Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 42

भोटेकोशी बाढीको क्षतिबारे तत्काल श्वेतपत्र जारी गर्न प्रभु साहको माग

0

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, अर्थतन्त्रमा पर्ने प्रभाव र पुनर्स्थापनाको विषय समेटेर सरकारले तत्काल श्वेतपत्र जारी गर्नुपर्ने सुझाव दिएका छन् ।

बिहीबार सरकारलाई सार्वजनिक सुझाव दिँदै साहले बाढीबाट भएको क्षतिको वास्तविक अवस्था सार्वजनिक गरी आगामी पुनर्निर्माण तथा पुनर्स्थापनाको स्पष्ट योजना ल्याएर नागरिकलाई आश्वस्त पार्न आग्रह गरेका हुन् ।

यस विपद्मा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले हालसम्म बेपत्ता रहेका नागरिकको सकुशल उद्धारको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

घरबारविहीन तथा रोजगारीविहीन हुन पुगेका बाढीपीडितको रोजगारी सुनिश्चित गरी शीघ्र पुनर्स्थापनाको व्यवस्था गर्नुपर्ने माग गर्दै साहले सरकारसमक्ष १३ बुँदे सार्वजनिक सुझाव प्रस्तुत गरेका छन् ।

भोटेकोशीमा आएको विनाशकारी बाढीको वास्तविक कारणबारे विभिन्न अड्कलबाजी र अनुमान सार्वजनिक भइरहेका कारण जनमानसमा भ्रम सिर्जना भएको उल्लेख गर्दै उनले सरकारले घटनाको वैज्ञानिक अध्ययन गरी सत्य–तथ्य यथाशीघ्र सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

साथै, उच्च जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी त्यहाँ पूर्वसूचना, सतर्कता तथा नागरिक सुरक्षाका लागि ठोस योजना सार्वजनिक गर्नुपर्ने उनको सुझाव छ ।

रसुवाको टिमुरे क्षेत्रमा गत वर्ष पनि बाढीले ठूलो क्षति पुर्याउँदा सयौँ सवारी साधन तथा विभिन्न संरचना ध्वस्त भएको घटना स्मरण गराउँदै साहले सरकारले त्यसलाई गम्भीरतापूर्वक नलिएका कारण यसपटक पनि सोही क्षेत्रमा ठूलो जनधनको क्षति भएको दाबी गरेका छन् ।

अब सरकारले जोखिमयुक्त क्षेत्रको पहिचान गरी उचित सुरक्षा व्यवस्था गर्नुपर्ने तथा जोखिममुक्त क्षेत्रमा मात्र निर्माण तथा सञ्चालन गर्न पाउने स्पष्ट नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

सरकारले उद्धार तथा राहत कार्यमा अपेक्षित गम्भीरता नदेखाएको जनगुनासो रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक दल, नागरिक समाज, संघसंस्था तथा अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिएर राहत, उद्धार र पुनर्स्थापनाको काम अघि बढाउन सुझाव दिएका छन् ।

साहले प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा आवश्यक समन्वयकारी भूमिका नखेलेको टिप्पणीसमेत गरेका छन् । सामाजिक सञ्जालमार्फत दैनिक गतिविधिको जानकारी मात्र दिँदा पीडित परिवार निराश भएको उनको आरोप छ ।

बेपत्ता नागरिकका परिवारले एक सातासम्म पनि आफ्ना आफन्तको अवस्था थाहा नपाउँदा पीडादायी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई पीडित परिवारको साथमा उभिन तथा प्रभावित क्षेत्रमा पुगेर उनीहरूलाई आश्वस्त पार्न आग्रह गरेका छन् ।

“प्रधानमन्त्रीले यस्तो बेलामा पीडितहरूको संवेदनशीलता बुझ्नुपर्छ । गम्भीरता देखाउनुपर्छ,” साहले भने ।

संसद्मा लिखित मन्तव्य वाचन गरेर अन्य दलहरूसँग संवाद नगर्ने तथा विपत्तिको समयमा समेत राजनीतिक दलहरूसँग आवश्यक समन्वय नगर्दा गलत सन्देश गएको साहको भनाइ छ ।

