Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026
Home Blog Page 19

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ ।

यसअघि २०८३ असोज ११ गते आयोजना गर्ने तय गरिएको कार्यक्रम मौसम पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म प्रतिकूल मौसमको सम्भावना रहेकाले असोज १४ गते सारिएको नेकपा पर्साका संयोजक जयप्रकाश थारूले जानकारी दिए ।

नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यता तथा सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशिष्ट आतिथ्यतामा कार्यक्रम आयोजना हुने जनाइएको छ ।

परिवर्तित कार्यतालिकाअनुसार कार्यक्रम असोज १४ गते बिहान १० बजेदेखि वीरगंज नगर सभा गृहमा हुनेछ ।

नेकपा पर्साले पार्टीका सम्पूर्ण केन्द्रीय समिति सदस्य, मधेश प्रदेश समिति सदस्य तथा जिल्ला समिति सदस्यहरूलाई समयमै कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गरिएकाे नेकपा पर्साका सह इन्चार्ज मनाेज चाैधरीले वताए ।

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

0

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ । त्यस्तै, उपसभापतिमा मनीर मन्सुरी र महिला उपसभापतिमा अनीता छेत्री चयन हुनुभएको छ ।

यस्तै, सचिवमा सन्तोष कर्ण तथा सहसचिवमा अनिल ओझा चयन हुनुभएको जनाइएको छ । अधिवेशनबाट वडा कार्यसमितिका अन्य आठ जना सदस्यसमेत चयन भएका छन् ।

अधिवेशनले आगामी महाधिवेशनका लागि २३ जना क्षेत्रीय प्रतिनिधि समेत चयन गरेको छ ।

वडा अधिवेशनमार्फत स्थानीय तहमा पार्टीको संगठनात्मक संरचना निर्माण गर्नुका साथै आगामी महाधिवेशनका लागि आवश्यक प्रतिनिधि चयन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

0

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको संख्या पूरा भएपछि पुर्जा लिन लाममा बसेका बिरामी उपचार नै नगरी फर्किनुपर्ने अवस्था देखिएको छ।

बाराको कलैया उपमहानगरपालिका–२१ का शिवपुजन चौरसिया सोमबार बिहान दिदीको उपचारका लागि नारायणी अस्पताल पुगे। बिहान साढे ९ बजे अस्पताल पुगेकी उनकी दिदी करिब ११ बजेसम्म स्वास्थ्य बीमाको ओपीडी पुर्जा लिन लाइनमा बसिन्। तर काउन्टरमा पुग्नुअघि नै निर्धारित कोटा पूरा भएको भन्दै टिकट बन्द भएपछि उनी उपचार नगराई घर फर्किनुपर्‍यो।

शिवपुजनका अनुसार स्वास्थ्य बीमाअन्तर्गत जनरल मेडिकल ओपीडीका लागि दैनिक ३२५ जनाको मात्र पुर्जा काट्ने व्यवस्था छ। संख्या पूरा भएपछि लाइनमा बसेका बिरामीले समेत उपचार सेवा पाउन सक्दैनन्।

बाराको सुवर्ण गाउँपालिका–४ का सत्रुधन यादवले पनि यस्तै समस्या भोगे उनी बिहान सवा ९ बजे आमालाई लिएर अस्पताल पुगेका थिए। करिब ११ बजेसम्म लाइनमा बसेपछि काउन्टर बन्द हुँदा आमाको उपचार हुन नसकेको उनले बताए।

अस्पतालमा ज्येष्ठ नागरिक, अशक्त तथा टाढाबाट आएका बिरामीका लागि छुट्टै सहज व्यवस्था नहुँदा समस्या थपिएको बिरामीको गुनासो छ। एउटै लाममा ठूलो संख्यामा बिरामी बस्नुपर्ने र कोटा सकिएपछि उपचारबाटै वञ्चित हुनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

स्वास्थ्य बीमाबाट पाइने औषधिसमेत पर्याप्त नभएको बिरामीको गुनासो छ। केही महँगा औषधि अस्पतालबाहिरबाट खरिद गर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले भने जनशक्ति र भौतिक पूर्वाधारको अभावका कारण ओपीडीमा कोटा निर्धारण गर्नुपरेको बताए। उनका अनुसार स्वास्थ्य बीमाअन्तर्गत जनरल मेडिकलतर्फ दैनिक ३२५, हृदय रोगतर्फ ५० र डायलाइसिसतर्फ ४० जनाको पुर्जा काट्ने गरिएको छ।

