Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 38

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

1

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ ।

नेकपा (एमाले) मधेश प्रदेश कमिटीका अध्यक्ष चन्दैश्वर मण्डलले पर्सा जिल्ला कमिटीलाई पत्र पठाउँदै पार्टी विधानको धारा ६८ अनुसार उक्त नियुक्ति बदर गरिएको जानकारी दिएका हुन् ।

पत्रमा नेकपा (एमाले) वीरगंज महानगर कमिटीको प्रथम अधिवेशनबाट महानगर कमिटी निर्वाचित भइसकेको उल्लेख गर्दै अधिवेशनबाट निर्वाचित कमिटीमा अध्यक्ष, पदाधिकारी वा सदस्यको पद रिक्त भएमा सोही कमिटीले पदपूर्ति गर्ने व्यवस्था पार्टी विधानमा रहेको जनाइएको छ ।

विधानको धारा ६८ अनुसार निर्वाचित कमिटीमा रिक्त पदको पदपूर्ति सम्बन्धित कमिटीले नै गर्ने व्यवस्था रहेकाले जिल्ला कमिटीले महानगर कमिटीको अध्यक्ष मनोनयन गर्न नसक्ने प्रदेश कमिटीले स्पष्ट पारेको छ ।

यसअघि पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति पार्टी विधानविपरीत भएको भन्दै मधेश प्रदेश कमिटीले उक्त निर्णय यसै पत्रमार्फत बदर गरेको जनाएको छ ।

यसैबीच, वीरगंज महानगर कमिटीको मिति २०८३ भदौ २० गते बसेको बैठकले लियाकत अलीलाई अध्यक्ष, सन्जु छतकुलीलाई उपाध्यक्ष तथा जलन्धर पटेललाई सचिवमा मनोनयन गरेको थियो ।

मधेश प्रदेश कमिटीले महानगर कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको पत्रमा उल्लेख गरिएको छ ।

मधेश प्रदेश कमिटीका अध्यक्ष चन्दैश्वर मण्डलद्वारा हस्ताक्षरित पत्रमार्फत वीरगंज महानगर कमिटीको नेतृत्वसम्बन्धी विवादमा पार्टी विधानअनुसार निर्णय गरिएको जनाइएको छ ।

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

0

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।

रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजनामा तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा आइतबार आयोजित कार्यक्रममा १९ महिलासहित ६८ जनाले रक्तदान गरेका हुन् ।

रसुवामा बाढीबाट प्रभावित नागरिकहरूको उपचार तथा आवश्यक रक्त सहयोगका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरीले जानकारी दिए ।

कार्यक्रमबाट सङ्कलित सम्पूर्ण रगत नेशनल मेडिकल कलेज ब्लड बैंकमार्फत रसुवा बाढीपीडितहरूको उपचार तथा आवश्यक रक्त सहयोगका लागि प्रयोग गरिने उनले बताए ।

रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्वयंसेवक, पत्रकार तथा विभिन्न क्षेत्रका सहभागीहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. ईशरत जहान, प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरी, प्रमुख वित्तीय अधिकृत, मार्केटिङ म्यानेजर तथा प्रशासन विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

0

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालै देशका विभिन्न जिल्लामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै प्रभावित नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार तथा स्वास्थ्यलाभको कामना गरिएको छ ।

गाउँ कार्यपालिकाको बैठकले निर्वाचित जनप्रतिनिधिहरूको एक महिनाको सुविधा बराबरको रकम बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै गाउँपालिकाका स्थायी कर्मचारीका हकमा नेपाल सरकारको निर्णयबमोजिम आर्थिक सहयोग गर्ने तथा करार कर्मचारीबाट समेत निश्चित रकम कट्टा गरी सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाका अध्यक्ष अनोज चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्का बेला सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै प्रभावित नागरिकको राहत, उद्धार, व्यवस्थापन तथा पुनर्निर्माणमा गाउँपालिका प्रतिबद्ध रहेको जनाइएको छ ।

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

0

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् ।

क्वालिफिकेशन राउन्डबाट ग्रुप ‘ए’ बाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, ग्रुप ‘बी’ बाट मास्कट एकेडेमी, ग्रुप ‘सी’ बाट साउथ जोन सेकेन्डरी स्कुल, ग्रुप ‘डी’ बाट रोयल एकेडेमी र ग्रुप ‘ई’ बाट ज्ञानज्योति माध्यमिक विद्यालय फाइनलमा छनोट भएका हुन् ।

