Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 244

जेन जि आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

0

काठमाडौं । Gen Z पुस्ताले आह्वान गरेको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।

उनको सचिवालयले मंगलबार प्रधानमन्त्री ओलीले पदत्याग गरेको जानकारी दिएको हो । शीतल निवासले पनि प्रधानमन्त्रीको राजीनामापत्र राष्ट्रपतिसमक्ष पुगिसकेको पुष्टि गरेको छ।

प्रधानमन्त्री ओलीले मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको जनाएका छन् ।

देशभर चर्किएको आन्दोलन, दर्जनौंको मृत्यु र सरकारभित्रै बढ्दो असहमतिकाबीच आएको प्रधानमन्त्रीको राजीनामाले अबको राजनीतिक परिदृश्य झन् संवेदनशील बन्ने अनुमान गरिएको छ।

वीरगंजमा खानेपानी मन्त्री यादवकाे घरमा आगजनी र कानुन मन्त्री चाैरियाकाे घरमा ताेडफाेड

0

वीरगंज । जेन जी आन्दोलनको चपेटामा परेर खानेपानी मन्त्री प्रदीप यादवको वीरगंजस्थित निवासमा मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

सरकारद्वारा गरिएको दमनको विरोधस्वरूप मन्त्री यादवले केही घण्टाअघि मात्रै सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएका थिए । उनले युवापुस्तासँग ऐक्यबद्धता जनाउँदै, “हिजो Gen Z पुस्ताले गरेको आन्दोलनको समर्थन र दमनको विरोध गर्दै खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु,” भनेका थिए।

तर, राजीनामापछि पनि आन्दोलनकारीको आक्रोश रोकिएन र यादवको वीरगंजस्थित घरमा आगजनी गरिएको हो । यसअघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चाैरसियाको वीरगंज-११ श्रीपुर नयाँबस्तीस्थित घरमा ढुंगामुढा भएको थियो, जसमा घरका सिसा फुटेका थिए।

पर्सा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चाैरसियाले अहिले सम्म मन्त्री पदबाट राजिनामा दिएका छैनन् ।

Gen Z आन्दोलनकै क्रममा सोमबार मात्र १९ जना युवाले ज्यान गुमाएका थिए । त्यसयता देशभर जनदबाब तीव्र बनेको छ । देशभर प्रदर्शन भएजस्ताे वीरगंजकाे पनि विभिन्न ठाउँमा प्रदर्शन, ताेडफाेड र आगजनीकाे घटना भइरहेका छन् ।

जेनजि आन्दाेलनमा एकीकृत समाजवादीकाे समर्थन

0

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सञ्जालमाथि गरिएको नियन्त्रण, भ्रष्टाचार र कुशासनविरुद्ध जेन जेड पुस्ताले गरेको आन्दोलनमा भएको बर्बर दमन र नरसंहारप्रति कडा आपत्ति जनाएका छन्।

सोमबार जारी विज्ञप्तिमा अध्यक्ष नेपालले निहत्था युवामाथि गरिएको सरकारी दमनलाई “जति निन्दा गरे पनि कम हुने” बताएका छन्। उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

नेपालले सरकारको दमनकारी, अहंकारी र हेपाहा कार्यशैलीकै कारण यो विभत्स घटना भएको दाबी गर्दै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। साथै, घटनाका सबै दोषी पहिचान गरी कारबाही गर्न उच्चस्तरीय न्यायिक आयोग तत्काल गठन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, “Gen Z युवाले उठाएका जायज मागहरूलाई सम्बोधन नगरी उल्टो दमन र अपमान गर्ने कार्य अमानवीय हो। म र हाम्रो पार्टी युवाहरूको आन्दोलनसँग पूर्ण समर्थनमा छौं।”

अध्यक्ष नेपालले जारी आन्दोलनलाई संयमित र जिम्मेवार ढंगले सञ्चालन गर्न सम्बद्ध पक्षहरूलाई आग्रह गर्दै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन्।

वीरगंजका मेयर सिंहद्वारा “जेन जि” आन्दोलनमा ऐक्यबद्धता

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले हालै भएको Gen Z आन्दोलनमा राज्यद्वारा गरिएको दमनप्रति कडा आपत्ति जनाएका छन् । आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले २० जना युवाको ज्यान गएको र सयौँ घाइते भएको घटनालाई “सभ्य समाजले सहन नसक्ने आततायी कृत्य” भनेर व्याख्या गरेका छन्।

