Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 193

पर्सामा हिन्दु पत्रकार सङ्घ गठन, अध्यक्षमा रौनियार र उपाध्यक्षमा पटेल

0

वीरगंज । पर्सा जिल्लामा हिन्दु पत्रकारहरूको छुट्टै सङ्गठनका रूपमा हिन्दु पत्रकार सङ्घको जिल्ला कार्यसमिति गठन भएको छ ।

वीरगंजस्थित क्लासिक ब्यानक्वेटमा आइतबार आयोजित पत्रकारहरूको एक भेलाबाट सञ्चारकर्मी राजन रौनियारको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता, सचिवमा राजकुमार सर्राफ तथा कोषाध्यक्षमा आनन्द पटेल चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्नवाल, राकेश साह, राजु बैठा, रश्मीराज भण्डारी, अजय चौरसिया र त्रिलोकी पटेल लगायतका पत्रकारहरू रहेका छन् ।

यसैबिच सङ्घले सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिमा निरञ्जन मिश्र, रितेश झा, आरोहण साह, सोनालाल चौरसिया, कन्हैया गुप्ता र सन्तोष साह रहेका छन् ।

हिन्दु धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै पत्रकारिताको माध्यमबाट हिन्दु समुदायका अधिकार र आवाजलाई सशक्त बनाउने उद्देश्यका साथ सङ्घ स्थापना गरिएको नवगठित समितिले जनाएकाे छ ।

धर्मनिरपेक्षताको नाममा हिन्दु धर्ममाथि हुने प्रहारको विरोध गर्दै सनातन मूल्य–मान्यताको रक्षा गर्नु सङ्घको प्रमुख लक्ष्य रहेको नवगठित समितिका पदाधिकारीहरूले बताएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले सङ्घ गठनको स्वागत गर्दै यसले पत्रकारिताको विविधतालाई थप मजबुत बनाउने र सनातन मूल्यहरूको संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानले हिन्दु संस्कृतिको संरक्षणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै नवगठित सङ्घलाई शुभकामना दिए ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले सङ्घ गठनको पहलले मधेस क्षेत्रमा हिन्दु समुदायको आवाजलाई बलियो बनाउने विश्वास व्यक्त गरे भने महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले यसले पत्रकारिताको क्षेत्रमा नयाँ आयाम थपिएको उल्लेख गरे ।

प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्रले हिन्दु धर्ममाथि हुने आक्रमणहरूको विरुद्धमा सङ्घले प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार राम कुमार सर्राफ र नेपाल प्रेस युनियनका अजय साह लगायतका अतिथिहरूले पनि सङ्घको स्थापनालाई ऐतिहासिक कदम भन्दै पत्रकारहरूबीच एकता र हिन्दु धर्मको रक्षामा योगदान पुग्ने धारणा राखे ।

भेलामा सहभागी पत्रकारहरूले सङ्घले हिन्दु समुदायका मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष राजन रौनियारले पत्रकारिताको मर्यादा कायम राख्दै हिन्दु धर्मको संरक्षणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अमित गिरी हाजिर

0

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले आइतबारदेखि  औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ।

सामान्य प्रशासन मन्त्रालयको मंसिर २९ गतेको पत्रअनुसार कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीलाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको थियो। त्यस्तै, जिराभवानी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको हो।

सरुवापछि जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले प्रमुख प्रशासकीय अधिकृत गिरीलाई कुनै पनि शर्तमा हाजिर हुन नदिने उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्नुभएको थियो।

यसैबीच, गाउँपालिका उपाध्यक्ष रेखा चौधरीको नेतृत्वमा कार्यालयको “बी” ब्लकमा प्रमुख प्रशासकीय अधिकृत गिरि  हाजिर हुनु भएको हो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृत गिरीलाई फूलमाला र खादा ओढाई स्वागत गरिएको थियो।

स्वागत कार्यक्रममा वडाध्यक्षहरू महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, लेखा तथा प्राविधिक शाखाका कर्मचारीहरू तथा विभिन्न वडाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

