Date
बुध, जेष्ठ १३, २०८३
Wed, May 27, 2026
Home Blog Page 40

इरान–इजरायल–अमेरिका युद्ध: शान्ति अब विकल्प होइन, अपरिहार्य आवश्यकता

0

Nelson Mandela ने कहा था, “शांति कोई सपना नही, बल्कि उसे हासिल करना पडता है। लेकिन जब ताकतवर देश जंग को चुनते है, तो शांति सिर्फ एक अधूरा ख्वाब बनकर रह जाती है आजको विश्व परिदृश्यले यही कठोर यथार्थलाई पुनः उजागर गरिरहेको छ, जहाँ शक्ति, प्रभुत्व र रणनीतिक स्वार्थले मानवता, नैतिकता र अन्तर्राष्ट्रिय कानुनलाई पछाडि पारिरहेको अवस्था देखिरहेका छौ। Iran, Israel र United States बीचको टकराव अहिले खुला युद्धको स्वरूपमा बदलिएको छ। भईरहेको युद्ध केवल भूराजनीतिक मात्र होइन, यो विश्व शान्तिको आधारलाई चुनौती दिने गम्भीर संकेत देखिरहेको छ।जब शक्तिशाली देशहरू आफ्ना स्वार्थ पुरा गर्न युद्धलाई वैधता दिन थाल्छन्, तब साना राष्ट्रहरू, कमजोर समुदायहरू र निर्दोष नागरिकहरू यसको सबैभन्दा ठुलो मुल्य चुकाउन बाध्य हुन्छन। यसै स्वरुपमा आजको विश्व फेरि एउटा गम्भीर संकटको मोडमा पुगेको छ।मध्यपूर्वमा फैलिएको युद्धले केवल क्षेत्रीय स्थिरतालाई मात्र होइन, सम्पुर्ण विश्व राजनीतिलाई नै अस्थिर बनाइरहेको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वको राजनीतिक नक्सा नै हल्लिएको छ।आक्रमणको पहिलो लहरमा इरानका मिसाइल संरचना, सैन्य आधार, आणविक कार्यक्रमसँग जोडिएका केन्द्रहरू र राजधानी Tehran सहित विभिन्न स्थानहरूलाई लक्ष्य बनाइएको थियो।जुन आक्रमणको सबैभन्दा ठुलो घटना भनेको इरानका सर्वोच्च नेता Ali Khamenei मारिए। सन १९८९ देखि इरानको नेतृत्व गर्दै आएका खामेनेई आक्रमणको पहिलो चरणमै मारिएका थिए। यसै क्रममा इजरायलको सैन्य दाबी अनुसार सो आक्रमणमा इरानको शक्तिशाली सैन्य संस्था Islamic Revolutionary Guard Corps (IRGC) का धेरै वरिष्ठ कमाण्डरहरू पनि मारिएका थिए। खामेनेईको मृत्युले इरानको राजनीतिक संरचनामा ठूलो झट्का दिएको छ भने मार्च ८ मा उनका छोरा Mojtaba Khamenei लाई नयाँ सर्वोच्च नेता घोषणा गरियो। तर युद्धका क्रममा उनी पनि घाइते भएको दाबी अमेरिकाले गरे तापनि इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।

इरानले त्यस आक्रमणलाई अवैध, उक्साहटपूर्ण र अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै कडा जवाफ दिरहेको छ। इरानले मिसाइल र ड्रोन आक्रमण गरेर इजरायलका सरकारी तथा सैन्य लक्ष्यहरूमा प्रहार गरिरहेको छ। साथै अमेरिकासँग गठबन्धन रहेका खाडी क्षेत्रका देशहरूमा रहेका सैन्य आधारहरूलाई पनि लक्ष्य बनाउदै मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। कतार, बहराइन, जोर्डन, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरबजस्ता देशहरूमा रहेका अमेरिकी सैन्य संरचनाहरू समेत सो आक्रमणको दायरामा आएका छन।

युद्ध सुरु भएको केही दिनमै यसको असर केवल इरान र इजरायलमा सीमित रहेको छैन। युद्धले क्षेत्रीय स्वरूप लिन थालेको छ। Lebanon मा इरान समर्थित समुह Hezbollah ले इजरायलमाथि रकेट आक्रमण गरेपछि नयाँ मोर्चा खुलेको छ। त्यसपछि इजरायलले बेरुत र दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ।

