वीरगंज । पर्सामा एक २० वर्षीय युवक आफ्नै बुवाले जन्मदर्ता नबनाइदिँदा नागरिकता प्राप्त गर्नबाट समेत वञ्चित भएका छन् । जन्मदर्ता र नागरिकता नहुँदा उनले शिक्षा तथा अन्य नागरिक अधिकारबाट समेत वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।
वीरगंज महानगरपालिका वडा नम्बर २६ निवासी २० वर्षीय सूर्यप्रसाद साहको हालसम्म जन्मदर्ता र नागरिकता बन्न नसकेको हो ।
सानै उमेरमा उनकी आमा छाडेर गएपछि सूर्यप्रसाद मामा घर बहुदरमाई नगरपालिका वडा नम्बर १ मा बस्दै आएका छन् । जन्मदर्ता नभएकै कारण आफूले विद्यालयमा पढ्नसमेत नपाएको उनले बताएका छन् ।
उनले आफ्ना बुवा बालकुमार साह तेलीलाई पटक–पटक जन्मदर्ता बनाइदिन आग्रह गरे पनि ‘बनाइदिन्छु’ भन्दै आश्वासन मात्रै दिइएको र हालसम्म आवश्यक प्रक्रिया अघि नबढाइएको गुनासो गरे ।
यसैबीच सूर्यप्रसादले आफ्नो अंश अधिकारका लागि पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दामा अदालतले २०८३ साल वैशाख ८ गते फैसला गर्दै सूर्यप्रसादको अंश कायम हुने निर्णय गरेको स्थानीय नेता शिव पटेलले जानकारी दिए ।
पटेलका अनुसार सूर्यप्रसादले २०८२ साल भदौ ३ गते पर्सा जिल्ला अदालतमा अंश मुद्दा दर्ता गरेका थिए । न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले २०८३ साल वैशाख ८ गते फैसला गर्दै बुवा बालकुमार साहको सम्पत्तिबाट दुई खण्डको एक अंश वादी सूर्यप्रसादले छुट्याई पाउने ठहर गरेको थियो ।
अदालतबाट अंश कायम हुने फैसला भए पनि हालसम्म जन्मदर्ता नबनेको र वडा कार्यालयबाट नागरिकताका लागि आवश्यक सिफारिससमेत हुन नसकेको पटेलले बताए ।
उनले जन्मदर्ता र नागरिकता नहुँदा एक युवकमाथि अन्याय भइरहेको भन्दै वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म पहल गर्दा पनि समस्या समाधान हुन नसकेको बताए ।
“एक नेपाली नागरिकले आफ्नो जन्मदर्ता र नागरिकता नपाउँदा दुःख लागेको छ,” उनले भने ।
यता, वीरगंज महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्राले सूर्यका बुवाले आवश्यक हस्ताक्षर गर्न नमानेका कारण जन्मदर्ता बनाउन समस्या भएको बताए ।
उनले अदालतबाट अंश कायम हुने फैसला आएपछि जन्मदर्ता बनाउने विषयमा आवश्यक प्रक्रिया र छलफल भइरहेको जानकारी दिए ।
वडाध्यक्ष मिश्राले युवकको जन्मदर्ता बनाउन तथा नागरिकताका लागि आवश्यक सिफारिस गर्न आफ्नो तर्फबाट कुनै समस्या नरहेको स्पष्ट पार्दै कानुनअनुसार गर्नुपर्ने काम आफूले नरोक्ने बताए ।








