Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 361

राम मन्दिरमा प्राण प्रतिष्ठाकाे अवसरमा वीरगंजमा तेस्राे लिङ्गीहरुले पनि निकाले र्‍याली

वीरगंज । भारतकाे अयाेध्यामा श्रीराम मन्दिरकाे उद्घाटन एवम् प्राण प्रतिष्ठ गरिएकाे अवसरमा वीरगंजमा साेमबार तेस्राे लिङ्गीहरुले पनि र्‍याली निकालेका छन् ।

वीरगंजकाे बाेखार चाैकस्थित बाजागाजासहित निस्केकाे तेस्राे लिङ्गीहरुकाे र्‍याली रेल्बे राेड, घण्टारघर, माइस्थान, हुँदै घडिअर्वास्थित राम मन्दिरमा पुगेर सम्पन्न भएकाे थियाे ।

भारतकाे अयाेध्या र वीरगंजकाे राम मन्दिरमा गरिएकाे प्राण प्रतिष्ठाकाे अवसरमा आफुहरुले पनि र्‍याली निकालेर उत्सव मनाएकाे तेस्राे लिङ्गी समुहका ममता भट्टले जानकारी दिए । उनले र्‍याली निकाल्नुकाे साथै दीप प्रज्वलन समेत गरिएकाे जानकारी दिए ।

वीरगंजमा राम उत्सव : बैष्णोदेवी र माईस्थान मन्दिरमा दिपाेत्सव, घर घरमा दिपावली

वीरगंज । भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन भएको खुशीयालीमा वीरगंजसहित पर्साकाे विभिन्न पालिकामा दिपावली मनाइएकाे छ ।

हिन्दु स्वयंसेवक संघकाे आयोजनामा वीरगंजकाे वाईपास रोडस्थित बैष्णो देवी मन्दिर चौकमा ५१ हजार दिप प्रज्वलन गरि दिपाेत्सव गरिएकाे छ । भारतको आयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठा भएको अवसमा दिपाेत्सव गरिएकाे हिन्दु स्वम् सेवक संघका रन्जित साहले जानकारी दिए  ।

यस्तै वीरगंजकाे माईस्थानस्थित गहवामाई मन्दिर प्राङ्गणमा दीपाेत्सव गरिएको छ । दीपाेत्सवकाे समुद्घाटन संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका थिए । यसकासाथै वीरगंज महानगरबासीसहित पर्साका विभिन्न पालिकाबासीहरुले स्वस्फूर्त रुपमा घरघरमा दीप प्रज्वलन गरी दीपावलीपनि मनाएका छन् ।

यस्तै वीरगंजकाे घडिअर्वामा साेमबार नै बेलुकी १ घण्टा ३० मिनेटसम्म लगातार आकाशमा पटाका पड्काएर आतीशबाजीपनि गरिएको थियाे।

यसअघि साेमबार दिउँसाे हिन्दु परिषदकाे आयाेजनामा भगवान् श्रीराम कथा वर्णनसहितकाे भव्य झाँकीपनि निकालिएको थियाे ।गीतामन्दिर नजिकबाट सात वटा ट्रकमा भगवान् श्रीरामकाे जन्मदेखी वनबासबाट अयाेध्या फिर्तीसम्मकाे कथा वर्णन गरिएको झाँकी राखेर नगर परिक्रमा गराइएकाे थियाे ।

यस्तै साेमबार नै  वीरगंज १० घडिअर्वास्थित ७५ वर्ष पुरानाे रामजानकी मन्दिरमा भगवान् श्रीराम, सीता र हनुमानकाे मुर्तिकाे प्राण प्रतिष्ठापनि गरिएको थियाे । प्राण प्रतिष्ठाकाे पूजापाठमा वीरगंज महानगरका मेयर राजेशमान सिंह आँफै सहभागी भएका थिए ।त्यसअघि बिहान घडिअर्वा पाेखरी परिसरबाट निकालिएको कलश यात्राले नगर परिक्रमा गरेकाे थियाे ।

