Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
Home Blog Page 174

राष्ट्र बैंकको चेतावनी : वीरगंजमा डिजिटल ठगी बढ्दो, सतर्कता अपनाउन जरुरी

0

वीरगंज । नेपाल राष्ट्र बैंकले वीरगंज क्षेत्रमा डिजिटल ठगी तथा साइबर स्क्यामका घटनाहरू तीव्र रूपमा बढ्दै गएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्र बैंक वीरगंज शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत पछिल्लो समय विभिन्न माध्यम प्रयोग गरी हुने ठगीका घटनामा उल्लेख्य वृद्धि भएको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा शाखा व्यवस्थापक सुशील पौडेलले सम्बन्ध (रिलेसनसिप), लगानी, रोजगारी, अनपेक्षित रकम, किनबेच तथा नक्कली पहिचान (इम्पर्सोनेसन) जस्ता बहानामा हुने डिजिटल स्क्याम तीव्र रूपमा बढिरहेको बताए । उनका अनुसार यस्ता स्क्याम प्रायः एसएमएस, फोन कल, इमेल, सामाजिक सञ्जाल, वेबसाइट तथा प्रत्यक्ष सम्पर्कमार्फत हुने गरेका छन्।

राष्ट्र बैंकले प्रस्तुत गरेको तथ्यांकअनुसार सजिलो पैसा कमाउने प्रलोभन देखाउने, अस्वाभाविक भाषा प्रयोग गर्ने, शंकास्पद लिंक वा फाइल पठाउने, छिटो निर्णय गर्न दबाब दिने, अनधिकृत वा असामान्य भुक्तानी माग्ने तथा नयाँ Pay ID माग गर्ने व्यवहारहरू डिजिटल ठगीका प्रमुख ‘रेड फ्ल्याग’ हुन् । यस्ता संकेतलाई बेवास्ता गर्दा व्यक्तिगत सूचना चुहावट, आर्थिक क्षति र मानसिक तनावसम्म भोग्नुपर्ने अवस्था आउन सक्ने बैंकले चेतावनी दिएको छ।

शाखा व्यवस्थापक पौडेलका अनुसार हाल डिजिटल स्क्यामका कारण डाटा चोरी, डिजिटल अरेस्ट, रिमोट एक्सेसमार्फत मोबाइल वा कम्प्युटर नियन्त्रणमा लिने तथा बैंक खाताबाट रकम निकाल्ने घटनाहरू समेत बढ्दै गएका छन् । यस सन्दर्भमा उनले प्रयोगकर्तालाई आफ्नो युजरनेम, पासवर्ड, पिन तथा ओटीपी कसैसँग पनि साझा नगर्न आग्रह गरे।

नेपाल राष्ट्र बैंकले सुरक्षित इमेल, एसएमएस, उपकरण, नेटवर्क तथा एप्लिकेसन प्रयोग गर्न, बलियो पासवर्ड र मल्टि–फ्याक्टर प्रमाणीकरण अपनाउन तथा एपहरूले माग्ने अनुमति (Permissions) सम्बन्धी जोखिमबारे सचेत रहन सुझाव दिएको छ।

डिजिटल ठगीबाट जोगिन राष्ट्र बैंकले ‘Stop–Check–Protect’ सूत्र अपनाउन आग्रह गरेको छ । जसअनुसार शंका लागेमा कुनै पनि रकम वा व्यक्तिगत जानकारी नदिनु, प्राप्त सन्देश वा फोन नक्कली हुनसक्ने सम्भावना जाँच गर्नु र ठगी भइसकेको अवस्थामा तुरुन्त सम्बन्धित बैंक, प्रहरी तथा नियामक निकायमा जानकारी गराउन राष्ट्र बैंकले अनुरोध गरेको छ।

वित्तीय अनुशासन र डिजिटल सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने पनि राष्ट्र बैंकले जनाएको छ।

पर्सा–२ मा राजेश्वर प्रसाद साहको उम्मेदवारी फिर्तापछि समर्थकहरू आक्रोशित

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पूर्व प्रदेश सभा सदस्यसमेत रहेका साहले प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसबाट टिकटको आकांक्षा राखेका थिए । तर पार्टीबाट टिकट नपाएपछि उनले माघ ६ गते स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ता लिने समयसीमाभित्र शुक्रबार साहले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् । यसबारे निर्वाचन कार्यालयले पनि पुष्टि गरेको छ।