‘पर्याप्त चिकित्सक भएको भए कोटा तोक्नुपर्ने अवस्था आउँदैनथ्यो,’ साहले भने, ‘तर सीमित जनशक्तिका कारण अहिलेको व्यवस्थापन गर्नुपरेको हो।’

अस्पतालमा ओपीडीसहित दैनिक करिब १ हजार ४ सय नयाँ बिरामी आउने गरेका छन्। तर स्वीकृत दरबन्दीअनुसार पर्याप्त जनशक्ति नहुँदा सेवा व्यवस्थापनमा कठिनाइ भइरहेको अस्पताल प्रशासनको भनाइ छ।

अस्पतालका सूचना अधिकारी डा. उदय सिंहका अनुसार हाल अस्पतालमा ३२८ शय्या सञ्चालनमा छन्। तर जनशक्ति संरचना पुरानै दरबन्दीअनुसार रहेको छ। पछिल्लो समय आईसीयू, डायलाइसिस, एनआईसीयू, पीआईसीयूलगायत सेवा थपिए पनि त्यसअनुसार जनशक्ति थप हुन सकेको छैन।

पूर्वाधारको अवस्थासमेत कमजोर रहेको अस्पताल प्रशासनले जनाएको छ। कतिपय सेवा तथा काउन्टर टहराबाट सञ्चालन गर्नुपर्ने अवस्था छ। मेडिकल ओपीडीमा ४५ शय्या रहे पनि दैनिक ६० देखि ७० जना नयाँ बिरामी थपिने गरेका छन्। त्यसका कारण भर्नाका लागि बिरामीले तीन दिनसम्म कुर्नुपर्ने अवस्था रहेको सिंहले बताए।

अस्पताल प्रशासनले जनशक्ति तथा भौतिक पूर्वाधार थपका लागि स्वास्थ्य मन्त्रालयमा पटकपटक पत्राचार गरे पनि अपेक्षित प्रगति हुन नसकेको जनाएको छ। अस्पतालमा बढ्दो बिरामीको चापअनुसार जनशक्ति, शय्या र पूर्वाधार विस्तार नगरेसम्म स्वास्थ्य बीमामार्फत उपचार लिन आउने बिरामीको समस्या समाधान हुन कठिन देखिएको छ।

वीरगंज विश्वविद्यालयको रकम निकासीबारे सीआईबीको अनुसन्धान

0

वीरगंज । प्रस्तावित वीरगन्ज विश्वविद्यालय स्थापनाका लागि करिब दुई दशकअघि संकलन गरिएको रकम बैंक खाताबाट निकालिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ।

विश्वविद्यालय स्थापनाका लागि हरिखेतान बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीले एक दिनको तलब योगदान गरेका थिए। त्यस्तै तत्कालीन गाविस, संविधानसभा सदस्य, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाबाट समेत रकम संकलन गरिएको थियो। अभियानबाट २ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको बताइएको छ।

संकलित रकम वीरगन्जस्थित कुमारी बैंकको खातामा राखिएको थियो। उक्त खाताबाट तत्कालीन हरिखेतान क्याम्पस प्रमुख भगवानप्रसाद यादवले चेकमार्फत रकम निकालेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

रकम निकाल्दा खातासम्बन्धी प्रक्रिया तथा कागजातमा अनियमितता भएको र व्यक्तिगत रूपमा रकम प्रयोग गरिएको हुन सक्ने विषयमा अनुसन्धान केन्द्रित रहेको प्रहरी स्रोतले जनाएको छ।

सीआईबीले अनुसन्धानसम्बन्धी फाइल जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएपछि बैंकसँग आवश्यक विवरण मागेर छानबिन अघि बढाइएको पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले बताए।

