Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 220

सरकार जनतामा उत्साह जगाउन असफल, कांग्रेस निरीह बन्दै : केन्द्रिय सदस्य महर

0

वीरगञ्ज । नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले हालको सत्ता गठबन्धनले जनतामा कुनै पनि उत्साहपूर्ण काम गर्न नसकेको आरोप लगाएका छन्। उनले कांग्रेस र एमालेबीचको ७ बुँदे सहमतिमा बनेको सरकार एमालेको हालीमुहालीमा सीमित भएको र कांग्रेस निरीहजस्तै बनेको टिप्पणी गरे।

महरले नेपाली कांग्रेस आफैं जनतामाझ बदनाम बन्दै गएको र यसले पार्टीलाई कमजोर बनाइरहेको बताए। अहिलेको नेतृत्वले पार्टीको १५औँ महाधिवेशन समयमै सम्पन्न गर्न आवश्यक तयारी नगरेको उल्लेख गर्दै उनले देशभरका नेता–कार्यकर्ताबाट दबाब सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याए।

फरक प्रसंगमा उनले संघीय सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशप्रति पुनः विभेद भएको आरोप पनि लगाए। “देशलाई सबैभन्दा बढी राजस्व र रेमिट्यान्स दिने प्रदेश मधेस हो, तर संघीय बजेटले फेरि पनि यसप्रति विभेद देखाएको छ,” महरले भने।

उनले सरकारमा रहेका दलहरूले चरित्रवान र इमान्दार नेतृत्व प्रस्तुत गर्न नसके जनताको हितमा काम सम्भव नहुने बताउँदै सबै दलमा शुद्धिकरण अभियान आवश्यक रहेको धारणा राखे। शुद्धिकरणको थालनी कांग्रेसभित्रैबाट हुनुपर्ने उनले बताए।

महरले केन्द्र, प्रदेश र स्थानीय तहको बजेटलाई ‘ब्रहमलुट’ को मानसिकताले तयार पारिएको भन्दै आलोचना गरे। साथै, देशमै रोजगारी सिर्जना गरेर युवाको विदेश पलायन रोक्न र विदेशिएका युवालाई फर्काउने वातावरण बनाउन सरकारसँग मागसमेत गरे।

कार्यक्रम प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलम, कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझीलगायतको उपस्थिति रहेको जानकारी उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले दिए।

वीरगंजमा ३१९ केजी चरेससहित ट्रक पक्राउ, तस्करी नेटवर्कमाथि सूक्ष्म अनुसन्धान

वीरगंज । पर्सा प्रहरीले वीरगञ्जबाट एक ट्रक चालकलाई ३१९ केजी चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यो परिमाणको चरेस बरामद हुनु सम्भवतः पहिलोपटक हो । स्याङ्तानबाट प्रहरीले १ लाख ९२ हजार नगद रुपैयाँ समेत बरामद गरेको छ ।

बुधवार बेलुकी बाराको परवानीपुरबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट)तर्फ गइरहेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई प्रहरीले परवानीपुर चोकमा रोक्ने क्रममा चेकजाँच गरिएको थियो । ट्रकको मालबाहक भागमा प्लास्टिक बोरामा पोका बनाएर राखिएको अवस्थामा लागूऔषध चरेस फेला परेको हो ।

पक्राउ परेका चालक स्याङ्तानले धादिङबाट चरेस लोड गरी भारत पठाउने योजनासहित वीरगञ्ज ल्याएको प्रहरी समक्ष स्वीकार गरेका छन् । उनलाई हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एसपी मिश्रले पर्सामा लागूऔषध तस्करीको चेन ब्रेक गर्न व्यापक प्रयास भइरहेको जनाउँदै यस कडीमा अहिलेसम्मकै ठूलो परिमाणको चरेस बरामद भएको बताए । उनका अनुसार चरेसको बजार मूल्य झण्डै १ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।

प्रहरीले चरेस तस्करीमा संलग्न अन्य व्यक्ति तथा तस्करीको सञ्जालबारे पनि सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । एसपी मिश्रले भने, “लागूऔषध तस्करीको चेन ब्रेक गर्ने उद्देश्यसहित हामीले अनुसन्धान तीव्र पारिरहेका छौँ ।”

