Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
Home Blog Page 233

७ महिनापछि वीरगंजकाे घण्टाघर मर्मत सम्पन्न, पुरानै रूपमा फर्कियो ऐतिहासिक धरोहर

0

वीरगंज । पर्सास्थित वीरगञ्जको प्रतीक मानिने ऐतिहासिक घण्टाघर सात महिनापछि पूर्ण मर्मतसम्भार गरेर पुरानै रूपमा फर्काइएको छ। गत फागुन ७ गते कमजोर संरचनाका कारण बाल्कोनी भाग भत्किएपछि मर्मत सुरु गरिएको थियो।

वीरगञ्ज महानगरपालिकाले घण्टाघरको भत्किएको संरचना मर्मतसम्भार र रङरोगन गरी पूर्ववत् बनाएको हो। महानगरको भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले ऐतिहासिक धरोहर भएकाले मेसिनभन्दा म्यानुअल ढङ्गबाट मर्मत गरिएकाले समय बढी लागेको जानकारी दिनुभयो।

उनका अनुसार मर्मतका क्रममा यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै कन्ट्रक्सन नेट र स्काफोल्डिङ प्रयोग गरिएको थियो। अहिले सबै जाली हटाइएपछि घण्टाघर आकर्षक बनेको छ। “मर्मतपछि कम्तीमा पनि १० वर्षसम्म टिकाउ हुने विश्वास गरेका छौँ,” उहाँले बताउनुभयो।

महाशक्ति कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त मर्मतको लागत करिब २० लाखभन्दा कममा सीमित हुने अनुमान गरिएको छ। घण्टाघरको बाल्कोनीमा आकाशे पानीको उचित निकास नहुँदा वर्षौंयता संरचना क्षतिग्रस्त हुँदै आएको थियो।

वीरगञ्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ मा निर्माण भएको हो। त्यतिबेला जापानको योनागो सहरका विद्यार्थीहरूले एक दिनको खाजाको पैसा बचत गरी घण्टाघर निर्माणका लागि बजेट जुटाएको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइ छ।

स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आकर्षण मानिने घण्टाघर अब मर्मतपछि पुनः पर्यटकीय गन्तव्यको रूपमा झन् आकर्षक बनेको छ।

‘भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस्’

0

वीरगंज । गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनमा सहिद भएका परिवार र घाइतेहरूले सहिदको रगत र घाइतेको योगदानमाथि खेलबाड नहोस् भन्ने चाहना रहेको बताउनुभएको छ । आज संवाद डबलीमा आयोजित कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार र कुशासन अन्त्यका लागि दिइएको बलिदान खेर नजाओस् भन्नेमा जोड दिनुभएको हो ।

उहाँहरूले सहिदले कसैलाई सत्तामा पुर्‍याउनभन्दा पनि समाजमा व्यप्त भ्रष्टाचार र कुशासन अन्त्यका लागि बलिदान दिएका बताउनुभयो । प्रदर्शनमा घाइते हुनुभएका अछामका आदित्य रावलले आफूहरूले कसैलाई कुर्सीमा पुर्‍याउनका लागि प्रदर्शन नगरेको बताउनुभयो ।

उहाँले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस् कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । घाइते गुल्मीका गोकर्ण विष्ट, हुम्लाका सुरेश ऐडीले आफूहरू त्रासको वातावरणमा बसेको बताउँदै घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।

घाइते प्रकाश विष्टकी दिदी दुर्गा विष्टले आफ्ना भाइहरूको रगत खेर नजाओस् भनेर कामना गर्नुभयो । घाइतेका आफन्त सरस्वती रावलले घाइतेहरू अस्पतालको शय्यामा आफ्नो योगदान खेर जाने अवस्था आउँछ कि भन्ने चिन्तामा रहेका बताउनुभयो ।

जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताका लागि आफूहरूले प्रदर्शन गरेको बताउनुभयो । उहाँले विज्ञसहितको सहभागितामा मन्त्रिपरिषद् विस्तार, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्यलगायत सेवा निःशुल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकको सम्पत्ति छानबिनलगायत माग जेनजीको रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जेनजी प्रदर्शनका अगुवा प्रकाश रावलले गत भदौ २३ गतेको प्रदर्शन देशको मुहार फेर्न र सकारात्मक परिवर्तनका लागि भएको धारणा राख्नुभयो ।

