Date
शुक्र, भदौ १२, २०८३
Fri, August 28, 2026
Home Blog Page 18

प्रेमिकासँग विवाहको माग गर्दै ८० मिटर अग्लो टेलिकमकाे टावर चढेका युवककाे उद्धार

0

वीरगंज । प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरको टुप्पोमा चढेका एक युवक सुरक्षाकर्मी र परिवारको सम्झाइबुझाइपछि सकुशल तल ओर्लिएका छन् ।

सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकमको टावरमा गएराति गोडैता नगरपालिका–९, बकैनियाका २४ वर्षीय अफसर आलम चढेका थिए । उनी सर्लाही क्याम्पसमा बीबीएस अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार आलमले आफूसँगै क्याम्पसमा अध्ययनरत ठाकुर थरकी एक युवतीसँग प्रेम सम्बन्ध रहेको र उनीसँग विवाह हुनुपर्ने माग राख्दै टावरको टुप्पोमा चढेका थिए । उनले टावरबाट आफ्ना साथीलाई फोन गरी माग पूरा नभए हाम फाल्ने चेतावनी दिएका थिए । त्यसपछि घटनाबारे प्रहरीलाई जानकारी पुगेको थियो ।

घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि परिचालित भएको थियो । सुरक्षाकर्मी तथा परिवारका सदस्यहरूले निरन्तर सम्झाइबुझाइ गरेपछि आलम अन्ततः आफैं टावरबाट सुरक्षित रूपमा तल ओर्लिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार आलमले प्रेमिकालाई घटनास्थलमा बोलाएर विवाहका लागि प्रतिबद्धता गराउन माग गरेका थिए । तर परिवार र प्रहरीको पहलपछि उनले आफ्नो अडान त्याग्दै सुरक्षित रूपमा तल झरेका हुन् ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा प्रेम सम्बन्धलाई सफल बनाउन परिवारमाथि दबाब सिर्जना गर्ने उद्देश्यले उनले यस्तो कदम चालेको हुन सक्ने प्रहरीको अनुमान छ ।

स्थानीय तहमा विकास योजना : तर्जुमा, कार्यान्वयन, अनुगमन र चुनौतीहरू

0

कुनै पनि सामाज, क्षेत्र, राज्य, देश वा मुलुकमा रहेको साधन, स्रोत र क्षमताको आधारमा सर्वसाधारनको जिवनस्तर वृद्धि गर्नको लागि तयार पारिएको निश्चित समयावधि भएको दस्तावेज हो । नेपालमा योजनाको सुरुवात संघीय सरकारबाट आर्थिक वर्ष सूरु हुनु भन्दा १ डेढ महिना अगाडि अर्थात जेष्ठ १५ मा बजेट भाषणबाट हुने गरेको छ । प्रदेश सरकारले असार महिनाको १ गते भित्र बजेट प्रदेश सभामा पेश गर्नुपर्ने विद्यमान व्यवस्था छ । त्यस्तै गाउँपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने कानूनी प्रावधान छ ।

विश्वमा सर्वप्रथम विकास योजना रुस राष्ट्रबाट स.न. १९२८ को “पापतिलेका” स्किमबाट सूरुवात भएको भान्निछ।नेपालमा योजनावद्ध विकास प्रक्रियाको प्रारम्भसँगै वि.सं.२०१३ मा प्रथमपटक योजना आयोगको नामबाट प्रधानमन्त्रीको अध्यक्षतामा योजना निर्माण गर्ने निकाय गठन भएको थियो ।

वि.सं. २०२९ मा तयार गरिएको एउटा वृह्त अध्ययनले प्रतिवेदनबाट प्रस्ताव गरे अनुसार केन्द्रीय योजना निर्माण सम्बन्धी निकायले गर्ने कार्य तथा जिम्मेवारीहरू राष्ट्रिय योजना आयोगलाई दिने गरी नेपालमा राष्ट्रिय योजना आयोगको गठन भएको थियो ।

स्थानिय तहमा विकास योजना तर्जुमा गर्दा सर्वप्रथम नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न बजेट शिर्षक – (जस्तै सशर्त बजेट, वित्तिय समानिकरण, राजश्व बाँडफाँड, विशेष अनुदान, सम्पूरक अनुदान, मन्त्रालयहरुबाट सञ्चालित कार्यक्रम- तराई मधेश समृद्धि कार्यक्रम, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, सडक बोर्डबाट सडक स्तरउन्नति कार्यक्रम आदि) बाट प्राप्त भएको रकमलाई अनुमान गरि गाउँ तथा नगर सभाबाट गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानियस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत विषय क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन विकास योजना बनाई लागू गर्ने गरेका छन् ।