पर्सा–२ बाट कांग्रेसले निवर्तमान सांसद अजयकुमार चौरसिया लाई पुनः उम्मेदवार बनाएको छ । कांग्रेसका उम्मेदवार चौरसिया तथा पार्टीका अन्य नेताहरूको आग्रहमा साहले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ।

उम्मेदवारी फिर्ता लिने निर्णयबारे प्रतिक्रिया दिँदै साहले कसैको दबाब वा प्रभावमा नभई वर्तमान विषम परिस्थितिमा हुन गइरहेको निर्वाचनमा कांग्रेसलाई एकजुट बनाउने आवश्यकतालाई आत्मसात् गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

उनले पार्टीको हित र संगठनको एकताका लागि यो निर्णय लिएको स्पष्ट पारेका छन् । यता साहले उम्मेदवारी फिर्ता लिएपनि उनका समर्थकहरु आक्राेशित भएका छन् । आक्राेशित उनीहरुले साहले उम्मेदवारी फिर्ता लिएर गलत गरेकाे भन्दै कांग्रेसका उम्मेदवारी चाैरसियाकाे प्रभावमा परेकाे लगायतकाे आराेप समेत लगाइरहेका छन् ।

विगतका कामको मूल्यांकन गर्दै पर्सा–१ मा फेरि मलाई जनताले जिताउँछन् : प्रदीप यादव

0

वीरगंज। २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट मधेसी जनअधिकार फोरम नेपालका उम्मेदवार बनेका प्रदीप यादव झिनो मतान्तरले पराजित भएका थिए। तर त्यसपछि भएका संसदीय निर्वाचनहरूमा उनले कहिल्यै पराजय व्यहोर्नु परेन।

२०७४ र २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट लगातार दुई पटक विजयी हुँदै यादवले नयाँ इतिहास रचेका छन्। पर्सा–१ मा यसअघि कसैले पनि एक पटकभन्दा बढी निर्वाचन जित्न नसकेको अवस्थामा यादवले लगातार दुई जित निकाल्दै आफूलाई क्षेत्रको बलियो नेताका रूपमा स्थापित गरेका हुन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका यादवले नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पहिलो पटक संघीय सांसद बनेका थिए। त्यसैगरी २०७९ को निर्वाचनमा तत्कालीन जसपा नेपालबाट उम्मेदवार बनेका उनले स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई एक हजार सात सयभन्दा बढी मतान्तरले हराउँदै दोस्रो पटक सांसद बन्न सफल भए।

अब फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा यादव नेकपा एमालेबाट उम्मेदवार बनेर पर्सा–१ बाट तेस्रो पटक विजयी हुने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।

यादवले भने, “पर्सा–१ मा यसअघि कसैले पनि लगातार दुई पटक चुनाव जितेको इतिहास थिएन। मैले २०७४ र २०७९ मा लगातार चुनाव जित्दै इतिहास रचेँ। यसपालि पनि यही क्षेत्रबाट उम्मेदवार बनेको छु र जितको ह्याट्रिक पूरा गर्नेमा म विश्वस्त छु।”

विगतका दुई कार्यकालमा पर्सा–१ का जनताको सुख–दुःखमा सधैं साथमा रहेको दाबी गर्दै उनले जनताले आफ्नो कामको मूल्यांकन गरेर पुनः विजयी बनाउने विश्वास व्यक्त गरे।

खानेपानी मन्त्री हुँदा वीरगञ्जमा देखिएको खानेपानी संकट समाधानका लागि आफूले विशेष पहल गरेको स्मरण गर्दै यादवले भने, “वीरगञ्जमा खानेपानीको हाहाकार भएका बेला संयोगले म खानेपानी मन्त्री थिएँ। मन्त्रालयमार्फत पर्याप्त बजेट ल्याएर घर–घरमा पानी पुर्‍याउने काम गरियो। विश्व बैंकसँग पहल गरी वीरगञ्जको दीर्घकालीन खानेपानी समाधानका लागि साढे चार सय करोडभन्दा बढीको आयोजना निर्माण प्रक्रिया सुरु भइसकेको छ।”