पर्सामा २४० केजी चरेशसहित ट्रक र दुई जना पक्राउ

0

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले २४० केजी लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित ट्रक र दुई जना व्यक्तिलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा शनिबार साँझ करिब ७ः३० बजे पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा सवारी साधन चेकजाँचका क्रममा उक्त परिमाणको लागुऔषध बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मकवानपुरबाट वीरगंजतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी कानुनी प्रक्रिया अनुसार जाँच गर्दा ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बनाएर लुकाइछिपाई राखिएको २४० केजी चरेश जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित ट्रक चालक र ट्रकमा सवार दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठकले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ११ निवासी २९ वर्षीय सरोज मोक्तान (ट्रक चालक) र सोही स्थानका २१ वर्षीय नवराज लो रहेका छन्।

जगरनाथपुर गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, सन्थी मावि प्रथम

0

सेढवा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा माध्यमिक विद्यालय सन्थी प्रथम हुँदै उपाधि जित्न सफल भएको छ । समग्र खेल विधामा सबैभन्दा बढी पदक प्राप्त गर्दै सन्थीले रनिङ शिल्ड हात पारेको हो ।

प्रतियोगितामा माध्यमिक विद्यालय मसिहानी द्वितीय तथा माध्यमिक विद्यालय जगरनाथपुर तृतीय स्थानमा रहेका छन् ।
समापन तथा पुरस्कार वितरण कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष बिहारी महतो नूनियाको अध्यक्षता तथा गाउँपालिका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख अशोक सिंह, पालिकाभित्रका सम्पूर्ण प्रधानाध्यापक, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा पालिकाभित्रका सम्पूर्ण प्रधानाध्यापकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै सांस्कृतिक कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालय मसिहानीका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गर्नुका साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई रनिङ शिल्ड हस्तान्तरण गरिएको थियो ।

वीरगंजमा एचआईभी कार्यक्रमको वर्तमान अवस्थाबारे पत्रकार अन्तरक्रिया सम्पन्न

0

वीरगंज । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालद्वारा आयोजित नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था विषयक पत्रकार अन्तरक्रिया कार्यक्रम शनिबार वीरगञ्जमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक सर्वेश शर्माले राष्ट्रिय एचआईभी कार्यक्रमको अवस्थाबारे प्रस्तुति दिँदै नेपालमा एचआईभी सङ्क्रमितको अनुमानित संख्या ३४ हजार ३ सय ३७ रहेको जानकारी दिए । उनका अनुसार कुल सङ्क्रमितमध्ये १९ हजार ८ सय २१ जना (५८ प्रतिशत) पुरुष र १४ हजार ५ सय १६ जना (४२ प्रतिशत) महिला रहेका छन् । साथै ० देखि १४ वर्ष उमेर समूहका १ हजार ५८ जना (३ प्रतिशत) बालबालिका एचआईभी सङ्क्रमित रहेका छन् ।

त्यसैगरी वार्षिक रूपमा नयाँ एचआईभी सङ्क्रमण हुनेको संख्या ६ सय १४ र एड्ससम्बन्धी वार्षिक मृत्युको संख्या ५ सय ६९ रहेको तथ्य कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

जिल्लागत तथ्याङ्क प्रस्तुत गर्दै निर्देशक शर्माले पर्सा जिल्लामा ८ सय १२ जना र बारा जिल्लामा ४ सय ७२ जना एचआईभी सङ्क्रमित रहेको जानकारी दिए ।

वीरगञ्जस्थित मकालु होटलमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले एचआईभी नियन्त्रण तथा न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै तथ्यपरक, जिम्मेवार र संवेदनशील रिपोर्टिङ आवश्यक रहेकोमा जोड दिएका थिए । साथै एचआईभी नियन्त्रणका प्रयासलाई थप प्रभावकारी बनाउन स्थानीय तह, नागरिक समाज र सञ्चारकर्मीबीच सहकार्य सुदृढ गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

कार्यक्रममा एएचएफ नेपालले पर्सा, धनुषा, मकवानपुर, अछामसहित देशका १७ वटा जिल्लामा एचआईभी रोकथाम, परीक्षण, उपचार तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि गराइएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य राख्दै एएचएफ नेपालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले नेपालमा एचआईभी नियन्त्रणका लागि सरकार, गैरसरकारी संस्था, स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्थाका कार्यक्रम तथा बजार व्यवस्थापक राधेश्याम श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राजु साहलगायत स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

