Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 366

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

वीरगंज । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो ।

सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर साह गम्भीर घाइते भएका थिए । टाउकामा गोली लागेका साहको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

अस्पतालको विषयलाई लिएर स्थानीयहरूले मेयर कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि गोली चलाउनु परेको प्रहरीकाे दाबी छ । प्रदर्शनकारीले गाडीमा समेत आगजनी गरेको बताइएको छ । घटना साम्य नहुँदा सर्लाही प्रशासनले कर्फ्यू जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू जारी गरेको हो । दिउँसो भएको आन्दोलनका क्रममा प्रहरीको गोली साहकाे मृत्यु भएकाे थियाे । तर सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले आफूले गोली चलाउने आदेश नदिएको बताएका छन् । 

वीरगंज महानगरले वितरण गर्यो कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति

वीरगंज । वीरगंज महानगरपालिकाले संस्थागत विद्यालयमा अध्ययनरत कक्षा ९ र ११ का विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति पत्र वितरण गरेको छ । त्रिजुद्ध माविमा आयोजित कार्यक्रमकाबीच महानगर प्रमुख राजेशमान सिंहले विद्यार्थीहरुलाई छात्रवृत्ति पत्र वितरण गरेका हुन् ।

सिफारिस पत्र प्रदान गर्दै प्रमुख सिंहले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई अझै मेहनतका साथ अध्ययन गर्न आग्रह गरे । उनले कसैको सिफारिस र भनसुनमा नभई अघिल्लो कक्षामा ल्याएको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) ल्याउन सफल भएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको उनले वताए ।

‘कसैको सिफारिस र भनसुन हामीले सुनेनौँ, जसले आज छात्रवृत्ति प्राप्त गरिरहनु भएको छ उहाँहरुको मेहनत र परिश्रमले प्राप्त गरेको नतिजा नैँ हामीले पस्केका हौँ,’ उनले भने ।

उनले अघिल्लो कक्षामा प्राप्त गरेको लब्धांकलाई नै आधार मानेर सबैभन्दा माथिल्लो ग्रेड (जीपीए) ल्याउन सफल भएका भाइबहिनीहरु नै यो छात्रवृत्तिको हकदार बनेको प्रष्ट पारे । आउँदा दिनमा पनि उत्कृष्ट नतिजा हात पार्न अध्ययनमा अझै परिश्रम गरि विरगंजकै नाम रोशन गर्न पनि विद्यार्थीहरुलाई उनले सुझाव दिए ।

कार्यक्रममा महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले मेहनती र जेहेन्दार विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि महानगरले छात्रवृत्ति उपलब्ध गराएको भन्दै छात्रवृत्तिको सम्मान कायम राखिराख्न अध्ययनमा कमजोरी नगर्न सुझाव दिए ।

विद्यार्थीले एसईई र कक्षा ८ मा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको महाशाखा प्रमुख कर्णले बताए ।

छात्रवृत्ति प्राप्त गर्नेमा ३७ प्रतिशत जेहेन्दार, ३६ प्रतिशत विपन्न, १० प्रतिशत जनजाति, ५ प्रतिशत दलित, ३ प्रतिशत अपाङ्गता र ९ प्रतिशत शहीद, जनआन्दोलनका घाइते, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्तति छन् ।

गएको वर्ष महानगर आफैले परीक्षा लिएर छात्रवृत्ति वितरण गर्दा चलखेल भयो भन्ने गुनासो सुनिएको भन्दै उनले भने, ‘परीक्षा लिएर छनोट गर्दा अपारदर्शी हुन सक्ने, विद्यार्थी र अभिभावक स्वमंले छनोटमा आशंका गर्न सक्ने अवस्था रहेकाले नै अघिल्लो कक्षामा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै आधार बनाएर पारदर्शी रुपमा छनौट गरिएको हो ।’

यस पटक महानगरले आवेदन माग गर्दा कक्षा ८ र एसईईको ग्रेड सिटसहित अपाङ्गता भएका विद्यार्थीको हकमा अपाङ्गता परिचयपत्र, आदिवासी, जनजाति र दलित विद्यार्थीको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, शहीद, जनआन्दोलनका घाइतेका, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिको हकमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित कागजात, गरिब तथा विपन्न कोटामा आवेदन दिन चाहने विद्यार्थीको हकमा वडा कार्यालयको सिफारिस समावेश गर्न भनेको थियो ।

