Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

स्व. गोपाल गिरी पत्रकारिता पुरस्कार पङ्कज श्रेष्ठलाई प्रदान

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासङ्घ पर्साले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस बर्ष पङ्कज श्रेष्ठलाई प्रदान गरिएको छ । कान्तिपुर टेलिभिजनका संवाददाता तथा वरिष्ठ फोटो पत्रकार श्रेष्ठलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले मङ्गलवार आयोजना गरेको विशेष समारोहमा मधेस प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले श्रेष्ठलाई नगद ५१ हजार राशिको पुरस्कारसहित दोसल्ला ओढाएर कदर पत्र प्रदान गरे ।

पत्रकार श्रेष्ठलाई सम्मानित गर्दै मन्त्री क्षेत्रीले स्वर्गीय गोपाल गिरीको योगदानको उच्च प्रशंसा गरे । “स्वर्गीय गिरी केवल पत्रकार मात्र नभएर, समाजको परिवर्तनकारी आवाज र समर्पित नेता पनि हुनुहुन्थ्यो । उहाँले पत्रकारितालाई जनताको सेवा गर्ने माध्यमका रूपमा प्रयोग गर्नुभएको थियो,” क्षेत्रीले भने ।

पुरस्कृत श्रेष्ठले आफूलाई प्रदान गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै भने, “यो पुरस्कारले ममाथि थप जिम्मेवारीको अनुभूति गराएको छ । सत्य र निष्पक्ष पत्रकारिताको माध्यमबाट समाजको सेवामा अझै सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समितिका संयोजक केसी लामिछाने, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, स्वर्गीय गोपाल गिरीका छोरा गिरीश गिरी लगायतले मन्तव्य राखेका थिए ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे कार्यक्रमको सञ्चालन पत्रकार महासङ्घ पर्सा शाखाका सचिव विजय चौहानले गरेका थिए ।

स्वर्गीय गोपाल गिरी २०४७ सालमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष रहिसकेका थिए । त्यस बेला उनले पत्रकारहरूको हकहितको पक्षमा उल्लेखनीय काम गरेका थिए । गिरी तत्कालीन वीरगंज उपमहानगरपालिकाको मनोनीत मेयरसमेत बनेका थिए ।

२०६० साल माघ १ गते तत्कालीन माओवादीले उनको हत्या गरेपछि उनको योगदानको कदर स्वरूप नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले यो पुरस्कार स्थापना गरेको हो ।

स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यसअघि शत्रुघन नेपाल, ध्रुव साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, विजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी, गया यादव र बृजलाल पासवानलाई प्रदान गरिसकिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम । पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ । विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि...