Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 40

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

0

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा आयोजित कार्यशालामा सहभागी सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, जोखिम पहिचान, प्रारम्भिक सूचना प्रणाली तथा समुदायको सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा आयोजित कार्यशालामा निकुञ्ज, डिभिजन वन कार्यालय बारा र पर्साका अधिकारी, साझेदारी तथा सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, निकुञ्ज सुरक्षार्थ खटिएको गणका प्रतिनिधि तथा संरक्षणका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

कार्यशालामा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बाघको सङ्ख्या बढ्नु मात्र संरक्षणको सफलता नभई बाघसँगै बस्ने समुदाय सुरक्षित र संरक्षणप्रति सकारात्मक हुनु पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँका अनुसार सन् २०२२ मा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वयस्क बाघ रहेकामा सन् २०२६ मा उक्त सङ्ख्या बढेर ७१ पुगेको छ । बाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापन र मानव सुरक्षाको जिम्मेवारीसमेत बढेको उहाँले बताउनुभयो ।

प्रमुख संरक्षण अधिकृत खतिवडाले पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण व्यवस्थापनलाई अन्तरराष्ट्रिय मापदण्डअनुकूल बनाउन ‘संरक्षण सुनिश्चितता बाघ संरक्षण मापदण्ड ९क्याट्स०’ अन्तर्गत मान्यता प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । त्यसका लागि निकुञ्जको संरक्षण व्यवस्थापन प्रणालीको मूल्याङ्कन, विद्यमान अवस्थाको समीक्षा तथा आवश्यक सुधारका काम अघि बढाइएको उहाँले बताउनुभयो ।

“बाघ–मित्र अभियानलाई जनचेतनामूलक कार्यक्रमका रूपमा मात्र सीमित नगरी जोखिम पहिचान, प्रारम्भिक सूचना, समुदाय परिचालन, सुरक्षित व्यवहार र द्वन्द्व न्यूनीकरणसँग जोड्नुपर्छ”, उहाँले भन्नुभयो । मानव–बाघ द्वन्द्व न्यूनीकरण निकुञ्जको मात्र जिम्मेवारी नभई वन कार्यालय, स्थानीय तह, समुदाय, सुरक्षा निकाय तथा संरक्षण साझेदार सबैको साझा दायित्व भएको उहाँले उल्लेख गर्नुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सीताराम अर्यालले संरक्षणसँगै स्थानीय समुदायको सुरक्षा, सहभागिता र संरक्षणबाट प्राप्त लाभ सुनिश्चित गर्नुपर्ने बताउनुभयो । निकुञ्ज र समुदायबीच निरन्तर संवाद तथा स्थानीय ज्ञानको उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जुलोजिकल सोसाइटी अफ लण्डन ९जेडएसएल० नेपालका क्षेत्रीय अधिकृत प्रचण्ड महर्जनले मानव–बाघ द्वन्द्वको जोखिम, समुदायको सचेतना, प्रारम्भिक सूचना प्रणाली तथा सरोकार भएका निकायबीचको समन्वयका विषयमा प्रस्तुति दिनुभएको थियो ।

त्यसैगरी निकुञ्जका संरक्षण अधिकृत सन्तोष भगतले बाघ–मित्र अभियानको स्थलगत अनुभव, बाघको गतिविधि तथा जोखिमयुक्त क्षेत्रबारे जानकारी गराउँदै समयमै सूचना प्रवाह, नियमित निगरानी र तत्काल प्रतिक्रिया संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

कार्यशालामा सहभागी वन कार्यालय, वन उपभोक्ता समूह, मध्यवर्ती क्षेत्र, सुरक्षा निकाय तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, सूचना आदानप्रदान, जोखिम पहिचान, समुदायको सहभागिता तथा द्वन्द्वको अवस्थामा तत्काल प्रतिक्रिया संयन्त्रलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि हुँदै गएको अवस्थामा बाघसँगै मानिसलाई सुरक्षित राख्दै दीर्घकालीन सहअस्तित्व कायम गर्नु संरक्षणको प्रमुख चुनौती बनेको छ ।