महानगरले छात्रावृत्तिका लागि सिफारिस गरेको पत्रको आधारमा विद्यालयले पूर्ण निशूल्क अध्यापन गराउनु पर्ने छ ।
महानगरले कक्षा ९ मा १९० जना र कक्षा ११ मा ५९२ जनालाई पूर्ण निशुल्क अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराएको हो ।

छात्रवृत्ति पत्र वितरण कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, ४ का जगत साह कानु, ५ का प्रदीप चौरसिया, १६ का प्रसुराम चौरसिया, महानगर शिक्षा समितिका सदस्यहरु, छात्रवृत्ति व्यवस्थापन समितिका सदस्य लगायतको सहभागिता रहेको थियो । छात्रवृत्ति पत्र वितरण कार्यक्रमको सहजिकरण शिक्षा अधिकृत आनन्द लामिछानेले गरेका थिए ।

वीरगंजबाट ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान

वीरगंज । नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगंजबाट ‘जनकपुरधाम-अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा एक टोली राममन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित वीरगंज आएको थियो । यात्रालाई वीरगंज महानगरपालिकाको प्रमुख राजेशमान सिंहले स्वागत गरेका थिए । यात्रालाई नेपाल प्रहरी र सशत्र प्रहरीको नायव महानिरीक्षकद्वय, वीरगंज महानगरको सदभावनादुत अशोक वैद लगायतले सहभागीहरुलाई माला र खादाले स्वागत गरेको थियो ।

यात्रा शुक्रबार नै अयोध्याको लागी प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीवार सुरु गरिएको यात्रा राति अबेर वीरगंज पुगेको थियो । रक्सौलको बाटो भएर गोरखपुर हुँदै शुक्रबार रातिसम्म अयोध्या पुग्ने लक्ष्य राखिएको छ । राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राममन्दिर निर्माण भएको छ ।

पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाँडावर्तनका साथै विभिन्न मिठाई तथा पकवान रहेका छन् । यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ ।

भार यात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ ।

पुर्व राजा ज्ञानेन्द्र पुस २२ गते सिमरामा आउँदै, स्वागतमा सहभागि हुन आग्रह

वीरगंज । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाह पुस २२ गते सिमरामा आउने भएका छन् । सिमरामा हुने पुर्व राजा साहकाे अभिनन्दन कार्यक्रममा आमजनताकाे सहभागितकाे लागि  “स्वागत तथा नागरिक अभिनन्दन मुल समिति वीरगंज”ले आग्रह गरेको छ ।

वीरगंजमा यही पुस अन्तिम तिर हुने स्वागत तथा नागरिक अझिनन्दन कार्यक्रम आयोजनाका लागी गठित मुल समितिले शुत्रवार एक प्रेस नोट जारी गरी यस्तो आग्रह गरेको हो ।

समितिका प्रवक्ता हिरा बहादुर चन्दले जारी गरेको प्रेस नोटमा भैरहवाबाट पुर्व राजा शाह पुस २२ गते आइतवार २ बजे सिमरा पुग्ने कार्यक्रम रहेको जनाएका छन् । उनले जारी गरेकाे प्रेस नाेटमा पूर्व राजाकाे स्वागतमा सहभागीताका लागी आमजनमानस एवं राष्ट्रवादीहरुमा हार्दिक अपिल गर्दछौं उल्लेख छ ।

पुस मसान्त तिर वीरगंजमा हुने नागरिक अभिनन्दनका साथै धार्मिक भ्रमणका लागी पुर्व राजा शाहको सिमरा आउने कार्यक्रम रहेको समितिले जनाएको छ । उनकाे बारा जिल्ला सिमरा स्थित प्रभुवासमा १५ दिन बसाइ रहने समितिले जनाएको छ ।

पुर्व राजा शाहको नागरिक अभिनन्दनका लागी वीरगंज स्थित लालवंगला परिसर सरसफाइ तथा सजावट कार्य सुरु गरिएको छ ।

श्रीनिधि सहकारीकाे १२ औं बार्षिक साधारण सभा सम्पन्न

वीरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंजकाे १२ औं बार्षिक साधारण सभा शुक्रबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा भएकाे साधारण सभाकाे उद्घाटन राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबि उप्रेतिले गरेका थिए ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतिले केहि सिमित व्यक्तिहरुले सहकारीलाई बदनाम गरेको आरोप लगाए । उनले पछिल्ला दिनहरुमा केहि समुहहरुले नियोजित रुपमै लागेर सहकारी बिरुद्ध भ्रम सृजना गरेको दावी गरे ।