जेन–जी पुस्ताको माग सम्बोधन गर्दै कांग्रेस अगाडि बढछ : रमेश रिजाल

0

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश रिजालले पार्टीलाई कार्यसम्पादन समितिको निर्णयअनुसार अगाडि बढाउने बताएका छन्।

पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेन–जी पुस्ताको आन्दोलनले पार्टी संरचनामा पुर्‍याएको क्षति निन्दनीय भएको भन्दै खेद व्यक्त गरे। साथै, उनले युवा पुस्ताको माग र सहभागितालाई सम्बोधन गर्ने गरी पार्टी अघि बढ्ने प्रतिबद्धता जनाए।

गत भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयसहित अधिकांश जिल्ला र प्रदेश कार्यालयमा क्षति पुगेको थियो। उक्त घटनाले पार्टीभित्र नेतृत्व हस्तान्तरणको बहसलाई तीव्र बनाएको छ।

रिजालका अनुसार पार्टीको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन गर्ने वा नगर्ने विषयमा छिट्टै निर्णय गर्नेछ। “पार्टीमाथि भएको आक्रमण सर्वथा निन्दनीय छ। आगामी दिनमा दोस्रो तहका नेताहरूले नेतृत्वको सम्भावना बोकेका छन्,” रिजालले भने, “जेन–जी पुस्ताको मागलाई सम्बोधन गर्न हामी गम्भीर छौँ।”

नेपाली कांग्रेसले आगामी दिनमा युवा पुस्ताको सहभागिता र उनीहरूका मागलाई प्राथमिकता दिँदै पार्टीलाई थप गतिशील र समावेशी बनाउने संकेत गरेको छ। कार्यसम्पादन समितिको आगामी बैठकले पार्टीको भावी रणनीति र नेतृत्व हस्तान्तरणबारे महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

पर्सामा भन्सार छलीको अटो सहित कपडा बरामद

0

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा कपडा र ई–रिक्सा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी सहायक निरिक्षक दिपेश चौधरीको कमाण्डमा खटिएको सात जनाको गस्ती टोलीले शनिबार बिहान करिब ९:३० बजे भारतबाट अबैध रुपमा भन्सार छली मधेश प्रदेश ०३–००१ ह २७६९ नम्बरको ई–रिक्सामा लोड गरी परवानीपुरतर्फ लैजाँदै गरेको अवस्थामा कपडा बरामद गरेको हो ।

बरामद गरिएको कपडाको अनुमानित मूल्य ५० हजार रुपैयाँ र ई–रिक्साको मूल्य करिब ३ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार बरामद सामानकाे मूल्य जम्मा ३ लाख ५० हजार रुपैयाँ रहेकाे छ ।

घटनापछि ई–रिक्सा चालक भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र सवारी साधन आवश्यक कारवाहीका लागि भन्सार बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नं.१३ गण, पर्साका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए ।

वीरगंजका युवाहरुद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण

0

वीरगंज । जेन–जी आन्दोलनकारी समूह पर्साको एक टोलीले अन्तरीम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर आफ्ना मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।

ध्यानाकर्षण पत्रमा पछिल्लो समयमा देशका विभिन्न भागमा आन्दोलन भइरहेकाे र नेपालको प्रवेशद्वारका रूपमा चिनिने वीरगंजका प्रत्येक राजनीतिक परिवर्तनमा अग्रपंक्तिमा रहेको उल्लेख गरिएको छ।

पत्रमा जेन–जी आन्दोलनकारीलाई विभिन्न पक्षबाट धम्की दिने, झुठा मुद्दा लगाएर फसाउने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै, आन्दोलनमा घुसपैठको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरिएको छ।

त्यस्तै पत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने, राजनीतिक नियुक्ति खारेज गरी योग्य तथा शिक्षित व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने, दलिय पेशागत सङ्गठन खारेज गर्नुपर्ने, अख्तियारको स्थानमा नागरिक आयोग गठन गर्नुपर्ने र निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाउनुपर्ने माग राखिएको छ।

सो अवसरमा सुधीर पटेल, बीरेन्द्र कण्ठ, महादेव कुर्मी, वसिम शेख, सन्जय श्रेष्ठ, शेख जमसेद, सागर यादव र मुकेश यादवलगायतका युवाहरूको सहभागिता थियो।

