Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 18

आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ

0

काठमाडौं । आम जनता पार्टी (आजपा)को उपत्यका विशेष कमिटी पुनर्गठन भएको छ । पासाङ तामाङको अध्यक्षतामा ८७ सदस्यीय कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा निरञ्जन पौडेल, देवकुमारी साह, शिवशंकर पटेल, वीरवल यादव, तेजनारायण चौधरी, सचिवमा रवि ध्वज कार्की, सहसचिवमा राजेश शर्मा, साहिल साह, लक्ष्मी मगर र कोषाध्यक्षमा मीनादेवी साह रहेका छन् ।

आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहले जारी गरेको विज्ञप्ति अनुसार कमिटीको इन्चार्जमा तिलक थापा मगर, सहइन्चार्जमा धनकुमारी मगर, देवी पण्डित, रन्जू कुमारी साह, विजय यादव, उपेन्द्र साह रहेका छन् ।

कमिटीको सदस्यहरुमा रामशरण यादव, चन्द्रिकालाल साह, प्रेम थापा, अनिता थापा, इन्दल साह, सीमा जयसवाल, संजीता कुशवाहा, ई। प्रेम साह, रन्जित साह, श्रीकिसुन वैठा, उपेन्द्र रौनियार, सुरेश साह, सुनिल साह, दिपेन्द्र चौधरी, रामप्रवेश पटेल, संजय साह, प्रदीपजंग कार्की, मनीषा राई, सुस्मिता कार्की, प्रिया यादव, राजकुमार राम, राहुल साह, रामाशंकर साह, शम्भु जयसवाल, गोपाल जयसवाल, प्रमोद साह, अजय साह, गौरीप्रसाद जयसवाल लगायतका रहेका छन् ।

भारी वर्षाको सम्भावना, पर्सावासीलाई सतर्क रहन प्रशासनको आग्रह

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी दिनमा भारी वर्षा तथा अति भारी वर्षाको सम्भावना रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

कार्यालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनलाई उद्धृत गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

वर्षाको प्रभावका कारण मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा बुधबारदेखि नै मध्यम वर्षा हुन सक्ने प्रशासनले जनाएको छ। लगातारको भारी वर्षाका कारण खोला तथा नदी आसपासका बस्तीमा बाढीको जोखिम बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा अत्यावश्यक कामबाहेक रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। साथै खोला तथा नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा पहिरो जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ।
प्रशासनले सम्भावित विपद्का समयमा उद्धार तथा सहयोगका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

यस्तै, वर्षा, बाढी तथा मौसमसम्बन्धी जोखिमबाट बच्न नेपाल मौसम विज्ञान विभागबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीसम्बन्धी जानकारी नियमित रूपमा लिन पनि जिल्ला प्रशासन कार्यालय पर्साले सर्वसाधारणलाई आग्रह गरेको छ।

जगरनाथपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण अभियान

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरस्थित फुलबारी टोलमा सार्वजनिक तथा कृषि वन क्षेत्र संरक्षण गर्ने उद्देश्यले करिब २० बिघा जग्गामा वृक्षरोपण अभियान सुरु गरिएको छ ।

‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत बुधबारदेखि सुरु भएको अभियानमा आँप, लिची, कटहर, जामुन, मेवा, मोहबनी, अम्बा, टीक र सिसौलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको गाउँपालिकाको वन शाखाले जनाएको छ । रोपिएका बिरुवाको संरक्षणका लागि क्षेत्रलाई तारबारसमेत गरिएको छ ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले बिरुवा रोपेर गर्नुभएको थियो । कार्यक्रममा बोल्दै रिजालले वृक्षरोपणले सार्वजनिक जग्गाको संरक्षणसँगै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, गाउँपालिका उपाध्यक्ष बविता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, गादीमाई वन व्यवस्थापन समिति अध्यक्ष सहरुम गदी, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापालगायतको सहभागिता थियो ।

फुलुवरिया माई कृषि वन सार्वजनिक जग्गा व्यवस्थापन समूहका अनुसार रोपिएका बिरुवाको संरक्षण, स्याहार तथा हुर्काउने जिम्मेवारी स्थानीय समुदाय र व्यवस्थापन समूहले संयुक्त रूपमा लिनेछन् । आगामी दिनमा क्षेत्रको थप भूभागमा वृक्षरोपण गरी हरियाली विस्तार गर्ने योजना रहेको समूहले जनाएको छ ।

