Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
Home Blog Page 203

बिपिएस प्लस २ कलेजमा दन्त परीक्षण शिविर सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ९ स्थित बिपिएस प्लस २ कलेजमा शुक्रबार विशेष दन्त परीक्षण शिविर सम्पन्न छ । एभरेष्ट दन्त सेवा केन्द्र प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत करिब २०० विद्यार्थीको दन्त स्वास्थ्य परीक्षण गरिएको हो ।

डा. मनोज कुमार उपाध्याय, डा. पूजा सर्राफ र डा. चन्द्रकान्त पासवान नेतृत्वको चिकित्सक टोलीले परीक्षणका क्रममा ८० जना विद्यार्थीमा गिजा सुन्निने, दाँतबाट रगत आउने, र किराले खाएको जस्ता समस्या देखिएको बताएका छन् । समस्याग्रस्त विद्यार्थीलाई थप उपचारका लागि क्लिनिकमा बोलाइएको छ भने, उनीहरूलाई २५ प्रतिशत छुट प्रदान गरिने जानकारी पनि दिइएको छ ।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा दन्त स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्नु रहेको बताउँदै चिकित्सक टोलीले यस्तो जनचेतनामूलक प्रयासलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

कार्यक्रमको समापनमा कलेजका डाइरेक्टर दीपक पटेलले धन्यवाद ज्ञापन गर्दै बालबालिकाको समग्र स्वास्थ्यमा दन्त स्वास्थ्यले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । साथै, उनले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा डाइरेक्टर पटेलसहित कलेजका सन्दीप कुशवाहा, चिकित्सक टोली, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

चुरे मोडलको अध्ययनपछि वीरगंजमा दीर्घकालीन खानेपानी समाधानको आशा

वीरगंज । वीरगंज महानगरपालिकाले दीर्घकालीन रूपमा खानेपानी संकट समाधान गर्ने लक्ष्यसहित चुरे क्षेत्रको जलस्रोत संरक्षणका उपायमा चासो देखाएको छ । यसै उद्देश्यले महानगरले अध्ययन र अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरेको हो ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहजीकरणमा वीरगंज महानगरको एक प्रतिनिधि टोलीले बिहिबार जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जको कर्मकुमारी खानेपानी तथा उपभोक्ता समितिको सफल मोडलको अवलोकन गरेको हो । सो मोडल अन्तर्गत २४ लाख लिटर क्षमताको भूमिगत ट्यांकी निर्माण गरी चुरे क्षेत्रको पानी संकलन, प्रशोधन तथा वितरण गरिएको छ, जसबाट ८८७ घरधुरीले नियमित रूपमा पानी सेवा पाइरहेका छन् ।

वडाध्यक्ष नारायण लामिछाने मगरका अनुसार, खोला क्षेत्रको सतहमा निर्माण गरिएको ट्यांकीबाट ६ इन्चको पाइपमार्फत ५ किलोमिटर टाढा रहेको प्रशोधन केन्द्रसम्म पानी पुर्‍याइन्छ, जहाँबाट प्रशोधित पानी १ इन्चको पाइपमार्फत उपभोक्तासम्म पु¥याइन्छ।

यस मोडलबाट प्रेरित भएर वीरगंज महानगरले बेलवा क्षेत्रको भेडाहा खोलानजिकै पोखरी तथा बाँध निर्माण गरी बर्सेनि चुरेबाट बग्ने पानीलाई संकलन गर्ने योजना अघि सारेको छ । यसले जमिन मुनिको पानीको तह सुधार्ने र चापाकलमा पानीको उपलब्धता बढाउने विश्वास गरिएको छ।

महानगर प्रमुख राजेशमान सिंहले बताएअनुसार, “अब चुरेको पानी खेर जान दिने छैनौं। संरक्षण गरेर त्यसलाई सदुपयोग गर्ने दीर्घकालीन योजना अघि बढाउँदैछौं।”

कार्यक्रममा चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेल, नगर प्रहरी प्रमुख हरी भुसाल, इन्जिनियर अनिल सिन्हा, विभिन्न कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

महानगरले चुरे मोडलबाट सिकेर खानेपानीको समस्या समाधान गर्ने आशाजनक संकेत दिएको छ, जसले वीरगंजबासीका लागि दीर्घकालीन राहत ल्याउने अपेक्षा गरिएको छ।

