Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
Home Blog Page 194

जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलविरुद्ध कारबाहीको माग गर्दै धर्ना

जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको मागसहित पत्रकारहरूले आज धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषाको मूल गेट अगाडि बिहान ११ बजेदेखि धर्ना सुरु गरेका हुन्। उनीहरूले “आक्रमण गर्ने वकिललाई कारबाही गर”, “प्रेस स्वतन्त्रताको रक्षा गर”, “पत्रकारलाई सुरक्षा देऊ” लगायतका नारा लेखिएका प्लेकार्डसहित विरोध जनाएका थिए।

गत साउन २७ गते गुठी संस्थानबाट कानुनी प्रक्रिया पूरा गरी महासंघले लिजमा लिएको ४ कठ्ठा जग्गा संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहितका वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए।

आक्रमणमा संलग्न वकिलहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै पत्रकारहरूले निरन्तर दबाबमूलक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ बाट पत्रकार क्रान्ति शाह पुरस्कृत

वीरगन्ज । स्व.सुबोध स्मृति पत्रकारीता पुरस्कार वीरगन्जका पत्रकार क्रान्ति शाहलाई प्रदान गरिएको छ ।

वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको ५१ हजार रुपैयाँ राशीको पुरस्कार मधेस खबरका अध्यक्ष तथा अन्नपूर्णपोष्टका पर्सा संवाददाता शाहलाई प्रदान गरिएको हो ।आइतबार आयोजित प्रतीक दैनिक पत्रिकाको ३९ औं वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकार शाहलाई प्रमाणत्रसहित उक्त पुरस्कार प्रदान गरे ।

प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।गत साउन १७ गते बसेको बसेको प्रतीक प्रकाशन समुहको बैठकले यसवर्षको स्व. सुबोध स्मृति पत्रकारीता पुरस्कार शाहलाई दिने निर्णय गरेको थियो ।

यस्तै प्रतीक प्रकाशन समुहको वार्षिकोत्सव समारोहमा प्रतीक दैनिकको उत्कृष्ट संवाददाताका रुपमा प्रमोद यादवलाई पनि नगद १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।यादव, मधेस खबरका पनि पर्सा जिल्ला संवाददाता हुन् ।

यस्तै उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष समेत रहेका ओमप्रकाश खनाललाई नगद १० हजार र स्व. चीरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सूर्यनारायण विकलाई नगद १५ हजार रुपैयाँसहित सम्मानित गरिएको छ ।

कार्यक्रममा प्रतीक दैनिकका कर्मचारी श्यामजी प्रसाद गुप्तालाईपनि नगद ५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको प्रतीक दैनिकका उपसम्पादक आरके पटेलले जानकारी दिए । यस्तै स्तम्भाकर अनन्तलाल दासलाई पनि दोशल्ला ओढाएर सम्मानित गरिएको थियो ।

प्रतीक प्रकाशन समुहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतीक दैनीकका प्रधान सम्पादक जगदीश शर्मा, स्व. सुबोध सिंहका दाजु सुदर्शन सिंह, मधेस विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, पर्सा बार एशोसियसनका अध्यक्ष रामनारायण कुर्मी, राजेन्द्र कोइराला, श्याम पोख्रेल लगायतकाकोपनि उपस्थिती थियो ।

सिमराबाट मानसिक अवस्था कमजोर पुरुष मानवसेवा आश्रमद्वारा उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले गए राति सिमराबाट एकजना मानसिक अवस्था कमजोर पुरुषलाई उद्धार गरेको छ । शुक्रबार राति ९:३० बजे वारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित वन कार्यालय अगाडिबाट करिब ४० वर्षीय नाम ठेगाना प्रष्ट बताउन नसक्ने पुरुषलाई उद्धार गरी आश्रम ल्याइएको हो।

आश्रम ल्याएपछि सरसफाइ तथा नुहाइधुइ गराई प्रारम्भिक उपचारका लागि डा. भरत गोईको निगरानीमा औषधोपचार सुरु गरिएको आश्रमले जनाएको छ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरी जवान नागेश्वर यादव, इलाका प्रहरी कार्यालय सिमराका प्रहरी सहायक हवल्दार अरविन्द कुमार दास तथा स्थानीय व्यक्तिहरूको समेत सक्रिय भूमिका रहेको थियो।

प्रहरी शासक होइन, जनताको सेवक बन्नुपर्छ : प्रधानमन्त्री ओलि

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासकको हैसियतले होइन, जनताको सेवकको रूपमा काम गर्न निर्देशन दिनुभएको छ । शुक्रबार जनकपुरधामस्थित मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवन उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो।