सुरक्षित गर्भपतनलाई स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्न जोड

वीरगञ्ज । वीरगञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सुरक्षित गर्भपतनलाई अपराधको सट्टा स्वास्थ्य अधिकारको रूपमा स्वीकार गर्नुपर्ने र यसको पहुँचलाई ग्रामीण तथा सहरी क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

गैरनाफामूलक संस्था ‘युवा’ले सञ्चालन गरेको ‘यूथ एक्सेस परियोजना’अन्तर्गत ‘सुरक्षित गर्भपतन स्वास्थ्य अधिकार हो, अपराध हैन’ भन्ने मूल नाराका साथ वीरगञ्जमा आयोजित कार्यक्रम बुधवार सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै अधिवक्ता विद्या कटुवालले नेपालमा सुरक्षित गर्भपतनसम्बन्धी कानुनी प्रावधानहरूको चर्चा गर्दै कानुन र व्यवहारबिचको अन्तरलाई कम गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्, “नेपालको संविधान र मुलुकी अपराध संहिता २०७४ ले १२ हप्तासम्मको गर्भ र विशेष अवस्थामा (जस्तै बलात्कार, गर्भवतीको स्वास्थ्य जोखिम, भ्रूणमा गम्भीर असामान्यता) २८ हप्तासम्मको गर्भपतनलाई कानुनी मान्यता दिएको छ । तर, सामाजिक लाञ्छना, सूचनाको कमी, र तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावले सेवाको पहुँच सीमित छ ।”

अधिवक्ता कटुवालले ग्रामीण क्षेत्रमा जनचेतनाको कमी र स्वास्थ्य सेवाको अपर्याप्तताले सुरक्षित गर्भपतनको अधिकार कार्यान्वयनमा चुनौती थपिएको उल्लेख गरिन् ।

वीरगञ्ज महानगरपालिकाकी सुरक्षित गर्भपतन सेवा फोकल पर्सन इन्दिरा लोहनीले महानगरले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सक्रिय रूपमा काम गरिरहेको जानकारी दिइन् । उनले हाल महानगर क्षेत्रका पाँच वटा सूचीकृत स्वास्थ्य संस्थामार्फत तालिमप्राप्त स्वास्थ्यकर्मीहरूद्वारा सेवा प्रदान भइरहेको बताइन् । “कानुनी प्रावधानअनुसार तालिमप्राप्त स्वास्थ्यकर्मीले मात्र यो सेवा दिन सक्छन्, जसले गर्दा सेवा विस्तारमा केही कठिनाइ छ । तर, हामीले स्थानीय स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गर्दै सेवालाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेका छौँ,” उनले थपिन् । उनले सेवाग्राहीको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिइएको पनि उल्लेख गरिन् ।

त्यस्तै मेरी सर्भिस सेन्टरका प्रमुख सन्दीप चौरसियाले सुरक्षित गर्भपतन सेवामा गोपनीयताको महत्त्वमाथि जोड दिँदै आफ्नो संस्थाले यो पक्षलाई उच्च प्राथमिकता दिएको बताए । “हामीले सेवाग्राहीको व्यक्तिगत जानकारीको गोपनीयता कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौँ,” उनले भने ।

कार्यक्रममा पूर्व यूथ च्याम्पियन नेहा पटेलले ‘यूथ एक्सेस परियोजना’मार्फत युवाहरूमा सुरक्षित गर्भपतनबारे चेतना फैलिएको अनुभव साझा गरिन् । “हामीले स्कूल, कलेज र समुदायमा गएर युवाहरूलाई यो विषयमा खुला छलफल गर्न प्रेरित गरेका छौँ । यसले सामाजिक लाञ्छनालाई कम गर्न सहयोग पुर्‍याएको छ,” उनले भनिन् ।

