Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 309

जनताकाे निराशा आशामा परिणत गर्ने ढङ्गले काम गर्न खानेपानी मन्त्री यादवकाे निर्देशन

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सृजित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

मन्त्री यादवले मंगलबार काठमाडौँस्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिए । उनले भने, “जनतामा निराशा छाएको छ, जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस्, के सहयोग चाहिन्छ, मन्त्रालय गर्न तयार छ ।”

उनले विश्वमा नेपाल जलश्रोतको धनी देश भए पनि यहाँका नागरिकले शुद्ध खानेपानी खानका लागि सङ्घर्ष समिति गठन गर्नु पर्ने बाध्यता रहेको बताउँदै जनतामा नेतृत्व प्रति चरम निराशा छाएको उल्लेख गरे । मन्त्री यादवले भने, “जलश्रोतको धनी देश, पर्याप्त वन जङ्गल, तराई, पहाड र हिमाल भएको देशमा पानीका लागि सङ्घर्ष समिति गठन गर्नु पर्ने अवस्था छ । आन्दोलन गर्नु पर्ने ? यो कहाँ सम्मको पीडा होला, जनतालाई निराशामा नराखौँ, सबै मिलेर निराशालाई आशामा परिणत गरौँ ।”

सो क्रममा मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयहरूको वर्तमान अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम र कार्यान्वयनका क्रममा आएका चुनौतीहरूको जानकारी लिएका थिए । उनले चुनौतीहरूलाई समाधान गर्न मन्त्रालयबाट हुने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मन्त्री यादवले मंगलबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गरेका हुन् । भ्रमणका क्रममा उनले कम्पनीको इतिहास, गतिविधि, सञ्चालनमा रहेका परियोजनाहरू, तिनीहरूको कार्यान्वयनको अवस्था, प्रगति विवरण, आगामी कार्य योजना तथा चुनौतीहरूको बारेमा विस्तृत जानकारी लिएका थिए । उनले काठमाडौँवासीलाई उत्कृष्ट खानेपानी सेवा प्रदान गर्न गुणस्तर सुधार गर्न, सम्पूर्ण कार्यहरू पारदर्शी र जबाफदेही रूपमा सम्पन्न गर्न र सम्बन्धित सबै निकायहरूसँग समन्वय गरी कार्य अघि बढाउन निर्देशन दिए ।

उनले भने, “काठमाडौँवासीलाई शुद्ध, स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउन म प्रतिबद्ध छु । तपाईँहरू पनि मेरो साथमा हिँड्नुस्, हामी अवश्य सफल हुने छौँ ।”

हुण्डी कारोबारमा संलग्न दुई व्यक्ति पक्राउ

वीरगंज । बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बारा कै फेटा गाँउपालिका वडा नं.६ पुरैनिया निवासी ४१ बर्षिया सैदुल्ला मियाँ ठकुराई र साेही ठाउँ निवासी २२ बर्षिया बागर अंसारी रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी बरिष्ठ नायब निरिक्षक सन्तोष केसिको कमाण्डमा खटिएको प्रहरी टोलिले आइतबार विहान ११:३० बजेको समयमा दुबै जनालाई नियन्त्रण लिएकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

प्रहरीले बिश्रामपुर गाँउपालिकाकाे वडा नं.१ घोडासहन नाका स्थितबाट ना ३६ प ४५६३ नम्बरको  मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गरेकाे दुबै जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा निजहरूको साथबाट लुकाई छिपाई ल्याएको विभिन्न दरको नेपाली रू. दश लाख ईण हजार बरामद भएकाे प्रवक्ता न्याैपानेले जानकारी दिए ।

पक्राउ परेका दुबै जना विरुद्ध हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी गराए ।

सवारी दुर्घटनामा घाइते महासचिव बन्जारा खतरा मुक्त

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा चढेको गाडी दुर्घटनामा परेको छ । महासचिव बन्जारा चढेको प्रदेश ३–०१–०२४ छ १८६५ नम्बरको गाडी आज दिउँसो जितपुरमा दुर्घटनामा परेको हो ।

सिमराबाट बीरगंज तर्फ आउँदै गरेको गाडीलाई सोही दिशाबाट आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दिदाँ दुर्घटना भएको हो ।दुर्घटनामा परेर महासचिव  श्याम बञ्जारा र उनकी पत्नि शुभद्रा बन्जारा घाइते भएका छन् ।

बाराको जितपुर बजारमा भएको दुर्घटनामा गाडीमा सवार दुवै जना घाइते भएका हुन् । दुवै जनाकाे वीरगंजकाे बहुअरीस्थित वीरगंज हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको छ । दुवै जनाको टाउको र ढाडमा चोट लागेको तर अवस्था भने खतरामुक्त रहेको हस्पिटलका सञ्चालक डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए ।

सिमरा विमानस्थलबाट पत्नि सुभद्रालाई लिएर महासचिव बन्जारा गृहनगर वीरगंज आउने क्रममा दुर्घटनामा परेका थिए । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिराभवानीमा नवनिर्मित प्रबेशद्वारा र मदरसा भवनकाे उद्घाटन

