Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 362

पुर्व राजा शाहको गढीमाई मन्दिर परिसरमा भव्य स्वागत

वीरगंज । बाराकाे बरियारपुर स्थित गढीमाई मन्दिरमा पूजा गर्न पुगेका पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन् ।

मध्य तराईको पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाको धार्मिक भ्रमणमा रहेका पुर्व राजा शाह विहिबार गढीमाई मन्दिरमा पूजा गर्न जांदा स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिको अगुवाईमा राष्ट्रिय झण्डा सहित आएका सर्वसाधारणहरूले भव्य स्वागत गरेका हुन् ।

मधेश प्रदेशका विभिन्न जिल्लामा सर्वसाधारण नागरिकसंग भेटघाट एवं धार्मिक भ्रमणकालागि पौष २३ गते सिमरा आइपुगेपछि पौष २८ गते सर्लाही जिल्ला बरहथवा स्थित मुक्तेश्वर महादेव मन्दिर, माघ २ गते रौतहट जिल्ला शिवनगर स्थित शिव मन्दिर पछि बिहीबार बारा जिल्ला स्थित गढीमाई मन्दिरमा पूजा गर्न जांदा हजारौंको संख्यामा रहेका सर्वसाधारणहरुले राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा कसको जनताको जनता कसको राजाको जस्ता नारा लगाउदै पुर्व राजा शाहलाई फूल माला र पुष्पबृष्टिसहित स्वागत गरेका थिए ।

पुर्व राजा शाहको स्वागतका लागि गढीमाई मन्दिर क्षेत्रमा लगाइएका तस्वीर सहित बैनर बारा प्रशासनले हटाईदिएको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका प्रचार प्रसार विभाग प्रमुख मानव सेवकले जानकारी दिए ।

उनले प्रशासनले बैनर हटाएपनि शान्ति सुरक्षा एवं भीड व्यवस्थापनमा भने बारा प्रशासनले कुशलता प्रदर्शन गरेको बताए ।

पुर्व राजा शाहको माघ ७ गते हेटौडा स्थित मन्दिर र गुम्बामा पुजा अर्चना गर्ने र माघ १३ गते शनिवारका दिन वीरगंज स्थित लाल बंगला परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम निर्धारण भएको समितिका महासचिव हिरा बहादुर चन्दले बताए ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा एक युवक पक्राउ

वीरगंज । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । फरार आरोपित महागढीमाई नगरपालिका-५ बगडमपुरका २४ वर्षीय विकाश जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

आरोपितले पीडितलाई ०७९ भदौ २० गते विवाह गर्छु भनी फकाई फुल्याई भारतको दिल्ली लगि डेरा काेठामा बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरुद्ध  पुस २४ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पीडितको स्वास्थय परीक्षण ०७९ पुस २४ गते प्रदेशिक अस्पताल कलैयामा भएको थियो । उजुरी पश्चात आरोपित फरार रहेका थिए । 

महिलालाई बलात्कार प्रयास

यसै बिच सर्लाहीमा ३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले कौडेना गाउँपालिका–७ सक्रौलका ३१ वर्षीय दिपा भन्ने दिपलाल यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका छन् ।

आरोपितले पीडितलाई पुस १९ गते पीडितकै घरमा आई बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ । पीडितको स्वास्थ्य परीक्षण माघ २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

घटनाको उजुरी पश्चात आरोपित यादव फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

कलैयाका मेयरलाई धम्की दिने सखुवा प्रसाैनीका गिरी पक्राउ

वीरगंज । बाराकाे कलैया उप महानगरपालिकाका नगर प्रमुख (मेयर) विनाेद साहलाई धम्की दिएकाे आराेपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएकाे विशेष प्रहरी टाेलीले नगर प्रमुख विनोद साहलाई धम्की दिएकाे आराेपमा बुधबार पर्साकाे सखुवा प्रसौनी गाँउपालिका वडा नं.५ महुवन निवासी ३६ बर्षिय भोला गिरीलाई नियन्त्रणमा लिएकाे हाे ।

अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भनी नगर प्रमुखले जानकारी गराए पश्चात तत्काल विभिन्न माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरी गिरीलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले जानकारी दिए ।

पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालय बारा कै हिरासतमा राखेर थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्याैपानेले वताए ।

