Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 175

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकाेत्सवकाे अवसरमा ४३ जनाद्वारा रक्दान

0

वीरगंज । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवको अवसरमा मंगलबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैंकको प्रादेशिक कार्यालय परिसर, वीरगंजमा आयोजित कार्यक्रममा ७ जना महिला सहित कुल ४३ जनाले रक्तदान गरेका छन्।

कार्यक्रम संयोजक आलोक रञ्जन कर्णका अनुसार रक्तदान कार्यक्रमको शुभारम्भ राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका प्रादेशिक अध्यक्ष राहुल कुमार ओझाले रक्तदान गरेर गर्नुभएको थियो । कार्यक्रममा रबि प्रसाद कानु, आयुष कोइराला, अशोक यादव, दिपा दास, मिना श्रेष्ठ लगायतले रक्तदान गरेका थिए।

बैंकका प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघका अध्यक्ष राहुल कुमार ओझा, नेपाल वित्तीय संस्था कर्मचारी संघका मोद नारायण चौधरी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका आलोक रञ्जन कर्ण लगायतको उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र, वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

कांग्रेसबाट टिकट नपाएपछि अजय द्विवेदी अचम्मित, यसपटक स्वतन्त्र लडेनन्

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट चुनाव लड्ने इच्छा राखेका अजय द्विवेदीलाई पार्टीले टिकट नदिएपछि उनी अचम्मित भएका छन् । क्षेत्रवासीले टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रने आँकलन गरे पनि यसपटक उनले उम्मेदवारी दर्ता गरेनन् ।

उम्मेदवारी दर्ताको समय सकिएपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै द्विवेदीले लेखेका छन्, “जिल्लामा साख, पार्टीमा संगठन अनि क्षेत्रमा सहयोग हुँदाहुँदै नेपाली काङ्ग्रेस पार्टीले मलाई उम्मेदवार नबनाएकोमा अलि अचम्मित त पक्कै पनि छु।”

उनले देश र पार्टीमा पुस्तान्तरण र परिवर्तनका आवाज उठिरहेको सन्दर्भ उल्लेख गर्दै “यो पालि नउठ्ने निर्णय समयसापेक्ष नै ठहरिन्छ” भन्ने धारणा राखेका छन् ।

पार्टीका आधिकारिक उम्मेदवारप्रति समर्थन जनाउँदै उनले लेखेका छन्, “अनिलजी र म पुराना मित्र हौँ। उहाँ पार्टीको आधिकारिक उम्मेदवार हुनासाथ मद्वारा हुन सक्ने जति सहयोग म गर्नेछु।” पर्सा–१ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटा रहेका छन् ।

आफूलाई लिएर उठेका विभिन्न टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै द्विवेदीले थप लेखेका छन्, “कसैले सेटिङको कुरा गर्नुभएको छ, कसैले राजनीति सकिने कुरा गर्नुभएको छ। ११ वर्षको उमेरमा ने.वि. संघ हुँदै नेपाली काङ्ग्रेसको राजनीतिमा आएको थिएँ। प्रशासनबाट कहिले ठूलोबुबालाई थुन्ने, कहिले मार्ने धम्की सुन्दै आएको त्यो ठिटोलाई एउटा संसद् भवनले लोभ्याउने कुरा हास्यास्पद लाग्छ।”

उनले राजनीति स्वार्थ र पदका लागि गर्नेको राजनीति सकिने भन्दै “हामी सधैँ सिद्धान्तका लागि लडेका मान्छे हौँ, अन्तिम श्वाससम्म यो लडाइँ जारी रहनेछ” भन्ने स्पष्ट सन्देश दिएका छन् ।

यसअघि पनि कांग्रेसले अन्य दलसंग गठबन्धन गरेका कारण टिकट नपाएपछि द्विवेदी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका थिए । त्यस निर्वाचनमा उनी जनता समाजवादी पार्टीका उम्मेदवार प्रदीप यादवसँग केही मतको अन्तरले पराजित भएका थिए ।

यसपालिकाकाे निर्वाचनमा पनि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले टिक दिन तयार रहेपनि उनले कांग्रेसबाट टिकट पाउने आशमा रास्वपामा गएनन् ।