गाउँपालिका तथा नगरपालिकाले योजना बनाउँदा नेपाल सरकार र प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समयसीमा र प्रतिक्रियासँग अनुकूल हुने गरी सुशासन, वातावरण, बालमैत्री, जलवायू परिवर्तन अनुकूलन, विपद व्यवस्थापन, लैङ्गिक तथा सामाजिक समावेशीकरण जस्ता अन्तरसम्बन्धित विषयलाई ध्यानमा राखि योजना तर्जु, कार्यन्वयन, अनुगमन तथा मूल्याङ्कन गर्नु पर्नेमा हालसम्म नेपालमा असारे विकास विद्यमान नै रहेको अवस्था देखिन्छ।

स्थानीय तहमा योजना तर्जु, कार्यन्वयन, अनुगमन तथा मूल्याङ्कनमा देखिएका समस्या तथा चुनौतीहरु के छन् त ?

गाउँपालिका तथा नगरपालिकाले योजना बनाउँदा मध्यम तथा दीर्घकालीन प्रकृतिका आयोजनाहरको सूची तयार गरी आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने योजना नबनाई अनुदानमूल्क जनतालाई सोझै रकम वितरण मुखि योजनाहरु पालिकाबाट योजना तर्जुमा तथा कार्यन्वयन हुदाँ जनतालाई स्थानिय सरकार माथि निर्रभरता सृजना भएको अवस्था छ।उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त हुने र जनताको जीवनस्तर, आम्दनी र रोजगार प्रवर्दन हुने योजना तर्जु नगरी राजनितिक दृश्टीकोष र चुनावी लाभलाई ध्यानमा राखी गाउँ तथा नगर सभाका अध्यक्ष र सदस्यहरुले वितरणमूखि योजनाहरु विद्यमान रहेको अवस्था छ।लैङ्गिक समानता, सामाजिक समावेशीकरण अभिवृद्धि तथा स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने गरी स्थानीय तहले विकास योजनाहरु समावेश गर्नु पर्नेमा राजनीतिक कार्यकर्ता केन्द्र तथा संघीय र प्रदेश सरकारको स्रोत, साधन र सीपमा निर्भरता हुने गरी स्थानीय तहले योजना तर्जु विकास योजनाबाट अनुमानित फल हालसम्म पनि स्थानीय तहलाई प्राप्त हुन सकेको छैन् ।

नेपालको संविधान २०७२ मा स्थानीय तहलाई नगर प्रहरी व्यवस्थापन तथा सञ्चालन,  स्थानीय कर, सेवा शुल्क तथा दस्तुर निर्धारण, सङ्कलन र व्यवस्थापन, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थान, खानेपानी व्यवस्थापन सम्बन्धी अधिकार हुदाँ हुदै पनि संघीय निजामती सेवाको गठन तथा सञ्चालन सम्बन्धि ऐन, संघीय स्वास्थ्य सेवाको गठन तथा सञ्चालन सम्बन्धि ऐन, संघीय शिक्षा ऐन तथा अन्य स्थानीय तहको अधिकार सूचीमा रहेको तर संघीय सरकारबाट ऐन हालसम्म पनि जारी नहुदाँ स्थानीय तहले स्थानीय जनताको आवश्यकता हुदाँ हुदै पनि कतिपय योजन तर्जु तथा कार्यन्वनय गर्न सकेका छैन्न।

गाउँपालिका तथा नगरपालिकाले योजना तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय बृद्धिजीवि, विषय विज्ञ, अनुभवी, पेशाविद्, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा, अल्पसङ्खयक, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका सरोकारवालाहरुको अधिकतम सहभागिता नगराई पालिकाहरुले कार्यपालिका सदस्यहरु नेपाल सरकार तथा प्रदेश सरकार बाट प्राप्त बजेट रकमभार तथा राजनीतिक सम्मिकरण अनुसार एकआपसमा वाँडफाँड गरी एकैपटक सभामा वडा अध्यक्ष, नगर उप प्रमुख तथा नगर प्रमुखले एक अर्कासँग छलफलै नगरी कुल बजेटको रकम वडा अध्यक्षले कति पाउने, नगर उप प्रमुखले कति पाउने र नगर प्रमुखले कति पाउने मौखिक सम्झदारी गरी योजना तर्जुमा गर्ने गरेको अवस्था छ।

नेपाल सरकार तथा प्रदेश सरकारले गाँउपालिका तथा नगरपालिकाको लागि सर्शत, निसर्शत अनुदान र विशेष अनुदानको रकम तोक्नु पर्नेमा त्यसतो बजेटको छुटै कार्यविधि तथा मापदण्ड अपनाइ कार्यान्वयन गर्नु पर्ने हुनेछ तर नेपाल सरकार र प्रदेश सरकारले आफ्नो छुटै कानून बनाई सो योजना स्थानीय तहलाई कार्यन्वयन गर्न दिदाँ धेरै जसो त्यस्ता बजेट तथा विकास योजना सरकारी कागजातमै सिमित हुने गरेको छ।

गाउँपालिका तथा नगरपालिकाले नेपाल सरकार वा प्रदेश सरकारसँगको संयुक्त लगानी वा सार्वजनिक निजी साझेदारीमा कुनै योजना सञ्चालन तथा व्यवस्थापन गर्नु पर्नेमा हालसम्म पनि कतिपय गाँउपालिका तथा नगरपालिकाको स्थानीय राजश्व सङ्कलनको अवस्था कमजोर रहेको हुनाले नेपाल सरकार वा प्रदेश सरकारबाट साझेदारीबाट प्राप्त रकम आर्थिक वर्षको असार मसान्तमा फ्रिज भएको पनि अवस्था देख्न सकिन्छ।

गाउँपालिका तथा नगरपालिकाले स्थानीयस्तरका विकास आयोजनाको आवश्यक अध्ययन तथा प्रभाव मूल्याङ्कनको कार्य गर्नु पर्नेमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण र बजेट तथा कार्यक्रम तर्जुमा समितिले नेपाल र प्रदेश सरकारबाट प्राप्त बजेट एक आपसमा निजी आवश्यकताको आधार हुने गरेको पाइन्छ।योजना तर्जुमाको अवस्थामा कार्यान्वयन गर्ने सरोकारवाला निकायको न्यून सहभागिताकव फलस्वरुप अपनत्वको कमी, कार्यान्वयन गर्ने निकायको क्षमता कमजोर हुनु जस्ता कारण योजना (लक्ष्य) र कार्यान्वयन (उपलब्धि) बीच अनपेक्षित अन्तर देखिन्छ।योजना बढी महत्वाकाक्षी भएको र कार्यान्वयन पक्षमा कमजोर र पर्याप्त ध्यान नपुगेको एवं अन्तर क्षेत्रगत सामञ्जस्यता कायम नभएकव जस्त कमजोरी रहेका छन्।

संघीय प्रणाली अनुरुप खण्डीकृत स्थानीय तथ्याङ्कको उपलब्धता छैन भने योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा, प्राविधिक उच्च क्षमता भएका, उत्प्रेरित र दक्ष जनशक्तिको स्थानीय तहमा कमी रहेको छ।सो कमी पूरा गर्न करारमा कर्मचारी गाउँपालिका तथा नगरपालिकाले गर्दा स्थानीय तहमा उपलब्ध भएको जनशक्तिलाई प्राथमिकता दिएको हुनाले संघीय लक्ष्य र सोच अनुरुप प्रतिफल र कार्यदक्षता समेत कर्मचारीहरुमा नभएको पाइन्छ।

नेपालको संविधान २०७२ ले गाउँपालिका अध्यक्ष तथा नगरपालिकाको नगर प्रमुखलाई गाउँ/नगर सभाको अध्यक्ष र कार्यपालिकाको समेत अध्यक्षता ग्रहन गर्ने अधिकार दिएको हुनाले धेरै जसो गाउँ/नगरपालिकामा अध्यक्षले भने जस्तै बाँकी निर्वाचित सदस्यहरुलाई गर्नु पर्ने बाँध्यात्मक परिस्थितिले गर्दा योजना तर्जु, छनौट, कार्यान्वयन तथा अनुगमनमा राजनितिक पार्टी अनुसारको हुने गरेको पाइन्छ।

अनुगमनका चरणहरुको अनुपालना हुन नसक्नु, विकास नीति, योजना तथा कार्यक्रमले पारेको समग्र प्रभाव, असर र दिगोपनको मूल्याङ्कनलाई सघन बनाउन नसक्नु, योजना तर्जुमाको क्रममा अनुगमन तथा मूल्याङ्कनका लागि आवश्यक कार्ययोजनाले प्राथमिकता नपाउनु प्रमुख समस्या हुन्। अनुगमन तथा मूल्याङ्कनबाट औँल्याइएका सकारात्मक पृष्ठपोषणलाई कार्यान्वयन गर्ने व्यवस्था अनिवार्य नहुनु, कार्यक्रम तथा आयोजनाको नतिजालाई सम्बन्धिम निकायका पदाधिकारीहरुको कार्यसम्पादसँग आबद्ध गरी पुरस्कार र दण्डको व्यवस्था गराउन नसक्नु, अनुगमन तथा मूल्याङ्कन प्रणालीसँग आबद्ध जनशक्तिको पर्याप्त क्षमता विकास गर्न नसक्नु र यसका लागि साधन- स्रोतको अपर्याप्तता रहनु प्रमुख समस्या हुन् ।