‘तराई–मधेसमा ‘डिपवाटर एक्फर’ आवश्यक छ ’ : डा. पौडेल

वीरगंज । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले तराई–मधेसमा भूमिगत रूपमा २५० मिटर गहिराइमा डिप बोरिङ जडान गरिएमा पर्याप्त मात्रामा पानी उपलब्ध हुने जानकारी दिनुभएको छ ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगञ्जद्वारा आज यहाँ आयोजित बृहत् वृक्षरोपण कार्यक्रममा उहाँले तराई मधेसका जिल्लामा एक सय देखि १५० मिटर गहिराइमा पानीको पर्याप्त स्रोत नभएकाले पनि कम्तीमा पनि २५० मिटर गहिराइका ‘डिपवाटर एक्फर’ मार्फत बोरिङ गरेमा पर्याप्त मात्रामा भूमिगत पानी निकाल्न सकिने बताउनुभएको हो ।
“यहाँ विशेषगरी एक सयदेखि १५० मिटर बोरिङ गरेर भूमिगत पानी तान्ने गरिएको देखिन्छ । तर,यहाँ जमिनमुनिको १५० मिटरको गहिराइमा पर्याप्त मात्रामा पानीको भण्डारण रहेको छैन,” उहाँले भन्नुभयो, “ विगत ५० वर्षदेखि २५० मिटर गहिराइको भूमिगत पानीको मात्रा जस्ताको तस्तै रहिरहेको छ । तर, हाम्रो छिमेकी मुलुक भारतले २ ५० मिटर गहिराइको पानीको उपयोग गरेपनि नेपालले भने सो सतहको पानीको उपयोग गर्न सकिरहेको छैन । अब हामीले खानेपानी र सिँचाईको लागि कम्तिमा पनि दुई सय ५० मिटर गहिराईको सतहबाटै पानी निकाल्नुपर्ने हुन्छ ।’’
समितिका अनुसार दुई सय मिटर सम्मको गहिराईको भूमिगत पानीको सतहलाई ‘स्यालो वाटर एक्फर’ भन्ने गरिन्छ  भने दुई सय ५० मिटरको गहिराईको भूमिगत पानीको सतहलाई ‘डिप वाटर एक्फर’ भन्ने गरिन्छ ।
अध्यक्ष पौडेलले दुई सय ५० मिटर गहिराईका डिप बोरिङको खर्च तुलनात्मक रूपमा बढी भएपनि यस्ता खालका बोरिङ बढी प्रभावकारी हुने दावी गर्नुभयो । ‘‘भूमिगत पानीको सतह छिमेकीमुलुक भारत र नेपालको उस्तै खालको छ । २५० मिटरभन्दा गहिराईको पानी भारतको तर्फबाट प्रयोग भइरहेका छन्,’’ उहाँले भन्नुभयो,‘‘,हाम्रो नेपालको तर्फबाट गरेका छैनौ । यद्यपी हामीले थोरै मिटरको गहिराईमा पानी खनेर यहाँ भूमिगत पानी छैन भनिरहेका छौं ।’’
अध्यक्ष पौडेलले महानगर लगायतका अन्य निकायले ठूला खालका डिप बोरिङ खन्दा कम्तिमा पनि दुई सय ५० मिटर मुनिबाट बोरिङ खन्ने कामलाई प्रोत्साहन गर्न जरुरी भएको बताउनुभयो ।
‘‘तराई–मधेसमा देखिएको खानेपानी र सिँचाईको संकट रोक्नका लागि सबैले हातेमालो गरेर चुरे संरक्षणमा ध्यान दिन जरुरी भइसकेको छ,’’ उहाँले भन्नुभयो ।
अध्यक्ष पौडेलले तराई–मधेसमा यो वर्ष पानी कम परेर र पानीको उपयोग बढी गरेर पनि यहाँ विगत केही वर्षदेखि पानीको समस्या सिर्जना भएको बताउनुभयो । ‘‘हामीले पानीको पुर्नभरणमा जे गर्नुपर्ने हुन्थ्यो । सो पर्याप्त मात्रामा गर्न सकिरहेका छैनौं,’’ उहाँले भन्नुभयो,‘‘हाम्रो मानवीय तर्फबाट र प्रकृति दुवैतर्फबाट समस्या भइरहेको छ ।’’
