Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 36

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

1

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति र वीरगंज महानगर समितिले एउटै समयमा छुट्टाछुट्टै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेपछि पार्टीभित्र दुई पक्षबीच दूरी रहेको चर्चा सुरु भएको हो ।

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा आयोजित राष्ट्रिय शोक दिवसका अवसरमा रास्वपा जिल्ला समिति पर्साले वीरगंजको माइस्थानमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सोही समयमा रास्वपा वीरगंज महानगर समितिले घण्टाघरमा छुट्टै दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।

माइस्थानमा जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा जिल्ला कार्यवाहक सभापति तुल्सा पौडेलको अध्यक्षता रहेको थियो भने पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा जिल्ला सभापति हरि पन्त प्रमुख अतिथि रहेका थिए ।

यता, घण्टाघरमा वीरगंज महानगर समितिले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम नगर सभापति दिपराज पटेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा रास्वपा पर्साका नेता सुधिर पटेल तथा पर्सा क्षेत्र नम्बर २ का सांसद सुशिल साह कानु, क्षेत्र नम्बर ३ का सांसद रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्य पक्षका नेताकार्यकर्ताको सहभागिता रहेको बताइएको छ । यद्यपि, नेता सुधिर पटेलसहित ती तीनै जना सांसद भने कार्यक्रममा उपस्थित थिएनन् ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको तेह्रौँ दिनको पुण्यतिथिको अवसर पारेर आयोजना गरिएका दुवै कार्यक्रममा सहभागीहरूले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । सहभागीहरूले बाढीमा ज्यान गुमाएका नागरिकहरूको स्मरण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना समेत गरेका थिए ।

वीरगंजमा एउटै पार्टीले एउटै दिन र एउटै समयमा दुई छुट्टाछुट्टै स्थानमा कार्यक्रम आयोजना गरेपछि पार्टीभित्र दुई पक्षबीच गुटगत अवस्था रहेको संकेत देखिए पनि रास्वपा पर्साका सभापति तथा पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले भने पार्टीभित्र कुनै गुट नरहेको दाबी गरेका छन् ।

‘एउटै पार्टीको एउटै दिन र एउटै उद्देश्यको कार्यक्रम छुट्टाछुट्टै किन आयोजना भयो ?’ भन्ने कालिका टाइम्सको प्रश्नमा सांसद पन्तले वीरगंज महानगर समिति र जिल्ला समितिले आ–आफ्नो तर्फबाट छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको बताएका छन् ।

उनले पार्टीभित्र गुटगत विवाद नभएको दाबी गर्दै दुवै समिति स्वतन्त्र रूपमा आफ्नो संगठनात्मक जिम्मेवारीअनुसार कार्यक्रम आयोजना गर्न सक्ने बताए ।

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

0

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ ।

वीरगंजस्थित डिएभी स्कुलमा मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमीले १७० अंक प्राप्त गरी प्रथम हुँदै उपाधि जितेको छ ।

उपाधिका लागि भएको फाइनल प्रतिस्पर्धामा गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, मास्कट एकेडेमी, साउथ जोन सेकेन्डरी स्कुल, रोयल एकेडेमी र ज्ञानज्योति माध्यमिक विद्यालय सहभागी थिए ।

फाइनलमा साउथ जोन सेकेन्डरी स्कुल र ज्ञानज्योति माध्यमिक विद्यालयले समान १६५ अंक प्राप्त गरेपछि दोस्रो र तेस्रो स्थान निर्धारणका लागि टाइब्रेकर गरिएको थियो । टाइब्रेकरमा ज्ञानज्योति माध्यमिक विद्यालय दोस्रो तथा साउथ जोन सेकेन्डरी स्कुल तेस्रो भएको आयोजकले जनाएको छ ।

अन्य सहभागी गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र मास्कट एकेडेमीले पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल चरणमा प्रभावशाली उपस्थिति जनाएका थिए ।

आयोजकका अनुसार प्रतियोगितामा वीरगंज प्याब्सनसँग आबद्ध ३१ वटा विद्यालय सहभागी भएका थिए । विभिन्न चरणमा सम्पन्न प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरू सिनियरतर्फको फाइनल चरणमा प्रवेश गरेका थिए ।

प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगंजका सचिव अमित आलोकका अनुसार विद्यार्थीमा ज्ञान, तर्क क्षमता, सामान्य जानकारी तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