संघीय संरचना अनुरुप संघ,  प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई संस्थागत गर्नु,  योजनाले परिलक्षित गरेका प्रगतिको एकीकृत प्रतिवेदन गर्नु, राष्ट्रिय लक्ष्यका सही तथा मापनयोग्य सूचकहरु निर्धारण गर्नु, दिगो विकास लक्ष्य लगायतका विषयमा असर र प्रभाव तहका सूचकहरुको खण्डीकृत एवम् सर्वेक्षणमा आधारित तथ्याङ्क तथा सूचना सिर्जना गरी प्रगति समीक्षा गर्नु,  अनुगमन तथा मूल्याङ्कन क्षेत्रमा दक्ष जनशक्ति तयार गरी टिकाइ राख्नु, नीति, योजना तथा कार्यक्रमकव प्रभाव र असर मूल्याङ्कन गर्नु, मूल्याङ्कनबाट आएका पृष्ठपोषणलाई अनिवार्य कार्यान्वयन गराउनु र अनुगमन तथा मूल्याङ्कन कार्यमा प्रविधिको प्रयोगलाई व्यहारमा लागू गर्नु प्रमुख चुनौती रहेका छन् ।

अनुगमन तथा मूल्याङ्कनलाई अन्तरनिकाय र अन्तरसरकारी तहको समन्वय र सहकार्यमा थप प्रभावकारी बनाउनु आवश्यक छ। आन्तरिक र तेस्रो पक्षको मूल्याङ्कन मार्फत विकास नीति, योजना तथा कार्यक्रमको असर र प्रभाव अध्ययन गरी पृष्ठपोषण प्रदान गर्ने प्रयासलाई सुदृढ बनाउने एवम् विकास आयोजनाहरुको अनुगमन तथा मूल्याङ्कन कार्य छिटो, छरितो र व्यवस्थित बनाउन नवीन प्रविधिको प्रयोग र सञ्जालीकरण गर्नुपर्ने देखिएको छ। योजनामा अनुगमन तथा मूल्याङ्कनबाट प्राप्त अनुपोषणलाई तीन तहको सरकारमा अनिवार्य रुपमा लागू गर्ने प्रणालीको विकास गर्दै समस्याको शीघ्र समाधान गर्नु पर्ने देखिन्छ ।

लेखक : केशव कुमार अधिकारी पर्साकाे कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

0

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा आश्रमलाई विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेको छ ।

समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता)का अनुसार आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन पिठो, तेल, नुन, तरकारीलगायत आवश्यक खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

सहयोग ग्रहण गर्दै मानवसेवा आश्रमले समितिप्रति आभार व्यक्त गरेको छ । आश्रमले उक्त सहयोगले आश्रित ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको सेवा, संरक्षण र दैनिक व्यवस्थापनमा महत्वपूर्ण टेवा पुगेको जनाएको छ ।

आश्रमका प्रतिनिधिहरूले समाजसेवाप्रतिको यस्तो संवेदनशीलता, उदारता र मानवीय भावनाले अन्य व्यक्ति तथा संघसंस्थालाई समेत सामाजिक सेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

धार्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्दै आएको श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

मानवसेवा आश्रमले समितिको उत्तरोत्तर प्रगति, सफलता तथा श्री गहवामाईको असीम कृपा सधैं रहिरहोस् भन्ने शुभकामनासमेत व्यक्त गरेको छ ।

तीन दिनपछि छपकैया ३३ केभी केबलको खराबी पत्ता, वीरगंजकाे विद्युत सेवा सहज बन्दै

0

वीरगंज । वीरगंजकाे विद्युत आपूर्तिको प्रमुख विकल्पका रूपमा रहेको छपकैया ३३ केभी अन्डरग्राउन्ड केबलमा आएको प्राविधिक खराबी (फल्ट) तीन दिन र तीन रातको निरन्तर प्रयासपछि पत्ता लागेको छ । नेपाल विद्युत प्राधिकरण, वीरगंज वितरण केन्द्रले केबलको समस्या समाधानतर्फ काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्राधिकरणका अनुसार केबलमा समस्या देखिनेबित्तिकै उच्च व्यवस्थापनको समन्वयमा Fault Locator Megger Testing Van रातारात वीरगंज ल्याएर परीक्षण सुरु गरिएको थियो । तर रातभरको प्रयासपछि पनि प्रारम्भिक रूपमा फल्टको स्थान पहिचान हुन नसक्दा छपकैया सबस्टेसनअन्तर्गत सञ्चालित अस्पताल, विर्तामाई, नगवा, छपकैया र बलिरामपुर फिडरमध्ये बलिरामपुर, छपकैया र नगवा फिडरको विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।

विद्युत सेवा लामो समय अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्राधिकरणले अर्को दिनदेखि नै प्रभावित सबै फिडरमा वैकल्पिक विद्युत आपूर्तिको व्यवस्था मिलाएको जनाएको छ ।

