वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको छ ।
प्याब्सन पर्सामा आबद्ध ४० भन्दा बढी विद्यालय तथा ती विद्यालयका अभिभावक, शिक्षक–कर्मचारी र विद्यार्थीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रकम सोमबार एक कार्यक्रमबीच प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहलाई हस्तान्तरण गरिएको हो ।
उक्त रकम प्याब्सन मधेश प्रदेशमार्फत प्याब्सन केन्द्र हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ ।
प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाका अनुसार संकलन गरिएको रकम पहिलो चरणको राहत सहयोग हो । दोस्रो चरणमा बाँकी विद्यालयहरूबाट समेत सहयोग रकम संकलन गरी प्याब्सन केन्द्रमार्फत सिधै प्रधानमन्त्री राहत कोषमा थप रकम जम्मा गरिने उनले जानकारी दिए ।
राहत संकलन अभियानमा प्याब्सन आबद्ध सदस्य विद्यालयहरूले संस्थागत रूपमा आफ्ना अभिभावक, शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको सहभागितामा स्वेच्छिक सहयोग जुटाएका हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरी, वीरगंज महानगर प्याब्सनका अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, प्याब्सन पर्साका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, जिल्ला वरिष्ठ उपाध्यक्ष सुशिला साह, उपाध्यक्ष विरेन्द्र यादव तथा नगर सचिव अमित आलोकलगायतको सहभागिता रहेको थियो ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले प्याब्सन पर्साले विद्यालय परिवारको सामूहिक सहभागितामा राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ । प्याब्सनले आगामी चरणमा समेत थप सहयोग रकम संकलन गरी विपद्पीडितको राहतका लागि उपलब्ध गराउने जनाएको छ ।