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले पनि कुमारी बैंकसँग विश्वविद्यालयको खातासम्बन्धी विवरण मागेको थियो। बैंकबाट प्राप्त विवरणमा विश्वविद्यालयको नाममा रहेको खाताबाट भगवानप्रसाद यादवले चेकमार्फत रकम निकालेको देखिएको जनाइएको छ।

विश्वविद्यालय स्थापनाका लागि योगदान गरेका शिक्षक तथा कर्मचारीले लामो समयसम्म रकम उपयोग नभएको अवस्थामा निकासीको विषयमा अनुसन्धान सुरु भएपछि चासो व्यक्त गरेका छन्। जग्गा व्यवस्थापनलगायतका विषय टुंगोमा पुग्न नसक्दा प्रस्तावित विश्वविद्यालय स्थापनाको प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको छैन।

धनुषाको भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद

0

वीरगंज । धनुषाको मिथिला नगरपालिका–२ स्थित कमला भेनियर उद्योगबाट ६७५ क्युफिट सिमलको काठ बरामद भएको छ।

डिभिजन वन कार्यालय धनुषाले विशेष सूचनाका आधारमा सोमबार साँझ विश्वकर्मा चोकनजिक रहेको उद्योगमा छापा मारेर काठ नियन्त्रणमा लिएको हो। वन कार्यालयका अनुसार उद्योग परिसरबाट ७८ थान सिमलको काठ बरामद गरिएको छ।

डिभिजन वन अधिकृत विनोद सिंहका अनुसार बरामद काठको स्रोत र त्यससँग सम्बन्धित आवश्यक कागजात उद्योग सञ्चालकले तत्काल देखाउन नसकेपछि नियन्त्रणमा लिइएको हो।

सब–डिभिजन वन कार्यालय पुष्पवलपुर र डिभिजन वन कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले उद्योगमा जाँच गरेको थियो। जाँचका क्रममा ठूलो परिमाणमा सिमलको काठ भण्डारण गरी राखिएको अवस्थामा फेला परेको सिंहले बताए।

बरामद काठ वैध स्रोतबाट ल्याइएको हो वा होइन भन्ने विषयमा वन कार्यालयले अनुसन्धान गरिरहेको छ। काठ कहाँबाट ल्याइएको हो, कसले आपूर्ति गरेको हो र उद्योगमा भण्डारणका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो कि थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ।

बरामद काठ हाल वन कार्यालयको नियन्त्रणमा राखिएको छ। अनुसन्धानपछि काठको स्रोत र कानुनी अवस्थाबारे थप विवरण खुल्ने वन कार्यालयले जनाएको छ।

निचुटामा ‘समावेशी शिक्षाको महत्व’ विषयमा वक्तृत्वकला प्रतियोगिता

0

वीरगंज । समावेशी शिक्षाको महत्व र आवश्यकताबारे विद्यार्थी तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्साको निचुटामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटा र वडा नं. ५ को दलित समुदायको सहभागितामा ‘समावेशी शिक्षाको महत्व तथा आवश्यकता’ विषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।

युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड, अकाउन्टेबिलिटी ल्याब नेपाल, नेशनल क्याम्पेन फर एजुकेसन नेपाल (एनसीई नेपाल) र नेपाल अपाङ्ग महिला संघको सहकार्य तथा दिव्य विकास स्रोत केन्द्र, पर्साको साझेदारीमा सञ्चालित पहुँच परियोजना (ACCESS Project) अन्तर्गत ‘फ्युचर स्कुल एन्ड कम्युनिटी इन्गेजमेन्ट’ अभियानमार्फत कार्यक्रम गरिएको थियो।

दिव्य विकास स्रोत केन्द्र, पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, निचुटाका व्यवस्थापन समिति अध्यक्ष शुभ प्रसाद यादव प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मधुकान्त प्रसाद चौधरी, वडा नं। ५ का समाजसेवी भुलाई प्रसाद साह तथा अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि अकलेश साहको उपस्थिति थियो।