त्यस्तै, हैजा महामारीका बेला काठमाडौंबाट विशेषज्ञ स्वास्थ्यकर्मीको टोली ल्याएर नियन्त्रणमा भूमिका खेलेको तथा कोरोना महामारीका समयमा पनि घरमै नबसी जनताको घरदैलोमा पुगेको उनले बताए।

यस निर्वाचनमा फरक दलबाट उम्मेदवार बन्नुको कारण स्पष्ट पार्दै यादवले संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि एमाले रोजेको बताए। “राष्ट्रप्रेम र विकासका सवालमा केपी शर्मा ओलीको चट्टानी अडानबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको हुँ,” उनले भने, “एमालेमा प्रवेश गरे पनि मधेस आन्दोलनका मुद्दा मैले छोडेको छैन। बाँकी रहेका मधेसका मुद्दा समाधान गर्ने सामर्थ्य एमालेसँग छ।”

पर्सा–१ मा एमालेका प्रदीप यादवसँगै नेपाली कांग्रेसका अनिल रुंगटा, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि पन्त, जसपा नेपालका रामरेश प्रसाद यादव, राप्रपाका नन्दकिशोर (नन्दु) श्रीवास्तव, उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह पराग, नेपाल कम्युनिष्ट पार्टीका अजयकुमार चौरसिया, जनमत पार्टीका ओमप्रकाश सर्राफलगायत करिब ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

प्याब्सन पर्साको अन्तर–विद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु

0

वीरगंज। निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) पर्साको आयोजनामा बिहीबारदेखि अन्तर–विद्यालय स्तरीय क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु भएको छ। टि.बि. साह क्रिकेट ग्राउन्ड वीरगंजमा सुरु भएको प्रतियोगिताको उद्घाटन नेपाल मेडिसिटी हस्पिटलका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गर्नुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महतोले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षासँगै खेलकुद क्षेत्रमा पनि नयाँ आयाम ल्याउन सक्ने बताउनुभयो। उहाँले शिक्षा र खेलकुदलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने थलोका रूपमा प्याब्सनले निरन्तर योगदान गर्दै आएको उल्लेख गर्नुभयो।

“खेलकुद कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन कायम राख्न र उनीहरूलाई स्वस्थ तथा फुर्तिलो बनाउन ठूलो सहयोग पुग्छ,” उहाँले भन्नुभयो। साथै, नेपालको शिक्षा विदेशभन्दा कम नभएकाले देशको विकासका लागि हामी आफैं लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेस प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी गुप्तालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा प्याब्सन मधेस प्रदेशका अध्यक्ष गणेश साह, क्यानका केन्द्रीय सदस्य आयुष श्रेष्ठ, मधेस प्रदेश अध्यक्ष सुनील महतो, प्याब्सन केन्द्रीय शैक्षिक परिषद् सदस्य हरिशंकर साह, केन्द्रीय सदस्य छेदुप लामा, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविनलाल कर्ण, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, सशस्त्र प्रहरी बल नेपाल १३ नं. गणका गणपति पुरनचन्द्र भट्ट, प्याब्सन मधेस प्रदेशका सल्लाहकार मनिपाख्रिन, लालबाबु पटेल, इमामोदिन अहमद तथा प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहअन्तर्गत आयोजित मार्चपास प्रतियोगितामा न्यू वेभ एकेडेमी प्रथम, साउथ जोन सेकेन्डरी स्कुल द्वितीय, लिटिल एन्जल्स स्कुल तृतीय, मनकामना स्कुल चौथो, मालिनी एकेडेमी पाँचौं, गौतम स्कुल छैठौं र बिकन इङ्लिस स्कुल सातौं स्थानमा रहन सफल भए।

वक्ताहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शैक्षिक विकाससँगै खेलकुदलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न विद्यालयहरूले क्रिकेट र फुटबल दुवै विधामा सहभागिता जनाएका छन्। आयोजक प्याब्सन पर्साले यस्ता प्रतियोगितामार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उद्देश्य लिएको जनाएको छ।

प्रतियोगिताको पहिलो खेलमा गुरुकुल एकेडेमी स्कुललाई १० विकेटले पराजित गर्दै सेन्जेभिएसले विजयी सुरुवात गरेको छ। उक्त खेलको ‘म्यान अफ द म्याच’ उपाधि शेख अनिसु रहमानले प्राप्त गर्नुभएको प्याब्सन सचिव अशोक संग्रौलाले जानकारी दिनुभयो।