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति,खानेपानी /सिँचाईसँग सम्बन्धित सङ्घ–संस्थाले चुरेक्षेत्रभित्र जुनसुकै बेला परेको पानीलाई भूमिगत रूपमा संरक्षण गर्नका लागि विभिन्न खालका पोखरी तथा तालतलैया बनाउन  जरुरी रहेको  उहाँले बताउनुभयो ।
‘‘अहिले चुरे क्षेत्रमा पानी संरक्षण गर्ने निकै कम पोखरी रहेका छन् । ससाना गल्छीहरू बनाउनुपर्‍यो । विभिन्न खालका खहरे खोलाको पनि पानी रोकेर जमिनमुनि पुर्नभरण हुने व्यवस्था गर्न अपरिहार्य भइसकेको छ ।’’ उहाँले भन्नुभयो ।
समितिका अध्यक्ष पौडेलले सहरी क्षेत्रमा  आफ्नो घरवरपर अकाशे पानी पुर्नभरणको लागि आवश्यक संरचना बनाउन पनि जरुरी रहेको बताउनुभयो ।‘‘यहाँका स्थानीय तहले नक्सापास गर्दा अनिवार्य रूपमा अकाशेपानी पुर्नभरण गर्नका लागि आवश्यक संरचना बनाउनुपर्ने खालका दीर्घकालिन नीति पनि अवलम्वन गर्न जरुरी छ,’’ उहाँले भन्नुभयो,‘‘यस्ता खालका सकारात्मक कार्यले पनि भविष्यमा पानीको संरक्षणमा महत्वपूर्ण  योगदान पुर्‍याउनेछ ।’’ अध्यक्ष पौडेलले पछिल्लो समय वीरगञ्जमा घनावस्ती र जताततै सडक कालोपत्रे भएकाले पनि प्राकृतिक रूपमा पानीको पुर्नभरण हुन नसकिरहेको बताउनुभयो ।
‘‘अहिले त अकाशेपानी पनि ढलबाट हुँदै नदीमा बग्दै गइरहेको छ । त्यसैले घरवरपर पानी सोस्ने काम पनि बन्द भइरहेको छ । हाम्रो वरपर सोस्ने पानीको मात्रा पनि घटिरहेको छ ।  भूमिगत पानी पुर्नभरण गर्ने काममा पनि पछिल्लो समय असहयोगी हुँदै आइरहेका छौं,’’ उहाँले भन्नुभयो,‘‘हामीले पानी संरक्षण गर्ने आनीबानीमा पनि सुधार गर्दै जानुपर्छ । घरभित्रबाटै महानगरले नक्सापास गर्दा पनि घरवरपर नै पानी सोस्ने खालको पनि वातावरण तयार पार्न जरुरी भइसकेको छ ।’’
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पनि वीरगञ्ज महानगरमा देखिएको पानीको संकट समाधानको लागि तत्कालिन र दीर्घकालिन योजनाको विषयमा आवश्यक काम गर्दै आइरहेको दावी गरे ।‘‘महानगरले पानीको अल्पकालिन समाधानको लागि ट्याङ्करमार्फत पानी वितरण गर्दै आइरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘दीर्घकालिन समाधानको लागि पनि आवश्यक काम गर्दै आइरहेका छौं ।’’
ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्ज आसपासमा विगत लामो समयदेखि वृक्षरोपण कार्यलाई प्रथामिकता राख्दै आइरहेको बताउनुभयो ।‘‘हामीले यहाँका खाली भएका ठाउँमा नियमित रूपमा वृक्षरोपण गर्दै आइरहेका छौं,’’ उहाँले भन्नुभयो,‘‘यसले पक्कै पनि केही समयपछि प्रतिफल दिने विश्वास लिएका छौं ।’’ रासस

