Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 37

भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा रास्वपा पर्साद्वारा दीप प्रज्वलन

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।

उक्त महाविपत्तिमा ज्यान गुमाएकाहरूको तेह्रौं दिनको पुण्यतिथिको अवसर पारेर रास्वपा पर्साले सोमबार वीरगंजस्थित माइस्थान मन्दिर परिसरमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले भोटेकोसीको बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरे ।

सांसद पन्तले बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताए । विपद्बाट प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सबै पक्ष गम्भीर हुनुपर्नेमा समेत उनले जोड दिए ।

श्रद्धाञ्जली सभामा रास्वपा पर्साका कार्यवाहक सभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र र फैयाज मियाँ तथा पालिका सभापतिहरू रमाकान्त चौधरी, चन्दन यादव, र माधव बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, महमुद्दिन आलम, अक्षय द्विवेदी, गौतम श्रेष्ठ, सुमित चौरसिया, सम्साद अन्सारी, दीपेन्द्र मण्डललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए ।

श्रद्धाञ्जली सभामा सहभागीहरूले दीप प्रज्वलन गर्दै बाढीको महाविपत्तिमा ज्यान गुमाएका नागरिकहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए ।

भोटेकोशी बाढीका मृतकप्रति एमालेका अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनःनिर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ ।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको १३औँ पुण्यतिथिका दिन आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकप्रति पार्टी र व्यक्तिका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले बाढीबाट भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले प्रियजन गुमाएका शोकसन्तप्त परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभयो । बाढीपछि बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका विभिन्न निकाय र सङ्घसंस्थाप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश तथा स्थानीय सरकार, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक सङ्घसंस्था र अन्तरराष्ट्रिय समुदायले पु¥याएको सहयोगप्रति ओलीले आभार व्यक्त गर्नुभयो ।

‘हराइरहेका दाजुभाइ तथा दिदीबहिनीको सकुशल उद्धारमा सफलता मिल्ने’ आशा व्यक्त गर्दै अध्यक्ष ओलीले खोजी तथा उद्धारकार्यलाई प्रभावकारी ढङ्गले  निरन्तरता दिनुपर्ने माग राख्नुभयो । बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनःस्थापना र पुनःनिर्माणका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गर्दै उहाँले आवश्यक समन्वय र सहकार्य र आफूहरू तयार रहेको बताउनुभयो ।

नेशनल र नेपाल मेडिकल कलेजद्वारा रसुवा बाढीपीडितका लागि ७५ लाख सहयोग

0

वीरगंज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज र नेपाल मेडिकल कलेज प्रा.लि., गोकर्णेश्वर, काठमाडौंले संयुक्त रूपमा ७५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

नेपाल मेडिकल कलेज परिवार र नेशनल मेडिकल कलेज परिवारको संयुक्त योगदानस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (बाढी राहत) मा ७५ लाख रुपैयाँ जम्मा गरिएको हो । सहयाेग रकम बराबरकाे चेक नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारी लगायतकाले अर्थ मन्त्री डा. स्वर्णिम बाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

रसुवामा बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित परिवार र समुदायलाई राहत, उद्धार तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको दुवै संस्थाले जनाएका छन् ।

स्वास्थ्य सेवामा निरन्तर समर्पित दुवै संस्थाले विपद्को कठिन घडीमा आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै रसुवाका प्रभावित नागरिकहरूको साथमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूको संयुक्त योगदानले राहत वितरण, उद्धार कार्य तथा पुनःस्थापनाका प्रयासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मानवीय सेवाको भावनाबाट प्रेरित यस सहयोगले विपद्को समयमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा समुदायबीचको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।

नेशनल मेडिकल कलेज, वीरगंज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनहरूमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्को असरबाट प्रभावित नागरिकहरूको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवामूलक कार्यमा आफ्नो सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

0

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा बस्दै आएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौँडा घर भएका २१ वर्षीय सुजन रसाइली रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले रातोपुल नजिकै ‘सफिक मासु पसल’ सञ्चालन गरी खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्दै आएका थिए। उक्त मासु प्रतिकिलो १ हजार ८ सय रुपैयाँका दरले बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ।