क्वालिफिकेशन राउन्डमा पाँच समूहबाट कुल ३१ वटा विद्यालयको सहभागिता रहेको थियो । ग्रुप ‘बी’ मा सात विद्यालय तथा अन्य चार समूहमा छ–छ विद्यालय सहभागी थिए । प्रतिस्पर्धामा आफ्ना समूहका अन्य विद्यालयलाई पछि पार्दै पाँच विद्यालयले फाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगिताको सिनियरतर्फको फाइनल भिडन्त भदौ २३ गते बिहान १० बजेदेखि वीरगंजस्थित डिएभी स्कुलमा हुने भएको छ । उपाधिका लागि फाइनलमा छनोट भएका पाँच विद्यालयबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगंजका सचिव अमित आलोकले जानकारी दिए ।

यसअघि वीरगंजको ज्योतिनगरस्थित लिटल एन्जल्स स्कुलमा आयोजित क्वालिफिकेशन राउन्डको सुरुवातअघि औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी तथा प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गमलामा पानी हालेर प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए । कार्यक्रममा प्याब्सन वीरगंजका नगर सदस्य विजय बल र सुमित कलवार, प्रेस कोर्डिनेटर दीपु बर्णवाल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिन तथा विद्या सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

शिवम् लेयर्सको फोहोरले गाउँमा फैलियो दुर्गन्ध, स्थानीयलाई चरम सास्ती

0

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ मा सञ्चालित शिवम् लेयर्स फार्मबाट निस्कने जैविक फोहोर तथा फोहोर पानीका कारण गादी खोला प्रदूषित बनेको स्थानीयले गुनासो गरेका छन्।

स्थानीयवासीका अनुसार फार्ममा जम्मा हुने मरेका कुखुरा, बिग्रिएका अण्डा, कुखुराको सुली तथा अन्य जैविक फोहोरबाट निस्कने पानी खेत हुँदै गादी खोलामा पुग्ने गरेको छ। उक्त समस्याको असर रंगपुर, मकवानी टोल, बेलवा, कौवावन कटैया र देउरवानासम्म परेको उनीहरूको दाबी छ।

गादी खोलाको पानी स्थानीयले कृषि सिँचाइमा प्रयोग गर्दै आएका छन्। खोलामा फोहोर पानी मिसिँदा धानबालीमा समेत असर परेको स्थानीयको भनाइ छ। पानी दुर्गन्धित भएपछि पशुचौपायालाई समेत समस्या भएको र प्रदूषित पानीकै कारण एउटा बाख्रा मरेको स्थानीयले दाबी गरेका छन्। यद्यपि, बाख्राको मृत्यु प्रदूषित पानीका कारण नै भएको आधिकारिक पुष्टि भने भएको छैन।

स्थानीयका अनुसार फार्मबाट आउने दुर्गन्ध विशेषगरी साँझपख आसपासका बस्तीमा फैलिने गरेको छ। फार्म नजिकै गादी स्वास्थ्य चौकीसमेत रहेकाले वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा असर पार्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीय समाजसेवी दीपक रसाइलीले फार्मबाट निस्कने फोहोर र फोहोर पानीको उचित व्यवस्थापनका लागि पटकपटक आवाज उठाउँदै आए पनि समस्या समाधान हुन नसकेको बताए। उनले फार्मको फोहोर व्यवस्थापन प्रणाली तथा गादी खोलाको अवस्थाबारे सम्बन्धित निकायले स्थलगत अनुगमन गर्नुपर्ने माग गरे।

रसाइलीले खोलाको पानीको नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्नुपर्ने र परीक्षणको नतिजाका आधारमा आवश्यक कदम चालिनुपर्ने बताए।

स्थानीयको आरोपबारे शिवम् लेयर्स फार्मका म्यानेजर राजकिशोर चौधरीले भने फार्मबाट निस्किएको पानीका कारण गादी खोलामा समस्या भएको विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए।

यता, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले घटनाबारे बुझ्ने बताएका छन्।

स्थानीयले फार्मबाट उत्पादन हुने जैविक फोहोर तथा फोहोर पानीको व्यवस्थापन प्रचलित वातावरणीय मापदण्डअनुसार भए–नभएको अनुगमन गर्न र गादी खोलाको पानी परीक्षण गरी वास्तविक अवस्था सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

