वीरगंज । आम जनता पार्टी (आजपा) निकट आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक अभावका कारण बबिताकुमारी पासवानले अस्पतालको बाहिरी प्राङ्गणमै बच्चा जन्माउन बाध्य भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
मोर्चाकी इन्चार्ज रन्जूकुमारी साहले विज्ञप्ति जारी गर्दै उक्त घटना २१औँ शताब्दीको मानवता, लोकतन्त्र र कानुनी राज्यकै उपहास भएको बताएकी छन् । संविधानले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने तथा आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरे पनि आर्थिक अभावकै कारण एउटी आमाले अस्पताल परिसरमै बच्चा जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद र लज्जास्पद भएको मोर्चाको ठहर छ ।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था गरेको स्मरण गराउँदै मोर्चाले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले समेत प्रत्येक महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरेको जनाएको छ ।
तर, संवैधानिक तथा कानुनी व्यवस्था हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मोर्चाले आरोप लगाएको छ । उपचार खर्च र प्रशासनिक लापरबाहीका कारण सिर्जित भनिएको घटनाले नेपालको स्वास्थ्य प्रणालीमा रहेको चरम उदासीनता तथा विपन्न नागरिकप्रतिको संवेदनहीनता उजागर गरेको साहले बताएकी छन् ।
निःशुल्क उपचार पाउनुपर्ने नागरिकलाई अस्पतालबाहिर पुगेर बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना हुनुमा अस्पताल प्रशासन तथा सम्बन्धित निकाय जिम्मेवार रहेको मोर्चाको आरोप छ ।
मोर्चाले घटनाको निष्पक्ष छानबिन गरी लापरबाही गर्ने कर्मचारी तथा अस्पताल प्रशासनलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । साथै पीडित बबिता मण्डल र नवजात शिशुको सम्पूर्ण स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिनुपर्ने तथा उचित क्षतिपूर्तिसहित निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
त्यस्तै, कागजमा मात्र सीमित स्वास्थ्यसम्बन्धी मौलिक हक तथा सुरक्षित मातृत्वका कार्यक्रमलाई देशभरका सरकारी अस्पतालमा कडाइका साथ कार्यान्वयन गर्न मोर्चाले माग गरेको छ । भविष्यमा कुनै पनि नेपाली महिलाले आर्थिक अभावकै कारण अस्पतालको ढोकाबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउन नदिन राज्य गम्भीर बन्नुपर्ने साहको भनाइ छ ।
नागरिकको बाँच्न पाउने तथा महिलाको सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्न आफ्नो मोर्चा निरन्तर संघर्षरत रहने प्रतिबद्धता व्यक्त गर्दै साहले घटनाविरुद्ध आवाज उठाउन तथा पीडितलाई न्याय दिलाउन न्यायप्रेमी नागरिक, मानव अधिकारकर्मी र सञ्चारकर्मीलाई समेत अपिल गरेकी छन् ।