साेमबार दिभरी वीरगंज राम मै भएकाे थियाे । वीरगंजकाे विभिन्न ठाउँबाट निस्केकाे बाजागाजासहितकाे र्याली नगर परिक्रममा गरेकाे थियाे । ठाउँ ठाउँमा र्यालीकाे स्थानियद्वारा स्वागत समेत गरिएकाे थियाे । 

मन्त्री यादवद्वारा राैतहटकाे विभिन्न राम मन्दिरहरुमा दर्शन

रौतहट । भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिएकाे अवसरमा रौतहटकाे विभिन्न ठाउँको राम मन्दिरहरुमा भइरहेको पुजापाठमा मधेश सरकारका भौतिक पुर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादव सहभागि भएका छन् । 

नेपाली कांग्रेस मधेश प्रदेश सभापति एवम् संसदीय दलका नेता समेत रहेका मन्त्री यादबले राैतहट जिल्लास्थित राम मन्दिरहरुमा पुगेर पूजाअर्चना गरि आशिर्वाद ग्रहण गरेका हुन् ।

साेही क्रममा वाेल्दै मन्त्री यादवले आजकाे भारतकाे अयाेध्यामा राममन्दिरकाे प्राण प्रतिष्ठा हिन्दु धर्मालम्बीहरुकाे लागि इतिहासिक दिन भएकाे वताए । उनले गढीमाई नगरपालिका – ७ धरम्पुर टोलमा रहेको राम मन्दिरको अधुरो सम्पुर्ण काम आफूले गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री यादवसंगै गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादब, माधव नारायण नगरपालिका मेयर बैजनाथ यादब लागयका नेताहरु रौतहट जिल्लाको विभिन्न मठ मन्दीरमा दर्शन गर्न पुगेका थिए ।

विद्यार्थी कुटेर घाइते बनाउने शिक्षक यादव अझै फरार

वीरगंज । विद्यार्थीलाई कुटपिट गरि घाइते बनाएका शिक्षक सशी यादव अहिलेसम्म कानूनी दायरामा आउन सकेका छैनन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १९ स्थित गोल्डेन ग्लब बोर्डिङ्ग स्कुलका संचालक समेत रहेका शिक्षक यादव आफ्नै विद्यालयको कक्षा ३ मा अध्ययनरत १२ वर्षीय बालकलाई प्लाष्टिकको पाइपले निर्मम तरिकाले कुटपिट गरि गम्भिर घाइते बनाएका थिए । उनी विरुद्ध कारवाहीको लागि उजुरी दिएको दुई हप्ता वित्न लाग्दा पनि कानूनी दायराबाट उम्किन सफल छन् ।

विद्यालयमा दुई दिन अनुपस्थित किन भएको भन्दै शिक्षक यादवले बहुदरमाई नगरपालिकाको वडा नं. ६ गम्हरिया निवासी १२ वर्षीय बालक प्रितम साहलाई निर्मम तरिकाले पाइपले कुटेर घाइते बनाएका थिए । पुस २४ गते दिउँसो करिब १ बजे विद्यार्थीलाई कुटेपनि ४ बजे साँझ घर पुगेपछि मात्रै अभिभावकले थाहा पाएका थिए । त्यस पश्चात तत्काल विद्यार्थीको काका मुकेश साहले प्रहरीलाई खबर गरेपछि अस्थायी पोष्ट प्रहरी कार्यालय विन्दवासिनीका प्रहरी टोलीले शिक्षक यादवलाई नियन्त्रणमा लिएको थियो ।

साँझसम्म पीडित पक्षबाट जाहेरी नआएपछि प्रहरीले स्थानीय भद्रभलादमीको जिम्मा लगाएर छाडेको थियो । त्यस पश्चात विद्यार्थीका काका मुकेश साहले इलाका प्रहरी कार्यालय पोखरियामा यादव विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी दिएदेखि नै शिक्षक यादव फरार छन् भने उनलाई संरक्षण गर्नका लागि प्रहरीलाई स्थानीय नेता, प्रदेश सांसददेखि संघीय सांदको दबाब आइरहेको बताइएको छ । तर विद्यार्थीलाई निर्मम तरिकाले कुटेको र अभिभावकले किटानी जाहेरी पनि दिएकोले आरोपी कानूनी कारवाहीबाट उम्किन नसक्ने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