रास्वपा नेता पासवानमाथि रड प्रहार, एक जना पक्राउ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समिति सदस्य कृष्ण पासवानमाथि रड प्रहार भएको छ । रड प्रहारबाट पासवानको टाउकामा गम्भीर चाेट लागेकाे छ । घाइते पासवानकाे वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २३ प्रसौनी निवासी २७ बर्षिय पासवानले स्थानिय ४७ बर्षिय दिनानाथ दास तात्वा, तात्वकाकी १७ बर्षिय छाेरी गिता देवी र तात्वाकी ३५ बर्षिय श्रीमति विरुद्ध माघ ३ गते नै वडा प्रहरी कार्यालय श्रीपुरमा उजरी दिएका छन्  । आराेपति मध्येका तात्वालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । 

बाटोको विषयमा दुई पक्ष बिच विवाद हुँदा सम्झाउन पुगेका पासवानमाथि स्थानीय दिनानाथ तत्वाको छोरी गीता कुमारीले तत्वाले पछाडिबाट रड प्रहार गरेको स्थानीयहरूले बताएका छन् ।

पासवानले आफू झगडामा सहभागी नभए पनि पुरानो रिसिइबिका कारण हत्या गर्ने उद्देश्यका साथ रड प्रहार भएको बताए । उनले दलित भएकै कारण स्थानीय नेताहरूको उक्साहटमा विगत लामो समयदेखि दलित बस्तीले बाटो नपाएको र पटक–पटक विवाद हुँदै आएको बताए । सोही विषयमा बुधबार पनि विवाद भएको पासवानले बताए ।

यता रास्वपा पर्साले बुधबार नै एक प्रेस विज्ञप्ती जारी गर्दै बाटोको विवादको क्रममा केहि उत्श्रृंखल व्यक्तिहरुद्वारा पार्टीका मधेश प्रदेश सदस्य पासवानको ज्यानै लिने मनसायले टाउकोमा फलामको रड प्रहार भएकाे जनाएकाे छ ।

रास्वपा जिल्ला अध्यक्ष दिलिप कुमार कुर्मीले विज्ञप्ती जारी गर्दै रड प्रहार गरि गंभीर घाइते बनाएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले विज्ञप्ती मार्फत यथाशीघ्र घटनाको सत्य तथ्य छानबिन गरी घटनाको दोषी तथा योजनाकरहरु माथि कड़ा भन्दा कड़ा कारवाहीकाे मांग समेत गरेका छन् ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक धर्मराज थिङले बाटाेकाे विषयमा विवाद हुँदा भएकाे झडपमा पासवान घाइते भएकाे वताए । घटना सम्बन्धमा अनुसन्धान भइरहेकाे उनले वताए ।

समाजवादी प्रेस संगठन पर्साकाे सम्मेलन माघ मसान्त भित्र गर्ने जिम्मेवारी अध्यक्ष पटेललाई

वीरगंज । समाजवादी प्रेस संगठन पर्साकाे जिल्ला सम्मेलन गर्ने जिम्मेवारी संगठनले केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष मनाेज पटेललाई दिएकाे छ ।

संगठनका मधेश प्रदेश अध्यक्ष प्रविण साहले एक प्रेस विज्ञप्ती जारी गर्दै महाधिवेशनपछि संगठनको कामकाज सुस्त देखएिकाले २०८० माघ मसान्तभित्र जिल्ला सम्मेलन गरी नयाँ जिल्ला कार्यसमिति समेत गठन गर्ने गरि केन्द्रीय सदस्य तथा पर्सा अध्यक्ष मनोज पटेललाई जिम्मेवारी दिइएको जानकारी गराएका छन् ।

विज्ञप्तीमा स्थापनापछिको केही समयदेखि नै प्रेस संगठन नेपाल, पर्सा समितिमा देखिएको विवाद मिलाउन पटक-पटकक प्रयास गरिएको हो । केन्द्रीय समिति र नेकपा एकीकृत समाजवादी पार्टी पर्सा समितिको पहल र समन्वय पनि भएको हो । तर केही असन्तुष्ट साथीहरुले पार्टी र संगठनको समन्वयलाई पनि लत्याउने काम भइरह्यो उल्लेख गरिएकाे छ ।

साथै विज्ञप्ती मार्फत पर्सा पार्टी अध्यक्षको हस्ताक्षर भएको माइन्युटमा अनावश्यक विषयवस्तु उचाल्ने काम भएकाे जनाइएकाे छ । साे विज्ञप्ती समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष एवम् नेकपा एकीकृत समाजवादी पर्सा अध्यक्षलाई पनि वाेद्धार्थ गरिएकाे छ ।

