Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 367

सर्लाही र राैतहटमा हरवाचरवा अधिकार मञ्चकाे जिल्ला सम्मेलन सम्पन्न

वीरगंज । “मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापन हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।।” भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन बिहिबार ईश्वरपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्व सदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवाको नेपाल सरकारद्वारा २०७९ श्रावण २ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबाद्वारा गरिएको हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गरि पुनःस्थापनाको सार्थक प्याकेज घोषणा गर्नुपर्ने कुरामा जोड दिए ।

साथै उनले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख भएको हरवाचरवा पुर्नस्थापन लागी तत्काल तथ्यांक संकलन गरि परिचयपत्र वितरण गरिनु पर्ने, राष्ट्रिय भूमि आयोग समक्ष मुक्त घोषित हरवाचरवाको लागि कम्तीमा १० कठ्ठा जमीन दिने गरि पहिचान गर्न गरिनुपर्ने र हरवाचरवा पुर्नस्थापनका लागि प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय समक्ष अधिकार सम्पन्न हरवाचरवा पुर्नस्थापन समिति गठन गरिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका बिशीष्ट अतिथी एवं चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँपालिकाले कार्यबिधी निर्माण गरि मुक्त हरवाचरवाको पहिचान, प्रमाणीकरण र परिचयपत्र बितरणका मार्फत उनीहरुको पुर्नस्थापन गरिने वताए । साथै उनले यसका लागि प्रदेश र संघीय सरकारसंग पनि समन्वय गरिने कुरामा जोड दिए ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रतिनिधी सभाका पुर्व सदस्य प्रमोद शाह, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सहसचिव रामदयाल सदा, जनता समाजवादी पार्टीका नेता रामचन्द्र महतो, दलित नेता भगलु माँझी, रामकेवल माँझी, वडाअध्यक्ष दर्शन सिंह लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

जिल्ला हरवाचरवा अधिकार मञ्चका अध्यक्ष रामदयाल माँझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा जिल्ला एक्टीभिष्ट नबिना माँझीले स्वागत गरेका थिए ।

सम्मेलनले रामदयाल माँझीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाही गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस सोनी माँझी, देवेन्द्र राम, भगलु माँझी र सितादेवी राम चयन भएका छन् ।

मञ्चका सदस्यहरुमा रामबाबु पाशवान, रिनादेवी माँझी, रजरनिया देवी माँझी, सत्या माँझी, सतनी गिरी, रिता माँझी र मिरादेवी माँझी चुनिएका छन् ।

यसैगरी जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटको दोश्रो जिल्ला सम्मेलन बुधबार गरुडामा सम्पन्न भएकाे छ । 

सम्मेलनले दशरथ रामको अध्यक्षतामा १३ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहट गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः किसमतीयादेवी पासवान, सुनिल पाशवान, शान्ती राम र डिकाकुमारी ठाकुर चयन भएका छन् ।

मञ्चको सदस्यहरुमा उपेन्द्र दाश, खुब्बु पाशवान, गोलीयादेवी राम, सचितानन्द राम, मालती चौधरी, रामसुधार पासवान र धरमशिलादेवी राम चुनिएका छन् ।

वीरगंज महानगरकाे सहयाेगमा सिरक वितरण

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २१ मा बुधबार बृद्धबृद्धा एंव विपन्नहरुलाई सिरक वितरण गरिएको छ ।

जाडो बढ्दै गएपछि त्यसैलाई मध्यनजर गरि वीरगंज महानगरपालिकाको सहयोगमा संसारीमाई युवा समाजले २ सय जनालाई सिरक बाँडेको हो । एक कार्यक्रमका बिच वीरगंज महानगरका मेयर राजेशमान सिंहले स्थानीयलाई सिरक वितरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर सिंहले वीरगंजलाई बदल्ने अभियानमा सबैले हातेमालो गर्न आग्रह गरे । आफु एक्लैको प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै मेयर सिंहले सबैको सामुहिक प्रयासमा वैभब वीरगंज बन्ने दाबी गरे ।