बाराको पचरौतामा १५१ किलो गाँजा बरामद, तस्कर फरार

0

बारा । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली चोक नजिकैबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति बेनौली चोकबाट करिब ३०० मिटर पूर्वतर्फ रहेको धानखेतबाट प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा निगरानी बढाएको थियो। प्रहरी चौकी श्रीनगर बैरियाबाट असई राजेश सिंह तथा सशस्त्र प्रहरी बल, नेपाल बीओपी बेनौलीबाट सई श्यामबहादुर खत्रीको नेतृत्वमा संयुक्त टोली धानखेत क्षेत्रमा एम्बुस थापेर निगरानीमा खटिएको थियो।

रातिको समयमा धानखेतको आली हुँदै केही व्यक्तिहरू शंकास्पद अवस्थामा आइरहेको देखिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो। प्रहरीका अनुसार करिब ८ देखि ९ जना अपरिचित व्यक्ति पिठ्युँमा झोलाजस्तो बनाएर सामान बोकी आउँदै गरेको अवस्थामा देखिएका थिए।

प्रहरी टोलीले उनीहरूलाई रोक्न तथा नियन्त्रणमा लिन खोज्दा ती व्यक्तिहरूले बोकेर ल्याएको सामान धानखेतमै फालेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए।

त्यसपछि प्रहरीले घटनास्थलमा खोजतलास गर्दा ९ वटा पोकामा राखिएको कुल १५१ किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा ल्याइएको प्रहरीले जनाएको छ।

ठूलो परिमाणमा गाँजा बरामद भए पनि ओसारपसारमा संलग्न व्यक्तिहरू भने तत्काल पक्राउ पर्न सकेका छैनन्। प्रहरीले फरार व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र बनाएको जनाएको छ।

सीमा क्षेत्र नजिकका ग्रामीण तथा खेतबारीका बाटो प्रयोग गरी लागुऔषध ओसारपसार हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले निगरानी तथा गस्ती बढाएको छ। बरामद भएको गाँजाको स्रोत, गन्तव्य तथा घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार फरार व्यक्तिहरू पक्राउ परेपछि गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाने तयारी थियो र यसको कारोबारमा संगठित समूहको संलग्नता थियो वा थिएन भन्ने विषय खुल्ने अपेक्षा गरिएको छ।

नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

0

सर्लाही । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन ःपर्यटकीय गतिविधि बढ्दै गएको छ ।

जैविक विविधता युक्त यस ताललाई केही समय पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो तर आन्तरिक व्यवस्थापन र तालको पर्यटन प्रवद्र्धनमा बेवास्ता हुँदा लामो समय सुनसान प्राय बनेको तालमा फेरि एक पटक चहलपहल सुरु भएको हो ।

बाउन्न बिगाहा क्षेत्रफल रहेको भनिएको यस नाढीमन ताल चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको छ । चारै तर्फबाट अतिक्रमणको चपेटामा परेको तालको अहिले ३५ बिगाहा क्षेत्र पानीले ओगटेको छ भने बाहिरी भागको दक्षिण पश्चिम क्षेत्रमा मिथिला कलाघर, ‘चिल्ड्रेन पार्क’, निर्माण भएको छ ।

तालको चारैतिर सडकसहितको ड्याम निर्माण गरी पर्यावरणीय हिसाबले विकास गर्ने गरी वृक्षरोपणका कार्यक्रम पनि अघि सारिएको पालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । ताल परिसरमै निर्माण भएको साबिक गाविस कार्यालय, श्री मरीचि मानेश्वर महादेव मन्दिर, धर्मशाला भवन र गाउँपालिकाको प्रशासनिक भवनले तालको केही क्षेत्र ओगटेको छ ।