यसअघि गाउँपालिका–६ औराहास्थित ७ बिघा सार्वजनिक ऐलानी पर्ती जग्गामा एक हजार ५ सय बिरुवा रोपिएको थियो । अध्यक्ष यादवका अनुसार ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत वडा नम्बर ४ को सोहपुर–सोहरीमा ६ बिघा, वडा नम्बर १ को पिडारी गुठ्ठीमा ७ बिघा तथा वडा नम्बर २ को दसौतामा १२ र १५ बिघा ऐलानी जग्गामा समेत वृक्षरोपण सम्पन्न भइसकेको छ ।

एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद

0

सुनसरी । इटहरी उपमहानगरपालिका–२० तरहराबाट प्रहरीले साढे चार क्विन्टल गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।

प्रहरीचौकी तरहराबाट खटिएको टोलीले गए राति पूर्व–पश्चिम कोशी लोकमार्गअन्तर्गत तरहरा–पानीपिया जङ्गलबाट बा२च ९५७३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो ।

‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको उक्त एम्बुलेन्स शङ्कास्पद अवस्थामा देखिएपछि जाँच गर्दा प्लास्टिकका पोकामा लुकाइराखिएको अवस्थामा गाँजा फेला परेको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको छ । फरार एम्बुलेन्स चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

1

रौतहट । सशस्त्र प्रहरी बल नेपालको टोलीले गौर नगरपालिका–४ टिकुलियाबाट रु ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित विशेष टोलीले मङ्गलबार राति स्थानीय भोला साहको घरमा छापा मारी ती सामान बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा गएको सो टोलीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरिएको रौतहट जिल्ला सशस्त्र प्रहरी प्रमुख चेतराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य रु ५० लाख १४ हजार ५०० रहेको । यसैगरी, घटनास्थलबाट दुई थान मोटरसाइकल समेत बरामद गरिएको छ ।

प्रहरीले बरामद गरिएका सामान तथा मोटरसाइकल गौर भन्सार कार्यालय, रौतहटमा बुझाएको र बरामद सामग्रीको स्रोत तथा यस प्रकरणमा संलग्न अन्य व्यक्तिका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल

0
xr:d:DAFjzrRAFBc:2,j:5343822776,t:23052406

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले पूर्वसचेतताका लागि सार्वजनिक अपिल गरेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा, महोत्तरीले यही असोज ९ गते शुक्रबारदेखि तीन दिन मधेस मुलुकका विभिन्न भेगमा हावाहुरीसँगै मेघगर्जन हुने, चट्याङ पर्ने र भारी वर्षा हुने अनुमान प्रक्षेपण गरेसँगै प्रशासनले सर्वसाधारणलाई सुरक्षित रहन सार्वजनिक अपिल गरेको हो ।

पूर्वसचेतनाका लागि स्थानीय तह, रेडक्रससहितका सामाजिक सङ्घ संस्था, प्रहरी र आमनागरिक समाज सचेत रहे क्षति हुनबाट जोगिन सकिने हुँदा यो अपिल जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

“जिल्लामा विपद्का बेला जनधनको क्षति भएको हामीसँग विगत अनुभव छ, त्यसबाट शिक्षा लिँदै अब सचेत रहन आवश्यक छ”, प्रजिअ यादवले सञ्चारकर्मीसँगको कुराकानीमा आज भन्नुभयो । जिल्लामा रातु, मडहा, बाँके, जङ्घा, बिग्ही र कुटमेश्वरीसहितका नदीको बाढी बस्तीमा पसेर डुबान गरेका घटना छन् ।

मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन प्रमको आग्रह

0

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्र्दै त्यस्तो आग्रह गर्नुभएको हो । साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ ।

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक÷दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक रहेको विभागले जनाएको छ । सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ ।

नेपालगन्ज कांग्रेस नगर सभापतिमा विनोद रिजालको सशक्त दाबी

0

नेपालगन्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका नगर सभापति पदका लागि युवा नेता विनोद रिजालले सशक्त दाबी प्रस्तुत गरेका छन् । लामो राजनीतिक अनुभव, संगठन निर्माणमा सक्रियता र कार्यकर्तासँगको आत्मीय सम्बन्धलाई आधार बनाउँदै रिजाल नेतृत्वको दौडमा अघि बढेका हुन् ।

२०४६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रिजालले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। उनले नेपाल विद्यार्थी संघ बाँकेको जिल्ला सभापतिको जिम्मेवारी दुईपटक सम्हालिसकेका छन् । विद्यार्थी आन्दोलनदेखि पार्टी संगठनसम्म काम गरेको अनुभव रिजालसँग छ ।