यसैबीच अर्को नाटकीय घटना पनि भएको छ। मार्च ४ मा हिन्द महासागर क्षेत्रमा श्रीलंकाको नजिक इरानको एउटा युद्धपोत अमेरिकी पनडुब्बीले डुबाएको रिपोर्ट आएको छ, जसमा कम्तीमा ८७ जना सैनिक मारिएका छन। यो घटनाले युद्ध केवल मध्यपूर्वमा सीमित नरही अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पनि फैलिसकेको छ भन्ने संकेत दिएको छ।

यो युद्धलाई इतिहासको दृष्टिकोणबाट हेर्दा यो युद्ध अचानक सुरु भएको पनि होइन। यसको जरा धेरै गहिरो ऐतिहासिक, राजनीतिक, आर्थिक र भू-राजनीतिक कारणहरूमा गाडिएको छ। दशकौँदेखि बढ्दै आएको अविश्वास, प्रतिस्पर्धा, क्षेत्रीय प्रभुत्वको होड र ऊर्जा स्रोतको नियन्त्रणको संघर्षले अन्ततः यो युद्धलाई जन्म दिएको हो। मध्यपूर्व लामो समयदेखि विश्व शक्तिहरूको रणनीतिक केन्द्र रहदै आएको छ, किनभने त्यहाँको भूगोल, धार्मिक राजनीति र ऊर्जा स्रोतहरूले विश्व अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ।

यस युद्धको ऐतिहासिक जरा विशेषगरी सन १९७९ मा भएको Iranian Revolution पछि सुरु भएको हो। उक्त क्रान्तिपछि इरानमा इस्लामिक गणतन्त्र स्थापना भएको थियो र नयाँ नेतृत्वले पश्चिमी शक्तिहरू, विशेषगरी अमेरिकासँगको सम्बन्ध तोड्दै स्वतन्त्र राजनीतिक मार्ग रोजेको थियो। त्यसपछि इरानले इजरायललाई वैध राष्ट्रको रूपमा स्वीकार गर्न अस्वीकार गर्‍यो र उसलाई मध्यपूर्वको अस्थिरताको मुख्य कारण भन्दै आलोचना गर्न थाल्यो। सोही समयदेखि दुबै देशबीचको सम्बन्ध शत्रुतापूर्ण बन्न थाल्यो। यद्यपि धेरै दशकसम्म उनीहरूबीच प्रत्यक्ष युद्ध नभएपनि छायाँ युद्ध, गुप्त अपरेशन, साइबर आक्रमण र विभिन्न क्षेत्रीय समूहहरूको माध्यमबाट अप्रत्यक्ष संघर्ष निरन्तर चलिरहेको थियो।

यस युद्धको अर्को महत्वपूर्ण पक्ष भनेको इरानको आणविक कार्यक्रम पनि हो। अमेरिका र इजरायलले लामो समयदेखि इरानले गुप्त रूपमा आणविक हतियार विकास गर्न खोजिरहेको आरोप लगाउँदै आएको थियो। उनीहरूको तर्क अनुसार यदि इरानले आणविक हतियार हासिल गर्‍यो भने मध्यपूर्वको शक्ति सन्तुलन पुर्ण रूपमा बदलिन सक्छ र इजरायलको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन सक्छ। तर इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको थियो। सन् २०१५ मा इरान र विश्व शक्तिहरूबीच भएको Joint Comprehensive Plan of Action सम्झौताले केही समयका लागि तनाव कम गरेको थियो। यस सम्झौताअनुसार इरानले आफ्नो आणविक गतिविधि सीमित गर्ने सहमति जनाएको थियो र बदलामा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू हटाइने व्यवस्था गरिएको थियो। तर पछि सन् २०१८ मा अमेरिका उक्त सम्झौताबाट बाहिरिएपछि स्थिति फेरि तनावपुर्ण बन्न पुगेको थियो र आर्थिक प्रतिबन्ध तथा कुटनीतिक दबाब बढ्न थालेको थियो।

मध्यपूर्वको राजनीतिक संरचना वास्तवमा शक्ति सन्तुलनको जटिल खेल हो। इरान  क्षेत्रीय शक्तिको रूपमा आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ भने इजरायल आफ्नो सुरक्षा र सैन्य प्रभुत्व कायम राख्न चाहन्छ। अर्कोतर्फ अमेरिका  लामो समयदेखि मध्यपूर्वमा आफ्नो रणनीतिक उपस्थितिलाई कायम राख्न चाहन्छ, किनभने यो क्षेत्र विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण छ। अमेरिका इजरायलको सबैभन्दा ठूलो सहयोगी मानिन्छ, जसका कारण इरान इजरायलको टकरावमा अमेरिका पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने परिस्थिति सिर्जना हुन्छ।