पुर्व राजा ज्ञानेन्द्रद्वारा शिव मन्दिरमा पुजा अर्चना, स्थानियले गरे स्वागत

वीरगंज । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहलाई रौतहट जिल्ला स्थित शिवनगरमा सम्मान सहित स्वागत गरिएको छ ।
शिवनगर स्थित शिव मन्दिरमा पुजा अर्चना गर्न छोरी प्रेरणा शाह सहित पुग्नु भएको पुर्व राजा शाहलाई स्थानियले सम्मान सहित स्वागत गरेका हुन ।

पूर्व राजा शाहलाई स्वागत तथा सम्मान गर्न स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समिति वीरगंजका पदाधिकारीहरु पनि वीरगंज पुगेका थिए । शिव मन्दिर परिसर भित्र र बाहिर पुर्व राजा शाहको स्वागतमा हजार सर्वसाधारण सहभागी भएको मुल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले जानकारी दिए ।

स्थानीय स्तरमा समेत राम बाबु साह तेलीको अध्यक्षतामा स्वागत समिति गठन गरिएको थियो । पुर्व राजा शाहको स्वागतका लागी ठाउ ठाउमा स्वागतद्वार बनाइएको थियो । स्वागत द्वारमा लेखिएको “संविधान २०४७ बाट स्थापित र २०७२ को संविधानबाट विस्थापित श्री ५ महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकार” सब्ध किन लेखिएको भनेर प्रहरीले अवरोध गर्दै व्यानर हटाउन खोज्दा सर्वसाधारणले विरोध गरेका थिए ।

सर्वसाधारण प्रतिकारमा उत्रिएपछि प्रहरी पछि हटेको स्थानीय रामप्रवेश महतोले जानकारी दिए । महतोले जनताको आस्था राजा प्रति विगत झै अझ् पनि कायम रहेको र वर्तमान मुलुकको जर्जर अवस्थाबाट उनमुक्ति राजाबाट नै हुने जनताको अपेक्षा रहेकोले अब राज संस्था पुनरस्थापनाको विकल्प नभएको उनले वताए ।

पुर्व राजा शाहको स्वागतमा ओर्लिएको मानव सागरबाट अत्तालिएर गणतान्त्रीक सरकारले जनभावना विपरितको कदम चाल्न खोज्दा जनताले प्रतिकार गरेको स्वागत तथा नागरिक अभिनन्दन मुल समारोह समितिका प्रचार प्रसार संयोजक मानव सेवकले बताए ।

राष्ट्रिय सर्तकता केन्द्रद्वारा छड्के अनुगमन

वीरगञ्ज । राष्ट्रिय सर्तकता केन्द्रको टोलीले पर्साका विभिन्न सरकारी कार्यालयहरुमा छड्के अनुगमन गरेको छ । 

मंगलवार जिल्ला प्रशासन कार्यालय पर्सासहित १० वटा विभिन्न सरकारी कार्यालयमा अनुगमन गरिएको केन्द्रका सूचना अधिकारी हरि प्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार केन्द्रको नियमित कार्यक्रम अन्तर्गत कार्यालयहरुको अनुगमन गरिएको हो । हरेक वर्ष सरकारी कार्यालयको काम कारवाही, सेवा प्रवाह लगायतका बारेमा छड्को अनुगमन हुने गरेको उनले बताए । 

छड्को अनुगमनका क्रममा कर्मचारीको उपस्थिती, समय, सेवा प्रवाह लगायतका क्षेत्रमा कुनै कैफीयत देखिएमा तत्कालै कारवाहीका लागि सिफारिस गर्ने गरिएको पनि उनले बताए । 

शर्मासँगै केन्द्रबाट ४ जनाको टोली छड्को अनुगमनका लागि पर्सा जिल्लामा पुगेको छ । 

माघ ८ गते वीरगंजका सम्पूर्ण माछा, मासु र रक्सी पसल बन्द गर्न आग्रह

वीरगंज । विश्व हिंन्दू परिषद नेपाल, वीरगंज महानगर समितिले भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटनका दिन माघ ८ गते वीरगंजका सम्पूर्ण माछा, मासु, रक्सी पसल बन्द गर्न आग्रह गरेकाे छ ।

विश्व हिंन्दू परिषद नेपाल, वीरगंज महानगर अध्यक्ष सागर सर्राफकाे नेतृत्वकाे एक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाउँदै यस्तै आग्रह गरेकाे हाे  l

