Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 41

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

0

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेलसहित पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो । फूल प्रसाद ग्रहणपछि उहाँले मन्दिरका पुजारीलाई दक्षिणा प्रदान गर्नुभयो ।

कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति कृष्ण मन्दिर पुग्नु हुँदा ललितपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री जगदीश खरेल, बागमती प्रदेशका कार्यवाहक सभामुख अप्सरा चापागाईँ, पूर्वमन्त्री मदुसुधन पौडेल, प्रेमभक्त महर्जन, प्रदेश सभासद रघुनाथ महर्जनसमेत उपस्थित भएर स्वागत गर्नुभएको थियो ।

मन्दिरमा दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गर्नुभएको थियोे । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरका साथै मुलुकभरका कृष्ण मन्दिरहरूमा आज दिनभर नै भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको थियो ।

हिन्दू धर्मअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । श्रीकृष्ण जन्माष्टमी पर्वले धार्मिक आस्थासँगै नेपालको मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई समेत उजागर गर्दै आएको छ ।

राजा सिद्धिनरसिंह मल्लको पालामा १७औँ शताब्दीमा निर्माण भएको पाटनको कृष्ण मन्दिरमा मल्लकालदेखि नै कृष्ण जन्माष्टमीमा राष्ट्राध्यक्षबाट विशेष पूजाआराधना हुँदै आएको धार्मिक, सांस्कृतिक परम्परा छ । राजतन्त्र रहँदा राजा र राजपरिवारले कृष्ण जन्माष्टमीमा मन्दिर दर्शन गर्ने चलन थियो । विसं २०६५ मा गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखको भूमिकामा राष्ट्रपतिले उक्त परम्परालाई निरन्तरता दिने कार्य हुँदै आएको छ ।

बाढीपीडितका लागि साउथ जोन माविद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

0

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका अभिभावक तथा विद्यार्थीबाट स्वतःस्फूर्त रूपमा संकलित ४६ हजार १८२ रुपैयाँ, शिक्षक तथा कर्मचारीले आफ्नो एक दिनको तलब बराबर स्वेच्छिक रूपमा प्रदान गरेको ५७ हजार ८१६ रुपैयाँ तथा विद्यालयको तर्फबाट प्रदान गरिएको ५१ हजार ५५५ रुपैयाँ गरी कुल १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग रकम जुटाइएको हो।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीका अनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि मानवीय भावनासहित शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा विद्यालय स्वयंले योगदान गरेका हुन्। शिक्षक तथा कर्मचारीले आफ्नो एक दिन बराबरको तलब स्वतःस्फूर्त रूपमा दान गरेका थिए भने विद्यार्थी तथा अभिभावकबाट पनि स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको थियो।

विद्यालयको तर्फबाट प्रदान गरिएको ५१ हजार ५५५ रुपैयाँसहित संकलित सम्पूर्ण रकम प्याब्सन पर्साको खातामा जम्मा गरिएको विद्यालयका सहप्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए।

संग्रौलाका अनुसार प्याब्सन पर्साले सदस्य विद्यालयहरूबाट यसरी संकलित रकम प्याब्सन केन्द्रको कोषमा जम्मा गर्नेछ। प्याब्सन केन्द्रले देशभरका सदस्य विद्यालय तथा विभिन्न स्रोतबाट संकलित सहयोग रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ।

प्रधानाध्यापक चौधरीले विपद्को समयमा मानवीय भावना देखाउँदै सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरे। उनले दुःखमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै सुखमा मात्र होइन, दुःख र संकटका समयमा पनि एक–अर्काको साथमा उभिएर हातेमालो गर्दै अघि बढ्नुपर्ने सन्देश यस सहयोगले दिएको बताए।

विद्यालयले विपद्को यस घडीमा “मानवताका लागि मानवता” भन्ने भावनालाई आत्मसात् गर्दै गरेको सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।