ऊर्जा राजनीति पनि यस युद्धको अत्यन्त महत्वपूर्ण पक्ष हो। मध्यपूर्व विश्वको सबैभन्दा ठूलो तेल भण्डार भएको क्षेत्र हो, र यहाँको ऊर्जा स्रोतले विश्व अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा प्रभावित गर्छ। इरान विश्वका प्रमुख तेल उत्पादक राष्ट्रहरूमध्ये एक हो र यसको तेल निर्यातको मुख्य केन्द्र Kharg Island हो। यदि युद्धका कारण यस्तो ऊर्जा संरचना नष्ट भयो भने त्यसको प्रभाव केवल इरानमा मात्र होइन, सम्पूर्ण विश्व अर्थतन्त्रमा देखिन्छ। तेल उत्पादन र निर्यातमा अवरोध आएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्छ, जसले विश्वव्यापी महँगी र आर्थिक संकट उत्पन्न गराउन सक्छ।

यसैगरी समुद्री मार्गहरूको नियन्त्रण पनि मध्यपूर्वको भू-राजनीतिक संघर्षको महत्वपूर्ण पक्ष हो। विशेषगरी Strait of Hormuz विश्वको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक हो। विश्वको २०% ठुलो हिस्सा तेल यही मार्गबाट अन्तर्राष्ट्रिय बजारमा पुग्छ। यदि युद्धका कारण यो समुद्री मार्ग पूर्ण रुपमा अवरुद्ध भयो भने विश्व व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर संकट आउन सक्छ। यही कारणले अमेरिका र अन्य शक्तिशाली देशहरूले यस क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति बलियो बनाइरहेका छन।

यसरी यस युद्धलाई विश्व शक्ति प्रतिस्पर्धाको दृष्टिकोणबाट पनि हेर्न सकिन्छ। आजको विश्व बहुध्रुवीय शक्तितर्फ अघि बढिरहेको छ, जहाँ Russia र China जस्ता देशहरू पनि मध्यपूर्वको राजनीति र ऊर्जा रणनीतिमा सक्रिय रूपमा रुचि राखिरहेका छन। यदि मध्यपूर्वमा ठुलो युद्ध फैलियो भने त्यसले विश्व शक्ति सन्तुलनलाई नै प्रभावित गर्न सक्छ।

अर्को महत्वपूर्ण पक्ष भनेको “प्रोक्सी युद्ध” को अवधारणा हो। मध्यपूर्वका धेरै संघर्षहरू प्रत्यक्ष रूपमा नभई विभिन्न स्थानीय समूहहरूको माध्यमबाट सञ्चालन हुने गरेका छन्। उदाहरणका लागि Lebanon मा सक्रिय Hezbollah जस्ता समुहहरूलाई इरानसँग नजिक मानिन्छ, जबकि इजरायलले तिनीहरूलाई आफ्नो सुरक्षाका लागि गम्भीर खतरा मान्दै आएका छन। यस्तो प्रोक्सी युद्धले क्षेत्रीय संघर्षलाई अझ जटिल बनाइदिन्छ, किनभने यसमा धेरै देशहरू अप्रत्यक्ष रूपमा संलग्न हुन्छन।

जब हामी कुनै पनि युद्धको कुरा गर्छौ, त्यो केवल शक्ति, सीमा वा प्रभुत्वको प्रतिस्पर्धामा सीमित हुँदैन त्यसको सबैभन्दा भयावह रूप मानव जीवनमाथि पर्ने असर हो। Iran मा United States र Israel द्वारा गरिएको आक्रमणका विभिन्न स्रोतका तथ्यांक हेर्दा ती युद्धको क्रूरता नाङ्गो रूपमा देखिरहेको छ। विभिन्न स्रोतहरूअनुसार सयौँ महिला र बालबालिकाहरुको ज्यान गएको छ, जसले देखाउँछ कि युद्धको पहिलो र सबैभन्दा ठुलो शिकार निर्दोष नागरिक नै हुन्छन।अझ गम्भीर तथ्य के छ भने Human Rights Activists News Agency (HRANA) को पछिल्लो विवरणअनुसार ३,००० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसमा कम्तीमा १,३१९ जना सर्वसाधारण नागरिकहरु छन र तीमध्ये २०६ बालबालिका नै रहेका छन। यसै तथ्यांकले १,१२२ सैनिकको मृत्यु भएको देखाएको छ भने ५९९ जनाको अवस्था (नागरिक वा सैनिक) स्पष्ट रूपमा छुट्याउन सकिएको छैन।