विक्रम संवत् २०७२ मा राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रमअन्तर्गत नेपाली सेनाले ताल परिसर सरसफाइ गरी, मानिस बस्ने बेन्च निर्माण गर्ने र वृक्षरोपण लगायतका काम गरेको थियो । संरक्षण अभावमा जलकुम्भीले ढाकेर कुरूप बनेको ताल परिसर आकर्षक बनेको थियो । जनमानसमा तालको चर्चा चुलिएपछि  पर्यटकको आगमन सुरु भएको थियो । घुम्न आउने मानिसको उपस्थितिबाट उत्साहित स्थानीय व्यापारीहरूले ठूलो लगानी गरेर व्यापार–व्यवसाय सञ्चालन गर्नुभयो तर त्यो धेरै समय टिकेन । ताल संरक्षणमा फेरि लापरबाही हुँदै गएसँगै अस्तव्यस्त ताल कुरूपसँगै सुनसान बन्दै गयो । तालको छेवैमा लाग्दै आएको हाटबजार सुक्यो । पर्यटकहरूलाई लक्षित गरेर सञ्चालन गरिएको पसल, होटल व्यवसाय सबै पलायन भयो । एक दिन यस क्षेत्रमा फेरि चलहपहल सुरु हुने आशले बस्नुभएका व्यापारीहरू पछिल्ला दिनमा धार्मिक तथा अन्य पर्यटकको उपस्थितिबाट उत्साहित हुनुभएको छ ।

प्रशस्त सम्भावना बोकेको यस ताल २०८१ सालमा ठेकेदारले माछा निकाल्न भनेर सुकाएपछि गौचरनमा परिणत भएको थियो । त्यसपछि बिस्तारै पुरानो अवस्थामा फर्कंदै गएको तालमा अहिले पानी भरिभराउ भएको छ । तालमा पानी आउने कुनै ठूलो स्रोत छैन । यहाँ जमिन मुनिबाट नियमित जरुवा पानी निस्कने गरेको छ । यसैबाट ताल सधैँ भरिभराउ रहने गरेका अध्यक्ष महतोले बताउनुभयो ।

लामो समय अस्तव्यस्त बनेको ताल सुन्दर बन्दै गएसँगै पर्यटक आउन थालेका स्थानीय व्यापारी लक्ष्मी सिंहले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य भारतको विहार राज्यका विभिन्न जिल्लाबाट आउने पर्यटकका कारण स्थानीय व्यापारीहरू उत्साहित हुनुहुन्छ । शनिबार ताल परिसरको पार्कमा छोरा घुमाउन आउनुभएको सर्लाहीको बरहथवा–५ निवासी बुद्धबहादुर थिङले ताल परिसर सुनेकोभन्दा सुन्दर रहेको प्रतिक्रिया दिनुभयो ।

प्रचारप्रसारको अभावमा गुमनाम तालको विषयमा धेरैलाई थाहा नभएको उहाँले बताउनुभयो । अत्यन्त महत्वपूर्ण यस्ता प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार सचेत हुनुपर्ने उहाँको धारणा थियो । निर्माणाधीन अवस्थामा रहेको ताल परिसर फोहोर हुँदा पर्यटकहरू निराश हुने उहाँले बताउनुभयो । “एक पटक घुम्न आएका पर्यटकले अरूलाई पनि आउन प्रोत्साहन गर्ने माहोल हुनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसपछि कसैले केही गर्नु पर्दैन ।”

तालको मुख्य आकर्षणको केन्द्रका रुपमा ताल शयरको सुविधा भए पनि दिगो व्यवस्थापनको अभावमा नियमित मोटरबोट सञ्चालन नभएको पर्यटकहरूको गुनासो छ । सदरमुकाम मलङ्गवाबाट घुम्न आउनुभएका दिनेश महतोले आफू तालमा बोट चढ्न भनेर धेरै पटक आउँदा पनि सफल नभएको गुनासो गर्नुभयो । “कहिले बोट बिग्रिएको छ, भन्नुहुन्छ,” उहाँले भन्नुभयो, “अहिले ठेकेदारले चलाउन दिएको छैन् रे ।”

सुविधा नहुँदा तालमा एक पटक आउने पर्यटक फर्केर आउने वातावरण नरहेको उहाँले गुनासो गर्नुभयो । उहाँले ताल परिसरमा रहेका संरचनाको प्रयोग र व्यवस्थापन निकै कम्जोर रहेको बताउनुभयो । पार्कमा भर्खर निर्माण भएको बालबालिकाले खेल्ने संरचनाहरू जीर्ण अवस्थामा छ । केही धरापका रुपमा रहेकाले निकै जोखिम रहेको उहाँले बताउनुभयो । त्यसतर्फ स्थानीय सरकारलाई ध्यान दिनसमेत उहाँको अनुरोध छ ।