लगातार तीन दिन र तीन रातको प्राविधिक खोजीपछि नगवा पोखरी नजिक अन्डरग्राउन्ड केबलमा आएको खराबीको स्थान पहिचान गरिएको हो । उक्त क्षेत्रमा निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन सम्पन्न भइसकेकाले पुरानो लाइन नकटाई नै मर्मत कार्य अघि बढाउन सहज भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार प्रतिकूल वर्षायाम, केही स्थानीयको अवरोध तथा चुनौतीपूर्ण अवस्थाका बीच पनि वीरगंज वितरण केन्द्रका कर्मचारी, प्राविधिक टोली र निर्माण व्यवसायीले दिनरात खटेर निर्माणाधीन पसौंनी–छपकैया ३३ केभी ओभरहेड लाइन दुई दिनमै सम्पन्न गरी सफलतापूर्वक चार्ज गरेका छन् ।

वीरगंज वितरण केन्द्रले कठिन परिस्थितिमा धैर्यपूर्वक सहयोग गर्ने स्थानीय उपभोक्ता, स्थानीय प्रशासन, सञ्चारकर्मी, निर्माण व्यवसायी तथा प्राधिकरणको उच्च व्यवस्थापनप्रति आभार व्यक्त गरेको छ ।

प्राधिकरणले नयाँ ३३ केभी ओभरहेड लाइन सञ्चालनमा आएसँगै भविष्यमा वीरगंजवासीले अझ भरपर्दो, गुणस्तरीय र नियमित विद्युत सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यसलाई वीरगंजकाे विद्युत आपूर्ति प्रणालीका लागि महत्त्वपूर्ण उपलब्धि तथा नयाँ कोसेढुंगा भएको जनाएको छ ।

जनप्रतिनिधिको नेतृत्वमा कर्मचारीमाथि कुटपिट निन्दनीय, कारबाहीको माग

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा कर्मचारीमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीय राजेश प्रसाद कुर्मीले माग गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कुर्मीले मिति २०८३ असार २३ गते कालिकामाई गाउँपालिका कार्यालयमा भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय कुमार पटेलको नेतृत्वमा कर्मचारीमाथि भएको भनिएको कुटपिट तथा दुर्व्यवहारको घटना दुःखद, निन्दनीय तथा कानुनी राज्यको मर्मविपरीत रहेको बताएका छन् ।

विज्ञप्तिमा लोकतान्त्रिक शासन व्यवस्थामा जनप्रतिनिधिसमेत सबैले कानुनको दायराभित्र रहेर आफ्नो असन्तुष्टि र अधिकारको प्रयोग गर्नुपर्ने उल्लेख गर्दै हिंसात्मक व्यवहार कुनै पनि दृष्टिकोणले स्वीकार्य हुन नसक्ने धारणा व्यक्त गरिएको छ । दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिबाट यस्तो गतिविधि हुनु जनप्रतिनिधिको मर्यादा र जिम्मेवारीसँग मेल नखाने पनि विज्ञप्तिमा उल्लेख छ ।

कुर्मीले घटनाको वास्तविक कारण, पृष्ठभूमि र उद्देश्यबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । प्राप्त जानकारीअनुसार कार्यादेशबिना सम्पन्न गरिएको भनिएको कामको भुक्तानीसँग सम्बन्धित विवादका कारण उक्त घटना भएको चर्चा रहेको उल्लेख गर्दै त्यस विषयमा पनि सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा वडाध्यक्ष पटेलले आफ्नो लामो कार्यकालमा वडा नं. ३ मा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा अन्य आधारभूत सेवाको अवस्थाबारे वडा तथा गाउँपालिकावासीलाई स्पष्ट जानकारी गराउनुपर्ने धारणा पनि राखिएको छ । गाउँपालिका कार्यालय रहेको वडामै अपेक्षाअनुसार शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास हुन नसकेको विषयमा समीक्षा आवश्यक रहेको उनले बताएका छन् ।

त्यसैगरी, हालै सार्वजनिक भएको एक भिडियोमा करार नियुक्ति तथा तथाकथित “बाउन्सर” भर्नासम्बन्धी उठाइएका विषयमा पनि आफ्नो कार्यकालमा भएका नियुक्ति प्रक्रियाबारे तथ्य सार्वजनिक गर्न सम्बन्धित पक्षलाई उनले आग्रह गरेका छन् ।

नेपालमा विधिको शासन, सुशासन र पारदर्शितालाई संस्थागत गर्ने प्रयास भइरहेका बेला कुनै पनि व्यक्तिले कर्मचारीलाई दबाब, धम्की वा बल प्रयोग गरेर गैरकानुनी काम गराउने वा गराउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने उल्लेख गर्दै उनले सबै पक्षलाई कानुनको सर्वोच्चता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न आग्रह गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा कुर्मीले कर्मचारीमाथि भएको भनिएको कुटपिट तथा दुर्व्यवहारको घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