सहकारीलाई राज्यले समेत चाहिने जति सहयोग नगरेको आरोप लगाउदै उनले सहकारी बिरुद्ध फैलाइएको भ्रमको पछि नलाग्न आग्रह समेत गरे । वित्तिय तरलता र विदेशी मुद्रा सञ्चितिमा कमी आएको अवस्थमा सहकारीले देशलाई ठूलै आर्थिक सहयोग गरिरहेको उनकाे भनाई थियाे ।

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आ.व. २०७९/०८० मा संस्थाले ९७ करोड ४३ लाख ७३ हजार ८ सय ४ रुपैयाको काराेबार गरेकाे वताए । उनले संस्थाको शेयर पुजी ४ करोड ८३ लाख ८९ हजार ५ सय र बचत संकलन ६९ करोड, ७४ लाख ७९ हजार ३ सय  ९ रुपैया रहेको जनाए ।

जगेडा तथा अन्य कोषहरुमा  ४ करोड ७ लाख ४५ हजार ६ सय ५६ रुपैया र कर्जा तथा सापटि ६४ करोड ६५ लाख २३ हजार २ सय ५४ रुपैया रहेकोमा खुद नाफा एक करोड ३१ लख ४ हजार ३९१ रुपैया रहेको अधिकृत चौरसियाले बताए ।

संस्थाका अध्यक्ष चुडामणी ब्रजचार्यको तर्फबाट संस्थाकाे बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अधिकृत चाैरसियाले संस्थाको स्थिर सम्पति वीरगंजकाे आर्दशनगर स्थित भाजुरत्न चौक नजिक रहेको साढे पन्ध्र धुर जग्गा  जोड्न सफल भएको र सो  जग्गामा एक बर्षभित्र भवन निर्माण गर्ने योजना रहेको जानकारी गराए ।

उनले विगत आ.ब. २०७६/०७७ देखि नै प्रविधि मैत्री वित्तिय सेवा घोषणा गरे बमोजिम संस्थाको व्यापार प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल भएको वताए ।

प्रविधि मैत्री वित्तिय सेवालाई व्यवस्थित गर्दै सेवा प्रदान गरिने कार्यक्रम सहित आ.ब.२०७८।०७९ देखि निरन्तर कार्यान्वयनमा रहेको स्मार्ट बैंकिङ सेवा अर्न्तगत माेबाइल बैंकीङ टेकनलाेजी मार्फत नेपालभरी आफ्नो वित्तिय कारोबार गर्न सकिने गरी संस्थाले आफ्नै, एसएमएस सर्भिस र माेबाइल बैंकिङ सर्भिस उपलब्ध गराइरहेकाे जानकारी गराए ।

संस्थाका अध्यक्ष ब्रजचार्यको अध्यक्षता सम्पन्न कार्याक्रमा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका पर्सा अध्यक्ष राजेश पंडित, सहकारी विकास बाेर्डका पुर्व संचालक सदस्य शम्भु गुप्ता, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफस्कुन) पूर्व संचालक सदस्य  हरेराम पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट नियमित बचत सदस्य रामायण गिरी, विश्वनाथ प्रसाद, उत्कृष्ट बाल बचत सदस्य आस्था श्रेष्ठ र उत्कृष्ट ऋणी सदस्य रामायण प्रसाद तेली लगायतकालाई सम्मान समेत गरिएकाे थियाे । कार्यक्रमको सहजीकरण संचारकर्मी उज्जवल घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य सुरेन्द्र चाैरसियाले गरेका थिए । 

रोट्रयाक्ट क्लबद्वारा विद्यार्थीहरुलाई टोपी वितरण

वीरगंज । रोट्रयाक्ट क्लब अफ वीरगंजले विद्यार्थीहरुलाई टोपी वितरण गरेको छ । क्लबले वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३० स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्रसोतीपुरका विद्यार्थीहरुलाई टाेपी वितरण गरेकाे हाे ।

एक कार्यक्रमका बिच रोट्रेक्ट क्लब अफ वीरगंजका अध्यक्ष सन्नी सर्राफले विद्यालयका प्रधानाध्यापक जोगिन्द्र पण्डित कुमाललाई विद्यार्थीहरुको लागि २५० वटा न्यानो टोपी हस्तान्तरण गरेका हुन् । चिसाेलाई मध्यनजर गर्दै विद्यार्थीहरुकाे लागि विद्यालयलाई टाेपी हस्तान्तरण गरिएकाे अध्यक्ष सर्राफले वताए ।