उनले भने, “यो केवल दमन मात्र होइन—युवाको भविष्यमाथि गरिएको प्रहार हो। अब केवल सरकारको राजीनामाले मात्र पुग्दैन; यस हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी सरकारले लिनैपर्छ।”

मेयर सिंहले आफू युवाहरूको न्यायपूर्ण आन्दोलनमा पूर्ण ऐक्यबद्ध रहेको र आवश्यक परे सडकमा उत्रन पनि तयार रहेको बताएका छन् । तर, उनले संघर्ष सधैं शान्तिपूर्ण र संयमित रहनुपर्नेमा जोड दिँदै, “गलत तत्वहरूको घुसपैठ हुन नदिन सतर्क रहनुपर्छ” भन्ने अपिलसमेत गरेका छन्।

शान्तिपूर्ण आन्दोलनमा ज्यान गुमाउने युवाप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै उनले भने, “युवाशक्ति नै परिवर्तनको शक्ति हो। युवापुस्ताले आँटेको यो संघर्ष सफल होस्, भविष्य उज्ज्वल होस्।”

खानेपानीमन्त्री प्रदीप यादवले दिए राजीनामा, कानुन मन्त्री चाैरसिया कहाँ छन् ?

0

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आज आफ्नो मन्त्री पदबाट राजीनामा दिनु भएको छ ।

जेन–जीहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिनु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

हिजो जेन–जी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु मन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ ।

“प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु,” उहाँले लेख्नु भएको छ ।

पर्सा कै सांसद कानुन मन्त्री अजय चाैरसियाले पनि राजिनामा दिनु पर्ने माग उठेपनि उहाँकाे प्रतिक्रिया अहिले सम्म आएकाे छैन् ।

गगन थापाले भने “प्रधानमन्त्रीले अबिलम्ब पद छोड्नुपर्छ, कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ”

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन जेड आन्दोलनका क्रममा युवामाथि भएको गोली प्रहार घटनापछि प्रधानमन्त्रीलाई तत्काल पद त्याग गर्न आग्रह गरेका छन्।

आज विहान सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक प्रतिक्रिया सार्वजनिक गरेका थापाले भनेका छन्– “रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।”

थापाले कांग्रेसलाई पनि सरकारमै बसिरहन नहुने चेतावनी दिएका छन्। उनले भनेका छन्– “अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनु हुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।”

उनको यो अभिव्यक्ति पछि नेपाली कांग्रेसभित्र सरकारबाट फिर्ता हुने वा निरन्तरता दिने विषयमा चर्को बहस हुने अनुमान गरिएको छ।

एमाले वीरगंज उपाध्यक्ष परागद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

0

वीरगंज । नेकपा (एमाले) वीरगंज महानगर कमिटीका उपाध्यक्ष रामकिशोर सिंह (पराग) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेन जेड आन्दोलनका क्रममा निर्दोष बालबालिका र युवाको ज्यान गएको घटनाले मुलुक स्तब्ध बनेको भन्दै प्रधानमन्त्रीको पदमा बस्ने नैतिक आधार नभएको टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्– “प्रधानमन्त्रीज्यू, यो दु:खद् घटनापछि तपाईँको पदमा बस्ने कुनै नैतिक आधार छैन। तत्काल राजीनामा दिनुहोस्, सत्यतथ्य पत्ता लगाउन स्वतन्त्र उच्चस्तरीय छानबिन समिति गठन गर्नुहोस् र दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही सुनिश्चित गर्नुहोस्।”

सिंहले आन्दोलनमा स्वतन्त्र युवाको नाममा विभिन्न राजनीतिक दलसँग आवद्ध युवाहरूले साधन र स्रोतको दुरुपयोग गरेको आरोप पनि लगाएका छन्। उनले आन्दोलन शान्तिपूर्ण बाटोमा सीमित हुन नसक्नुमा राजनीतिक प्रभाव र अतिवादी धार हाबी भएको बताएका छन्।

उनले दलका युवाले पार्टीगत पहिचान प्रष्ट पार्नुपर्ने भन्दै “स्वतन्त्र युवा भन्दै आउनेहरूले पार्टीबाट राजीनामा दिएर आउनु पर्छ, नभए आफू कुन पार्टीका हो भन्ने स्पष्ट घोषणा गर्नुपर्छ” भन्ने धारणा सार्वजनिक गरेका छन्।

सिंहले सरकारलाई पनि घटनामा संयमित हुनुपर्नेमा आलोचना गर्दै “सरकार किलरको भूमिकामा देखियो, यस्तो स्थिति मुलुकका लागि अझ ठूलो संकट निम्त्याउन सक्छ” भन्दै विवेकपूर्ण निर्णय लिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

जेन जेड आन्दोलनमा निधन भएका युवाप्रति कालिकामाई गापाद्वारा श्रद्धाञ्जली, आज विदा घोषणा

0

वीरगंज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाले जेन जेड आन्दोलनको क्रममा प्रहरीको गोली लागी मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली प्रकट गर्दै आज गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थामा शोक विदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले अध्यक्ष बशिष्ट कुमार गुप्ताको हस्ताक्षरमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ– “हिजो देशव्यापी रुपमा भएको जेन जेड आन्दोलनमा धेरै युवा तथा विद्यार्थीले अल्पायुमै ज्यान गुमाएको घटनाले स्तब्ध तुल्याएको छ। दिवंगत आत्माले शान्ति पाओस्, शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौँ।”

गाउँपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय र विद्यालय मंगलबार बन्द रहने जानकारी गराएको छ।

वीरगञ्जमा आज सबै शिक्षण संस्था बन्द, अभिमुखीकरण कार्यक्रम पनि स्थगित

0

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्था आज (मंगलबार) बन्द हुने भएका छन्। पछिल्लो समय उत्पन्न विषम परिस्थिति र जिल्ला प्रशासन कार्यालय, पर्साद्वारा जारी कर्फ्यू आदेशका कारण आजको पठनपाठन स्थगित गर्नुपर्ने अवस्था आएको हो।

जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगर क्षेत्रलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको छ। सो आदेशपछि महानगरपालिकाभित्र सञ्चालन भइरहेका विद्यालय, कलेज लगायतका सम्पूर्ण शिक्षण संस्थामा आज पठनपाठन बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा प्रकाशित सूचनामा भनिएको छ, “मंगलबार वीरगञ्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण शिक्षण संस्था बन्द रहनेछन्। सोसम्बन्धी जानकारीका लागि यो सूचना जारी गरिएको छ।”

यससँगै आजै जिल्ला प्रशासन कार्यालय, पर्साको सभाहलमा तय गरिएको हैजा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ।

हाल वीरगञ्ज क्षेत्रमा सुरक्षात्मक कारण कर्फ्यू आदेश लागू गरिएको छ भने स्वास्थ्य क्षेत्रमा हैजाको संक्रमण नियन्त्रणका लागि विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। यस्तो परिस्थितिमा सुरक्षात्मक सतर्कता अपनाउँदै वीरगञ्ज महानगरपालिकाले शिक्षण संस्था र सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

जेन-जि आन्दोलन: सबैलाई पीडा, रास्वपालाई अवसर

0

– प्रभाकर साह
नेपालमा अहिले जेन आन्दोलनले सबैतिर हलचल मच्चाएको छ। हाम्रा युवा पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र आर्थिक असमानताको विरोधमा सडकमा उत्रिएर आफ्नो आवाज बुलन्द गरिरहेका छन्। यो आन्दोलनले एकातिर धेरैलाई पीडा दिएको छ भने अर्कोतिर कसै-कसैले यसलाई आफ्नो फाइदाको अवसर बनाइरहेका छन्। आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या बढ्दै गए पनि केहीले यसलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेको देखिन्छ, जसले आन्दोलनको असल उद्देश्यलाई कमजोर बनाउन सक्छ।

हाम्रा युवाहरूले यो कदमलाई आफ्नो बोल्ने अधिकारमाथिको आक्रमण ठानेर सडकमा आए। यो आन्दोलन सुरु भएको हो सरकारले फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि। साथै, देशमा व्याप्त भ्रष्टाचार, नेपोटिजम र आर्थिक संकटले पनि यो आन्दोलनलाई बल दिएको छ। काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारीहरूले संसद् भवन प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भयो।

सोच्नुपर्ने कुरा के छ भने, जब आन्दोलनमा ज्यान गुमाउनेको संख्या बढ्दैछ, यस्तो बेला किन अर्ली इलेक्सनको कुरा? १९ जनाको ज्यान गइसकेको छ, घाइतेहरू अस्पतालमा छन्, कर्फ्युले जनजीवन ठप्प छ। यस्तो संकटमा निर्वाचनको कुरा गर्नु भनेको आन्दोलनको पीडालाई आफ्नो फाइदाका लागि प्रयोग गर्नु हो।