पर्सा र बाराका १२ विद्यालय ‘नमुना विद्यालय’ मा छनोट

वीरगंज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले देशभरका उत्कृष्ट विद्यालयहरूमध्येबाट छनोट गर्दै ‘नमुना विद्यालय’ घोषणा गरेको छ । मन्त्रालयद्वारा हालै सार्वजनिक गरिएको सूची अनुसार मधेश प्रदेशका आठवटै जिल्लाबाट ६५ विद्यालय छनोट गरिएका छन्, जसमा पर्सा जिल्लाका ५ र बारा जिल्लाका ७ विद्यालय परेका छन् ।

‘नमुना विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि, २०८२/८३’ अनुसार आधुनिक पूर्वाधार, प्रविधिमैत्री वातावरण र समावेशी शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले ती विद्यालयलाई उदाहरणीय शिक्षालयको रूपमा विकास गरिनेछ ।

पर्सा जिल्लाबाट वीरगंज महानगरपालिका श्री नृसिंह माध्यमिक विद्यालय, पिपरामठ, पाेखरिया नगरपालिकाकाे श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार मा.वि., बहुदरमाई नगरपालिकाकाे देवनन्दन देवराज मा.वि., रामनगरी, ठाेरी गाउँपालिकाकाे श्री सरस्वती माध्यमिक विद्यालय, गौतमनगर र सखुवा प्रसाैनी गाउँपालिकाकाे श्री दीपनारायण आदर्श मा.वि., औरहा पर्न सफल भएका छन् ।

यसैगरी बाराबाट जितपुर सिमरा उपमहानगरपालिकाकाे श्री ने.रा. मा.वि., जितपुर, श्री ने.रा. मा.वि., बकुलिया, आदर्शकाेत्वाल गाउँपालिकाकाे श्री रामचरित्र मा.वि., जयनगर, निजगढ नगरपालिकाकाे श्री गौरीशंकर मा.वि., महागढीमाई नगरपालिकाकाे श्री गढीमाई महेन्द्र मा.वि., बरियारपुर, कलैया उपमहागरपालिकाकाे श्री दुर्गा मा.वि. सेवा, बैरिया र काेल्भी नगरपालिकाकाे श्री ने.रा. मा.वि., सपही – कोल्हवी परेकाे छ ।

मन्त्रालयका अनुसार अब यी विद्यालयहरूमा डिजिटल शिक्षण प्रणाली, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलमैदान, बालमैत्री शौचालय, सुरक्षित खानेपानी र हरित वातावरण जस्ता पूर्वाधार निर्माणमा प्राथमिकता दिइनेछ।

शिक्षा क्षेत्रको समग्र सुधारको दीर्घकालीन लक्ष्यसहित सरकारले अघि बढाएको यो कार्यक्रमले सार्वजनिक विद्यालयप्रतिको जनविश्वास बढाउने अपेक्षा गरिएको छ। स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको सक्रिय सहभागिता पनि कार्यक्रम सफलताको मुख्य आधार मानिएको छ ।

पर्सागढी–६ का वडाध्यक्ष कलवार कार्यालयमा नबस्दा सेवाग्राही हैरान

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नवल किशोर प्रसाद कलवार नियमित रूपमा वडा कार्यालयमा नबस्दा सेवाग्राही हैरान भएका छन् । नागरिकहरूले दैनिक रूपमा पर्ने आवश्यकीय सेवाहरूका लागि कार्यालय जाँदा वडाध्यक्ष अनुपस्थित हुने गरेको गुनासो गरेका छन् ।

स्थानीय बासिन्दाहरूका अनुसार कलवार वडा अध्यक्षमा निर्वाचित भएदेखि अहिलेसम्म नियमित रूपमा कार्यालयमा नबसेको र जनप्रतिनिधिको अभावले सेवाप्रवाहमा गम्भीर समस्या आएको छ । नागरिकता सिफारिस, जन्म–मृत्यु दर्ता, घर जग्गासम्बन्धी प्रमाणपत्रजस्ता काममा सेवाग्राहीले घण्टौं कुर्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।

सेवाग्राहीका अनुसार वडाध्यक्ष कलवारसंग कुनै काम गराउनु परे उनकाे घरमा जानु पर्छ । नत्र फाेन गरेर उनी भएकाे ठाउँमा जानु पर्छ । कहिले काँही फाेन समेत नलागेपछि समस्या हुने गरेकाे छ ।

त्यसैगरी, स्थानीयबासीले विकास निर्माणका कामहरू पनि सुस्त भएको आरोप लगाएका छन् । “वडामा सडक, नाला, खानेपानी र सरसफाइसम्बन्धी समस्याहरू थुप्रै छन्, तर वडाध्यक्षले कुनै चासो नदिएको देखिन्छ,” एक स्थानीय युवाले बताए ।