यस गाउँपालिकाले ताल परिसरमा पार्क, प्रतीक्षालय, मठमन्दिर, शौचालयलगायत संरचना निर्माणका लागि २०८१ असार २१ गते सात करोड ८० लाख ४३ हजार १९ रुपैयाँ ७० पैसामा ठेक्का लगाएको थियो । ३६ महिनामा निर्माण सम्पन्न गर्ने गरी एस एन्ड एस/काल्सा जेभी बागमती सर्लाहीले निर्माणको जिम्मा लिएको हो । नाढीमन ताल परिसरको मौलिक पुनर्निर्माण तथा सौन्दर्यकरणले यस क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको स्थानीय राम स्वगारथ रायले बताउनुभयो ।

पालिकाले आन्तरिक आयको उद्देश्य राखेर माछापालनका लागि पोखरी ठेक्का लगाएको छ । जसले गर्दा तालमा मोटरबोट सञ्चालन हुन नसकेको बोट व्यवस्थापक कर्मचारी धनिराम सहनीले बताउनुभयो । मोटरबोट सञ्चालन गर्दा माछा मरेको भन्दै सम्झौताबमोजिम तालमा बोट चलाउन ठेकेदारले रोक लगाएको छ ।

तालमा मरेका माछा तथा अन्य फोहोरका कारण दुर्गन्धित हुँदा समस्या भएको पर्यटकहरूको गुनासो छ । स्थानीय बिनिता महतोले माछा मरेको दुर्गन्धका कारण तालको छेउमा उभिन पनि सकस भएको बताउनुभयो । यसतर्फ पालिकाले बेलैमा ध्यान नदिए विगतमा जस्तै तालमा आउने पर्यटक घट्दै जाने जोखिम रहेको उहाँको आशङ्का थियो ।

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

0

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ ।

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको हो । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।

यसै सन्दर्भमा स्वास्थ्यमन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।

स्वाथ्यमन्त्रीको सचिवालयका अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको छ ।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ ।

एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा

0

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’अन्तर्गत आज  सम्पन्न खेलमा साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

साउदी अरेबियाले दिएको एक सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि गुलशनकुमार झाले अविजित ४४, ईशान पाण्डेले ४४, देव खनालले ३९, रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० र अर्जुन कुमालले १५ रन बनाए ।

बलिङतर्फ साउदी अरेबियाका लागि इश्ताक अहमद र मुहम्मद आतिफले दुई दुई विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको साउदी अरेबियाले ४९।२ ओभरमा सवै विकेट गुमाएर एक सय ९० रन बनायो ।  साउदी अरेबियाका लागि अब्दुल वाहीदले ८९ बलमा १० चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७७ रन बनाए । यस्तै मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन तीन, ललितनारायण राजवंशीले दुई तथा गुलशनकुमार झा र शेर मल्लले एक एक विकेट लिए । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई छ विकेटको पराजित गरेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेल मङ्गलबार हङकङसँग खेल्नेछ ।

न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित

0

काठमाडौँ । अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम एकदिवसीय खेलमा पनि न्युजिल्यान्ड ‘ए’सँग दुई विकेटले पराजित भएको छ । एकदिवसीय श्रृङ्खलामा नेपालको यो लगातार तेस्रो पराजय हो ।

नेपालले यसअघि तास्मिनियासँग दुई विकेट र दक्षिण अष्ट्रेलियासँग एक सय ३८ रनको हार व्यहोरेको थियो । आज भएको अन्तिम खेलमा डार्विनस्थित मरारा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ‘ए’को पारी निर्धारित ५० ओभरमा दुई सय ११ रनमा समेटियो ।

नेपालका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रन बनाए । यस्तै, लोकेश बमले ६४ बलमा चार छक्का र एक चौकासहित ४७ रन बनाए । कप्तान अनिलकुमार साहले २४, मयन यादवले २० र विपिन खत्रीले १२ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्ड ‘ए’का लागि म्याथ्यू फिसरले नौ ओभरमा ३७ रन दिएर सर्वाधिक ४ विकेट लिए ।

दुई सय १२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्यान्ड ‘ए’ ४९ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर विजयी भयो । न्युजिल्यान्ड ‘ए’का लागि राइस मारिउले शतकीय पारी खेले । उनले १३४ बलमा १६ चौका र तीन छक्कासहित १३७ रन बनाए ।

बलिङतर्फ नेपालका लागि रिजन ढकाल, युवराज खत्री र साहब आलमले दुई दुई तथा विपिन खत्री र पवन सर्राफले एक एक विकेट लिए ।