रमिता कुशवाहाको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको सिरक वितरण कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार, साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, कोषाध्यक्ष जिनु मियाँ, स्थानीय नेताहरू संजय मण्डल, कृष्णा पटेल, पुरुषोत्तम पटेल, सिपलाल राम, नवीन मण्डल लगायतको पनि उपस्थिति रहेको थियोे ।

वीरगंज महानगरकाे ज्येष्ठ पत्रकार पेन्सन योजना कार्यान्वयनमा लैजान निर्णय

वीरगंज । वीरगंज महानगरपालिकाको आमसंचार माध्यम प्रर्बद्धन तथा नियमन समितिको बुधबार सम्पन्न बैठकले ज्येष्ठ पत्रकार पेन्सन योजनाको कार्यबिधी तयार भईसकेको हुँदा त्यसलाई नगर परिषदबाट पारित गरेर कार्यान्वयनका लागि लैजाने निर्णय गरेको छ ।

बैठकले संचारकर्मीहरुका सूचना विज्ञापन प्रकाशन बापत लेखा शाखामा रोकिएको भुक्तानीको लागि आवश्यक समन्वय गरी तत्काल भुक्तानी गराउने निर्णय गरेको छ । यसैगरी बैठकले महानगरपालिकाबाट जारी हुने सूचना विज्ञापनहरु एकद्वार प्रणालीबाट बितरण गर्ने र सूचना शाखाबाट समानुपातिक ढंगले सूचना र विज्ञापन वितरण गरी भुक्तानीका लागि सूचना शाखाको सिफारीस अनिवार्य गर्ने निर्णय गरेको छ ।

बैठकले सूचना शाखाको जानकारी बिना सूचना टेण्डरहरु जाने गरेको देखिएको हुँदा अन्यथा यस्ता गतिबिधिको जवाफदेहि समिति नहुने निर्णय गरेको छ ।

यसैगरी बैठकले लोक कल्याणकारी विज्ञापनको दोस्रो त्रैमासिक भुक्तानीको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

आमसंचार माध्यम प्रबर्धन तथा नियमन समितिका संयोजक ध्रुब अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्य अनुप तिवारी, राम शर्राफ, बृजलाल पासवान, मनोज पटेल, माधुरी महतो, अमित अग्रवाल, आबिद हुसैन, महानगरपालिकाका प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, प्रकाशन प्रशारण तथा सूचना शाखा प्रमुख एवं समितिका सदस्य सचिव हरिओम प्रसाद चौधरी, कानुन अधिकृत ईश्वर बराल लगायतको सहभागिता रहेको थियो ।

अंग्रेजी नयाँ वर्षमा पर्सामा १२० सवारी कारवाहीमा

वीरगंज । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्सामा १२० सवारी साधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार पर्साका विभिन्न स्थानमा चेकजाँच गर्दा १२० सवारी साधन कारवाहीमा परेका हुन् । 

अङ्ग्रेजी नयाँ वर्ष मनाउने क्रममा हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेका २० सवारीलाई २४ घण्टे जारी गरी अर्काे चालकलाई जिम्मा लगाएर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । उनका अनुसार ४ वटा मोटरसाइकललाई होल्डमा राखिएको छ । 

पर्साको ठोरीमा बिना हेलमेट सवारी चलाउने, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको, सवारी दर्ता किताब नबोकेको २५ वटा सवारीलाई कारवाही गरिएको छ । 

वीरगंजकाे तिलावे पुलमा ११ वटा, गण्डकमा ५ वटा, पावरहाउस ९ वटा, वीरगंज भन्सारमा ६ वटा, बसपार्कबाट ६ वटा, ड्राइपोर्टबाट २७ वटा र बहुअर्वाभाठाबाट १२ सवारीलाई कारवाही गरिएको छ । 