पर्सा–४ मा ११ स्वतन्त्रसहित २४ जनाको उम्मेदवारी दर्ता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ जना स्वतन्त्रसहित विभिन्न दलबाट कुल २४ जनाले उम्मेदवारी (मनोनयन) दर्ता गराएका छन् । निर्वाचन कार्यालयका अनुसार निर्धारित समयभित्र मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार नेपाली कांग्रेसबाट पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य रमेश रिजाल, नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी, नेपाली कम्युनिष्ट पार्टीबाट जय प्रकाश थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेक बहादुर शाक्य, जनता समाजवादी पार्टी नेपालबाट कृपा सिन्दु चौधरी, आम जनता पार्टीबाट इमदाद गद्दी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शान्त कुमार जोशी उम्मेदवार बनेका छन् ।

त्यस्तै नेपाली उज्यालो पार्टीबाट विनोद यादव, पिपुल फर्स्ट पार्टीबाट फिरोज अन्सारी, नेपाल मजदुर किसान पार्टीबाट साहब मियाँ तेली, र नेपाल जनता पार्टीबाट अरुण कुमार कुशवाहाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा सबिर अहमद, गीता देवी बनिया, समसुल्हक मियाँ, उषा देवी, सुरजी देवी, कोरेमा खातुन, इन्द्रदेव प्रसाद महतो, पारस राउत र टिका बहादुर गुरुङले मनोनयन दर्ता गराएका हुन् ।

पर्सा–१ मा १२ स्वतन्त्रसहित ३० जनाको उम्मेदवारी दर्ता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १२ जना स्वतन्त्रसहित विभिन्न दलबाट कुल ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर १ को निर्वाचन कार्यालयका अनुसार सोमबार विहान १० बजेदेखि सांझ ५ बजेसम्म उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको हो ।

निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार नेकपा एमालेबाट पूर्व मन्त्री एवं निर्वतमान प्रतिनिधि सभा सदस्य प्रदीप यादव, नेपाली कांग्रेसबाट अनिल कुमार रुंगटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बुद्धि प्रसाद पन्त (हरि पन्त), नेपाली कम्युनिष्ट पार्टीबाट अजय चौरसिया, जनता समाजवादी पार्टीबाट रामनरेश प्रसाद यादव, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ उम्मेदवार बनेका छन् ।

त्यस्तै, उज्यालो नेपाल पार्टीबाट राम किशोर सिंह (पराग), आम जनता पार्टीबाट विश्वराज पटेल, श्रम संस्कृति पार्टीबाट वसिम शेष र राप्रपाबाट नन्द किशोर श्रीवास्तवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

अन्य दलतर्फ मजदुर किसान पार्टीबाट प्रमोद कुमार पटेल, पिपुल फर्स्ट पार्टीबाट जावेद इकबाल हैदर, नेपाल लोकतान्त्रिक पार्टीबाट शालिक राम प्रसाद कानु, एकल चुनाव चिन्ह बसबाट सोरुब अन्सारी, नेकपा संयुक्तबाट शंकर कुमार कर्ण र जन अधिकार पार्टीबाट महेश कुमार पासवान उम्मेदवार रहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा शिव प्रसाद कोइरी, अभिनास चौरसिया, विशाल कुमार, प्रेम मेहता, अनिल प्रसाद यादव, नरेश कुमार यादव, दिप कुमार शर्मा र सरोज प्रसाद यादव रहेका छन् ।

पर्सा–१ मा दल र स्वतन्त्र दुवै तर्फका उम्मेदवारको संख्या धेरै भएकाले यस क्षेत्रको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

पर्सामा रास्वपाले तीन क्षेत्रमा टुंग्यायो उम्मेदवार, क्षेत्र नं. २ काे अझै आधिकारिक घोषणा भएन

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा उम्मेदवारको टुङ्गो लगाएको छ । रास्वपाका केन्द्रीय सदस्य नन्दन यादवका अनुसार पार्टीले पर्सा क्षेत्र नम्बर १, ३ र ४ मा उम्मेदवार निश्चित गरेको हो ।

पार्टीको निर्णयअनुसार पर्सा क्षेत्र नम्बर १ बाट होटल व्यवसायी तथा रास्वपाका जिल्ला सभापति हरि पन्तले टिकट पाएका छन् । यसअघि सो क्षेत्रमा नेकपा एमालेबाट रास्वपामा प्रवेश गरेका शम्भु गुप्ताको नाम चर्चामा रहे पनि अन्ततः पार्टीले पन्तलाई नै चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।