सशस्त्र प्रहरीको स्थापना दिवसकाे अवसरमा सीमामा फ्ल्याग मार्च

0

वीरगंज। सशस्त्र प्रहरी बल, नेपालको स्थापना दिवसको अवसरमा सीमावर्ती क्षेत्रमा आयोजना गरिएको फ्ल्याग मार्च बारा जिल्लाबाट पर्सा जिल्लासम्म भव्य रूपमा सम्पन्न भएको छ । देशको सीमा सुरक्षा, राष्ट्रिय एकता तथा सुरक्षाप्रतिको प्रतिबद्धता सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमलाई सहभागीहरूले ऐतिहासिक र अर्थपूर्ण रूपमा लिएका छन्।

फ्ल्याग मार्च कार्यक्रमको नेतृत्व पुरण चन्द भट्टले गरेका थिए । सीमावर्ती क्षेत्र हुँदै सम्पन्न मार्चले सुरक्षा निकायहरूको सतर्कता, अनुशासन र आपसी समन्वयलाई प्रत्यक्ष रूपमा उजागर गरेको सहभागीहरूको भनाइ रहेको छ।

कार्यक्रमकाे प्रमुख अतिथीकाे रुपमा पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दाहालकाे उपस्थिती रहेकाे थियाे । साथै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप राज पाठक, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख सन्तोष ढकाल, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका विभिन्न तहका पदाधिकारीहरू र भारतीय सीमा सुरक्षा बल एसएसबिका अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

सीमावर्ती क्षेत्रमा आयोजित फ्ल्याग मार्चले नेपाल–भारत सीमा क्षेत्रमा आपसी विश्वास, सहकार्य र सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । कार्यक्रमले आम नागरिकमा सुरक्षा अनुभूति बढाउनुका साथै सशस्त्र प्रहरी बलको भूमिका र जिम्मेवारीप्रति सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको प्रतिक्रिया रहेको छ।

देशप्रेम, अनुशासन र राष्ट्रिय सुरक्षाप्रतिको अटल प्रतिबद्धताको प्रतीकका रूपमा सम्पन्न यो फ्ल्याग मार्च सशस्त्र प्रहरी बलको इतिहासमा स्मरणीय क्षणका रूपमा रहने आयोजक पक्षले जनाएको छ।

वीरगंजमा रेल्वे संग्रहालय स्थापनाकाे तयारी, जनकपुरबाट पुरानो रेल ल्याइने

0

वीरगंज । वीरगंजको बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट ऐतिहासिक पुरानो रेल ल्याई रेल्वे संग्रहालय स्थापना गर्ने विषयमा बिहिबार स्थलगत निरीक्षण गरिएको छ। ऐतिहासिक रेल सम्पदाको संरक्षण गर्दै पर्यटकीय विकास गर्ने उद्देश्यसहित अघि बढाइएको उक्त योजनाबारे सरोकारवालाहरूबीच विस्तृत छलफल भएको हो।

निरीक्षण कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, महानगरपालिकाका हरियाली संयोजक तथा सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्तालगायतको सहभागिता रहेको थियो।

स्थलगत निरीक्षणका क्रममा प्रस्तावित स्थलको वर्तमान अवस्था, पूर्वाधारको सम्भावना तथा संग्रहालय स्थापनाका लागि आवश्यक प्रक्रिया र समन्वयबारे छलफल गरिएको जनाइएको छ। सहभागीहरूले जनकपुरबाट ऐतिहासिक महत्व बोकेको रेल शीघ्र ल्याई संग्रहालय निर्माण कार्य अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

मेयर सिंहले रेल्वे संग्रहालय स्थापना भएमा वीरगंजको ऐतिहासिक पहिचान थप सुदृढ हुने, पर्यटन प्रवर्द्धन हुने र नयाँ पुस्ताले नेपालको रेल्वे इतिहासबारे प्रत्यक्ष जानकारी पाउने अवसर प्राप्त हुने बताए। साथै, यो योजना महानगरपालिकाको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास योजनासँग मेल खाने उनको भनाइ थियो।

निरीक्षण टोलीले आवश्यक समन्वय र कानुनी प्रक्रिया पूरा गरी छिटोभन्दा छिटो रेल ल्याउने तथा संग्रहालय स्थापनाको कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रस्तावित रेल्वे संग्रहालय भविष्यमा वीरगंजको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