यसरी जब विद्यालय, घर, अस्पताल र आवासीय क्षेत्रहरूमा आक्रमण हुन्छ र सयौँ बालबालिकाहरूले ज्यान गुमाउँछन, तब “collateral damage” भन्ने शब्दले वास्तविक पीडालाई ढाक्न सक्छ? अन्तर्राष्ट्रिय मानवीय कानुन, विशेषगरी International Humanitarian Law, ले नागरिक र सैनिकबीच principle of distinction कायम गर्नुपर्ने साथै नागरिक संरचनाहरूलाई जोगाउनुपर्ने व्यवस्था गरेको छ। तर यस्ता घटनाहरूले देखाउँछ कि व्यवहारमा यी कानुनी सिद्धान्तहरू बारम्बार उल्लंघन भइरहेका अवस्था छ।

युद्धको नैतिक प्रश्न यहाँ अझ तीव्र रूपमा उठिरहेको छ की यदि कुनै युद्धले निर्दोष बालबालिकाको ज्यान लिन्छ भने, के त्यो युद्ध न्यायसंगत हुन सक्छ?  यदि शक्तिशाली राष्ट्रहरूले आफ्नो सुरक्षाको नाममा कमजोर नागरिकहरूको जीवनलाई जोखिममा पार्छन भने,  के त्यो अन्तर्राष्ट्रिय कानुनको सम्मान हो?  United Nations Charter र Geneva Convention ले यस्ता कार्यहरूलाई रोक्न स्पष्ट मापदण्ड तोकेको भए पनि  कार्यान्वयनको स्तरमा गम्भीर कमजोरी किन देखिएको छ?

अर्कोतर्फ, यस्ता आक्रमणहरूले केवल जीवन हानि मात्र होइन, सम्पुर्ण सामाजिक संरचना नै ध्वस्त पारिरहेका छन। स्वास्थ्य सेवा प्रणाली प्रभावित बनाईरहेका छन, मानिसहरू विस्थापित भैरहेका छन, बालबालिकाको भविष्य अन्धकारमय बन्दै गएको छ र समाज दीर्घकालीन मनोवैज्ञानिक आघातको सिकार बनिरहेका छन। यसरी हेर्दा मानव अधिकार केवल कानुनी अवधारणा मात्र नभई जीवनको आधारभुत आवश्यकता हो, जसलाई युद्धले निरन्तर चुनौती दिइरहेको छ।

यो युद्धले विश्व समुदायलाई एउटा गम्भीर प्रश्न पनि सोधिरहेको छ, के अन्तर्राष्ट्रिय कानुन वास्तवमै सबैका लागि समान रूपमा लागु भैरहेको छ वा शक्तिशाली राष्ट्रहरूका लागि मात्र एउटा औपचारिकता हो?  यदि ३,००० भन्दा बढी मानिसको ज्यान जाने घटनापछि पनि विश्व मौन रहन्छ भने, त्यो मौनता स्वयं अन्यायको सहमति भित्र पर्छ कि पर्दैन? आजको आवश्यकता केवल सहानुभुति व्यक्त गर्ने हो?

यो युद्धलाई नेपालको दृष्टिकोणबाट जोडेर हेर्दा यो युद्ध हाम्रो लागि टाढाको घटना जस्तो लाग्न सक्छ। तर विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको युगमा कुनै पनि युद्ध वास्तवमा टाढा हुँदैन। यसै युद्धको कारणले नेपाल जस्तो आयातमा निर्भर देशका लागि तेल र ग्यासको मुल्य वृद्धि भएर ठुलो आर्थिक चुनौती बन्न पुगेको छ। पेट्रोलियम पदार्थ महँगो भएर यातायात, कृषि, उद्योग र दैनिक जीवनको लागत बढ्न थालेको छ। अर्को महत्वपूर्ण पक्ष भनेको मध्यपूर्वमा काम गर्ने लाखौँ नेपाली श्रमिकहरूको सुरक्षामा समस्या हुन गईरहेको छ। यसरी यदि क्षेत्रीय युद्ध फैलियो भने उनीहरूको रोजगारी र सुरक्षामा गम्भीर असर पर्न सक्ने सम्भावना बढेको छ। यसरी मधेश प्रदेशको दृष्टिकोणबाट हेर्दा यो युद्ध अझ संवेदनशील विषय बनेको छ। मधेशका धेरै युवाहरू रोजगारीका लागि खाडी मुलुकहरूमा काम गरिरहेका छन र उनीहरूको कमाइले हजारौँ परिवारको जीवन धानेको छ। जब मध्यपूर्व अस्थिर हुन्छ भने त्यसको असर मधेशका घरघरमा पर्ने रेमिट्यान्समा देखिन्छ। जब तेलको मूल्य बढ्छ भने त्यसको असर सीमावर्ती बजार र दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा देखिन्छ। त्यसैले मधेशका लागि यस्तो युद्ध केवल अन्तर्राष्ट्रिय समाचारको विषय होइन; यो हजारौँ परिवारको आर्थिक सुरक्षासँग जोडिएको यथार्थ हो।