उनले सरकारले विपद्प्रति गम्भीरता देखाउँदै सबै सरोकारवालासँग समन्वय गरी उद्धार, राहत, पुनर्स्थापना र दीर्घकालीन जोखिम न्यूनीकरणका लागि प्रभावकारी योजना तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

भोटेकोशी बाढीपीडितका लागि फेटा गाउँपालिकाको १९ लाखभन्दा बढी सहयोग

0

वीरगंज । बाराको फेटा गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १९ लाख २ हजार ६३३ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

फेटा गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले जानकारी दिए ।

गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

कार्यपालिका बैठकले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, निजी क्षेत्र, संघसंस्था तथा आमनागरिकले आ–आफ्नो तर्फबाट सहयोग गर्नु मानवीय दायित्व र कर्तव्य भएको उल्लेख गरेको छ ।

गाउँपालिकाले विपद् व्यवस्थापन खर्च शीर्षकबाट ५ लाख ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

त्यसैगरी निर्वाचित जनप्रतिनिधिहरूको सेवा–सुविधा शीर्षकबाट १ लाख ६ हजार २८३ रुपैयाँ संकलन गरिने भएको छ । उक्त रकम कार्यपालिका सदस्यहरूको सात दिनको सेवा–सुविधाबाट संकलन गरिने जनाइएको छ।

गाउँपालिका अन्तर्गत कार्यरत स्थायी तथा करार कर्मचारीहरूको तलब–भत्ता शीर्षकबाट ५ लाख ८५० रुपैयाँ सहयोग गरिनेछ । यसअन्तर्गत अधिकृत स्तरका कर्मचारीबाट सात दिनको तलब, सहायक स्तरका कर्मचारीबाट पाँच दिनको तलब तथा श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम सहयोगका लागि उपलब्ध गराइने भएको छ ।

त्यसैगरी गाउँपालिका अन्तर्गतका विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तलब–भत्ता शीर्षकबाट ७ लाख ९० हजार ५०० रुपैयाँ सहयोग गरिने निर्णय भएको छ । माध्यमिक तहका शिक्षकबाट सात दिनको तलब, निम्न माध्यमिक तथा प्राथमिक तहका शिक्षकबाट पाँच दिनको तलब तथा बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहयोगी कर्मचारीबाट दुई दिनको तलब बराबरको रकम सहयोगस्वरूप संकलन गरिने गाउँपालिकाले जनाएको छ ।

यी विभिन्न शीर्षकबाट जम्मा १९ लाख २ हजार ६३३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले जानकारी दिए ।

बाढीपीडितको राहतका लागि तेली कल्याण समाज पर्साको १ लाख १ हजार सहयोग

0

वीरगंज । हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि तेली कल्याण समाज पर्साले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

समाजका अध्यक्ष ध्रुव साहको अध्यक्षतामा बिहिबार बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले प्राकृतिक विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको भन्दै राहत तथा उद्धार कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

बैठकमा तेली कल्याण समाजका नगर अध्यक्ष पन्नालाल साह तेली, जिल्ला सचिव वीरेन्द्र साह, गणेशप्रसाद साह, पारस साह, प्रदीप साह, श्रीलाल साह, ताराचन्द साह, मोहन साह, राजकुमार साह, उमेश साह, बाँके बिहारी साह, उपेन्द्र साह व्यास, कासी साहजी लगायतको उपस्थिति रहेको थियो ।

समाजले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

‘विदेश पलायन कि स्वदेशमै सम्भावना ?’ वक्तृत्वकला प्रतियोगितामा सान्वी झा प्रथम

0

वीरगंज । डी.ए.भी. आर.बी. केडिया स्कुलको आयोजनामा ‘वाग्मिता–रत्नम्’ प्रथम संस्करणअन्तर्गत अन्तरविद्यालयीय नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

‘विदेश पलायन कि स्वदेशमै सम्भावना ?’ विषयमा आयोजित प्रतियोगितामा दिल्ली पब्लिक सेकेण्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत सान्वी झा प्रथम भएकी छन्।