“मिसन निर्भया अपरेसन” अन्तर्गत असमकी नाबालिग किशोरीको सकुशल उद्धार

0

वीरगंज । भारत–भुटान सीमासँग जोडिएको असमको तामूलपुर जिल्लाकी १७ वर्षीया नाबालिग किशोरी अञ्जली (नाम परिवर्तन) लाई पश्चिमी उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लाबाट सकुशल उद्धार गरिएको छ । उक्त उद्धार संयुक्त तथा संवेदनशील मानवीय अभियान “मिसन निर्भया अपरेसन” अन्तर्गत सफलतापूर्वक सम्पन्न भएको हो ।

प्राप्त जानकारी अनुसार कक्षा ८ मा अध्ययनरत ती किशोरी करिब ६ महिना अघि अचानक बेपत्ता भएकी थिइन् । यस सम्बन्धमा असमको तामूलपुर थानामा उजुरी दर्ता गरिएको थियो । लामो समयसम्म खोजी गर्दा पनि कुनै पत्ता नलागेपछि मानव तस्करीको आशंका गहिरिँदै गएको थियो ।

अत्यन्तै गरिब तथा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले असम सेन्टर फर रुरल डेभलपमेन्ट (ACRD Assam) ले उक्त विषय इन्स्पेक्टर मनोज कुमार शर्माको ध्यानाकर्षण गराएको थियो । साथै सीमावर्ती मुख्यालय सशस्त्र सीमा बल (SSB) तेजपुरलाई पनि लिखित जानकारी गराइएको थियो ।

मामलाको गम्भीरतालाई ध्यानमा राख्दै इन्स्पेक्टर मनोज कुमार शर्माले तत्काल अनुसन्धान सुरु गरे । परिवार, छिमेकी तथा विद्यालयका सहपाठीहरूसँग सोधपुछ तथा प्राविधिक विश्लेषण गर्दा एक शंकास्पद मोबाइल नम्बर फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त नम्बरको लोकेशन दिल्ली नजिकै पश्चिमी उत्तर प्रदेशको मुजफ्फरनगर जिल्ला अन्तर्गत मन्सूरपुर थाना क्षेत्रको बेगराजपुर गाउँमा देखिएको थियो ।

यस संवेदनशील घटनामा मिसन मुक्ति फाउन्डेशन, नयाँ दिल्लीका निर्देशक वीरेंद्र सिंहले विभिन्न एजेन्सीहरूबीच समन्वय गरी अपराधीसम्म पुग्ने बाटो तयार गरेका थिए ।

राष्ट्रिय मानवअधिकार आयोग (NHRC) का सदस्य प्रियांक कानूनगोको निर्देशनमा SSB इंटेलिजेन्स युनिट (क्षेत्रीय मुख्यालय बेजपारा), मुजफ्फरनगर पुलिस (उत्तर प्रदेश), मिसन मुक्ति फाउन्डेशन, रेस्क्यू एन्ड रिलिफ फाउन्डेशन तथा मानव तस्करी विरोधी इकाई (SSB बेजपारा) को संयुक्त टोली गठन गरी विशेष अभियान सञ्चालन गरिएको थियो ।

अपरेसन दुई तहमा सञ्चालन गरिएको थियो, जहाँ एक टोली जमिनस्तरमा सक्रिय थियो भने अर्को टोली फोन तथा ह्वाट्सएपमार्फत प्राविधिक तथा समन्वय कार्यमा जुटिएको थियो । संयुक्त प्रयासको परिणामस्वरूप आरोपीलाई पक्राउ गरी नाबालिग किशोरीलाई सकुशल उद्धार गरिएको हो ।

उद्धारपछि किशोरीलाई आवश्यक चिकित्सकीय उपचार तथा मनोसामाजिक परामर्शका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ । घटनासम्बन्धी विस्तृत प्रतिवेदन चाँडै सार्वजनिक गरिने जनाइएको छ ।

मानव तस्करी विरुद्धको अभियानमा यो सफल अपरेसन अन्तर–एजेन्सी समन्वय र द्रुत कार्यवाहीको सशक्त उदाहरण बनेको छ ।