टोपी हस्तान्तरण कार्यक्रममा रोट्रेक्ट क्लब अफ वीरगंजका पूर्व अध्यक्ष आयुष गुप्ता, उपाध्यक्ष योगेश जैसवाल, सचिव विवेक पटेल, आकाश कलवार, राज सर्राफ, नीरज कुश्वाहा, अशिष श्रेष्ठ, राहुल कुश्वाहा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष विरेन्द्र यादव, अलि हुसैन लगायत रोट्रेक्ट क्लब अफ वीरगंजका सदस्यहरुको उपस्थिति रहेको थियो ।

रौतहटबाट १८ लाख ४३ हजार नक्कली नोटसहित एक युवक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय रौतहटले १८ लाख रुपैयाँ भन्दा बढीको नेपाली नक्कली नोट सहित एक युवकलाई पक्राउ गरेको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका ८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नम्बर ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई १८ लाख ४३ हजार रुपैयाँको नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको हो ।

सवारी चेकजाँचको क्रममा प्रहरीले यादवको साथबाट १ हजार ८४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

नक्कली नोट सहित पक्राउ परेका यादवलाई मुद्रा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाएको डिएसपी गिरीले बताइन् ।

यादवको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड र १६ लाख ६५ हजार उल्लेख भएको चेक समेत बरामद भएको छ ।

चिसाे बढेपछि तराई/मधेशकाे जनजिवन प्रभावित

वीरगंज । पर्साको वीरगंज लगायत तराइ/मधेशका जिल्लाहरुमा चिसो बढ्दै गएको छ । केही दिनदेखि बढ्दै गएको चिसोका कारण जनजिवन प्रभावित भएको छ । मध्य तराईको बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा बाक्लो हुस्सुसहित चिसो हावा चल्न थालेको छ । चिसो बढेसँगै तराईका जिल्लाहरुमा विरामी पनि बढ्न थालेका छन् ।

तराईका जिल्लाहरुमा केही दिनयता चिसो ह्वात्तै बढेको छ । एक साताअघिदेखि तराईमा शितलहर चल्न थालेको छ । कठ्याङ्ग्रिदो चिसोका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ । बाक्लो हुस्सुसँगै शीतलहरका कारण कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु मजदुरहरु बढी प्रभावित भएका छन् । दिनभरि काम गरी एक छाक टार्ने विपन्न समुदायका परिवार आगो तापेर दिन बिताउन बाध्य छन् । कठ्याङ्ग्रिदो चिसोले गर्दा यहाँका समुदाय गल्ली गल्ली र चोक चोकमा आगो तापेर बसिरहेका भेटिन्छन् । शितलहरसँगै चल्ने चिसो हावा चल्न थालेपछि जनजीवन कष्टकर बनिरहेको छ ।

तराईका जिल्लाहरुमा रातिको समयमा चिसो हावा चल्नुका साथै बिहान बाक्लो हुस्सु लाग्ने गरेको छ । लगातार बढदै गएको चिसोले सबै भन्दा बढी वृद्धवृद्धा तथा वालवालिका प्रभावित छन् । चिसोको कारण तराईमा विरामीको संख्या समेत बढेको छ । चिसोको कारण निमोनिया, कोल्ड डाइरिया, रुघाखोकी, ज्वरोका विरामीहरु बढेका छन् । दम, पक्षघात, पारालाइसिसजस्ता रोगबाट वृद्ध–वृद्धा बढी प्रभावित भएको चिकित्सकहरु बताउँछन् । चिसो बढेसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा विरामीको संख्या बढ्दै गएको छ ।

तराईका जिल्लामा गरिव तथा दलित वस्तिका बासिन्दा चिसोबाट बढी प्रभावित भएका छन् । चिसो बढेसँगै पर्साको वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा दाउरा तथा विपन्न समुदायलाई न्यानो कपडावितरण अभियान चलाउने तयारी गरेको छ । फुसको घरमा बस्ने तथा न्यानो ओढ्ने–ओछ्याउने नभएका विपन्न परिवार चिसोले बढी प्रभावित छन् । शरीर ढाक्ने न्यानो कपडा नभएका अति विपन्न परिवारहरु चिसो छल्न घुर बालेर आगो ताप्न थालेका छन् ।

