Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

भारतकाे सहयोगमा निर्माण भएकाे विद्यालय भवन उद्घाटन

spot_img
spot_img

वीरगंज । भारत सरकारको आर्थिक सहयोगमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–तुल्सियाहीमा निर्माण गरिएको बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालयको नयाँ भवन शुक्रबार भव्य समारोहका बीच उद्घाटन गरिएको छ ।

नवनिर्मित विद्यालय भवनको संयुक्त रूपमा उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीना र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त विद्यालय भवन तथा सम्बन्धित पूर्वाधार भारत सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको हो । परियोजनाको कार्यान्वयन मुखियापट्टी मुसहरनिया गाउँपालिकामार्फत गरिएको थियो । चार करोड रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न भएको यस भवनले स्थानीय स्तरमा शैक्षिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

बैद्यनाथ देवनारायण पब्लिक मोडल माध्यमिक विद्यालय धनुषा जिल्लाका अग्रणी सरकारी विद्यालयहरूमध्ये एकका रूपमा परिचित छ । विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको छ । साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग आबद्ध भई १८ महिनाको कम्प्युटर प्रि–डिप्लोमा पाठ्यक्रम पनि सञ्चालन हुँदै आएको छ । हाल विद्यालयमा करिब २५ सय विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब ६० प्रतिशत छात्रा रहेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले शिक्षा कुनै पनि राष्ट्रको दिगो विकासको आधार भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको शैक्षिक विकासमा सहयोग गर्न पाउँदा भारत सरकार गर्वान्वित भएको बताउँदै नयाँ विद्यालय भवनले विद्यार्थीलाई सुरक्षित, सहज र गुणस्तरीय सिकाइ वातावरण प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी बालिका शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र ग्रामीण क्षेत्रका युवालाई अवसर प्रदान गर्न यस्ता परियोजनाहरू महत्वपूर्ण हुने उहाँको धारणा थियो ।

कार्यक्रममा बोल्दै मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जय कुमार यादवले भारत सरकारद्वारा प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नयाँ भवनले विद्यालयको शैक्षिक गुणस्तर सुधार हुनुका साथै स्थानीय समुदायमा शिक्षाप्रति सकारात्मक सोच विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

छिमेकी राष्ट्र भारत र नेपालबीचको बहुआयामिक सहकार्यको उदाहरणका रूपमा यस विद्यालय भवन निर्माणलाई लिइएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनले स्थानीय तहमा शिक्षा लगायत प्राथमिक क्षेत्रको पूर्वाधार विकासमा दीर्घकालीन योगदान पुर्‍याउने सरोकारवालाहरूले बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...