उनले प्रधानाध्यापक यादवमाथि कारवाही प्रक्रिया अगाडि बढाइ सकिएको बताए । यादव विरुद्ध जाहेरी दर्ता भएदेखि नै हाजिर हुन पटक पटक मौखिक आग्रह गर्दा पनि हालसम्म हाजिर नभएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनले भने ‘हाल उनी फरार रहेको कारण हाजिर गराउन सकिएको छैन, उनी विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ, हाजिर हुन दिइएको समय वितिसकेकोले अब प्रहरी लगाएर उनीलाई झिकाई कारवाही गरिन्छ’ । उनी फरार रहेको भनिए पनि लुकेर घरमै बसेको स्थानीयहरुको भनाई छ ।

घाइते विद्यार्थीका काकाले ज्यान मार्ने उद्देश्यले बच्चालाई कुटपिट गरेको भनेर इलाका प्रहरी कार्यालय पोखरियामा जाहेरी दिएका छन् भने अवैध तरिकाले विद्यालय संचालन गरेको भनेर वीरगंज महानगरपालिका कार्यालयको शिक्षा समिति र विन्दवासिनी गाउँपालिकाको शिक्षा समितिमा कारवाहीको लागि उजुरी दिएका छन् । यादव सरकारी विद्यालयका स्थायी शिक्षक हुन् । उनी विन्दवासिनी गाउँपालिका स्थित श्री राधाकृष्ण चौरसिया उच्च मा.वि. बहुअर्वाभाठ्ठाका स्थायी शिक्षक हुन् । स्थायी शिक्षक भएपनि उनी निजी विद्यालय संचालन गरेका छन् । सरकारी विद्यालयबाट तलब खाने र आफ्नो निजी विद्यालयमा समय दिने गरेको बताइएको छ ।

शिक्षक यादवको कुटपिटबाट घाइते बालक हालसम्म पूर्ण रुपमा ठीक नभएको काका मुकेश साहको भनाई छ । पुस २४ गते मंगलबारको दिन शिक्षक यादवको कुटपिटबाट गम्भिर घाइते भएका बालक प्रितमलाई नारायणी अस्पताल र किरण आँखा अस्पतालमा उपचार गरेर ल्याइएपनि हालसम्म पूर्ण रुपमा ठीक नभएको उनको भनाई छ । अहिले पनि भतिज प्रितमको आँखाको दाग, पिठ्युको दाग, खुट्टाको दाग यथावतै रहेको र बेलाबखत कुटपिट भएको ठाउँहरु दुख्ने गरेको बताए । पुनः भोलि सोमबार अन्य अस्पतालमा उपचार गराउन लैजाने र त्यहाँ पनि ठीक नभए थप उपचारको लागि काठमाडौं लैजाने बताए ।

अर्कोतर्फ घटनालाई मिलाउन शिक्षक यादवका आफन्तले दबाब दिनुका साथै धाक धम्की पनि दिने गरेको पीडित बालकका काका मुकेशको आरोप छ । उनका अनुसार कुटपिट विरुद्ध उजुरी दिएकै दिनदेखि उनका आफन्तहरु घरमा आएर एवं मोबाइल फोन गरेर मिलापत्र गर्न दबाब दिने गरेको बताए । मिलापत्र नगरे भोलिका दिनमा आफूलाई फसाईदिने भनेर धाक धम्की दिने गरेको उनको आरोप छ । तर कुटपिट गर्ने शिक्षक यादवलाई कानूनी कारवाही गराएरै छाड्ने आफूले अठोट लिएको बताए । 

वीरगंजमा साेमबार हुने प्राण प्रतिष्ठा तथा महाआरतीको सम्पूर्ण तयारी पूरा

वीरगञ्ज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० स्थित रामजानकी मन्दिरमा प्राण प्रतिष्ठाको तयारी पूरा भएको छ । भोली अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा वीरगंजकाे घडिअर्वा पोखरीको सामुन्ने रहेको रामजानकी मन्दिरमा पनि प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको हो । 

