निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह

चुनावका लागि दातृ निकायको मुख ताक्नु पर्दैनः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको आज भएको भेटमा उहाँले चालू आर्थिक वर्षको बजेटमा आयोजना बैंकमा प्रविष्ट नगरेका एक हजार तीन सयभन्दा बढी आयोजना फेला परेको र ती आयोजनाका लागि विनियोजित करिब रु एक खर्ब १० अर्ब भेटिएको जानकारी दिनुभयो ।
त्यस्तै, चालू बजेटमा राखिएका गोष्ठी, बैठकलगायत विभिन्न शीर्षकको करिब रु १२ अर्ब निकाल्न सकिने उहाँले बताउनुभएको छ । काम सुरु नभएका आयोजना पहिचान गरेर बजेट निकालिने उहाँले बताउनुभयो । “विशेषगरी त्यस्ता योजनाको बजेट निकालिँदैछ, जुन योजनामा बजेट राखेपछि खर्च हुँदैनथ्यो”, उहाँले भन्नुभयो ।
अर्थमन्त्री खनालका अनुसार सरकारले निर्वाचनका लागि विनियोजन भएर बाँकी भएको रकम पुनःनिर्माणमा लगाउने तयारी छ । सरकारको प्रमुख लक्ष्य नै निर्वाचन भएको र यसअघि तीन तहको चुनाव गराउन रु २५ अर्ब खर्च भएको हुनाले यसपटक त्योभन्दा कम बजेट खर्च हुनसक्ने उहाँको आकलन छ । तर, सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र कतिपय पालिकाका भवन जलेका कारण बजेट बढ्नसक्ने खनालको भनाइ छ ।
मन्त्रिपरिषद्ले अहिले नै निर्वाचन आयोगलाई परेको अप्ठ्यारो फुकाउनका लागि सबै काम गरिरहेको अर्थमन्त्रीले जानकारी दिनुभयो । “आयोगले आवश्यक तयारी टुङ्ग्याउनेबित्तिकै अर्थ मन्त्रालयले बजेटको व्यवस्था गर्नेगरी तयारी गर्नेछ”, उहाँले भन्नुभयो । मन्त्री खनालले अर्थ मन्त्रालयले तयार गरेको ‘बिजनेस रिकभरी प्लान’ मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।
“पुनरुउत्थान योजना (रिकभरी प्लान) मा सरकारको मात्र नभएर सबैको संलग्नतामा तयार भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यो योजनाअनुसार एउटा कोष स्थापना गरिने र कोषले ज्यान गुमाएका परिवारलाई गर्नुपर्ने थप सहयोग गर्ने, सार्वजनिक संरचनाको पुनःनिर्माणमा खर्च हुने र निजी क्षेत्रको ध्वस्त भएका संरचनामा आवश्यक सहायता दिने काम हुनेछ ।
“निजी क्षेत्रलाई कोषबाटभन्दा पनि संरचना निर्माण गर्न आवश्यक सामान आयात गर्दा लाग्ने भन्सारमा छुट दिनेलगायत काम गरेर सहायता गरिनेछ”, मन्त्री खनालले भन्नुभयो । निजी क्षेत्रसँगको भेटघाटमा मनोबल उच्च पाएको र चाँडै अझ सशक्त भएर अघि बढ्न प्रतिबद्धता गरिरहेको जानकारी अर्थमन्त्री खनालले गराउनुभयो ।
मन्त्री खनालले उद्योगी व्यवसायी र उनीहरूको आफ्नो प्रतिष्ठानमा, व्यवसायमा क्षति पुगेको र त्यसलाई कुनै न कुनै तरिकाबाट सहुलियत दिएर फेरि उठ्ने वातावरण बनाइने प्रतिबद्धता पनि जनाउनुभयो । अर्थमन्त्री खनालले तत्काल सरकारको प्राथमिकता आम नागरिकमा आत्मविश्वास जगाउने र घाइते परिवारलाई उपचार अनि ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता अथवा क्षतिपूर्ति उपलब्ध गराउने काम भइरहेको उल्लेख गर्नुभयो ।
आन्दोलनबाट भएको भौतिक क्षतिको आँकडा सङ्कलन गर्नका लागि सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जेएनका प्रतिनिधि र अन्य निकायबीच टोली बनाएर काम थालिएको उहाँँले बताउनुभयो । खनालका अनुसार सार्वजनिक निकाय र संरचनाको पुनर्निर्माण गर्न बजेटबाटै रकम निकाल्नुपर्नेछ र पुगेन भने ‘क्राउड फन्डिङ’मार्फत जम्मा गरेर निर्माण गरिनेछ । त्यसका लागि तयारी पूरा भइसकेको जानकारी मन्त्री खनालले दिनुभयो ।
दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन
वीरगंज । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो । “साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको थियो”, उहाँले भन्नुभयो, “भदौमा मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व सङ्कलन गरेका छौँ ।”
वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा रु दुई अर्ब ३७ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते रु एक खर्ब ९२ करोड राजस्व सङ्कलन गरेको छ । त्यस्तै भदौ २८ गते रु एक अर्ब ७१ करोड र भदौ ३१ गते भने रु एक अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ ।
त्यस्तै जेनजीको प्रदर्शनका दिन भदौ २४ गते रु तीन करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु ११ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन ग¥यो भने भदौ महिनामा भने रु २० अर्ब १२ करोड राजस्व सङ्कलन गरेको छ ।
एन–प्याब्सनले पनि शनिबार विद्यालय संचालन गर्ने
वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन–प्याब्सन) वीरगंजले हालै फैलिएको हैजा (Cholera) संक्रमण र GenZ आन्दोलन/प्रदर्शनका कारण विद्यालयहरूको पठनपाठनमा परेको असर न्यूनिकरण गर्न विशेष निर्णय गरेको छ ।
एन–प्याब्सनद्वारा बिहीबार जारी विज्ञप्तिमा विद्यार्थीहरूको शैक्षिक सत्र र अध्ययनक्रममा गम्भीर असर परेको भन्दै यसलाई तत्काल पूरा गर्ने उद्देश्यले शनिबार र सार्वजनिक बिदामा समेत विद्यालय सञ्चालन गरिने उल्लेख छ।
एन–प्याब्सनको निर्णयअनुसार आगामी असोज ३ गतेदेखि र त्यसपछि पर्ने शनिबारहरूमा समेत विद्यालय खुला रहनेछ। यस कदमले विद्यार्थीहरूको शैक्षिक हक सुरक्षित हुने विश्वास लिइएको एन–प्याब्सनले जनाएको छ।
एन प्याब्सन वीरगंजका नगर अध्यक्ष जियालाल गुप्ता र नगर सचिव शेख अजहरले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाहरूलाई यस अभियानमा सहयोग र समर्थनका लागि आह्वान गरिएको छ।