कार्यक्रममा यूथ च्याम्पियनहरूले परियोजनाको उद्देश्य र उपलब्धिहरूबारे प्रकाश पारे । यूथ च्याम्पियन राजन झाले स्वागत मन्तव्य व्यक्त गर्दै परियोजनाले युवाहरूलाई नेतृत्व विकास र सामाजिक चेतना अभिवृद्धिमा सहयोग पुर्‍याएको बताए । यूथ च्याम्पियन अंकृत कर्णले परियोजनाले हालसम्म गरेका गतिविधि र यसको प्रभावबारे जानकारी दिए । त्यस्तै, यूथ च्याम्पियन सुस्मिता चालिसेले परियोजनामा सहभागी भएपछि आफूमा आएको आत्मविश्वास र ज्ञानको अनुभव साझा गरिन् । उनले भनेकी छन्, “यो परियोजनाले मलाई सुरक्षित गर्भपतनको महत्त्व र यससँग जोडिएको सामाजिक मुद्दाहरू बुझ्न धेरै सहयोग गरेको छ ।”

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण विकले गरेका थिए भने परियोजनाका वीरगञ्ज संयोजक आशु कुमार सर्राफले समग्र सञ्चालनको जिम्मेवारी सम्हालेका थिए । प्यानल छलफलमा सहभागीहरूले सुरक्षित गर्भपतनलाई स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्न सामुदायिक तहमा थप जागरूकता र सरकारको सक्रिय सहभागिता आवश्यक रहेको निष्कर्ष निकाले ।

‘युवा’ले विगत चार वर्षदेखि वीरगञ्जमा ‘यूथ एक्सेस परियोजना’ सञ्चालन गर्दै आएको छ । चार वर्षको अवधिमा परियोजनाले ४० जना यूथ च्याम्पियन र एक सय भन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । युवाका कार्यसमिति सदस्य सदिक सिद्दिकीले परियोजनाले समुदायमा सुरक्षित गर्भपतनबारे चेतना फैलाउन र सामाजिक लाञ्छनालाई कम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले भने, “हामीले स्थानीय युवाहरूलाई नेतृत्व प्रदान गर्न सक्षम बनाएका छौँ, र आगामी दिनमा यो परियोजनालाई थप विस्तार गरी ग्रामीण क्षेत्रमा पनि सेवा पुर्‍याउने योजना छ ।”

कार्यक्रमले सुरक्षित गर्भपतनलाई स्वास्थ्य अधिकारको रूपमा स्थापित गर्न र यसको पहुँच विस्तार गर्न सामुदायिक, कानुनी, र प्रशासनिक स्तरमा सहकार्यको आवश्यकता रहेको स्पष्ट पारेको छ । वीरगञ्जमा ‘युवा’को पहल र स्थानीय सरोकारवालाहरूको सक्रियताले सुरक्षित गर्भपतनको मुद्दालाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

समाजवादी प्रेस संगठन मधेस प्रदेश कमिटी पुर्नगठन, अध्यक्षमा पटेल

वीरगंज  । समाजवादी प्रेस संगठन नेपाल, मधेस प्रदेश कमिटीको बिस्तारित बैठक आज महोत्तरीको बर्दिबासस्थित दिपक पार्टी प्यालेसमा सम्पन्न भएको छ। संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले बैठकको उद्घाटन गर्दै पत्रकारलाई स्वतन्त्र रूपमा लेख्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष श्रेष्ठले पत्रकारमाथि चौतर्फी प्रहार भइरहेको उल्लेख गर्दै पत्रकारितामा स्वतन्त्रता अत्यावश्यक भएको बताए। साथै, अदालतसम्बन्धी समाचार लेखेकै कारण आफू र ‘दृष्टि’ पत्रिकाविरुद्ध मुद्दा दायर गरिएको स्मरण गर्दै उनले न्यायिक प्रक्रिया प्रतिको विश्वास व्यक्त गरे।

बैठक संगठनका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज बृजलाल पासवानको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले मधेस प्रदेश कमिटीलाई पुनर्गठन गर्दै मनोज पटेललाई अध्यक्ष चयन गरेको छ। उपाध्यक्षमा शारदा पोखरेल, सचिवमा प्रमोद चलिसे, सह–सचिवमा ममता बिश्वकर्मा र कोषाध्यक्षमा रामपुकार यादव चयन भएका छन्।

बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मनोज चौधरी, संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज छतुकुली, महासचिव रोहित दहाल, कोषाध्यक्ष भतरराज पोखरेल, सचिवालय सदस्य रेविन्द्र कार्की, केन्द्रीय सदस्य जितलाल श्रेष्ठ लगायतको उपस्थिति थियो।

संगठनले पत्रकार हित, स्वतन्त्रता र सुरक्षित पत्रकारिताका पक्षमा थप सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मौलापुर नगरपालिकाको ३९ करोड ५० लाखको बजेट सार्वजनिक

वीरगंज । रौतहटको मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ५० लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न नगरसभा तथा नवौँ बजेट अधिवेशनमा नगर प्रमुख रिनाकुमारी साहले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको छ।

मेयर साहका अनुसार कुल बजेटको ४० प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा विनियोजन गरिएको छ। नगरमा नगर प्रहरीको सट्टा नगर शिक्षक र नगर चिकित्सकको अवधारणा लागू गरिएको उल्लेख गर्दै उनले मौलापुरलाई स्मार्ट कक्षा, गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षामा मोडेल नगर बनाउने लक्ष्य राखिएको उनले बताइन्।

मौलापुरले शुन्य कर नीतिलाई विगत ८ वर्षदेखि निरन्तरता दिँदै आएको छ। यस वर्ष पनि नगरवासीलाई निःशुल्क विजुली, पानी सेवा दिइने, र नगरलाई कच्ची सडक मुक्त क्षेत्र घोषणा गरिने लक्ष्य रहेको मेयर साहले जानकारी दिइन्।

‘हामी शासक होइन, सेवक हौँ’ भन्ने दृष्टिकोणसहित सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता उनले व्यक्त गरिन्। नगरपालिकाको चर्चित कार्यक्रम ‘छोरीसंग मेयर’ योजना अन्तर्गत विवाहको बेला छोरीहरूलाई ३० हजार रुपैयाँ नगद सहयोग गरिँदै आएको र यसलाई पनि निरन्तरता दिइने बताइएको छ।

त्यस्तै, नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलोमुक्त अभियान, साक्षरता र स्वरोजगार कार्यक्रम, ‘हर हातमे हुनर’, ‘बेटीके साथ मेयर’ जस्ता सामाजिक रुपान्तरणमूलक योजनालाई बजेटमा प्राथमिकता दिइएको छ।

नगर गौरव आयोजनाका रूपमा पुरातात्विक महादेव मन्दिरको संरक्षण, शहरीकरण, स्मार्ट कक्षा, स्वास्थ्य संस्था सुदृढीकरण, कृषि व्यवसायको व्यावसायीकरण तथा सुशासन प्रवर्द्धनलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यसै अवसरमा आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उद्घाटन सत्रमा मुलुकले लोकतान्त्रिक बाटो बिराएको भन्दै त्यसको सुधार आवश्यक रहेको धारणा राखे। उनले कांग्रेस–एमाले गठबन्धनलाई अलोकतान्त्रिक, अप्राकृतिक र अनैतिक भन्दै आलोचना गरे र मुलुकको समृद्धिका लागि लोकतान्त्रिक पथमा फर्कनु पर्नेमा जोड दिए।

नेशनल मेडिकल कलेज र वीरगंजका ७ वडाबीच स्वास्थ्य सेवा सम्झौता, उपचारमा विशेष छुट

 वीरगंज । नेशनल मेडिकल कलेज वीरगंज र वीरगंज महानगरपालिकाका ७ वटा वडाबीच पुनः स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ। मंगलबार कलेजको सभा हलमा आयोजित कार्यक्रममा वीरगंज महानगरकाे वडा नं. ११, १२, १५, १९, २०, २३ र २४ का वडाध्यक्षहरू तथा कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएकाे हाे ।

सम्झौताअनुसार यी वडाका बासिन्दाले नेशनल मेडिकल कलेजबाट विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । सम्झाैता अनुसारओपिडी टिकटमा २५%, जेनरल बेड चार्जमा १५%, आइसियु, एनआइसियु, पीआइसियु बेड चार्जमा ५%, लाप्रोस्कोपिक तथा इन्डोस्कोपिक शल्यक्रियामा ८%, पयाथोलोजी जाँचमा १०%, भिडियो एक्सरे, एक्सरे, ईसीजी, इन्डोस्कोपीमा ७%, सिटी स्क्यान तथा एमआरआईमा ७%, फार्मेसी ओपिडीमा १०%, फार्मेसी आईपिडीमा १५% छुट प्रदान गरिने छ ।