वीरगंज महानगरपालिकाको सहयोगमा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा स्थानीय बासीले भब्य रुपमा तयारी गरेका छन् । त्यसकै अवसरमा वीरगंजकाे माइस्थानदेखि आदर्शनगर, ग्रिनसिटी हुँदै घडिअर्वा पोखरी लगायतका विभिन्न चौकहरुमा झिलिमिली बत्ती जडान गरेर आकर्षक बनाइएको छ । 

वीरगंजलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने लक्ष्यअनुरुप काम भइरहेको महानगर प्रमुख राजेशमान सिंहले बताए । प्रमुख सिंहले आइतवार राम जानकी मन्दिरको तयारीको अनुगमन गर्दै तयारीमा कुनै कमी नगर्न निर्देशन दिएका छन् । 

आठ दशकभन्दा लामो समयदेखि पूजारीको एकछत्र राज रहेको मन्दिरलाई अतिक्रमण मुक्त बनाई प्रमुख सिंहले रंगरोगन तथा स्तरोन्नती गरेका छन् । साथै उनकै पहलमा मन्दिर सर्वसाधारणका लागि पूजापाठ गर्न खुला गरिएको छ । 

त्यसकै उपलक्ष्यमा भोली महाआरती तथा प्राण प्रतिष्ठा हुन लागेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगकार अध्यक्ष जयप्रकाश खेतानले बताए । उनकाअनुसार भोली बिहान ८ बजे कलश यात्रा निकालिनेछ । साँझ ६ बजेदेखि महाआरती शुरु हुने उनले जानकारी दिए । 

यसैगरी पाेखरिया नगरपालिकाले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनसंगै प्राण प्रतिष्ठाको उत्सवमा सोमबार माछा, मासु र मदिराको बिक्री वितरणमा रोक लगाएकाे छ ।

पोखरिया नगरपालिकाले एक सूचना जारी गरेर माघ ८ गते सोमबार नगरपालिकाभर माछा, मासु र मदिराको बिक्रि वितरणमा रोक लगाएको हो । साथै सोमबार नगरपालिकाका घरघरमा दीप प्रज्वलित गरी दिपावली मनाउनपनि नगरपालिकाले आग्रह गरेको छ ।

पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहानको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन तथा प्राण प्रतिष्ठा हुने भएकाले त्यसैलाई लक्षित गरी माघ ८ गते सोमबार नगरपालिका भित्र कुनै पनि पशु, जीवको बध तथा मदिराको बिक्रि वितरण नगरिदन आग्रह गरेका छन् ।

पर्साकाे पालिकाहरुमा माघ ७ र ८ गते माछा-मासु र मदिरा बिक्री वितरणमा राेक

वीरगंज । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा माघ ८ गते हुने भएकाेले माघ ०७ र ०८ गते २ दिन पर्साकाे पर्साकाे जगरनाथपुर गाउँपालिकामा माछा, मासु र मदिरा बिक्री वितरणमा राेक लगाइएकाे छ ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले एक सार्वजनिक सूचना जारि गर्दै गाउँपालिका क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको विक्री वितरण लगायतका कार्यहरु नगर्न आग्रह गरेका छन् । साथै उक्त दिन घर घर दिप प्रज्वलन गरि दिपावली मनाउन हुन सबै सर्वसाधारणहरुमा हार्दिक अनुरोध समेत गरेकाे छ ।

साे सूचना श्री इलाका प्रहरी कार्यालय, जानकीटोलालाई आवश्यक सहयोगको लागि बाेद्धार्थ पनि गरिएकाे छ ।

त्यसैगरी धाेबिनी गाउँपालिकाले पनि अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन माछा, मासु र मदिराकाे बिक्री वितरणमा राेक लगाएकाे छ।

धोबिनी गाँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।

त्यस्तै भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटन माघ ८ गते हुन गईरहेकाले माघ ७ र ८ गते दुई दिन पर्साकाे कालिकामाई गाउँपालिकामा पनि माछा, मासु र मदिराकाे बिक्रीवितरणमा राेक लगाइएको छ ।