डाक्टर दासकाे लापरवाहीका कारण हात नै गुमाउनु परेकाे पिडितकाे आराेप

वीरगंज । वीरगंजकाे आशाराम अस्पतालमा कार्यरत डा. आलोक दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ । वीरगंज महानगरपालिका – ३२ बन्दननगर बस्ने भोला कुमार साहले डा. आलोकविरुद्ध उजुरी गरेका हुन् ।

डा. आलोक उपचारमा लापरबाही गरेको कारण आफ्नो हात काट्नु परेको बताउँदै उनीमाथि कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेको भोलाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर बताएका छन् ।

भोलाका अनुसार २०८० कार्तिक १२ गतेमा उनी सीमावर्ती शर रक्सौलबाट ट्याम्पो चढेर फर्किँदै गर्दा दुर्घटनामा परेका थिए । दुर्घटनामा भोलाको बायाँ हात भाँच्चिएपछि ट्याम्पोवालालाई नियन्त्रणमा लिई उपचार गराउन दबाब दिइयो । चालकले रक्सौलको लक्ष्मीपुरस्थित एसआरपी मेमोरियल ट्रस्ट सुपर स्पेसियालिटी हस्पिटलमा उपचार गराउन लगे । त्यहाँ डा. आलोकको सुझाव अनुसार उनको हातको शल्यक्रिया गरेर स्टिल राखिएको थियो ।

‘शल्यक्रिया सफल भएको भन्दै चिकित्सकहरूले मलाई एक साता पश्चात् कार्तिक १९ गते डिस्चार्ज गरेका थिए । ‘ त्यस पूर्व डा. आलोकले मेरी आमालाई भेटेर ड्रेसिङका लागि रक्सौल नआउनु पर्ने बरु आफू वीरगंज मै कार्यरत रहेको आशाराम अस्पताल आउन सुझाव दिएका थिए,’ भोलाले पत्रकार सम्मेलनमा भने ।

डा. आलोककै सुझाव अनुसार आफू पहिलो पटक कार्तिक २१ गते ड्रेसिङका लागि आशाराम अस्पताल पुगेको भोलाले बताए । ‘पहिलो दिन  ड्रेसिङ गर्ने क्रममा डा. आलोकले घाउ ठिक भइरहेको बताउँदै दुई दिनपछि हामीलाई फेरी बोलाएका थिए,’ उनले भने ।

यद्यपि कार्तिक २३ उनी आशाराम पुग्दा डा. आलोकले आफूसँग ड्रेसिङ सम्भव नहुने बताउँदै शल्यक्रिया गरिएको एसआरपी अस्पतालमै जान सुझाव दिए । त्यहाँ पुग्दा डा. अलिन्द्र किशोर नामक चिकित्सकले हातमा ठूलै समस्या भएको बताउँदै काट्नु पर्ने बताएको साहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘डा. आलोकले हामीलाई शल्यक्रिया भएकै अस्पतालमा जान भनेपछि नै मलाई शङ्का लागेको थियो,’ भोलाले भने, ‘हामी एसआरपी पुग्दा सुरुमा डा. अलिन्द्र किशोरसँग भेट भएन । खोज्दै मोतीहारी पुगेपछि उनले हातको शल्यक्रियामा समस्या भएको कारण काट्नु पर्ने बताए ।’

त्यसपछि स्थानीयको सुझाव अनुसार थप उपचारका लागि आफू काठमाडौँस्थित बिनएण्डबी हस्पिटलमा पुगेको भोलाले बताए । उनले भने, ‘काठमाडौँ चेकजाँच गराउँदा शल्यक्रियामा लापरबाहीको कारण मेरो भाँच्चिएको हात काट्नुपर्ने अवस्था आएको जवाफ पाए । यसरी उपचारमा लापरबाही गरेर हात काट्ने बनाउने डाक्टरलाई कारबाही गरी मलाई क्षतिपूर्ति दिलाउन आग्रह गर्दछु ।’

डा. आलोकले भने आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको प्रतिक्रिया दिए । टेलिफोन संवादका क्रममा उनले सिनियर डाक्टरको निर्देशनलाई आफूले पालना मात्र गरेको बताए ।

उनले भने, ‘म एसआरपी अस्पतालमा २ घण्टाका लागि मात्रै जाने गर्दछु । त्यही समयमा उहाँको शल्यक्रिया मोतिहारीका चिकित्सकले गर्नुभएको थियो, मैले उहाँले भने बमोजिमको काम मात्रै गरेको छु । यसमा मेरो कुनै गल्ती छैन ।’