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र शान्ति–सुरक्षा कायम गर्नका लागि प्रहरीको भूमिका न्यायोचित र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो। “प्रहरीले कसैलाई फसाउने, यातना दिने वा अनावश्यक दबाब सिर्जना गर्ने काम गर्नु हुँदैन,” उहाँले भन्नुभयो, “बरु जनताको हितका लागि इमानदारीपूर्वक सेवा गर्नुपर्छ।”

समारोहमा प्रधानमन्त्री ओलीसँगै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका उच्च अधिकारीहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको समेत उपस्थिति रहेको थियो।

वीरगंजमा भारतीय दूतावासद्वारा ७९औँ स्वतन्त्रता दिवस भव्य रुपमा मनाइयो

वीरगंज । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले शुक्रबार ७९औँ भारतीय स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ धूमधामपूर्वक मनाएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि अगस्ट १५ का दिन दूतावास प्राङ्गणमा विविध सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण गीत तथा नृत्यका माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख आकर्षण भारतीय महावाणिज्यदूत देवी सहाय मिणाले राष्ट्रिय झन्डा फहराउँदै देशभक्ति र एकताको सन्देश दिए । आफ्नो सम्बोधनमा उनले भारत–नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँदै साझेदारीमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

सांस्कृतिक प्रस्तुतिहरूले भारतीय स्वतन्त्रता दिवसको ऐतिहासिक महत्त्वलाई उजागर गरेका थिए। कार्यक्रममा वीरगंजस्थित भारतीय समुदायका साथै स्थानीय नेपाली नागरिकहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।

यस अवसरमा महावाणिज्य दूतावासका अधिकारी, कर्मचारी, व्यापारी, विद्यार्थी तथा विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले भारत–नेपालको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा ऐक्यबद्धता व्यक्त गरेका थिए।

जगरनाथपुर गाउँपालिकाको वृक्षारोपण अभियान तिव्र, १० बिघा बगरमा १० हजार बढी विरुवा रोपियाे

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाले खाली पर्ती, खोलाको बगर, उपयोगविहीन ऐलानी तथा सार्वजनिक जग्गामा वृक्षारोपण अभियानलाई तिव्रता दिइरहेको छ।

यसैक्रममा, वडा नं. २ दशौतास्थित नदिको बगरमा रहेको करिब १० बिघा उपयोगविहीन जग्गामा शुक्रबार २७ प्रजातिका १० हजारभन्दा बढी अमला, आँप, लिच्ची, कटहर, जामुन, कदम, पिपल, बर, मसला, खयर लगायतका विरुवा रोपिएको गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिए।

शुक्रबारको वृक्षारोपण कार्यक्रमको उद्घाटन पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले गरेका थिए। गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्षहरु नेपाली कुशवाहा, सुभाष यादव, बिहारी महत्तो नुनिया, नेपाली कांग्रेसका नेता वशीष्ठनारायण कुर्मी तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

यसअघि गत वर्ष वडा नं. २ कै रैनीझैनी मठको १५ बिघा अतिक्रमित ऐलानी जग्गा अतिक्रमणमुक्त गरी ७ हजार बढी विरुवा रोपिएको थियो। त्यस्तै, वडा नं. ४ सुहपुर सोहरीस्थित खोला छेउको ९ बिघा ऐलानी जग्गामा १० हजारभन्दा बढी विरुवा रोपेर अहिले घना जंगलसरह विकास भएको अध्यक्ष यादवले बताए।

वन तथा वातावरण संरक्षणमा उल्लेखनीय कार्यका लागि जगरनाथपुर गाउँपालिका हालै संघ सरकारको वन तथा वातावरण मन्त्रालयबाट प्रथम पुरस्कार प्राप्त गरिसकेको छ। गत असार ३० गते मन्त्रालयको रेड कार्यान्वयन केन्द्र, काठमाडौंले १ लाख २५ हजार रुपैयाँसहित गाउँपालिकालाई सम्मान गरेको थियो।

अध्यक्ष यादवका अनुसार, बढ्दो जलवायु संकट, सुख्खा र खडेरीका समस्या समाधानका लागि बोटबिरुवा र वनजंगलको संरक्षण दीर्घकालीन उपाय हो। उनले रोपिएका विरुवाको संरक्षणका लागि घेराबारको व्यवस्था गर्दै निरन्तर अनुगमन गरिने प्रतिबद्धता जनाए।

श्री अजिज मिया माविमा डेस्क–बेन्च सहयोग, उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान

वीरगंज । “विद्यालय शिक्षाको मन्दिर हो” भन्ने भनाइलाई समुदायले कार्यद्वारा प्रमाणित गर्दै आएको छ । श्री अजिज मिया माध्यमिक विद्यालय, धोबिनीको एसईई (SEE) र कक्षा १२ को उत्कृष्ट नतिजा तथा शैक्षिक सुधारसँगै विद्यालयप्रति समुदायको सहयोग बढ्दो क्रममा छ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच धोबिनी निवासी मुना ठाकुरले ११ थान, पटेर्वा सुगौली गाउँपालिका–४ अकवा निवासी विषमोहन चौधरीले १० थान र भिस्वा निवासी किसुनदेव कुमार कलाकारले ५ थान डेस्क–बेन्च विद्यालयलाई हस्तान्तरण गरे।

कार्यक्रममा धोबिनी गाउँपालिकाले एसईई उर्त्तीण र कक्षा १२ पास गरेका विद्यार्थीलाई सम्मान गर्‍यो भने विद्यालयले सम्पूर्ण शिक्षक, शिक्षिका र विद्यालय कर्मचारीलाई सम्मानपत्र प्रदान गर्‍यो।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामको अध्यक्षता र गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शुकुम्बासी समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, गाउँपालिका उपाध्यक्षकी प्रतिनिधि श्याम किशोर प्रसाद पटेल, एमालेका नेता सलाउद्दिन अहमद, वडा अध्यक्ष मनौर अहमद, बन्धु साह तेलि, राजकिसोर पटेल, दबेन्द्र पटेल लगायतका शिक्षा प्रेमी, अभिभावक र विद्यार्थीको सहभागिता थियो।

अध्यक्ष तबरेज अहमदले विद्यालयलाई एक वर्ष पुग्ने इंक, मार्कर र डस्टर उपलब्ध गराउने र तत्काल खानेपानीको व्यवस्था आफ्नो पहलमा गर्ने प्रतिबद्धता जनाए । त्यस्तै, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले यस आर्थिक वर्षमै विद्यालयको अधुरो भवन निर्माण सम्पन्न गर्ने घोषणा गरे।

पर्साको कटेया गाउँमा छापा, दुई घरबाट १९१ बोरा मल बरामद

वीरगंज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–२ कटेया गाउँका दुई घरमा प्रहरीले छापा मार्दा १९१ बोरा सरकारी अनुदानको मल बरामद गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको निर्देशनमा बुधवार मध्यरातमा गरिएको कारबाहीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडका प्रतिनिधिहरू सम्मिलित टोली खटिएको थियो।

प्रजिअ अर्यालका अनुसार, साह मोहम्मद अन्सारीको घरबाट डिएपी ९ बोरा, पोटास १८ बोरा र फस्फेट ११४ बोरा गरी १४१ बोरा मल फेला परेको छ। यस्तै, युनुस अन्सारीको घरमा छापा मार्दा डिएपी २७ बोरा र पोटास २३ बोरा गरी ५० बोरा मल बरामद भएको हो। बरामद गरिएको सम्पूर्ण मल जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, मल भण्डारण गर्ने दुवै घरका धनी फरार रहेका र उनीहरूको खोजी जारी छ। पर्सामा हाल धानबालीका लागि मलको तीव्र अभाव भइरहेका बेला किसानका लागि पठाइएको अनुदानको मल अवैध रूपमा भण्डारण गरी कालोबजारी गर्न लागिएको आशङ्का गरिएको छ।

यसअघि प्रजिअ अर्यालले जिल्लाभर मल वितरणमा पारदर्शिता कायम गर्न कृषि सहकारीका सञ्चालक, स्थानीय तहका उपप्रमुख र कृषि शाखा प्रमुखलाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार सुरु गरिएको अनुगमनकै क्रममा कटेयामा ठूलो परिमाणको मल बरामद भएको हो।

नेशनल मेडिकल कलेज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

बीरगञ्ज । नेशनल मेडिकल कलेज प्रा. लि., बीरगञ्ज र आईजीआई प्रुडेनशियल इन्स्योरेन्स लिमिटेडबीच एक वर्षे स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार, आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा स्वास्थ्य उपचार गर्दा बीमा सुविधा प्राप्त गर्नेछन्। साथै, दुवै पक्षले विरामीहरूको सहज पहुँचका लागि आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेका छन्।

कार्यक्रममा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन र आईजीआई प्रुडेनशियल इन्स्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