रसुवा र नुवाकोटमै पुगेर बाढीपीडित परिवारलाई जेनजी पर्साद्वारा राहत वितरण

0

वीरगंज । जेन जि पर्साको टोलीले रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा समस्याबारे जानकारी लिँदै राहत सामग्री वितरण गरेको छ।

जेन जि पर्साका संयोजक विशेष साहको नेतृत्वमा पुगेको टोलीले बाढीपीडितहरू अस्थायी रूपमा बसोबास गरिरहेको स्थानमै पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो। उक्त स्थानमा हाल करिब ३०० जना बाढीपीडित बसोबास गरिरहेको जनाइएको छ।

पीडित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको तत्काल आवश्यकता, समस्या तथा अवस्थाबारे जानकारी लिएपछि जेन जि पर्साले चामल, चिउरा, बिस्कुट, फ्रुटी लगायतका खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ।

राहत सामग्री संकलन तथा व्यवस्थापन अभियानमा सहयोग गर्ने सम्पूर्ण वीरगञ्जवासी तथा पर्सावासीप्रति जेन जि पर्साले हार्दिक आभार व्यक्त गरेको छ।

जेन जि पर्साले बाढीपीडित परिवारको वास्तविक अवस्था बुझ्दै आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म सहयोगलाई निरन्तरता दिने जनाएको छ। साथै, पीडितहरूको आवश्यकतासँग सम्बन्धित विषयमा सम्बन्धित निकायसँग पहल तथा समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ।

“पीडितको पीडा बुझ्ने, आवश्यकतामा साथ दिने र संकटमा सहयोग गर्ने” उद्देश्यसहित जेन जि पर्साले आफ्नो मानवीय सहायता अभियानलाई निरन्तरता दिएको जनाएको छ।

भारतीय कुखुरा तस्करी रोक्न माग गर्दै रौतहटमा किसानकाे आमरण अनशन

0

रौतहट । भारतीय कुखुरा तथा चल्लाको अवैध तस्करी रोक्न र स्थानीय बजारमा कुखुराको मासुको मूल्यमा भइरहेको अनियमितता नियन्त्रण गर्न माग गर्दै रौतहटमा एक जना किसान आमरण अनशनमा बसेका छन्।

जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटका सचिव राधेश्याम साहले जिल्ला प्रशासन कार्यालय अगाडि शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन्।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायलाई पटक–पटक लिखित तथा मौखिक रूपमा समस्या समाधानका लागि आग्रह गरे पनि सुनुवाइ नभएपछि बाध्य भएर अनशनमा बसेको साहले बताएका छन्।

संघका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारतबाट दैनिक रूपमा अवैध रूपमा कुखुरा तथा चल्ला नेपाल भित्रिने गरेका छन्। यसका कारण स्वदेशी किसानले ठूलो लगानी गरेर उत्पादन गरेको कुखुरा बिक्री गर्न समस्या भइरहेको र कतिपय किसानको लगानीसमेत डुब्ने अवस्था आएको संघको दाबी छ।

संघले भारतीय कुखुरा तथा चल्लाको तस्करीमा प्रहरी प्रशासनकै संरक्षण रहेको आरोपसमेत लगाएको छ। यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भएको छैन।

त्यस्तै, स्थानीय बजारमा बिचौलिया तथा केही व्यवसायीका कारण कुखुराको मासुको मूल्यमा अनियमितता र कालोबजारी भइरहेको संघको आरोप छ। किसानहरूले बजारमा मासुको उचित मूल्य निर्धारण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

संघले भारतीय कुखुरा, चल्ला तथा मासुको अवैध तस्करी पूर्ण रूपमा रोक्न, तस्करीमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न तथा स्थानीय बजारमा कुखुराको मासुको मूल्य निर्धारण गरी कार्यान्वयन गर्न माग गरेको छ।

जिल्लाभित्रै पर्याप्त मात्रामा कुखुरा उत्पादन तथा आपूर्ति हुँदाहुँदै बाहिरबाट कुखुरा आयात हुँदा स्थानीय किसान तथा बजारमा प्रतिकूल असर परेको संघको भनाइ छ। त्यसैले जिल्लाबाहिरबाट हुने कुखुरा तथा चल्लाको आयात–निर्यातसम्बन्धी व्यवस्थासमेत पुनरावलोकन गर्न संघले माग गरेको छ।

