काठमाडौं । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका पर्सावासीको शीघ्र खोज तथा उद्धार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले बाढीका कारण भएको अपार जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता तथा विभिन्न आयोजनामा फसेकाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका हुन् ।
सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्र तथा समग्र पर्सा जिल्लाका धेरै नागरिक बाढीपछि बेपत्ता रहेको उल्लेख गर्दै उनीहरूका परिवारजन अहिले पनि आफ्ना आफन्तको ‘सास या लास’ को आशामा सरकारको बाटो हेरिरहेको बताए ।
उनले विपद्का बेला सरकारले देखाएको तदारुकता तथा उद्धारका लागि गरिएका प्रयासलाई प्रभावित परिवारले नजिकबाट नियालिरहेको उल्लेख गर्दै सरकारप्रति उनीहरूको आशा र भरोसा रहेको बताए ।
यद्यपि स्रोत, साधन तथा दक्ष जनशक्तिको अभावका कारण अपेक्षाअनुसार युद्धस्तरमा उद्धार कार्य अघि बढ्न नसकेको स्वीकार गर्दै सांसद पन्तले सरकारले गरेका सकारात्मक प्रयासको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गरे ।
उनले सरकारलाई सम्पूर्ण शक्ति परिचालन गर्न तथा आवश्यक परे मित्र राष्ट्रहरूसँग सहयोग, समन्वय र सहकार्य गरेर परिणाममुखी उद्धार कार्य सञ्चालन गर्न आग्रह गरे ।
सांसद पन्तले विशेषगरी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत पर्साका इन्जिनियर दिलीप यादव तथा पछिल्लो पटक घट्टेखोला क्षेत्रमा देखिएका पर्साकै सुनिलमान डंगोलको शीघ्र उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए ।
त्यसैगरी पर्सा क्षेत्र नम्बर १ का अच्युतम श्रेष्ठ, कमरुल होदा अन्सारी, समीम आलम, नवीनकुमार सिंह, नागनारायण पटेल, अजयकुमार यादव, सञ्जय तामाङ, रमन स्वरूप, अजिर अन्सारी, सहाबुद्दिन मन्सुरी, सर्फराज मियाँ, कविता हल्दिया, विकासकुमार वर्णवाल र अरवाज हवारी लगायत विभिन्न स्थानमा रहेका व्यक्तिहरूको समेत तत्काल खोज तथा उद्धार गर्न उनले माग गरेका छन् ।
सांसद पन्तले सम्माननीय सभामुखमार्फत सरकारको पुनः गम्भीर ध्यानाकर्षण गराउँदै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गरेका छन् ।