यो आन्दोलनमा अहिलेसम्म १९ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। ३०० भन्दा धेरै घाइते छन्। चिकित्सक भन्छन – अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये कतिपयको अवस्था गम्भीर छ। कर्फ्यु लागे पनि प्रदर्शन रोकिएको छैन, र सरकारले ‘शुट एट साइट’ आदेश दिएको छ। यो सबै देख्दा मन दुख्छ। हाम्रा युवाहरू, जो आफ्नो भविष्यका लागि लडिरहेका छन्, उनीहरूले यति ठूलो मूल्य चुकाउनुपरेको छ। परिवारहरू शोकमा डुबेका छन्, र देशको अवस्था झन् बिग्रँदै गएको छ। यो पीडा साँच्चै हाम्रा जेन जी का लागि दुखद छ।

तर, यो आन्दोलनलाई कसैले पीडाको रूपमा देखिरहेका छन् भने कसैले अवसरको रूपमा। राजनीतिक दलहरूले यो आन्दोलनलाई आफ्नो पक्षमा पार्न विभिन्न हतकण्डा अपनाइरहेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका छन्। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कुरा विशेष छ।

रास्वपाका अध्यक्ष रवि लामिछाने, जो अहिले सहकारी ठगीको आरोपमा नक्कु जेलमा छन्, उनले जेलबाटै यो आन्दोलनलाई समर्थन गरेका छन्। उनले सरकारको आलोचना गर्दै युवाहरूको आवाजलाई साथ दिने कुरा गरेका छन्। तर, यो समर्थनभित्र लुकेको राजनीतिक चालबाजी स्पष्ट देखिन्छ। रास्वपाले यो आन्दोलनलाई उपयोग गरेर तत्कालै निर्वाचन ९अर्ली इलेक्सन० को माग उठाइरहेको छ। उनीहरू भन्छन्– यो सरकार असफल छ, भ्रष्टाचार रोक्न सकेन, जनताको अभिव्यक्ति स्वतन्त्रता खोसियो। त्यसैले, नयाँ जनादेश चाहिन्छ।

तर, सोच्नुपर्ने कुरा के छ भने, जब आन्दोलनमा ज्यान गुमाउनेको संख्या बढ्दैछ, यस्तो बेला किन अर्ली इलेक्सनको कुरारु १४ जनाको ज्यान गइसकेको छ, घाइतेहरू अस्पतालमा छन्, कर्फ्युले जनजीवन ठप्प छ। यस्तो संकटमा निर्वाचनको कुरा गर्नु भनेको आन्दोलनको पीडालाई आफ्नो फाइदाका लागि प्रयोग गर्नु हो। रास्वपा, जसले आफूलाई नयाँ र सुधारवादी पार्टी भन्छ, उसले यो आन्दोलनलाई आफ्नो लोकप्रियता बढाउने हतियार बनाइरहेको जस्तो देखिन्छ। रवि लामिछानेको जेलबाट आएको सन्देशले युवाहरूलाई तान्ने प्रयास गरेको छ, तर यसले आन्दोलनको मूल मुद्दालाई बाटोबाट भट्काउन सक्छ।

जेन जी आन्दोलनले हाम्रा युवाहरूलाई एकजुट बनाएको छ, उनीहरूको आवाजलाई बुलन्द गरेको छ। तर, यो आन्दोलनलाई आफ्नो फाइदाका लागि उपयोग गर्न खोज्नेहरूबाट सावधान रहनुपर्छ। रास्वपाले अर्ली इलेक्सनको कुरा उठाउँदा मृत्युको संख्यालाई बेवास्ता गर्नुहुँदैन। आन्दोलनकारीहरूले आफ्नो उद्देश्यलाई शुद्ध राख्नुपर्छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राज्यलाई कम खर्च लाग्ने स्थानीय तह मात्र राखी प्रदेश खारेज गर्ने निर्णयसहित तत्काल स्वतन्त्र व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने देखिन्छ। नत्र, बंगलादेशको हाल नेपालमा नहोला भन्न सकिँदैन।Gen Z आन्दोलन: कसैलाई पीडा, कसैलाई अवसर

नेपालमा अहिले जेन जेड आन्दोलनले सबैतिर हलचल मच्चाएको छ। हाम्रा युवा पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र आर्थिक असमानताको विरोधमा सडकमा उत्रिएर आफ्नो आवाज बुलन्द गरिरहेका छन्। यो आन्दोलनले एकातिर धेरैलाई पीडा दिएको छ भने अर्कोतिर कसै(कसैले यसलाई आफ्नो फाइदाको अवसर बनाइरहेका छन्। आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या बढ्दै गए पनि केहीले यसलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेको देखिन्छ, जसले आन्दोलनको असल उद्देश्यलाई कमजोर बनाउन सक्छ।