प्रहरीले पसलबाट बिक्रीका लागि राखिएको बाख्रीको मासुसहित काट्नका लागि तयार पारिएको अर्को बाख्रीसमेत नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका तीनैजनालाई प्रहरी वृत्त गौशालामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

0

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।

नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य नेपालको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

रक्तदानमा सहभागी रक्तदातालाई सूर्य नेपालको लोगो अंकित तथा ‘रक्तदान जीवनदान’ लेखिएको भेस्टसमेत वितरण गरिएको थियो। रक्तदानप्रति श्रमिक तथा सर्वसाधारणलाई थप उत्प्रेरित गर्ने उद्देश्यले रक्तदातालाई भेस्ट वितरण गरिएको आयोजकले जनाएको छ।

मजदुर नेता प्रेम बस्नेतका अनुसार कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका हुन्। आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका बिरामीलाई आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।

यस्तै, मजदुर नेता बेनी तिमल्सिनाले युनियनले वर्षमा दुई पटक रक्तदान कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका बनाएको जानकारी दिए। सोही कार्यतालिकाअनुसार यस वर्षको रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।

नियमित रक्तदान कार्यक्रममार्फत श्रमिक समुदायमा सामाजिक सेवाको भावना विकास गर्नुका साथै आवश्यकताका बेला बिरामीलाई रगतको अभाव हुन नदिन सहयोग पु¥याउने उद्देश्य रहेको तिमल्सिनाको भनाइ छ।

कार्यक्रममा सहभागीहरूले रक्तदानलाई महत्वपूर्ण मानवीय सेवाका रूपमा उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।

आयोजकले आगामी दिनमा पनि रक्तदानलगायत सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

0

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्।

मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलका क्रममा मन्त्री कुमारीले वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगमाथि कारबाही गर्ने चेतावनी दिएकी हुन्। उद्योगबाट प्रशोधन नगरी ढल तथा औद्योगिक फोहोर सिधै खोलामा मिसाउने कार्य तत्काल रोक्न उनले उद्योगीहरूलाई निर्देशन दिएकी छन्।

औद्योगिक फोहोर तथा प्रदूषित पानीका कारण लामो समयदेखि सिर्सिया खोला प्रदूषित हुँदै आएको छ। खोलाको प्रदूषणबाट बारा–पर्सा क्षेत्रका विभिन्न बस्तीका बासिन्दा प्रभावित हुँदै आएका छन्। विशेषगरी सिमरा, महुली तथा पर्साका विभिन्न गाउँका स्थानीयले सिर्सिया खोला प्रदूषणमुक्त बनाउन पटक–पटक माग गर्दै आएका छन्।

मन्त्रीको एक साताको समयसीमा र कारबाहीको चेतावनीपछि स्थानीयवासीले भने सिर्सिया खोला प्रदूषण नियन्त्रणमा ठोस पहल हुने अपेक्षा गरेका छन्। उद्योगले वातावरणीय मापदण्डअनुसार फोहोर तथा औद्योगिक पानीको व्यवस्थापन नगरे कडा कारबाही हुनुपर्ने स्थानीयको माग छ।

सिर्सिया खोला प्रदूषणको समस्या लामो समयदेखि उठ्दै आए पनि प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै स्थानीयले अब सरकारी निर्देशन कार्यान्वयनमा जोड दिएका छन्। उद्योग सञ्चालनसँगै वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राखेर प्रदूषण नियन्त्रणका लागि स्थायी व्यवस्था गर्नुपर्ने उनीहरूको भनाइ छ।

धनुषामा २२५ पोका रगत सङ्कलन

0

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता बढिरहेको र अस्पतालमा रगत अभाव देखिन थालेपछि मानवीय सेवाको भावनासहित ढल्केवरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा २२५ पोका रगत सङ्कलन गरिएको हो ।

आइतबार २९ महिला र १९६ पुरुषले रक्तदान गरेका मिथिला नगर पत्रकार सञ्जालका अध्यक्ष बिजयकुमार साहले जानकारी दिनुभयो । आयोजकका अनुसार मधेश प्रदेशमा एउटै रक्तदान कार्यक्रममा यति ठूलो परिमाणमा रगत सङ्कलन भएको यो अहिलेसम्मकै उच्च परिमाण हो ।