यी छुट सुविधाहरू पाउनका लागि सम्बन्धित वडा कार्यालयको लेटरप्याडमा सिफारिस आवश्यक पर्नेछ। यसबाहेक, कलेजले सम्झौतामा समावेश ७ वटै वडामा प्रत्येक तीन महिनामा एक पटक निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

सम्झौता एक वर्षका लागि लागू हुनेछ र आवश्यक परेमा आपसी सहमतिमा परिमार्जन गर्न सकिने अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले जानकारी दिए।

यसअघि पहिलो चरणमा १३ वडासँग स्वास्थ्य सम्झौता भइसकेको थियो भने, अहिले दोस्रो चरणमा थप ७ वडासँग सम्झौता सम्पन्न भएको हो।

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष अजय कुमार बरै, १२ का सुरेश कुमार गुप्ता, १५ का रमेश प्रसाद यादव, १९ का मुकेश कुमार चौरसिया, २० का रामकिशोर सिंह, २३ का अवधकिशोर कुशवाहा र २४ का विजय प्रसाद कुर्मीको  उपस्थिति रहेको थियो।

वडाध्यक्षहरूले यो सम्झौताले गरिब, असहाय र विपन्न वर्गका लागि गुणस्तरीय उपचारमा सहज पहुँच पुर्‍याउने विश्वास व्यक्त गरे।

अस्पतालकी निर्देशक डा. ईसरत जहान अन्सारीले बाँकी रहेका वडासँग पनि छिट्टै सम्झौता गरिने जनाउँदै, “अब शहरदेखि गाउँसम्म सबै जनताले स्वास्थ्य सेवा सहज रूपमा पाउनेछन्,” भनिन्।

समारोहमा अस्पतालका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आबिद हुसेन, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, सञ्चारकर्मी तथा विभिन्न सरोकारवालाहरूको पनि उपस्थिति थियो।

सखुवा प्रसौनी गाउँपालिकाकाे ५९ करोड ३१ लाखको बजेट सार्वजनिक

0

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५९ करोड ३१ लाख ५८ हजार ३०३ रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। मंगलबार सम्पन्न १५ औं गाउँसभा अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष शर्मिला विष्टले आय-व्यय विवरणसहितको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाका अनुसार बजेटमा कुल शर्तसहितको अनुदान २३ करोड २९ लाख, समपुरक अनुदान ५१ लाख, विशेष अनुदान ७५ लाख, आन्तरिक स्रोतबाट ४४ लाख ८५ हजार, वित्तीय समानीकरण अनुदान ११ करोड ४५ लाख ६२ हजार तथा राजस्व बाँडफाँडतर्फ १० करोड ८६ लाख ११ हजार ३०३ रुपैयाँ समावेश गरिएको छ।

गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम तयार गरिएको जानकारी दिए । साथै, महिला सशक्तीकरण, युवा उद्यमशीलता, वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई समेत बजेटको प्राथमिक क्षेत्रमा राखिएको उनले स्पष्ट पारे।

अध्यक्ष यादवले ‘एक गाउँ, एक उद्यम’ कार्यक्रम अन्तर्गत प्रत्येक वडामा कम्तीमा एउटा उद्योग स्थापना गरी स्थानीय युवा तथा महिलाका लागि रोजगारी सिर्जना गर्ने योजना रहेको बताए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष शर्मिला विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

अमरेश सिंहको प्रहारले सत्ताधारीहरुले अब “सत्य सहने कि अन्याय हटाउने ?”