परिवर्तन, सुशासन र विकासका लागि स्वतन्त्र उम्मेदवारी : राजेश्वर साह

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर साहले परिवर्तन, सुशासन र विकासको एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व प्रदेश सभा सदस्य साहले लामो समयदेखि एउटै व्यक्तिले यस क्षेत्रको नेतृत्व गर्दै आएपनि अपेक्षित विकास हुन नसकेकाले आफू परिवर्तनका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको स्पष्ट पारे।

उनले भने, “देशमा सुशासन कायम होस्, विकासले गति लियोस् भन्ने मेरो मुख्य उद्देश्य हो । मुलुकमा बढ्दै गएको बेथिति र दलाली प्रथाको अन्त्यका लागि मैले उम्मेदवारी दिएको हुँ ।”

साहले आफू प्रदेश सभा सदस्य हुँदा क्षेत्रका सडक, आधारभूत पूर्वाधार र जनसरोकारका कामहरू अघि बढाएको उल्लेख गर्दै सोही कामको मूल्याङ्कन गर्दै क्षेत्रवासीले यसपटक पनि आफूलाई मतदान गरी विजयी गराउनेमा विश्वस्त रहेको बताए ।

उनका अनुसार जनताको प्रत्यक्ष सहभागिता, पारदर्शी विकास र जवाफदेही नेतृत्व नै पर्सा–२ को समृद्धिको आधार हो, र त्यसका लागि स्वतन्त्र उम्मेदवारी नै सही विकल्प भएको दाबी गरे ।

नक्कली नोटको ठगीबाट बच्न वीरगंजमा संयुक्त सचेतना अभियान सुरु

0

वीरगंज । जाली तथा नक्कली नोटको ठगीबाट नागरिकलाई जोगाउने उद्देश्यले वीरगञ्जमा सचेतना अभियान सुरु गरिएको छ। पछिल्लो समय बजार, यातायात तथा खुद्रा कारोबारमा नक्कली नोटको जोखिम बढ्दै गएपछि नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र **नेपाल सरकार**को संयुक्त सहकार्यमा अभियान थालिएको हो।

अभियानअन्तर्गत सक्कली नोट कसरी पहिचान गर्ने भन्ने जानकारी समेटिएका सचेतनामूलक ब्यानर बैंक, बजार क्षेत्र, भीडभाड हुने सार्वजनिक स्थान तथा प्रमुख चोकहरूमा राख्न थालिएको छ। आज नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक सुशील पौडेल र सहायक निर्देशक सन्देश ठाकुरले **जिल्ला प्रहरी कार्यालय पर्सा**का प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकलाई ब्यानर हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन्।

निर्देशक पौडेलले नक्कली नोटसम्बन्धी ठगीका घटनाले सर्वसाधारण मात्र नभई व्यापारी र सेवाग्राहीसमेत प्रभावित हुन थालेपछि सचेतना अभियान आवश्यक भएको बताए। उनले दैनिक कारोबारमा नोटका सुरक्षा चिन्ह—पानी छाप, धागो, अंक तथा अन्य पहिचानका उपाय—जाँच गर्ने बानी बसाल्न नागरिकलाई आग्रह गरे। उनका अनुसार ब्यानर, सूचना सामग्री र प्रत्यक्ष सचेतनामार्फत अभियानलाई निरन्तरता दिइनेछ।

प्रहरी उपरीक्षक पाठकले नक्कली नोट प्रयोग गरी ठगी गर्ने घटनाको उजुरी बढ्दो क्रममा रहेको उल्लेख गर्दै नागरिक सचेत भए मात्र यस्ता अपराध नियन्त्रण गर्न सकिने बताए। उनले शंकास्पद नोट फेला परेमा नजिकको प्रहरी कार्यालय वा बैंकमा जानकारी गराउन आग्रह गरे।

सहायक निर्देशक ठाकुरका अनुसार नेपाल प्रहरीसँगको सहकार्यमा पर्सा जिल्लाका विभिन्न पालिकामा समेत सचेतनामूलक सामग्री वितरण गरिनेछ। ब्यानरमा नोटका सुरक्षा चिन्ह, पानी छाप, धागो, अंक र अन्य पहिचानका उपायहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ।