रक्तदान गर्न स्थानीयवासी मात्र होइन, व्यवसायी, युवा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्ति उत्साहका साथ सहभागी थिए ।

रक्तदाताले आफूले दिएको रगतको केही थोपा कसैको जीवनमा अमूल्य बन्न सक्ने भन्दै नियमित रक्तदानका लागि सबैलाई प्रेरित गरेका थिए । रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मिथिला लायन्स क्लब, ढल्केवर खानेपानी उपभोक्ता समिति, मिथिला उद्योग वाणिज्य सङ्घ, मिथिला ब्याडमिन्टन क्लब, मिथिला नगर पत्रकार सञ्जाल, मधेस प्रदेश उद्योग परिसङ्घ, मिथिला युवा सञ्जाल, शुभकामना सहकारी संस्था बडहरी र नमूना सहकारी संस्था ढल्केवरलगायत सङ्घसंस्थाको सहकार्य थियो ।

नेपाल रेडक्रस सोसाइटी धनुषा र ब्लड फोर नेपालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सङ्कलन गरिएको रगतले उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । ढल्केवरमा यसपटक केवल रगतको सङ्कलन भएन, मानवीय संवेदना, सामाजिक एकता र सहयोगको भावना ठूलो मात्रामा सङ्कलन भएको स्थानीयले बताएका छन् ।

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

0
नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ ।
उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिनुभयो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहितका समितिका सदस्यले भोटेकोशी बाढीले जिल्लामा पु¥याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गर्नुभयो ।
त्यसक्रममा प्रमुख जिल्ला अधिकारी रेग्मीले बाढी पीडितको खोज, उद्धार, राहत, पुनस्र्थापना तथा तत्काल निर्माणका सम्बन्धमा भइरहेका कामबारे राष्ट्रपति पौडेललाई अवगत गराउनुभयो ।
राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ स्थित कभर्ड हलस्थित होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहनुभएका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गर्नुभयो ।
अन्तरक्रियामा बाढी प्रभावित नागरिकले भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीले पु¥याएको धनजनको क्षतिबारे जानकारी गराउनुभएको थियो ।
उहाँहरुले खोज, उद्धार र राहत एवं पुनःस्थापनाका लागि सरकार र सहयोगदातासँग अझ तदारुकताको माग गर्नुभएको थियो ।

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

0

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

सबैला नगरपालिका–१० खरियानी टोलका ३४ वर्षीय राकेश चमार र भारतको मधुवनी जिल्ला कमलाबारीपुरी–१३ निवासी २७ वर्षीय सञ्जितकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ज९प ५६९७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको हो ।

बरामद पदार्थको तौल गर्दा १९७ ग्राम ४४० मिलिग्राम रहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरीका अनुसार पक्राउ परेका भारतको मधुवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरी मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्रीवितरण गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको छ ।

कांग्रेसद्वारा उद्धार कोषमा एक करोड आर्थिक सहयोग

0

काठमाडौँ । नेपाली कांग्रेसले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताहरू रहनुभएको थियो ।

केही दिनअघि रसुवा र नुवाकोट क्षेत्र हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो । बाढीका कारण कैयौँ घरपरिवार विस्थापित हुनाका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको छ । विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बास स्थानको व्यवस्थापनमा सघाउ पु¥याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले बताउनुभएको छ ।

रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले सङ्कटको अवस्थामा कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताउनुभयो । नेताहरुले बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारलाई तीव्रता दिन ध्यानाकर्षण गराउनुभएको थियो ।

त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार तथा भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन महामन्त्री पौडेलले माग गर्नुभएको छ । राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी र विस्थापितहरूको दीर्घकालीन पुनस्र्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको महामन्त्री प्रदीप पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गर्दै उल्लेख्य योगदान गरेको छ । सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव तथा सल्लाह दिने, दबाब दिने, ध्यानाकर्षण गराउने लगायतका कार्य भएका छन् भने सभापति थापा दुईपटक घटनास्थलको अवलोकन गरेर फर्किनुभएको छ ।