प्रतियोगितामा सिमरा पब्लिक सेकेण्डरी स्कुलकी प्रिस्किना चौधरी द्वितीय, गौतम माध्यमिक विद्यालयकी सुफियाना खातुन तृतीय, ज्ञानदा एकेडेमीकी प्राथना अधिकारी चौथो तथा नेपाल कावेरी माध्यमिक विद्यालयकी श्रेया गुप्ता पाँचौँ स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा लिटल फ्लावर सेकेण्डरी स्कुल, दिल्ली पब्लिक स्कुल, मास्कोट एकेडेमी, नेपाल कावेरी एकेडेमी, सिमरा पब्लिक इङ्लिस स्कुल, गौतम सेकेण्डरी स्कुल, ज्ञानदा एकेडेमी, कादम्बरी एकेडेमी तथा आयोजक डी.ए.भी. आर.बी. केडिया स्कुल गरी नौ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

लिटल फ्लावर सेकेण्डरी स्कुलबाट आन्वी राई र अनुष्का न्यौपाने, दिल्ली पब्लिक स्कुलबाट सान्वी मानन्धर र सान्वी झा, मास्कोट एकेडेमीबाट शिक्षा लामा र निकिता साह, नेपाल कावेरी एकेडेमीबाट ऋषिका शाह र श्रेया गुप्ता तथा सिमरा पब्लिक इङ्लिस स्कुलबाट शिक्षा ठाकुर र प्रिस्किना चौधरी सहभागी भएका थिए।

त्यसैगरी गौतम सेकेण्डरी स्कुलबाट रिजान चापागाईं र सुफियाना खातुन, ज्ञानदा एकेडेमीबाट शिवम गुप्ता र प्राथना अधिकारी, कादम्बरी एकेडेमीबाट बालकृष्ण ठाकुर र सदिक्षा चौरसिया तथा आयोजक डी.ए.भी. आर.बी. केडिया स्कुलबाट वैभव यादव र सान्वी गुप्ता प्रतियोगितामा सहभागी भएका थिए।

आयोजक विद्यालयका विद्यार्थीको प्राप्ताङ्क भने प्रतियोगिताको अन्तिम मूल्याङ्कनमा समावेश नगरिएको विद्यालयले जनाएको छ।

सहभागी विद्यार्थीहरूले ‘विदेश पलायन कि स्वदेशमै सम्भावना ?’ विषयमा आफ्ना धारणा र विचार वक्तृत्वकलामार्फत प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य संघ मधेश प्रदेशका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश लाठले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

उद्घाटनपछि बोल्दै लाठले विद्यार्थीहरूको प्रस्तुति सुन्दा आफूलाई आफ्नो बाल्यकालको सम्झना आएको बताए। उनले विद्यार्थीहरूलाई कुनै डर वा संकोच नराखी खुलेर आफ्ना विचार प्रस्तुत गर्न आग्रह गरे।

प्रतियोगितामा विजेता बन्नु मात्र ठूलो उपलब्धि नभएको उल्लेख गर्दै उनले सार्वजनिक रूपमा उभिएर आत्मविश्वासका साथ आफ्नो विचार प्रस्तुत गर्न सिक्नु महत्वपूर्ण उपलब्धि भएको बताए।

‘यहाँ तपाईंहरूको राम्रो–नराम्रो पक्षको मूल्याङ्कन मात्र हुँदैन, आफूलाई प्रस्तुत गर्न सिक्ने अवसर पनि हो,’ उनले विद्यार्थीहरूलाई हौसला दिँदै भने।

यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र प्रस्तुति क्षमताको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रम डी.ए.भी. आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो।

अध्यक्ष मिश्रले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा बोल्ने कला, आत्मविश्वास तथा आफ्नो प्रतिभा प्रस्तुत गर्ने क्षमताको विकास गर्ने बताए। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विद्यार्थी, शिक्षक–शिक्षिका, विद्यालय परिवार, प्रमुख तथा विशिष्ट अतिथि, सञ्चारकर्मी र सहभागी विद्यालयका प्रतिनिधिप्रति धन्यवाद व्यक्त गरे।