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता आयोजना

0

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले प्याब्सन पर्सा स्तरीय टि–२० नकआउट क्रिकेट तथा जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्याब्सन पर्साले बुधबार वीरगञ्जस्थित टीबी साह क्रिकेट मैदान मा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। सम्मेलनमा प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले क्रिकेट प्रतियोगितामा प्याब्सन पर्सासँग आवद्ध ४० वटा विद्यालय सहभागी हुने जानकारी दिए।

उनका अनुसार क्रिकेट प्रतियोगिता माघ ८ गते बिहीबारदेखि सुरु हुनेछ। सबै खेल १५–१५ ओभरका हुनेछन् र दैनिक ३ खेल सञ्चालन गरिनेछ। क्रिकेटतर्फ कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्। क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजन नेपाल मेडिसिटी हस्पिटलले गरेको छ।

यस्तै, जुनियर फुटबल प्रतियोगिता माघ १० गतेदेखि मधेश प्रदेश प्रहरी कार्यालय खेल मैदान मा आयोजना हुनेछ। फुटबलतर्फ २१ वटा विद्यालय सहभागी हुनेछन्। जुनियर फुटबलमा ४ फिट १० इन्चसम्म उचाइ भएका विद्यार्थीलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ। फुटबल प्रतियोगिताको प्रायोजन राज होजियारीले गरेको छ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै विद्यार्थीलाई खेलकुदतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। यस्ता प्रतियोगिताले प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने उनको विश्वास छ।

पुरस्कार विवरण
क्रिकेटतर्फ विजेताले नगद १५ हजार, दोस्रो हुने टिमले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै प्रत्येक खेलका प्लेयर अफ द म्याच तथा अन्य विधागत उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिनेछ।
फुटबलतर्फ विजेताले ८ हजार, दोस्रोले ६ हजार र तेस्रोले ४ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताको उद्घाटन सत्रलाई आकर्षक बनाउन ३० वटा विद्यालयको मार्चपास पनि समावेश गरिएको छ, जसमा विभिन्न भाषा, संस्कृति र भेषभूषा झल्किने आयोजकले जनाएको छ।

माघ ८ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडीहरूको २५ हजार रुपैयाँ बराबरको बीमा गरिएको छ। प्रतियोगिता आयोजना गर्न करिब १२ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्याब्सन पर्साले विद्यार्थीलाई शैक्षिक गतिविधिसँगै खेलकुदमा पनि सक्रिय गराउने उद्देश्यले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सेवा, विकास र सुशासनका लागि मेरो उम्मेदवारी : रुपेश पाण्डे

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा रुपेश कुमार पाण्डेय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् ।

युवा नेता पाण्डेय भाषणमा मात्र सीमित नभई आफ्नो गाउँ–ठाउँको सुख–दुःखमा सधैं साथ दिने जनप्रिय नेताका रूपमा परिचित छन् । जनताको पीडा बुझ्ने, समस्या सुन्ने र समाधानतर्फ अघि बढ्ने आत्मविश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताएका छन् ।

चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै पाण्डेयले निर्वाचन जितेपछि स्वास्थ्य, कृषि, शिक्षा, किसान र श्रमिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट योजना अघि सारेका छन् । स्वास्थ्य क्षेत्रमा गाउँ–गाउँमा आधारभूत स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय अस्पताल र आपतकालीन सेवामा सहज पहुँच सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ ।

त्यसैगरी कृषि क्षेत्रमा किसानलाई मल, बीउ, सिँचाइ, बजार तथा उत्पादनको उचित मूल्यको व्यवस्था गरिने उनले बताएका छन् । शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिको प्रयोग र युवालाई सीपमूलक तालिममार्फत रोजगारीमुखी बनाउने योजना रहेको पनि पाण्डेयले उल्लेख गरे ।

किसान र श्रमिकको मेहनतको सम्मान, अधिकारको रक्षा तथा आत्मनिर्भरताका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने उनको भनाइ छ । उनले भने, “मेरो सोच विकास कागजमा होइन, जमिनमा देखिनुपर्छ । राजनीति पदका लागि होइन, सेवाका लागि हुनुपर्छ ।”

पर्सा क्षेत्र नं. ३ को समग्र विकास, सुशासन र उज्यालो भविष्यका लागि युवा सोच, स्पष्ट दृष्टि र दृढ आत्मविश्वासका साथ आफू अघि बढेको पाण्डेयले बताएका छन् ।