लामो समयदेखि आफूहरूले उठाउँदै आएको समस्या समाधानप्रति सम्बन्धित निकाय गम्भीर नभएको भन्दै सचिव साहले माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने बताएका छन्।

भोटेकोशी बाढी : मधेसका १८० जना अझै बेपत्ता, ३८ जना सम्पर्कमा

0

वीरगन्ज । भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट प्रभावित क्षेत्रमा पुगेका २२० जनामध्ये १८० जना अझै सम्पर्कविहीन रहेका छन्। शुक्रबार सार्वजनिक विवरणअनुसार हालसम्म ३८ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् भने २ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जिल्लागत विवरणअनुसार पर्साका ४६ जनामध्ये ३ जना सम्पर्कमा आएका छन् भने ४३ जना अझै बेपत्ता छन्। बाराका ३० जनामध्ये ४ जना सम्पर्कमा आएका, एक जनाको मृत्यु भएको र २५ जना सम्पर्कविहीन छन्।

रौतहटका २० जनामध्ये ६ जना सम्पर्कमा आएका छन् भने १४ जना अझै बेपत्ता छन्। सर्लाहीका २७ जनामध्ये ६ जना सम्पर्कमा आए पनि २१ जनाको अवस्था अज्ञात छ। महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका र १० जना अझै सम्पर्कविहीन छन्।

धनुषाका १४ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने ७ जना अझै बेपत्ता छन्। सिरहाका १४ जनामध्ये २ जना सम्पर्कमा आएका र १२ जना सम्पर्कविहीन छन्।

सबैभन्दा बढी सप्तरीका ५२ जना सम्पर्कविहीन रहेको विवरण छ। त्यसमध्ये ३ जना सम्पर्कमा आएका, १ जनाको मृत्यु भएको र ४८ जना अझै सम्पर्कविहीन छन्।

यसैगरी, मधेस प्रदेशमा घर भई प्रहरी सेवामा कार्यरत १० जना प्रहरी कर्मचारीसमेत अझै सम्पर्कविहीन रहेको जनाइएको छ। पर्सा र रौतहटबाट ३–३ जना, सर्लाहीबाट ३ जना तथा धनुषा र सप्तरीबाट १–१ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।

बाढीपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि परिवारजनमा चिन्ता बढेको छ। बेपत्ता व्यक्तिको खोजी, पहिचान तथा परिवारसँग सम्पर्क गराउने कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायसँग आफन्तजनले आग्रह गरेका छन्।

जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी

0

जनकपुरधाम। जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनका विषयमा नेपाल र भारतबीच छलफल भएको छ ।

नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच यस विषयमा बिहीबार पहिलो चरणको छलफल भएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भारतको जयनगरस्थित रेल्वे स्टेशनको विश्रामगृहमा भएको बैठकमा रेल सेवा सञ्चालन गर्न आवश्यक पूर्वतयारीका विषयमा छलफल भएको थियो ।

उहाँहरुबीच रेल लिङ्क, सिग्नलिङ प्रणाली, अध्यागमन, भन्सार चेकपोस्ट, यात्रु सुविधा र सुरक्षा व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।

नेपालतर्फ नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा उहाँहरुबीच सैद्धान्तिक सहमति भएको छ ।

बैठकमा नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको सहभागिता रहेको प्रवन्ध सञ्चालक पराजुलीले जानकारी दिनुभयो । बैठकपछि दुवै देशका अधिकारीलेजयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गर्नुभएको थियो ।

जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपालकी विभूति सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको छ ।

रेल सेवा सञ्चालनपछि नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबीचको पर्यटन प्रवद्र्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन समेत सहयोग पुग्नेछ । हाल नेपालको बिजलपुराबाट जनकपुरधाम हुँदै भारतको जयनगरसम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

बाबु सम्पर्कविहीनः चार सन्तान विचल्ली

0

सप्तरी ।  सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उहाँका चार सन्तान विचल्लीमा परेका छन् ।

आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्युु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उहाँको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्दै आउनुभएको थियोे । आमा बिरामी हुँदा उपचार गर्ने क्रममा  ऋण लागेपछि रोजगारीका लागि त्यहाँ जानुभएको थियोे ।

“हामी कसको साहारामा बस्ने रु” विभा सदाले भन्नुभयो । अठार र २० वर्षका दुई दिदीहरूको विवाह भइसकेको छ । तेह्र वर्षीय छोरा सुभाष सदा आफन्त सहयोगमा बाबुको खोजीमा रसुवा जानुभएको छ ।

त्रिशूली थ्रिवि पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदासँगै सोही ठाउँका सुुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ ।

शिवकुमार सदाको चार जना छोराछोरी छन् । उहाँको बुबाआमा बूढाबूढी हुनुहुन्छ । पत्नी पनि बिरामी भएकाले घरको एक्लो साहार सम्पर्कविहीन हुनुभयो ।

सात जना परिवारको आहारासमेत खोसिएको उहाँकी पत्नी गुडिया सदाले बताउनुभयो । सुरेन्द्र सदाको पनि तीन छोराछोरी छन् । कमाउने साहारा सम्पर्कविहीन भएपछि घरमा चुहो बल्न छोडेको छ । पत्नी द्रोपतीदेवी सदाले बताउनुभयो ।

सोही ठाउँका सोही पावर हाउसमा कार्यरत अरूण सदा बाढी आउनुभन्दा एक हप्ता अगाडि घर आउनुभएको थियोे । पुनः त्यहीँ जाने तर्खरमा हुनुहुन्थ्यो । अचानक बाढी आएको सुनेपछि जान रोकिनुभएको थियो । यस सदा ९मुसहर० बस्तीका तीन जना युवा सम्पर्कविहीन भएसँगै उक्त टोल शोकमा डुबेको छ ।

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ ।

अध्यक्ष ओली नेतृत्वको टोलीले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीडितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुहुने पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो ।

एमालेले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनस्र्थापना सहयोग समिति गठन गरेको छ ।

अकल्पनीय एवं विनासकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनस्र्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमालेले रु एक करोड २० लाख सरकारको कोषमा सहयोग गर्ने घोषणा गरेको छ ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

गुठी संस्थानले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने

0

जनकपुरधाम । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र गुठीअन्तर्गत रहेका विभिन्न पोखरी तथा पोखरीका डिल अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने तयारी गरेको छ । गुठी संस्थान जनकपुरधामले आज सार्वजनिक सूचना जारी गर्दै गुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गरिरहेका संरचना हटाउन निर्देशन दिएको हो ।

पहिलो चरणमा सातवटा पोखरीको अतिक्रमण हटाएको गुठी संस्थानले दोस्रो चरणमा थप १५ वटा पोखरीको अतिक्रमित जग्गा खाली गराउने तयारी गरिएको गुठी संस्थान जनकपुरधामका प्रमुुख राजन कौशीले जानकारी दिनुभयो । उहाँ अनुसार दोस्रो चरणमा देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डलगायत पोखरी तथा तिनका डिलको अतिक्रमण हटाउने तयारी गरिएको छ ।

गुठी संस्थानले सार्वजनिक सूचनामार्फत सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना तथा अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिएको छ । निर्धारित समयभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत संस्थानले दिएको छ ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ कार्यान्वयन समितिको निर्णयका आधारमा उक्त सूचना जारी गरिएको गुठी संस्थानले जनाएको छ । यसअघि गुठी संस्थानले जनकपुरधामस्थित गोरधोई पोखरी, दशरथ तलाउ, बिसहारा पोखरीलगायत सातवटा पोखरीको अतिक्रमण डोजर चलाएर हटाएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

0

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गर्नुभएको छ । राष्ट्रपति पौडेलले भगवान् श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रप्रमुखको हैसियतमा प्रथम महिला सविता पौडेलसहित पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गर्नुभएको हो । फूल प्रसाद ग्रहणपछि उहाँले मन्दिरका पुजारीलाई दक्षिणा प्रदान गर्नुभयो ।

कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति कृष्ण मन्दिर पुग्नु हुँदा ललितपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री जगदीश खरेल, बागमती प्रदेशका कार्यवाहक सभामुख अप्सरा चापागाईँ, पूर्वमन्त्री मदुसुधन पौडेल, प्रेमभक्त महर्जन, प्रदेश सभासद रघुनाथ महर्जनसमेत उपस्थित भएर स्वागत गर्नुभएको थियो ।

मन्दिरमा दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गर्नुभएको थियोे । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरका साथै मुलुकभरका कृष्ण मन्दिरहरूमा आज दिनभर नै भगवान् श्रीकृष्णको पूजाआराधना गर्दै सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको थियो ।

हिन्दू धर्मअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ । श्रीकृष्ण जन्माष्टमी पर्वले धार्मिक आस्थासँगै नेपालको मौलिक कला, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई समेत उजागर गर्दै आएको छ ।

राजा सिद्धिनरसिंह मल्लको पालामा १७औँ शताब्दीमा निर्माण भएको पाटनको कृष्ण मन्दिरमा मल्लकालदेखि नै कृष्ण जन्माष्टमीमा राष्ट्राध्यक्षबाट विशेष पूजाआराधना हुँदै आएको धार्मिक, सांस्कृतिक परम्परा छ । राजतन्त्र रहँदा राजा र राजपरिवारले कृष्ण जन्माष्टमीमा मन्दिर दर्शन गर्ने चलन थियो । विसं २०६५ मा गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुखको भूमिकामा राष्ट्रपतिले उक्त परम्परालाई निरन्तरता दिने कार्य हुँदै आएको छ ।

बाढीपीडितका लागि साउथ जोन माविद्वारा १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग

0

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका अभिभावक तथा विद्यार्थीबाट स्वतःस्फूर्त रूपमा संकलित ४६ हजार १८२ रुपैयाँ, शिक्षक तथा कर्मचारीले आफ्नो एक दिनको तलब बराबर स्वेच्छिक रूपमा प्रदान गरेको ५७ हजार ८१६ रुपैयाँ तथा विद्यालयको तर्फबाट प्रदान गरिएको ५१ हजार ५५५ रुपैयाँ गरी कुल १ लाख ५५ हजार ५५३ रुपैयाँ सहयोग रकम जुटाइएको हो।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीका अनुसार बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि मानवीय भावनासहित शिक्षक–कर्मचारी, विद्यार्थी, अभिभावक तथा विद्यालय स्वयंले योगदान गरेका हुन्। शिक्षक तथा कर्मचारीले आफ्नो एक दिन बराबरको तलब स्वतःस्फूर्त रूपमा दान गरेका थिए भने विद्यार्थी तथा अभिभावकबाट पनि स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरिएको थियो।

विद्यालयको तर्फबाट प्रदान गरिएको ५१ हजार ५५५ रुपैयाँसहित संकलित सम्पूर्ण रकम प्याब्सन पर्साको खातामा जम्मा गरिएको विद्यालयका सहप्रधानाध्यापक अशोक संग्रौलाले जानकारी दिए।

संग्रौलाका अनुसार प्याब्सन पर्साले सदस्य विद्यालयहरूबाट यसरी संकलित रकम प्याब्सन केन्द्रको कोषमा जम्मा गर्नेछ। प्याब्सन केन्द्रले देशभरका सदस्य विद्यालय तथा विभिन्न स्रोतबाट संकलित सहयोग रकमलाई एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ।

प्रधानाध्यापक चौधरीले विपद्को समयमा मानवीय भावना देखाउँदै सहयोग गर्नुहुने सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरे। उनले दुःखमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै सुखमा मात्र होइन, दुःख र संकटका समयमा पनि एक–अर्काको साथमा उभिएर हातेमालो गर्दै अघि बढ्नुपर्ने सन्देश यस सहयोगले दिएको बताए।

विद्यालयले विपद्को यस घडीमा “मानवताका लागि मानवता” भन्ने भावनालाई आत्मसात् गर्दै गरेको सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धतालाई थप उजागर गरेको छ।