विजेता विद्यार्थीहरूलाई बधाई दिँदै मिश्रले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा प्रतिभा विकाससम्बन्धी गतिविधिलाई निरन्तरता दिने बताए। प्रतियोगितामा सफलता हासिल गर्न नसकेका विद्यार्थीलाई निराश नभई थप मेहनत गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तर सहभागी हुन उनले आग्रह गरे।

कार्यक्रमकी विशिष्ट अतिथि रोशनी श्रीवास्तवले निजी विद्यालयका विद्यार्थीहरूले नेपाली विषयमा गरेको उत्कृष्ट प्रस्तुति देखेर आफूलाई गर्व लागेको बताइन्।

निजी विद्यालयका विद्यार्थी नेपाली विषयमा कमजोर हुन्छन् भन्ने आमधारणालाई यस्ता कार्यक्रमले गलत साबित गरेको उल्लेख गर्दै उनले नेपाली भाषा, ज्ञान, सीप र कलाको विकासका लागि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिइन्।

उनले प्रतियोगिता आयोजना गरेकोमा डी.ए.भी. आर.बी. केडिया स्कुलको प्रशंसा गर्दै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले गरेको प्रयास सकारात्मक रहेको बताइन्।

निर्णायक मण्डलका सदस्य प्राध्यापक प्रकाश पराजुली र हरि प्याकुरेलले सहभागी विद्यार्थीहरूको प्रस्तुति प्रशंसनीय रहेको बताउँदै वक्तृत्वकलामा अझ सुधार गर्न विभिन्न सुझाव दिएका थिए।

उनीहरूले विद्यार्थीहरूलाई विषयवस्तुको गहिरो अध्ययन, स्पष्ट उच्चारण, प्रभावकारी प्रस्तुति, आत्मविश्वास तथा समय व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे। नियमित अभ्यास र यस्ता प्रतियोगितामा निरन्तर सहभागिताले विद्यार्थीहरूको बोल्ने कला तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, शिल्ड तथा मायाको चिनो प्रदान गरिएको थियो। त्यसैगरी प्रतियोगितामा सहभागी विद्यार्थीका विद्यालय तथा शिक्षकहरूलाई सहभागिताको प्रमाणपत्रसहित मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूलाई समेत आयोजक विद्यालयका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन डी.ए.भी. आर.बी. केडिया स्कुलकी शिक्षिका प्रविणा राजभण्डारी, कक्षा ८ मा अध्ययनरत साइशा यादव र कक्षा १० मा अध्ययनरत सिद्धि सिंहले संयुक्त रूपमा गरेका थिए।

नयाँ आर्थिक वर्षको डेढ महिना बितिसक्दा पनि पर्साका १० स्थानीय तहको खाता सञ्चालन भएन

1

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि पर्सा जिल्लाका अधिकांश स्थानीय तहले खाता सञ्चालन गर्न सकेका छैनन् । जिल्लाका १४ स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहको मात्र खाता सञ्चालन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (को.ले.नि.का.) पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीका अनुसार बिहीबारसम्म वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका र बिन्दवासिनी गाउँपालिकाले मात्र खाता सञ्चालन गरेका छन् ।

अन्य १० स्थानीय तहले भने हालसम्म खाता सञ्चालनका लागि आवश्यक निवेदनसमेत नदिएको उनले जानकारी दिए ।

प्रमुख कोष नियन्त्रक जोशीका अनुसार खाता सञ्चालनका लागि सम्बन्धित स्थानीय तहले बजेट पारित भएको विवरण, अख्तियारी तथा खाता सञ्चालनका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ । तर पर्साका अन्य १० स्थानीय तहले बिहीबारसम्म यी आवश्यक कागजात पेश गरेका छैनन् ।

यसका साथै गत आर्थिक वर्षको आय–व्यय विवरणसमेत कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । उक्त विवरण पनि सम्बन्धित स्थानीय तहहरूले हालसम्म पेश नगरेको कार्यालयले जनाएको छ ।