मनसुनजन्य विपद्को पूर्वतयारीमा वीरगंज महानगर, अनुगमन टोली परिचालन गर्ने निर्णय

0

वीरगंज । मनसुन सक्रिय भएसँगै आउन सक्ने सम्भावित प्राकृतिक विपद् तथा त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगंज महानगरपालिकाले पूर्वतयारीलाई तीव्र बनाएको छ । यसैक्रममा कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको अध्यक्षतामा शनिबार नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठक सम्पन्न भएको छ ।

कार्यवाहक नगरप्रमुखको सचिवालयमा बसेको बैठकले मनसुन पूर्वतयारी, स्थलगत अनुगमन, स्वास्थ्य सेवा व्यवस्थापन तथा वडा कार्यालयहरूलाई उच्च सतर्कतामा राख्ने विषयमा विस्तृत छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको हो ।

बैठकले मनसुन सुरु भइसकेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत–साधन, जनशक्ति र पूर्वतयारीलाई चुस्त बनाउने निर्णय गरेको छ । साथै, मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्दै आवश्यक तयारीलाई प्रभावकारी बनाइने निर्णय गरिएको छ ।

महानगर क्षेत्रका केही स्थानमा मनसुनका कारण समस्या देखिन थालेपछि तत्काल अनुगमन टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने, सम्भावित जोखिमको मूल्याङ्कन गर्ने तथा राहत वितरणको पूर्वतयारीसमेत गर्नेछ ।

विपद्को समयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीलाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा स्वास्थ्य सेवाको भरपर्दो व्यवस्था गर्ने निर्णय गरिएको छ । सम्भावित महामारी वा अन्य स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने तथा आवश्यक समन्वयका लागि सम्बन्धित निकायमा पत्राचार गरिने भएको छ ।

यसैगरी, महानगरका सबै वडा कार्यालयलाई सम्भावित विपद्को जोखिमको पूर्वविश्लेषण गर्दै आवश्यक उद्धार तथा राहत तयारीसहित उच्च सतर्कतामा रहन निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मियाँ, हरिप्रसाद भुसाल तथा वीरगंज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख राजु प्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।

वीरगंज महानगरपालिकाले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्दै नगरवासीको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

पर्सा जिल्ला अदालतको वार्षिक प्रगति ५७.६८ प्रतिशत, ७ हजारभन्दा बढी मुद्दा फर्छ्योट

0

वीरगंज । पर्सा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल १२ हजार ३५० मुद्दामध्ये ७ हजार १२४ मुद्दा फर्छ्योट गर्दै ५७.६८ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ । यो उपलब्धि अघिल्लो आर्थिक वर्षको ५७.३ प्रतिशतभन्दा केही बढी रहेको अदालतले जनाएको छ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको अध्यक्षतामा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा अदालतका श्रेस्तादार प्रभाकर कुमार मल्लिकले प्रस्तुत गरेको विवरणअनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ५ हजार ३९१ र चालु आर्थिक वर्षमा दर्ता भएका ६ हजार ९५९ गरी कुल १२ हजार ३५० मुद्दामध्ये ७ हजार १२४ मुद्दा टुंग्याइएको छ । हाल ५ हजार २२६ मुद्दा विचाराधीन रहेका छन् । तीमध्ये २ वर्ष नाघेका २४० तथा १८ महिना नाघेका ३३१ मुद्दा अझै बाँकी रहेका छन् ।

बालबालिका सम्बन्धी मुद्दातर्फ गत आर्थिक वर्षबाट सरेका १६ र चालु वर्षमा दर्ता भएका ६६ गरी कुल ८२ मुद्दामध्ये ५४ मुद्दाको फैसला भएको छ भने २८ मुद्दा विचाराधीन छन् ।

अभिलेख व्यवस्थापनतर्फ अदालतमा १ लाख ५७ हजार ४२० मिसिल रहेकोमा यस वर्ष ४ हजार ६४३ मिसिल सडाउने कार्य सम्पन्न भएसँगै कुल ८० हजार ९१४ मिसिल व्यवस्थापन गरिएको छ । हाल ७४ हजार २३५ मिसिल सडाउन बाँकी रहेको अदालतले जनाएको छ । त्यसमध्ये ८२ हजार १६५ मिसिल कम्प्युटर प्रणालीमा प्रविष्ट गरिएको छ भने १ हजार २७२ मिसिल अझै इन्ट्री हुन बाँकी छन् । २०८१ सालसम्मका सबै छिनुवा मिसिल अभिलेखमा पठाइसकिएको र २०८२ सालका मिसिलसमेत क्रमशः अभिलेखमा पठाउने कार्य जारी रहेको जानकारी दिइएको छ ।

फैसला लेखनतर्फ २०८३ जेठअघिका केही मुद्दाबाहेक सबै फैसला तयार भइसकेको अदालतले जनाएको छ । साथै फैसला भएको एक महिनाभित्र फैसला लेखन सम्पन्न गर्न सम्बन्धित इजलास अधिकृत तथा कर्मचारीलाई निर्देशन दिइएको छ ।

