वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्।
नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य नेपालको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिक तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
रक्तदानमा सहभागी रक्तदातालाई सूर्य नेपालको लोगो अंकित तथा ‘रक्तदान जीवनदान’ लेखिएको भेस्टसमेत वितरण गरिएको थियो। रक्तदानप्रति श्रमिक तथा सर्वसाधारणलाई थप उत्प्रेरित गर्ने उद्देश्यले रक्तदातालाई भेस्ट वितरण गरिएको आयोजकले जनाएको छ।
मजदुर नेता प्रेम बस्नेतका अनुसार कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका हुन्। आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका बिरामीलाई आवश्यक पर्ने रगत व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।
यस्तै, मजदुर नेता बेनी तिमल्सिनाले युनियनले वर्षमा दुई पटक रक्तदान कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका बनाएको जानकारी दिए। सोही कार्यतालिकाअनुसार यस वर्षको रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए।
नियमित रक्तदान कार्यक्रममार्फत श्रमिक समुदायमा सामाजिक सेवाको भावना विकास गर्नुका साथै आवश्यकताका बेला बिरामीलाई रगतको अभाव हुन नदिन सहयोग पु¥याउने उद्देश्य रहेको तिमल्सिनाको भनाइ छ।
कार्यक्रममा सहभागीहरूले रक्तदानलाई महत्वपूर्ण मानवीय सेवाका रूपमा उल्लेख गर्दै स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।
आयोजकले आगामी दिनमा पनि रक्तदानलगायत सामाजिक तथा मानवीय सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।








