याउन चाहन्छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज ५ः३० बजेसम्म सात हजार ५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ । जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ । उद्धारमा भारतीय र चिनियाँ विज्ञहरू नेपाली सेनासँगको समन्वयमा खटिनुभएको छ ।

प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ जना सुरक्षाकर्मी खटिनुभएको छ ।

“हामीलाई प्राप्त सुझाव र गुनासोलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीको सङ्ख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन् । तर, भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन । ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ । उद्धारका क्रममा आवश्यकताअनुसार अन्तरराष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौँ”, उहाँले भन्नुभएको छ ।

साथै सरकार प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौँका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेको उहाँको भनाइ छ । “अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडागरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ ।

यस्तै, काठमाडौँबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा दुई गरी पाँच स्थानबाट स्वास्थ्य सेवा दिइरहनुभएको छ”, उहाँले भन्नुभयो ।

साथै, घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवासमेत प्रदान गरिरहेको उहाँको भनाइ छ । अस्पतालमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहको थालनी गरिसकेका छौँ । विभिन्न अस्पतालमा उपचारार्थ घाइेते नागरिक निको भएर घर जानेक्रम जारी छ ।

प्रधानमन्त्री शाहका अनुसार हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासीपूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन् । फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ ।

“यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ९पहिलो संशोधन० निर्देशिका, २०८३’बमोजिम व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैँ व्यवस्थापन गर्न लागेको हो । परिवारले पहिचान गरेका शव भने उहाँहरूलाई जिम्मा लगाउने काम भइरहेको छ । त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौँ”, उहाँले भन्नुभएको छ ।

उहाँका अनुसार प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा तीन, नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ । यी शिविरका लागि सङ्घीय सरकारले राहत सामग्री निरन्तर रूपमा पठाइरहेको छ ।

नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रसमेत परिचालित छन् । बाढीबाट विस्थापित करिब तीन हजार ५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिकरसामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ ।

पीडितहरूका तत्काल आवश्यकपर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीको सहज व्यवस्थापनका लागि पनि सरकार जुटिरहेको छ ।

यसैक्रममा त्रिभुवन विमानस्थलको वेयर हाउस, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री सङ्कलन भइरहेको छ ।

सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याउने काम भइरहेको छ । साथै, मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रुसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्‍याउने गरिएको छ । त्यहाँ सङ्कलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरू सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिरहेको छ ।

आजमात्रै एमआइ–१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्‍याइएको छ । साथै, आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ । विभिन्न सङ्घसंस्था र सहयोगी निकायलेसमेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुहरूमा राहत सामग्री पठाउनेक्रम जारी छ ।

प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकामा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो । कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा ऊर्जाको अभाव भएको थियो । सरकारले तत्कालै हेलिकप्टर र सडकमार्गमार्फत इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावर पुनःसञ्चालनमा ल्याएको छ । जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ ।

बाढीले मुख्य सडकमा क्षति पुर्‍याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेकाबेला हाल काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुनेगरी मर्मत गरिएको छ । यो सडकखण्ड खुलेसँगै रसुवा पुनःराष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्छाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ । धादिङबेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । परेवाटार–नेपालटार–गजुरीटार–पीपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेँसी पुनः सडक सञ्जालमा जोडिएको छ ।

भाद्र कृष्ण प्रतिपदा : विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

0

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यका लगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयवागीश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि सुरु भएको हो ।

एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर  दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ । गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साज सज्जाका साथ गाईको भेषमा बालबालिकाको र्‍याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको दायाँ बायाँ हजारौँ नरनारी भेला भएका थिए ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू”, भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ ।  यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित हुने गरेको छ । यस वर्ष भने भोटेकोशी बाढीका कारण धेरैको निधन भएकाले हास्य व्यङ्ग्यात्मक कार्यक्रम नगरी सांस्कृतिक रूपमा मात्र यो पर्व मनाइएको छ ।

यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत सहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा  काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरिएकामा यो वर्ष भने शनिबारको सार्वजनिक बिदाकै दिन गाईजात्रा परेको छ ।

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

0
काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ ।

दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामध्ये २५४ जनाको उद्धार भइसकेको छ । सोही आयोजनाको सुरुङमा अझै पनि ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ । अहिले सो सुरुङमार्गमा खोजी भइरहेको छ ।