कक्षा ९ का ७ जना विद्यार्थी सहभागी वक्तृत्वकला प्रतियोगितामा मम्मद जिकरु लाह प्रथम, अमर फारुक द्वितीय र फिज नेसा तृतीय भएका थिए। विजयी विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा जात, लिंग, अपाङ्गता, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी सबै बालबालिकालाई समान रूपमा शिक्षाको अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो। वक्ताहरूले समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि विद्यालय, परिवार, समुदाय तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमले विद्यालय तथा समुदायमा समावेशी शिक्षाको महत्व र आवश्यकताबारे सकारात्मक सन्देश प्रवाह गर्दै विद्यार्थी तथा अभिभावकमा चेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

कार्यक्रममा समुदायबाट १३० जना र विद्यालयबाट ११५ जना गरी कुल २४५ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्रका सामाजिक परिचालक विश्वनाथ हजराले गर्नुभएको थियो भने व्यवस्थापन पहुँच परियोजनाका जिम्मेवार व्यक्ति अमित कुमार राउतले गर्नुभएको थियो।

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

0

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवद्र्धन, उत्थान तथा प्रवद्र्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ ।

नेपाल साहित्यिक पत्रकार सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा भएको भेटका क्रममा उहाँले साहित्यिक पत्रकारिता समाजका भाषा, संस्कृति, कला र साहित्यलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले विभिन्न भाषाभाषी तथा मातृभाषामा प्रकाशित हुने पत्रपत्रिकाले सम्बन्धित समुदायको भाषा, संस्कृति र सामाजिक अवस्थाबारे बुझ्न सहज बनाउने उल्लेख गर्नुभयो । उहाँले दुर्गम तथा ग्रामिण क्षेत्रबाट हुने पत्रकारितालाई समेत राज्यले प्राथमिकताका साथ हेर्ने बताउनुभयो ।

साहित्यिक पत्रकार सङ्घले साहित्यिक, सांस्कृतिक, कलात्मक तथा मातृभाषाका पत्रपत्रिकाका लागि छुट्टै मापदण्ड बनाउने, साहित्यिक अनलाइन पत्रिकालाई समेत वर्गीकरणको मापदण्डभित्र समेटिनुपर्ने, साहित्यिक पत्रपत्रिकाको ढुवानीमा देखिएका समस्या समाधान गर्न हुलाक सेवामार्फत आवश्यक सहजीकरण गरिनुपर्नेलगायतका सुझाव दिएको छ । साथै, साहित्यिक पत्रकारिताको विकास र प्रवद्र्धनका लागि राज्य तथा सम्बन्धित क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि सङ्घको भनाइ छ ।

एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित

0

काठमाडौँ । जापानको नागोयामा जारी २० औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले थाइल्यान्डमाथि जित हासिल गरेको छ ।

जापानको टोकाइ सिटिजन जिम्नेसियममा आज भएको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ४६–४३ स्कोरले पराजित गर्दै जित हासिल गरेको हो ।

खेलको पहिलो हाफमा थाइल्यान्डसँग नेपाल २४–१५ ले पछि परेको थियो ।

त्यस्तै खेलको दोस्रो हाफमा त्यसमा सुधार गर्दै नेपालले थाइल्यान्डमाथि ३१–१९ ले खेल आफनो पक्षमा पा¥यो । त्यससँगै नेपालले थाइल्यान्डमाथि समग्रमा ४६–४३ अङ्कले जित्न आफनो पक्षमा ल्याउन सफल भयो ।

एसियाली खेलकुदमा आशा गरिएको खेलबाट सोचेअनुसारको नतिजा नआइरहेका बेला महिला कबड्डीको उक्त जित भने नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ ।

अघिल्लो १९ औँ संस्करणको एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले नेपाललाई कास्य पदक दिलाएको थियो । जारी प्रतियोगितामा नेपाल बी समूहमा छ । नेपालको समुहमा थाइल्यान्डसँगै श्रीलङ्का र चाइनिज ताइपे छन् । लिग चरणमा नेपालले अब श्रीलङ्का र चाइनिज ताइपेसँग खेल्नेछ ।

त्यस्तै समूह ए मा भने इरान, भारत, बङ्गलादेश र जापान रहेका छन् । प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइलनमा पुग्नेछन् ।

सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध

0

सर्लाही । सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएको हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानले बताउनुभयो ।

