Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 234

सशस्त्र प्रहरीद्वारा अटो सहित भन्सारछली सामान बरामद

0

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ गण्डक क्षेत्रबाट अटो सहित भन्सारछलीको विभिन्न सामान बरामद गरेको छ।

शुक्रबार दिउँसो करिब १२:४० बजे गण्डक इलाकास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको नौ जनाको मोबाइल टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

ना २ ह ४२७७ नम्बरको अटोमा लुकाई ल्याइँदै गरेको करिब ९० हजार रुपैयाँ बराबरको कपडा, किराना तथा कस्मेटिक सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद अटोको अनुमानित मूल्य ३ लाख रुपैयाँसहित कुल अन्दाजी ३ लाख ९० हजार रुपैयाँ बराबरको सामान रहेको बताइएको छ।

बरामद अटो र सामानलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन्।

कांग्रेसको निर्णय : कार्यवाहक सभापति नदिने, विशेष महाधिवेशन पनि नगर्ने

0

काठमाडौँ । नेपाली कांग्रेसले तत्काल कसैलाई पनि कार्यवाहक सभापति नदिने र विशेष महाधिवेशन नगर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यो निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

सहमहामन्त्री यादवका अनुसार सभापति शेरबहादुर देउवा स्वस्थ भएपछि मात्र केन्द्रीय समिति बैठक बोलाई यस विषयमा विस्तृत छलफल गर्ने तयारी छ। देउवा जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बुढानीलकण्ठमा कुटिएका थिए र अहिले उपचाररत छन्।

“सबै विषयमा सभापति स्वस्थ भएपछि कुराकानी हुन्छ। उहाँ स्वस्थ भएपछि केन्द्रीय समिति बैठक बोलाइने र त्यही बैठकमा छलफल गरिने निर्णय भएको छ,” यादवले बताए।

यसै बैठकले सभापति देउवा र उनकी पत्नीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै पार्टीभित्रका अन्य विषयमा पनि देउवा स्वस्थ भएपछि मात्र निर्णायक छलफल हुने उल्लेख गरिएको छ।

परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता छ : अध्यक्ष प्रचण्ड

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सबै लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता आवश्यक रहेको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएको उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षा नै राष्ट्रको स्वतन्त्रताको रक्षा भएको बताए।

उहाँले हालै सम्पन्न जेनजी आन्दोलनलाई स्मरण गर्दै “समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको छ” भन्दै देशव्यापी पुनर्निर्माणमा लाग्न सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वान गरे। साथै २३ र २४ भदौका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माओवादीको माग रहेको स्पष्ट पारे।

अध्यक्ष दाहालले भने, “जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन, बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो। तथापि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन; भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो।”

संविधान दिवसको अवसरमा प्रचण्डले नेपाली जनतालाई शुभकामना दिँदै लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको संरक्षणमा सबैलाई सक्रिय हुन आग्रह गरे।

संविधान दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

0

वीरगंज । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा शुक्रबार बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ५ महिलासहित ५४ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ताका अनुसार मातृका पौडेल, सुरज पुन मगर, चूडामणि काफ्ले, ललित किशोर, हासमुद्दिन अन्सारी, सिद्धार्थ चौधरी, सपना बम्जन, साबित्रि सोंग, सुस्मा तामाङलगायतले रक्तदान गरेका हुन् ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, उपप्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहा र उनकी टोलीले प्राविधिक सहयोग पुर्‍याएका थिए ।

संविधान हाम्रो साझा बन्धन हो : मुख्यमन्त्री सिंह

0

जनकपुरधाम । संविधान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सम्पूर्ण मधेश प्रदेशवासी तथा देशवासीलाई शुभकामना व्यक्त गर्दै संविधानलाई संघर्ष, बलिदान र त्यागको जीवन्त प्रतीकका रूपमा स्मरण गरेका छन् ।

शुभकामना सन्देशमार्फत मुख्यमन्त्री सिंहले जनआन्दोलन, मधेश आन्दोलन, जनयुद्ध र पछिल्लो जेन–जी आन्दोलनलगायत विभिन्न आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक, संघीय गणतान्त्रिक संविधान सम्भव भएको उल्लेख गरे।