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय ३ पटक विभिन्न जनचेतनामुलक कार्यक्रम गरेको छ, जसमा २७० जना चालक र सर्वसाधारणलाई ट्राफीक सचेतनाका बारेमा सचेत गराइएको ट्राफिक प्रहरी निरीक्षक खतिवडाले बताए । 

यसपटक नयाँ वर्षमा कुनै अप्रिय घटना नभएको भन्दै उनले खुशी व्यक्त गरेका छन् । साथै चाडवाड तथा अन्य अवसरमा ट्राफिक नियमको पालना गर्न पनि उनले आग्रह गरेका छन् । 

बिल बिजकभन्दा बढी मूल्यकाे सामग्री बोकेकाे ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट बिल बिजकभन्दा बढी मूल्य बराबरको सामग्री बोकेर नेपालका विभिन्न स्थानका छुटेको तिन वटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगंजबाट कैलाली, सुनसरी तथा काठमाडौँका लागि छुटेका तिन वटा ट्रकलाई बिल बिजकभन्दा बढीको सामग्रीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले वताए । 

वीरगंज महानगरपालिका – ८ घण्टाघरबाट ना.४ ख ८३१८, वीरगंज महानगरपालिकाकाे वडा नं. ८, १४ र १५ प्रतिमा चोकबाट एनएल-०१-जी-१८८६ नम्बरको ट्रकहरूलाई रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको सामग्री तथा माल बस्तुहरू बरामद भएको डिएसपी थापाले जानकारी दिए ।

बरामद सामग्रीको प्रहरीले एक करोड ८९ लाख ९७ हजार २ सय ८७ रुपैयाँ अनुमानित मूल्याङ्कन गरेर समान र ट्रकलाई थप अनुसन्धानको लागि बुधवार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको उनले वताए ।

समान कसको र कुन ट्रान्सपोर्ट कम्पनी रहेको विषयमा प्रहरीले केही जानकारी भने उपलब्ध गराएको छैन ।

भन्सार घेराउका क्रममा आजपाका ७ नेता कार्यकर्ता पक्राउ

काठमाडौँ । भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै प्रहरीको धरपकडमा १ जना घाइते भएका छन् । 

भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ । सोही क्रममा बुधबार विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

आजपाका अध्यक्ष प्रभु साहले भन्सार घेराउका क्रममा प्रहरीको धरपकड गर्दा तिलक थापा मगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेकाे बताए । पक्राउ परेको मध्ये रञ्जु घाइते छिन् । उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आजपाले झण्डै तीन साता यता दोस्रो चरणको आन्दोलन गर्दै आएको छ । आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले सरकारले मागको सुनुवाइ नगरेको प्रति आक्रोश पोख्दै आएको छ ।

आम नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए  थप कडा आन्दोलन गर्ने आजपाकाे तयारी छ । 

बिदेशबाट पार्सल गरी पठाईएको लागु औषधसहित ३ जना पक्राउ

वीरगंज । बारा प्रहरीले युएसएबाट पार्सल गरी पठाईएको लागु औषधसहित ३ जनालाई नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय बारा र लागु औषध व्युरो वीरगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले साेमबार दिउसाे ३ बजे ३ जनालाई नियन्त्रणमा लिएकाे हाे । 

विदेशबाट लागु औषध डिलेभरी हुँदैछ भन्ने सूचनाको अधारमा खटिएकाे प्रहरीले लागु औषधसहित वीरगंज महानगरपालिका वडा नं.१ सिसवा बारी निवासी २२ बर्षिय नैमोदिन मियाँ, बजार छपकैया निवासी २७ बर्षिय जितेन्द्र साह सोनार र २२ बर्षिय कृष्णा सराफलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

पक्राउ परेकाहरुकाे साथबाट पप्पकर्न मिक्स ट्रियाे लेखिएको रातो रंगको टिनको डब्बा भित्र गाँजा ३ तिन प्याकेट, ओल्ड फैस्नेड ओएट्स लेखिएकाे डब्बा भित्र गाँजा १ प्याकेट र क्युक ओएट्स लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

