Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
Home Blog Page 35

नेपाल भलिबल लिगः अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

0

काठमाडौँ । अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग ९एनभीएल० को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेटमा २१–२५ अङ्कले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पा¥यो ।

अन्नपूर्णले दोश्रो सेट २५–२३, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२० अङ्कले जित्यो । अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ दी म्याच’ घोषित भए ।

लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवराजसँग ३–१ सेटले पराजित भएको थियो । अन्नपूर्णले दोस्रो खेलमा काठमाडौँ रेड्सलाई ३–०, तेश्रोमा मधेस वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० सेटले हराएको थियो ।

सगरमाथा लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । अन्नपूर्णसँग पराजित हुनुअघि सगरमाथा कर्णालीसँग ३–२ तथा काठमाडौँ रेड्ससँग ३–० सेटले पराजित भएको थियो । दुई खेल जितेको सगरमाथाले मधेसलाई ३–१ र खप्तडलाई ३–० सेटले हराएको थियो ।

नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा छ पुरुष टोली सहभागी छन् । सहभागी टोलीले पहिला सिङ्गल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छन् । शीर्ष दुई र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । विजेता टोलीले रु २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

0

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताउनुभएको छ ।

दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जालको प्रथम महासभालाई आज ललितपुरमा सम्बोधन गर्दै सभामुख अर्यालले यही भदौ १० गतेको रसुवागढी बाढीमा हजारौँ नागरिकले ज्यान गुमाएका, हजारौँ बेपत्ता भएका र हजारौँ नागरिक घरबारविहीन भएका उल्लेख गर्दै विपत्तिका कारण अर्बौँको सम्पत्ति नष्ट हुनाका साथै ठूलो सङ्ख्यामा वन्यजन्तुमा समेत असर परेको बताउनुभयो ।

“यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन । विपत्तिमा ज्यान गुमाउनुभएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्”, उहाँले भन्नुभयो, “आफ्नो कुनै गल्ती नभए पनि जलवायु परिवर्तनको असर खेप्न बाध्य नागरिकप्रति विश्व समुदाय गम्भीर बन्नुपर्छ । जलवायु न्यायका विषयमा ती समुदायले गम्भीरतापूर्वक चिन्तन गर्नुपर्ने समय आएको छ ।”

सभामुख अर्यालले जलवायु परिवर्तनको असमान भार थेग्न अब नेपाल बाध्य हुन नसक्ने भएकाले नेपाली नागरिकले जलवायु न्याय पाउनु अत्यावश्यक भएकामा जोड दिनुभयो । यो अवैध वन्यजन्तु व्यापार वन तथा वन्यजन्तु संरक्षणसँग मात्र सम्बन्धित विषय नभई प्राकृतिक सम्पदा, कानुनको शासन, सार्वजनिक संस्था, अर्थतन्त्र र स्थानीय समुदायको जीविकोपार्जनसँग समेत जोडिएको उहाँले बताउनुभयो ।

वन्यजन्तु अपराध नियन्त्रणका लागि बलियो कानुनसँगै सक्षम संस्था, पर्याप्त स्रोतसाधन, दक्ष जनशक्ति तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सभामुख अर्यालले बताउनुभयो । अपराधको स्वरूप र प्रविधि परिवर्तन हुँदै गएकाले कानुनी तथा संस्थागत संयन्त्रलाई पनि समयानुकूल सुदृढ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अपराधले राष्ट्रिय सीमा पार गर्ने भएकाले क्षेत्रीय सहकार्य अझ महत्वपूर्ण हुने उल्लेख गर्दै सभामुख अर्यालले सदस्य राष्ट्रका अनुसन्धान तथा अभियोजन निकायबीच सूचना आदानप्रदान, प्रत्यक्ष सम्पर्क र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दक्षिण एसिया प्राकृतिक सम्पदा र जैविक विविधताले सम्पन्न क्षेत्र भएकाले यसको संरक्षण साझा जिम्मेवारी भएको बताउनुभयो ।