अदालतले अंश दिलायो, तर २० वर्षीय सूर्य अझै जन्मदर्ता र नागरिकताविहीन

0

वीरगंज । पर्सामा एक २० वर्षीय युवक आफ्नै बुवाले जन्मदर्ता नबनाइदिँदा नागरिकता प्राप्त गर्नबाट समेत वञ्चित भएका छन् । जन्मदर्ता र नागरिकता नहुँदा उनले शिक्षा तथा अन्य नागरिक अधिकारबाट समेत वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर २६ निवासी २० वर्षीय सूर्यप्रसाद साहको हालसम्म जन्मदर्ता र नागरिकता बन्न नसकेको हो ।

सानै उमेरमा उनकी आमा छाडेर गएपछि सूर्यप्रसाद मामा घर बहुदरमाई नगरपालिका वडा नम्बर १ मा बस्दै आएका छन् । जन्मदर्ता नभएकै कारण आफूले विद्यालयमा पढ्नसमेत नपाएको उनले बताएका छन् ।

उनले आफ्ना बुवा बालकुमार साह तेलीलाई पटक–पटक जन्मदर्ता बनाइदिन आग्रह गरे पनि ‘बनाइदिन्छु’ भन्दै आश्वासन मात्रै दिइएको र हालसम्म आवश्यक प्रक्रिया अघि नबढाइएको गुनासो गरे ।

यसैबीच सूर्यप्रसादले आफ्नो अंश अधिकारका लागि पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दामा अदालतले २०८३ साल वैशाख ८ गते फैसला गर्दै सूर्यप्रसादको अंश कायम हुने निर्णय गरेको स्थानीय नेता शिव पटेलले जानकारी दिए ।

पटेलका अनुसार सूर्यप्रसादले २०८२ साल भदौ ३ गते पर्सा जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेका थिए । न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले २०८३ साल वैशाख ८ गते फैसला गर्दै बुवा बालकुमार साहको सम्पत्तिबाट दुई खण्डको एक अंश वादी सूर्यप्रसादले छुट्याई पाउने ठहर गरेको थियो ।

अदालतबाट अंश कायम हुने फैसला भए पनि हालसम्म जन्मदर्ता नबनेको र वडा कार्यालयबाट नागरिकताका लागि आवश्यक सिफारिससमेत हुन नसकेको पटेलले बताए ।

उनले जन्मदर्ता र नागरिकता नहुँदा एक युवकमाथि अन्याय भइरहेको भन्दै वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म पहल गर्दा पनि समस्या समाधान हुन नसकेको बताए ।

“एक नेपाली नागरिकले आफ्नो जन्मदर्ता र नागरिकता नपाउँदा दुःख लागेको छ,” उनले भने ।

यता, वीरगंज महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्राले सूर्यका बुवाले आवश्यक हस्ताक्षर गर्न नमानेका कारण जन्मदर्ता बनाउन समस्या भएको बताए ।

उनले अदालतबाट अंश कायम हुने फैसला आएपछि जन्मदर्ता बनाउने विषयमा आवश्यक प्रक्रिया र छलफल भइरहेको जानकारी दिए ।

वडाध्यक्ष मिश्राले युवकको जन्मदर्ता बनाउन तथा नागरिकताका लागि आवश्यक सिफारिस गर्न आफ्नो तर्फबाट कुनै समस्या नरहेको स्पष्ट पार्दै कानुनअनुसार गर्नुपर्ने काम आफूले नरोक्ने बताए ।

चीनले अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन आग्रह

0

बेइजिङ/सिन्ह्वा  चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन र गलत कार्य सच्याउन आग्रह गरेको छ ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र नागरिकमाथि लगाइएका प्रतिबन्ध तुरुन्त हटाउन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय कानुन वा संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को अनुमति बिना लगाइएका एकपक्षीय प्रतिबन्धप्रति चीनको दृढ विरोध रहने मन्त्रालयका प्रवक्ता हुआङ लिङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो ।

चीनले बारम्बार प्रतिनिधित्व गरे पनि अमेरिकी पक्षले इरानसँगको कथित सम्बन्धका आधारमा चिनियाँ कम्पनी र नागरिकमाथि धेरै पटक प्रतिबन्ध लगाएको छ । यसप्रति चीनले गहिरो असन्तुष्टि र दृढ विरोध जनाएको उहाँले बताउनुभयो ।