रानीघाटमा दुर्गा पूजा सेवा समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

0

वीरगंज । दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा शनिबार २५ औँ पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३ महिला सहित १०५ जनाले रक्तदान गरेका छन् ।

समितिका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी सोनि पासवान, सतिश सिंह राजपुत, अशोक श्रीवास्तव, अरुण प्रसाद कुश्वाहा, रितेश सुबेदी, अब्दुल सदाम हवारी, सन्तोष कुमार लगायतकाले रक्तदान गरे ।

कार्यक्रम वीरगंज–९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । रक्तदाताहरूलाई प्रोत्साहनका लागि वडाध्यक्ष गुप्ताले १५० थान टी–सर्ट सहयोग गरेका थिए ।

रानीघाटस्थित दुर्गा पूजा स्थलमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, शाखा सदस्य दिनानाथ प्रसाद रौनियार, रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सल्लाहकार गोपाल रौनियार र राजु गुप्ता उपस्थित थिए ।

कार्यक्रममा समितिका सचिव राजन कुमार साह, कोषाध्यक्ष विकास रौनियार, उपाध्यक्ष रबि रौनियार, कपडा बैंकका अध्यक्ष लाल बाबू सिंहलगायतको समेत सक्रिय सहभागिता रहेको थियो ।

बिग्रिएको व्यवस्था भत्काएर भ्रष्ट नेताहरू हटाएपछि मात्र मुलुक बन्छ : प्रभु साह

0

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रदेश र स्थानीय सरकार खारेज गरी ‘भ्रष्ट’ प्रशासनमाथि कडा कदम चाल्नुपर्ने माग गरेका छन् । शनिबार काठमाडौंमा सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै साहले वर्तमान प्रणालीलाई भ्रष्ट र असफल बताउँदै यसलाई नबदली मुलुक नबन्ने तर्क गरेका हुन् ।

उनका अनुसार सरकारमात्रै भ्रष्ट भएकाले त्यस्ता सरकारलाई खारेज गरेर संघीयतालाई अझै बलियो बनाइनुपर्ने छ । ‘बिग्रिएको व्यवस्था भत्काउँदै भ्रष्ट नेताहरूलाई नहटाएसम्म मुलुक नबन्ने’ भन्दै साहले विद्यमान संरचनाको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।

साहले देशमा मौलाएको भ्रष्टाचार, कुशासन, अनियमितता र लुटपाट रोक्न आजपाले दुई वर्षअघि तेस्रो जनआन्दोलनको घोषणा गरेको स्मरण गर्दै अहिले जेन–जी पुस्ताले जनविद्रोह गर्नु सकारात्मक भएको बताए ।

‘मुलुकमा भ्रष्टाचार, कुशासन र दलहरूको लुटकारी प्रवृत्तिका कारण राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र धरासायी भएका छन्,’ साहले भने, ‘त्यसैले संविधान र व्यवस्था गलत भएकाले जनताको अवस्था खराब भएको स्वीकार गर्नुपर्दछ र आवश्यक परे संविधान खारेज गरेर समेत जेनजीको माग सम्बोधन गर्नुपर्छ।’

साहले संसद, सर्वोच्च अदालत र सिंहदरबारजस्ता संस्थाहरूमा षड्यन्त्रपूर्ण आक्रमण भएको दाबी गर्दै उच्चस्तरीय छानबिनको माग गरे । साथै, उनले जेनजी आन्दोलनलाई अपहरण गर्ने र युवाहरूको भावनालाई धोका दिने प्रयास भइरहेको आरोप पनि लगाए ।

त्यसैगरी उनले परराष्ट्र र रक्षा मन्त्रालयको नेतृत्वविहीनतालाई प्रश्न उठाउँदै सुरक्षा निकाय र तिनका नेतृत्वहरूको भूमिकाको समिक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।

वीरगंज महानगरको बजेट संशोधन, पुनःनिर्माण प्राथमिकतामा

0

वीरगंज । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी नगरको पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगरसभा) ले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित धेरै संरचना आगजनी, तोडफोड र लुटपाटबाट ध्वस्त बनेपछि नगरवासीलाई निरन्तर सेवा प्रवाह गर्न पुनःनिर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउँदै नगरसभाले बजेट संशोधनको निर्णय गरेको हो ।