पर्साका नौ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पारित भएको दाबी गरे पनि खाता सञ्चालन गर्न भने सकेका छैनन् । पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, कालिकामाई गाउँपालिका, धोबिनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र छिपहरमाई गाउँपालिकाको गाउँसभा तथा नगरसभाबाट बजेट पारित भए पनि खाता सञ्चालन हुन सकेको छैन ।

सम्बन्धित स्थानीय तहका स्रोतका अनुसार बजेट पारित भए पनि वडा तहबाट योजनाहरू समयमै नआएकाले बजेट प्रणालीमा प्रविष्टि गर्न नसकिएको र त्यसकै कारण खाता सञ्चालनमा ढिलाइ भएको हो ।

यता, पकाहा मैनपुर गाउँपालिकाको भने गाउँसभाबाट चालु आर्थिक वर्षको बजेट नै पारित हुन सकेको छैन । जनप्रतिनिधिहरूबीच सहमति हुन नसक्दा बजेट पारितमा ढिलाइ भएको गाउँपालिका स्रोतले जनाएको छ ।

समयमै स्थानीय तहहरूको खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरूको तलब भुक्तानीदेखि विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । सरकारले १५ दिनमै कर्मचारीलाई तलब उपलब्ध गराउने नीति लिएको भए पनि खाता सञ्चालन नहुँदा डेढ महिना बितिसक्दा पनि अधिकांश स्थानीय तहका कर्मचारीले तलब पाउन सकेका छैनन् ।

खाता सञ्चालनमा भइरहेको ढिलाइका कारण विकास निर्माणका योजना तथा अन्य प्रशासनिक कामसमेत प्रभावित हुन थालेका छन् ।

कालिकामाईको जनता माविद्वारा बाढीपीडितलाई आर्थिक सहयोग

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–१, मुड्लीस्थित श्री जनता माध्यमिक विद्यालयले बाढीपीडितको राहतका लागि आर्थिक सहयोग गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र विद्यालयका प्रधानाध्यापक जयप्रकाश कुमार चौरसियाको संयुक्त पहलमा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूबाट सहयोग रकम संकलन गरिएको हो।

संकलित रकममध्ये विद्यालय व्यवस्थापन समिति अध्यक्ष राउतको तर्फबाट ५ हजार १ सय रुपैयाँ सहयोग गरिएको थियो। अन्य शिक्षक, कर्मचारी, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूबाट संकलित रकमसमेत गरी जम्मा १८ हजार १ सय रुपैयाँ बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक जयप्रकाश कुमार चौरसियाले प्राकृतिक विपद्को पीडामा परेका नागरिकलाई थोरै भए पनि राहत पुग्ने उद्देश्यले विद्यालय परिवारले संयुक्त रूपमा सहयोग रकम संकलन गरेको बताउनुभयो।

उहाँले विपद्को समयमा सबै व्यक्ति तथा पक्षले आ–आफ्नो ठाउँबाट सहयोगको हात अघि बढाउनुपर्नेमा जोड दिँदै विद्यालय परिवारले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जानकारी दिनुभयो।

बाबुलाल चाचानको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५२ लाख ११ हजार सहयोग

0

वीरगंज । चाचान समूहका अध्यक्ष, वीरगञ्जका वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थामार्फत गरी कुल ५२ लाख ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

चाचान समूहअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानको तर्फबाट ५१ लाख रुपैयाँ तथा मारवाडी सेवा ट्रस्ट वीरगञ्जको तर्फबाट थप १ लाख ११ हजार रुपैयाँ सहयोग गरिएको हो ।
चाचान समूहअन्तर्गत नारायणी आयल रिफाइनरीबाट ४१ लाख रुपैयाँ, नारायणी मोर्डन प्लस इन्डस्ट्रिजबाट ५ लाख रुपैयाँ र आदर्श पोली प्लास्टिक प्रालिको तर्फबाट ५ लाख रुपैयाँ गरी जम्मा ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको चाचान समूहले जनाएको छ ।