त्यस्तै, पर्सा क्षेत्र नम्बर ३ बाट निर्माण व्यवसायी रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ बाट टेकबहादुर शाक्य उम्मेदवार चयन भएका छन् । यसअघि क्षेत्र नम्बर ३ मा रुपेश पाण्डे र क्षेत्र नम्बर ४ मा रहबर अन्सारीको नाम चर्चा चले पनि अन्ततः चौरसिया र शाक्यले नै टिकट पाएका हुन् ।

पर्सा क्षेत्र नम्बर २ मा भने उम्मेदवार चयन प्रक्रिया अझै पेचिलो बनेको छ । सो क्षेत्रबाट वीरगंज महानगरपालिका–१० का वडाध्यक्ष सुशील साह कानुको नाम निकै चर्चामा रहे पनि पार्टीले अहिलेसम्म आधिकारिक घोषणा गरेको छैन ।

वडाध्यक्ष कानुसँगै प्रमेश्वर कलवार र परबेज अख्तरले पनि टिकटमा दाबी नछाडेकाले निर्णय प्रक्रिया लम्बिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए ।“क्षेत्र नम्बर २ का विषयमा आज बिहान पुनः छलफल गरी उम्मेदवारको टुङ्गो लगाइनेछ,” यादवले बताए ।

नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारासहित चुनावी मैदानमा उत्रिएको रास्वपाले पर्सामा उम्मेदवार छनोट गर्दा स्थानीय प्रभाव, संगठन क्षमता र व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई प्राथमिकता दिएको देखिन्छ ।

पर्सामा कांग्रेसले पनि टुंग्यायो उम्मेदवार, चारै क्षेत्रमा पुरानै अनुहार

0

वीरगंज । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । सोमबार राति बसेको कांग्रेस उम्मेदवार छनौट समितिको बैठकले जिल्लाका सबै क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंग्टालाई उम्मेदवार बनाएको छ । त्यस्तै, क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधिसभा सदस्य अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्री सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट पूर्व मन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य रमेश रिजालले टिकट पाएका छन् ।

यसपटक कांग्रेसले पर्सामा नयाँ अनुहारभन्दा पुराना र अनुभवी नेताहरूलाई नै प्राथमिकता दिएको देखिन्छ । टिकट पाउने उम्मेदवारहरूमध्ये अनिल रुंग्टाबाहेक अन्य सबैले अघिल्ला निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरिसकेका छन् । गत निर्वाचनमा पनि क्षेत्र नम्बर २ बाट चौरसिया, क्षेत्र नम्बर ३ बाट चौधरी र क्षेत्र नम्बर ४ बाट रिजाल चुनाव लडेका थिए ।

पार्टी सभापतिमा गगन थापा आएपछि यसपटक टिकटमा केही फेरबदल हुन सक्ने अड्कलबाजी गरिए पनि अन्ततः कांग्रेसले निरन्तरताकै बाटो रोजेको छ । पार्टीभित्र लामो समयसम्म चलेको रस्साकस्सीपछि पुरानै अनुहारलाई दोहोर्‍याउने निर्णयले पर्साको चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ ।

रास्वपाका उम्मेदवारलाई एकताबद्ध समर्थन गर्ने सर्राफ र मिश्रको प्रतिबद्धता

0

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेस प्रदेश अभियान तथा प्रचार–प्रसार विभागका सदस्य रामकुमार सर्राफ र पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्र ले प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीले टिकट दिने उम्मेदवारलाई पूर्ण रूपमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पार्टीभित्र टिकट वितरणको विषयलाई लिएर केही स्थानमा असन्तुष्टि र आरोप देखिएको पृष्ठभूमिमा उनीहरूले पर्सा जिल्लामा पार्टीले उम्मेदवार बनाउने जो–कोहीलाई पनि एकताबद्ध रूपमा सहयोग गरिने स्पष्ट पारेका हुन्। उनीहरूले पार्टीको निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै नेतृत्वले उम्मेदवारको क्षमता, जनआधार र जित्ने सम्भावनालाई आधार मानेर नै टिकट वितरण गरेको विश्वास व्यक्त गरे।