“यो संविधान केवल कानुनी दस्तावेज मात्र नभई हाम्रो संघर्ष, बलिदान र त्यागको जीवन्त प्रतीक हो। संघीय लोकतान्त्रिक गणतन्त्रको बाटो जनताकै संघर्षबाट कोरिएको हो,” सिंहले भने।

उनले संघीयताको जन्मभूमि मधेश रहेको उल्लेख गर्दै संविधानले प्रदेश र स्थानीय तहमार्फत जनतालाई नजिकबाट सेवा पुर्‍याउने बाटो खोलेको बताए । समावेशिता र समानुपातिक व्यवस्थाले सबै वर्ग, क्षेत्र र समुदायलाई राज्य सञ्चालनमा सहभागी हुने न्यायपूर्ण अवसर सुनिश्चित गरेको पनि उनले जोड दिए ।

“संविधानलाई अझ सबल बनाउन, संघीयतालाई प्रभावकारी बनाउन र लोकतन्त्रलाई अझ मजबुत बनाउन हामी सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्छ,” मुख्यमन्त्री सिंहले भने, “संघीयता हाम्रो गौरव, समावेशिता हाम्रो शक्ति र संविधान हाम्रो साझा बन्धन हो।”

संविधान दिवसको ऐतिहासिक अवसरमा पुनः सम्पूर्ण देशवासीलाई शुभकामना व्यक्त गर्दै उनले आफ्नो सन्देशको अन्त्य गरे।

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

0

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गरी मुलुकलाई सुशासन र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले शान्ति, स्थिरता र विकास सुनिश्चित गर्दै भ्रष्टाचारको अन्त्य, सुशासनको प्रवर्द्धन र व्यापक रोजगारी सिर्जनासहित आर्थिक–सामाजिक रुपान्तरण अपरिहार्य रहेको उल्लेख गरे।

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका आन्दोलन र हालै सम्पन्न जेनजी आन्दोलनमा जीवन अर्पण गर्ने सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

सन्देशमा अध्यक्ष नेपालले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई नेपालको संविधानले समेटेको उल्लेख गरेका छन्।

उहाँले संविधान जारी भएपछि मुलुकको शासनसत्तामा ठूलो परिवर्तन भए पनि संविधान निर्माण गर्दा परिकल्पना गरिएको सुशासन, आर्थिक समृद्धि र समुन्नत राष्ट्र निर्माणको यात्राले अझै अपेक्षित गति लिन नसकेको बताए।

संविधानको दस वर्षे यात्राः आन्दोलनपछि पुनरावलोकन अपरिहार्य

0

-धर्मेन्द्र झा
संविधान जारी भएको दसौँ वर्ष । अघिपछिको भन्दा यस पटकको यो दिवस दुई कारणले महत्वपूर्ण छ । पहिलो, नेपालको संविधान २०७२ जारी भएको दसौँ वार्षिकोत्सव र दोस्रो युवाहरुको आन्दोलनपछि मनाइएको पहिलो दिवस । अन्तरिम सरकारले भव्यतापूर्वक मनाउने निर्णय गरेअनुसार विविध कार्यक्रमको आयोजना गरी देशभरि यो दिवस मनाइँदै/मनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट अलग्गिन बाध्य बनाएको युवा पुस्ता केन्द्रित दुईदिने आन्दोलनको निश्चय पनि कालजयी महत्व छ र यसको चर्चा सुदूर भविष्यसम्म रहनेछ । सम्भवतः विश्व इतिहासमै सबैभन्दा तीव्र निर्णायक बनेको आन्दोलन सत्ता उलटपुलटको कारण बन्न पुग्यो । यो घटना विश्वका धेरै देशमा धेरै दिनसम्म उदाहरणीय बन्नेछ । यस पृष्ठभूमिमा संविधान दिवसको विशिष्ट महत्व छ, यसमा विमति हुन सक्दैन । आन्दोलनमा शहादत प्रदान गर्नेप्रति सम्मान र घाइतेको स्वास्थ्यलाभको कामना ।