उक्त रकम एभरेस्ट बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो ।

यसैगरी, मारवाडी सेवा ट्रस्ट वीरगञ्जका अध्यक्षसमेत रहनुभएका बाबुलाल चाचानले ट्रस्टको तर्फबाट १ लाख ११ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। उक्त सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको ट्रस्टका महासचिव नरेन्द्र साहले आज जानकारी दिनुभयो।

चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले विपद् र संकटको समयमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस्तो दैवी प्रकोप र विपद्को समयमा हामी सबै नेपाली एकजुट भएर एक–अर्कालाई सहयोग गर्नुपर्छ। पीडित नागरिकको दुःखमा साथ दिनु हाम्रो सामाजिक दायित्व पनि हो।”

विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा सहयोगका लागि उक्त रकम प्रदान गरिएको जनाइएको छ । समाजसेवा र मानवीय सहयोगमा उद्योगी–व्यवसायी तथा सामाजिक संस्थाको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै चाचान समूह र मारवाडी सेवा ट्रस्टले आगामी दिनमा समेत आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत पाँच जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१०को बमोजिमको कसुरमा बिगो रु चार करोड ५३ लाख ४१ हजार ८०० रकम कायम गरी सोही ऐनको  दफा ८ को उपदफा ९१० बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना कायम गरी आरोपपत्र दायर गरिएको हो ।

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

0

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने यथार्थलाई आफूहरूले स्वीकार गरी अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो । उहाँले मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै नभएको बताउनुभयो ।

प्रधानमन्त्री शाहले भन्नुभयो, “सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ ।”

आफ्ना सपनाहरू बुनिरहनुभएका नानीबाबुहरू, हाँसो–खुसीका साथ बसिरहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले क्षणभरमै खोसेर लगेको बताउँदै उहाँले यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । साथै उहाँले आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

प्रधानमन्त्री शाहले घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीडा पनि आफूले गहिरोसँग महसुस गरेको उल्लेख गर्नुभयो । “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री शाहले बाढी प्रभावितहरूको जीवनरक्षाका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई विस्तृत रूपमा जानकारी गराउनुभयो ।

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

0

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका भाइहरू घर आउन सक्ने प्रतीक्षामा रहेको जानकारी दिनुभयो ।

उहाँका सबै भाइ रसुवास्थित अपरत्रिशूली–१, जलविद्यत् आयोजनामा कार्यरत हुनुहुन्थ्यो । माइलो ३५ वर्षीय शिवकुमार यादव सुपरभाइजर, साइँलो ३१ वर्षीय देवकुमार यादव इन्जिनियर र कान्छो २५ वर्षीय सचित ओभरसियर पदमा कार्यरत हुनुहुन्थ्यो ।

“घरमा चुलो नबलेको एक हप्ता भयो, भाइहरूकै सम्झानाले सताइरहेको छ”, रामकुमारले भन्नुभयो । “भाइहरू अहिलेसम्म सम्पर्कमा नआए पनि झिनो आशामा उनीहरू घर आउने प्रतीक्षामा हामी छौँ”, उहाँले भन्नुभयो ।

स्थानीय विनोद साहका अनुसार  ७० वर्षीया आमा छिनछिनमा छोरा ल्याइदेऊ, छोराहरूबिना कसरी बस्नु भन्दै बेलाबेलामा मुर्छित हुनुहुन्छ । आमा र सम्पर्कविहीन हुनुभएका दाजुभाइका पत्नीहरूको अवस्था पनि दुःखद् छ । कतिबेला श्रीमान् भेटिएला र खबर आउँला भन्ने पर्खाइमा उहाँहरू कुरिरहनुभएको छ ।

माइलो, शिवकुमारको  विवाह भएको पाँच वर्ष भयो । उहाँका दुई सन्तानसमेत छन् । साइँलो छोरा देवकुमारको यही वैशाखमा विवाह भएको हो । कान्छो सचित भने अविवाहित हुनुहुन्थ्यो । तीनवटै छोराहरू रसुवामा काम गर्न थालेपछि सुखी थियो यादव परिवार ।