“वन्यजन्तुमाथिको अपराधले राष्ट्रिय सीमा पार गर्दा अन्तरदेशीय सहयोग अझ महत्त्वपूर्ण हुन्छ, दक्षिण एसिया अनुपम प्राकृतिक सम्पदाले सम्पन्न क्षेत्र हो । हाम्रा हिमाल, वन, घाँसे मैदान, सिमसार, नदी र समुद्रले विश्वकै महत्त्वपूर्ण जैविक विविधतालाई आश्रय दिएका छन् । यी प्राकृतिक स्रोतहरू हाम्रो अर्थतन्त्र, संस्कृति, जीविकोपार्जन र समुदायको जीवनसँग गहिरो रूपमा जोडिएका छन् । तर बढ्दो व्यापार, यातायात, प्रविधि र बजारको विस्तारलाई सङ्गठित आपराधिक समूहहरूले दुरुपयोग गर्न सक्ने जोखिम पनि बढेको छ । वन्यजन्तु एउटा देशमा चोरीसिकार हुन सक्छ, अर्को देश हुँदै ओसारपसार हुन सक्छ र तेस्रो देशको बजारमा पुग्न सक्छ । प्रविधिको प्रयोगसँगै यस्तो अवैध कारोबार अनलाइन माध्यमबाट समेत हुन थालेको छ । यस्ता सीमापार चुनौती कुनै एउटा देश वा संस्थाले एक्लै सामना गर्न सक्दैन”, सभामुख अर्यालले भन्नुभयो ।

उहाँले वन्यजन्तु अपराध नियन्त्रणका लागि सदस्य राष्ट्रहरूबीच सहकार्य, संस्थागत क्षमता, सूचना तथा प्रविधिको आदानप्रदान र समन्वयात्मक कार्यलाई सुदृढ बनाउने उद्देश्यले स्थापित यो क्षेत्रीय संयन्त्रको आवश्यकता र महत्त्व अझ बढेको र यसले दक्षिण एसियाका आठै देशलाई एउटै क्षेत्रीय मञ्चमा जोडेको बताउनुभयो ।

“यो सञ्जालले नागरिकको आवाजको प्रतिनिधित्व गर्दछ । अपराधको स्वरूप र प्रकृति बदलिँदै जाँदा हाम्रा कानुनी र संस्थागत संयन्त्रहरू पनि समयअनुकूल सुदृढ हुँदै जानुपर्छ । कानुन बलियो हुन आवश्यक छ, तर कानुन मात्र पर्याप्त हुँदैन । यसको प्रभावकारी कार्यान्वयनका लागि सक्षम संस्था, स्रोतसाधन, दक्ष जनशक्ति र सम्बन्धित निकायहरूबिच प्रभावकारी समन्वय आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।

सभामुख अर्यालले महासभाबाट हुने निर्णयले सदस्य राष्ट्रबीचको सहकार्यलाई थप सुदृढ बनाउनाका साथै राष्ट्रिय संस्थाको क्षमता अभिवृद्धि र वन्यजन्तुको प्रभावकारी संरक्षणमा योगदान पु¥याउनुपर्ने बताउनुभयो । प्राकृतिक सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्ने जिम्मेवारी सबैको भएको उल्लेख गर्दै उहाँले महासभाको सार्थक छलफल र महत्वपूर्ण उपलब्धिका लागि शुभकामनासमेत दिनुभयो ।

पैसाको अभावमा अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था सरकारको असफलता : रन्जूकुमारी साह

0

वीरगंज । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक अभावका कारण बबिताकुमारी पासवानले अस्पतालको बाहिरी प्राङ्गणमै बच्चा जन्माउन बाध्य भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