संविधान दिवसभन्दा करिब एक साता (भदौ २३ र २४)अघि भएकोे यो आन्दोलन नेपालको इतिहासमा जेनजी (जेनरेसन जेड अर्थात् सन् १९९७ देखि २०१२ सम्म जन्म भएको पुस्ता) आन्दोलनका नामले प्रसिद्ध हुनेछ, यसमा शङ्का छैन । अहिले यो आन्दोलनको प्रभाव र भविष्यका दिशाका सम्बन्धमा विभिन्न कोणबाट अनुमान र मूल्याङ्कनका कार्य भइरहेका छन् । मूल्याङ्कनका अन्य पक्षका सन्दर्भमा त पछि पनि बहस हुँदै गर्ला, तर एउटा महत्वपूर्ण पक्ष के हो भने मूलतः सुशासन कायम र भ्रष्टाचार अन्त्यको विषयलाई मुद्दा बनाएर उठेको जेनजी पुस्ताको नेतृत्वको यो आन्दोलनमा मानसिक रुपमा जेनजी पुस्ता मात्र सहभागी थिएन, बरु यो मुद्दासँग सहमत हुने सबै नेपालीको नैतिक समर्थन थियो । सुशासनको सुनिश्चितता र सत्तामा युवाको साझेदारीको विषय निश्चय पनि कुनै खास वर्ग र पक्षसँग सम्बन्धित थिएन र छैन ।

आन्दोलनमा कुन पुस्ता सहभागी थियो थिएनभन्दा पनि आन्दोलनको परिणाम के हो र उपलब्धिलाई कसरी संस्थागत गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो । यस दिशामा गहिरिएर विश्लेषणको प्रयत्न गर्ने हो भने आन्दोलनको अपेक्षाका दृष्टिले मौजुदा संविधान एक सशक्त माध्यम बन्न सक्छ । मौजुदा समस्याको समाधान संविधानका आधारमा पहिल्याउन सकिने अपेक्षा गरिनु अनुचित हुँदैन । हाललाई प्रत्यक्ष आन्दोलन सकिएको छ । संविधान जोगिएको छ । सविधान जोगाउने भगिरथ प्रयत्नका लागि राष्ट्रपतिप्रति आभार । राजनीतिक निकासका लागि सहजीकरण गर्ने सेनाप्रमुख अशोकराज सिग्देललगायत नेपाली सेनालाई धन्यवाद । आन्दोलनको रापतापबाट नेपालको प्रथम महिला प्रधानमन्त्री बनेर सुशीला कार्कीले नयाँ इतिहास रचना गर्नुभएको छ । उहाँलाई पनि बधाई तथा शुभकामना । यद्यपि, उहाँका सामु थुप्रै चुनौती छन् । तर यस आलेखमा सरकारका चुनौतीभन्दा संविधानबारे नै चर्चा गर्ने प्रयत्न गरिन्छ ।

आन्दोलनपछि अवलोकन गर्ने क्रममा यो पङ्क्तिकारको ध्यान, नयाँबानेश्वरस्थित संसद्भवन परिसरको बाहिरी पर्खालमा रातो रङले लोकतन्त्रको रक्षा र संविधान बचाउनेसम्बन्धी लेखिएको दुईटा नाराले, आकृष्ट गरेको थियो । यो दुवै नारा आन्दोलनकारीले नै लेखेको मान्दा तिनलाई आन्दोलनको प्रतिनिधि अभिव्यक्तिका रुपमा स्वीकार गर्न सकिन्छ र संविधान दिवसका दिन यो स्वीकारोक्तिको ठूलो महत्व रहेको मान्न सकिन्छ । इन्टरनेट स्वतन्त्रतामा हुर्किएको पुस्ताले लोकतन्त्रको प्रशस्त सदुपयोग गरेको छ र यही स्वतन्त्रताको उपयोग गर्दै यो पुस्ताले ‘इन्टरनेट’मा आधारित सामाजिक सञ्जालको निर्बाध प्रयोगको वातावरण प्रत्याभूतको माग गर्दै यही सञ्जालमार्फत आन्दोलनको प्रारम्भ गरेको थियो । लोकतन्त्रको यो उन्नत अवस्था विद्यमान संविधानले नै सिर्जना गरेको कुरामा वर्तमान पुस्ता सहमत छ । त्यसैले त आन्दोलनले आफूलाई लोकतन्त्र र संविधानको पक्षमा उभ्यायो र संविधानभित्रैबाट समस्याको सम्बोधन खोज्ने मनसायले संविधान बचाउने कालजयी जिम्मेबारी निर्वाह ग¥यो । आन्दोलनमा विशुद्ध आन्दोलनकारीबाहेक विभिन्न अवाञ्छित समूहको पनि घूसपैठ हुनसक्ने सम्भावनलाई अहिले स्वीकार गरिएको पृष्ठभूमिमा लोकतन्त्र र संविधान विरोधीहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन, तर इमान्दार आन्दोलनकारीले त्यो प्रयासलाई असफल बनाउँदै लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धतालाई जगजाहेर गरेका छन् ।