कालिकामाई गाँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले एक सार्वजनिक सूचना जारी गर्दै अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले माघ ७ र ८ गते गाँउपालिकाभित्र कुनै पनि पशु, जीवकाे बध तथा मदिराकाे बिक्रिवितरण नगरिदन आग्रह गरेका छन ।

साथै कालिकामाई गाँउपालिकामा राम मन्दिरकाे उद्घाटनका दिन साँझ गाँउपालिकामा रहेका हरेक घरघरमा दीप प्रज्वलन गरी दिपावली मनाउनपनि अध्यक्ष गुप्ताले आग्रह गरेका छन ।

पुर्व राजा शाहको स्वागत तथा नागरिक अभिनन्दन सभ्य र भव्य बनाउने निर्णय

वीरगंज । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहदेवको स्वागत तथा नागरिक अभिनन्दनको तयारी बारे मूल समारोह समितिले वृहत छलफल गरेको छ ।

वीरगंज स्थित होटल सम्झनामा पुर्व राजाको अभिनन्दनका लागी गठित स्वागत तथा अभिनन्दन मूल समारोह समिति वीरगंजको बसेको विस्तारित बैठकले वृहत छलफल गरेको प्रचार प्रसार संयोजक मानव सेवकले जानकारी दिए ।

समितिका अध्यक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता देवेन्द्र लाल नेपालीको नेतृत्वमा विभिन्न उपसमितिका संयोजक सहितको बैठकले माघ १३ गते वीरगंज स्थित लालबंगला परिसरमा हुने पुर्व राजा शाहको स्वागत तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सभ्य र भव्य बनाउन सकृयता पुर्वक लाग्ने निर्णय गरेको छ ।

बैठकले कार्यक्रमका लागी गठन गरिएका विभिन्न उपसमिति संयोजकहरुलाई आ–आफ्नो क्षेत्रमा कृयाशिलताका साथ अगाडि बढ्न निर्देशन दिंदै पुर्व राजाको स्वागत तथा नागरिक अभिनन्दनमा व्यापक सहभागीताका लागी जन समुदायमा अपिल गर्ने निर्णय पनि गरेको मानव सेवकले जानकारी दिए ।

बैठकमा विभिन्न उपसमिति संयोजक तथा सदस्यहरुबाट कार्यक्रम बारे आएको सुझाव समेत संकलन गरिएको र त्यसलाई कार्यान्वयनमा लैजाने बारे समेत वृहत छलफल भएको बैठकमा सहभागी मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिए ।

बैठकमा मुल समारोह समितिका उपाध्यक्ष पशुपती विक्रम शाह, महासचिव हिरा बहादुर चन्द, प्रचार प्रसार संयोजक मानव सेवक, अनुगमन समितिका संयोजक जनकलाल शाह, स्वयम् सेवक परिचालन समितिका संयोजक विरेन्द्र थापा, युवक परिचालन समितिका संयोजक उपेन्द्र यादव, प्रचार प्रसार समितिका सदस्य सत्तार अन्सारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्सा अध्यक्ष सुमेस्वर उपाध्याय, सचिव पन्नालाल पटेल, शिवसेना नेपालका केन्द्रीय महासचिव नारायण अर्याल लगायत विभिन्न राष्ट्रवादी संघसंगठन तथा दलका पर्सा, बारा, रौतहट, मकवानपुरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समाजवादी प्रेस संगठन पर्साको जिल्ला सम्मेलन माघ १२ गते गर्ने निर्णय

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको कार्यसमिति बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ ।

संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकले यहि माघ १२ गते जिल्ला सम्मेलन गर्ने सर्वसहमतीबाट निर्णय गरेको छ ।

साथै बैठकले जिल्ला सम्मेलन तयारीको लागि संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनको संयाेजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिती गठन गरेको छ ।