शिवकुमारको पत्नीसँग बाढी गएको दिन बिहान भलाकुसारी भएको थियोे । बाढी आउने कुनै अत्तोपत्तो थिएन । एक्कासी सम्पर्कविहीन भएको उहाँकी पत्नीले बताउनुभयो ।

बुबा लालबहादुर भने छोराहरूको खोजीका लागि रसुवा गएको चार दिन बित्यो ।  छोराहरूसँग कतै सम्पर्क हुन सकेन । लालबहादुरले भन्नुभयो ।

उहाँहरूको जस्तै विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका ३६ वर्षीय इन्जिनियर अजयकुमार यादवको परिवारको पीडा उस्तै छ । अजय पनि बाढी आएकै दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ । उहाँ रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालय बोगटीटारमा कार्यरत शिक्षक हुनुहुन्थ्यो ।

उहाँ सोही ठाउँमा डेरा लिएर बस्दै आउनुभएको थियो । बाढी आएकै दिनदेखि अजय सम्पर्कमा नआएपछि उहाँको घरमा सन्नाटा छाएको छ । घरमा चुलोसमेत बल्न सकेको छैन । उहाँको आमाबुबा छिनछिनमा मुर्छित् पर्दै आउनुभएको छ । अन्य परिवार चिन्तामा हुनुहुन्छ ।

उहाँको मामाका छोरा श्यामसुन्दर यादव भाइको खोजीमा रसुवासम्म पुग्नुुभयो । भाइको कुनै पत्तो नलागेको जानकारी दिनुभयो । रसुवाकै मेलुङ्ग–५ एमभी हाइड्रोपावरमा कार्यरत सुरुङ्गा नगरपालिका–२ का सरोज चौधरी पनि भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ ।

उहाँको अवस्थाबारे यथाशीघ्र सार्वजनिक गर्न परिवारले सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । सुरुङ्गा नगरपालिका–७ बसानपट्टीका एक आमाछोरा पनि बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ । बसानपट्टीका दुर्गानन्द रामकी पत्नी गीता राम र उनका तीन वर्षीय छोरा दिवासकुमार राम बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ ।

दुर्गानन्द राम करिब तीन वर्षअघि मोटरसाइकल ग्यारेजमा काम गर्न नुवाकोटको त्रिशूली बजारमा पत्नी र छोरासहित बस्दै आउनुभएको थियोे । दुर्गानन्द राम सकुशल रहे पनि आमाछोरा अझै सम्पर्कविहीन हुनुहुन्छ ।

यता नुवाकोट, हाइड्रोपावरमा कामदारका रूपमा कार्यरत खडक नगरपालिका–५ रञ्जितपुरका २८ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएको छ । उहाँको शव गण्डकी अस्पताल कास्की, पोखरामा पहिचान गरिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “बेपत्ताको खोजीकार्य जारी छ । कुनै सूचना आए पीडितपरिवारलाई तत्काल जानकारी दिन्छौँ ।”

बाढीका कारण बोदेबरसाइन नगरपालिका आसपासका झन्डै ४८ व्यक्ति अहिलेसम्म सम्पर्कमा आउन नसकेपछि उनीहरूको परिवार पीडामा छ । सुरूङ, टनेलमा फसेकाको तत्काल उद्धार गर्न पीडितपरिवारले सरकारसँग माग गरेका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयको मङ्गलबारको तथ्याङ्कअनुसार रसुवा बाढीमा १६४ जना अझै सम्पर्कविहीन छन् भने १९५ जना बेपत्ता भएकामा ३० जना सम्पर्कमा आइसकेका छन् । एक जनाको मृत्युु भएको पुष्टि भएको छ । सप्तरीका ४९ जनामध्ये एक जना सम्पर्कमा र एक जनाको मृत्युु भएको छ ।

रसुवा भोटेकोशी नदीमा आएर भएको बाढीले जनधनको क्षति र एक जनाको मृत्युु र ४८ जना सम्पर्कविहीन भएपछि सिङ्गो सप्तरी यतिबेला शोकमा डुबेको छ ।