हो, संविधानमा कतिपय सुधार आवश्यक हुन सक्लान् । लोकतन्त्रलाई थप उन्नत बनाउनुपर्ने होला । तर नयाँ पुस्ताले आन्दोलनमार्फत के स्वीकार गरेको छभने सुधारका आवश्यकतालाई मनन गर्दै गणतन्त्र र लोकतन्त्रलाई थप उन्नत बनाउनु वाञ्छनीय छ । यसका लागि संविधान एक सशक्त औजार हुन सक्छ । संविधान दिवसको सेरोफेरोमा आन्दोलनमार्फत सार्वजनिक भएको यो सन्देश निश्चय पनि भावी नेपाल र भावी पुस्ताका लागि निकै महत्वपूर्ण छ । नेपालको संविधान प्रकृतिगत दृष्टिले लचिलो मानिन्छ । आवश्यक संशोधनमार्फत संविधानलाई थप सशक्त, प्रभावकारी र लोककल्याणकारी बनाउन सकिन्छ । यस पटकको आन्दोलनको एउटा ‘म्यान्डेट’ यो पनि हो ।

माथि चर्चा गरियो, संविधान जारी भएको आज दसौँ वार्षिकोत्सव हो र यस अवसरमा संशोधन गरेर संविधानलाई थप उन्नत बनाउन आन्दोलनमार्फत जनादेश प्राप्त हुनु निकै अर्थपूर्ण छ । राजतन्त्रात्मक र एकात्मक प्रणालीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण हुनु अत्यन्त जटिल र जोखिमपूर्ण प्रक्रिया भए पनि संविधानले गरेको मार्गनिर्देशका कारण नेपाल यसमा सफल भएको देखिएको छ । जनताद्वारा निर्वाचित प्रतिनिधिबाट संविधान बनाइनु र वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताका छोराछोरी नै राष्ट्रकोप्रमुख पद राष्ट्रपतिमा आसीन गराउने हैसियत बनाउने कुरा संविधानले निर्दिष्ट गरेको नागरिक सर्वोच्चताको परिणाम भएको कुरामा शङ्का छैन ।

नेपालमा लामो सङ्घर्षपछि नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको वर्तमान संविधान साँच्चिकै उत्कृष्ट मानिन्छ । नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गर्दै नेपालको संविधानले गरेको व्यवस्थाअनुसार दोस्रो पटक निर्वाचन सम्पन्न भइसकेको छ । तर पछिल्ला दिनमा निर्वाचन प्रक्रियाकै बारेमा पनि बहस चल्न थालेको पृष्ठभूमिमा सार्थक निष्कर्षमा पुग्नु जरुरी छ । जे होस् संविधानले निर्वाचनमार्फत सेवा प्रदायक निकायहरु जनताको नजिक परिकल्पना गरेको छ, यो सकारात्मक छ । शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि स्रोतको मात्र हैन, विधि बनाउने, कार्यान्वयन गर्ने र जनशक्ति परिचालन गर्ने अधिकारसमेत विकेन्द्रित भएको छ । संविधानमा पहिलोपटक राष्ट्रिय हितका तत्वहरु र नागरिकले पूरा गर्नुपर्ने दायित्वहरु मात्र उल्लेख छैनन् कि अधिकारमुखी दृष्टिकोणबाट थप १० मौलिक हकहरु साबिकका प्रावधानमा थप गरिएका छन् ।