अमेरिकाको एकपक्षीय प्रतिबन्धले सम्बन्धित देशहरूबीचको सामान्य आर्थिक तथा व्यापारिक आदानप्रदानमा अनुचित हस्तक्षेप गर्ने र विश्व ऊर्जा सुरक्षा तथा स्थिर आपूर्तिलाई गम्भीर रूपमा बाधा पु¥याउने प्रवक्ताले बताउनुभयो ।

चीनले आफ्ना उद्यम तथा नागरिकका वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्ने हुआङले बताउनुभयो ।

विपद् प्राधिकरणलाई प्रधानमन्त्री अन्तर्गत राखौँः सांसद खरेल

0
सिंहदरबारस्थित सङ्घीय संसदमा बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा धारणा राख्नुहुँदै सांसद जगदीश खरेल । तस्बिरः गोपाल दाहाल / रासस

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्य जगदीश खरेलले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर प्रभावकारी रूपमा ‘कमान्ड’ गर्न सक्ने हैसियतको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

सभाको आजको बैठकको विशेष समयमा बोल्दै रास्वपाका सांसद खरेलले प्रधिकरणको अहिलेको संरचनाबाट विपद् व्यवस्थापनको सम्पूर्ण चक्रअन्तर्गत जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका काम सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न सहज नभएको बताउँदै यस विषयमा गम्भीर बहस आवश्यकता औँल्याउनुभयो ।

सांसद खरेलले भोटेकोशी बाढी विपद्पछि सरकारको खोज, उद्धार र राहत प्रयास सराहनीय भए पनि पर्याप्त नहुनुमा प्राधिकरणको कमजोर संरचना भएको धारणा राख्नुभयो । उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र नियमावली, २०७६ अनुसार बनेको प्राधिकरण तथा यसको वर्तमान संरचनाले अब प्रभावकारी रूपमा काम गर्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्राधिकरणलाई प्रधानमन्त्रीअन्तर्गत राख्नुपर्छ ।”

सांसद खरेलले नेपाल अहिले गहिरो शोकमा रहेको उल्लेख गर्दै विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो । उहाँले बेपत्ता तथा घाइतेका परिवारसँग सरकार र सांसदहरू साथमै रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले असामान्य, अकल्पनीय र अप्रत्याशित परिस्थितिमा उद्धार कार्य सहज नभएको उल्लेख गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीप्रति आभार व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद् बैठक : भदौ २२ गते राष्ट्रिय शोक मनाउने, २३ गते सार्वजनिक बिदा

0

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय शोकका दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

त्यस्तै, सरकारले भदौ २३ गते ‘जेन्जी’ सहिद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैङ्क ९एडिबी० बाट प्राप्त हुने पाँच ‘मिलियन’ अमेरिकी डलर अनुदान स्वीकार गरेको छ ।

बैठकले बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार–व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत र सुविधा उपलब्ध गराइने निर्णय गरेको छ ।

सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई एक प्रतिशत भन्सार महसुलमा २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिइएको छ ।

उद्धारमा खटिने कर्मचारीलाई विशेष सुविधा

सराकरले भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी उद्धारका क्रममा घाइते भएमा निःशुल्क उपचार तथा मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक रु १० लाख राहत उपलब्ध गराइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवाअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता एवं मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

0

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ ।

नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशङ्कामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेका छन् ।

सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो थुप्रो (डेब्रिस)मा अन्तबाट बगाएर ल्याएका फलामसहितका संरचना तथा ठूलठूला ढुङ्गाहरू छन् । दिनरातको निरन्तरको प्रयासपछि ती सामग्री पन्छ्याएर सुरुङको माथिल्लो भागतर्फ १० फिट लम्बाइ र ४ फिट उचाइ जति मुख खोलिएको नेपाली सेनाले जनाएको छ ।

आयोजना स्थलमा रहनुभएका सांसद् श्रीराम न्यौपानेका अनुसार सेनाले सुरुङभित्र छिरेर माटो सोहोर्ने र पानी बाहिर बगाउने काम गरिरहेको छ । एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य पनि जारी छ । थप ७ वटा बोल्डर (ठूला ढुङ्गा) ब्लास्टिङका लागि तयारी पनि भइरहेको छ ।

यो सुरुङ १७० मिटर जति लम्बाइको छ । माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिने सेनाले जनाएको छ ।

मलेसियामाथि नेपालको जित

0

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

मलेसियामा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । यसअघि भएको पहिलो खेलमा नेपालले बहराइनलाई पराजित गरेको थियो ।

मलेसियाले नेपाललाई जितका लागि १०४ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपाल २१ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६८ बलमा चार चौका प्रहार गर्दै अविजित ४५ रनको योगदान दिएका हुन् ।

त्यसैगरी, इसान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले १२ तथा रोहितकुमार पौडेलले १० बनाए । बलिङतर्फ मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ३२ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो ।

मलेसियाका लागि कप्तान सायिद अजिजले सर्वाधिक ३० रन जोडे । उनले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३० रन जोडेका हुन् ।

त्यसैगरी, अकिल वाहिदले २४ रन जोडे भने भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।

मलेसियालाई १०३ रनमा समेट्ने क्रममा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । त्यस्तै, ललितनारायण राजबंशीले दुई विकेट तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एकरएक विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल यही भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ ।

भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता पर्सावासीको शीघ्र उद्धार गर्न सांसद हरि पन्तको माग

0

काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका पर्सावासीको शीघ्र खोज तथा उद्धार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले बाढीका कारण भएको अपार जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता तथा विभिन्न आयोजनामा फसेकाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्र तथा समग्र पर्सा जिल्लाका धेरै नागरिक बाढीपछि बेपत्ता रहेको उल्लेख गर्दै उनीहरूका परिवारजन अहिले पनि आफ्ना आफन्तको ‘सास या लास’ को आशामा सरकारको बाटो हेरिरहेको बताए ।

उनले विपद्का बेला सरकारले देखाएको तदारुकता तथा उद्धारका लागि गरिएका प्रयासलाई प्रभावित परिवारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै सरकारप्रति उनीहरूको आशा र भरोसा रहेको बताए ।

यद्यपि स्रोत, साधन तथा दक्ष जनशक्तिको अभावका कारण अपेक्षाअनुसार युद्धस्तरमा उद्धार कार्य अघि बढ्न नसकेको स्वीकार गर्दै सांसद पन्तले सरकारले गरेका सकारात्मक प्रयासको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गरे ।

उनले सरकारलाई सम्पूर्ण शक्ति परिचालन गर्न तथा आवश्यक परे मित्र राष्ट्रहरूसँग सहयोग, समन्वय र सहकार्य गरेर परिणाममुखी उद्धार कार्य सञ्चालन गर्न आग्रह गरे ।

सांसद पन्तले विशेषगरी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत पर्साका इन्जिनियर दिलीप यादव तथा पछिल्लो पटक घट्टेखोला क्षेत्रमा देखिएका पर्साकै सुनिलमान डंगोलको शीघ्र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी पर्सा क्षेत्र नम्बर १ का अच्युतम श्रेष्ठ, कमरुल होदा अन्सारी, समीम आलम, नवीनकुमार सिंह, नागनारायण पटेल, अजयकुमार यादव, सञ्जय तामाङ, रमन स्वरूप, अजिर अन्सारी, सहाबुद्दिन मन्सुरी, सर्फराज मियाँ, कविता हल्दिया, विकासकुमार वर्णवाल र अरवाज हवारी लगायत विभिन्न स्थानमा रहेका व्यक्तिहरूको समेत तत्काल खोज तथा उद्धार गर्न उनले माग गरेका छन् ।

सांसद पन्तले सम्माननीय सभामुखमार्फत सरकारको पुनः गम्भीर ध्यानाकर्षण गराउँदै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका छन् ।