वीरगंज । पर्साकाे जिराभवानी गाँउपालिका वडा नम्बर १ महादेवट्टीकाे बलुवा टाेलमा रहेकाे “मदरसा ताैहीदुल ईस्लाम” काे नवनिर्मित भवन र नेपाल-भारत मैत्री प्रवेशद्वार साेमबार उद्घाटन भएकाे छ ।

एक कार्यक्रमका बिच मदर्शा भवन र प्रबेशद्वाराकाे उद्घाटन नेपाल सरकारका निवर्तमान उद्याेग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले गरेका हुन् ।

गाँउपालिका अध्यक्ष अनाेज चाैधरीकाे अध्यक्षता तथा पूर्वमन्त्री रिजालकाे प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जिल्ला सह-सचीव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चाैधरी, प्रमुख प्रशासकिय अधिकृत कुमार गिरी लगायतको सहभागीता रहेको थियो ।

गाउँपालिका कार्यालयकाे आयाेजनामा भएकाे कार्यक्रमको संचालन जिराभवानी गाँउपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाले गरेका थिए ।

रु ५ लाखको लागतमा नेपाल-भारत मैत्री प्रवेशद्वार र रु ५० लाखको लागतमा मदर्शा ताैहिदुल इस्लाम भवन निर्माण गरिएको गाउँपालिकाले जनाएकाे छ । मदर्शा निर्माणकाे लागि स्थानिय मरहूम शेख अब्दुल हकीम र शेख हसीनाले जग्गा दान गरेका थिए ।

प्रधानमन्त्री ओलीले पाए दुई तिहाई विश्वासकाे मत

वीरगंज । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई विश्वासकाे मत पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये १८८ जनाले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा ७४ मत पर्‍यो ।

प्रतिनिधिसभाको दुईतिहाइ बहुमतका लागि १८४ सांसदको समर्थन आवश्यक थियो । आइतवारको संसद्‌ बैठकमा २६३ जना सांसद् उपस्थित भएका थिए ।

सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सहभागी पार्टीका अतिरिक्त अन्य केही दलहरूले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् ।

ओलीलाई सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकार बाहिरै विश्वासको मत दिए ।

संसद्‌को तेस्रो ठूलो शक्ति नेकपा माओवादी केन्द्र, चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी, पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी, छैटौँ ठूलो दल नेकपा एकीकृत समाजवादी पार्टीले ओलीलाई विश्वासको मत दिएनन् ।

त्यस्तै प्रतिनिधिसभामा एक-एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले पनि ओलीलाई विश्वासको मत दिएनन् ।

यसअघिको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा विश्वासको मत पाउन नसकेपछि असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

उनले प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता थियो ।

केन्द्रिय सदस्यमा निर्वाचित बिकाश र मनोजलाई भव्य स्वागत

वीरगंज । नेपाल सुन चाँदी व्यवसायि महासंघको केन्द्रिय सदस्यमा पर्साबाट निर्वाचित सदस्यहरुलाई आइतबार वीरगंजमा भव्य स्वागत गरिएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न दोस्रो बैठकबाट स्थायि आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित बिकाश कुमार सर्राफ र केन्द्रिय सदस्यमा निर्वाचित मनोज कुमार सर्राफ(सतेन्द्र सर्राफ)लाई गृह नगर वीरगंजमा भव्य स्वागत गरिएको हो ।

केन्द्रिय सदस्यद्वव सहित पर्सा सुन चाँदी व्यवसायि संघका अध्यक्ष भुलन सर्राफलाई पनि दोसल्ला, फुलमाला लगाई स्वागत गरिएको थियो । पर्सा सुनचाँदी व्यवसायि संघको अगुवाई कार्यक्रममा सुनचाँदी व्यवसायि महासंघ मधेश प्रदेशका महासचिव, कोषाध्यक्ष लगायत सयौंको सहभागिता थियो ।

सो अवसरमा नव निर्वाचित केन्द्रिय सदस्यहरुलाई वीरगंज घण्टाघरमा फुलमाला लगाई सोनारपट्टि परिक्रमा गराउदै प्रत्येक पसलहरुमा लड्डु बाडिएको थियो ।

गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण

वीरगंज । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ ।

शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले बताए । वृक्षारोपण गर्दै महानगर प्रमुख सिंहले खाली जग्गा तथा घर वरपर हरियाली बनाइ राख्नका लागि बोट विरुवा रोप्न सबैलाई आह्वान समेत गरे ।

वीरगंज महानगरपालिकाको आयोजना र साहिब दरबार वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा विभिन्न जातका विरुवा रोपिएको हो । महानगरपालिकाले शंसानघाटलाई स्तरोन्नती गर्दै परिसरलाई हरियाली बनाउन सौन्दर्यकरणको काम गरिरहेको छ ।

यस्तै आइतबार नै वडा नं. २१ परवानीपुर स्थित शंसानघाट परिसरमा पनि वृक्षारोपण गरिएको छ ।