कलैया उप-महानगरपालिका वडा नं.१ मोतिबाग स्थित रहेको जिल्ला हुलाक कार्यालय कलैया, बारा नजिक विदेशबाट आएको उक्त कार्टुन समेत लागु औषध गाँजा सहित नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।

बाराबाट ट्रान्सफरमा चोरी गर्ने भारतिय नागरिक पक्राउ

वीरगं‍ज । बारा प्रहरीले नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा चाेरी गरेकाे आराेप एक जना भारतिय नागरिकलाई पक्राउ गरेकाे छ ।
 
ट्रान्सफरमा चाेरी गर्ने भारत बिहारकाे मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने २२ बर्षिय जैसिलाल यादवलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ । 
 
प्रहरीका अनुसार नेपाल विधुत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं.०३ श्रीनगर बैरियाबाट मंसिर १३ गते राति र पचरौता नगरपालिका वडा नं.०५ बेल्दारी स्थितबाट मंसिर २३ गते चोरी भएको थियाे ।
 
साेही ट्रान्सफरमा र चोरलाई खोजलतास गर्दै जाने क्रममा पचरौता नगरपालिका वडा नं.०५ टियर खोलामा लुकाई छिपाई राखेको चोरी भएको समान सहित यादवलाई साेमबार सांझ ६:३० नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।
 
पक्राउ परेका यादवकाे साथबाट एच टि काेयल २ थान र एल टी काेयल ६ थान बरामद समेत भएकाे प्रहरी नायब उपरिक्षक न्याैपानले जानकारी दिए ।
 
यादव विरुद्ध चोरी मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले वताए ।

पर्सागढी मन्दिरमा यस बर्ष पनि विजय महोत्सव मनाइने

वीरगंज । पर्साको पर्सागढी मन्दिर व्यवस्थापन समितिले यसपालि पनि विजय उत्सव महोत्सव मनाउने निर्णय गरेको छ ।

विक्रम सम्बत् १८७१ पौष १९ गते स्थानीय रंजित चौधरीको कुशल युद्ध निति तथा स्थानीयवासीहरुको सकृयतामा आधुनिक हतियार बोकेका ब्रिटिश भारतका विशाल सेनालाई पराजित गरेर गोर्खाली सेनाले हासिल गरेको ऐतिहासिक विजयको सम्झानामा विजय महोत्सवको आयोजना गरीने व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

पर्सागढी नगरपालिकाको पनि आर्थिक सहयोग, नेपाली सेनाको सहभागीता तथा स्थानीयवासीहरुको सहभागीतामा पर्सागढी मन्दिर व्यवस्थापन समितिले २१० औँ विजय महोत्सव आयोजना गर्न लागेको हो ।

नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रमलाई निरन्तरता दिँदै पर्सागढी विजय महोत्सव कार्यक्रम पर्सागढी नगरपालिकाको कार्यालय हरपुरमा पुरुष १९ गते विहान १० बजे भेला भई विभिन्न झाँकी एव् नेपाली सेनाको टोलिका साथ बाजागाजा सहित हर्षोल्लासका साथ पदयात्रा गर्दै पर्सागढी मन्दिर परिसरमा पुगी विजय महोत्सव कार्यक्रममा परिणत हुने पर्सागढी नगरपालिकाका प्रमुख गाकर्ण पाठकले बताए ।

पर्सागढी र पर्सागढी मन्दिर पर्साको एक मात्र ऐतिहासिक युद्ध स्थल रहेको भएपनि ओझेलमा परेको गुनासो गर्दै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले मन्दिरको दुवै तर्फ नदि तथा खोला सबै भन्दा ठुलो बाधक रहेको र मन्दिर लगायत आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न तीनै तहको सरकार लगायत उधोगी व्यवसायीको पनि ध्यान पुग्न आवश्यक रहेको बताए ।