मोर्चाकी इन्चार्ज रन्जूकुमारी साहले विज्ञप्ति जारी गर्दै उक्त घटना २१औँ शताब्दीको मानवता, लोकतन्त्र र कानुनी राज्यकै उपहास भएको बताएकी छन् । संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरे पनि आर्थिक अभावकै कारण एउटी आमाले अस्पताल परिसरमै बच्चा जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र लज्जास्पद भएको मोर्चाको ठहर छ ।

नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरेको स्मरण गराउँदै मोर्चाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले समेत प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरेको जनाएको छ ।

तर, संवैधानिक तथा कानुनी व्यवस्था हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मोर्चाले आरोप लगाएको छ । उपचार खर्च र प्रशासनिक लापरबाहीका कारण सिर्जित भनिएको घटनाले नेपालको स्वास्थ्य प्रणालीमा रहेको चरम उदासीनता तथा विपन्न नागरिकप्रतिको संवेदनहीनता उजागर गरेको साहले बताएकी छन् ।

निःशुल्क उपचार पाउनुपर्ने नागरिकलाई अस्पतालबाहिर पुगेर बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना हुनुमा अस्पताल प्रशासन तथा सम्बन्धित निकाय जिम्मेवार रहेको मोर्चाको आरोप छ ।

मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी लापरबाही गर्ने कर्मचारी तथा अस्पताल प्रशासनलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । साथै पीडित बबिता मण्डल र नवजात शिशुको सम्पूर्ण स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने तथा उचित क्षतिपूर्तिसहित निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

त्यस्तै, कागजमा मात्र सीमित स्वास्थ्यसम्बन्धी मौलिक हक तथा सुरक्षित मातृत्वका कार्यक्रमलाई देशभरका सरकारी अस्पतालमा कडाइका साथ कार्यान्वयन गर्न मोर्चाले माग गरेको छ । भविष्यमा कुनै पनि नेपाली महिलाले आर्थिक अभावकै कारण अस्पतालको ढोकाबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउन नदिन राज्य गम्भीर बन्नुपर्ने साहको भनाइ छ ।

नागरिकको बाँच्न पाउने तथा महिलाको सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्न आफ्नो मोर्चा निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्दै साहले घटनाविरुद्ध आवाज उठाउन तथा पीडितलाई न्याय दिलाउन न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी र सञ्चारकर्मीलाई समेत अपिल गरेकी छन् ।

नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना सम्म पनि बाराका ९ स्थानीय तहको खाता सञ्चालन भएन

0

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएको करिब दुई महिना सम्म पनि बाराका अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन । जिल्लाका १६ स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहको मात्र खाता सञ्चालनमा आएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुख कोष नियन्त्रक राधेश्याम गिरीका अनुसार देवताल गाउँपालिका, करैयामाई गाउँपालिका, सिम्रौनगढ नगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकाको मात्र खाता सञ्चालन भएको हो ।

बारा जिल्लामा दुई उपमहानगरपालिकासहित १६ वटा स्थानीय तह रहेका छन् । तीमध्ये कलैया उपमहानगरपालिकासहित ९ वटा स्थानीय तहको खाता सञ्चालन हुन बाँकी रहेको कोष नियन्त्रक गिरीले जानकारी दिए ।

उनका अनुसार कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, महागढीमाई नगरपालिका, पचराैता नगरपालिका, काेल्भी नगरपालिका, निजगढ नगरपालिका, बारागढी गाउँपालिका, आदर्शकाेत्वाल गाउँपालिका र सुवर्ण गाउँपालिकाकाे खाता संचालन हुन सकेकाे छैन् ।

नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन नसक्दा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसमेत प्रभावित भएका छन् । सरकारले कर्मचारीलाई १५ दिनभित्र तलब खुवाउने व्यवस्था गर्ने बताए पनि स्थानीय तहको खाता सञ्चालनमा ढिलाइ हुँदा दुई महिना सम्म पनि कर्मचारीले तलब पाउन सकेका छैनन् ।

