वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात रहेपछि परिवारले कुशको शव बनाएर हिन्दू संस्कारअनुसार अन्तिम दाहसंस्कार गरेका छन् ।
बाढीपछि दुवै जनाको खोजी तथा उद्धारका लागि लामो समयसम्म निरन्तर प्रयास गरिए पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले भारी मनका साथ कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।
आफ्ना प्रियजनको शवसमेत देख्न नपाई अन्तिम बिदाइ गर्नुपर्दा दुवै परिवारका सदस्य भावविह्वल बनेका छन् । आफ्नै आँखाले अन्तिमपटक अनुहार हेर्न नपाए पनि मृतकको आत्माको शान्तिका लागि परिवारले यो अत्यन्त पीडादायी निर्णय लिनुपरेको बताइएको छ ।
आरभ र आलोकको खोजी तथा उद्धारका लागि परिवारजन, आफन्त तथा सम्बन्धित निकायबाट निरन्तर प्रयास भए पनि उनीहरू फेला पर्न नसक्दा दुवै परिवारमा गहिरो शोक छाएको छ ।
भीषण बाढीले आफ्ना प्रियजनलाई कहाँ पुर्यायो भन्ने यकिनसमेत हुन नसकेको अवस्थामा परिवारले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार सम्पन्न गरेका हुन् ।
शरीर भेटिएन, तर आफ्ना प्रियजनको सम्झना र उनीहरू फर्किएलान् भन्ने प्रतीक्षा परिवारजनको मनमा सधैँ जीवित रहनेछ ।