रास्वपाद्वारा वीरगंज महानगरमा संगठन विस्तार सुरु, वडा नं. ३ मा वडा समिति गठन

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वीरगंज महानगरपालिकामा संगठन विस्तारलाई तीव्र बनाएको छ । यसैक्रममा रास्वपाले वीरगंज महानगरपालिका वडा नम्बर ३ को वडा समिति गठन गरेको छ ।

नवगठित वडा समितिको सभापतिमा किरण कटुवाल चयन भएका छन् । उपसभापतिमा लालबाबु मन्सुरी, सचिवमा अनिल कुमार दास, सहसचिवमा एकबाल मिया र राकेश महर्जन चयन भएका छन् । समितिका सदस्यहरूमा सुरेश पासी, अशरफ मन्सुरी, नुरेनबी मन्सुरी, छोटु साह सोनार, राजु कुमार स्वामी, समीर मिया धोबी, राजन कुमार दास, अजय कुमार दास र जावेद मिया मन्सुरी रहेका छन् ।

त्यसैगरी, समितिको सल्लाहकारमा मञ्जुरल हक अन्सारी, सम्सुदिन अन्सारी र ज्याउल हक मन्सुरी चयन भएका छन् ।

कार्यक्रममा बोल्दै रास्वपा पर्साका सभापति हरी पन्तले अब छिट्टै नै वीरगंज महानगरपालिकाका ३२ वटै वडामा पार्टीको वडा समिति गठन गरिने जानकारी दिए । उनले हाल महानगरका सबै वडाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुन चाहनेहरूको उल्लेखनीय लहर देखिएको दाबी गरे ।

महानगर सभापति महमदुद्दिन आलमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सचिव गौतम श्रेष्ठले गरेका थिए । कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदी, सहसचिव मुन्ना साह तथा नेता परवेज आलमको विशेष उपस्थिति रहेको थियो ।

प्याब्सन पर्साद्वारा हस्तलेखन तथा आर्ट प्रतियोगिता सम्पन्न, लिटल एन्जल र साउथजाेन प्रथम

0

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साद्वारा आयोजित हस्तलेखन तथा आर्ट प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख मोती भट्टराईले गर्नुभएको थियो ।

२९ वटा विद्यालयका छात्र–छात्राको सहभागिता रहेको आर्ट प्रतियोगितामा लिटल एन्जल स्कुल प्रथम, एसआर ग्यालेक्सी स्कुल दोस्रो तथा द रोयल एकेडेमी तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । उक्त जानकारी प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले दिनुभयो ।

त्यसैगरी २६ वटा विद्यालयको सहभागिता रहेको हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय प्रथम, गौतम माध्यमिक विद्यालय दोस्रो र डिएभी स्कुल तेस्रो भएका छन् ।

वीरगंजको आदर्शनगरस्थित रानीशती अतिथि सदनमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष किशोर गौतम, केन्द्रीय सदस्य थकिन कुमार गुरुङ, वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिक्षानेलगायतले मन्तव्य राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता सिर्जनात्मक प्रतियोगिता आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

सशस्त्र प्रहरीद्वारा पर्सामा १६ लाखभन्दा बढीको अवैध सामान बरामद, भन्सार दाखिला

0

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरिएको १६ लाख ०८ हजार ८६० रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले शुक्रबार वीरगंज महानगरपालिका–२५ खलवा नाकास्थित भारतबाट विभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरिएको ७ लाख ५६ हजार ४९० रुपैयाँ बराबरको कपडा तथा कस्मेटिक सामान बरामद गरेको हो । उक्त सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही मितिमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट खटिएको टोलीले खलवा नाकाबाट साइकलमा लोड गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको ७ लाख ४९ हजार ८०० रुपैयाँ बराबरको कपडा, किराना, कफीदाना तथा कस्मेटिक सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।

यस्तै, मिति २०८२/०९/०४ गते नै सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. अलौबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१७ कोनियास्थित भारतबाट भन्सार छलि साइकलमार्फत नेपालतर्फ ल्याउँदै गरिएको १ लाख २ हजार ५७० रुपैयाँ बराबरको किराना तथा एयरबट बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक विश्वराज योन्जनले जानकारी दिए ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण गर्न निरन्तर गस्ती तथा निगरानी बढाइएको जनाएको छ ।