पाँच सय वर्षपछि निर्माण भएकाे राम मन्दिरको निर्माणले विश्वकै सम्पूर्ण हिन्दूहरूको अस्थाको विषय रहेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

ज्ञापन पत्र मार्फत त्यस दिन हरेक मठ मन्दिरलाई राम मन्दिर जस्तै सजावट गर्ने, विहान झाँकीको साथै नगर परिक्रमा गर्न शोभा यात्रा निकाल्ने, दिउँसो प्राण प्रतिष्ठा प्रोजेक्टरबाट लाईभ ठाँउ ठाउँमा देखाउने, साँझ हरेक मन्दिरमा भव्य दिपोत्सव बाल्ने, ठाउँ ठाउँमा महा आरती गर्न लागिएकाे विश्व हिन्दु परिषद्ले जनाएकाे छ ।

यसका साथै त्यस दिन रातीमा हरेक ठाउँ ठाउँमा झाँकी कार्यक्रम राखिएकाेले बहुसंख्यक हिन्दूहरूको अस्थालाई मध्य नजर राखी वीरगंज नगरमा रहेको सम्पूर्ण मासु, माछा, रक्सी पसल र मांसाहारी होटल बन्द गराई दिन विश्व हिन्दु परिष वीरगंजले ज्ञापन पत्र मार्फत आग्रह गरेकाे हाे ।

मेलाको उत्कृष्ट नाटक अन्तराष्ट्रिय नाटक महोत्सवमा

काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ । भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक पार्वतीले गत वर्षको संस्करणमा सर्वोत्कृष्ट नाटकको पुरस्कारका साथै अन्य ६ वटा विधामा पुरस्कार जित्न सफल भएको थियो ।

भारतको उडिसा राज्यको कट्टक शहर आयोजना हुने ग्लोबल थिएटर फेस्टिभल २०२४ मा भाग लिन नाटकका कलाकारहरु रुमानी रोकाया, आर्जन अधिकारी, सौर्या शाह, सुजन पहाडी, आराध्य खतिवडा, जिविका खतिवडा, स्यारोन कटुवाल, ट्रेजा ढकाल, प्रशंसा कटुवाल लगायत नाटक टोली त्यस तर्फ प्रस्थान गरेका हुन् ।

देउकी परम्परामा आधारित नाटकको लेखन तथा निर्देशन पुस्पराज अवस्थीले गरेका हुन् । नाटकले उठाएको विषयवस्तु र कलाकारहरुले गरेको उत्कृष्ट प्रस्तुतिकरणको दर्शकहरुले गत वर्ष मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

सांस्कृतिक संस्थान र प्याब्सनको संयुक्त आयोजनामा भएको मेलामा गत वर्ष निर्णायकका रुपमा राजेन्द्र शलभ, भुवन चन्द र शेखर चापागाईँ रहेका थिए ।  यो वर्ष पनि राष्ट्रिय नाटक मेला २०८० आगामी फागुन ७ देखि १६ गते सम्म आयोजना हुने महासंघका अध्यक्ष राजेन्द्र रिमालले बताएका छन् । उनी भन्छन् ‘त्यसका लागि सहभागिताका लागि आव्हान भएको छ ।’ 

स्व. गोपाल गिरी पत्रकारिता पुरस्कारबाट बृजलाल पासवान पुरस्कृत

वीरगंज । स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट वीरगंजका पत्रकार बृजलाल पासवान पुरस्कृत भएका छन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले साेमबार आयाेजना गरेकाे कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चाैरसियाले नगद ५० हजार राशीकाे उक्त पुरस्कारसहित कदरपत्र पासवानलाई प्रदान गरे ।

राष्ट्रिय सहारा दैनिकका सम्पादक पासवानलाई नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस बर्षकाे स्वर्गी गाेपाल गिरी क्रियाशिल पत्रकारित पुरस्कार प्रदान गरेकाे हाे । 

पुरस्कृत पासवान समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव एवम् राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।

पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, स्व. गिरीका सुपुत्र गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरीक्षक काेमलविक्रम शनह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, महासंघ पर्साका पुर्व अध्यक्ष अशाेक तिवारी, प्रेस चाैतारीका जिल्ला अध्यक्ष तुलसी भण्डारी, प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, सााजवादी प्रेस संगठनका पर्सा अध्यक्ष मनाेज पटेल लगायतले मन्तव्य राखेका थिए ।

स्व. गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिए ।

यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।