रिजाल नेपाल तरुण दल बाँकेको जिल्ला सचिवको जिम्मेवारीमा समेत सक्रिय छन् । विभिन्न तह तथा भ्रातृ संगठनमा रहेर काम गरेको अनुभवका कारण पार्टीको संगठनात्मक संरचना र कार्यकर्ताको भावना बुझ्ने नेताका रूपमा उनले आफ्नो पहिचान बनाएका छन् ।

कार्यकर्ताको सुखदुःखमा साथ दिने, संगठनका गतिविधिमा निरन्तर सक्रिय रहने तथा युवा र अग्रज नेताबीच समन्वय गर्दै अघि बढ्ने आफ्नो कार्यशैलीलाई रिजालले नेतृत्वको आधार बनाएका छन् ।

नगर सभापतिमा निर्वाचित भए पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको सक्रियता बढाउने र संगठनलाई एकताबद्ध बनाएर अघि बढ्ने लक्ष्यसहित आफू मैदानमा उत्रिएको रिजालको भनाइ छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाट अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला नेपालगन्ज नगर सभापतिको प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ । लामो राजनीतिक अनुभव र संगठनात्मक सक्रियताका कारण रिजालको दाबेदारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

चार दशक नजिकको राजनीतिक यात्रामा संघर्ष, अनुभव र संगठनलाई आधार बनाउँदै आएका रिजालले अब नेपालगन्ज कांग्रेसको नेतृत्वमा नयाँ जिम्मेवारी सम्हाल्ने लक्ष्यसहित आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

लोककल्याणकारी विज्ञापनकाे रकम कटौतीप्रति सत्तारुढ सांसद पन्तको आपत्ति

2

वीरगंज । प्रतिनिधिसभाको शून्य समयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको भन्दै आपत्ति जनाएका छन् ।

बुधवार बसेको प्रतिनिधिसभा बैठकमा पर्सा क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बुद्धिप्रसाद पन्त (हरि पन्त)ले पत्रकार समुदाय आफ्ना पेसागत हकहित र मागका लागि सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु दुःखद भएको बताए ।

सांसद पन्तले सञ्चार क्षेत्रलाई असर पार्ने तीन प्रमुख विषय संसद्मा उठाए । उनले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन रकममा कटौती, राष्ट्रिय समाचार समितिले अन्य सञ्चारमाध्यमलाई उपलब्ध गराउने समाचार शुल्कमा वृद्धि तथा सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यम र सामुदायिक रेडियोलाई न्यायोचित रूपमा समावेश नगरिएको विषयप्रति ध्यानाकर्षण गराए ।

यस्ता नीति तथा निर्णयले स्वतन्त्र सञ्चारमाध्यमलाई थप संकटमा पार्ने उल्लेख गर्दै पन्तले सभामुखमार्फत सरकारलाई नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बन्धी संस्थासँग तत्काल संवाद गरी जायज माग सम्बोधन गर्न आग्रह गरे ।

यसैगरी, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले पनि छापा सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रकम कटौती गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाए ।

राईले चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरिएको लोककल्याणकारी विज्ञापनको रकम सूचना तथा सञ्चार मन्त्रालयले कार्यविधिमार्फत घटाएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकका लागि सञ्चारमाध्यमले निर्वाह गर्दै आएको भूमिकालाई ध्यानमा राख्न आग्रह गरे ।

सरकारले २०८३ भदौ ५ गते ‘लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै विज्ञापनसम्बन्धी व्यवस्थामा संशोधन गरेको थियो । उक्त संशोधनमार्फत सञ्चारमाध्यमले पाउँदै आएको रकममा गरिएको कटौती तथा व्यवस्थाप्रति नेपाल पत्रकार महासंघले असहमति जनाउँदै आएको छ ।

राईले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्नुको सट्टा सञ्चार क्षेत्रको वर्तमान अवस्था र आवश्यकतालाई ध्यानमा राख्दै समयानुकूल वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

0

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार साँझ वीरगंज महानगरपालिका–१५ स्थित चालीस फिटे सडकखण्डबाट दुबै जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारततर्फको नम्बर प्लेट भएको BR05BL 1680 नम्बरको कालो–रातो रंगको TVS अपाचे मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद अवस्थामा रोकी जाँच गर्दा उनीहरूको पाइन्टको खल्तीबाट १५४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको थियो ।

पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोष प्रसाद पटेल रहेका छन् ।

प्रहरीले पटेलको घरमा समेत खानतलासी गर्दा कालो प्लास्टिकमा लुकाइराखेको ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थ र लागूऔषध प्याकिङ गर्ने प्लास्टिक बरामद गरेको जनाएको छ ।

बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।