0

-कन्हैया चौरसिया (कानुन क्षेत्र)
जब सांसद अमरेश कुमार सिंहले संसदको पवित्र रोष्टमबाट व्यंग्य गर्दै भने, “४/५ जिल्लामा मात्र बजेट पार्ने हो भने बाँकी जिल्लालाई अन्य कुनै देशलाई लिजमा देऊ”, त्यो कुनै टुक्रावादी मानसिकता वा राष्ट्रघातपूर्ण चेतनाको उपज थिएन, त्यो त नेपालको बजेट, स्रोत र सेवा सुविधाको बाँडफाँडमा देखिएको ऐतिहासिक, संरचनात्मक, योजनागत विभेद, बजेटको सिण्डिकेटको घोर व्यङ्ग्यात्मक शब्द मात्रै थियो । संविधानको प्रस्तावनाले नै “समावेशिता, समानता, न्याय र संघीयताको आत्मा” बोकेको छ भने, नेपालको राज्य व्यवस्था यी चारवटा मूल्यबाट दिन दिनै विचलित हुँदै गएको स्पष्ट देखिन्छ । यस पृष्ठभूमिमा सिंहको भनाइलाई नकारात्मक कोणबाट हेर्नु भनेको लोकतन्त्रको सारलाई क्यान्सरले निल्न लागेको संकेतसँग मेल खान जान्छ ।

नेपालको संविधान २०७२ को धारा १८ ले प्रत्येक नागरिकलाई समानताको हक सुनिश्चित गरेको छ । तर जब बजेटको बाँडफाँडमा केही गुट विशेष, केही क्षेत्र विशेष मात्र लाभान्वित हुन्छन् र बाँकी भौगोलिक तथा जातीय समुदायहरूलाई विकासको लाभबाट विमुख गरिन्छ, त्यस्तो स्थितिमा यो समानताको अधिकारमाथि खुला हमला भएको मानिन्छ । जनताको करबाट उठेको राष्ट्रिय सम्पत्तिको वितरण त्यस्ता मापदण्डका आधारमा हुनुपर्छ जुन सार्वजनिक हितमा होस्, न कि व्यक्तिगत दलगत स्वार्थमा ।

अहिलेको परिप्रेक्ष्यमा हेर्दा, संसदमा बजेटमा क्षेत्रीय विभेदको आलोचना गर्नु सांसदको संवैधानिक दायित्व हो, जसलाई संसदीय विशेषाधिकार अन्तर्गत नियमावली तथा कार्यव्यवस्था निर्देशिकाले संरक्षण दिएको छ । संसदको पवित्र मञ्चबाट जनताको पीडा व्यक्त गर्नु राष्ट्रघात हो भने, अभिव्यक्तिको स्वतन्त्रता (धारा १७) लाई हामीले कहाँ राख्ने?
हाम्रो संविधानले राष्ट्रलाई “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक” राज्यको रूपमा परिभाषित गरेको छ, तर राज्यको कार्यशैली अझै पनि पहाड केन्द्रित, जातीय एकमुखी र सत्ता केन्द्रित रहेको विडम्बना हामीले संविधान जारी भएदेखि नै देखिरहेका छौं। संघीयता लागू भएको ९/१०वर्ष बितिसक्दा पनि विकास र बजेटको पहुँच सत्ताको वरिपरि घुमिरहेको अवस्था छ । यो ऐतिहासिक वञ्चनाको निरन्तरता मात्र हो ।

अमरेश सिंहको व्यंग्यीय प्रश्न एक गहिरो न्यायिक र दार्शनिक सन्देश बोकेको छ “If a nation serves only a few, is it still a nation for all?“ यो कानुनी सन्दर्भमा व्यजल च्बधकि को न्यायका सिद्धान्त (“John Rawls “) सँग मेल खान्छ, जसमा उनी भन्छ “Social and economic inequalities are to be arranged so that they are to the greatest benefit of the least advantaged“ तर नेपालमा न्यायका लाभहरू सधैं सत्तामा रहेका ठेकेदार/चापुलुसी/काठ्माण्डौका सत्ता केन्द्रित संसदहरुको जिल्लाहरूको हकमा मात्र केन्द्रित रहँदै आएको छ जसले च्बधकि को न्याय सिद्धान्त मात्र होइन, “substantive equality” को सिद्धान्तलाई पनि सदियौदेखी लट्याउदै आएको अवस्था विद्यमान नै छ ।