विशेष नगरसभामा महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट पेश गर्नुभयो । यसअघि १७औं नगर परिषद्ले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटभित्र नगरस्तरीय पूँजीगत योजना र सामाजिक विकास कार्यक्रमका रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय विशेष अधिवेशनले गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार विकास योजनाहरू अस्थायी रूपमा स्थगित गरिने र कार्यपालिका बैठकमार्फत पुनःनिर्माणका कार्यहरूको शीर्षक तय गरिनेछ ।

त्यसैगरी, विशेष अधिवेशनले जेनजी आन्दोलनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगंज महानगरपालिका वडा नं. १२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रस्ताव पनि सर्वसम्मत पारित गरेको छ ।

नगरसभाले संशोधित बजेटमार्फत तत्काल नगर पुनःनिर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्य अघि बढाइने स्पष्ट पारेको छ ।

संविधान दिवसमा जनमत पार्टी पर्साद्वारा सहिद स्मारकमा माल्यार्पण

0

वीरगंज । संविधान दिवसको अवसरमा जनमत पार्टी पर्साले वीरगन्जस्थित सहिद स्मारकमा माल्यार्पण गर्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । कार्यक्रममा जेन्जी आन्दोलनका क्रममा प्राण गुमाएका सहिदप्रति मौन धारण गरी श्रद्धासुमन अर्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले वर्तमान संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधारशिला भएको उल्लेख गर्दै प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न अझै संघर्ष गर्नुपर्ने बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सबै संवैधानिक अंग तथा आयोगमा प्रतिस्पर्धा मार्फत नियुक्ति हुनुपर्ने जनमत पार्टीको ‘नौलो गणतन्त्र’ विचारधाराको मूल आधार भएको स्पष्ट पार्नुभयो ।

सरार्फका अनुसार जेन्जी आन्दोलनका मागहरूको दिगो समाधानका लागि जनमत पार्टी दुई वर्षअघि देखि नै निरन्तर आन्दोलनरत छ ।

कार्यक्रममा केन्द्रीय सदस्य बिध्यालाल प्रसाद, रम्भा मिश्रा, श्याम गुप्ता, श्याम शंकर चौरसिया, सन्तोष साह, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ, महानगर अध्यक्ष महादेव शर्मा, सचिव लोकेश कर्ण, क्षेत्र नम्बर–२ संयोजक शशी देव यादव, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह, महिला अध्यक्ष अन्जना गुप्ता, युवा महानगर संयोजक संजय सिंह, उपाध्यक्ष संजय सरार्फ, हिरालाल राम, बिकाश गुप्ता लगायतको सहभागिता रहेको थियो ।

निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा विशेष सम्बोधन गर्दै मुलुकलाई सुशासन, समावेशी विकास र भ्रष्टाचारमुक्त बनाउने आह्वान गर्नुभएको छ । नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास व्यक्त गर्दै उहाँले अन्तरिम सरकारले छ महिनाभित्र निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

दुई दिनको विरोध प्रदर्शनमा मुलुकले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले जीवन गुमाएका युवाप्रति गहिरो संवेदना प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको अभिभावकका रूपमा मुलुकले ती कर्णाधार युवाहरू गुमाउँदाको पीडा अनुभूत गर्न सक्छु । आज संविधान दिवसका दिन म ती युवाहरूको जागरुकता र सदिच्छा स्मरण गर्न चाहन्छु ।”

राष्ट्रपतिको भनाइमा नेपालमा रहेको सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधतामा असीमित सम्भावना छन् र ती सम्भावनालाई न्यायोचित रूपमा उपयोग गर्न सके आम नेपालीको जीवनस्तरमा रूपान्तरण ल्याउन सकिनेछ । उहाँले संविधानले लोकतन्त्रमा आधारित समाजवादउन्मुख अर्थतन्त्रको लक्ष्य लिएको उल्लेख गर्दै सामाजिक सुरक्षा, समान पहुँच र समावेशी विकासलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

राष्ट्रपति पौडेलले भ्रष्टाचार र बेथितिको अन्त्य, रोजगारी सृजना, वातावरणीय दिगोपन र सामाजिक न्यायलाई संविधानको मर्मअनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जेनजी पुस्ताले उठाएको मागलाई सबैले मनन गरी सुधारको बाटो समाउन आग्रह गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई लगायत जेनजी पुस्ताका प्रतिनिधि, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।