यस युद्धको सन्दर्भमा सम्भावित भविष्यको कुरा गर्दा यो युद्धको भविष्य तीन सम्भावित दिशामा जान सक्ने सम्भावना देखिएको छ। पहिलो सम्भावना, अन्तर्राष्ट्रिय कुटनीतिक दबाबका कारण युद्ध रोकिन सक्छ। संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अन्य शक्तिशाली देशहरूले मध्यस्थता गरेर शान्ति वार्ता सुरु गराउन सक्छन। दोस्रो सम्भावना, यो युद्ध मध्यपूर्वका अन्य देशहरूमा फैलिन सक्छ। यदि लेबनान, सिरिया, इराक वा यमनका विभिन्न सशस्त्र समूहहरू सक्रिय भए भने यो क्षेत्रीय युद्धमा बदलिन सक्छ। तेस्रो सम्भावना, यदि अमेरिका, रुस, चीन जस्ता महाशक्तिहरू प्रत्यक्ष रूपमा संलग्न भए भने यो संघर्ष विश्वव्यापी युद्धको स्वरूप लिन सक्छ। यद्यपि अहिलेका अवस्थामा सबै शक्तिहरू यस्तो ठुलो युद्धबाट बच्न चाहेका छन।

अन्ततः, आजको विश्वले एउटा निर्णायक मोडमा उभिएको अनुभूति गरिरहेको छ।कुनै पनि युद्धले केवल सीमा र सत्ता परिवर्तनको कथा लेखिरहेको हुदैन, यसले मानवताको आधारभूत मूल्यहरूलाई नै चुनौती दिएको हुन्छ।हजारौँ निर्दोष नागरिक, बालबालिका र सर्वसाधारणको ज्यान गुमिरहेको वर्तमान अवस्थामा शान्ति केवल राजनीतिक एजेन्डा होइन, मानव अस्तित्वको अपरिहार्य आवश्यकता पनि हो। यस सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायको भुमिका झन महत्वपूर्ण देखिन्छ।यदि United Nations जस्ता संस्थाहरू प्रभावकारी रूपमा हस्तक्षेप गर्न असफल हुन्छन भने अन्तर्राष्ट्रिय कानुन र मानवीय मुल्यहरू केवल कागजी सिद्धान्तमा सीमित हुने खतरा बढ्दै जान्छ। शक्तिशाली राष्ट्रहरूले आफ्नो जिम्मेवारीबाट पन्छिनु होइन, बरु अझ बढी उत्तरदायी बन्नुपर्ने समय यही हो। नेपाल जस्तो सानो र विकासशील राष्ट्रका लागि पनि यो युद्ध एउटा चेतावनी हो कि विश्व अस्थिर हुँदा त्यसको प्रभाव हरेक कुनामा पुग्छ। आर्थिक संकट, श्रमिकहरूको असुरक्षा र सामाजिक प्रभावहरू हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिन्छन। त्यसैले शान्तिको पक्षमा आवाज उठाउनु केवल नैतिक कर्तव्य मात्र होइन, हाम्रो आफ्नै अस्तित्व र भविष्यसँग जोडिएको आवश्यकता पनि हो। अन्त्यमा, Nelson Mandela को विचारलाई पुनः स्मरण गर्नु सान्दर्भिक हुन्छ, शान्ति आफैंमा आउने वस्तु होइन, त्यसका लागि प्रयास गर्नुपर्छ। यदि विश्व समुदायले आज पनि युद्धभन्दा शान्तिलाई प्राथमिकता दिन सकेन भने, भोलिको पुस्ताले हामीलाई क्षमा गर्ने छैन। शान्ति केवल विकल्प होइन, अब अपरिहार्य आवश्यकता हो।

– कन्हैया चौरसिया (कानुन क्षेत्र)
                                                                                                            लेखक

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साद्वारा भ्रामक उम्मेदवारी प्रचारप्रति चेतावनी

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले सामाजिक सञ्जालमा फैलिएको भ्रामक उम्मेदवारी प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका अनुसार, विगत केही दिनदेखि केही व्यक्ति तथा समूहहरूले आफूलाई रास्वपाको तर्फबाट वीरगंज महानगरपालिका लगायत अन्य स्थानीय तहका मेयर तथा वडाअध्यक्ष पदका उम्मेदवार भनेर फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन्।