तथ्य के हो भने २०६२/६३ को जनआन्दोलनपछि संघीयता, समावेशिता, पहिचान र अधिकार भनेर जनताले आन्दोलन गरे, बलिदान दिए। त्यसको फलस्वरूप, थारु, मधेसी, जनजाति, दलित समुदायका प्रतिनिधिहरू संसद र सरकारमा त पुगे । तर ती प्रतिनिधित्वहरू केवल सिट सजावटको रूपमा सीमित भए र संरचनात्मक बजेट बाँडफाँडमा कुनै संसदको आवाज गुमाइयो भने कुनै संसदहरुलाई सत्ता मोहको ललिपाँप देखाएर टेबल ठोक्न र ताली बजाउन बाध्य बनाईयो। यस्तो अवस्थामा, कोही एक सचेत सांसदले जब “लिजमा दिनुपर्ने” व्यंग्य गर्दछन्, त्यो बर्बरता विरुद्धको आवाज हो, न कि राष्ट्रघात।

“राष्ट्र“को परिभाषा केवल भू–भाग होइन, त्यो त न्यायपूर्ण सहभागिता, सम्मान र समान अवसरहरूको जालो हो । यो कुरा नेपालका संविधान निर्माताले पनि बुझेका थिए, त्यसैले संविधानमा “समाजवाद उन्मुख राज्य“, “न्याय“, “समानता“, “संघीयता“ लेखिएको छ। तर व्यवहारमा यो शासन प्रणाली अझै पनि ग्लष्तबचथ कजबमयध या अभलतचबष्शिबतष्यल मा फसेको छ । अनि यस्तो यथार्थमा यदि अमरेश जी ले सांसद रोष्टम भित्र “४/५ जिल्लामा मात्र बजेट पार्ने हो भने बाँकी जिल्लालाई अन्य कुनै देशलाई लिजमा देऊ” भन्ने शब्द बोल्छन भने त्यो भाषण मात्र होइन, संविधानको आत्मा माथिको घाउमा लगाइएको औषधि थियो, सदियौ देखी अन्याय खेप्दै आएका उपेक्षित उत्पिडित वर्ग समुदायको चिच्याहत थियो, आलोचना थियो, नीति निर्माणको असमानतालाई उठाउने प्रश्न थियो, प्रत्येक सांसदहरूले राष्ट्रिय हित, जनताका पीडा, असमानता र नीति निर्माण सम्बन्धी विषयमा स्वतन्त्र रूपमा धारणा राख्न सक्ने संवैधानिक एवं कानुनी अधिकार थियो । तर विडम्बना सभामुख देवराज घिमिरे जी ले डा.सिंह जी को उक्त अभिव्यक्तिलाई राष्ट्रघातको ट्याग दिएर अभिलेखबाट हटाउने आदेश दिए जुन आदेश न केवल असंवैधानिक थियो, त्यो संसदको कार्यकारी स्वतन्त्रता, जनप्रतिनिधिको अभिव्यक्ति स्वतन्त्रता, र संसदलाई जनताको आवाजको थलो मान्ने संवैधानिक मान्यतामाथिको खुलेआम हमला थियो । यदि संसद भित्र त्यसतो अभिव्यक्ति निषेध हुन्छ भने, संविधानको प्राण त सत्ताकै लाचार गुलाम बनेको छ भन्ने कुराको धारणा राखिराख्नु कुनै ठूलो कुरो होइन ।