एक महिला सेवाग्राही भन्छिन्, “हामी वडा कार्यालय गएका थुप्रैपटक वडाध्यक्षको कुर्सी रित्तो पाएका छौं । जनप्रतिनिधि भनेपछि त जनताको सेवा गर्ने हो, तर यहाँ जनताको कामभन्दा उनीहरूलाई आफ्नै स्वार्थ महत्त्वपूर्ण लागिरहेको देखिन्छ ।”

स्थानिय प्रमाेद यादवले आफु नागरिकता सिफारिसकाे लागि वडा कार्यालयमा पुग्दा वडाध्यक्षसंग भेट नभएकाे गुनासाे गरे । उनले भने “वडाध्यक्ष ज्युलाई कार्यालय समयमा वडा कार्यालय बस्नु पर्थियाे तर उहाँ बस्नु हुनन् त्यहीँ भएर समस्या भएकाे हाे ।”

स्थानिय महिला पतिया देवीले आफ्नाे जेष्ठ नागरिक भत्ताकाे लागि सिफारिस गराउन वडाध्यक्ष कहाँ ६ महिनादेखि धाउँदा पनि नगरिदिएकाे गुनासाे गरिन । उनले भनिन “वडाध्यक्षले सिफारिस नगरिदिएकाे गुनासाे जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गर्दा पनि हुन सकेन ।”

वडाबासीहरू वडाध्यक्षप्रति गम्भीर असन्तुष्टि जनाउँदै, मिडिया मार्फत नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । उनीहरूले वडा स्तरमा सेवा प्रवाहमा पारदर्शिता, नियमित उपस्थिति, र जिम्मेवार व्यवहार सुनिश्चित गर्न माग गरेका छन् ।

यता वडाध्यक्ष नवल किशोर प्रसाद कलवारले विपक्षीहरुले मिडियाबाजी गरेकाे वताए । उनले भने “जसलाई समस्या भएकाे छ उसले सिधै आफुसंग सम्पर्क गर्न भन्नुस । आफुसंग भेटनु परे वडा कार्यालयमा आउदा फाेन गरेर आउनु ।” उनले कले के भन्याे मलाई केही थाहा छैन भन्दै गैर जिम्मेवापूर्ण जवाफ दिए । .

जनमत पार्टी प्रतिकाे आकर्षण : वीरगंजका दर्जनौं युवा र महिलाहरु गरे प्रवेश

वीरगंज । जनमत पार्टी पर्साले पार्टी विस्तार अभियानअन्तर्गत वीरगंजका विभिन्न वडाका युवाहरू र महिलाहरूलाई सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेको छ । जिल्ला पार्टी कार्यालयमा आयोजित नियमित पार्टी प्रवेश कार्यक्रममा दर्जनौं नयाँ सदस्यहरू जनमत पार्टीमा आबद्ध भएका हुन् ।

प्रवेश गर्नेहरूमा वीरगंज –१४ का राकेश कोइराला, वीरगंज–७ का उज्ज्वल लामा, वीरगंज–४ का राजु बस्नेत, वीरगंज–२४ का देवशंकर यादव, रोहित गिरि, प्रदीप यादव, वीरगंज–९ का अब्दुल आलम, वीरगंज–१६ का रोहित यादव, वीरगंज–११ का मो. शारुख, वीरगंज–१२ का मनोज साह, छिपहरमाई गाउँपालिका–३ का चन्देश कुमार लगायत दर्जनौं प्रभावशाली युवाहरू रहेका छन् ।

त्यसैगरी, वीरगंज–१४ की नीतु देवी, रीमा देवी, सरिता देवी, प्रमिला कुमारी देवी, सुमन कुमारी देवी, सुनिता देवी पटेल, पुनम पटेल लगायत १२ जना महिलाहरूले पनि जनमत पार्टीको सदस्यता ग्रहण गरेका छन् ।

कार्यक्रममा जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, रम्भा मिश्रा, प्रदेश सदस्य राजनारायण मिश्राले नयाँ सदस्यहरूलाई पार्टी सदस्यता वितरण गर्दै स्वागत गरेका थिए ।

कार्यक्रममा जनमत पार्टीका महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, सचिव लोकेश कर्ण, क्षेत्रीय संयोजक गगन देव यादव, महानगर युवा संयोजक संजय सिंह तथा युवा नेताहरू निरञ्जन कुशवाहा, रोशन शाही, सहनवाज राकी, बिजेन्द्र यादव, युवराज सिंह, गौरी शंकर पटेल, नितिम गिरि, रिना पटेल लगायतको उल्लेखनीय उपस्थिति थियो ।

