ओमप्रकाश चाैधरी /
सेढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकाले आदिवासी थारु समुदायको खिचडीको साथसाथै पर्टकिय स्थल दुधेश्वर महादेव मन्दिर भाथा महोत्सव मनाउन गइरहेकाे छ । थारु संम्बत २६४९ को नयाँ बर्ष माघ १ गतेदेखि तीन दिनसम्म चौथो माघी तथा भाथा महोत्सव मनाउन गइरहेकाे हाे ।
मानवबस्तीभन्दा १७ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र रहेका भाथा पहाडमा अवस्थित दुधेश्वर महादेव मन्दिरमा बर्षौदेखि लाखौ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन । तर यी पर्यटकहरु हिन्दु धर्मको चाड पर्व तथा मेला लागेको समयमा मात्र आउने गर्दछन । यस स्थलमा व्यवसायिक रुपमा पनि पर्यटन भित्रियाउन प्रचुर सम्भावना रहेका हुँदा माघीसँगै यो महोत्सव मनाउन लागिएका माघी मूल समारोह समितिका अध्यक्ष मुकेश गौरोले बताए ।
यस महोत्सवका लागि पर्सा राष्ट्रिय निकुञ्जसंग सहकार्य गर्दै माघी महोत्सवदेखि भाथासम्म पर्यटक भित्रियाउन प्रयास गरिएको अध्यक्ष गौरोले बताए । करिब २० किलोमीटरको दुरी पार गर्न समितिले जीप सफारी भाडामा ल्याएका छन । सोको भाडा दर प्रति ब्यक्ति ६ सय रुपैया रहेका छन ।
निकुञ्जको भाथा पोष्टमा एक वटा मात्र हाती भाथा हाती रहेकाले जंगल भित्र सफारी गर्न जोखिमपूर्ण रहेकाले आसपासको क्षेत्रको एक घण्डा सफारी गर्न १ हजार २ सय रुपैया प्रति व्यक्ति तोकिएकाे छ ।
पटेर्वासुगौली गाउँपालिकाले वडा नं ४ को खेल मैदानमा चौथो माघी तथा भाथा महोत्सव आयोजना हुने जनाइएकाे छ । यस मेलामा खुल्ला रक्तदान हुने साथै जितिया पर्व, थारु समुदायबाट लोप भइरहेका घाटों पर्व, थारु जातीमा बिवाहको समयमा गाइने परम्परागत गीतको समेत प्रदर्शन हुने आयाेजकले जनाएकाे छ ।
यसका साथै थारु समुदायका परम्परागत संस्कृति, पहिचान, भाषा तथा पहिरनको प्रदर्शन हुने जनाइएकाे छ । महोत्सवमा हास, कुखुरा, परेवाका मासुका प्रकार, माछा, गंगटो, अनहीको परिकार को स्टलहरु पनि राखिनेछ । कार्यक्रममा नेपाली निरहुवा, समिक्षा चौधरी, रितु चौधरी र सुनिल पंडितको सांस्कृतिक प्रस्तुती हुने छ ।