संसद कुनै सत्ता संरचना मात्र होइन, त्यो त जनताको चेतनाको प्रतिबिम्ब हो । यदि संसद जनताको पीडा बोल्ने ठाउँ हुन सक्दैन भने, त्यो संसद होइन, त्यो त शासकहरूको प्रशंसा मञ्च मात्र हुनेछ । हामी सबैलाई थाहा छ की संसद जनताको आवाज उठाउने थलो हो, त्यो कुनै “सत्ताको आत्मप्रशंसा गर्ने सभा” होइन । यदि कुनै सांसद बजेट सिण्डिकेटको विरोधमा बोल्छ भने त्यो शब्द राष्ट्रघात होइन, राष्ट्रप्रेमको चरम रुप हो र अंग्रेजीमा एउटा भनाई पनि छ । ”Speaking truth is not a treason but Silence in the face of injustice is treason” अर्थात सत्य बोल्नु राष्ट्रघात कदापी होइन तर अन्यायको सामना गर्दा मौन बस्नु राष्ट्रघात हो । राष्ट्रघात त तब हुन्छ जबः राज्यले नागरिकलाई दोश्रो दर्जाको बनाउँछ, संसदको आवाजलाई सत्ताको आदेशमा मेटाईन्छ, संविधानका मर्महरुलाई दिनका दिन लट्याईन्छ । आजको सत्य कुरो के हो भने, यदि संसदको रोष्टममा अमरेश जी जस्ता बोल्नेहरू भएनन् भने, संसद केवल बत्ती बल्ने सभा हुनेछ । अमरेश जी को हिजोको त्यो बुलन्द आवाज कुनै एक क्षेत्रको मात्र होइन, त्यो त सबै वञ्चित, उत्पीडित वर्ग समुदायको साझा चिच्याहट थियो । “The truth may hurt for a little while, but a lie hurts forever” अमरेश जी को हिजोको अभिव्यक्ति सत्य थियो, तातो थियो, तीखो थियो, न्यायसंगत थियो । अब यो राज्यले निर्णय गर्नुपर्छ की “सत्य सहने कि अन्याय हटाउने?।

पटेर्वा सुगौली गाउँपालिकाको ४१ करोडको बजेट सार्वजनिक, कृषि र पूर्वाधारमा विशेष जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सोमबार गाउँपालिका–४ स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न १३औं गाउँसभा अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले आगामी वर्षको अनुमानित आय–व्यय विवरणसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

गाउँपालिकाले ल्याएको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, उद्यमशीलता लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताका अनुसार “एक गाउँ एक उद्यम कार्यक्रम” सञ्चालन गरिने, सामुदायिक विद्यालयहरूमा “खेल्दै सिक्दै कार्यक्रम” लागू गरिने, आधारभूत अस्पतालको सेवा गुणस्तरीय बनाइने र कृषि सिंचाइका लागि पोल तार तथा ट्रान्सफर्मरको व्यवस्था गरिने उल्लेख छ।

त्यसैगरी, पशु बीमालाई निरन्तरता दिने, अर्गानिक कृषि प्रवर्द्धन गर्ने, कृषि उपजको बजारीकरण गर्ने तथा मुख्य सडकहरू कालोपत्रे गरिने जस्ता योजना पनि बजेटमा समावेश छन्।

गाउँपालिका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ममता महत्तो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, पाँचै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

पोखरिया नगरपालिकाले सार्वजनिक गर्‍याे ४४ करोड ४० लाखको बजेट

पोखरिया । पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ४४ करोड ४० लाख २७ हजार ४ सय ४८ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । सोमबार पोखरिया–४ स्थित प्राचीन शिव मन्दिरको धर्मशालामा आयोजित नवौं नगर सभाबाट सर्वसम्मत रुपमा बजेट प्रस्तुत गरिएको हो ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा बजेट बुक उपप्रमुखको हस्तान्तरणपछि प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले बजेट प्रस्तुत गरेका थिए ।

बजेटमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १० करोड ५९ लाख, सशर्त चालु अनुदान २० करोड २१ लाख, सम्पूरक अनुदान ५० लाख, विशेष अनुदान १ करोड १३ लाख र राजस्व बाँडफाँड ९ करोड २८ लाख २७ हजार ४ सय ४८ रहेकाे छ ।

बजेट सार्वजनिक कार्यक्रममा वडाध्यक्षहरू प्रमोद गिरी, केदार महतो चाई, रामप्रवेश प्रसाद चौहान, लक्ष्मण साह कानु, महेन्द्र महतो चाई, सिमानन्द चौहान, प्रमानन्द पटेल, किसोरी साह तेली, नौसाद आलम, सोनालाल गोढ, साथै कार्यपालिका सदस्य, समाजसेवी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा पोखरिया नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई मुल्याङ्कनको आधारमा कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण शिव पटेल र भगवान प्रसाद साह कानुले गरेका थिए ।