भोटेकोशी बाढीको क्षतिबारे तत्काल श्वेतपत्र जारी गर्न प्रभु साहको माग

0

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, अर्थतन्त्रमा पर्ने प्रभाव र पुनर्स्थापनाको विषय समेटेर सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने सुझाव दिएका छन् ।

बिहीबार सरकारलाई सार्वजनिक सुझाव दिँदै साहले बाढीबाट भएको क्षतिको वास्तविक अवस्था सार्वजनिक गरी आगामी पुनर्निर्माण तथा पुनर्स्थापनाको स्पष्ट योजना ल्याएर नागरिकलाई आश्वस्त पार्न आग्रह गरेका हुन् ।

यस विपद्मा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले हालसम्म बेपत्ता रहेका नागरिकको सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

घरबारविहीन तथा रोजगारीविहीन हुन पुगेका बाढीपीडितको रोजगारी सुनिश्चित गरी शीघ्र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने माग गर्दै साहले सरकारसमक्ष १३ बुँदे सार्वजनिक सुझाव प्रस्तुत गरेका छन् ।

भोटेकोशीमा आएको विनाशकारी बाढीको वास्तविक कारणबारे विभिन्न अड्कलबाजी र अनुमान सार्वजनिक भइरहेका कारण जनमानसमा भ्रम सिर्जना भएको उल्लेख गर्दै उनले सरकारले घटनाको वैज्ञानिक अध्ययन गरी सत्य–तथ्य यथाशीघ्र सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

साथै, उच्च जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी त्यहाँ पूर्वसूचना, सतर्कता तथा नागरिक सुरक्षाका लागि ठोस योजना सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ ।

रसुवाको टिमुरे क्षेत्रमा गत वर्ष पनि बाढीले ठूलो क्षति पुर्याउँदा सयौँ सवारी साधन तथा विभिन्न संरचना ध्वस्त भएको घटना स्मरण गराउँदै साहले सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएका कारण यसपटक पनि सोही क्षेत्रमा ठूलो जनधनको क्षति भएको दाबी गरेका छन् ।

अब सरकारले जोखिमयुक्त क्षेत्रको पहिचान गरी उचित सुरक्षा व्यवस्था गर्नुपर्ने तथा जोखिममुक्त क्षेत्रमा मात्र निर्माण तथा सञ्चालन गर्न पाउने स्पष्ट नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

सरकारले उद्धार तथा राहत कार्यमा अपेक्षित गम्भीरता नदेखाएको जनगुनासो रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर राहत, उद्धार र पुनर्स्थापनाको काम अघि बढाउन सुझाव दिएका छन् ।

साहले प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा आवश्यक समन्वयकारी भूमिका नखेलेको टिप्पणीसमेत गरेका छन् । सामाजिक सञ्जालमार्फत दैनिक गतिविधिको जानकारी मात्र दिँदा पीडित परिवार निराश भएको उनको आरोप छ ।

बेपत्ता नागरिकका परिवारले एक सातासम्म पनि आफ्ना आफन्तको अवस्था थाहा नपाउँदा पीडादायी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई पीडित परिवारको साथमा उभिन तथा प्रभावित क्षेत्रमा पुगेर उनीहरूलाई आश्वस्त पार्न आग्रह गरेका छन् ।

“प्रधानमन्त्रीले यस्तो बेलामा पीडितहरूको संवेदनशीलता बुझ्नुपर्छ । गम्भीरता देखाउनुपर्छ,” साहले भने ।

संसद्मा लिखित मन्तव्य वाचन गरेर अन्य दलहरूसँग संवाद नगर्ने तथा विपत्तिको समयमा समेत राजनीतिक दलहरूसँग आवश्यक समन्वय नगर्दा गलत सन्देश गएको साहको भनाइ छ ।

उनले सरकारले विपद्प्रति गम्भीरता देखाउँदै सबै सरोकारवालासँग समन्वय गरी उद्धार, राहत, पुनर्स्थापना र दीर्घकालीन जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।