यस विषयमा पार्टीले आधिकारिक विज्ञप्ति जारी गर्दै आजको मितिदेखि यस्ता गलत गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सचेत गराएको छ। रास्वपा पर्साले हालसम्म कुनै पनि पदका लागि कसैलाई उम्मेदवार नतोकिएको स्पष्ट पारेको छ।

जिल्ला सचिव सुदिश प्रजापतिले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले यस्ता भ्रामक, कपोलकल्पित र गलत सूचनामा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गर्दै त्यस्ता व्यक्ति तथा समूहबाट सतर्क रहन समेत अनुरोध गरेको छ।

 

मधेश प्रदेशमा उत्कृष्ट प्रदर्शन, इप्रका पोखरियाका प्रमुख पौडेल पुरस्कृत

वीरगंज । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल नगद पुरस्कारसहित सम्मानित भएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित ढंगले सम्पन्न गराउन सफल भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले उनलाई सम्मान गरेको हो।

निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सम्भावित जोखिमहरूलाई समयमै नियन्त्रणमा लिन उनले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

मधेश प्रदेशभर रहेका इलाका प्रहरी कार्यालयका प्रमुखहरूमध्येबाट उत्कृष्ट कार्यसम्पादनका आधारमा छनोट भई प्रहरी निरीक्षक पौडेल एक्लै पुरस्कृत हुन सफल भएका हुन्। यसले उनको नेतृत्व क्षमता, कार्यकुशलता तथा जिम्मेवारीप्रतिको प्रतिबद्धता झल्काएको प्रहरी स्रोतले जनाएको छ।

स्थानीय तहदेखि मतदाता र सरोकारवालासँग समन्वय गर्दै शान्तिपूर्ण वातावरण निर्माण गर्न उनले विशेष पहल गरेका थिए। निर्वाचनलाई निष्पक्ष र भयमुक्त बनाउन उनले खटाएको सुरक्षा व्यवस्थापन प्रभावकारी देखिएको थियो।

उक्त सम्मानले प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई थप प्रेरणा मिल्ने विश्वास लिइएको छ। साथै, यसले भविष्यमा पनि जिम्मेवारीपूर्वक काम गर्न उत्प्रेरणा प्रदान गरेको प्रहरी निरीक्षक पौडेलले वताए ।

रहबरले प्रचण्डलाई भने: “भोट होइन, नेताको चरित्र जाँच्नुस्”

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय सांसद रहबर अन्सारी ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भोटभन्दा चरित्र जाँच्न सुझाव दिएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक दाहालले घण्टीमा मतदान गर्ने केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्मलाई कारबाही गर्ने चेतावनी दिएपछि सांसद अन्सारीले त्यसप्रति प्रतिक्रिया जनाएका हुन्। उनले गोप्य मतदान लोकतन्त्रको आत्मा भएकाले यसप्रति शंका नभई सम्मान गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत अन्सारीले लेखेका छन्, “साँच्चै सुधार गर्न चाहनुहुन्छ भने आम्दानी बिना विलासी जीवन बाँच्ने नेताहरू, व्यवसायीलाई धम्की दिएर चन्दा असुल्ने सङ्गठित सदस्यहरूलाई कारबाही गर्नुस्।”

उनले थप्दै फाइल ठेक्का लिएर सिंहदरबार धाउने दलालहरू, सरकारी कर्मचारीसँग तेलको कुपन माग्नेहरू तथा कमिसनमा योजना बेच्ने प्रतिनिधिहरूमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन्।

अन्सारी यसअघि तत्कालीन माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिन्थे। २०७९ को निर्वाचनमा उनी माओवादी केन्द्रबाट पर्सा क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

पर्सामा ७५ लिटर घरेलु मदिरा बरामद, सशस्त्र प्रहरीले नष्ट गर्‍यो

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. लहावरथकरी पर्साले अवैध रूपमा भारततर्फ लैजान लागिएको घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ।

शुक्रबार बिहान करिब १०:३० बजे पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ धोवियाटीला स्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञानबहादुर आले मगरको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि चेकजाँच गरेको थियो।

सो क्रममा नेपालबाट साइकिलमा राखेर भारततर्फ अवैध रूपमा लैजान लागिएको करिब ७५ लिटर घरेलु मदिरा फेला परेको थियो। प्रहरी टोलीलाई देख्नेबित्तिकै मदिरा ओसारपसारमा संलग्न व्यक्ति साइकिलसहित फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको करिब ७५ लिटर घरेलु मदिरा (अन्दाजी मूल्य रु. ७,५००) लाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानिय पत्रकार तथा भद्रभलाद्मीहरूको रोहवरमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथकरीको परिसरभित्रै नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