यस्तै, पर्साका पनि अधिकांश स्थानीय तहको खाता सञ्चालन हुन सकेको छैन । प्राप्त जानकारीअनुसार वीरगंज महानगरपालिका, पर्सागढी नगरपालिका, जिराभवानी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाको मात्र खाता सञ्चालनमा आएको छ ।

यसरी बारा र पर्साका अधिकांश स्थानीय तहको खाता सञ्चालनमा ढिलाइ हुँदा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, कर्मचारीको तलब भुक्तानी तथा विकास निर्माणका गतिविधि प्रभावित हुने अवस्था देखिएको छ ।

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो वीरगंज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार जितपुरबाट वीरगंजतर्फ आउँदै गरेको भारतीय नम्बर DL12 CL 1984 को कारलाई रोकी जाँच गर्दा चालक बस्ने सिटको माथिल्लो भागमा प्लास्टिकभित्र लुकाइछिपाई राखिएको अवस्थामा ७ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको थियो ।

लागूऔषधसहित पक्राउ पर्नेमा भारत बिहार, पूर्वी चम्पारण, रक्सौल पुरैनिया लोहडिया वडा नं. ५ बस्ने ३१ वर्षीय दिनेश प्रसाद रहेका छन् ।

प्रहरीले बरामद लागूऔषध र सवारीसाधनसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनले लागूऔषध कारोबार तथा ओसारपसारविरुद्ध प्रहरीको कारबाहीलाई निरन्तरता दिइएको बताए ।

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार नेपालमा अनधिकृत रूपमा चलाइरहेको अवस्थामा बरामद गरिएका स्कुटरहरूको अनुमानित मूल्य १३ लाख ६० हजार रुपैयाँ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नियन्त्रणमा लिइएका भारतीय इलेक्ट्रिक स्कुटरहरू थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको छ ।

प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका तथा अनधिकृत रूपमा सञ्चालन भइरहेका सवारीसाधनमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

0

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र न्याय दिन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले बेथिति, दण्डहीनता र भ्रष्टाचारविरुद्ध जेन्जी युवाहरूले गरेको विद्रोह तथा अर्थपूर्ण राजनीतिक हस्तक्षेपलाई सम्मानपूर्वक स्मरण गर्नुपर्ने बताए ।

उनले तत्कालीन ओली सरकारले जेन्जी आन्दोलनका क्रममा गरेको निर्मम दमनपछि सरकारको पतनदेखि वर्तमान संसद् र सरकार गठनसम्म आइपुग्दा आन्दोलनकारी युवाहरूले देखेका सपना कति पूरा भए र कति पूरा हुने क्रममा छन् भन्ने विषय आफ्नै ठाउँमा रहेको बताए ।

तर आन्दोलनका धेरै योद्धाहरू अहिले पनि जेलमा रहेको, कतिपयले मुद्दा खेपिरहेको र कतिपय अझै फरार हुन बाध्य भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद पन्तले न्याय प्रणालीप्रति प्रश्न उठाउँदै भने, “गोली खाने र गोली खान तयार हुनेचाहिँ दोषी हुने अनि गोली हान्ने र गोली हान्न लगाउनेचाहिँ निर्दोष ठहरिने, यो कस्तो न्याय हो ?”

उनले जेन्जी आन्दोलनकै जगमा भएको निर्वाचनबाट आफू निर्वाचित भएको उल्लेख गर्दै आन्दोलनकारी युवालाई दोषी ठहर गरिए आफू पनि दोषी हुने तर्क गरे ।

“यदि ती भाइबहिनीहरू दोषी हुन् भने त्यही आन्दोलनको जगमा भएको निर्वाचनबाट निर्वाचित म पनि दोषी हुँ । यो सरकारका मन्त्रीहरू र प्रधानमन्त्री पनि दोषी हुन्,” उनले भने ।