फाइनल प्रतियोगिताको औपचारिक उद्घाटन प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गरेका थिए । उनीहरूले माता सरस्वतीको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साह रहेका थिए । कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए भने स्वागत मन्तव्य प्याब्सन पर्साकी महिला वरिष्ठ उपाध्यक्ष सुशीला साहले दिएकी थिइन् ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेस प्रदेशका सल्लाहकार इमामुदिन अहमद, प्याब्सन वीरगंजका नगर सदस्यहरू विजय बल र सुमित कलवार, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, डिएभी स्कुलका राकेश मिश्रा, धनुषाका अध्यक्ष नवलकिशोर साह, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र, मेडल र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

0

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै नेकपा (एमाले) का नेता रुपेश पाण्डेले कडा विरोध जनाएका छन् ।

नेता पाण्डेले कुखुराको अन्डा उत्पादनसँग सम्बन्धित उक्त फार्मका कारण आसपासका बस्तीका नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको दाबी गर्दै फार्म तत्काल बन्द गर्न माग गरेका छन् ।

पर्सा निर्वाचन क्षेत्रबाट निर्वाचनसमेत लडेका पाण्डेले वीरगंज महानगरपालिका–१० निवासी चामल व्यवसायी शिवजी कलवारद्वारा सञ्चालित उक्त फार्मका कारण स्थानीय नागरिकको स्वास्थ्यसँग खेलबाड भइरहेको आरोप लगाए ।

‘शिवम् लेयर्स फार्मको ह्याचरीका कारण आसपासका बस्तीका जनताको उठीबास भएको छ । पैसा कमाउने लोभमा नागरिकको स्वास्थ्यसँग खेलबाड गर्न पाइँदैन,’ पाण्डेले भने ।

उनले फार्म तत्काल बन्द नगरिए आगामी दिनमा स्थानीय बासिन्दाबाट फार्ममा ठूलो क्षति हुन सक्ने चेतावनीसमेत दिएका छन् । त्यस्तो अवस्था सिर्जना भए त्यसको जिम्मेवारी स्वयं सञ्चालक शिवजी कलवारले लिनुपर्ने उनको भनाइ छ ।

पाण्डेले स्थानीय नागरिकको स्वास्थ्य र वातावरणको संवेदनशीलतालाई ध्यानमा राख्दै सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

स्थानीयको निरन्तर दबाब तथा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि पटेर्वासुगौली गाउँपालिकाले यसअघि नै उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

गाउँपालिकाको २०७९ चैत ८ गते बसेको कार्यपालिका बैठकले उद्योगलाई १५ दिनभित्र बन्द गर्न सम्बन्धित पक्षलाई पत्राचार गर्ने निर्णय गरेको थियो । गाउँपालिकाका अनुसार उद्योगविरुद्ध विभिन्न समयमा एक सयभन्दा बढी स्थानीयले उजुरी दिएका थिए ।

उद्योग सञ्चालनका लागि अनुमति दिने निकायले तोकेका सर्त पालना गर्न पटक–पटक जानकारी गराउँदा समेत सञ्चालकले अटेर गरेको भन्दै गाउँपालिकाले उद्योग बन्द गर्ने निर्णय गरेको जनाएको थियो ।

नेता पाण्डेका अनुसार अनुगमन समितिको प्रतिवेदनमाथि छलफल भएपछि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनअनुसार उद्योगलाई १५ दिनभित्र बन्द गर्न पत्राचार गर्ने र सम्बन्धित सरकारी निकायलाई जानकारी गराउने निर्णय गरिएको थियो ।

स्थानीयको स्वास्थ्य, वातावरण र जनजीवनमा असर परेको भन्दै शिवम् लेयर्स फार्मको सञ्चालन तत्काल रोक्नुपर्ने माग स्थानीयस्तरबाट समेत उठ्दै आएको छ ।

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

0

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको छ ।

प्याब्सन पर्सामा आबद्ध ४० भन्दा बढी विद्यालय तथा ती विद्यालयका अभिभावक, शिक्षक–कर्मचारी र विद्यार्थीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रकम सोमबार एक कार्यक्रमबीच प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहलाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम प्याब्सन मधेश प्रदेशमार्फत प्याब्सन केन्द्र हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ ।

प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाका अनुसार संकलन गरिएको रकम पहिलो चरणको राहत सहयोग हो । दोस्रो चरणमा बाँकी विद्यालयहरूबाट समेत सहयोग रकम संकलन गरी प्याब्सन केन्द्रमार्फत सिधै प्रधानमन्त्री राहत कोषमा थप रकम जम्मा गरिने उनले जानकारी दिए ।