मदिरा नष्ट गर्दा पकाहाँमैनपुर गाउँपालिका–४ का वडा अध्यक्ष ढेडी प्रसाद यादव, सशस्त्र प्रहरी नायब निरीक्षक ज्ञानबहादुर आले मगर, पत्रकार छहु साह तथा प्रहरी सहायक निरीक्षक सन्तोष भण्डारीलगायतको उपस्थिति रहेको थियो।

मधेशी पहिलाे पटक प्रधानमन्त्री बन्ने पक्का भएकाे भन्दै रुपेश पाण्डेयद्वारा बालेनलाई बधाई

वीरगंज । नेकपा एमालेका नेता रुपेश कुमार पाण्डेयले बालेन साह नेपालका प्रधानमन्त्री हुने अब पक्का भएको भन्दै खुशी व्यक्त गरेका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेबाट पर्सा क्षेत्र नं. ३ का उम्मेदवारसमेत रहेका नेता पाण्डेयले पहिलोपटक मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने अवस्था सिर्जना भएको उल्लेख गरे । उनले यसलाई ऐतिहासिक राजनीतिक रूपान्तरणको रूपमा व्याख्या गरेका छन् ।

“पहिलोपटक एउटा मधेशी व्यक्ति देशको प्रधानमन्त्री हुँदैछ । यो असली र ऐतिहासिक राजनीतिक रूपान्तरण हो, पुस्तान्तरण मात्र होइन,” उनले भने।

उनले देशी तथा विदेशी सबै पक्षलाई यो यथार्थलाई स्वीकार गर्न आग्रह गर्दै आफू निर्वाचनमा पराजित भए पनि अत्यन्तै खुशी भएको बताए । पाण्डेयले बालेन साहलाई बधाई दिँदै आगामी नेतृत्वप्रति आशा समेत व्यक्त गरेका छन् ।

वीरगंज भन्सार नाकामा २० लाखभन्दा बढी अवैध नगदसहित एक जना पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले वीरगंज भन्सार क्षेत्रबाट २० लाख रुपैयाँभन्दा बढी अवैध नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ चैत ६ गते बिहान ११:५० बजे जिल्ला पर्सा, वीरगंज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटमा खटिएको सशस्त्र प्रहरीको चेकपोष्ट टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५बिके ८६०३ नम्बरको मोटरसाइकल जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकल चालक वीरगंज महानगरपालिका–१७ अलौ निवासी ५० वर्षीय विनय शंकर साह तुरहाले सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाइछिपाइ ल्याउँदै गरेको नगद फेला परेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

बरामद गरिएको नगदमध्ये नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय रुपैयाँ ६०० रहेको सशस्त्र प्रहरीले जनाएको छ। विवरणअनुसार १ हजार दरका १३०२ थान (१३,०२,००० रुपैयाँ), ५०० दरका १४०० थान (७,००,००० रुपैयाँ) र ५० दरको १ थान नोट बरामद भएको छ।

यसका साथै घटनास्थलबाट सामसुङ ग्यालेक्सी A15 मोडेलको एक थान मोबाइल र “वीरगंज भन्सार एजेन्ट संघ, पर्सा” लेखिएको परिचयपत्र समेत फेला परेको छ।

नियन्त्रणमा लिइएको व्यक्ति, नगद र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएकोसशस्त्र प्रहरी वल,नेपाल नं. १३ गण हे.क्वा.पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

चलचित्र पत्रकार संघद्वारा सांसद पन्त सम्मानित

वीरगंज । चलचित्र पत्रकार संघ नेपाल, पर्साले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बुद्धि प्रसाद (हरि) पन्तलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

शुक्रवार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष सूर्यनारायण वि.क.सहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पन्तलाई सम्मान गर्दै सफल कार्यकालको कामना गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सूर्यनारायण वि.क.ले चलचित्रमार्फत पर्यटन प्रवद्र्धन गर्न पन्तले विशेष पहल गर्नुपर्नेमा जोड दिए । पर्सासहित समग्र मधेश प्रदेशलाई राज्यले अपेक्षित ध्यान नदिएको उल्लेख गर्दै चलचित्र पर्यटनका प्रचुर सम्भावना हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

पर्साका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्दै ती क्षेत्रलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूले ऐक्यबद्धता जनाएका थिए ।