सांसद पन्तले सभामुखमार्फत जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा लागेका तथा घाइते भएका युवाहरूलाई तत्काल न्याय प्रदान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

पर्साको ठोरीमा प्रहरीको मदिरा नियन्त्रण अभियानमा, स्थानीयद्वारा विरोध

0

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा अवैध घरेलु मदिरा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा प्रहरी र स्थानीयबासीबीच विवाद उत्पन्न भएको छ।

इलाका प्रहरी कार्यालय ठोरी र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा ठोरीका विभिन्न स्थानमा रहेका घर तथा टहरामा छापा मारेको हो। प्रहरीले घरेलु मदिरा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, ड्रम तथा अन्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण हुने गरेको र त्यस्ता मदिरा भारततर्फ समेत लैजाने गरेको सूचनाका आधारमा अभियान सञ्चालन गरिएको हो। नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको ठोरीमा अवैध कारोबार नियन्त्रण गर्न निगरानी बढाइएको सुरक्षा निकायको भनाइ छ।

प्रहरीको कारबाहीप्रति स्थानीयको आपत्ति

यता, प्रहरीको छापा तथा नियन्त्रण अभियानप्रति केही स्थानीयबासी र साना व्यवसायीले आपत्ति जनाएका छन्। उनीहरूले प्रहरीले कुनै पूर्वसूचना नदिई घर तथा टहरामा प्रवेश गरी दुःख दिएको आरोप लगाएका छन्।

घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरणलाई जीविकोपार्जनको माध्यम बनाउँदै आएका विपन्न परिवारहरू प्रहरीको पछिल्लो अभियानबाट प्रभावित भएको स्थानीयको गुनासो छ। उनीहरूले अवैध गतिविधि नियन्त्रण गर्नु आवश्यक भए पनि कारबाहीको नाममा सर्वसाधारणलाई अनावश्यक रूपमा दुःख दिन नहुने बताएका छन्।

केही स्थानीयले प्रहरीको कारबाहीलाई ‘प्रहरी आतंक’ को संज्ञा दिँदै अभियानको शैलीप्रति प्रश्न उठाएका छन्। उनीहरूले प्रहरी प्रशासनले वास्तविक तस्करी तथा अवैध कारोबारमा संलग्न मुख्य व्यक्तिहरू र सञ्जाल पहिचान गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।

तस्करी नियन्त्रणमा सुरक्षा निकायको निगरानी

ठोरी नेपाल–भारत सीमासँग जोडिएको क्षेत्र भएकाले यहाँबाट विभिन्न वस्तुको अवैध ओसारपसार हुने गरेको सुरक्षा निकायको दाबी छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी तथा चेकजाँचलाई समेत कडाइ गरेको जनाएको छ।

स्थानीयबासीले भने अवैध मदिरा तथा तस्करी नियन्त्रण अभियानको विरोध नभएको तर कारबाही प्रक्रिया कानुनी, पारदर्शी र निष्पक्ष हुनुपर्ने बताएका छन्। उनीहरूले साना तथा विपन्न व्यवसायीलाई मात्रै लक्षित नगरी अवैध कारोबारको मुख्य सञ्जालसम्म पुगेर अनुसन्धान गर्न माग गरेका छन्।

ठोरीमा प्रहरीको अभियानलाई लिएर स्थानीयस्तरमा समर्थन र विरोध दुवै देखिएको छ। एकातर्फ अवैध मदिरा नियन्त्रणका लागि प्रहरीको कदम आवश्यक रहेको बताइएको छ भने अर्कोतर्फ कारबाहीको शैली र त्यसबाट विपन्न परिवारमा परेको असरबारे प्रश्न उठाइएको छ।