भोलालाई ड्रेसिङका लागि आफूले आशाराम अस्पतालमा आउन आग्रह समेत नगरेको डा. आलोकको दाबी छ । आफै पत्ता लगाएर आशाराम हस्पिटलमा आएपछि आफूलाई अस्पतालबाट खबर पाएको उनले बताए ।

यस विषयमा बुझ्न रक्सौलको एसआरपी अस्पतालमा सम्पर्क गर्न खोज्दा त्यहाँका प्रतिनिधिले फोनमा सबै कुरा बताउन नमिल्ने प्रतिक्रिया दिए । साथै अस्पतालमै आएर कुरा गर्न आग्रह गर्दै उनले फोन नै काटे ।

सर्लाही र राैतहटमा हरवाचरवा अधिकार मञ्चकाे जिल्ला सम्मेलन सम्पन्न

वीरगंज । “मुक्त हरवाचरवाको न्यायिक पुर्नस्थापन हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।।” भन्ने मुल नाराका साथ जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाहीको दोश्रो जिल्ला सम्मेलन बिहिबार ईश्वरपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय दलित नेटवर्क नेपालका केन्द्रीय अध्यक्ष एवं उच्च स्तरीय भूमि आयोगका पुर्व सदस्य गणेश बिश्वकर्माले मुक्त हरवाचरवाको नेपाल सरकारद्वारा २०७९ श्रावण २ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउबाद्वारा गरिएको हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गरि पुनःस्थापनाको सार्थक प्याकेज घोषणा गर्नुपर्ने कुरामा जोड दिए ।

साथै उनले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत उल्लेख भएको हरवाचरवा पुर्नस्थापन लागी तत्काल तथ्यांक संकलन गरि परिचयपत्र वितरण गरिनु पर्ने, राष्ट्रिय भूमि आयोग समक्ष मुक्त घोषित हरवाचरवाको लागि कम्तीमा १० कठ्ठा जमीन दिने गरि पहिचान गर्न गरिनुपर्ने र हरवाचरवा पुर्नस्थापनका लागि प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय समक्ष अधिकार सम्पन्न हरवाचरवा पुर्नस्थापन समिति गठन गरिनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका बिशीष्ट अतिथी एवं चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँपालिकाले कार्यबिधी निर्माण गरि मुक्त हरवाचरवाको पहिचान, प्रमाणीकरण र परिचयपत्र बितरणका मार्फत उनीहरुको पुर्नस्थापन गरिने वताए । साथै उनले यसका लागि प्रदेश र संघीय सरकारसंग पनि समन्वय गरिने कुरामा जोड दिए ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रतिनिधी सभाका पुर्व सदस्य प्रमोद शाह, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका सहसचिव रामदयाल सदा, जनता समाजवादी पार्टीका नेता रामचन्द्र महतो, दलित नेता भगलु माँझी, रामकेवल माँझी, वडाअध्यक्ष दर्शन सिंह लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

जिल्ला हरवाचरवा अधिकार मञ्चका अध्यक्ष रामदयाल माँझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा जिल्ला एक्टीभिष्ट नबिना माँझीले स्वागत गरेका थिए ।

सम्मेलनले रामदयाल माँझीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च सर्लाही गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस सोनी माँझी, देवेन्द्र राम, भगलु माँझी र सितादेवी राम चयन भएका छन् ।

मञ्चका सदस्यहरुमा रामबाबु पाशवान, रिनादेवी माँझी, रजरनिया देवी माँझी, सत्या माँझी, सतनी गिरी, रिता माँझी र मिरादेवी माँझी चुनिएका छन् ।

यसैगरी जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहटको दोश्रो जिल्ला सम्मेलन बुधबार गरुडामा सम्पन्न भएकाे छ । 

सम्मेलनले दशरथ रामको अध्यक्षतामा १३ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च रौतहट गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः किसमतीयादेवी पासवान, सुनिल पाशवान, शान्ती राम र डिकाकुमारी ठाकुर चयन भएका छन् ।

मञ्चको सदस्यहरुमा उपेन्द्र दाश, खुब्बु पाशवान, गोलीयादेवी राम, सचितानन्द राम, मालती चौधरी, रामसुधार पासवान र धरमशिलादेवी राम चुनिएका छन् ।