त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट पनि ९३ जना सम्पर्कविहीन भइरहेका छन् । रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ । लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १८ जनाको उद्धार भएको छ ।

त्यसैगरी, चिलिमे हाइड्रोपावरबाट आठ जना सम्पर्कविहीन भइरहेका छन् । मैलुङ खोला हाइड्रोपावरबाट सात जना सम्पर्कविहीन भएका छन् । त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भएका छन् । देवीघाट जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भइरहेका छन् । माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन् ।

माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामध्ये ९१ जनाको जिवितै उद्धार गरिएको छ । मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन् ।

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीद्वारा सांसदसँग छलफल

1

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गर्नुभएको छ ।

छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडालगायत अत्यावश्यक सामग्री शीघ्र पुर्‍याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड दिनुभयो ।

मन्त्री चौधरीको सचिवालयका अनुसार उहाँले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

छलफलमा प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा, सांसद सुरेश चौधरी, सांसद जनकसिंह धामी, सांसद ओजस्वी श्रीचन, सांसद धर्म केसी, सांसद अनुश्का श्रेष्ठ, सांसद श्रद्धा कुँवर, सांसद सृजना श्रेष्ठ र सांसद राम लामाको सहभागी हुनुहुन्थ्यो ।

टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित

0

काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग नेपाल एक विकेटले पराजित भएको छ ।

शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३ रनको लक्ष्य भिक्टोरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि टम  रोजर्सले २१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रन बनाए । नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले २र२ तथा आकाश चन्दले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले सानदार पारी खेले । उनले ५६ बलमा छ चौका र पाँच छक्कासहित अविजित ९० रनको पारी खेलेका हुन् ।

जारी प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतकीय इनिङ हो । यस्तै, आज दीपक डुम्रेले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भिक्टोरियाका लागि कलुम स्टो र ह्यारी होकेत्राले सर्वाधिक २र२ विकेट लिए ।

यसपाली प्रतियोगितामा ६ खेल खेलेको नेपालले चार खेलमा हार तथा दुई खेलमा जित दर्ता गर्‍यो । नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो ।

यस्तै, नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)लाई चार विकेटले हराएको थियो । पाँचौँ खेलमा भने नेपाली टोली हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो ।

 

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

0

काठमाडौँ । नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ ।

निगमले आज प्रेस विज्ञप्ति जारी गरेर खोज तथा उद्धारका लागि गत भदौ १० गतेदेखि नियमित रुपमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

सोही ठाउँबाट हेलिकप्टरका लागि हवाई इन्धन रिफिलिङको काम हुँदै आइरहेको छ । निगमका अनुसार भदौ १० मा १२ हजार लिटर, भदौ ११ मा हेलिकप्टर र ट्रयाङकरमार्फत १० हजार ८४० लिटर पठाएको थियो ।

त्यसैगरी भदौ १२ गते नौ हजार लिटर र भदौ १३ गते नौ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा रहेका पेट्रोलपम्पलाई भदौ १३ गतेसम्म ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ ।

निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा २३२ थान सिलिण्डर ग्यास उपलब्ध गराएको छ । त्यसैगरी एलपी ग्यास उद्योग सङ्घबाट पनि नुवाकोट र रसुवाका लागि १५० थान सिलिण्डर राहत कार्यमा पठाइएको जनाएको छ ।

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

0

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका १७१ जना हराइरहेकामा आजसम्म टेलिफोनमार्फत २२ जना सम्पर्कमा आएका छन् ।

हालसम्म सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पर्साको पोखरिया नगरपालिका-५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका-२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका- १२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका-३ का रुपेश गुप्ता सम्पर्कमा आएका प्रवक्ता ढकालले बताउनुभयो ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका-४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताउनुभयो ।

सर्लाहीको लालबन्दी नगरपालिका-१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, बागमती नगरपालिका-६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका-१ का राकेशकुमार यादव, इञ्जिनियर विपीनकुमार मण्डल र धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार सम्पर्कमा आएका छन् । उहाँका अनुसार सिरहाको गोलबजार नगरपालिका-१० का टार्जन बलम्पाकी पनि टेलिफोनमार्फत सम्पर्कमा आएका छन् ।

मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण सङ्कलन गर्न थालेको छ । बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उहाँले बताउनुभयो ।

मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन् । सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराउन वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताउनुभयो ।

भोटेकोशी बाढीका चितवन पुगेका २२९ शव जमिनमा गाडिँदै

0

चितवन । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएका र बगेर चितवनसम्म पुगेका पहिचान हुन नसकेका शवहरू संक्रमण फैलिन नदिन जमिनमा व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले नदी किनार, होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा राखिएका शवहरू दुर्गन्धित हुन थालेपछि समाधिस्थ गर्ने निर्णय गरेको हो।

चितवनमा नारायणी र त्रिशूली नदी किनारबाट संकलन गरिएका २३३ शवमध्ये चार जनाको मात्रै पहिचान भएको र बाँकी २२९ शवको पहिचान हुन नसकेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार केही शव तथा शवका अवशेष सड्न थालेका छन् भने केही शव पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले लामो समयसम्म शव व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएपछि जिल्ला सुरक्षा समितिले तत्काल शव व्यवस्थापन गर्ने निर्णय गरेको प्रजिअ अर्यालले बताउनुभयो।

प्रशासनका अनुसार पहिचान नभएका तथा बेवारिसे शवलाई सम्मानजनक, सुरक्षित र कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गरिनेछ। सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने जनाइएको छ।

निर्णयअनुसार आजदेखि भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थानमा शव व्यवस्थापन सुरु गरिने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले असाधारण परिस्थितिबाट सिर्जित अवस्थाका कारण शव व्यवस्थापन गर्नुपरेको भन्दै शोकमा रहेका पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेको छ। प्रशासनले निर्णयलाई सकारात्मक रूपमा लिँदै आवश्यक सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ।

हरिखेतान बहुमुखी क्याम्पसद्वारा बाढीपीडितका लागि ५ लाख सहयोग

0

वीरगंज । हरिखेतान बहुमुखी क्याम्पस वीरगंजले बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

क्याम्पसले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

क्याम्पस प्रमुख किशोरी रायले विपद्को समयमा शैक्षिक संस्थाहरूले पनि सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताउँदै पीडित नागरिकको दुःखमा साथ दिन क्याम्पसले सहयोग गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

क्याम्पस व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानका अनुसार शिक्षा क्षेत्रमा रहेका सामुदायिक कलेजमध्ये बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलोपटक यति ठूलो रकम सहयोग गर्ने कलेजका रूपमा हरिखेतान बहुमुखी क्याम्पस रहेको दाबी गरिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. राम औतार खेतान, सल्लाहकार जयप्रकाश खेतान, कोषाध्यक्ष सुरेश प्रसाद रुङटा, क्याम्पस प्रमुख किशोरी रायलगायत व्यवस्थापन समिति पदाधिकारी, शिक्षक–शिक्षिका तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

क्याम्पसले गरेको सहयोगबाट बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा केही सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

भोटेकोशी बाढीले बगाएको सेफ तोडेर पैसा चोरी गर्ने पर्साका अन्सारी सहित २९ जना पक्राउ

0
एआईकाे सहयाेगमा तयार पारिएकाे सांकेतिक तस्बिर

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राखिएको सेफ फेला पारी तोडफोड गरी पैसा चोरी गरेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते आएको बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी त्यसमा रहेको यकिन नभएको नगद रकम आफूखुसी निकालेर लगेको भन्ने सूचना भदौ १२ गते प्राप्त भएपछि प्रहरीले तत्काल टोली परिचालन गरी अनुसन्धान थालेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद नगदको स्रोत तथा घटनामा संलग्न हुन सक्ने अन्य सम्भावित व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ । बरामद रकम र नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी गाउँपालिका–४ मासटार तथा आदमघाट क्षेत्रका रहेका छन् । चितवन र पर्सा घर भएका केही व्यक्ति पनि घटनामा नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा पर्साका बहुदरीमाई नगरपालिका ९ घर भई हाल जिल्ला धादिङ गजुरी गाउँपालिका ६ आदमघाट बस्ने बर्ष २८ को सकुर अन्सारी र चितवनकाे राप्ती नगरपालिका ६ घर भई हाल धादिङकाे गजुरी गाउँपालिका ८ आदमघाट बस्ने बर्ष २९ को विचारी आले मगर रहेका छन् ।