रामकुमार सर्राफले रास्वपा कुनै व्यक्ति केन्द्रित नभई विचार र प्रणालीमा आधारित पार्टी भएको स्पष्ट पार्दै भने, “रास्वपा कुनै व्यक्ति केन्द्रित पार्टी होइन। पार्टीले जसलाई उम्मेदवार बनाउँछ, उसलाई जिताउनु हामी सबैको साझा दायित्व हो।”

त्यस्तै, क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पार्टीभित्र देखिने असहमति स्वाभाविक प्रक्रिया भए पनि अन्ततः सबै नेता तथा कार्यकर्ताले पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्नेमा जोड दिए। “हामी कार्यकर्ता हौँ, पार्टीको जित नै हाम्रो जित हो,” मिश्रले भने।

उनीहरूले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरूलाई सहयोग गर्दै सकारात्मक नतिजा ल्याउन हरसम्भव प्रयास गरिने प्रतिबद्धता जनाएका छन्। साथै, जनकपुरधाम लगायतका स्थानमा टिकट वितरणलाई लिएर भइरहेको विरोध प्रदर्शन अन्त्य गर्दै भोलिदेखि नै सक्रिय रूपमा चुनावी अभियानमा लाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

रास्वपाले पहिलो पटक मधेसी मूलका व्यक्तिलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेको उल्लेख गर्दै सर्राफ र मिश्रले यो अभियान केवल निर्वाचनमा सीमित नभई समावेशी नेतृत्व र राजनीतिक परिवर्तनको अभियान भएको बताए। उनीहरूले आ–आफ्नो स्थानबाट पार्टीका उम्मेदवारलाई जिताउन सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर लाग्न अपिल गरेका छन्।

पर्सा–१ मा रास्वपाबाट शम्भु गुप्ता उम्मेदवार बन्ने लगभग निश्चित

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शम्भु प्रसाद गुप्तालाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको रास्वपाले अन्ततः गुप्ताको नाममा सहमति जुटाएको पार्टी निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार गुप्ता हाल जनकपुरधाम मा रहेका छन्। त्यहाँ चुनावी सभाका क्रममा पुगेका रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सँग उम्मेदवारीबारे निर्णायक छलफल भइरहेको बताइएको छ। उक्त छलफलबाट उम्मेदवारीको अन्तिम टुंगो लाग्ने संकेत देखिएको छ।

यसअघि रास्वपाले पर्सा–१ बाट संविधानसभा सदस्य अजय द्विवेदीलाई उम्मेदवार बनाउने प्रयास गरेको थियो। तर द्विवेदीले नेपाली काँग्रेसबाट टिकट नपाएपछि मात्र रास्वपामा प्रवेश गर्ने सर्त राखेपछि पार्टी नेतृत्व पछि हटेको स्रोतको दाबी छ।

गुप्ता नेकपा (एमाले) परित्याग गरी रास्वपामा प्रवेश गर्न लागेका हुन्। उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेको तर्फबाट पर्सा १ (२) बाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी मधेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत सँग पराजित भएका थिए।

चुनावी तयारीकै क्रममा गुप्ताले वीरगञ्ज महानगरपालिका को जागिरबाट राजीनामा दिएका थिए। त्यसपछि उनी उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरे पनि टिकट नपाउने निश्चित भएपछि अन्तिम समयमा एमालेबाट चुनाव लडेका थिए। २०७९ को निर्वाचनमा भने उनले प्रत्यक्ष उम्मेदवारी नदिई एमालेका उम्मेदवारलाई सहयोग गरेका थिए।

एमाले निकट बुद्धिजीवी सङ्गठनका मधेश प्रदेश अध्यक्षसमेत रहेका गुप्ता व्यावसायिक पृष्ठभूमिका व्यक्ति हुन्। वीरगञ्ज महानगरपालिका–१२ का स्थायी बासिन्दा उनले विभिन्न सहकारी संस्थामा सञ्चालकको भूमिका निर्वाह गर्दै आएका छन्। साथै, वीरगञ्ज–१२ मै निजी विद्यालय र कलेज सञ्चालन गर्दै आएका छन्।

यसअघि पर्सा–१ बाट रास्वपाका जिल्ला सभापति बुद्धिप्रसाद (हरि) पन्त तथा वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक अबुलहैस अन्सारीलगायतका नामहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा थिए। तर पार्टी निकट स्रोतका अनुसार अन्ततः रास्वपाले शम्भु प्रसाद गुप्ताकै नाममा सहमति जुटाएको हो ।