पहिरोले सडकमा क्षति पुर्याएसँगै त्यस खण्ड भएर चल्ने यातायातका साधन ठप्प भएको छ । सडक बन्द भएपछि बिरामीलाई अस्पतालसम्म लैजानसमेत समस्या उत्पन्न भएको छ । अन्तर प्रदेशस्तरीय उक्त सडकले पूर्वपश्चिम लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई जोड्छ । कर्मैया–पिपलमाडी १६ किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्री पैदल नै हिँड्न बाध्य भएका छन् ।

सडक अवरुद्ध भएपछि हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विभिन्न एक दर्जन गाउँका सर्वसाधारण दैनिक उपभोग्य वस्तु किनमेल गर्न, औषधि उपचार र अन्य प्रयोजनका लागि टाढा धाएर हेटौँडा वा सिन्धुली जान बाध्य छन् । छोटो सडक पहिरोबाट अवरुद्ध भएपछि सर्वसाधारण लामो बाटो छिचोलेर हेटौँडा पुग्नुपर्ने बाध्यता रहेको व्यवसायी किस्मतराज मैनालीले बताउनुभयो ।

चाडपर्वको मुखमा सडक अवरुद्ध हुँदा उपभोक्ता र व्यापारी दुवैले समस्या झेल्न परेको उहाँको भनाइ छ । कर्मैया–पिपलमाडी सडकमा सञ्चालन हुने बोलेरोसहित अन्य साना सवारी थन्क्याएर वस्नुपरेको यातायात व्यवसायी कर्मा लामाले बताउनुभयो ।

यातायात सेवा अवरुद्ध भएपछि स्थानीय पैदल हिँडेरै आउजाउ गर्न र दाल, चामललगायत खाद्य थाप्लोमा बोक्न बाध्य भएको स्थानीयको गुनासो छ । बागमती र मधेस प्रदेश जोड्ने ‘लिङ्क रोड’ को रुपमा रहेको कर्मैया–पिपलमाडी सडकखण्डमा चुरेको जोखिम पूर्ण डेढ किलोमिटर सडक सर्लाहीतर्फ रहेको छ ।

वीरगंजको अपौनीमा सार्वजनिक जग्गा खाली गराइयो, ८४ करोडको योजना अघि बढ्ने

0

वीरगंज । वीरगन्ज महानगरपालिका–२० अपौनीमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर तथा टहरा हटाइएको छ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनमा मंगलबार भौतिक अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं। ५ का अध्यक्ष प्रदीपकुमार चौरसियाको नेतृत्वमा नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले अतिक्रमण हटाएको हो।

महानगरपालिकाका अनुसार स्थानीय हृदयनारायण सिंह, लक्ष्मण पण्डित, रमेश सिंह, कृपानारायण सिंह, नन्दकिशोर पुरीलगायत दर्जनौँ व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाइएको हो। टोलीले अतिक्रमित क्षेत्र खाली गराई सार्वजनिक जग्गा संरक्षणका लागि पहल गरेको जनाएको छ।

अतिक्रमणका कारण विगत करिब ६ वर्षदेखि रोकिएको झण्डै ८४ करोड रुपैयाँ लागतको विकास योजना अब अघि बढ्ने भएको महानगरपालिकाले जनाएको छ। उक्त योजनाको ठेक्का ‘स्वच्छन्द निर्माण सेवा’ले पाएको भए पनि निर्माणस्थलमा सार्वजनिक जग्गा अतिक्रमण भएका कारण काम सुरु हुन सकेको थिएन।

अतिक्रमित संरचना हटाइएपछि निर्माणका लागि आवश्यक जग्गा खाली भएको र अब रोकिएको विकास योजना कार्यान्वयनको बाटो खुलेको महानगरपालिकाको भनाइ छ।

लामो समयदेखि रोकिएको विकास योजना अघि बढ्ने भएपछि स्थानीयवासीले सार्वजनिक जग्गा अतिक्रमण हटाउने महानगरपालिकाको कदमको स्वागत गरेका छन्। उनीहरूले विकास निर्माणका कामलाई तीव्रता दिन र सार्वजनिक सम्पत्तिको संरक्षणलाई निरन्तरता दिन महानगरपालिकासँग आग्रह गरेका छन्।