मौलिक हक कार्यान्वयनका लागि आवश्यक तीन सयभन्दा बढी कानुन बनेका छन् र कतिपय कानुन संशोधन भएका छन् । संविधानको यिनै विशेषताको मूल्याङ्कन गर्दै अन्तरव्यवस्थापिका सङ्घले सन् २०२० मा पुरस्कृतसमेत गर्नु भनेको समस्त नेपालीका लागि गौरवको विषय हो । तर यति हुँदाहुदै पनि सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका दृष्टिले जनताले चाहेको उपलब्धि प्राप्त हुन नसक्दा जनअसन्तुष्टि चुलिँदै गएको सत्य हो । यही पृष्ठभूमिमा उठेको आन्दोलनले सत्ता नै उलटफेर गरेर जनता सर्वशक्तिमान हुन्छन् भन्ने कुरा एकपटक पुनः प्रमाणित गरिदियो ।

संविधानले निर्दिष्ट गरेअनुसार गणतन्त्रले सिद्धान्ततः समानता, सामाजिक न्याय, आर्थिक–सामाजिक विषयमा समान पहुँचजस्ता विषयलाई सहज उपभोग गर्न पाउने अवस्थाको निर्माण गरे पनि शासनमा रहेका केही व्यक्तिको बेइमानीका कारण व्यवहारमा यी विषयको कार्यान्वयन चुनौतीपूर्ण बन्न पुगेकै हो, यो स्वीकार गर्नैपर्छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराइसम्म संस्थागत गर्ने संविधानले परिकल्पना गरेबमोजिम गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास त भएको हो तर व्यवहारमा त्यो कति फलदायी बन्न सक्यो भन्ने कुराको लेखाजोखा अहिले अपरिहार्य छ । शायद आन्दोलनको सन्देश पनि यही नै हो । हो, संविधानले राजनीतिक तहमा ठूलै उथलपुथल ल्याएको हो तर, जनताको जीवनमा भने राजनीतिक परिवर्तनले अझै गुणात्मक अन्तर ल्याउन सकेको छैन । जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत हुन पनि सक्दैन ।

नेपालको संविधान २०७२ जारी भएको दसौँ वर्षको उत्सव मनाइरहिएको अवस्थामा संविधानको समीक्षा आवश्यक छ । संविधानमै प्रत्येक दस वर्षमा संविधानका प्रावधानहरुको पुनरावलोकनको आवश्यकताको परिकल्पना गरिएको छ । सायद आन्दोलनले त्यो आवश्यकताप्रति आम देशवासीलाई झक्झक्याएको छ । मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्नु समयको आवश्यकता रहेको छभन्दा असङ्गत ठहर्दैन । संविधानको सफल कार्यान्वयन, बलियो राष्ट्रिय एकता र प्रत्येक नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणलाई साझा ‘एजेन्डा’ बनाउनु आवश्यक छ । संविधान दिवस २०८२ ले सबैलाई प्रेरणा देओस् । सबैमा शुभकामना । (लेखक राससका कार्यकारी अध्यक्ष हुनुहुन्छ)

जेनजी आन्दोलनबाट सुधारको मार्गनिर्देशन पाएका छौँ : प्रधानमन्त्री कार्की

0

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा देशवासीलाई सम्बोधन गर्दै हालैको जेनजी युवाआन्दोलनलाई मुलुकमा बढ्दो भ्रष्टाचार र सुशासनको कमीप्रति युवापुस्ताको असन्तुष्टि तथा चेतनाको प्रतिविम्ब भएको बताउनु भएकाे छ ।

टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित मुख्य समारोहमा प्रधानमन्त्री कार्कीले संविधानको मर्मअनुरूप सुशासन, पारदर्शिता र विकासमा कमीकमजोरीका कारण युवापुस्तामा निराशा बढेको स्वीकार गर्दै सरकारलाई आलोचनाबाट सिकेर सुधार गर्ने अवसर प्राप्त भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो। युवापुस्ताले उठाएका रोजगारी, पारदर्शिता, कानुनी समानता, भ्रष्टाचार अन्त्य, सुशासन र विकासजस्ता सवाल केवल युवाको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा एजेन्डा हो।”