समाचार प्रकाशितपछि वीरगंज महानगरले ६ आन्तरिक आय शीर्षकको ठेक्का आह्वान गर्‍यो

0

वीरगंज । वीरगंज महानगरपालिकाले म्याद सकिएका आन्तरिक आयका ६ वटा शीर्षकको नयाँ ठेक्का आह्वान गरेको छ । महानगरले घडिअर्वा पोखरी, स्विमिङ पुल, मिना बजार, पुरानो बसपार्क, जडीबुटी तथा कवाडी कर र सवारी व्यवस्थापन सेवा शुल्कलगायतका शीर्षकमा ठेक्का आह्वान गरेको हो ।

महानगरपालिकाले यही भदौ १८ गतेको गोरखापत्रमा सिलबन्दी बोलपत्र आह्वानसम्बन्धी सूचना प्रकाशित गरेको छ । कालिका टाईम्सलगायत केही सञ्चारमाध्यमले भदौ १६ गते महानगरका विभिन्न सम्पत्तिको ठेक्काको म्याद असार मसान्तमै सकिए पनि नयाँ ठेक्का प्रक्रिया अघि नबढेको समाचार प्रकाशन गरेपछि महानगरले ठेक्का आह्वान गरेको हो ।

गत आर्थिक वर्षको असार मसान्तमै म्याद सकिए पनि हालसम्म घडिअर्वा पोखरी, मिना बजार, स्विमिङ पुल र पुरानो बसपार्क पुरानै ठेकेदारको नियन्त्रणमा रहेका छन् । घडिअर्वा पोखरी र पुरानो बसपार्कको ठेक्का गणपति निर्माण सेवाले, स्विमिङ पुलको ठेक्का सुरेश ठेक्का पट्टाले र मिना बजारको ठेक्का अरविन्द प्रसाद कलवारले लिएका थिए ।

ठेक्काको म्याद समाप्त भइसकेपछि नयाँ ठेक्काको सूचना आह्वान भए पनि पुराना ठेकेदारले ती संरचना महानगरपालिकालाई हस्तान्तरण गरेका छैनन् । महानगरपालिकाका अनुसार घडिअर्वा पोखरी र मिना बजारको ठेक्काबापत गत असार मसान्तसम्म महानगरलाई बुझाउनुपर्ने केही रकमसमेत अझै बाँकी रहेको छ ।

महानगरपालिकाले म्याद सकिएको करिब डेढ महिनापछि जडीबुटी, कवाडी तथा जीवजन्तु कर; सवारी व्यवस्थापन सेवा शुल्क; वडा नं. १० स्थित घडिअर्वा पोखरी परिसर व्यवस्थापन तथा सञ्चालन; मिना बजार तथा सपिङ कम्प्लेक्स व्यवस्थापन तथा सञ्चालन; वडा नं. १० स्थित पुरानो बसपार्कको खाली जग्गामा सवारी पार्किङ तथा शौचालय व्यवस्थापन एवं सञ्चालन र वडा नं. १० स्थित स्विमिङ पुल तथा हेल्थ क्लब परिसर व्यवस्थापन एवं सञ्चालनका लागि ठेक्का आह्वान गरेको हो ।

वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोराले आन्तरिक आयका ६ वटा शीर्षकमा सिलबन्दी बोलपत्र आह्वानका लागि गोरखापत्रमा सूचना प्रकाशित भइसकेको जानकारी दिए ।

उनका अनुसार ठेक्काको म्याद सकिए पनि घडिअर्वा पोखरीलगायत चारवटा संरचना पुराना ठेकेदारले महानगरलाई हस्तान्तरण नगरेका कारण त्यस अवधिको रकमसमेत असुल गर्न नयाँ ठेक्का नहुँदासम्म पुरानै ठेक्काअनुसार म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ ।

“नयाँ ठेक्का गर्न असोज मसान्तसम्म समय लाग्न सक्छ । त्यस बेलासम्मको रकम असुल गर्न हामी अग्रसर छौं । महानगरलाई घाटा हुने काम हामी गर्दैनौं,” प्रमुख प्रशासकीय अधिकृत बोहोराले भने ।