म्याद तामेली व्यवस्थापनलाई प्रभावकारी बनाउन पुराना म्याद पूर्ण रूपमा तामेल भएपछि मात्रै नयाँ म्याद जारी गर्ने व्यवस्था लागू गरिएको छ । जवाफ नपठाएका कार्यालय तथा निकायमा अदालतबाटै कर्मचारी खटाई आवश्यक कागजात र मिसिल ल्याउने प्रयास गरिएको तथा वाट्सएप र मेसेन्जरमार्फत समेत निरन्तर ताकेता गरिएको अदालतले जनाएको छ ।

त्यसैगरी, दुई वर्षे तथा १८ महिने मुद्दाको नियमित अनुगमनका लागि सम्बन्धित शाखा अधिकृतलाई जिम्मेवारी तोकिएको, यस्ता मुद्दामा अनावश्यक रूपमा लगाउ मुद्दा थप्ने प्रवृत्ति निरुत्साहित गरिएको, अभिलेख शाखाको मर्मत कार्य अघि बढाइएको तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको जानकारी पनि कार्यक्रममा दिइयो । अदालतका लागि आवश्यक जग्गा प्राप्तिको पहलसमेत जारी रहेको बताइएको छ ।

श्रेस्तादार मल्लिकका अनुसार आर्थिक वर्षभर Zen-Z आन्दोलनका कारण करिब दुई महिना नेटवर्क सेवा अवरुद्ध हुँदा मुद्दा दर्ता, सफ्टवेयरमा अभिलेखीकरण, म्याद तामेली तथा अन्य न्यायिक कार्य प्रभावित भएका थिए । त्यसपछि लागेको कर्फ्यु, संसदीय निर्वाचन तथा २०८२ चैत २२ गतेदेखि थप गरिएको आइतबारको सार्वजनिक बिदाका कारण अदालतका कार्यदिन घट्दा लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न चुनौती भए पनि अघिल्लो वर्षको तुलनामा प्रगति सुधार गर्न सफल भएको उनले बताए ।

वार्षिक समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी मुद्दा फैसला गर्ने जिल्ला न्यायाधीश माधव घिमिरेलाई सम्मानसमेत गरिएको थियो ।

छपकैया तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ सम्पन्न, १५ खेलाडी स्तरोन्नत

0

वीरगंज । छपकैया तेक्वान्दो डोजाङमा शनिबार विभिन्न तहका खेलाडीहरूको बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १५ जना खेलाडीले विभिन्न तहका बेल्ट प्राप्त गर्दै सफलतापूर्वक स्तरोन्नति गरेका छन् ।

डोजाङका अध्यक्ष मन्सुर मोहम्मद मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

ग्रेडिङअन्तर्गत ९ जना खेलाडीले ह्वाइट (सेतो) बेल्ट, ३ जनाले हाफ ग्रीन (हरियो) बेल्ट, १ जनाले ग्रीन बेल्ट तथा २ जनाले ब्लु बेल्ट प्राप्त गरेका छन् ।

ह्वाइट बेल्ट प्राप्त गर्नेमा सानभी क्षेत्री, दिवस सापकोटा, नित्यम चौरसिया, एम. आहिल हुसेन, कृतिक कुमार जाटिया, आयुष्मा कुमारीसहित ९ जना रहेका छन् । त्यस्तै हाफ ग्रीन बेल्टतर्फ एरिका दास, एरोन दास र विकास प्रजापति, ग्रीन बेल्टतर्फ आहिल इब्राहिम तथा ब्लु बेल्टतर्फ सबना खातुन र अमन सर्राफ ग्रेडिङमा सफल भएका छन् ।

ग्रेडिङ परीक्षा नवल किशोर शर्मा, राजेन्द्रकुमार शाही, मन्जिल मियाँ हवारी र विक्रान्त डंगोल सम्मिलित ग्रेडिङ समितिले सञ्चालन गर्दै खेलाडीहरूको सीप, अनुशासन र दक्षताको मूल्याङ्कन गरेको थियो ।

ग्रेडिङ समितिका सदस्य राजेन्द्रकुमार शाहीले नियमित प्रशिक्षण, अनुशासन र निरन्तर अभ्यास नै खेलाडीको सफलताको मुख्य आधार भएको बताए । बेल्ट ग्रेडिङ केवल पदोन्नति नभई खेलाडीको क्षमता, आत्मविश्वास र जिम्मेवारी अभिवृद्धि गर्ने प्रक्रिया भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ बढी मेहनतका साथ अभ्यासलाई निरन्तरता दिन खेलाडीहरूलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष मन्सुर मोहम्मद मियाँले छपकैया क्षेत्रमा तेक्वान्दोप्रति बालबालिका र युवाको आकर्षण निरन्तर बढिरहेको बताउँदै खेलमार्फत अनुशासन, आत्मरक्षा तथा सकारात्मक सोचको विकास हुने विश्वास व्यक्त गरे । उनले डोजाङले भविष्यमा पनि दक्ष खेलाडी उत्पादन र तेक्वान्दो खेलको विकासका लागि निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाए ।