पार्टीका नेताहरूले नयाँ प्रवेशकर्ताहरूको आगमनले पार्टीमा नयाँ ऊर्जा थपिएको बताउँदै जनतामाझ जनमत पार्टीको प्रभाव झनै विस्तार हुँदै गएको उल्लेख गरेका थिए । पार्टीले आगामी दिनमा अझ व्यापक रूपमा संगठन विस्तार र जनसरोकारका मुद्दामा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेको छ ।

वीरगंजमा वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगंज । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर (चितवन) र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगंजको संयुक्त आयोजनामा बिहिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिकाकाे वडा नं. १६ स्थित वैष्णवी मन्दिर चौकदेखि नयाँ बसपार्कसम्मको सडक किनारमा ७० भन्दा बढी विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । रोपिएका बिरुवाहरूको संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) समेत जडान गरिएको छ ।

ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक पुरनचन्द्र भट्ट, ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख प्रहरी निरिक्षक लोकराज भट्ट, डा. किरण पौडेल, भारतीय महावाणिज्यदूतावासका डी.एस. मिना लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख सिंहले वृक्षारोपण कार्यक्रमलाई हरियाली विस्तार र वातावरण संरक्षणतर्फको दीर्घकालीन प्राथमिकता बताए । “आजको अभियान केवल बिरुवा रोप्ने होइन, समुदाय, प्रहरी र नागरिकको सहकार्यले वातावरणप्रेमको प्रतिबिम्ब पनि हो”, उनले भने ।

कार्यक्रममा स्थानीयबासी, प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सञ्चारकर्मी, आजीवन सदस्य तथा अन्य सामाजिक अगुवाहरूको सक्रिय सहभागिता देखिएको थियो ।

वडा सदस्य हकहित संरक्षण समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाका वडा सदस्यहरूको अगुवाइमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

महानगरपालिका कार्यालयको प्रांगणमा वडा सदस्य हकहित संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा वडा सदस्य, नगर प्रहरी र महानगरका कर्मचारीहरुले रक्तदान गरेका हुन् ।

कार्यक्रमको उद्घाटन वीरगंज महानगर प्रमुख राजेशमान सिंहले गरेका थिए । उनले रक्तदानलाई संसारकै सबैभन्दा ठूलो पुण्यको कार्य भन्दै, गर्मीको कारण घट्दो रक्तदानप्रति चिन्ता व्यक्त गरे । मेयर सिंहले रगतकै अभावमा कसैको ज्यान जोखिममा नपरोस् भन्नका लागि प्रत्येक नागरिकले यस्ता अवसरमा रक्तदान गर्नुपर्ने आवश्यकता औँल्याए ।

हाल वीरगंजस्थित रक्त सञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ । गर्मी बढेसँगै नियमित रक्तदान कार्यक्रमहरू घट्दै जाँदा अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । यही अवस्थालाई ध्यानमा राख्दै वडा सदस्यहरूको पहलमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।

वडा सदस्य हकहित संरक्षण समितिका अध्यक्ष शर्मा सरभंगको अध्यक्षतामा भएकाे कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख प्रतिज्ञा वैद्य, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, नगर प्रहरी प्रमुख हरि भुजेल लगायतको उपस्थिति रहेको थियो ।

कलैया उपमहानगरपालिकालाई शिक्षा सुधारका लागि सुझावपत्र हस्तान्तरण

कलैया । विद्यालय शिक्षालाई समावेशी, उत्तरदायी र गुणस्तरीय बनाउन नागरिक समाजको साझा पहल ‘मधेश सिकाइ समूह–२’ ले तयार पारेको सुझावपत्र कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। कारखाना समूहअन्तर्गत शिक्षा जवाफदेहिताका लागि क्रियाशील नागरिक समाज संगठनहरूको समूहले आयोजना गरेको दुई दिने कार्यशालाबाट तयार पारिएको सो सुझावपत्र उपमहानगर प्रमुख विनोद प्रसाद साह, उपप्रमुख रोशन प्रविन र शिक्षा शाखा प्रमुख राजीव कुमार यादवलाई हस्तान्तरण गरिएको हो।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकका आधारमा तयार गरिएको सुझावपत्रमा विद्यालय शिक्षा क्षेत्र योजना २०८०/८१ देखि २०८९/९० सम्मको अवधिमा आवश्यक परिमार्जन र सुधारका विश्लेषणात्मक सिफारिसहरू समावेश गरिएको छ। सुझावपत्र तयार पार्ने क्रममा स्थानीय तहको शिक्षा योजना विश्लेषण रूपरेखा र राष्ट्रिय विद्यालय शिक्षा क्षेत्र योजना २०२२/२३–२०३१/३२ का सूचकहरूको समेत अध्ययन र विश्लेषण गरिएको थियो।