राहत संकलन अभियानमा प्याब्सन आबद्ध सदस्य विद्यालयहरूले संस्थागत रूपमा आफ्ना अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा स्वेच्छिक सहयोग जुटाएका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, वीरगंज महानगर प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, जिल्ला वरिष्ठ उपाध्यक्ष सुशिला साह, उपाध्यक्ष विरेन्द्र यादव तथा नगर सचिव अमित आलोकलगायतको सहभागिता रहेको थियो ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले प्याब्सन पर्साले विद्यालय परिवारको सामूहिक सहभागितामा राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ । प्याब्सनले आगामी चरणमा समेत थप सहयोग रकम संकलन गरी विपद्पीडितको राहतका लागि उपलब्ध गराउने जनाएको छ ।

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

0

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

0

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

सहनीले एक वर्षको अवधिमा सरकारले जेनजी आन्दोलनका मूल भावना, माग र बलिदानलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

उनले सरकारले जेनजीको सम्मान र भावनालाई सम्बोधन गर्नुको सट्टा जेनजीलाई अपमान गर्नबाहेक उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन् ।

सहनीका अनुसार जेनजी आन्दोलन केवल तत्कालीन राजनीतिक असन्तुष्टिको अभिव्यक्ति मात्र नभई भ्रष्टाचार, बेथिति, जवाफदेहिताको अभाव र सुशासनको मागसहित युवाहरूले उठाएको आवाज थियो । आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै उनले नेपाल सरकारको गृह मन्त्रालयले आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको विवरणसमेत सार्वजनिक गरिसकेको बताएका छन् ।

उनले आन्दोलनको एक वर्ष पूरा भइसक्दासमेत शहीद परिवार, घाइते तथा आन्दोलनका मूल मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्बोधन नगरिएको भन्दै सरकारलाई आफ्नो प्रतिबद्धता व्यवहारमा देखाउन आग्रह गरेका छन् ।

जेनजी आन्दोलनको भावना र युवाहरूको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिँदै सहनीले युवाको आवाजलाई सम्मान गर्नु, शहीदहरूको योगदानको कदर गर्नु तथा सुशासन र जवाफदेहिताको सुनिश्चितता गर्नु नै आन्दोलनप्रतिको वास्तविक सम्मान हुने बताएका छन् ।

सरकारले भने प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गरिसकेको छ ।

सहनीले सरकारको औपचारिक निर्णय मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन र सरकारको व्यवहारबाट नै जेनजी आन्दोलनप्रति वास्तविक सम्मान भएको प्रमाणित हुनुपर्ने धारणा राखेका छन् ।

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

0

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान हुने अपेक्षा गरिएका समस्याहरू झनै जटिल बन्दै गएको संगठनको भनाइ छ ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले वक्तव्य जारी गर्दै आन्दोलनको समीक्षा गर्ने क्रममा यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

वक्तव्यमा उनले भनेका छन्, “ऐतिहासिक जेनजी आन्दोलनको जगमा देशले ठूलो राजनीतिक परिवर्तनको अपेक्षा गरेको थियो । तर आन्दोलनको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन सकेको छैन । समस्याहरू झन् जटिल बन्दै गएका छन् र परिवर्तनको प्रवाह यथास्थितिको दलदलमै अल्झिएको छ ।”

अध्यक्ष साहले जेनजी आन्दोलनको उपलब्धिका रूपमा रवि लामिछानेको नख्खु जेलबाट रिहाइ तथा काठमाडौंको मेयर पदबाट बालेन्द्र शाह प्रधानमन्त्री पदमा पुगेको विषयबाहेक आम जनताले अनुभूति गर्न सक्ने उल्लेखनीय परिवर्तन नदेखिएको टिप्पणी गरेका छन् ।

उनले हिजो ‘रामराज्य’को वकालत गर्दै आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गर्ने पात्रहरू छोटो अवधिमै खलनायकका रूपमा स्थापित हुँदै गएको दाबीसमेत गरेका छन् ।

साहले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको हत्यामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुको सट्टा वर्तमान सरकार उनीहरूसँग सहकार्यमा रमाइरहेको गम्भीर आरोप लगाए ।

उनले आन्दोलनको अग्रपंक्तिमा रहेका जेनजी युवाहरूलाई सम्मान, अवसर र रोजगारी प्रदान गर्नुको सट्टा झूठा मुद्दा लगाएर दुःख दिने काम भइरहेको आरोप लगाए । आन्दोलनका क्रममा घाइते भएका युवाहरूले राज्यबाट निःशुल्क र प्रभावकारी उपचार नपाउँदा आर्थिक अभाव, मानसिक तनाव र शारीरिक पीडाबीच संघर्ष गर्न बाध्य भएको उनको भनाइ छ ।

वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले युवाहरूको रगत, पसिना र बलिदानलाई राजनीतिक स्वार्थपूर्तिको साधन बनाएको अनुभूति भएको अध्यक्ष साहले उल्लेख गरेका छन् ।

जेनजी युवाहरूका लागि नीतिगत तथा संरचनागत सुधारका ठोस काम नगरी आन्दोलनको भावना मत्थर पार्न ‘जेनजी’को नाममा सार्वजनिक बिदा घोषणा गर्नेजस्ता सतही, सस्तो लोकप्रियतावादी तथा प्रतीकात्मक कदम मात्र चालिएको उनको गुनासो छ ।

सो क्रममा कमन जेनजी नेपालले सरकारसमक्ष विभिन्न मागसमेत अघि सारेको छ । संगठनले आन्दोलनका बाँकी मुद्दाहरू तत्काल सम्बोधन गर्न, घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्न, आन्दोलनकारीहरूमाथि लगाइएका झूठा मुद्दाहरू बिनासर्त खारेज गर्न तथा भ्रष्टाचारमा संलग्नहरूमाथि कडा कारबाही गर्न माग गरेको छ ।

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

0

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात रहेपछि परिवारले कुशको शव बनाएर हिन्दू संस्कारअनुसार अन्तिम दाहसंस्कार गरेका छन् ।

बाढीपछि दुवै जनाको खोजी तथा उद्धारका लागि लामो समयसम्म निरन्तर प्रयास गरिए पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले भारी मनका साथ कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

आफ्ना प्रियजनको शवसमेत देख्न नपाई अन्तिम बिदाइ गर्नुपर्दा दुवै परिवारका सदस्य भावविह्वल बनेका छन् । आफ्नै आँखाले अन्तिमपटक अनुहार हेर्न नपाए पनि मृतकको आत्माको शान्तिका लागि परिवारले यो अत्यन्त पीडादायी निर्णय लिनुपरेको बताइएको छ ।

आरभ र आलोकको खोजी तथा उद्धारका लागि परिवारजन, आफन्त तथा सम्बन्धित निकायबाट निरन्तर प्रयास भए पनि उनीहरू फेला पर्न नसक्दा दुवै परिवारमा गहिरो शोक छाएको छ ।

भीषण बाढीले आफ्ना प्रियजनलाई कहाँ पुर्‍यायो भन्ने यकिनसमेत हुन नसकेको अवस्थामा परिवारले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार सम्पन्न गरेका हुन् ।

शरीर भेटिएन, तर आफ्ना प्रियजनको सम्झना र उनीहरू फर्किएलान् भन्ने प्रतीक्षा परिवारजनको मनमा सधैँ जीवित रहनेछ ।

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

0

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ जनाको शव फेला परेको छ ।

हालसम्म ९८ वटा शव सनाखत भई परिवारले बुझेकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । सनाखत हुन बाँकी रहेका शवका लागि डिएनए परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणितसहित नमूना दिन सकिने उहाँले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

प्राधिकरणका प्रवक्ता महतका अनुसार चार हजार ९९४ जना अझै सम्पर्कविहीन रहेका छन् । तीमध्ये सबैभन्दा बढी नुवाकोटबाट दुई हजार ३४० र रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अद्यावधिक विवरणअनुसार एक हजार ९६७ जना रहेका छन् । सम्पर्कविहीन हुनेको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ६७६ जनाले उपचार सेवा लिएका छन् ।

विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका प्राधिकरणले जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् ।

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

0

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ।

वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै कार्यालय परिसरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।

वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, वरुण चौरसिया, हुकुमसिंह राजपुत, श्रवणबहादुर रायमाझी, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, समाजसेवी दीपक खड्गी, सुशीला देवी, कोषाध्यक्ष मनोज मिश्रा, जानकी देवी, संजय मण्डल, नवराज भट्टराई, केदार गुप्तालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा वीरगंज कपडा बैंकका कर्मचारी मिथलेश श्रीवास्तवसहित विभिन्न क्षेत्रका समाजसेवी तथा स्थानीयको समेत उपस्थिति रहेको थियो।

भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि देशभरबाट मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गर्ने क्रम जारी छ। सोही क्रममा वीरगंज कपडा बैंकले पनि दीप प्रज्वलनमार्फत दिवंगतप्रति सम्मान व्यक्त गरेको जनाएको छ।