संघका कार्यसमिति सदस्य जय यादवले बिन्दबासिनी मन्दिर, भाठाधाम मन्दिर र पारसनाथ मन्दिरजस्ता ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । पर्सा राष्ट्रिय निकुञ्जलाई पनि पर्यटकीय कोरिडोरको रुपमा विकास गर्न सके अर्थाेपार्जन र यस क्षेत्रका नागरिकको जिविकोपार्जनमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

सांसद पन्तले संसदमा र विभिन्न सार्बजनिक मञ्चमा दिने अभिव्यक्तिमाथि सदैव निगरानी रहीरहने बताउँदै यादवले पत्रकारिता पेशामार्फत निरन्तर खबरदारी गराइरहने बताए ।

संघले नेपाली चलचित्रको बजार विस्तार, दर्शकलाई सही सूचना प्रवाह तथा स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने काम गर्दै आएको उल्लेख गर्दै नवनिर्वाचित सांसद पन्तले संघको सक्रियताको प्रशंसा गरे ।

उनले आफू होटल तथा पर्यटन व्यवसायीसँगै चलचित्र निर्माता पनि भएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत दुवै तहमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “हाम्रो क्षेत्रको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ,” उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति समेत रहेका पन्त ‘राजनीति’ र ‘मेला’ नेपाली चलचित्रका निर्माता हुन् ।

कार्यक्रममा संघका उपाध्यक्ष आनन्द पटेल, सचिव रन्जित यादव, सदस्यहरू सन्तोष कुशवाहा, अखिल पटेललगायतको उपस्थिति रहेको थियो ।

घरेलु हिंसामा घाइते महिलासँग सांसद कानुको भेट, उपचार खर्च बेहोर्ने प्रतिबद्धता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुले घरेलु हिंसामा गम्भीर घाइते भएकी हरिकला देवी सहनीसँग भेटघाट गरेका छन्।

बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेट्दै सांसद कानुले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । साथै उनले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।

भेटका क्रममा सांसद कानुले पीडितको उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै उपचार खर्चसमेत आफूले बेहोर्ने प्रतिबद्धता जनाए। “आफ्नो तलबबाट दिएर हुन्छ कि अन्य कुनै माध्यमबाट हुन्छ, उपचारको सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी मेरो हो,” उनले बताए।

घटनाका बेला आफू काठमाडौँमा पार्टीको अभिमुखीकरण कार्यक्रममा रहेको उल्लेख गर्दै उनले जानकारी पाउनासाथ पार्टीका प्रतिनिधिलाई अस्पताल पठाएर अवस्थाबारे बुझ्न लगाएको जानकारी दिए। “कार्यक्रममा रहेकै बेला पनि मैले पीडितको अवस्थाबारे निरन्तर जानकारी लिइरहेको थिएँ। काठमाडौँबाट फर्किनासाथ अस्पताल आएर भेटघाट गरेको हुँ,” उनले भने।

सांसद कानुले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकसँग समेत घटनाबारे जानकारी लिँदै दोषीलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको बताए। “सामान्य घरायसी विवादका क्रममा यस्तो अमानवीय अपराध गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्छ,” उनले जोड दिए।

महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले संसद् अधिवेशन सुरु भएपछि यो विषय सदनमा उठाउने प्रतिबद्धता जनाए। साथै पीडित महिलाका लागि राहतको व्यवस्था गर्न सरकारसँग माग गर्ने पनि उनले बताए।

वीरगंजमा “ग्लोबल मनी वीक २०२६” अन्तर्गत प्रभातफेरी, वित्तीय साक्षरतामा जोड

वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६” को अवसरमा बिहीबार प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

“Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित आयोजित कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।

प्रभातफेरी वीरगंजस्थित नेपाल राष्ट्र बैंक शाखाबाट सुरु भई मकालु चौक हुँदै शहरका विभिन्न मुख्य मार्गहरूको परिक्रमा गर्दै घण्टाघर मा पुगेर समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विकास बैंक, फाइनान्स कम्पनी तथा वाणिज्य बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर वित्तीय ज्ञानको महत्वबारे जनचेतना फैलाएका थिए। बचतको बानी विकास, सुरक्षित लगानी, डिजिटल बैंकिङको प्रयोग तथा जिम्मेवार वित्तीय व्यवहार अपनाउन सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको राष्ट्रिय वाणिज्य बैंक का राहुल ओझाले जानकारी दिए।

नेपाल राष्ट्र बैंक वीरगंज शाखाका प्रमुख सुशील पौडेल को नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले वित्तीय साक्षरता विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

साथै, यस्ता कार्यक्रमहरूले समुदायमा आर्थिक चेतना अभिवृद्धि गर्दै दीगो आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।