प्रधानमन्त्री कार्कीले पछिल्लो आन्दोलनबाट प्राप्त सन्देशअनुसार युवापुस्तालाई शासन प्रणालीमा सहभागी गराउने, उनीहरूको विचारलाई नीतिगत तहमा प्रतिविम्बित गराउने र सबै समुदायको भावना तथा अपेक्षालाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संविधान दिवसको अवसरमा उहाँले देशभरका युवापुस्ता, राजनीतिक दल, कर्मचारी, निजी क्षेत्र, विकास साझेदार र आमनागरिकलाई क्षतिको पुनःनिर्माण तथा विकासको महाअभियानमा सहभागी हुन आह्वान गर्नुभयो।

उहाँले २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा बनेको संविधानलाई नेपाली जनताको भाग्य र भविष्यको मार्गदर्शक दस्तावेजको रूपमा व्याख्या गर्दै यसको कार्यान्वयनमा १० वर्षको यात्राले ल्याएका उपलब्धि र कमजोरीको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सहिद भएका व्यक्तिहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्नुभयो। साथै आन्दोलनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रको मनोबल उच्च राख्न र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक रहेको बताउनुभयो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत उच्च पदाधिकारी र विदेशी नियोगका प्रमुखहरू उपस्थित हुनुहुन्थ्यो।

सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित प्रतिबन्धित कुखुराका चल्ला बरामद

0

वीरगंज । सशस्त्र प्रहरीले मोटरसाइकलसहित प्रतिबन्धित कुखुराको चल्ला बरामद गरेको छ । वीरगंज महानगरपालिका–१९ केहुनियास्थित सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको मोबाइल टोलीले मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरिएको प्रतिबन्धित कुखुराका चल्ला बरामद गरेको हो ।

शुक्रबार बिहान करिब ६:०० बजे सशस्त्र प्रहरी सहायक निरीक्षक संजिव कुमार यादवको कमाण्डमा खटिएको सात जनाको टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड ४ हजार गोटा बोईलर कुखुराको चल्ला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार उक्त चल्लाको अनुमानित मूल्य एक लाख रुपैयाँ बराबर रहेको छ । बरामद गरिएको चल्लालाई ११:१५ बजे स्थानिय पत्रकार, जनप्रतिनिधि र नेपाल प्रहरी तथा पशु क्वारेन्टिनका प्रतिनिधिहरूको रोहबरमा गण परिसरभित्र खाडल खनी पुरेर नष्ट गरिएको छ।

बरामद मोटरसाइकललाई भने भन्सार बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल नम्बर १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

वीरगंजमा मोबाइल लत न्यूनीकरण तथा रोकथाम विषयक विशेष कार्यक्रम सम्पन्न

0

वीरगंज । रोटरी क्लब अफ वीरगंजले कावेरी एकेडेमीमा मोबाइल लत न्यूनीकरण तथा रोकथाम विषयक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम विशेष गरी अभिभावक र शिक्षकहरूलाई लक्षित थियो।

कार्यक्रममा स्रोत व्यक्ति (Resource Person)का रूपमा पूर्व अध्यक्ष रोटे. डा. आनन्द कुमार झाले मोबाइल लतका कारण विद्यार्थीहरूको अध्ययन, स्वास्थ्य र व्यवहारमा पर्न सक्ने नकारात्मक असरबारे विस्तृत जानकारी दिनुका साथै मोबाइल प्रयोगलाई सन्तुलित बनाउने उपायहरू प्रस्तुत गरे।

रोटरी क्लब अफ वीरगंजका अध्यक्ष रोटेरियन गोपाल खेतान, पूर्व अध्यक्ष तथा एडिक्शन एण्ड प्रिभेन्सन कमिटी अध्यक्ष (जिल्ला ३२९२) रोटेरियन सोहन पोद्दार, सचिव रोटेरियन डीडी केडिया र रोट्राक्टर आयुष गुप्ता (एड टु DRR, जिल्ला ३२९२) लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कावेरी एकेडेमीकी डाइरेक्टर आयुषी अग्रवाल, प्रिन्सिपल, भाइस प्रिन्सिपल तथा अन्य शिक्षकहरू पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा मोबाइलको दुरुपयोगबाट विद्यार्थीमा पर्न सक्ने शारीरिक, मानसिक र सामाजिक असरबारे छलफल गरिएको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई सजग बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।