कालिकामाई गाउँपालिकाको विवादबारे नेपाली कांग्रेसको ध्यानाकर्षण, सेवा सुचारु गर्न माग

0

वीरगंज । नेपाली कांग्रेस कालिकामाई गाउँपालिका कार्यसमितिले कालिकामाई गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबीच उत्पन्न विवादका कारण पालिकाको सेवा प्रवाह प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।

गाउँपालिका समितिका सचिव रामानन्द ठाकुर लोहारद्वारा जारी विज्ञप्तिमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको एकलौटी तथा मनोमानी कार्यशैलीका कारण पछिल्ला वर्षहरूमा पालिकाभित्र पटक–पटक विवाद, प्रतिवाद र तनावको अवस्था सिर्जना हुँदै आएको दाबी गरिएको छ ।

विज्ञप्तिमा मिति २०८३ असार १२ गते कार्यपालिका बैठक नै नबसी शिक्षा, स्वास्थ्य तथा भूमि व्यवस्था कार्यालय स्थापनासम्बन्धी छ वटा प्रस्ताव गोप्य रूपमा निर्णय पुस्तिकामा हस्ताक्षर गराउने प्रयास भएको आरोप लगाइएको छ । उक्त विषयमा जानकारी लिन वडा नं. २, ३ र ४ का अध्यक्षसहित कार्यपालिका सदस्य तथा स्थानीय नागरिक गाउँपालिकामा पुगेका बेला केही व्यक्तिले विवाद सिर्जना गरेको कांग्रेसको दाबी छ ।

यस्तै, करिब दुई महिनाअघि सूचना माग्न पुगेका नागरिक अगुवामाथि कुटपिट भएको घटनाको पनि स्मरण गराउँदै त्यस्ता घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ ।

कांग्रेसले संविधानले नागरिक र जनप्रतिनिधिलाई सूचना माग्ने, प्रश्न गर्ने तथा शान्तिपूर्ण रूपमा विरोध गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै जनप्रतिनिधि तथा नागरिकलाई षड्यन्त्रपूर्वक विभिन्न झमेलामा फसाउने कार्य स्वीकार्य नहुने जनाएको छ ।

विज्ञप्तिमार्फत पार्टीले पालिकाभित्र देखिएका विवादलाई संवाद र छलफलबाट समाधान गर्दै आम नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

गाउँपालिका कर्मचारीहरु सुरक्षा अनुभुति नभएकाे भन्दै चरणबद्ध आन्दाेलनमा छन् । कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालय समयमै गाउँ कार्यपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरू साेही दिनदेखि गाउँपालिकाकाे कामकाम ठप्प पारी दाेषीमाथि कारवाहीकाे माग गर्दै आन्दाेलित भएका छन् ।

रोयल किड्स मन्टेश्वरीमा मेहन्दी प्रतियोगिता सम्पन्न, प्रेमा देवी प्रथम

0

वीरगंज । साउन महिनाको पहिलो दिनको अवसर पारेर वीरगंज महानगरपालिका–१० अशोकबाटिकास्थित रोयल किड्स मन्टेश्वरी स्कुलले विद्यार्थीहरूबीच मेहन्दी प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले आयोजना गरेको प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतिस्पर्धामा प्रेमा देवी प्रथम, नेहा चौधरी द्वितीय तथा ममता कुमारी तृतीय हुन सफल भएका थिए ।

विजेता विद्यार्थीहरूलाई विद्यालयकी प्रिन्सिपल रुचिका कुमारी तथा निर्णायक मण्डलकी सदस्य रेखा जैसीले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई पनि प्रमाणपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा उपस्थित अभिभावकहरूले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएकोमा प्रशंसा गरेका थिए । यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकासमा टेवा पुग्ने उल्लेख गर्दै आगामी दिनमा खेलकुद तथा अन्य सिर्जनात्मक कार्यक्रमहरू पनि निरन्तर आयोजना गर्न सुझाव दिएका थिए ।

कार्यक्रम विद्यालयकी प्रिन्सिपल रुचिका कुमारीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रतियोगिताको निर्णायकको भूमिका माउन्ट मकालु बोर्डिङ स्कुलकी सहायक प्रिन्सिपल रेखा जैसीले निर्वाह गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सोही विद्यालयका प्रिन्सिपल राहुल श्रीवास्तवले गरेका थिए ।

विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ आगामी दिनमा पनि विभिन्न सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।