सुझावपत्रमा समावेशी शिक्षालाई प्राथमिकता दिनु पर्ने, सिमान्तकृत बालबालिकाका लागि लक्षित बजेट र कार्यक्रम सुनिश्चित गर्नु पर्ने, दिवा खाजा अवधिमा अपाङ्गता भएका बालबालिकाका लागि विद्यालयमा सुरक्षित व्यवस्था गर्नुपर्ने, शिक्षक संख्या र भौतिक पूर्वाधारको सन्तुलन मिलाउनुपर्ने जस्ता विषय उठाइएको छ। साथै, सिपमूलक तथा जीविकोपार्जनमुखी कार्यक्रम सञ्चालन, मानवअधिकारका दृष्टिले शिक्षालाई व्याख्या गर्दै योजना निर्माणमा स्पष्ट समावेश गर्ने, र राष्ट्रिय शिक्षा नीतिसँग अभिसरण हुने गरी स्थानीय योजनामा आवश्यक संशोधन गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ।

कार्यक्रममा मधेश सिकाइ समूह–२ का संयोजक निरज मिश्रले प्रस्तुत सुझाव कार्यान्वयनमा आएमा विद्यालय शिक्षाको समावेशिता, गुणस्तर र उत्तरदायित्व थप मजबुत हुने विश्वास व्यक्त गरे। पालिकाका प्रतिनिधिहरूले समेत नागरिक समाजबाट आएका सुझावहरूलाई स्वागत गर्दै आगामी शैक्षिक योजना निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

ट्राफिक प्रहरीलाई ७ सय थान कालो चस्मा वितरण, कार्यक्षेत्रमा सहजता पुर्‍याउने उद्देश्य

सर्लाही । बढ्दो गर्मी, घाम र धूलोका कारण कार्यक्षेत्रमा सास्ती भोगिरहेका ट्राफिक प्रहरीलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत ७ सय थान कालो चस्मा वितरण गरिएको छ। चस्मा वितरण कार्यक्रम ईश्वरपुर नगरपालिकाका प्रमुख तथा आँखा उपचार केन्द्रका अध्यक्ष मनोज आचार्यको अध्यक्षतामा सम्पन्न भयो।

संघमार्फत प्राप्त चस्मा ईश्वरपुरस्थित आँखा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक राजकुमार सिलवाल थिए। साथै पर्सा जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्ट, मधेस प्रदेशका आठै जिल्लाका ट्राफिक प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, तथा अन्य अतिथि तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै सभापति चौधरीले भने, “पूर्व–पश्चिम राजमार्ग पुनर्निर्माणका कारण ट्राफिक प्रहरीको काम झनै चुनौतीपूर्ण बनेको छ। त्यसैले मधेसभरका ट्राफिक प्रहरीलाई चस्मा वितरण गरिएको हो। यो अभियान आगामी वर्षहरूमा पनि निरन्तर हुनेछ।”

प्रहरी उपरीक्षक सिलवालले चश्माले प्रहरीलाई गर्मी, धूलो र आँखाको समस्याबाट जोगाउन सहयोग गर्ने बताए। नगरप्रमुख आचार्यले नागरिकको सुरक्षामा खटिने ट्राफिक प्रहरीप्रति स्थानीय सरकारको समर्थन आवश्यक रहेको बताए।

११ लाख बराबरका स्वास्थ्य सामग्री पनि हस्तान्तरण

कार्यक्रमकै अवसरमा भरतपुर आँखा अस्पतालले ईश्वरपुर नगरपालिकालाई ३१ प्रकारका करिब ११ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

त्यसैगरी, संघका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्के, मधेस प्रदेश सभापति रविन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, र चार्टर्ड एकाउन्टेन्ट देवराज पन्तलाई नगरपालिकाले विशेष सम्मान प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख शुगेन्द्र महतोले जानकारी दिए।