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पर्सागढी क्षेत्रको विकासका लागि पालिकाले सक्दो सहयोग गर्ने बताए । उनले पर्सागढी क्षेत्रको जमिन व्यक्तिको नाममा अवस्थाले नै काम गर्न समस्या हुने बताए ।

उनले भने , ‘पूर्वाधार विकासका लागि जग्गा चाहिन्छ, पर्सागढीमा जग्गाको समस्या छ, मन्दिर क्षेत्रको जग्गा व्यक्तिको नाममा दर्ता छ । पर्यटन पूर्वाधार विकासका लागि जमिन कहाँ खोज्न जाने ? पर्सा जिल्लामा एक मात्र गढी छ । यसको आफ्नै किसिमको महत्व र परिचय छ । पालिकाको साधन र स्रोतले भ्याएसम्म काम गर्न तयार छौं । जग्गा के कति छ ? कुन अवस्थामा छ ? यो क्लियर हुनुपर्छ ।’

त्यस्तै समितिका अध्यक्ष चौधरी भन्छन् , पर्सागढीको त्यो बेलाका युद्धका विषयमा लेखीएका लेख , दस्तावेजहरुमा लेखकले युद्ध सफल बनाउन मुखय भुमिका खेलेका रञ्जित चौधरीको नाम नै समावेश नगरीएको देख्दा पालिकावासीकै मन खिन्न भएको दुखेसो पोखे । लेख रचना वा दस्तावेजीकरण गर्नुपुर्व अध्ययन अनुसन्धान गर्न उनले आग्रह पनि गरे ।

हाल स्थानीय थारु परिवारले गढी परिसरमा मन्दिर तथा गेट निर्माण गरेका छन् । पर्सागढी नगरपालिकाले धर्मशाला निर्माण गरिदिएको छ । युद्धस्थलमा रञ्जित चौधरीको कुल देवता बन्हर बाबाको मन्दिर र विजय स्तम्भ बनाइएको छ । गढी क्षेत्रमा जाँड, रक्सी, सुँगुर र राँगाको मासु प्रतिबन्धित छ ।

पर्सागढ्रीको गौरवगाथालाई उजागर गर्दै उक्त क्षेत्रलाई पर्यटकीय आकर्षणको रुपमा विकासका लागि आ आफ्नो स्थानबाट पहल गरीदिन मंगलबार पत्रकार सम्मेलन मार्फत आग्रह गरीएको हो । मन्दिर परिसरमै आयोजित पत्रकार सम्मेलनमा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एव् पुर्व गाविस अध्यक्ष वृजमोहन चौधरी, स्थानीयवासी तथा विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

मधेश प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगंजका हवारी चयन

वीरगंज । मधेस प्रदेश क्रिकेट संघकाे छनाैट समितिकाे संयाेजकमा वीरगंजका मुर्तुजा हवारी चयन भएका छन् । मधेस प्रदेश क्रिकेट संघकाे बाेर्ड बैठकले संयाेजकमा हवारीलाई चयन गरेकाे हाे । हवारी पर्सा क्रिकेट संघका उपाध्यक्ष पनि हुन् ।

यस्तै छनाैट समितिकाे सदस्यमा विकास दली र सुनिल कुमार साह चयन भएका छन् । मधेस प्रदेश क्रिकेट संघकाे बाेर्ड बैठकले केपी ओली कप राष्ट्रिय क्रिकेटको उपाधि विजेता मधेस प्रदेश क्रिकेट टिमलाई नगद ३ लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय पनि गरेकाे छ ।

यस्तै बाेर्ड बैठकले वीरगंजमा यहि पुष १८ देखि २५ गतेसम्म प्रधानमन्त्री कप मधेस प्रदेश स्तरीय क्रिकेट छनाैट प्रतियोगिता आयाेजना गर्ने निर्णय पनि गरेकाे छ ।