यसैबीच, पुरानै ठेकेदारहरूले पुनः नयाँ ठेक्का हात पार्न चलखेल गरिरहेको चर्चा भइरहेका बेला कालिका टाइम्सको प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत बोहोराले ठेक्काको सूचना सार्वजनिक भइसकेकाले त्यस्तो सम्भावना नरहेको दाबी गरे । उनले इच्छुक जोकोहीले सिलबन्दी बोलपत्र पेश गरी प्रतिस्पर्धामा सहभागी हुन सक्ने बताए ।

क्यासिनोमा दुई गाउँपालिका अध्यक्ष ? यादव पक्राउ, चौधरी भने सम्पर्कविहीन

0

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित Golden Finger Gaming Zone Pvt. Ltd. (क्यासिनो) मा प्रहरीले छापा हानेको दिन सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी पनि क्यासिनोभित्र जुवा खेलिरहेको देखिने भिडियो सार्वजनिक भएको छ ।

गत शनिबार राति प्रहरीले क्यासिनोमा छापा हानेर जुवा खेलेकाे आरोपमा अध्यक्ष यादवसहित ४ जना र नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाएको आराेपमा क्यासिनाे चार कर्मचारी सहित आठ जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका यादव सहित आठै जना अहिले प्रहरी हिरासतमा छन् ।

तर, सार्वजनिक भएको भिडियोमा यादवसँगै जिराभवानी गाउँपालिका अध्यक्ष चौधरी पनि क्यासिनोभित्र जुवा खेलिरहेको देखिएपछि घटनाले थप चर्चा पाएको छ । क्यासिनो स्रोतका अनुसार प्रहरी टोली छापा मार्न पुगेपछि अध्यक्ष चौधरी क्यासिनोको रेष्ट रुममा लुकेर बसेका चर्चा चलेकाे थियाे । तर त्यसकाे केही सार्वजनिक भिडियाेमा टाेपी लगाएका व्यक्ति उनी नै प्रष्टै देखिन्छ ।

प्रहरीले क्यासिनोमा पक्राउ परेकाहरूमाथि जुवासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले क्यासिनोको सीसीटीभी फुटेजलगायत प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको बताउँदै आएको छ ।

तर, सार्वजनिक भिडियोमा देखिएका अर्का जनप्रतिनिधि अध्यक्ष चौधरीमाथि तत्काल कारबाही नभएको विषयमा भने प्रश्न उठेको छ । एउटै घटनामा क्यासिनोभित्र जुवा खेलिरहेको देखिएका व्यक्तिमध्ये एक जनप्रतिनिधि पक्राउ पर्नु र अर्का पक्राउ नपर्नुले प्रहरीको अनुसन्धान प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ ।

क्यासिनोभित्र नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्न पूर्ण रूपमा निषेध रहेको अवस्थामा निर्वाचित जनप्रतिनिधिहरू नै क्यासिनो पुगेको देखिएपछि क्यासिनो सञ्चालकको भूमिकामाथि पनि प्रश्न उठेको छ । समाचार स्राेका अनुसार अध्यक्ष चौधरी क्यासिनोमा नियमित रूपमा आउने–जाने गरेको दाबी गरिएकाे छ । यद्यपि, यस दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

यस विषयमा जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्दा उनकाे माेबाइल स्विच अफ रहेका कारण सम्पर्क हुन सकेन ।

त्यस्तै, प्रहरीको प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लसँग सम्पर्क गर्ने प्रयास गरिए पनि फोन नउठेका कारण प्रतिक्रिया लिन सकिएन ।

यस घटनामा सार्वजनिक भिडियो, सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको बताइएको छ । अध्यक्ष चौधरीको संलग्नता तथा उनीमाथि कारबाही हुने–नहुने विषय भने प्रहरी अनुसन्धानपछि स्पष्ट हुने देखिन्छ ।