सम्मेलन आयोजक समितिको सदस्यमा प्रकृति अधिकारी, विनोद पटेल, हरिशंकर शर्मा, संताेष साह, श्याम सर्राफ, श्याम पासवान, राजु साह, सरोज पटेल, श्रवण साह लगायतका रहेका छ्न ।

यसका साथै जिल्ला सम्मेलन अघावै संगठन पर्साका सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण ३ दिन भित्र गर्न निर्णय गरेको छ र त्यसको सम्पुर्ण जिम्मेवारी सम्मेलन आयोजक समितिका संयाेजक सुमनलाई दिने बैठकको निर्णय छ ।

यसैगरी बैठकले माघ १२ गते नै वीरगंजमा बस्ने संगठनका केन्द्रिय पदाधिकारी बैठक संगनका केन्द्रिय महासचिव राम कुमार ऎलन, केन्द्रिय सचिव वृजलाल पासवान, केन्द्रिय सदस्य रेबिन्द्र कार्की र सल्लाहकार संजय साहकाे समन्वयमा बैठक ब्यवस्थापन र स्वागत गर्ने निर्णय गरेको छ ।

वीरगंजस्थित नेपाल पाेस्ट डेलिको कार्यालयमा बसेको बैठकमा नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपाल केन्द्रिय सचिव वृजलाल पासवान, सल्लाहकार संजय साह लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय बाणिज्य बैंकको बार्षिकोत्समा रक्तदान र स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार वीरगंजमा रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । बैंककाे प्रादेशिक कार्यालय वीरगंजकाे आयाेजनामा रक्तदान र स्वास्थ्य शिविर सम्पन्न भएकाे हाे ।

वीरगंज आदर्शनगर स्थित बैंककाे प्रादेशिक कार्यालय परिसरमा भएकाे कार्यक्रममा ५ महिलासहित ४६ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा राहुल ओझा, आयुष काेइराला, अशाेक यादव, मिरा परियार, सुरेन्द्र उप्रेती, सुनिल कुमार भण्डारी, लक्ष्मि उप्रेती लगायतकाले रक्तदान गरेकाे बैंकका आलाेक कर्णले वताए ।

यसैगरी शुक्रबार नै स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । बैंक परिसर मै भएकाे शिविरमा महिलाहरुको लागि प्रजनन स्वास्थ्य परीक्षण गरिनुकाे साथै दन्त परीक्षण शिविर सम्पन्न भएको हाे ।

स्वास्थ्य शिविरमा स्त्री रोग विशेषज्ञ डाक्टर एलिसा दास, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नविन कुमार सिंह, फिजिसियन डा. रविरञ्जन साहले स्वास्थ्य परीक्षण गरेका थिए ।

त्यस्तै किरण आँखा अस्पतालको सहयोगमा आँखा शिविर र साहारा डेण्टल क्लिनिकको सहयोगमा आयोजित दाँत परीक्षण शिविरमा एक सय जनाको आँखा र दाँत परीक्षण गरिएको बैंकका आलोक कर्णले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैंक मधेस प्रादेशिक कार्यालय वीरगंजका प्रमुख कमलेश ठाकुर र उपप्रमुख सन्ध्या सिंहको लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजमा आठौँ प्याब्सन इन्टर स्कुल टी-२० क्रिकेट र जुनियर फुटबल टुर्नामेन्ट हुँदै

वीरगंज । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) पर्साको आयोजनामा ‘आठौँ प्याब्सन इन्टर स्कुल ट्वान्टी–ट्वान्टी नकआउट क्रिकेट टुर्नामेन्ट – २०८०’ र ‘प्याब्सन जुनियर नकआउट फुटबल टुर्नामेन्ट – २०८०’ आयोजना हुने भएको छ । 

अघिल्लो वर्षहरू झैँ यस वर्ष पनि प्याब्सन पर्साले खेलका माध्यमबाट विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ सङ्गठनसँग आबद्ध विद्यालयका बिच क्रिकेट र फुटबल प्रतियोगिता आयोजनालाई निरन्तरता दिएको हो ।