यद्यपि, रास्वपाको तर्फबाट गुप्ताको उम्मेदवारीबारे औपचारिक घोषणा हुन भने बाँकी नै छ।

पर्सामा कांग्रेसको उम्मेदवार टुंगो अझै भएन, ३ र ४ मा पुरानै अनुहार दोहोरिने संकेत

0

वीरगंज । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता अघिल्लो दिन साँझसम्म पनि नेपाली कांग्रेसले पर्साका उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेको छैन।

पार्टी स्रोतका अनुसार पर्सा क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसबाट पुनः पुरानै अनुहार दोहोरिने करिब–करिब निश्चित जस्तै देखिएको छ। क्षेत्र नम्बर ३ बाट सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजालको नाम लगभग टुंगो लागिसकेको भए पनि औपचारिक निर्णय भने अझै सार्वजनिक भएको छैन।

यसैबीच, पर्सा क्षेत्र ३ का उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र ४ का उम्मेदवार रमेश रिजालका समर्थकहरूले मंगलबार मनोनयन दर्ताका लागि स्थान नै तोकेर भेला हुन आह्वान गरिसकेका छन्। तर पर्साका चारवटै क्षेत्रमध्ये कुनैपनि क्षेत्रमा पार्टीको आधिकारिक निर्णय नभएको कांग्रेसका केन्द्रीय सदस्य रामरुप कुर्मीले जानकारी दिए।

उनका अनुसार गगन, देउवा र शेखर पक्षका शीर्ष नेताहरूबीच निरन्तर छलफल भइरहेको छ। “तीनै पक्षबीच छलफल चलिरहेकै छ, तर पर्साको हकमा साेमबार बेलुकीसम्म पनि कुनै क्षेत्रको उम्मेदवारबारे अन्तिम निर्णय भइसकेको छैन,” कुर्मीले बताए।

कांग्रेसभित्र पर्सा क्षेत्र नम्बर १ मा अनिल रुंगटा र अजय द्विवेदीमध्ये एक जनालाई उम्मेदवार बनाउने सम्भावना रहेको छ भने क्षेत्र नम्बर २ मा अजय चौरसिया र राजेन्द्र बहादुर अमात्यमध्ये एक जनाले टिकट पाउने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ।

गुगल एकेडेमीको वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न

0

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. २४ रामगढवामा अवस्थित गुगल एकेडेमीको वार्षिकोत्सव कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयका प्रिन्सिपल नरेश राउत कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्घाटन वीरगंज उद्योग वाणिज्य महासंघका महासचिव शिवजी प्रसाद साह कलवारले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै महासचिव कलवारले शिक्षा क्षेत्रकाे विकासमा निजि विद्यालयहरुकाे भुमिका महत्वपूर्ण रहेकाे वताए ।

कार्यक्रममा कृषि अनुसन्धान केन्द्र, परवानीपुरका निर्देशक डा. विश्वेश्वर प्रसाद यादव, श्रीजंग गण, श्रीपुर ब्यारेकका प्रमुख सैनानी लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, एन प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता, ज्ञानदा एकेडेमीका सिइओ राजेन्द्र कोइराला, भास्कर हर्बल हेल्थ टिकल्स प्रा.लि.का डा. राजु बैठा, मानव सेवा आश्रम, वीरगंजका दिवेश गुप्ता, अधिवक्ता रामनारायण कुर्मी, सिए नरेश पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका संयोजक शान्ति कुमार लामाले राखेका थिए भने कार्यक्रमकाे सञ्चालन शिक्षक संयोजक श्रीशान्त कलवारले गरेका थिए ।

वार्षिकोत्सव अवसरमा गायन, नृत्य, ड्रामा, राइम्स, कराते प्रदर्शन, स्काउट प्रदर्शनलगायत विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए।

कार्यक्रममा शिक्षक अफ द इयर सम्मान स्मरणा चौधरी, जेनिशा ब्लोन लामा र राधेश्याम रौनियारलाई प्रदान गरिएको थियो। अभिभावक अफ द इयर सम्मान नरेश पटेल र रमिता कुमारीलाई प्रदान गरिएको थियो।

त्यसैगरी विद्यार्थी अफ द इयर सम्मान निरञ्जन पटेल र कृतिका चौधरीलाई प्रदान गरिएको विद्यालयका शिक्षक संयोजक कलवारले जानकारी दिए ।