यस अघि प्याब्सन वीरगंजले पनि शनिबार र सार्वजनिक विदाका दिन विद्यालय संचालन गर्न आफ्ना सदस्य विद्यालयहरुलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहिबार टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिँदै नेपाल–भारतबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गरिन् । साथै, उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा जानकारी गराइन् ।
यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालकी नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
छिमेकी दुई देशका सरकार प्रमुखबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नवदुर्गा पूजा समिती निलकण्ठवाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
वीरगंज । श्री नवदुर्गा पूजा समिती निलकण्ठवाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी, वीरगंज शाखाको सहकार्यमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समितीका संयोजक दया सिन्धु कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा २ महिला सहित ४१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएकाे छ ।
रक्तदान गर्नेहरूमा कलावती देवी, रम्भा देवी, सिन्धु कुश्वाहा, आकाश चौरसिया, प्रहलाद चौरसिया, सन्जित कुमार सिंह, नितेश कुमार चौरसिया, अलक प्रसाद कुश्वाहा लगायतका रहेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रेशमकोठीका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ता, प्रहलाद चौरसिया लगायतको उपस्थिति रहेकाे थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिएका थिए ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुश्वाहा, लिलाधर साह, नमित चौरसिया र सन्तोष पटेलले गरेका थिए ।
जनमत पार्टीमा ठूलो धक्का : वरिष्ठ उपाध्यक्षसहित शीर्ष नेताहरूको सामूहिक राजीनामा
काठमाडौँ । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित आधा दर्जन शीर्ष तहका नेताहरूले पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् ।
उनीहरूले अध्यक्ष डा. सिके राउत नेतृत्वप्रति कठोर आलोचना गर्दै जेनजी आन्दोलनको रगतको अपमान भएको आरोप लगाएका छन् । नेपालमा विद्यमान विषम परिस्थितिमा पार्टीले जनभावना विपरीत चलाएको र नेतृत्व परिवर्तनको मागलाई बेवास्ता गरेको भन्दै उनीहरूले पार्टी छाडेको घोषणा गरेका हुन् ।
राजीनामा दिने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका संयोजक सि.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य तथा केन्द्रीय सदस्य विक्रम वहादुर बम रहेका छन् ।
नेताहरूले पार्टीको पद–स्वार्थमा नफसी नयाँ पुस्ताको चाहनाअनुसार सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, लामो समयसम्म साथ र सहयोग गर्ने जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।

यी नेताहरुले बुधबार मात्र जनमत पार्टीभित्र नेतृत्व परिवर्तनको मागसहित पार्टीका शीर्ष पदाधिकारीहरूले अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिएका थिए ।
परवानिपुरस्थित १३२ केभी पावर लाइन रुममा विस्फोट, बारा–पर्सा क्षेत्रको विद्युत आपूर्ति ठप्प
वीरगंज । आज दिउँसो परवानिपुरस्थित नेपाल विद्युत प्राधिकरणको १३२ केभी पावर लाइन रुम (पाइनलरुम) मा रहेको भीसीबी ब्रेकर बिस्फोट हुँदा बारा–पर्सा क्षेत्रको विद्युत आपूर्ति पूर्णरुपमा अवरुद्ध भएको छ।
प्राधिकरणका एक कर्मचारीका अनुसार कन्ट्रोल रुमको पछाडिबाट सर्टसर्किट भएर आगलागी भएको आशंका गरिएको छ। आगलागीका कारण सम्पूर्ण प्यानल जलेको र बारा–पर्साका १४ वटा फिडरमध्ये ५ वटा फिडर पूर्णरुपमा ध्वस्त भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाँकी फिडरहरूमा पनि क्षति पुगेको छ।
घटनापछि लागेकाे आगो बिरगञ्जबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिन सफल भएको हो। प्राधिकरणका अनुसार क्षतिग्रस्त फिडरहरूमा सिमरा, कृषि, गण्डक, डाबर, ग्रामीण, नरायणी, परवानिपुर, जगदम्बा, चोर्नि र बगही लगायतका फिडरहरू रहेका छन्।
आगजनीका कारण तीन जना कर्मचारी सामान्यरूपमा घाइते भएका छन्। उनीहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा भइरहेको छ।
हाल मर्मत कार्य सुरु भए पनि क्षति व्यापक भएकाले छिट्टै विद्युत आपूर्ति सुचारु हुने सम्भावना न्यून रहेको प्राधिकरणले जनाएको छ।