शिक्षासँग अन्य क्रियाकलापमा पनि विद्यार्थीहरूको सहभागिता बढाउन र खेलकुदलाई प्रोत्साहन गर्न प्याब्सन पर्साले क्रिकेट र फुटबल प्रतियोगिताको आयोजनालाई निरन्तरता दिएको सङ्गठनका जिल्ला अध्यक्ष पूरण प्रधानले बताए । 

नकआउट क्रिकेट प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा हुने छ भने जुनियर फुटबल प्रतियोगिता आगामी माघ ७ देखि १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा रहेको फुटबल मैदानमा हुने प्याब्सन वीरगञ्जका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए । प्रतियोगिता अन्तर्गत बिहान ९ बजेदेखि दैनिक दुईदेखि तिन वटासम्म खेलहरू गराइने चौरसियाले बताए ।

क्रिकेट प्रतियोगितामा प्याब्सन पर्सासँग आबद्ध ३० वटा विद्यालयको सहभागिता रहने त्यसका संयोजक अमित आलोकले जानकारी दिए । त्यस्तै फुटबल प्रतियोगितामा २५ वटा विद्यालयको सहभागिता रहने संयोजक शिव गुप्ताले जानकारी दिए ।

क्रिकेट प्रतियोगितामा गौतम स्कुल, ज्ञान ज्योति स्कुल, सन लाइट स्कुल, सिद्धार्थ इन्टरनेशनल स्कुल, न्यु वेभ एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, वीरगञ्ज एकेडेमी, एमईएस स्कुल, नेपाल कावेरी एकेडेमी, माउन्ट एडमण्ड सेकेण्डरी स्कुल, जीवन ज्योति स्कुल, हिमालयन पिरामिड स्कुल, माउन्ट मकालु स्कुल, म्यास्कट एकेडेमी, मनकामना स्कुल, अल्पाइन स्कुल, मेरी गोल्ड स्कुल, विद्या सागर स्कुल, बिकन स्कुल, गोल्डेन फ्युचर स्कुल, श्री आदर्श स्कुल, मिनिल्यान्ड स्कुल, साउथ जोन स्कुल, सेन्ट जेभियर्स स्कुल, मालिनी एकेडेमी, ओम नेशनल स्कुल, मून लाइट स्कुल, ज्ञानदा एकेडेमी, लिटिल एन्जल्स स्कुल र एसआर ग्यालेक्सी एकेडेमीले सहभागिता जनाएको संयोजक अमित आलोकले बताए ।

त्यस्तै फुटबल प्रतियोगितामा सफल एकेडेमी, एसआर ग्यालेक्सी एकेडेमी, गौतम स्कुल, चिल्ड्रेन वर्ल्ड स्कुल, नेपाल कावेरी एकडेमी, वीरगञ्ज पब्लिक स्कुल, साउथ जोन स्कुल, न्यु वेभ एकेडेमी, श्री आदर्श स्कुल, डीएभी स्कुल, सन साइन स्कुल, ज्ञानदा एकेडेमी, लिटिल फ्ल्वार स्कुल, जीवन ज्योति स्कुल, मिनिल्यान्ड स्कुल, बिकन् स्कुल, ओम नेशनल स्कुल, नवदीप एकेडेमी, मून लाइट स्कुल, ज्ञान ज्योति स्कुल, एमइएस स्कुल, मनोकामना स्कुल, गुरुकुल एकेडेमी र म्यास्कट एकेडेमीले सहभागी जनाएको संयोजक शिव गुप्ताले बताए । 

प्रतियोगिता हेर्न कुनै शूल्क नलाग्ने, राष्ट्रिय स्तरका खेलहरूमा सहभागी अम्पायर तथा रेफरीहरूको निरीक्षणमा प्रतियोगिता सम्पन्न हुने प्याब्सन वीरगञ्जका अध्यक्ष आलोक चौरसियाले बताए । खेलाडीहरूका लागि दैनिक खाजाको व्यवस्था, एम्बुलेन्स र आपत्कालीन स्वास्थ्य उपचारको व्यवस्थापन पनि गरिएको चौरसियाले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई तथा उपविजेतालाई आकर्षक शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्थापन गरिएको पनि चौरसियाले बताए ।