समारोहमा नेशनल मेडिकल कलेजको तर्फबाट प्रमुख सूचना अधिकृत प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, प्रशासन अधिकृत विश्वनाथ कान्त, प्रशासन अधिकृत प्पु सिंह तथा आईजीआई प्रुडेनशियल इन्स्योरेन्सको तर्फबाट सहायक प्रबन्धक धनञ्जय कुमार ठोकरको उपस्थिती रहेको थियो।

दुवै संस्थाले यस सहकार्यले बीमित ग्राहकलाई गुणस्तरीय, छिटो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।

प्रस्तावित शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको आपत्ति, ज्ञापन पत्र बुझाउँदै सच्याउन माग

0

वीरगंज । प्रस्तावित “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” का केही प्रावधानले निजी शैक्षिक संस्थाहरूमा गम्भीर असर पार्ने भन्दै निजी विद्यालयका चार छाता संगठन — हिसान, नेसनल प्याब्सन, एन प्याब्सन र प्याब्सन — ले वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णलाई बिहीवार संयुक्त ज्ञापन पत्र बुझाएका छन्।

सङ्गठनहरूले विधेयकमा उल्लेख गरिएका निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, शिक्षण शुल्क, पाठ्यपुस्तक, पोसाक र यातायात निःशुल्क प्रदान गर्नुपर्ने प्रावधानप्रति कडा आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा, यस्ता व्यवस्था २०५८ सालको कम्पनी ऐनअनुसार सञ्चालित निजी विद्यालयहरूको कानुनी अधिकारविरुद्ध र अव्यवहारिक छन्।

प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले यी प्रावधानले निजी क्षेत्रको अर्बौँको लगानीलाई जोखिममा पार्ने र शैक्षिक प्रणालीलाई धराशायी बनाउने चेतावनी दिए। उनले पूर्ण निःशुल्क शिक्षाको अवधारणा व्यवहारिक नभएको उल्लेख गर्दै राज्यले आफ्नो जिम्मेवारी निजी क्षेत्रमा थोपर्न खोजेको आरोप लगाए।

ज्ञापन पत्रमा हाल निजी विद्यालयहरूले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको र त्यसलाई निरन्तरता दिन तयार रहेको तर पूर्ण छात्रवृत्ति र गैरनाफामूलक प्रावधान हटाउनुपर्ने माग गरिएको छ। साथै, छात्रवृत्तिमा भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क मात्र समावेश गर्नुपर्ने सुझाव पनि राखिएको छ।

निजी विद्यालयहरूले अव्यवहारिक प्रावधान सच्याइएन भने उचित मुआब्जासहित राष्ट्रियकरण वा विद्यार्थीलाई भौचर प्रणालीमार्फत विद्यालय छान्ने अधिकार दिनुपर्ने विकल्प प्रस्तुत गरेका छन्। उनीहरूले नेपालको संविधानले सुनिश्चित गरेको पेसा, व्यवसाय र लगानीको सुरक्षामा सरकारको कदम विपरीत भएको बताएका छन्।

सङ्ग्रौलाका अनुसार, निजी क्षेत्रले पछिल्ला तीन दशकमा करिब ६ खर्ब रुपैयाँ लगानी गर्दै ४ लाख रोजगारी सिर्जना गरेको र हाल ३४ प्रतिशत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। यसले वार्षिक २ खर्बभन्दा बढीको आर्थिक चक्र र देशको जीडीपीमा ७.२ प्रतिशत योगदान गरेको दाबी गरिएको छ।

यो मुद्दा देशव्यापी बनेको छ। काठमाडौँ, पोखरा, चितवनलगायतका शहरहरूमा पनि यस्तै ज्ञापन पत्र बुझाइएको छ। तर, शिक्षा मन्त्रालयले यसबारे छलफल मात्र जारी राखेको र निजी क्षेत्रको माग सम्बोधनमा ठोस कदम नचालेको सञ्चालकहरूको गुनासो छ। विज्ञहरूले माग सम्बोधन नभए शैक्षिक क्षेत्रमा गम्भीर सङ्कट आउन सक्ने चेतावनी दिएका छन्।

विद्यालय शिक्षा विधेयकका निजी विद्यालय विरूद्धका ४ वटा प्रावधान विरुद्ध स्थानीय तहमा ज्ञापन पत्र बुझाउने देशव्यापी कार्यक्रम अन्तर्गत पर्सा जिल्लाका स्थानीय तहहरू वीरगञ्ज महानगरमा प्याब्सन वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तवको नेतृत्वमा, धोबिनी गापामा जिल्ला सह-कोषाध्यक्ष सुदिल पटेलको नेतृत्वमा र ठोरी गापामा फोकल पर्सन सुरेश पन्तको नेतृत्वमा ज्ञापन पत्र बुझाइको प्याब्सनले जनाएको छ ।