यो आन्दोलन सुरु भएको हो सरकारले फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि। हाम्रा युवाहरूले यो कदमलाई आफ्नो बोल्ने अधिकारमाथिको आक्रमण ठानेर सडकमा आए। साथै, देशमा व्याप्त भ्रष्टाचार, नेपोटिजम र आर्थिक संकटले पनि यो आन्दोलनलाई बल दिएको छ। काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शनकारीहरूले संसद् भवन प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भयो।

यो आन्दोलनमा अहिलेसम्म १८ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्। हजारौं घाइते छन्। स्वास्थ्य मन्त्रालय भन्छ– अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये कतिपयको अवस्था गम्भीर छ। कर्फ्यु लागे पनि प्रदर्शन रोकिएको छैन, र सरकारले ‘शुट एट साइट’ आदेश दिएको छ। यो सबै देख्दा मन दुख्छ। हाम्रा युवाहरू, जो आफ्नो भविष्यका लागि लडिरहेका छन्, उनीहरूले यति ठूलो मूल्य चुकाउनुपरेको छ। परिवारहरू शोकमा डुबेका छन्, र देशको अवस्था झन् बिग्रँदै गएको छ। यो पीडा साँच्चै हाम्रा जेन जी का लागि दुखद छ।

तर, यो आन्दोलनलाई कसैले पीडाको रूपमा देखिरहेका छन् भने कसैले अवसरको रूपमा। राजनीतिक दलहरूले यो आन्दोलनलाई आफ्नो पक्षमा पार्न विभिन्न हतकण्डा अपनाइरहेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका छन्। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कुरा विशेष छ।

रास्वपाका अध्यक्ष रवि लामिछाने, जो अहिले सहकारी ठगीको आरोपमा नक्कु जेलमा छन्, उनले जेलबाटै यो आन्दोलनलाई समर्थन गरेका छन्। उनले सरकारको आलोचना गर्दै युवाहरूको आवाजलाई साथ दिने कुरा गरेका छन्। तर, यो समर्थनभित्र लुकेको राजनीतिक चालबाजी स्पष्ट देखिन्छ। रास्वपाले यो आन्दोलनलाई उपयोग गरेर तत्कालै निर्वाचन (अर्ली इलेक्सन) को माग उठाइरहेको छ। उनीहरू भन्छन्– यो सरकार असफल छ, भ्रष्टाचार रोक्न सकेन, जनताको अभिव्यक्ति स्वतन्त्रता खोसियो। त्यसैले, नयाँ जनादेश चाहिन्छ।

तर, सोच्नुपर्ने कुरा के छ भने, जब आन्दोलनमा ज्यान गुमाउनेको संख्या बढ्दैछ, यस्तो बेला किन अर्ली इलेक्सनको कुरा? १९ जनाको ज्यान गइसकेको छ, घाइतेहरू अस्पतालमा छन्, कर्फ्युले जनजीवन ठप्प छ। यस्तो संकटमा निर्वाचनको कुरा गर्नु भनेको आन्दोलनको पीडालाई आफ्नो फाइदाका लागि प्रयोग गर्नु हो। रास्वपा, जसले आफूलाई नयाँ र सुधारवादी पार्टी भन्छ, उसले यो आन्दोलनलाई आफ्नो लोकप्रियता बढाउने हतियार बनाइरहेको जस्तो देखिन्छ। रवि लामिछानेको जेलबाट आएको सन्देशले युवाहरूलाई तान्ने प्रयास गरेको छ, तर यसले आन्दोलनको मूल मुद्दालाई बाटोबाट भट्काउन सक्छ।

जेन जी आन्दोलनले हाम्रा युवाहरूलाई एकजुट बनाएको छ, उनीहरूको आवाजलाई बुलन्द गरेको छ। तर, यो आन्दोलनलाई आफ्नो फाइदाका लागि उपयोग गर्न खोज्नेहरूबाट सावधान रहनुपर्छ। रास्वपाले अर्ली इलेक्सनको कुरा उठाउँदा मृत्युको संख्यालाई बेवास्ता गर्नुहुँदैन। आन्दोलनकारीहरूले आफ्नो उद्देश्यलाई शुद्ध राख्नुपर्छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राज्यलाई कम खर्च लाग्ने स्थानीय तह मात्र राखी प्रदेश खारेज गर्ने निर्णयसहित तत्काल स्वतन्त्र व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने देखिन्छ। नत्र, बंगलादेशको हाल नेपालमा नहोला भन्न सकिँदैन।