सहज कर्जा प्रवाहको वातावरण बनाउन बैंकहरूलाई गभर्नर पौडेलको निर्देशन

0

वीरगंज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशका सम्पूर्ण समुदायका नागरिकलाई कर्जा लगानी गर्ने वातावरण तयार गर्न बैंकहरूलाई निर्देशन दिनुभएको छ । वीरगंजमा आयोजित ‘अर्थतन्त्रको रूपान्तरणमा केन्द्रीय बैंकको भूमिका एवं केन्द्रीय र क्षेत्रीय (मधेश) सम्भावनाहरू’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उद्योग–व्यवसाय सञ्चालन गर्नेहरूलाई मात्र होइन, सबै समुदायका जनतालाई सहज तरिकाले ऋण प्रवाह गर्न आग्रह गर्नुभयो ।

गभर्नर डा. पौडेलले ऋण पाउनु सबै नागरिकको अधिकार भएको उल्लेख गर्दै विविध बहानामा गरिब, विपन्न तथा सीमान्तकृत समुदायलाई कर्जाबाट वञ्चित नगर्न बैंकहरूलाई सचेत गराउनुभयो । कर्जा लगानीमा संयमता आवश्यक भए पनि समावेशी ढंगले ऋण प्रवाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

केही दिनयता कर्जा असुलीका क्रममा बैंकका कर्मचारीमाथि भएका दुर्व्यवहारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण भएको जनाउँदै गभर्नर पौडेलले बैंकहरूले कहाँ, कसरी र कुन समयमा कर्जा संकलन गर्ने भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए । ऋण लगानीपछि लामो समयसम्म अनुगमन नगरी एकैपटक जबर्जस्ती असुली गर्न खोज्दा यस्ता अप्रिय घटना हुने गरेको उल्लेख गर्दै संयमित र योजनाबद्ध कर्जा संकलन गर्न निर्देशन दिनुभयो ।

उहाँले पछिल्ला महिनाहरूमा आन्दोलन तथा अस्थिरताका कारण मुलुकको आर्थिक अवस्था प्रभावित भए पनि विस्तारै सुधारतर्फ गइरहेको बताउनुभयो । निर्वाचनपछि देखिएको राजनीतिक उथलपुथलसमेत क्रमशः अन्त्य हुने विश्वास व्यक्त गर्दै सहज र सरल कर्जा लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायी तथा बैंकका कर्मचारीहरूले लगानीको वातावरण नबनेको गुनासो गरेका थिए । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले सुरक्षाको अभावका कारण लगानी जोखिमपूर्ण बनेको बताउँदै आन्दोलनको बहानामा उद्योग जलाउने र व्यापार अवरुद्ध गर्ने कार्य रोक्न राष्ट्र बैंकले सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने बताए ।

त्यसैगरी बैंकका कर्मचारीहरूले कर्जा असुलीका क्रममा कुटपिट तथा दुर्व्यवहारको डरले काम गर्न कठिन भएको गुनासो गरे । यस्ता घटनाका कारण कर्मचारीहरू विदेश पलायन हुने अवस्था सिर्जना भएको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले देशको आर्थिक अवस्था, मौद्रिक नीतिको भूमिका तथा कर्जा लगानीमा दिइएका ब्याजदर अनुदान र सहुलियतबारे जानकारी गराउनुभयो । उहाँले कृषि, महिला उद्यम, विदेशबाट फर्केका युवाहरूका लागि सहुलियतपूर्ण कर्जा व्यवस्था रहेको उल्लेख गर्नुभयो । कृषि उपज, कृषि योग्य जमिन तथा संरचनाको धितोमा १० लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था रहेको जानकारी पनि दिनुभयो ।

डा. खरेलले मधेश प्रदेश कर्जा लगानीमा सबैभन्दा पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै अर्धशहरी तथा ग्रामीण क्षेत्रमा बैंक शाखाहरू घाटामा रहेको बताए । सरकारले राजमार्ग तथा पहाडी लोकमार्ग आसपास उत्पादनमूलक व्यापार, होटल व्यवसायका लागि कर्जा सहुलियत उपलब्ध गराएकाले त्यस्ता क्षेत्रमा सरल र सहज कर्जा प्रवाह गर्न बैंकहरूलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशिल पौडेल, गभर्नर कार्यालयका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनीलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा वीरगंजका उद्योगी, व्यवसायी, विभिन्न बैंकका प्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।