पर्सा प्रहरीद्वारा एक वर्षमा साढे ५३ करोडको अवैध सामान बरामद

वीरगंज । पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबीजक नभएका करिब रु साढे ५३ करोड मूल्य बराबरको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेलले प्रहरीको सक्रियताकै कारणले अघिल्लो आवको तुलनामा गत आवमा अवैध रूपमा भन्सार छली तथा बिलबीजक नभएका पाँच करोड ३६ लाख ९५ हजार दुई सय २७ रुपैयाँले बढी बरामद भएको बताए ।

‘प्रहरीले भन्सार छली तथा चोरी पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारणले बरामद हुने समान बढेको हो’, उनले भने ‘चोरी-तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगंज भन्सार कार्यालयलाई बुझाउँदै आइरहेका छौँ । बिलबीजक अनुसार नभएको सामान भने राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउँदै आइरहेका छौँ ।’

पर्सा प्रहरीका अनुसार आव २०७९/८० मा अवैध चोरी-तस्करी गरेर तथा बिलबीजक नभएका गरी कूल ४८ करोड नौ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ मूल्य पर्ने सामान वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो । त्यस्तै, आव २०७८/७९ मा भने २३ करोड ९४ लाख ४६ हजार आठ सय २५ रुपैयाँ मूल्य पर्ने सामान बरामद गरेको थियो ।

हुन्डी कारोबारमा संलग्नबाट ६१ लाख बरामद

पर्सा प्रहरीले गत आर्थिक वर्षमा हुन्डी कारोबारमा संलग्न १७ जना कारोबारीबाट ६१ लाख २४ हजार सात सय रुपैयाँ जफत गरेको छ । पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले अघिल्लो आवभन्दा गत आवमा हुन्डी कारोबारमा पक्राउ पर्ने सङ्ख्यामा कमी आएको बताए । पर्सा प्रहरीले आव २०७९/८० मा हुन्डी कारोबारमा संलग्न रहेको भन्दै १७ जनाबाट एक करोड ९३ लाख ६६ हजार तीन सय रुपैयाँ बरामद गरेको थियो ।

त्यस्तै, आव २०७८/७९ मा हुन्डी कारोबारमा संलग्न १४ जनाबाट एक करोड ६५ लाख १३ हजार ६ सय २० रुपैयाँ सहित पक्राउ गरेको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर क्षेत्रफल भारतसँग सीमा जोडिएको छ ।

मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट काठमाडौँमा पानी वितरण गर्न मन्त्रीकाे निर्देशन

वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी वितरण गर्न निर्देशन दिएका छन् । शनिवार सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा मन्त्री यादवले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतहरूबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

उनले काठमाडौँवासीको लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे । उनले भने, “मानिसको जीवनमा सबैभन्दा महत्त्वपूर्ण वस्तु पानी हो । काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस् । बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ, मन्त्रालयबाट म व्यवस्था गर्छु ।”

मन्त्री यादवले हाल काठमाडौँमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोतहरू प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे ।

मन्त्री यादवले काठमाडौँमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनेहरूको मर्मत तथा पुनः निर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजनाहरू पनि सुनाए । उनले भने, “पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ ।”

मन्त्री यादवले काठमाडौँमा मात्र नभई देशका अन्य स्थान, विशेष गरी तराई-मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गरे । उनले मधेसमा चापाकल सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको जानकारी दिए । उनले भने, “कुनै जमानामा तराई-मधेस क्षेत्रमा ८० फिट खन्दा पानी आउँथ्यो, तर अहिले ४०० फिट खन्दा पनि पानी पाइरहेको छैन । समस्या विकराल छ, यसलाई समाधान गर्न हामीले काम गरिरहेका छौं ।”

मन्त्री यादवले मेलम्ची सुरुङ आउटलेटसँगै मेलम्ची खानेपानी प्रशोधन केन्द्र, बागमतीबाट प्रशोधन केन्द्रमा आउने पानीको प्रणाली, पानी प्रशोधन ल्याब, सुपरभिजन कन्ट्रोल एन्ड डेटा एक्युजीसन सेन्टरलगायतको निरीक्षण गर्नुभएको थियो । निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्री यादवको सचिवालयका पदाधिकारी लगायतको सहभागिता थियो ।

बारामा ८५ हजार नेपाली नक्कली नाेट सहित एक जना पक्राउ

वीरगंज । बारा प्रहरीले नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाही निवासी ३५ बर्षिय छठु गिरी रहेका छन् ।

पक्राउ परेका गिरीको साथबाट ८५ हजार रुपैयाँ बराबरको नेपाली एक हजारका ८५ वटा नक्कली नोट बरामद भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

विशेष सूचनाको आधारमा बिहिबार इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर २ महुवाहीस्थित सडक खण्डमा महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्दा गिरीको साथबाट नक्कली नोट बरामद भएकाे प्रवक्ता न्यौपानेले बताए ।

प्रहरीले गिरीलाई नियन्त्रणमा लिई खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ८ दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।